सायंकालीन समय छ । तातो चियाको कप लिएर म कौसीमा निस्केको छु । मौसम निर्मल छ । भित्र कालीप्रसाद रिजालका शब्दहरू नारायण गोपालका स्वरमा मधुर संगीतमा गुञ्जिरहेका छन्- यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी !

मलाई नारायण गोपालका हरेक गीत कर्णप्रिय लाग्छन् । त्यसमा पनि यो कालजयी गीतले त झन् मलाई भावनामा डुब्न विवश पार्छ । यो सुक्खा मौसममा पनि मेरो मन द्रवीभूत हुन बाध्य छ ।

वसन्तको आगमन गाढा भैसकेको छ तर पनि शिशिरका पद चिह्नहरू पूरै मेटिइसकेका छैनन् । मन्द शीतल पवनले शान्त र गम्भीर बन्न खोजिरहेको मन चञ्चल बनाइदिएको छ । गीतका शब्द, संगीत र सुरमा डुब्दै म झ्यालबाहिर निर्निमेष निहार्दै केही सोचिरहेको छु । के सोचेको छु, किन सोचेको छु, मलाई पनि थाहा छैन । तर मन उद्वेलित छ, केही न केही त अवश्य सोचिरहेको छु । यो सोच्ने समय हो । जिन्दगीले आधा जति यात्रा तय गरिसकेको छ । अब पनि नसोचे कहिले सोच्ने ? जिन्दगीमा भोगेका तीतामीठा अनुभवका ऊहापोहहरूले मलाई आज आत्मावलोकन गर्न बाध्य बनाएका छन् ।

बाल्यकालको म, युवावस्थाको म र अहिलेको म- कति धेरै परिवर्तन भएको छ ! कति सोचहरू बदलिएका छन् । कति साथीहरू यात्राको क्रममा छुटेका छन्, कति नयाँ सहयात्रीहरू थपिएका छन् । कति विश्वासले धोका खाएका छन्, कति अविश्वास विश्वासमा बदलिएका छन् । लेखेर नसकिने जिन्दगीको यात्रा निरन्तर चलिरहेको छ । चियाको कपबाट बाफ उडेर हावामा बिलाइरहेको छ । मेरा सोचाइहरू पनि त्यसरी नै मनबाट बाहिर निस्केर त्यसै त्यसै निराकार वायुमण्डलको विशालतामा बिलाइरहेका छन् ।

कल्पनामा अकल्पनीय शक्ति हुन्छ । परिवार र सीमित साथीहरूको सानो घेरामा परिवेष्टित मेरो भौतिक दिमागले कल्पनामा चाहिं छिनभरमै सम्पूर्ण ब्रह्माण्डको गर्ने तागत राख्छ । सकारात्मक कल्पनाले सकारात्मक ऊर्जा प्रदान गर्छ, नकारात्मक कल्पनाले भएको ऊर्जा पनि नष्ट गर्छ । म त्यति सजिलै खुशी हुन सक्ने मानिस हैन । मेरो चित्त सानो छ । स-साना कुरा र घटनाहरू मेरो चित्त दुखाउन बनाउन पर्याप्त हुन्छन् । त्यसैले म सकभर सुन्दर कल्पनामा डुबेर आफूलाई खुशी राख्न चाहन्छु ।

बाल्यकालमा आकाश चुम्ने सपना हुन्थ्यो । तर अहिले अधिकांश ती सपनाहरू रमाइला सम्झना मात्र बनेका छन् । जिन्दगी यस्तै हो । सोचे जस्तो कहाँ हुन्छ र ? बाल्यकालमा त सबै सुन्दर लाग्थ्यो । कति निश्छल र निष्कपट थियो सोच ! तर जब बुद्धिको विकास हुँदै गयो, जीवनको वास्तविकताले गाँज्दै गयो, ती सुन्दर सपनाका भारीहरू पनि एक एक गर्दै खस्दै गए । तर सपनाका भारी खसेर हलुङ्गो महसूस हुनुपर्नेमा वास्तविकताका भारीहरू एक पछि एक गर्दै थपिंदै गए । जिन्दगी झन् बोझिलो हुँदै गयो । कुनै समय यस्तो आयो आफूले के गर्ने हो, कसरी गर्ने हो भन्ने खुट्याउन पनि मुश्किल भयो । कसैले पढाइमा प्रगति गरेको देख्दा ऊ जस्तै धेरै पढ्छु भन्ने लाग्यो, कसैले गीत र संगीतमा तहल्का मच्चाएको देख्दा आफूलाई पनि गायक र संगीतकार बन्न मन लाग्यो; कोही खेलाडी बनेको देख्दा खेलाडी बन्न मन लाग्यो; कोही व्यापारमा सफल भएको देख्दा व्यापार गर्न मन लाग्यो; कोही राजनीतिमा सफल भएको देख्दा राजनीति गर्न मन लाग्यो । तर आफूले चाहेको के हो त्यो नै पत्तो लगाउन सकिएन ।

