‘जुन गोरुको सिङ छैन उसैको नाम तिखे !’

“पुसको जाडो दिन । ढुस्से लागेको थियो । गोठको पाङ्ग्रे गोरु हराएको थियो । गोठको छेउको जङ्गलमा तित्रीको बोट थियो । त्यहाँ गएर पाङ्ग्रे गोरु देखें । डन्ठाले हिर्काएर हिंड गोठ भनेको त पाङ्ग्रे रङ्गको बाघ पो रहेछ ।

हामी यस्ता वीर थियौं बुझ्यौ ।“

म लगभग म १३ /१४ वर्षको हुँदा गोठमा अचार्य बाबै यस्तै साह्रै रोचक कथा भन्नुहुन्थ्यो । हामी केटाकेटी उहाँलाई घेरेर सुन्ने गर्थ्यौं । हाम्रो निम्ति सबै कथा वास्तव हुन्थे । कथा सुनेर वीर रस जाग्थ्यो हाम्रो शरीरमा । न यस्ता कथा नै रह्यो । न यस्ता व्यक्तिहरू नै रहे । जीवनमा प्रेरणा दिने अनेकौं यस्ता कथाहरू समयको साथ हराउँदै गए ।

पढ्न नजान्ने मूर्ख ठानेको बालकलाई गुरु विष्णु शर्माको गुरुकुलमा पुर्‍याइदिए पछि निकै वर्ष कथा मात्रै भनेर विद्वान बनाएर पठाएको पञ्च तन्त्र कथा जस्तै अनेकौं कार्टुन मोबाइलमा हेरेर मात्रै नानीहरू भात खान्छन् भन्ने प्रत्येक आमाबाबुको गुनासो छ । यसको अर्थ यो लाउन सकिन्छ कि यस्तो कथाको महत्त्व अझै पनि छ । कथा भन्ने पनि होलान् शायद, भन्न सके सुन्लान् पनि । तर बाबु, छोरा, हजुरबा र नाति आदिको वार्तालाप हुननै छोड्यो । मुखारवृन्दबाट उच्चारण भएको शब्दको सुगन्धबाट बिस्तारै नव पुस्ताहरू टाढिँदै गए ।

नानीहरूले मोबाइलको भाषा बोल्न थाले । बरु हजुरबा हजुरआमा पो नातिनातिनाको मोबाइलमा बसेर आफ्नै कथा अनौठो अरूको लवाजमा सुन्ने गर्छन् । आफन्तको शब्दमा रहेको चुम्बकत्व बिर्सन थाले नानीहरूले । ‘एकै बक्सिङमा ठहरै पार्दिन्छु’ भन्ने हाम्रो गाउँका ठुल्दाइको थेगो थियो । अलिकति रिसायो कि त्यही भन्नुहुन्थ्यो । सुनेर आनन्द लाग्थ्यो ! उता ढकाल बाबै कुनै ग्राम सभामा ‘केटाकेटीहरूले गरेर खान दिएनन्’ भन्दै हिंड्नुहुन्थ्यो । त्यसमा पनि त भावना र मिठास थियो । समाजका नानी केटाकेटीहरूलाई ठूलो सन्देशको वार्ता बोकेको थियो यिनै थेगोहरूले । किन हरायो यस्ता व्यक्तित्वहरू हिजोआज । शब्द ब्रह्म भनिन्छ तर शब्द हरायो । अब ब्रह्म नै हराएपछि के भन्नु ।

‘आमाको दूध खाएको छस् भने आइज लाप्पा लागौं’ भनेर गाउँमा प्रायः झगडा हुँदा सुन्न पाइन्थ्यो । आमाको दूध त सबैले खाएकानै हुन्थे या भनौं पिएका हुन्थे । तर त्यो शब्दले आमा माथिको प्रेम र प्रेरणा झल्केको हुन्थ्यो ! त्यो पनि त हरायो ! जिममा गएर बनाएको त्यो बाक्लो छाती कमेज खोलेर देखाउने गर्छन् हिजोआजका नव युवाहरू । झन् छातीमा नाग, त्रिशुल र सर्पको टेटो छ भने त कुरै अर्को । छाती फुलाएर साना नानीहरूलाई ‘लु हिर्का मेरो छातीमा केही हुँदैन । म पहलमान साथै बोडी बिल्डर हुँ’ भनेपछि त कुरै अर्को ! सबै उतै हेरेको हेरै गर्छन् । यहाँ आमाको दूध पिएको कुरै आएन । उनीहरू टेस्ट ट्युब प्रक्रियाले जन्मेका भएपनि जिमबाट नै उनीहरूले शरीर बनाए भन्ने भ्रम पालेका हुन्छन् ।

