
२२ डिसेम्बर, २०२४ को दिन । उपल्लो असमको डिब्रुगढ शहरमा आयोजित ‘पारिपार्श्विक’ कवि सम्मेलनमा भाग लिएका क्षणहरूको सम्झना मनमा साँचेर म घर फर्किरहेको थिएँ । पर्यावरणीय कवितालाई असमिया साहित्यमा ‘पारिपार्श्विक कविता’ भनिन्छ ।
हातमा समय थोरै भएकाले म किञ्चित तनावमा नभएको होइन । भीडभाड देखेर शहरका सबै मानिस मेरै सडकमा खनिए जस्तो लाग्यो । यतिकैमा एउटा थोत्रो ट्रक दोबाटो छिरेर मेरो वाहनको अघि आएर क्याच्च रोकियो । अनि कुनै सिपालु जोगीले हुक्का तानेर धुवाँको मुस्लो निकाले झैं एक तमासले कालो मोसो वमन गरिरह्यो । यस्ता धुवाँले वातावरण प्रदूषित गर्नुका साथै हावामा उड्दै गई छेवैको पहाडको सेतो बर्कोमाथि मोसो पोतिदिन्छ । कालो रङले सूर्यको ताप सोस्ने क्षमतालाई बढाएकाले वैश्विक तापक्रम वृद्धिमा यसको प्रभाव पर्नजान्छ । हाम्रो निरीह पर्यावरणलगायत पहाड-पर्वतहरू यस्ता गैरजिम्मेवार वाहनका शिकार भएर कत्रो पीडामा होलान्, कसले लेखाजोखा गर्ने ? तर यतिबेला केवल मनलाई अमिलो पारी छटपटाउनु बाहेक मेरो अर्को विकल्प थिएन । आधा घण्टाको समय हातमा राखी निस्केको यो ट्र्याफिकजामले डकैती गरेर लग्यो । अब मेरा लागि राजधानी एक्सप्रेस कहाँ पर्खेर बस्छ होला र ? हे भगवान् !
केही क्षणपछि ट्राफिक अनकनाउँदै खुल्यो । मेरो वाहन त्यसकै लागि पर्खिरहेको रहेछ ! उसले घोडाको वेग टिप्यो । तर जब थामियो मैले सास रोक्दै दैलो खोलेर डिब्रुगढ रेल स्टेशनतर्फ हामफालें । डब्बामा के चढिहालेको थिएँ छुकछुक गर्दै रेलले आफ्नो गति लिइहाल्यो । मैले तोकिएको बर्थमा गएर आफ्नो ओछ्यान मिलाउन लागें । यतिकैमा मेरो मोबाइलमा श्रीमतीको म्यासेज भित्रियो, “तपाईं फर्कनुभएको लगत्तै हामीले विदेश जाने चाँजो मिलाएका छौं । तपाईंका परिधान र प्रयोग गर्ने सामग्रीहरू सुटकेसमा भराएर तयार पारिराखेका छौं ।” लगत्तै कतिपय हाँसेका इमोजी टाँसिएको अर्को म्यासेज भित्रियो, “जाँदाखेरि भिसा-पासपोर्ट नलाग्ने विदेश ! तपाईंलाई सर्प्राइज !”
हठात् मेरी श्रीमतीमा आएको यो परिवर्तनले म तीन छक्क परें । म्यासेज लेख्नतिर नलागेर सोझै कुरा गर्न फोन लगाएँ । तर फोनले केवल कुइँकुइँ गरिरह्यो । मोबाइलको अनुहार हेरें, सिग्नल नै रहेनछ । मेरो रेल शायद कुनै जङ्गल भित्रबाट दगुरिरहेको थियो । अब मैले खट्पटिनु बाहेक अरू केही उपाय रहेन । दिनभरिको थकानले आँखा झ्याप्झ्याप गरिरहेका थिए । तर एउटा प्रश्न आएर मेरा सामु ठिङ्ग उभियो । मेरी श्रीमतीले किन एक्कासि नेपाल जाने योजना बनाइन् ? उनलाई बाबा पशुपतिनाथले बोलाएका हुन् कि माता जानकीले ? तर म भने कम्बलभित्र पसेर मनोकामनाको घिर्लिङ्गमा झुल्ने कल्पना गरी निद्रा देवीको शरणमा परें ।
राजधानी एक्सप्रेसले समयभन्दा चाँडै गुवाहाटी ल्याइदियो । त्यसपछि लगत्तै ट्याक्सीमा घर । घरको प्रवेशद्वारबाहिर ठूलो छोरा दीपशेखरलाई आफ्नो गाडीमा सरसामान लदाउनुमा व्यस्त देखेर उत्सुकताले सोधें,”कहाँ जान तयार भएको ?” “किन, हामी भूटान जान्छौं भन्ने हजुरलाई जानकारी छैन ?”
