मान्छे परिस्थितिको दास हो । मान्छेले जति नै आफूलाई स्वतन्त्र छु, बन्धनमा बस्तिनँ, परतन्त्रता चाहिन्न भने पनि परिस्थितिको चेपारामा परी चेप्टिएर बसेको हुन्छ । उसका निम्ति घर-परिवार, समाज, पेशा, नियम कानून सबै नै बन्धनका कारण बनेका हुन्छन् । मान्छे एउटा अति मायालाग्दो बबुरो प्राणी हो । ऊ परिस्थितको दास हो । परिस्थितिले अह्राएको काम गर्ने, खट्ने जन्तु मात्र हो । उसलाई हाँस्न र रुनसमेत परिस्थितिको अनुमति चाहिन्छ । मान्छेले आफू चाहेर जन्मेको होइन औ बाँच्न पनि उसले चाहे जस्तो सक्दैन । ऊ चारैतिरबाट घेरिएको र जेलिएको छ । उसको जीवन चारैतिरबाट चेपारामा परेको हुन्छ ।

मान्छे चेपारामा पर्ने धेरै कारण हुन्छन् । मान्छेको चेतन मनमा पराअहम् र अचेतन मनमा इद बसेको हुन्छ । त्यस पराअहमले उसलाई नैतिकतातिर डोर्‍याउँछ भने इदले भने अनैतिकतातिर धकेल्दछ । यही नैतिकता र अनैतिकको पेन्डुलमबाट मान्छेको जीवन डोरिएको हुन्छ । मान्छेभित्रको म भन्ने भावना पनि अचेतन मनमा बसेको अनैतिकताको जड वस्तु हो । मान्छे कतिसम्म गिर्न सक्छ र कतिसम्म उठ्नसक्छ, त्यो उसको इद र पराअहमको खेला हो । यस्तै मनका विभिन्न बनावट र अवस्थाका कारणले मान्छे देवता बन्नसक्छ अथवा राक्षस पनि बन्नसक्छ । यदि मान्छेको मनको अवस्था बिग्रियो भने मान्छे गिरेर राक्षस बन्छ । त्यही मनको बनोट असल छ भने मान्छे देवता बन्छ ।

मान्छेको मनको उपचार गर्न धर्म, उपदेश, आचारसंहिता, नियम, कानून कटिबद्ध छन् । यसकै खातिर मनोविज्ञान खटिएको छ । अब त मान्छेको मनको केस्राकेस्रा केलाउने शास्त्र विकसित भएको छ । मनको सिद्धान्त लिएर युगौं अघिदेखि मनीषीहरूले व्याख्या गर्दै आएका छन् भने आधुनिक कालमा सिग्मन्ड फ्रायड, एडलर, जुङ्ग, एरिक फ्राम आदिले मान्छेको मनलाई नै अध्ययन गरी बुझाउने काम गरेका छन् ।