खत्रिने आमैले रीस उठ्दा ‘तेरो बाबुको बिहे देखाइदिन्छु’ भन्दा सानामा हामी दौडेर भाग्ने गर्थ्यौं । फेरि बाबुको बिहे किन हेर्ने । एउटै असल बाबुले नै यहाँ तिरीखिरि पार्नुभएको छ । काम गरेन भने लौरो लाग्छ । गृहस्थीको कडा कानून छ घरमा । काम गरेर खान पाइन्छ नत्र जहाँ गए आफ्नो इच्छा । कान सुन्ने भएर भाषा बुझ्ने दिनबाट यिनै शब्दहरूले कर्मट बनाएको थियो । अहिले त बोलिसक्नु हुँदैन छोराछोरीलाई । केटाकेटीहरूलाई कडा कुरा भन्यो भने त ‘नदीमा गएर हाम फाल्दिन्छन्’ भनेर हिजो उजुरे बाले भन्नुभएको खूद मैले सुनेको ! उहिले खत्रीले आमैको बारीमा गएर फलफूल चोर्दा लौरो लिएर ‘तेरो बाबुको बिहे देखाइदिन्छु’ भन्ने शब्दले कतिलाई कर्ममुखी बनायो । ती शब्दहरूमा प्राण थिए । एउटा जीवन्त कथा थियो । वास्तव चित्रण थियो । राम्रो समाज व्यवस्थाको एउटा उदाहरण थियो ।

खत्रिनी आमैले भनेको कुरा बेलुकी घरमा पुग्दा टुप्लुक्क आमाको मुखारविन्दबाट अर्को कारबाही शुरू । बरु भलो मान्छे भएकै राम्रो भन्ने इच्छा जागृत हुन्थ्यो मनमा । बाबुको बिहे कस्तो थियो भनेर बाबुलाई सोध्न पनि त भएन । रहस्य नै बनेर रहन्थे ती शब्दहरू । त्यसैले होला गरेर खाने भइयो । राम्रो बाबुआमाका छोरा भनेर केटी दिन पनि आए । काम नगर्नेलाई त कसैले छोरी दिंदैनन् भन्नुहुन्थ्यो आमा । उमेरमा चौतर्फी मार परेर होला शरीर, आत्मा, मन सबै संघर्षशील भएर पुष्ट भयो । अहिले पूजा स्थानमा आमाबाबुको फोटोलाई एकोहोरो हेरिरहे एउटा जीवन्त बाँच्ने प्रेरणा मिल्छ ।

गोठको सबै काम जान्ने गोठालो भनेर रत्नेलाई टीकाराम बाले गोठमा मोटो रकम दिने वाचा गरेर गोठाला राख्नुभयो । सबैले रत्ने काम गर्दैन यो फटाहा हो भनेर भनेकै थिए । एकदिन एका बिहानै रत्ने हरायो । गाईबाछा कराइरहेका छन् गोठोमा । अब कसले गाई दुहुने । टिकाराम बाका साथी हरिभक्त बाबै गोठमा आएर ‘काम छैन टिकाराम पाडा खोल्दे’ मैले त भनेकै थिएँ नि यो गोठालोले काम गर्दैन भनेर भन्दै उल्टै झपारे । त्यो दिनबाट काम नगर्ने गोठालाको त्यही थेगो रह्यो । सबैले काम नगर्ने गोठालालाई ‘काम छैन टिकाराम पाडा खोल्दे’ भनेर भन्ने चलन रह्यो गोठमा !