श्रीमतीले ‘भिसा-पासपोर्ट नलाग्ने देश’ भन्दा नेपाल नै हो भनी म निश्चित थिएँ । तर सोझै ‘नेपाल’ सोचेर म गोजेङ्ग्रो पो भएछु । आफैं माथि हाँस उठ्यो । तर सबैको भूटान जानलाई तरखर देखेर मेरो मन गुब्बारो भई उड्न लाग्यो । म पनि युद्धकालीन गतिमा आफैंलाई तयार पार्नमा तर्खरिएँ । आठ त बजिहालेछ ! दीपशेखर गाडीको स्टियरिङमा र सहधर्मिणी रन्जना साथमा । जिपिएसले हामीलाई रङिया शहरको बीचबाट डोऱ्याउँदै लग्यो । भूटान मेरो मनमुटु छेउको देश हो । मैले कार्बन फुटप्रिन्ट, कार्बन सिक्वेस्ट्रेसन, कार्बन ट्रेडिङ आदिका अध्ययन गरिरहँदा कार्बन नेगेटिभ स्थानको वातावरण कस्तो हुन्छ होला भन्ने जिज्ञासामा मन झुलिरहेथ्यो । के त्यहाँ हाम्रो जीवनदायी अक्सिजन ग्याँस, अरूतिरको भन्दा बढी मात्रामा हुन्छ ? प्रत्येक पल्ट सास लिँदा मानव शरीरले अधिक ऊर्जा भर्छ होला ? हामीलाई ज्यादा ताजगीबोध हुन्छ होला ? त्यस्ता वातावरणमा रहिरहेका मानिसका शारीरिक तत्त्वहरू कस्ता प्रकारले चलेका हुन्छन् होला ? के यसै कारणले होला भूटानवासीको भारतीयहरूको भन्दा जीवनकाल पाँच वर्ष बढी भएको (७२ विपरीत ६७) ?
जलवायु परिवर्तनलाई रोक्न भूटानले गरिरहेको भगीरथ प्रयासलाई सराहना पनि नगरी सकिंदैन । यो पृथ्वीको एक मात्र कार्बन नेगेटिभ देश हो । यहाँका मानिसले विभिन्न कार्यकलापमार्फत उत्सर्जन गरेका कार्बनभन्दा वनजङ्गलले बढी मात्रामा कार्बन चुस्ने गर्छन्, किनभने यहाँको ७० प्रतिशतभन्दा बढी भूमि वनस्पतिले ओगटेको छ । आज विश्वका सबै देश विकासको घोडामा चढी वेगवान् छन्, उन्नतिलाई मापन गर्दा कुल घरेलु उत्पाद जिडिपी (GDP- Gross Domestic Product) को प्रयोग गर्छन् । यस्तामा भूटानले कुल राष्ट्रिय प्रसन्नता जिएनएच (GNH- Gross National Happiness) लाई लक्ष्य बनाएको छ ।
जब कुनै राष्ट्रको मियो नै प्रजाको सामूहिक खुशीयाली र कल्याण हो त्यहाँका रैतीले सुखको स्वर्ग खोज्न कता र किन जानु ? यस देशमा जनताको शिक्षा र चिकित्साका सबै खर्च राष्ट्रले बेहोर्छ अरे । मलाई त आधुनिक रामराज्य यसैलाई लाग्यो । यो देश विश्वको १० सबैभन्दा बढी जैव विविधता भएका क्षेत्रहरू भित्रमा एक अरे ! भूटान धेरै नदी, खोला, र हिमनदी ताल भएको स्थान रहेछ । त्यसैले, यो यस्तो भौगोलिक क्षेत्रमा खडा छ जसले विश्वको पाँच भागको एक भाग जनसङ्ख्यालाई पानीको आपूर्ति गर्ने क्षमता राख्छ ।