भन्ने गरिन्छ संसारमा अधिकांश मानिस आफ्नो वास्तविक रुचि र आवश्यकता के हो भन्ने थाहै नपाएर यो धर्तीबाट बिदा हुन्छन् रे । मैले पनि त्यो कथनमा सत्यता देख्छु । जुन दिन मानिसले आफ्नो वास्तविक रुचि के हो भन्ने थाहा पाउँछ अनि बल्ल ऊ आफ्नो असली जिन्दगी जिउन शुरू गर्छ ।

एपल कम्पनीका संस्थापक स्टिभ जब्सले एक पटक भनेका थिए- हामी आफ्नो रुचि के हो भन्ने थाहा नपाउँदासम्म त्यसकै खोजीमा निरन्तर लागिरहनुपर्छ । जब पत्ता लाग्छ अनि जिन्दगी सरल र सफल बन्छ ।

आफ्नो रुचि पत्ता लागेपछि त्यसमा काम गर्दा न त थकान महसूस हुन्छ, न लाज । त्यसमा काम गर्दा न त तलब खोजिन्छ न त कसैको मतलब नै हुन्छ । त्यही हो असली जिन्दगी । सबैजसो धर्म र सभ्यतामा कर्म र प्रतिफलको नियमको बारेमा वर्णन गरिएको हुन्छ । जब आफ्नो रुचिको काम गर्न थालिन्छ अनि प्रतिफलको कुनै आशा राखिंदैन, त्यो त स्वतः आइहाल्छ । न कुनै फलको अपेक्षा न कुनै अपेक्षाको भय ! न कुनै महत्त्वाकाङ्क्षा, न कुनै लोभ, न कुनै मोह, न कुनै सङ्कोच !

तर मेरो रुचि के हो त ? म अझै पनि अनभिज्ञ नै छु । म निरन्तर त्यसकै खोजीमा छु ।

सक्ने भए त म वैज्ञानिकमा आइन्सटाइन नै बन्थें होला; गीत संगीतमा एल्भिस प्रेस्ले बन्थें होला; अनि राजनीतिमा लिङ्कन या गान्धी नै बन्न चाहन्थें ।

मलाई पनि एलन मस्क जस्तै व्यापारमा सफलता हासिल गरेर खर्बौँ डलरको मालिक हुन मन नलाग्ने त कहाँ हो र ? म पनि अमेरिकी राष्ट्रपति जस्तै संसारको शक्तिशाली व्यक्ति बन्न चाहन्छु; म पनि बुद्ध, जिसस र महावीर जस्तै आफ्नो विचार मान्ने करोडौं मानिस बनून् भन्ने चाहन्छु । तर के त्यो सबै सम्भव छ र ?

अवश्य छैन ।

कसैले भन्ला असम्भव भन्ने के नै छ र ? ठीक हो, सैद्धान्तिक रूपमा सबै सम्भव छ । तर वास्तविक जीवनमा त्यो मेरो लागि असम्भव नै छ ।

मेरा केही साथीहरूले व्यापार गर्छन् । दुई-चार जना राजनीतिमा पनि जमेका छन् । तर व्यापार र राजनीति मेरो वशका विषय हैनन् । मलाई ती क्षेत्रका क्रियाकलाप जान्नबुझ्न मन लाग्छ । तर बाहिरबाट मात्र । म त्यो भित्र पस्ने आँट गर्दिनँ । म त्यसको लागि बनेको हैन भन्ने मलाई प्रष्ट भैसकेको छ । नजाने गाउँको बाटो सोधेर किन समय बर्बाद गर्नु ? त्यसमाथि त्यसमा मेरो रुचि पनि छैन । आफूले पाउन नसक्ने वस्तुमा रुचि नभएको अभिनय मात्र पनि हुनसक्छ । तर जे होस् मैले त्यतातिर प्रयास गर्ने त परै जाओस् सोच्न पनि छोडिसकें । अरू क्षेत्रमा पनि मैले कुनै अद्वितीय प्रगति गर्न सकेको छैन, ममा कुनै असाधारण क्षमता पनि छैन । तर केही छैन, आफ्नो रुचिको तलास रोकिने छैन । कुनै दिन भेटियो भने राम्रै भयो, नभेटिए पनि पश्चाताप हुने छैन ।

बजिरहेको गीत अन्तिम धुनमा पुगेर विश्राम गर्न थाल्दैछ । गीतले मलाई हाम्रो जिन्दगीको लघुताको भावनामा डोर्‍याउँछ । मानिसको जिन्दगी कति दिनको हुन्छ मलाई थाहा छैन । तर यति चाहिं थाहा छ कि अधिकांश मानिसहरूको लागि जिन्दगी गीतमा भने जस्तो यो दुई दिनको हुँदैन । दुई दिनको भन्नु त यसलाई प्रतीकात्मक रूपमा छोटो देखाउनु मात्र हो । कसैको लागि जिन्दगी लामो लाग्ला कसैलाई छोटो । आ-आफ्नो सोचाइ हो ।