शुद्ध आफ्नो भाषामा रहेका यी कथनहरू मोबाइलले भन्दैन हिजोआज । सुन्न पनि पाइँदैन ! बिरानो भयो भाषा ! बिरानो भयो गाउँघर ! विदेशिए निकै वृद्धहरू छोराछोरीसँगै ! ‘के छ हौं हाल खबर’ भनेर साथीलाई सोधेको ‘काम छैन टिकाराम पाडा खोल्दे’ भन्दै बाटो लाग्यो ! हिजोआज राम्रो काम गर्ने मान्छे भेटिँदैन ! भेटिए पनि हप्तामा मदिरा सेवन गर्ने रकम दिनुपर्छ ! सुर्ती, चुरोट,गाँजा भाङ त सामान्य चिज हो गोठमा । नखाई पनि त हुँदैन आखिर । जङ्गल जानुपर्छ । डाले घाँस काट्नुपर्छ । बर्खामा बाढी आउँदा जीउ जोगाउन त्राहिमाम हुन्छ । हिजोआज त झन् महाजनले गोठालालाई ज्यादा हप्काए भने कम्युनिस्ट पार्टीको अफिसमा गएर उजुरी गर्दिन्छु भनेर गोठालाले नै उल्टै महाजनलाई हप्काउँछन् रे ! दिनकाल नराम्रा आयो भन्दै हिंड्दैछन् महाजनहरू !

सानोमा हलो जोत्नुपर्ने, खेतमा रोपारलाई खाजा लानुपर्ने, काम गर्दागर्दा हत्तोहैरान । उता विद्यालय पनि जानुपर्थ्यो । रीसले आमालाई घुर्की लगाएर ‘अब म घरमा बस्दिनँ भाग्छु’ भन्दा आमाले तुरुन्तै ‘अहिलेइ कहाँ जान्छस् जा, म गाडी भाडा दिन्छु’ भन्नुहुन्थ्यो । ‘काम नगरी बसेर खाने ठाउँ भेटे त्यही गएर बस्नु र त्यस्तो ठाउँ भेटे मलाई पनि खबर गर्नु म पनि आउँछु’ भन्नुहुन्थ्यो आमा ! कुरा त्यहीँ खतम हुन्थ्यो । भाग्ने इच्छा समाप्त । त्यस्तो ठाउँ रहेनछ भन्ने भित्री मनले सहजै बुझ्थ्यो । त्यसैले घर छोड्न साहस गरिएन ।

फेरि कहिलेकाहीँ त ‘फेल गरिस् भने हलो जोत्नुपर्छ बाबु’ भन्नुहुन्थ्यो आमा ! हलो जोत्ने डरले फेल गरिएन । समयको सदुपयोग गरेर घुँडा टेकेर पढियो । गद्दी नभएको चौकीमा बसेर पढ्नुपर्ने । दुई दुई वर्षका आधा दर्जन छोराछोरी भएपछि कसरी पुर्‍याउनु बाबु आमाले । दाजुभाइको स्याहार गर्न झन् दिदीबहिनी छन् भने त हत्तोहैरान हुन्थ्यो उनीहरूको । त्यो समयमा काठको त्यस्तै कुर्सी हुन्थ्यो । कुर्सीमा बसेर पढ्दापढ्दै चाकमा स्यानो फोको निस्क्यो भने कुनै पनि परीक्षामा पास भन्ने चलन थियो । मेरो पनि अचानक एकदिन चाकमा रातो फोको निस्क्यो । जागीरको निम्ति लिखित परीक्षा दिएको पास पो भइएछ । घरका कसैले पत्याएनन् । यस्तो फटाहाले कसरी जाँचमा सफल हुन्छ भनेर । अन्तर्वार्ताको चिठी आएपछि सबै छक्क परे । अन्तर्वार्ता दिन जाँदा शुभ मुहूर्त पार्दै सबैले मीठोमीठो भोजन साथै दही खुवाएर पठाइदिए । चयन पनि भइयो ।

फेरि आमाले हामीलाई उखान भनेरै कान्टो बसाउनुहुन्थ्यो । कुनै एउटा उखान भने आफू सतर्क हुनुपर्थ्यो । जस्तै –

खाने मुखलाई जुँगाले छेक्दैन !