हाम्रो गाडी एक्कासि रोकियो । “सबै आ-आफ्ना आधार कार्ड हातमा लिएर बाहिर निस्कनु पऱ्यो ।” – कसैले चिच्च्यायो । सबै हत्तपत्त बाहिर निस्क्यौं । हामी भूटान देशको प्रवेशद्वारको छेउमा पुगिसकेका रहेछौं । यात्राले हामीबाट तीन घण्टा खोसेर लगेछ । देब्रेपट्टि लामो कतार थियो । हामी सबै त्यसको पुच्छरमा जोडियौं । मैले सोचेको थिएँ- आधार कार्ड देखाएर कसैले सबैका लागि अनुमति पत्र लिएर आउँछन् भन्ने तर यहाँ त भौतिक रूपमा खडा हुने बाध्यता रहेछ । हाम्रो कतारले पञ्चमीको पूजा प्रदक्षिणा गर्दाको वेग मात्र टिपिरहेकाले मन असहजमा छटपटाइरह्यो । प्रायः एक घण्टा जति यस्तो परिस्थिति भोगिरह्यौं । यसको प्रतिकार खोज्दै म त्यहाँबाट निस्केर केही अघि कर्मरत पुलिस अधिकारीतिर लम्कें । हाम्रो साथमा दूधमुखले नानी रहेकाले समय-छुट गराइदिन उनी समक्ष अनुरोध राखें । तर मेरो अनुरोध खोलामा ढुङ्गो हाने जस्तो बेअसरको भयो । खुइय गर्दै लुरुक्क परेर पुनः लाममा जोडिनु बाहेक अरू विकल्प थिएन ।
केही बेरपछि हामीले बल्ल भूटान पस्ने सौभाग्य पायौं । रङ्गिन, डिजाइनदार ड्र्यागनका नक्शा अङ्कित ठूलो भव्य, प्रवेशद्वारबाट भित्र पसेपछि मनमा एक प्रकारको प्रशान्ति छायो । हाम्रो गाडी केही अघिसम्म गुडेर फराकिलो सफा मार्केट कम्प्लेक्समा गएर रोकियो । हामी ‘सान्ड्रुप-जोङ्खार’ भन्ने ठाउँमा पुगेछौं । हाम्रा अघि तीन तल्ले अग्लो भवन खडा थियो । यसका भुइँतलाका ऱ्याकमाथि सजाइएका हरिया, ताजा तरकारीहरूले हामीलाई टाढैबाट निम्त्याइरहेका थिए । हामीसँग आएका महिलाहरू उतैतिर आकर्षित भए पनि पुरुषहरू चाहिं देब्रेपट्टि सुन्तला थुप्रिएका मालगोदाम तिर लाग्यौं ।
त्यहाँ प्रायः १०-१५ जना कर्मी पाकेका सुन्तलाको डङ्गुरबाट ठूला छानेर काठका बाकसमा राख्दै थिए । दुई-तीन जनाले चाहिं थुप्रोबाट झिकेर गन्ती गर्दै पोलिथिनको ब्यागमा भराउँदै थिए । साथमा खडा एकजना पाका मानिसले हामीलाई निःशुल्क चखाएर (होला) लोभ्याउँदै थिए । सुन्तलाको मोल गुवाहाटीको भन्दा सस्तो रहेछ । हामीले आफूखुशी बोक्न सकुन्जेल किन्यौं । बाकसमा भराएका चाहिं बङ्गलादेश निर्यात गर्नका लागि रहेछन् । यसपछि हामी मार्केट कम्प्लेक्समा तरकारी आदि चीज किन्नमा व्यस्त महिला सहयात्रीहरूसँग सामेल हुन उतैतिर लाग्यौं । त्यहाँ भान्साघरमा चाहिनुपर्ने प्रायः सबै खाले सामग्रीहरू देखिए । तर मलाई मनपर्ने फलहरू चाहिं पहिलो तल्लामा पो रहेछन् । गुवाहाटीको भन्दा सस्तो परेकाले मैले सकेसम्म किवी र घिउफल (एभोक्याडो) उठाएँ ।
भूटान अर्ग्यानिक देश भएकाले त्यहाँ राखिएका सामग्रीहरू उत्पादन गर्दा रासायनिक पदार्थ प्रयोग गरिएको छैन भनी ढुक्क पर्न सकिन्थ्यो । मेरी श्रीमतीले चामलबाहेक प्रायः सबै थोक सामग्री किनिछन् ! यी सबैलाई गाडीमा लदाएपछि हामी सुन्दर बाटोको बीचैबीच टहल्न लाग्यौं । डुल्दै जाँदा कताकता ग्यान्टोकको एमजी मार्ग जस्तो । दुवैपट्टिका सुन्दर भवनहरूले आकाश ताके पनि चारतल्लेभन्दा बढी देखिएनन्, स्काई स्क्र्यापर कतै थिएनन् । हामीलाई भुल्याउँदै त्यो मार्गले एउटा उद्यानमा पुऱ्यायो । त्यसको बौद्धधर्मीय ढाँचामा बनाइएको प्रवेशद्वारले हामीलाई निम्त्यायो । भित्रपट्टि पादचारीहरूलाई आकर्षण गर्न सिमेन्टले बनाइएका सफा सुन्दर मञ्चहरू बिछाइएका थिए । दाहिने हातामा लामा बाँसमा खडा लुङदारहरू हावामा फरफराइरहेका थिए ।
