कुण्ठा भन्ने शब्द  राजनैतिक क्षेत्रमा अत्यधिक प्रयोग हुँदै आएको शब्द हो । साँच्चै भन्ने हो भने यस शब्दलाई नेताहरूको प्रिय शब्द भन्दा पनि अत्युक्ति नहोला ।

नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेको शब्दकोशमा कुण्ठा शब्दलाई यसरी परिभाषित गरिएको छ – “कुण्ठा :   सुषुप्त रूपले  रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना ।“

कुण्ठाले मानिसहरूमा बदलाको भावना सृजना गराइदिन्छ । बदलाको भावना पालेर हिंड्नेहरूलाई कसरी प्रतिशोध लिने सपनाले मात्र सताएको हुन्छ । त्यसपछिको परिणामसँग उनीहरूलाई कुनै मतलब पनि हुँदैन । बदला लिएर आत्मसन्तुष्टि प्राप्त गर्नु नै लक्ष हुन्छ । यसमा खर्चको, समयको, धनजन क्षतिको र विचारको कुनै मूल्य हुँदैन । आफ्नो र परायको सीमा हुँदैन । गुरु चेला, नेतृत्व र कार्यकर्ता, अग्रज र अनुजको कुनै सीमा हुँदैन ।

यो कुण्ठा भन्ने कुरा  देशको नेतृत्व गर्ने उच्च पदस्थदेखि सामान्य मानिसहरूसँग हुन्छ । प्रसिद्ध वैज्ञानिकहरू देखि साहित्यमा प्रसिद्धि कमाएका साहित्यकारहरूसँग हुन्छ । जसका कारण राष्ट्र र अन्तर्राष्ट्रिय रूपमा कुण्ठाले प्रभाव पारेको छ । युद्धहरू जन्माएको र चर्काएको छ । लाखौं अझ करोडौं मानिसहरूले कसैको कुण्ठाका कारण आफ्ना प्रिय मानिसहरूलाई गुमाउनु परेको छ । मानवनिर्मित संरचनाहरू मात्र नभएर प्रकृतिले बनाएका भौगोलिक संरचनाहरू समेत ध्वस्त बनेका छन्, मात्र कसैका लहड र कुण्ठाले ।

मानिसमा कुण्ठा कसरी उत्पन्न हुन्छ भन्ने बारेमा चर्चा गरौं ‑ कुनै पनि ठाउँ र परिवेशमा मानिसमा भेदभाव हुन्छ, चाहे त्यो जात,  वर्ण, लिङ्ग,  धर्म, शिक्षा, स्वास्थ्य, व्यवसाय,  र वासस्थान आदिका कारणले  अवहेलित भएको महसूस होस् । त्यो अवहेलित वर्ग समुदाय वा व्यक्तिमा एक प्रकारको कुण्ठा जन्मिएको हुन्छ । शिक्षकले विद्यार्थीलाई गरेको भेदभावपूर्ण व्यवहारले विद्यार्थीमा  कुण्ठा जन्मन्छ । कसैलाई हेयको दृष्टिकोणले हेरिन्छ र व्यवहार पनि त्यस्तै गरिन्छ भने पीडितमा एक प्रकारको कुण्ठा जन्मन्छ ।

समाजमा एउटा वर्गले अर्को वर्गलाई शताब्दीयौँ देखि  दबाएर, हेपेर, अमानवीय र उपेक्षा गरेर राखेको छ भने त्यो अपहेलित वर्गमा वितृष्णा पलाएको हुन्छ । कुण्ठा जन्मिएको हुन्छ । एक देशले अर्को देशलाई पनि हेप्ने, दलाउने खालका उपेक्षित व्यवहारहरू हुनाले नै कुण्ठा जन्माएको हुन्छ । धेरै थिचाइमा परेपछि कमिलाले पनि शिर उठाउँछ रे । मानिसले त झन् सचेत प्राणी ।  कुण्ठाबाट मुक्त हुन मानिसले आआफ्नै तरिका प्रयोजन गरेको पाइन्छ ।

कुण्ठाको प्रतिशोधका बारेमा एउटा घटना यहाँ प्रस्तुत गर्दैछु ।   साउथ अफ्रिकाको एक युवा क्यानडामा बस्थे । उनी एउटा कपडा उद्योगमा काम गर्थे  । त्यहाँ विभिन्न देशका मानिस पनि  काम गर्थे । त्यहाँ एकजना क्यानेडियन युवती पनि काम गर्थिन् । ती युवती र त्यो अफ्रिकन युवाको निकै नजीकको सम्बन्ध देखिन्थ्यो । ती एक अर्कालाई माया गर्थे । ती युवती त्यो युवकप्रति अगाध माया प्रकट गर्दथिन् ।

‘तिमीहरूको जोडी त खूब जमेको छ नि’  भनेर युवकलाई भन्थे अरूले । त्यसपछिको युवकले दिएको जवाफले सबैलाई स्तब्ध बनाउँथ्यो । ऊ भन्दै थियो, “यी केटीका पुर्खा अफ्रिकामा गए । हामीलाई बाइबल थमाए र  हाम्रो जग्गा जमीन सबै लिए । हामीसँग बाइबल मात्र रह्यो । हाम्रा पुर्खाहरूलाई दास बनाएर सयौं वर्ष राखे । अब यिनैसँग बदला लिने हो ।“ उसका कुराले ऊभित्र रहेको कुण्ठा प्रष्ट्याउँदथ्यो । बिचरा सोझी केटीलाई केटाको मनमा के थियो भन्ने कुरा केही थाहा थिएन । निर्दोष  एकजना केटी सेतो, गोरो रङ भएकै कारण हिंसामा पर्दै थिई ।