गर्ने भन्ने हनुमान पगरी गुत्ने ढेडु !

जुन गोरुको सिङ छैन उसैको नाम तिखे !

नमच्चिने पिङको सय झट्का !

लङ्कामा सुन छ कान मेरो बुच्चे !

‘जुन गोरुको सिङ छैन उसैको नाम तिखे’ भन्ने बित्तिकै म सतर्क हुनु पर्थ्यो ! गफ लडाउने काम नगर्नेमा म अस्ताद थिएँ । यो उखान अरू दाजुभाइ भन्दा मलाई नै ज्यादा प्रयोग हुन्थ्यो । अर्काको बारीमा गएर फल चोरेर खाने । साथीहरूलाई हिर्काउँदै हिंड्ने आदिको समाचार पाउने साथ आमाले धन्दुकारी भन्नुहुन्थ्यो । पछि भागवत कथा सुनेपछि मात्रै त्यसको अर्थ बुझियो । भागवतको धन्धुकारी भन्दा अझै बढ्तै थिएँ होला म । साथीहरूसँग मिलेर निकै छाडा बोल्न थालेको थिएँ । बेलुकी दाजुहरू पातो कसेर मलाई समात्ने । आमा मेरो मुखमा गोबर कोच्याउने । कडा कानूनी कारबाही हुन्थ्यो ।

मैले जागीर पाएकोमा आमालाई न त हर्ष थियो न त विस्मत नै थियो । ‘आमा कडा हुनाले र पो छोराछोरीहरूले पढे’ भन्दै खत्री बा बाटामा भन्दै हिंड्नुहुन्थ्यो । टुक्का, उखान र लौरोले अहिले कति नानी केटाकेटीहरू सत्मार्गमा हिंड्छन् मलाई थाहा छैन । उखान त शायद जान्नै छोडे । कसले प्रयोग गर्ने । त्यसको महत्त्व बारे हामीलाई बाहेक अरूलाई त्यति थाहा हुँदैन होला शायद ।

मैले जागीर भेटेपछि हलो जोत्ने मानिस भएनन् भनेर आमाले दुःख मान्नुभयो । गोठको हेरचाह गर्ने मान्छे छैन भनेर बुबाले गाईगोठ बिक्री गरिदिनुभयो । लाग्यो बाबु छोराको एकदिन झगडा । अब म छुट्टीमा आउँदा कसको गोठमा जानु भन्दा बाबुले तिमीहरूलाई पढाउनु निम्ति खर्च चाहिन्छ र गाईगोठ बेचेको भन्नुभयो । दोस्रो विश्वयुद्ध ताका हातमा रामायणको पुस्तक मात्रै बोकेर बर्माबाट लगभग ३० दिनको पैदल यात्रा गरेर आउनुभएको बुबाआमाले नगरेको त होइन ।

जागीरभन्दा खेती किसानी नै राम्रो भनेर त त्यतिखेरै भनेको हो नि । नाथे जाबो जागीरले त्यही गाडी एउटा साथै ऋणमा लिएको एउटा सानो फ्लेट । फुस्रोको फुस्रै जिन्दगी ! फेरि गुरुबाले भनेको यो श्लोक त कण्ठस्तै छ मलाई अहिले पनि–

“वाणिज्ये वसति लक्ष्मीः तदर्धं कृषि कर्मणि  ।

तदर्धं राजसेवायां भिक्षायां नैव नैव च ॥”