त्यसका साथै आचेन लिपिमा मन्त्र लेखिएका तामाका प्रार्थना-चक्काहरू पङ्क्तिबद्ध तरिकाले भित्तामा स्थापित थिए । तिनलाई हल्का घुमाउँदै हामी अघि बढ्दै गऱ्यौं; समानान्तर रूपमा अनुभव गर्न खोज्यौं मनमा गहिरो प्रशान्ति । वातावरण शान्त थियो । हामी बीचका कसैले उद्यानका विभिन्न ठाउँमा गएर सेल्फी लिनमा व्यस्त भए । हामी अझ केही रमाइलो देख्न पाइन्छ कि भन्ने सोचले बाहिर निस्केर अग्रसर हुँदै गयौं । तर हामी सबैलाई छक्क पार्दै त्यो मार्ग थालिएकै ठाउँमा टुङ्गिएर सेलरोटी पकाएको आनन्द दिलायो ।
चौदिशमा तीन-चारतले अग्ला भवनहरू आआफ्ना आकर्षक रङ्गिन रूपसज्जाले आकाश ताकेर ठिङ्ग उभिरहेका थिए । म उतै टोलाएर सेल्फी लिँदै मख्ख परेछु ! केही बेरपछि जब वास्तवमा फर्केर आएँ, एक्लोपनको अनुभव गरें । त्यो अजान्ति मुलुकमा मेरा दायाँबायाँमा कोही रहेनछन्, मलाई एक्लै छाडी सहयात्रीहरू शपिङ कम्प्लेक्समा गइसकेका रहेछन् । मैले टाढैबाट दृष्टि नियालें – उनीहरू पसलभित्र कुनै फ्रिजलाई केन्द्र बिन्दु बनाएर व्यस्त मौरीले जसरी चारैपट्टिबाट घेरिरहेका रहेछन् । कौतूहलले मलाई उतै तान्यो । उनीहरूका हातहातमा पारदर्शी पोलिथिनमा जमेका मक्खनका डल्ला हाँसिरहेका थिए । मोलचाहिं गुवाहाटीको भन्दा प्रायः आधा जति कम ! यति थोरै उत्पादन लागतमा कसरी मक्खन बिक्री भएको थियो मेरो मस्तिष्कले सोचेरै पार पाएन । साथमा छुर्पीहरू पनि थोकमा बिक्री हुँदै थिए ।
सबैको झोला भरिसकिएमा हामी गाडीतर्फ फर्कियौं । एकै क्षणमा हाम्रो वाहनले एक सुन्दर अलकत्रे मार्गसँग सम्झौता गर्न लाग्यो । यसरी नै केही समय बितेछ । एउटा ठूलो चौतारीमा हाम्रो गाडी थामियो । अघिल्तिर इटारङी दुईतल्ले आकर्षक भवन बगानभिलियाको फूलले लत्रिएका हाँगाका बीचैबीच दृष्टिगोचर भयो । वाहनबाट निस्केर हामी उकालो चढ्न लाग्यौं । रङ्गिन फूलले सजिएको एक प्रवेशद्वारको तोरण रहेछ । त्यस मन्तिरबाट जब हामी अघि बढ्दै गयौं भवनको सुन्दर बनोटले हामीलाई खिच्दै लग्यो । त्यो ‘टासी गोसेल लज’ रहेछ । स्वागत कक्ष कटेर हामी सोझै जाँदा एउटा सार्वजनिक कोठामा पुगेछौं । यो भोजन स्थल रहेछ । ग्राहकहरूको खचाखच भए पनि उनीहरूले गरेका कुराकानी मानौं चारैपट्टिको निस्तब्ध परिवेशले सोसिरहेको थियो । त्यो शायद टाकुराको एक मात्र खडा भवन थियो । लजका चारैपट्टि न त कुनै जनबस्ती थियो न त मानिसको हल्लाखल्लाको स्रोत नै । केवल थिए अग्ला अग्ला रूखका सान्निध्य र चकमन्याँइ ।