त्यस्तै अर्को कुण्ठा अभिव्यक्तिको घटना धरै वर्ष पहिला नेपालमा चैत-वैशाखमा लागेको डढेलो जस्तै भएर फैलिएको थियो ।  एकजना मन्त्रीले कार्यक्रम पछिको जलपान समारोहमा सबैलाई चिया बाँडे । कार्यक्रम स्थलमा जम्मा भएका अञ्चलाधीश प्रमुख जिल्ला अधिकारी जिल्लासभापति मन्त्रीहरू र सहभागीहरू उपल्लो जातका रहेका र मन्त्री कथित तल्लो जातका थिए रे । मन्त्रीज्यूले आफ्नो कुण्ठा सबैलाई खुवाएर पोखे । उनको कुण्ठाले यो अस्त्र जातीय भेदभाव हटाउन प्रयोग गरे ।

भारतको मेघालय, असम,  भूटान, बङ्गलादेश आदि ठाउँमा नेपाली भाषी भएको कारणले त्यहाँका बासिन्दा र सरकारहरूबाट हिंसा व्यहोर्नु परेको छ । कतै धर्मका कारणले हिंसा व्यहोराका छन् । कतै भाषा र संस्कृतिका हिंसा भोगेका छन् । भारत र पाकिस्तानबाट अलग हुँदा हिन्दूहरूबाट पुर्खाहरूले भोगेको हिंसाको कुण्ठा अमिलेका निर्दोष पुस्ताले भोग्दै छन् । नेपालमा क्षेत्री बाहुनले मात्र सरकार चलाए, शासन गरे । उनीहरूबाट मुक्त हुन क्षेत्रीबाहुन खेद्नुपर्छ भन्ने सानासाना झुण्डहरूले कुण्ठा पोख्दा गाउँका गरीब परिवारहरूले मार भोग्नु परेको यथार्थता छ । थुप्रै परिवारहरू विस्थापित हुँदै बसाइँ सरेका छन् ।

माओवादी युद्धकालमा थुप्रै हिंसामा बाहुन, पण्डित र पुरेत भएका कारणले उपेक्षित गरिएको वर्गबाट हिंसा व्यहोर्नु पर्‍यो । धान खाने मुसो चोट पाउने भ्यागुतो भने झैं भयो । कति दुर्गम गाउँमा क्षेत्रीबाहुनको घरभित्र सुँगुर हुलिदिएर कुण्ठा व्यक्त गरे ।

अर्को सुदूर पश्चिमको गाउँको कुरा हो । जातीय भेदभावले पराकाष्ठा नाघेको ठाउँ हो सुदूर पश्चिम ।  होटेलमा खाना खाएर थाल माझेर मात्र हिंड्नुपर्छ । पैसा पनि पूरै तिर्नुपर्ने । बाहिरै बसेर खानुपर्ने जस्ता अमानवीय व्यवहारहरू यद्यपि प्रशस्त छन् ।

त्यस्तो सामाजिक परिस्थिति गुजारेका युवाले पढ्ने मौका पायो, साहित्यमा पनि निकै माथि उठ्यो, देश-विदेशमा पुग्यो, ठूला जातका नामधारीहरूसँग पनि संगत गर्‍यो, आफूलाई अरू भन्दा सक्षम, दक्ष, र श्रेष्ठ स्थापित गर्‍यो । आफू उपस्थित हुँदा फूलमाला, खादा, अवीर  र  प्रमाणपत्रले सम्मान गर्न सिकायो ।  कार्यक्रममा उच्च जात मानिएकाहरूलाई नै अह्रायो र कुण्ठा मुक्त हुने प्रयास गर्‍यो । उसले अपहेलित हुँदै हुर्किएको गाउँमा जाँदा स्वागतद्वार बनाउन लगायो । ऊ जाँदा बाटैदेखि बाजागाजा बजाएर  फूलमालाले स्वागत गर्न लगायो । त्यसमा लाग्ने खर्चबर्चको जोहो पनि जुटाइदियो । उसलाई सम्मान गर्दा प्राप्त प्रमाणलाई  माथिमाथि उचाल्यो, गाउँका मुखियाले देखुन् भनेर । पुरेत र पण्डितले देखुन् । ऊ जस्तै आवाजविहीनहरूले पनि सुनुन् र देखुन् भनेर माइकबाट पनि भावना व्यक्त गर्‍यो । प्राप्त गरेको प्रमाणलाई माथि अग्लो डाँडामा उभिएर छातीमा टाँसेर फोटो खिच्यो अनि फेसबूकमा राखेर कुण्ठा पोख्यो ।

कतै आफैं पुरस्कारको राशी दिएर पुरस्कार प्राप्त गर्छन् अनि सम्मानित हुन नसकेको कुण्ठाबाट मुक्त हुन्छन् । राजनीतिमा लाग्नेहरू आफ्नो माग अनुरूप नभएपछि अर्को पाटी  खोलेर कुण्ठा पोख्छन् । सरकारमा बस्नेहरूको उछित्तो काढेर कुण्ठा पोख्छन् । जति अरूलाई तल पुर्‍यायो उति नै माथि पुगिन्छ भन्ने मनोरोगले गाली वर्षाएर कुण्ठा पोख्छन् ।  शक्तिशाली देशहरू साना देशलाई आश देखाएर व्यापार फैलाउँछन् । आफ्नो अनुकूलमा ल्याए चक्रवर्ती हुने कुण्ठाले युद्ध छेड्छन् । प्रथम विश्वयुद्ध, दोश्रो विश्वयुद्ध र समयसमयमा हुने छिमेकी देशहरूसँगका युद्धहरू पनि कुण्ठाकै परिणाम हुन् ।