वाणिज्यलाई प्रथम र कृषि कर्मलाई दोस्रो भनिएकै छ श्लोकमा । राज सेवालाई त तेस्रो दर्जामा राखिएको छ । त्यसोभए फेरि मानिसहरू राजसेवा गर्न तैं छाड कि मैं छाड किन गर्छन् त ? उहिले श्लोक लेख्ने बेलामा गुरुहरूलाई घुस खाने कुरा थाहा थिएन होला शायद । त्यसैले अहिले राजसेवा गर्नेहरू मालामाल हुन्छन् भन्ने कथन छ । कृषि कर्म गर्नेहरू गरीब हुन्छन् रे ! माटो बाँझो राखेपछि यसै मान्छे गरीब भइहाल्छ नि । कृषि कर्म गरेर सुनको अलंकार लगाएर हिंडेको सबैले देखिरहेका छन् बस्नेत माल्दाइलाई । बाख्रा पालेका छन्, गाई पालेका छन्, अर्गेनिक सब्जी खेती गरेका छन्, माछा पालेका छन् । लगभग ४० जना मान्छे उनको फारममा काम गर्छन् । ‘नाथे अधिकृतहरू त जागीर सकिएपछि नून खाएको कुखुरा जस्तो झोक्राएको हुन्छन्’ भनेर बस्नेत माल्दाइले भनेको कुरा सुन्ने खूद गोठालो भगीरथ । ऊ पनि माल्दाइको फार्ममा काम गर्दागर्दै निकै मालामाल भएको छ हिजोआज । फेरि यहाँ काम गर्न कुनै डिग्री चाहिंदैन । अनुभव र पाखुरा दरो भए हुन्छ भन्दै हिंड्दैछ भगीरथ ।

‘पढीलेखी के काम हलो जोती खायो माम’ उहिले भनिन्थ्यो । बीचमा छोडियो हिजोआज, फेरि निकैले शहरमा वाक्क लागेर पुनः दोहोर्याउन थालेका छन् । आफ्नै बारीको चामल, आफ्नै बारीको सब्जी, स्वच्छ हावा, प्रेमिल वातावरण खर्च नै हुँदैन गाउँमा भन्दै हिंड्न थालेका छन् बस्नेत माल्दाइ ।

कहिलेकाहीं त धनी महाजनहरूले ‘मर्दको दस वटी’ भनेको सानामा घनाक घुनक सुनिन्थ्यो । दुइटी श्रीमती त निकैको देखिए । हाम्रै पनि त दुई वटी आमा । कठै ! बिचरी ठुलीआमा । दोस्रो विश्व युद्धपछि मणिपुरमा ग्रेनेड पड्केर स्वर्गवास हुनुभयो । दुईओटी आमा हुनाले अर्की आमालाई साथमा लिएर बुबाले पुनः जीवन यात्रा शुरू गर्नुभयो । अहिले त मर्दको १० वटी भनिसक्दा कानून लागिहाल्छ । जे होस् त्यो पक्षमा चाहिं काम राम्रो भएको छ भन्छन् कानूनविदहरू ।

‘नानी केटाकेटी कति छन्’ भनेर दम्पतिलाई सोधे कसैको एउटा कसैको अहिले समय भएको छैन भन्छन् । उहिले सोध्ने चलन थियो । अहिले त कसैलाई सोध्यो लाजमर्दो जवाफ दिन्छन् । कोही कोही त झम्टेर पनि आउँछन् भन्ने हल्ला चलेको छ । लामो समय छोराछोरी भएनन् भने अर्को समस्या । कति थोक सोध्नु परेको समाजले । कति खसखस लागेको । ‘आरामले जिन्दगी जिउनै नपाइने पारियो बा’ भन्दै थियो हिजो मेरो मुक्तान साथीको नाति बिर्खे ! के भयो नाति भनेको १० वर्ष भयो बिहे गरेको छोराछोरी भएनन् अर्की बिहे गर है नाति भनेर हजुरबाले भने रे । उसको हजुरबुबा मेरो प्रिय बाल्य साथी । त्यसो नभन् साथी भनेर भन्न गए मसँग लाप्पा पर्न बेर छैन बुढेसकालमा । उसले सानोमा मलाई सधैं ‘बाहुन काठा’ भनेर सम्बोधन गर्थ्यो । अहिले पनि त्यसै भनेर सम्बोधन गर्छ । अगाध माया प्रेम छ हाम्रो ! दश दशक भयो हाम्रो पुस्ता सँगैसँगै बसेको आजसम्म कुनै झगडा मनमुटाव भएको छैन । उसको त्यो शब्दले मेरो मन आनन्दित हुन्छ । दिल खोलेर गाली गर्छ । दिल खोलेर माया गर्छ । अहिले त बोली सक्नुछैन ।