भवनकै पृष्ठभूमिमा, तर केही पर, एउटा अग्लो पहाडले हरियो मजेत्रो ओढेर मुस्कुराइरहेको थियो । रूखका डालीडालीमा झुलेर बाँदरहरू आफैंमा जिस्किरहेका थिए । मलाई पनि एक्कासि उड्दै गएर त्यहाँका कुनै डालीमा झुन्डिएर आनन्द लिन मन लागिरहेको थियो । लजको छेवैमा एउटा अग्लो रूखलाई मृदु हावाले नचाइरहेको थियो । पत्रविन्यास र रेखाहरू देखेर त्यो पाँचपाते जस्तो लागेको थियो, तर फल नदेख्दा निधो गर्न सकिनँ । हामीले लजको कुनामा गएर हरियालीलाई पछिल्तिर सजाई मनग्गे सेल्फी लियौं । हामी गएकै बाटो लजबाट फर्कियौं । केही टाढा आफ्ना शिरमाथि सिँगारिएका रङ्गिन ध्वजाहरूलाई हावामा फरफराउँदै एक श्वेत चोर्तेन गम्भीर मुद्रामा खडा थियो । त्यसको अवस्थितिले हाम्रो यात्रा र त्यहाँको परिवेशलाई आध्यात्मिक बनाइरहेको थियो । दिनभरिको यात्रा समाप्त गरी भूटानबाट निस्किने क्रममा हामी निकासी द्वारमा पुग्यौं ।
हामीलाई घर कति चाँडो पुग्न सकिएला भन्ने खट्पटीले सताइरहेको थियो । तर त्यहाँ निकासीको औपचारिकता चक्रव्यूहको जयद्रथ भएर खडा थियो । प्रायः एक घण्टा समय खर्चेपछि मात्र निस्कने अनुमति मिल्यो । भारतभित्र पसेपछि सबैले ढुक्कको ठूलो सास फेरे । सूर्य देवताले दिनभरि प्रकाश छरिसकेर अनुहारमा लाली चढाउँदै अवकाश लिन खोज्दै थिए । बाटामा दुवैतिरका बटुवाहरू घर फर्कनमा व्यस्त थिए । कतिपय पसल्नी कराईको तातो बलुवालाई कप्टेराले चलाउँदै बदाम भुट्नमा व्यस्त थिए । तिनका अगेनामाथि उडेको धुवाँले हामीलाई निम्त्याइरहेका थियो । तल्तललाई थाम्न नसक्दा हामीलाई गाडी पर्खाएर नकिनी भएन । केही क्षणपछि सबै मनतातो बदामका बोक्रा छोडाउँदै भित्रका दानालाई चपाएर यात्राको आनन्द लिन लाग्यौं ।
वातावरणको उद्दीपक चिसोले मलाई फेरि भूटानतर्फ तानेर लगिसक्यो । कुल घरेलु प्रसन्नताको आधारमा रहेको यो देशका प्रजाहरू कत्तिका प्रसन्नमा होलान् ? यस बारेमा भूटानका कतिपय विज्ञ नागरिकसँग मैले म्यासेन्जरमार्फत् वार्तालाप गरेको थिएँ । बेरोजगारी बढिरहेको छ अरे । युवाहरू देशबाट बहिर्गमन भइरहेका छन् अरे, विशेषगरी अस्ट्रेलियातर्फ । अरू त के, कतिपय राष्ट्रसेवकहरू गर्दागर्दैको सरकारी जागीर छोडी जब विदेश कुदेको जानकारी पाएँ त्यतिबेला सङ्कटको गहिराइ छाम्न मलाई बेर लागेन । मानिस आफ्नो जन्मथलो, परिवार, गाउँ, देशै छाडी केका लागि धावमान हुन्छ ? सुख कि सुविधाका लागि ? कि सामाजिक सञ्जालको भुलभुलैयामा बगेर अरूको देखासिकी गर्दै मरिचिकाका पछिपछि दगुरेको ? कि अरूलाई देखाउन ? मैले यस्ता बहिर्गमनकारीलाई दुईवटा समूहमा बाँडेको छु – (क) राम्रोभन्दा राम्रो खोज्दै अपकेन्द्री बलले गर्दा आफ्नो कक्षबाट हुत्तिएका, (ख) परिस्थितिको भुमरीमा होमिएका ।
यो पहिलो समूहको मर्मस्पर्शी कहानी यस्ता प्रकारको सुनेको छु – छोराले विदेशमा कुनै बहुराष्ट्रिय कम्पनीको माथिल्लो अहोदामा जागीर पाएकोमा सबै खुशी हुन्छन् ।
