भारतीय नेपाली साहित्यको विकास परम्परामा भारतको पूर्वाञ्चल मेघालय राज्य शिलोङको उल्लेखनीय भूमिका रहेको छ । शिलोङ निवासी सलिल ज्ञवाली साहित्यिक व्यक्तित्व सिर्जनात्मक अन्वेषक प्रतिभाका साथसाथै शैक्षणिक व्यक्तित्वको लोभलाग्दो आभापूञ्ज हो ।

उनको जन्म २१ जनवरी १९७१ को दिन पिता के. पी. र माता भारती ज्ञवालीका सुपुत्रको रूपमा मेघालय राज्यको शिलोङमा भएको हो । उनी एक भारतीय शोधकर्ता, लेखक, पत्रकार हुन् । उनले भारतीय नेपाली साहित्य भण्डारमा आफ्नो सिर्जनात्मक कृति कोशेलीस्वरूप हालसम्म पाठ्य-पुस्तकसहित १८ वटा पुस्तक प्रकाशन गरिसकेका छन् । उनले अंग्रेजीमा ‘ग्रेट माइन्डस अन इण्डिया’ नामक पुस्तक लेखेर प्रसिद्धि कमाएका छन् । उक्त पुस्तक हालसम्म १६ वटा भाषामा अनुवाद भइसकेका छन् ।

यसै पुस्तकलाई वरिष्ठ साहित्यकार, अनुवाद, कवि डा. गोविन्दराज भट्टराईले ‘पूर्वीय सभ्यता’ विश्वविख्यात विद्वानहरूका दृष्टिमा नामकरण गरी नेपाली भाषामा अनुवाद गरेका छन् । उक्त अनुवाद पुस्तकमा प्रा. घनश्याम कँडेलज्यूले ‘सङ्ग्रहणीय सङ्कलन’ शीर्षक दिएर उत्कृष्ट भूमिका लेखेर पाठकवर्गलाई सहज र सरल भाषामा सम्पन्न गरिदिनुभएको छ ।

यस पुस्तकमा प्रेरणादायी विचार र उद्गारलाई जुन कुशलताका साथ संकलित गरिएको छ, त्यो अति नै प्रशंसनीय छ । त्यसरी नै सङ्कलनको पृष्ठभूमिसित सम्बन्धित शुरूको सारपूर्ण मन्तव्य पनि विचारणीय छ । यी सामग्रीहरू जुटाउन श्री ज्ञवालीका परिश्रम र अध्ययनको गहिराइ प्रतिबिम्बित हुनका साथै लेखकले उनको देशप्रेम, स्वभाषा एवम् संस्कृतिप्रेमको पनि परिचय दिएका छन् । विश्वका महान् विद्वानहरूका यत्रतत्र छरिएका विचार र उद्गार एकत्र गरेर लेखकले चिरस्मरणीय काम गरेका छन् ।

प्राचीन ऋषिमुनिहरूका ज्ञान र अनुभूतिको प्राचीनतम ग्रन्थ ऋग्वेददेखि लिएर समस्त वैदिक पूर्वीय दर्शनहरू, पुराण, ज्योतिष, व्याकरण, योग, आयुर्वेद एवम् कलासाहित्य समेत समेटिएका प्राच्य वाङमय साँच्चै नै अतुलनीय छन् । प्राच्य वाङ्मयको अध्ययन गर्दा के थाह पाइन्छ भने हाम्रा ऋषिमुनिहरू तत्त्वद्रष्टा थिए । उनीहरूले जीवन र जगत्को ज्यादै सूक्ष्मताका साथ निरीक्षण गरेका थिए र सृष्टिका सत्यलाई धेरै गहिराइसम्म बुझेका थिए । सूक्ष्म निरीक्षणकै क्रममा अन्ततः परिवर्तनका पछाडि यस्तो एउटा तत्त्व छ जुन शाश्वत र सनातन छ, जसको कहिल्यै परिवर्तन हुँदैन । त्यही तत्त्व नै सृष्टिका कणकणमा व्याप्त छ । सृष्टिको उत्पत्ति साथै अन्त्यमा यो सृष्टि उसैमा नै विलीन हुन्छ । त्यस तत्वलाई विभिन्न दर्शनहरूले विभिन्न नाम दिएता पनि त्यो ब्रह्म भनेर नै बढी चिनिएको छ । हाम्रा वेद र उपनिषद्हरूमा पाइने सूक्ष्म चिन्तनले विश्वलाई नै आलोकित र चकित बनाएको छ । वैदिक कालपछि लेखिएका महाभारत र पुराणहरू पनि पूर्वीय ज्ञान र सभ्यताका महत्त्वपूर्ण स्रोतहरू हुन् ।