आफ्ना सोचहरूसँग खेल्दै म गगन निहार्दै छु । पर क्षितिजमा सूर्यले एक दिनपछिको कामबाट विश्राम लिंदैछ । दिनभरि चम्केको सूर्य मलिन देखिएको छ । निभ्न लागेको दियो जस्तै अलि ठूलो भएको छ । अस्ताउन लागेको सूर्यको सुन्दरताले मलाई मोहित बनाएको छ । रवि किरणहरू मलिन बनेका छन् । तर निकै सुन्दर देखिएका छन् । मध्य दिनमा सोझै हेर्न नसक्ने सूर्यलाई मैले मजाले हेरिरहेको छु । अस्ताउन थालेपछि सूर्य मात्र हैन सबैको हालत यस्तै हो, कमजोर भइन्छ, सबैले हेप्छन् । सूर्यास्तपछि रात्रि गगनमा शीतल शशीको राज चल्नेछ अनि फेरि अर्को दिन फेरि अरुणोदय हुनेछ ।

सूर्यास्त होस् या सूर्योदय यो सबै भ्रम मात्र हो । यो कहिले अस्ताउँदैन, हामीलाई अस्ताएको जस्तो भान भएको मात्र हो । हाम्रो जीवन पनि शायद यस्तै हो कि ? एउटा आवरणबाट अर्को आवरणमा, एउटा आयामबाट अर्को आयाममा प्रवेश गर्ने मात्र हो कि ? जे होस्, म झ्यालबाट बाहिरका वृक्षहरू नियालिरहेको छु । शिशिरले नङ्ग्याएका वृक्षहरूमा वासन्ती पल्लवहरूले फेरि नयाँ जीवन भर्न लागेका छन् । पक्षीहरूको चिरबिर पनि अलि बढी सुनिन थालेको छ । जमिनको गर्भभित्र उकुसमुकुस भएर बसिरहेका बीजहरू अंकुरित भएर धरणीलाई हराभरा बनाउन तत्पर छन् ! धर्तीको यो कुनामा फेरि नयाँ जीवन शुरू हुन गैरहेको छ- त्यही दुई दिनको जिन्दगी !

यसरी सोच्दा जिन्दगी एउटा नाटक जस्तो लाग्छ, कसैले रचेको माया र भ्रान्ति जस्तो लाग्छ । त्यस्तो कल्पना घोत्लिँदा केही नगरी निष्काम बनेर बसूँ जस्तो पनि लाग्छ । तर फेरि सोच्छु, के त्यो नै समाधान हो त ? अहँ, हैन । म कुनै कामै नगरी बसूँ त ? त्यो त म कदापि गर्न सक्दैन । तन, मन र मस्तिष्कले साथ दिंदासम्म काम त गर्नु नै छ । कर्मबाट भाग्ने मान्छे कायर हो, मलाई कायर बन्न मन छैन । तर कर्मको नाममा लोभ र मोहले प्रेरित भएर मन नलागे पनि आफूलाई मन नपर्ने काम गर्नु छैन । मलाई अझै मेरो रुचि पत्ता लगाउनु छ । आफ्नो रुचि अनुसारको, आफूलाई खुशी तुल्याउने काम जीवनको अन्तिम घडीसम्म गर्नु नै छ । आफ्नो कामले आफ्नो खुशीसँगै अरूलाई पनि खुशी दिन सक्यो, समाजको लागि थोरै पनि योगदान दिन सक्यो भने त सुनमा सुगन्ध भैहाल्यो तर यदि त्यो हुन सकेन भने अरूलाई दुःख नदिए पनि म खुशी नै हुनेछु ।

धर्तीमा अवतरण गरेपछि मानिसले निभाउनुपर्ने कर्तव्य के हो ? हामी किन यहाँ आएका छौं ? अहिलेसम्म कसैलाई थाहा छैन । शायद कहिले पनि थाहा हुने छैन । तर यहाँ आइसकेपछि आफ्नो मनले मानेको कर्म गरेर यो दुई दिनको जिन्दगी बिताउनु बाहेक हामी अरू के नै गर्न सक्छौं र ? म यो धरतीमा कति दिनको अतिथि हुँ । मलाई थाहा छैन । म त्रिकालदर्शी हैन ।

अजर अमर अनन्त अविनाशी त को नै छ र ? के नै छ र ? मलाई पनि दिगन्तसम्म यहीं रुमल्लिन मन छैन । हामी मात्र हैन अक्षुण्ण देखिने धर्ती, चन्द्रमा, सूर्य सहित सम्पूर्ण ब्रह्माण्ड नै एक दिन समाप्त भएर शून्यतामा विलीन हुनेछ । यसको तुलना गर्दा हाम्रो जिन्दगी त दुई दिन हैन दुई निमेष भन्दा पनि कम छ । त्यही दुई दिनको जिन्दगीलाई जति सक्यो सदुपयोग गर्नु नै सायद मानव जीवनको लक्ष्य र कर्तव्य पनि हो ।

त्यसैले गीतले भने जस्तै म पनि यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी !

तर यो मेरो जिन्दगीप्रतिको निराशाको आलाप हैन, वास्तविकताको स्वीकारोक्ति हो । मेरो मात्र हैन म जस्तै सबै साधारण मानिसको जिन्दगीको कथा पनि यही नै हो ।