शुरूमा आफ्नो सन्तानको गतिलो व्यवस्थापनलाई उपभोग गर्नको निम्ति बाबुआमा उतै धावमान हुनेगर्छन् । केही वर्षपछि नाती-नातिना हेरिदिने अपरिहार्यताले गर्दा । तर जब वृद्धावस्थामा उनीहरू रोगले थान्को लाग्छन् त्यतिबेला विदेशिएको छोरा कहिलेकाहीँ मात्र झुल्कने गर्छ रे । समय बित्दै जाँदा ऊ आउन नसकेकोमा आफ्ना सहपाठीलाई फोन गर्छ अरे र उनैको सहाराले बाबुआमाको दबाइ-पानी गराउँछ रे । तर कुनै दिन जब बाबुआमाको चोला उठ्छ, १३ दिनको दिन पनि सन्तान आइपुग्दैन, तब छरछिमेकीले मन्तव्य यसरी दिने गर्छन् अरे…“बिचराले आफ्नो स्वर्णिम समय र सम्पत्ति खर्चेर छोरालाई राम्रोभन्दा राम्रो अनुष्ठानमा पढाए । नानीले पनि अग्रपङ्क्तिमा रहेर डिग्री प्राप्त गर्दैगयो । त्यही अनुसार कम्पनीको उच्च ओहोदामा जागीर पाएर विदेश गयो । तर बाबुआमाको सूर्य अस्ताउने जीवनकालमा आफू त आएन आएन, पिण्ड दिनसम्म फर्केन ।” उता, छोराले आँसु चुहाउने गर्छ ‘बिदा नपाएर बाबुआमाको दाहसंस्कार पनि गर्न पाइनँ’ भनेर ।
दोस्रो समूह, अर्थात् परिस्थितिवश: आफ्नो जन्मथलो छाड्नु परेकाको राम कहानी अर्कै प्रकारको हुन्छ । यिनीहरूलाई मैले अमेरिकाको विभिन्न ठाउँमा भेटेको छु । कुरा गरेर अन्तर छामेको पनि छु । पसलहरूमा काम गर्ने भूटानबाट लखेटिएका नेपाली मूलकाहरू आफ्नो जन्मथलो साम्ची, छुखा, सर्बाङ, चिराङ, दागाना या साम्ड्रुप जोङ्खारको मिठा विगतमा डुबिरहेका हुन्छन् । आफ्ना गाउँघरका कुरा सम्झना गरी भित्रभित्रै पिरोलिरहेका हुन्छन् । उता, नेपालभित्र शरणार्थी शिविरमा बसेकाहरू घर फर्केर जाने आशामा कल्पनाका लुङ उनिरहेका हुन्छन् । नेपालभित्रका शरणार्थी शिविरमै हुन् या विश्वका विकसित देशमा तथाकथित सुखको ओतमा बसिरहेकै हुन्, यिनीहरूले अन्तस्करणमा बोकी हिंडेका प्यारा भूटानी घरका झ्यालभित्र मैले चियाएर हेरेको छु । त्यहाँ अगणनीय आशाका मुना टुसाइरहेको देखेको छु ।
इतिहासले भन्छ सन् १९९१-९२ मा नेपाली मूलका भूटानी प्रायः १ लाख जना नागरिकको यस देशबाट ‘पलायन’ भयो । पलायन कि परिस्थितिको बाध्यता ? के प्रजातन्त्र आन्दोलनका नाउँमा झोसिएको आगोको बली भएका होलान् यी निमुखा भूटानी नागरिकहरू ? त्यो कुरा इतिहासको तराजुले कुनै दिन निश्चय निर्णय गर्ला । तर यथार्थले के भन्छ भने विश्वका आठ वटा विकसित देशले उदारता दर्शाउँदै प्राय: ४० हजार भूटानी शरणार्थीहरूलाई पुनर्वास गरायो । यी वन्दनीय देशहरू हुन्- अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड, नरवे, इङ्ल्यान्ड र संयुक्त राज्य अमेरिका । तर भौतिक सुखले मानसिक पीडालाई कहाँ हटाउन सक्दो रहेछ र ? त्यसैले होला भौतिक सुखको भूस्वर्ग अमेरिकामा स्थापना भए पनि भूटानी शरणार्थीमा आत्महननको आँकडा स्थानीयहरूको भन्दा दुई गुणा बढी भएको !