संस्कृति कुनै पनि जातिले परम्परादेखि पालन गर्दै आएको आचार-व्यवहार तथा जातीय मौलिक पहिचान पनि हो । संस्कृति समाजमा रहेको मूल्य-मान्यता, रीतिरिवाज, भेषभूषा, चालचलन, चाडपर्व, कलासाहित्य, गीतनृत्य, वाद्यवादन, धार्मिक परम्परा अनि आस्था-विश्वास आदिको समष्टिगत रूप हो । यसरी पूर्वीय र पश्चिमीको तुलनामा पूर्वीय जगत् यति सम्पन्न छ कि त्यहाँ पश्चिम पुग्न असम्भव छ ।

 

तर हाम्रो भारत वर्षमा एउटा विवादास्पद कुरा के छ भने हाम्रो शिक्षा प्रणालीमा शिक्षार्थीलाई आफ्नो देशको प्राचीनतम ज्ञानका विषयमा ती गौरवशाली सत्यबारे अवगत हुने प्रणाली नभएको कारणले शिक्षार्थीहरू यस विषयमा शून्य छन् ।

यसै विषयलाई लिएर लेखकले खेद प्रकट गर्दै भन्नुहुन्छ, ‘अधिकांश नेपाली विद्वानहरू, प्राध्यापक तथा प्राज्ञहरूले पाश्चात्य शैलीको शिक्षा तथा ज्ञान ग्रहण गर्ने भएकोले आफ्नो पूर्वीय अर्थात् मातृभूमिको अतीत गौरवबारे कति ता अनभिज्ञ नै रहेका छन् । भारत वर्षको महान् अतीतबाट निसृत ज्ञानगङ्गाले उनीहरूका हृदयको जिज्ञासा र तृष्णा मेटाउन सकेको छैन । पश्चिमेहरूले बारम्बार भन्दैछन् – पूर्वका प्राचीन ऋषिमुनिहरू ज्ञान-विज्ञानको जुन गहिराइ र उचाइमा पुगे त्यहाँसम्म हामी पुग्न सकेका छैनौं, आजको विज्ञान पुगेको छैन, भोलि पनि पुग्नेछैन । यस्तो ज्ञानको रत्नगर्भलाई हाम्रा कतिपय शिक्षित र पठितजनहरूले कर्मकाण्डसँग जोडेर, मिथक वा पुराकथासँग जोड़ेर, अन्धविश्वास ठानेर आफू वैज्ञानिक भएको भ्रम पाल्दछन् र यो सृष्टिमा भएका अन्तिम विज्ञानको ज्ञानलाई उपेक्षाको दृष्टिले हेर्दछन् ।”

यसरी लेखकले आफ्नो मनको भाव सँगसँगै यथार्थ कुराहरू पस्केका छन् । उनको विचारानुसार हाम्रा शिक्षार्थीका मस्तिष्क केवल विवादास्पद सूचनाले भरिएका छन् जसले आफ्नो देश र यसको महिमाशाली सम्पदाका बारेमा अन्त्यमा केवल नकारात्मक ज्ञान वा सूचना छोडेर जान्छन् । यो साँच्चै चकित गराउने विषय छ । हाम्रा पाठ्यक्रममा यस्ता गहन र महिमाशाली पाठहरू छैनन् । यसैकारणले आमा, नानीहरू आफ्नै गौरवमय परम्परा र मूल्यप्रति आदरभाव दिनानुदिन घट्दै गएको कुरालाई नकार्न सकिन्न ।

लेखक सलील ज्ञवालीको उक्त कृति ‘ग्रेट माइन्डस अन् इण्डिया’मा विश्वका महान् विद्वानहरूका टिप्पणीहरू जम्मा १२२ जनाले गरेका छन् ।

सन् १९८७ को दशकदेखि फ्रिलान्सरका रूपमा लेखनमा प्रवेश गर्नुहुने, सलीलका अनेक रचनाहरू क्षेत्रीय एवम् राष्ट्रियस्तरका प्रकाशनमा निरन्तर आउने गर्दछन् ।

