
“अमेरिकाबाटै हली र गोरु ल्याएर यहाँ पनि डायस्पोरा (डारा) को धर्ती आवाद गर्ने हो कि ! के हेर्दैछौ ? संस्कार माझ्न र फैलाउन द्रव्यको अभाव होला र ! के गुन्दैछौ ?”
यो दुष्ट वाक्य कसैले कसैलाई भन्दै थियो । तेस्रो व्यक्तिले सुन्यो र त्यसले मलाई सुनायो । पहिले व्यङ्ग्य ठानें, पछि उचित सम्झें । भूमिका बाँधें – डायस्पोरा शब्द अत्यन्त अप्रिय लाग्यो र यसलाई अर्को ढंगले सम्झनु उचित ठानें । मलाई पाणिनिको गुरुकुलभित्र प्रवेश गरेर अर्को शब्द जन्माउने रहर भो, सकिनँ । न म देवकोटा, न बालकृष्ण पोखरेल । बरु आचार्य शरच्चन्द्र वस्तीको संगतमा परेपछि मेरो आँखा खुल्यो र पाणिनिकै बाटोमा फर्केर ‘प्रत्याहार’ प्रक्रियाबाट शब्द बनाएँ, खाँदेर छोटो पारें । अब डायस्पोरा (डारा)मा प्रतिविम्बित हुने देखें । अमेरिकीहरू राज्यको नाम यस्तै ढंगले छोट्याउँछन्– MD ( Maryland), FL, VA, NC, TX, CA इत्यादि ।
प्रकृति नमिल्ने भए पनि मिलाउनु उचित लाग्यो । सिंहदरबारको प्रमुखद्वार र बहादुर भवनको वर्तमान स्वरूप विजातीय वास्तुकलाका मिश्रित उदाहरण भएनन् र ? चलाउँदा र मान्दा हुने रहेछ नि ! संसदलाई स्थगित गरेर विधेयकले राज्य सञ्चालन गर्न नसकिने रहेछ र ! कार्यकारी मुखको दृष्टि र आत्मविश्वास सधैं गलत मानिने होला र ! जनता सचेत भए राजनीतिले नीतिगत भ्रष्टाचारले मौलाउने मौका पाउँथ्यो त ! कसरी संगति मिलाएर सोच्नु एमसीसी अमेरिकी योजना स्थगित भो भनेर ! अब फर्कौं , डारा (डायस्पोरा) बाट टाढा जानुहुन्न । संसार डारामय नै छ । अहिले म नेपालमा अमेरिकी डायस्पोरिक साहित्यको उत्पादनमा छु भन्नुपर्ला !
भारतवासी नेपालीहरू हिजो आफ्नो साहित्यलाई प्रवासी, विदेशी यस्तै शब्दले चिनाउँथे । आज भारतीय नेपाली साहित्य भनेर सगर्व शिर ठाडो पार्छन् । डायस्पोरा (डारा) स्थितिबोध गराउने शब्द हो, यसको चल्ती हुँदा आजका नेपाली साहित्यका डायस्पोरा विशारदको जन्म भएकै थिएन कि ! भारतका नेपाली साहित्यकारहरूले डायस्पोराको प्रकृति–प्रत्ययको परिचय पाएका थिएनन् भन्न त मिल्दैन । रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, अझ पहिलेका त्रिमूर्तिका – धरणीधर कोइराला वा गंगाप्रसाद पादरीले पनि डायस्पोराको संस्कृति बारे जानकारी लिएका थिएनन् भन्ने हो कि त ! ईश्वर बरालको चेतनाको परिधिलाई संकुचित गरेर उनी पनि डायस्पोरा तत्त्वसँग अज्ञात थिए भनेर मन थाम्ने हो कि ? ऋषिकेश शाह र यदुनाथ खनालले पनि डायस्पोराको विकास र प्रवृत्तिबारे जानकारी लिएनन् वा यसबारे अन्जान थिए भन्ने हो कि !