यस्तो कथा कसले सुन्ने कसले भन्ने । बेला बखत भाले खान मन छ भने आइजा बाहुन भन्दै बोलाइदिन्छ । आनन्दको साथ उतै खाना खाएर बाल्य कालको कुरा गर्दै उतै रात बिताएर आइन्छ । नानी केटाहरू पनि प्रसन्न हुन्छन् ।

फेरि गाउँमा मेरो साथी डल्लेको नातिले हजुरबुवालाई वृद्ध पेन्सन लिन बैंकमा बाइकमा बिस्तारै लगिदिन्छ । लगे बाबा त उसलाई राम्रो रकम दिएर खुशी पार्नुपर्छ । कपालमा गोडामा तेल पनि लगाइदिन्छ प्रत्येक शनिवार । अचानक एकदिन एटीएम कार्ड निकाल्नुपर्छ हजुरबा भन्यो रे । एटीएम कार्ड निकाले बैंक जाने कष्टै हुँदैन म निकालेर ल्याइदिन्छु भनेर लट्ठ पारेछ । अब ८४ को पूजा लाउनु पर्यो भनेर बैंकमा गएको पैसा छैन खातामा भने रे ! सबै एटिएमबाट निकालेको छ भन्ने खबर पाएपछि नातिले घर छोडेको छ । पैसा नातिले लगेको केही ठूलो कुरो छैन तर नाति नै हरायो भनेर हजुरबा दुःख मन गरेर गनगन गर्दै हिंड्छन् । आयो भने घोक्र्याइदिनु भनेर हजुरआमाले भनेकी छिन् रे । त्यसैले नातिले सुइकुच्चा ठोकेछ । हिजोअस्ति बाइकमा तल्लो गाउँको कुनै तरुनीलाई मोटर साइकिलको पछाडि राखेर जाँदै गरेको देख्ने निकै मान्छेहरू निस्किए ।

‘केही काम नगर्ने बेकामे केटाहरूलाई पनि केटीहरूले किन मन पराएका होलान्’ भन्दै गइन् रे वृन्दावननी आमैले ! उनी पनि हिजोआज बिन्द्रावन छोडेर यतै गाउँतिरै आएकी छिन् । कतै शान्ति छैन भन्दै हिंड्छिन् रे । ‘शान्ति त मनभित्रै हुन्छ । खेलाउनु जान्नुपर्यो । अनुभव गर्न सिक्नुपर्यो । मनलाई एकाग्रता गर्नुपर्छ । प्रभुमा विश्वास राख्नुपर्छ । आफूभन्दा तल्लो स्तरको व्यक्तिसँग दाँजो गर्नुपर्यो । तब न मान्छे सन्तुष्टि हुन्छ’ भन्दै हिंड्नुहुन्छ गाउँका पुरेत बा धिताल जेठा । कसैलाई शान्ति छैन । सबैको मनमा हुकुम छ । नयाँ पुस्ताहरू जेनेरेशन गेप भन्दै हिंड्छन् । उखान र तुक्काको त फिटिक्कै प्रयोग जान्दैनन् । त्यसैले गाउँमा मजा आउँदैन हिजोआज । सबै थोक भएर पनि केही छैन केही छैन जस्तो अनुभव हुने । ‘मोबाइल राक्षस हो । यसले नजानेको केही पनि छैन । यसले निल्यो सबैलाई’ भनेर वीरे दाजु पनि भेट्ने साथ गनगन गर्नुहुन्छ । अव्यक्त व्यथाको कथा हो कि अनन्त कथा कसैले भन्न सक्दैन । नटुङ्गिने कुरा गरेर के गर्नु । जस्तो छ त्यसैमा रमाएको राम्रो ।

अनेकौं छन् विगतका कथाहरू शायद सबैका होलान् । भन्ने ठाउँ कतै नभेटेर साहित्यपोस्ट तर्फ पठाइदिएँ  ।

कृपा गरी बक्सियोस् हजुर । मन अलि हलुङ्गो हुनेछ । उखुम भएको छ मन हिजोआज ।

पुरुषोत्तम उपाध्याय दाहाल (गोठालो अन्तरे)

 

तीनसुकिया आसाम  !