ज्ञवाली सदैव सत्य र सुमार्गका अनन्य अनुयायी हुन् । उनको मुख्य उद्देश्य पूर्वीय विद्वताको वैश्विक महत्वलाई प्रचार प्रसार गर्नु र जगतमा त्यसलाई परिचित गराउनु उनको लक्ष्य देखिन्छ ।

सलील ज्ञवालीको  उक्त पुस्तक ‘ग्रेट माइन्डस अन इण्डिया’मा संकलित १२२ वटा टिप्पणीको सारांश अथवा व्याख्या गर्नु नसकेता पनि यहाँ म दुई वटा टिप्पणी राख्न गइरहेकी छु ।

यसै सर्न्दभमा पश्चिम बंगालका गभर्नर केशरी नाथ त्रिपाठी भन्नुहुन्छ, ‘अनुपम पुस्तक ग्रेट माइन्डस् अन इण्डियाले भारतको अत्यन्त समृद्ध सभ्यता र आधुनिक विज्ञान, गणित, भाषाशस्त्र, धातु विज्ञान, ब्रह्माण्ड विज्ञान, मनोविज्ञान र अन्य अध्ययन र क्षेत्रहरूमा यसको अद्भुत योगदानलाई प्रस्तुत गर्दछ । सलील ज्ञवालीद्वारा गरिएको यो अनुसन्धानात्मक कृतिले प्राचीन ज्ञान एवम् सम्पदामा विश्वास गुमाएका शिक्षितहरूलाई पनि ज्ञानको ज्योति प्रदान गर्नेछ ।’

यसरी विश्वका महान् विद्वानहरूले भारतमा आएर हाम्रा वेद र उपनिषद्हरूमा पाइने सूक्ष्म चिन्तनले विश्वलाई नै आलोकित  र चकित बनाएको छ । सभ्यताको उषाकालमा नै पूर्वीय ऋषिमुनिहरूका मस्तिष्क कति विकसित थिए भन्ने कुराहरू चिन्तन मनन गरेका थिए । उनीहरू भन्छन् – वैदिक कालपछि लेखिएका महाभारत र पुराणहरू पनि पूर्वीय ज्ञान र सभ्यताका महत्त्वपूर्ण स्रोतहरू हुन् ।

विश्वकै वृहत् कार्य ग्रन्थ महाभारत मानव जीवनका विविध पक्षको वर्णन, चित्रणका दृष्टिले र अर्थ, काम, मोक्ष जस्ता चार पुरुषार्थको प्रतिपाठनका दृष्टिले पनि अद्वितीय छ । खास गरेर श्रीमद्भागवत गीताका सन्देश र उपदेशबाट विश्वका विशिष्ट विद्वानहरू शुरूदेखि प्रेरित र प्रभावित हुँदै आएका छन् । त्यस्तै पूर्वको योग विश्वकै साझा सम्पदा बन्दै गएको कुरालाई नकार्न सकिन्न । पूर्वमा मात्रै नभएर पश्चिममा पनि धेरैले योग र ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्ग बनाइरहेका छन् । संसारमा बुद्धका विचारहरूको प्रशंसा दिनोदिन बढ्दै गइरहेका छन् ।

सलील ज्ञवालीको यस पुस्तकलाई दुबईमा पनि डा. बु. अवदुल्लाहद्वारा विमोचन गरिएको थियो । डा. बु. अवदुल्लाह एक प्रख्यात व्यवसायी र समाजसेवी हुन्, जसका २७० बहुराष्ट्रिय कम्पनीहरू अरब र युरोपेली देशहरूमा फैलिएका छन् । विमोचन गर्दै उनले भनेका थिए, “‘ग्रेट माइन्ड्स अन् इण्डिया’ले मलाई एक नयाँ दृष्टिकोण दियो । पहिलो पटक मैले थाहा पाएँ कि अल्बर्ट आइन्स्टाइन, नील्स बोर र इरविन श्रोडिङर जस्ता वैज्ञानिकहरू र भोल्टयर, शोपेनहावर, गोएथे जस्ता दार्शनिकहरूले प्राचीन भारतीय ग्रन्थहरूबाट बौद्धिक प्रेरणा लिएका थिए । यसको अरबी संस्करणको विमोचन गर्ने अवसर प्राप्त हुनु मेरो लागि एक ठूलो सम्मान र खुशीको कुरा थियो । जसलाई दोहाका प्रख्यात विद्वान् डा. रमजान अली मियाले कुशलतापूर्वक अनुवाद गरेका हुन् ।”