यति भएर पनि मान्छेको मन अझै बुझ्नसकिन्न । मन बुझ्ने कुनै मापनयन्त्र छैन । प्रत्येक पलमा मान्छेले पाखण्ड पर्वका व्यावहारिक रूपमा नै पालन गरिरहेको छ । मान्छे बुझ्नै नसक्ने प्राणी बनेको छ । साधुको रूपमा चोर हुनसक्छ । चोरले साधु महात्माको अभिनय गरिरहेको हुनसक्छ । मान्छे भन्नु नै मनको प्रवृत्ति हो । मान्छेको मनभित्र जे जस्तो खेल्छ, त्यही नै ऊभित्रको मान्छेत्व हो । मान्छेको मनभित्र एउटा स्व प्रवृत्ति हुन्छ । कसैले कायिक स्वको तुष्टि दिने हुँदा ऊ कामवासनाले ग्रस्त हुन्छ र त्यतैपट्टि बढी ढल्किन्छ । कसैको मनमा आदर्शस्व हुन्छ जसको कारणले मान्छेको चरित्र असल हुन्छ । यस्ता आदर्श स्व, कायिक स्व, अहम् स्व आदिका जोड घटाउ नै जिन्दगी हो । यहीबाट नै उसको मूल चरित्र खुट्टिन्छ । उसको चरित्रलाई सत् मार्गमा लानका निम्ति धर्मशास्त्र, नीतिशास्त्र, धार्मिक र आध्यात्मिक क्रियाकलाप सम्पन्न हुन्छ । कानूनको लट्ठी छ । शिक्षा-दीक्षाको लगाम हुन्छ । मान्छेलाई सानैदेखि आमा बाबु, गुरुजन, नैतिक शास्त्रसम्बन्धी पुस्तक, धार्मिक संगठनका विभिन्न कार्यहरूले उसलाई आदर्श-स्वमा डोर्‍याउने काम गर्छन् । हाम्रो समाजमा नराम्रो कुकर्म गरे पाप लाग्छ, नरकवास हुन्छ भन्ने भनाइमा ठूलो रहस्य छ । कानूनले भन्दा पहिले आस्थाको कानूनले मान्छे र मान्छेको मनलाई बाँधेको हुन्छ । मान्छेको मनलाई विभिन्न किसिमबाट बाँध्न आवश्यक छ । नत्र त यो मन जंगली घोडा हो, जथाभाबी कुद्न र जेसुकै गर्न खोज्छ ।

मान्छेलाई चिन्न सकिन्न । वर्षौंसँगै बसेर पनि मान्छेलाई चिन्न सकिन्न । यो चिन्न नसक्नु भन्नु नै उसको मनलाई बुझ्न नसक्नु हो । मनले घरी के गर्न लाउँछ, घरी के गर्न लाउँछ । यही मनले घरी पाप चिताउँछ, घरी धर्म  । काम, क्रोध, लोभ, मोह, मात्सर्य, अनैतिक सबै नै मनकै उपज हुन् । यसैगरी सदाचार, चरित्र, आदर्श, नैतिक, दान, शील, धर्म आदि पनि मनकै उपज हुन् ।

मनको गहिराइ र रहस्यसम्बन्धी नेपालीमा केही उखान पनि नभएका होइनन् । ‘मन चङ्गा त कठौतीमा गङ्गा’ भनेर मन पवित्र छ भने सबै कुराको पवित्र हुन्छन् भन्न खोजिएको हो । नचाहिँदो र असम्भव प्रायः कल्पना गरे ‘मनको लड्डु घिउसित खानु’ भनिन्छ । आफ्नो मनको पीडा अरू कसैले बुझ्दैन भन्नु परे ‘मनको बह कसैलाई नकह’ भन्छौं । कसैको बाहिरी मुखले चिप्लो बोल्ने तर उसको मन चाहिं नराम्रो र घातक छ भने ‘मुखमा राम राम बगलीमा छुरा’ जस्ता उखान प्रयोग गर्छौं ।

केही गीतहरूले पनि मनको रहस्यलाई जनाएको पाइन्छ । ‘मनको कुरा मनमै रह्यो’, ‘मनको कुरालाई बाँधी नराख’, ‘तिम्रो मन बदलिएछ’, ‘मनमनै सजाइसकें’, ‘यो मन बरालिन्छ’, ‘मन पराउने हजार भेटिन्छन्’ आदि हुन् । कसैले निराशाको कुरा गरे हामी मन मार्नु भन्ने उपमा दिन्छौं ।

यी सबैले मनको अवस्था बुझाउने प्रयास गरेका छन् तर सबै अपूरा छन् । अझ मन जटिल छ । मन फूलभन्दा कोमल र ढुङ्गाभन्दा कठोर हुन्छ । एउटै मान्छेको मन पनि अवस्था हेरीहेरी बदलिन्छ । हिजो कठोर बुझिएको मान्छे आज कोमल देखिन्छ भने त्यसको विपरीत पनि हुनसक्छ । आजको सरल मान्छे भोलिको संश्लिष्ट हुन्छ, बन्छ । हिजो देवता ठानिएको आज राक्षस बन्नसक्छ औ हिजो राक्षस ठानिएको आज देवता बन्नसक्छ । पलपलमा मन परिवर्तन हुन्छ । हिजो असत्य ठानिएको आज सत्य हुनसक्छ औ हिजो सत्य ठानिएको आज असत्य हुनसक्छ ।