यो शब्द पत्रकारिता, राजनीति र समाजशास्त्रमा फैलियो, आफैंमा यो साहित्य–सिर्जना तर्फको होइन भनेर विचारको बीट मार्दै जाने हो कि ! जे होस् विश्वसाहित्य एवं राजनीति, सामाजिक परिस्थिति र आफ्नो साहित्यसँग निकट रहेका विद्वानहरू डायस्पोरा–संस्कृतिसँग परिचित थिएन् भन्न त मिल्दैन । ठानौं, शायद त्यो शब्द नेपाली जीवन, संस्कृति, राजनीति, परिस्थिति र कला–साहित्यको सन्दर्भमा ग्रहणयोग्य थिएन । यसबारे डायस्पोराका ज्ञान–विशारदले अवश्य चिन्तन आरम्भ गर्लान् । डायस्पोरा नकारात्मक–तुच्छता–हीनताबोधक शब्द हो । त्यसैले भारतवासी नेपाली साहित्यकारले डायस्पोरा भन्न भनाउन चाहेनन् । हाम्रा ज्ञान विशारदले भनिदिए भने पानी बाराबारको स्थिति आउन सक्छ । सम्भावना छ ।
दोहोर्याएर भनौं– डारा (डायस्पोरा) को माला जप्तै गयो भने नेपाली साहित्यको इतिहास पनि डायस्पोराबाट ग्रहीत सामग्रीबाट निर्माण गरिएको हो भन्ने प्रमाणित हुन्छ । नेपाली साहित्यको माध्यमिक कालको सामग्री डायस्पोराबाटै सञ्चित हो । संस्कृत वाङ्मयको उत्सबाट लिएका– नेपाली साहित्यका नीति, धर्म, भक्ति, श्रृंगारपरक सिर्जना डायस्पोराकै सम्पत्ति हुन् भन्नुपर्ने होला कि । सवाई, लहरी र गजल साहित्यको भण्डारलाई डायस्पोरा भिन्न भन्ने हो भने अध्ययन दोषपूर्ण देखिने पक्का छ ।
पछिल्लो समयमा तेस्रो आयाम, लीलालेखन पनि डायस्पोरा लेखनकै अब्बल दृष्टान्ट मानिने होलान् कि ! यो स्थितिमा डायस्पोरा–ज्ञान विशारदहरूको विवेक–तराजु लुकाउनुपर्ने हो कि ! कि भारतभूमिका नेपाली सिर्जनालाई चाहिं डायस्पोरा बाहिर राख्ने भनेर घोषणा गर्नुपर्यो । कि यहाँ पनि अमेरिकामा जस्तै सन् २००७ को बार बारेर नहर निकालेर अन्तै मिसाउनु पर्यो । कुरा त सजिलै छ ।
यो बारले ताना शर्मालाई डायस्पोराको लेखकबाट (युरोप–अमेरिका) जोगाए पनि महाकावि देवकोटादेखि अघि र पछिका कयौं स्रष्टालाई डायस्पोराका लेखक मानिदिए फरक चाहिं के पर्छ ? विवेचकलाई रोक्न सकिन्छ ? एउटा पीठ खडा गरौं, अभियान चलाऊँ, केही समय चर्चाको केन्द्र बनौं, अनि अस्ताऔं ! किन्तु गएर पनि बाँचेको हुनु चाहिं महान् कुरा हो कि ! बूढो रूख नुहुँदैन, बरु भाँचिन तयार छ । ठाकुरप्रसाद पराजुली र शिवप्रसाद सत्याल ‘पीठ’ का लेख पढ्नैपर्छ अनि डायस्पोरा बोक्ने कि फ्याँक्ने भनेर निर्णय लिन सकिन्छ कि ! सोचौं न ।
म पनि अहिले नेपालमा बसेर अमेरिकी नेपाली डारा (डायस्पोरिक) साहित्य उत्पादन गर्ने यत्नमा छु । मेरो डारा लेखनलाई कुनै शर्त र सीमा चाहिने देखिएन । बेलाबखत बास गर्दै गरे भयो । तैपनि यो महत्वको विषय हो– युगौंयुगदेखि डारा साहित्य उत्पादनको केन्द्र बन्यो नेपाल । त्यसैले इतिहास पल्टाउने जाँगर चले यहाँ फ्रान्सेली डायस्पोरा, बेलायती डायस्पोरा, चिनियाँ डायस्पोरा, जर्मनेली डायस्पोरा, इन्डियन डायस्पोरा, जापानी डायस्पोराको अस्तित्व लामो समयदेखि रहँदै आएको छ ।
निकट अतीतमा पनि नेपालको माटोमा डायस्पोरा साहित्यका अनेक रूप र प्रवृत्ति देखिएका छन् । किन्तु यहाँको सामग्रीलाई नदेखेर एकैचोटि अमेरिकी नेपाली साहित्यलाई (पातालको साहित्य) डायस्पोराको भनेर चिनाउनुको रहस्य र आगम बुझ्न सकिएको छैन । यहाँ भएको डायस्पोरिक साहित्यको सूची यस्तो छ –
१. नेपाल तिब्बती डायस्पोराको उर्वर भूमि बन्यो ।
२. भूटानी डायस्पोराले प्रशस्त विकास पाएको क्षेत्र पनि यही हो ।
३. सिक्किमेली डायस्पोरालाई सकेसम्म छोडिएको छ, जोड्नुपर्ने हो ।
४. बर्मेली डायस्पोराले नेपालको भूमि ढाकेकै छ र वर्तमानमा आएर रोहिंगियाले राम्रै स्थान ओगटेको छ ।
५. उत्तरकालको इन्डियन डायस्पोरा विकराल रूपले झांगिए पनि डायस्पोरा विशारदले अझै आँखा खोलेका छैनन् । भय, अपमान वा
अज्ञानकै कारण यसतर्फ चिन्तन नगएको होला । कसरी भनौं अविद्याका कारण यस्तो भएको होला भनेर । पक्षपात गर्दैन प्रज्ञावानको कलमले । पर्खौं र हेरौं |
किन्तु म यो अनर्थकारी डारा (डायस्पोरा) बोक्ने पक्षमा छैन । यसले सिउँदैन, उधार्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

