१४ सदस्यीय संयुक्त परिवारमा हुर्केको अनुभव ताजै स्मरण गर्दै हुनुहुन्छ लेखकज्यू !

तर बाध्यताले बाँधेपछि अनि जिम्मेवारीले थिचेपछि देशको माया अनि आमाको काख छोड्न बाध्य लाखौं नेपाली युवाकै एउटा उदाहरण हुन् उनी ।

उनको स्मरण अनुसार २० वर्षको उमेर नै देश छोड्ने युवाको अनुभव रमाइलो देखिन्छ- नयाँ देश, नयाँ परिवेश, नयाँ चुनौतीसँग लड्दै दिन चर्या अगि बढेको हुन्छ । २ दशक फुत्तै बितेको पत्तो नपाएको धारणा छ उनको ।

विदेशी जीवन, विदेशको पढाइ, घरकाम, ऋण अनि त्यस्तैत्यस्तै तीतामीठा सम्झनाले पिटिरहन्छ उनलाई । परिवारमा ५ दाजु भाइ, दिदीबहिनी अनि भतिजा भतिजी सँगै हुर्केको प्रसङ्ग सुनाउँछन् ।

अरू थप मुटुमै अल्झिरहने भावुक कुरा- भुइँमा लस्करै पिर्कामा बसेर खाना खाएको, दशैंमा पालैपालो टीका ग्रहण गरेको, देवघाट जाँदा ट्रयाक्टरको टेलर एक परिवारकै मान्छेले भरिएको अनुभव उत्साहित हुँदै बताउँछन् । थप भन्छन् – अभावले बिते पनि परिवार एक साथ एकै ठाउँमा बिताउँदा जिन्दगीको स्वर्णिम पल हुँदो रहेछ । र यही अभावैअभावले जिन्दगीको अर्थ बुझाउँदो रहेछ ।

अहिले त समय परिवर्तन भएको छ । समस्याले नयाँ रूप फेरेको छ । सहोदर जुम्ल्या भाइ, दिदी, दाइ, भतिजा भतिजी विश्वको चार ध्रुवमा पुगेका छन् ।

लेखकलाई परिवारको सम्पूर्ण सदस्यहरू सँगसँगै जोडिन फलामको चिउरा खाए बराबर भएको छ । उनी भन्छन्, “कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही नेपाल, कोही फ्रान्स । आमाबुबा उठ्दा लेखक सुत्छन्, लेखक उठ्दा दिदी सुत्छिन्, दिदी उठ्दा भाइ सुत्छन् । एक किसिमको रमाइलो यो छ कि – कहिलेकहीं बूढी आमाले नजानेर फोन गर्दा सबै जना एक साथ भेट हुन्छ, होइन भने कि कसैको जन्मदिन, कि त दशैंतिहार कुर्नुपर्छ । आफ्नै परिवारका सदस्यहरूसँग एक साथ बोल्न पाउनु पनि एउटा युद्ध जिते जत्तिकै भएको छ ।“ सँगै एक्कै भान्सामा खाना खाने त लेखकलाई एकादेशको कथा भैसकेको छ ।

एकछिनको मौनतापछि अलिकति अनुहारमा पीडा देखिंदै जान्छ लेखकको ।  र त्यही पीडामा रन्थनिंदै बोल्छन् –

“एक महिनाअघि आमालाई एक्कासि गाह्रो भयो, बोल्न नसक्ने गरी टाउको दुख्यो, जीउ लगलगी काँप्यो । आमा बोल्न नसक्ने हुनुभो । आमा यति कमजोर भएको पहिलो पटक अनुभव गरें, आत्तिएँ, नेपाल जाने टिकट हेरें आजको भोलि ।

हिराभन्दा महँगो टिकट त्यो पनि ३२ घण्टा लाग्ने । फेरि फोन गरें तर गाउँमा कोही भएनन् अलि जानेका, पढेका, प्रेसर नाप्नजान्ने । सबै बूढा खाँडा मात्र । आमालाई अस्पताल लाने कोही भेटिएन ।

अनेक जुक्ति लगाएर ठूलो बुबाकी छोरीलाई रातारात सम्पर्क गरेर आमालाई हेरविचार गर्न पठाएँ । ब्लड प्रेसर हाई भएको पत्ता लगाए । त्यसपछि भोलि पल्ट भरतपुर अस्पताल लगियो ।

बल्ल बल्ल आमा अस्पताल पुगेको खबरले चैनको श्वास फेरेको थिएँ

फेरि अर्को खबर आयो – पूर्व सभामुखको निधनको अवसरमा सरकारले राष्ट्रिय बिदा घोषणा गर्‍यो ।

अस्पताल पुगेर डाक्टरको कोठामा लाइन बसेकी थिइन् बुढीमान्छे । सरकारको निर्णय पछि डाक्टर बिरामी छोडेर घर हिंडे ।”
आमाको उपचार नभएको बेलिबिस्तार भावुक हुँदै सुनाउँछन् लेखक ।

सरकारी अस्पतालमा काम गर्नुको अर्थ तलब भत्ता मात्रै पचाउने खेल रहेछ भन्ने निर्क्योल लेखकले सुनाउँछन् निराश भएर ।

“होइन भने त मानवीय हिसाबले पनि रोगीहरूको कमसेकम उपचार गरेर मात्र निस्किनु पर्ने होइन र डाक्टर सापले ?” प्रश्न तेर्स्याउँछन् ।
उत्तर मसँग पनि छैन । नबुझेको नसुनेको जस्तो गरें ।

“गाउँमा बाटो पुग्यो तर बाटोमा हिंड्ने मान्छे छैन अचेल । कसरी यो दिन आयो त सबैले सके नसकेको पढेको नै हो, उच्च शिक्षाका लागि विश्व विद्यालय धाएको नै हो किन सबै विदेशिए  त ?

भाषा संस्कृति नमिल्ने देशले पत्यायो तर आफ्नै देशले किन पत्याएन ? त्रिभुवन विश्व विद्यालय पढेकाहरू सबै कहिले सम्म त्रिभुवन विमान स्थलबाट बाहिरिनु पर्ने हो ?” लेखकको आँखा आँसु भरिएको देखिन्छ तर सम्हालिन्छन् । देश छोड्नुको पीडा अझै देखिन्छ मुहारमा ।

“युवाहरूलाई विदेश जान मात्र योग्य बनाउने कारखाना बन्नु नै सफल देशको परिभाषा हो ? गणतन्त्रको उपलब्धि हो ? शिक्षित युवाले कहिलेसम्म भविष्य विदेशमा खोज्नुपर्ने ? आमा बुबाले आफ्नो सन्तानलाई बालिग बनाएर विदेश पठाउन योग्य बनाउनु मात्रै समाजको उपलब्धि हो ? बुढेसकालमा बुबा आमाको दुःखमा सन्तान सात समुद्र पारि रहेर औषधि सम्म खुवाउन नपाउनुमा गल्ती कसको होला ? बाबु आमाको ? सन्तानको ? राज्यको ?”

‘बाह्र छोरा तेह्र नाति बुढोको धोक्रो काँध माथि’ चरितार्थ भएको छ आजकल लेखकको जीवनमा भन्दा फरक नपर्ला । चार सन्तान घरको चार खाँबो बनेर बुढा बाबुआमाको समीपमा बस्न नसक्ने वातावरण किन बन्यो ? प्रश्नहरूको उत्तर खोज्दैछन् लेखक मध्य रातमा …।  थाहा छैन उत्तर भेटिएला, नभेटिएला !