मनले अह्राएको काम नै मान्छेले सम्पन्न गर्छ । मन यदि सिर्जनोन्मुख छ भने ऊ सिर्जनातिर नै उद्यत हुन्छ । साहित्य कला आदि सबै नै मनका उपज हुन् । मान्छेमा पागलपन हुनु पनि मनकै कारण हो । यही मनलाई तह लाउन ऋषि-मुनिहरूले घोर तपस्या गर्ने गर्थे । उनीहरूले मनलाई नियन्त्रण पनि गर्थे । सांसारिक मायामोहबाट मनलाई अक्षुण्ण राख्न साधु भई हिंड्ने मान्छे पनि छन् । मनकै उपजबाट कतिपय युद्ध छेडियो । राज्य विस्तार, सत्ता प्राप्ति इत्यादिका निम्ति गरिएको संघर्ष र लडाइँ पनि मनकै उपज हुन् ।

मान्छे चिन्न त सकिन्न साथै उसको मन पनि । तैपनि मान्छे चिन्ने तरिका केही अपनाउन सकिन्छ । केही मापन र साधनबाट मान्छेलाई चिन्न सकिएला । मान्छेको मनबाट उसको चारित्रिक विशेषता झल्किने हुनाले उसका गतिविधि र चरित्रबाटै मन बुझ्न सकिन्छ तर आंशिक रूपमा मात्र । मनको गतिविधिको प्रतिबिम्ब स्वरूप उसको बाहिरी चरित्र देखा पर्छ । यसका निम्ति केही उपायलाई केलाएर यसरी हेर्न सकिन्छ-

साहित्यप्रति रुचि– साहित्यप्रति रुचि लिने, अध्ययन लेखन गर्ने व्यक्ति पनि स्वतः सज्जन शान्त र गम्भीर हुने गर्छ । साहित्यप्रति रुचि लिने समाज जीवन र जगतप्रति आस्था, गम्भीरता, सकारात्मक विचारधारा भएको सज्जन हुन्छ । कविता, कथा, उपन्यास, निबन्ध पढ्ने, नाटक हेर्ने व्यक्तिभित्र रसिकता, सज्जनता, व्यक्तिगत स्वार्थदेखि केही माथि उठेको स्वभावको हुन्छ । साहित्य पढ्ने व्यक्तिमा मानवीय संवेदना, मनोविज्ञान, मानवतावादी चेतना, ईश्वर चिन्तन आदि  आदिको ज्ञान हुन्छ ।

ड्युटीमा इमानदारिता – यदि कोही मान्छे आफ्नो ड्युटी वा काममा समर्पित र इमानदार छ वा छैन भन्ने कुरामा पनि उसको वास्तविक चरित्र थाहा हुन्छ । बाहिरी बाहिरी आदर्श कुरा मात्र गर्ने तर आफ्नो ड्युटी वा नोकरीमा ध्यानै नदिने, महत्त्व नदिने व्यक्ति छ भने पनि ऊ सच्चा इमानदार व्यक्ति हुन सक्तैन । विशेषगरी हाम्रा शिक्षकहरूको ड्युटी अति संवेदनशील हुन्छ । उसले नानीहरूलाई राम्रो पढाए नानीहरूले राम्रो सिक्छन् नराम्रो पढाए नराम्रो सिक्छन् । नपढाइदिने, नसिकाइदिने शिक्षक-शिक्षिकाहरू पनि हुन्छन् । त्यसैगरी सानातिना बहानाका नाममा आफ्नो कामलाई लत्त्याउने काम गर्ने पनि वास्तवमा इमानदार व्यक्ति हुनसक्दैन । यस्तो बहाना लाउने उसले बानी भइसकेको हुन्छ । आफ्नो कमजोरीलाई ढाक्न अर्को बहाना लाउने पर्ने हुन्छ । हाम्रो समाजमा यस्तो व्यक्तिहरूको कमी छैन । त्यस्ता आफ्नो काम वा ड्युटी वा नोकरीमा इमानदार छ भने ऊ वास्तविक रूपमा सज्जन नै हुन्छ । किनकि ऊभित्रको इमानदारिता, सज्जनता बाहिर निस्किएको हुन्छ ।