भूटानले सन् १९८९ देखि ‘एउटा राष्ट्र एक व्यक्ति’ नीति अपनाएर जोङ्खा भाषालाई केन्द्रबिन्दुमा राख्यो । यसको तह विद्यालयहरूमा पूर्व कालदेखि चलिआएको नेपाली भाषा शिक्षण हटायो । तर विडम्बनाको कुरा के हो भने यसको छिमेकी राष्ट्र भारतले ‘अनेकतामा एकता’ नीति अपनाएको छ । यसको संविधानले २० वटा भाषालाई मान्यता दिंदै अष्टम् अनुसूचीमा अन्तर्भुक्त गरेको छ । अर्थात् यी भाषाहरू राज्यिक भाषा मात्र होइनन् त्यहाँका शिक्षा अनुष्ठानहरूमा पनि पढाइन्छन् । यस बाहेक, सन् २०२० को नयाँ शिक्षा नीतिले नानीहरूलाई विद्यालय तहदेखि नै आफ्ना मातृभाषामा पढ्न पाइने प्रावधान राखेको छ । विज्ञानद्वारा यस्तो प्रमाण गरिएको छ भने मातृभाषाको माध्यमले दिइएको शिक्षणले शिशुको संज्ञानात्मक विकास र सञ्चार कौशलको उन्नति हुनजान्छ जसले गर्दा पछि गएर ऊ देशको एक अब्बल नागरिक हुन सक्छ । स्मरण रहोस्, सन् २००१ को जनगणना अनुसार भारतमा १६३५ वटा प्रमाणयोग्य मातृभाषा र २३४ वटा पहिचानयोग्य मातृभाषाहरू छन् । सुन्दर भारतीय भाषाका फूलबारीमा किसिम किसिमका फुलहरू ढकमक्क सजाएर रमणीयता बढाउने यी मातृभाषाहरू नै हुन् ।
तर समयले पाउला फेर्दै छ । यतिबेला भूटानमा सांविधानिक राजतन्त्र चलेको छ । नेपाली मूलका भूटानी नागरिकहरूप्रति सरकारको मनोभाव पनि बदलेको छ भन्ने बुझिन्छ । देशका जम्मा १० वटा मन्त्रीहरू भित्रमा तीनजना त नेपाली मूलकै रहेछन् । मलाई लाग्छ परिवर्तित समयलाई सम्मान गर्दै भूटानले उदार नीति अपनाउनेछ र आफ्ना एक चौथाइ नागरिक अर्थात् नेपालीभाषी भूटानीहरूलाई मातृभाषा शिक्षण प्रदान गर्न पुनः मौका दिनेछ । यस विषयमा आफ्नो मित्रराष्ट्र भारतलाई अनुकरण गर्न भूटानलाई निश्चय परिपक्वता आएको छ ।
भूटानको अर्थतन्त्र जलविद्युत, कृषि र वनमा आधारित छ । यो राष्ट्रको आयस्रोत बढाउन अर्को एउटा मार्गको अन्वेषण गर्न सकिन्छ । यसको अर्को छिमेकी राष्ट्र नेपाल वैदेशिक रोजगारीबाट आर्जन गरेको पैसा (रेमिटेन्स)ले चलेको छ भन्दा अत्युक्ति नहोला । जबकि नेपाली मूलका भूटानी नागरिक धेरै सङ्ख्यामा विदेशिएका छन् यो देशले पनि यस्तो सुविधा लिन सक्छ । सुन्दै छु, नेपाल राष्ट्र छाडी ‘बहिर्गमन’ गर्नेहरूले कुनै कुनै गाउँ/अञ्चल त ५० प्रतिशतसम्म रित्तो पारिसके अरे । यस्ता ठाउँमा खेती गर्ने कोही नभएर जग्गा-जमीन बाँझो भएर जङ्गल हुन लागेको छ अरे । भूटानमा पनि तद्रूप परिस्थिति आउँदैछ अरे । यस्तो भएको खण्डमा भूटानबाट लखेटिएका नेपाली मूलका नागरिकहरूलाई शरणार्थी शिविरबाट फर्काएर लैजाँदा दुवै पक्षलाई फाइदा होला । यिनीहरू आफ्नो जन्मभूमि फर्केर खेतीपाती गरेपछि देशको कृषि उत्पादन बढ्ने छ । अर्कापट्टि, यी निराश्रित नागरिकहरूलाई पनि न्याय प्राप्त हुने छ । यदि यसो गर्न औपचारिकता पूरा गर्दा समय लाग्छ भने शिविरमा आश्रित भूटानी नागरिकलाई अस्थायी कर्म-अनुमति दिएर नेपालका परित्यक्त भूमिमा कृषि कर्म गर्नलाई अस्थायी रूपले नियोग गर्न सकिएला ।
सन् १८६७ मा असमको डिगबोई अञ्चलको भूमिमुनि तेल आविष्कार भएको थियो । त्यहाँको तेल रिफाइनरी एसियाको सबैभन्दा पुरानो हो । त्यस अञ्चलमा अंग्रेजहरू आएर हात्तीको मद्दतले कसरी तेल सङ्ग्रह गरी परिशोधन गर्थे यस बारेमा डिगबोई रिफाइनरीको म्युजियममा आकर्षक तरीकाले दर्शाइएको छ । म्युजियमभित्र सजाइएका जीवन्त मूर्तिहरूले पुराना तथ्यहरूलाई उजागर पारेका छन् ।
दुईजना व्यक्ति बीचको यहाँ एउटा मर्मस्पर्शी चित्रण छ । गोरेले चाहिं तीन पिस कालो सुटमा काउबय टोपी परिधान गरेर भव्य चौकीमा राजकीय पाराले बसेको । अर्को व्यक्ति चाहिं उनको केही अघि साधारण परिधानमा उभिएर गोरेको खुट्टातिर हेरिरहेको, भारतीय । तिनताक भारतीयहरूले गोरेको अनुहारै हेर्न नपाइने नियम थियो अरे । डिगबोईमा यस्ता गोरे साहबहरू बसोबास गर्नका लागि उच्च कोटीका भवनहरू भएका अञ्चल थिए जहाँ भारतीयहरू जान मनाही थियो अरे । भारतीय मूलका अधिकारीहरू बसोबास गर्न ‘काला साहब पाडा’ भन्ने अञ्चल थियो अरे । गोरेहरूले रङ्गभेद नीति अपनाएर भारतीयहरूलाई ८९ वर्ष पाउमुनि दबाएर राखेपछि ब्रिटिश राजको समाप्त भयो । तर यिनीहरूको नियमलाई लोप्र्याएर भारतीय मूलका ऋषि सुनकले ७५ वर्षपछि सात सागर तेह्र नदी पल्लापट्टि उनीहरूकै देशमा गएर प्रधानमन्त्री भएर उनीहरूलाई शासन गरेरैछाडे । यस उपमाले समय कति बलवान हुँदो रहेछ, स्पष्ट पारिदियो । भूटानबाट उठीबास लगाएका नेपाली मूलका भुटानी नागरिकले कुनै एक समयमा भूटानमा शासनको बागडोर नसमाउलान् भनेर कसले किटेर भन्न सक्ला ?
केही क्षणपछि गाडीभित्रका सबै यात्री बदामलाई बोक्र्याउँदै भित्र रहेको दानालाई चपाएर समाप्त हुँदै गरेको भूटान यात्रालाई रोमन्थन गरिरहेका थिए । चार घण्टा मिलिक्कै बितिसकेछ ! घर आइपुगिसक्दासम्म मेरो मुख भित्रको छुर्पी एक रत्ती पनि कोटि्टएको थिएन । ऊ मानौं भूटानी शरणार्थीहरूको वेदनाको प्रतीक बन्दै तटस्थ छ ।
गुवाहाटी, असम, भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