 बोली – मान्छेको बोलीले नै उसको परिचय दिइरहेको हुन्छ । एउटा उखानै छ रोटी चिल्ला मीठा कुरा खस्रा मीठा अर्थात् खस्रो बोल्ने मान्छे उति घातक र खतरनाक हुँदैनन् भन्ने हाम्रो लोक विश्वास छ । यता कुरो निकै चिप्लो धस्ने खालको छ भने उसको भित्री चरित्र ठीक नहुन सक्छ । हाम्रामा एउटा उखानै छ – मुखमा राम राम बगलीमा छुरा । यस उखानमा धेरै सत्यता छ । त्यसैगरी कम्ती बोल्ने तर आफ्नो गतिविधि शंकास्पद छ भने त्यस्तालाई घोसे भनिन्छ । त्यस्ता घोसेले मनमनमा कुरा पालेर राखेको हुन्छ । यथार्थवादी, सफा मनको, भित्र पाप नहुने मान्छेले त्यति चिप्लो लाएर बोल्दैनन् । कसैले आफ्नो कमजोरीलाई ढाक्नलाई बढी नै मीठो बोल्ने गर्छन् । यद्यपि मान्छेले जीवनमा नमीठो बोल्नु राम्रो भन्ने यस पंक्तिकारको आशय होइन । मान्छेले अवश्य मीठो बोल्नुपर्छ, कसैको अशुभ चिताएर नराम्रो बोल्नु हुँदैन, पाप चिताउनु हुन्न । मनमा कपट राखेर बोल्नुहुन्न, अर्कालाई होच्याएर, खसालेर, उसलाई नराम्ररी छास्ने गरी बोल्नुहुन्न । जतिसक्दो साँचो बोले मान्छेमा उसप्रतिको विश्वास बढ्छ । यद्यपि कहिलेकाहीं साँचो कुरा हो भन्दैमा समाजमा खलल पार्ने, कसैको मर्यादामा आँच आउने, अमर्यादित बोली पनि बोल्नुहुन्न ।

पहिरन र केशविन्यास – पहिरन र केशविन्यासले पनि कतै मान्छेको चरित्रबारे अव्यक्त रूपमा उद्घाटन गरिरहेको हुन्छ । हेर्दै डरलाग्दो केश पाल्ने, पहिरन लाउने, आकृति राखे मानिसले झट्टै विश्वास गर्न सक्दैनन् । यद्यपि केश पाल्ने जति नराम्रा मान्छे हुन्छन् भन्नु ठूलो भूल हो । केश पाल्ने कुरामा भिन्नाभिन्नै कारण हुन्छन् । कोही कलाकार, साहित्यकार, कवि, नाटककार, चित्रकार, संगीतकारले केस पाल्छन्, कोही शौकले पनि पाल्छन् । कपडा लाएबाट पनि मान्छेलाई चिन्नु पनि सकिन्न । कोही एकदमै राम्रो र सज्जन कपडा पहिरेर पनि दुर्जन हुन्छन् भने कोही बाहिर एकदमै खस्रो कपडा लाएर भित्री रूपमा भने एकदमै सज्जन हुन्छन् ।

कसैको जुत्ता लगाइबाट पनि उसको चरित्र थाहा हुन्छ भन्नु पनि उचित होइन । यी त शौकिन कुरा हुन् । यद्यपि युवा पुस्तामा देखा पर्ने केश लामो राख्ने, कस्तो ठूलो खालको जुत्ता लाउने, कपडा पनि डरलाग्दो खालको लाउने देखिए शंकाको नजरले हेरिन्छ ।

शारीरिक भाषा– शारीरिक हावभाव आदिबाट पनि थोरै मात्रामा भए पनि मनको अवस्था चिन्न सकिन्छ । उसको रुवाइ, हँसाइ, गाना गवाइ, हात-मुखको मुद्रा, आँखाको चाल आदिबाट केही कुरा झल्किन्छन् । चोर्ने ढाँट्ने, छल्ने जस्ता अपराधी मनको मान्छे भए उसको आँखाबाट बुझ्न सकिन्छ । कोही व्यक्तिमा आत्मविश्वास छैन भने ऊ झुकेर बोल्छ, सोझै अर्काको आँखामा आँखा जुधाएर हेर्न वा हेरेर बातचित गर्न सक्दैन । कसैको आफ्नो सही गराइ, टुथपेस्ट प्रयोग आदिबाट पनि मान्छेको चरित्र बुझ्न सकिन्छ भन्ने विश्वास गरेको उल्लेख पाइन्छ ।

गीत सुनाइ– मान्छेको गीत सुनाइ र रुचिबाट पनि उसको केही स्वभाव आंशिक रूपमा भए पनि बुझ्न सकिन्छ । गीतको सुनाइको स्तर उमेरअनुसार र स्वभावअनुसार हुन्छ । गीतको शाब्दिक र आर्थिक गहिराइ, त्यसबाट उब्जेको नाद, गेयात्मकता आदि गम्भीरतामा ध्यान दिने व्यक्तिसमेत गम्भीर स्वभावको हुन्छ । जगत् र जीवनको दार्शनिक चिन्तनपरक गीतमा आनन्द मान्ने स्रोता गम्भीर स्वभावको जीवन र जगतप्रति सोच विचार गर्ने, सज्जन स्वभावको हुने गर्छ ।

मान्छेले मातेको अवस्थामा बोलेको कुरा- धेरैजना मान्छेले मातेको बेला जे बोल्छ, त्यसमा धेरै मात्रामा सत्यता हुन्छ । मातेको बेला कोही मान्छेले राम्रो कुरा गर्‍यो अथवा मेलमिलाप, प्रेम, भाइचारा आदिको कुरा गर्‍यो भने ऊ त्यस्तै सत्, सज्जन विचारको मान्छे रहेछ भनी केही मात्रामा बुझ्न सकिन्छ । त्यसैगरी कसैले मातेका बेला मार्ने र काट्ने, चोर्ने, कामुक कुरा गरे ऊ हत्यारा, चोरी, बलात्कारी प्रवृत्तिको हुन सक्छ । कसैलाई चिन्न परे बेस्सरी मताएर कुरा बक्न लाए सत्यताको धेरै नजिक पुग्न सकिन्छ ।

यी माथिका कुरा मान्छे चिन्ने तरिकाका निम्ति बाहिरी रूप मात्र हुन् । मान्छेको चरित्र जानिनसक्नु, बुझिनसक्नु, थाहा पाइनसक्नु हुन्छ । उसको संस्कार, विचार, चरित्र आदि उसको शिक्षा, घरको परिवेश, पुर्ख्यौली संस्कार, आमा-बाबुको व्यक्तिगत चरित्र, संगत, सामाजिक परिवेश आदिमा निर्भर हुन्छ । उसलाई सानैदेखि के, कसरी र कस्तो खालको शिक्षा दिएको छ, सिकाइएको छ, परिवेश प्रदान गरिएको छ, त्यसमाथि उसको चरित्र निर्माणमा ठूलो निर्भर र निर्धारण हुन्छ ।