यस्ता महान् पाश्चात्य महारथीहरूका यी मतहरूले गर्दा पनि पूर्वीयहरूले अवश्य पनि जाग्नुपर्ने औ आफ्ना महान् सम्पदालाई बुझ्ने, पढ्ने चेष्टा गर्नुपर्ने समय आएको छ । कतिपय ज्ञानीजनहरू पढीलेखीकन पश्चिमी सभ्यताले अन्ध भएका ज्ञानीहरूले आफ्नै महान् सम्पदाको महत्त्व बुझ्ने प्रयत्न नगरी यसको उपहास गरी पश्चिमी सभ्यतामा आफूलाई रमाउन औ बोली, पोशाक बद्ली, विचार र कर्ममा यथासम्भव पश्चिमी देखिने प्रयास गरिरहेका छन् ।

महान् साहित्यकार, अनुवादक, कवि गोविन्द राज भट्टराईज्यूले आफ्ना कनकाईको तटमा अवस्थित कोटीहोम, मन्दिर (झापा) मा एउटा कार्यक्रममा सम्बोधन गर्दै भन्नुभएको कुरालाई यहाँ जस्ताको तस्तै राखेको छु, “नेपालको शैक्षिक प्रणाली अत्यन्तै शुष्क र यान्त्रिक भएको छ, यसले कारखानाले झैं हृदयशून्य शरीरहरूको उत्पादन गर्दैछ । यसले आफ्नै मूल्यको निन्दा गर्न सिकाउँछ, प्रमाणपत्रका  खोस्टा स्युरेर हाम्रा विद्यार्थी खूब नाच्छन्, किनभने तिनका अभिभावकहरू ताली पड्काउँछन् । तर तिनीहरूको आत्मा टालिइसकेको हुन्छ, किनकि यो पाठ्यक्रम नै विषाक्त छ । शिक्षाको कुनै तहमा हाम्रो महान् अतीत चिनाउने पाठ छैन, बरु त्यसको अवमानन गराउने विचारशून्य केहि नक्कलहरू छन् । हामी आफ्नै जगमा झाम्पल हान्दैछौं । वास्तवमा सम्पूर्ण अतीत वैभवको प्रवेशद्वार संस्कृत भाषा हो । त्यसको गङ्गा बन्द गराइयो अब सर्वनाश हुन बाँकी छ । यसबाट बाँच्न अबको शिक्षा प्रणालीमा संस्कृत भाषा अनिवार्य गर्नु पर्दछ नत्र हामी अतीत बेगरका मुर्कट्टा हुनेछौं – जरा बेगरका हाँगा र पात मात्र हुनेछौं । धेरै अनर्थ भैसकेको छ । राजनीतिक जडताको भयले साथै जातिवादको भयले आफ्नै घरको गहना फुकालेर फ्याँक्दैछौं । सङ्कीर्ण सोचले प्राचीन ज्ञान स्रोतमा बन्चरो हान्दैछौं, तर सधैँ विलाप र पश्चात्तापले हुँदैन । अब जीर्णोद्धार भए पनि गर्नैपर्ने समय आएको छ । अब प्रेमले सबै उघ्रेको टाल्नुपरेको छ ।”

यसरी डा. गोविन्दराज भट्टराईज्यूले आउने युगका सबै नेपाली चिन्तकलाई, स्रष्टालाई बिन्ती बिसाएका छन्, ‘आऔं हामी आफ्नो प्राचीन घरतिर फर्कौं, यो जडपथ छाडेर अध्यात्म र विज्ञानसँगै बग्दै गङ्गातिर लागौं । हाम्रो चिन्तन अथवा व्यवहारले अनि सिर्जनाले तिनै भण्डारबाट उघाएर प्रतीक र बिम्बहरू, पुराकथा र गाथाहरू, दर्शन र चिन्तनहरू फेरि पढेर समयसापेक्ष बनाउँदै लान सिकौं ।’

यसरी डा. गोविन्दराज भट्टराईले सर्जकहरूलाई आह्वान गरेका छन् । श्री भट्टराई अनुवाद अध्ययनमा विधावारिधि गर्ने प्रथम नेपाली हुनुहुन्छ । उहाँले भारतको हैदरावाद विश्वविद्यालयबाट नेपाली, अंग्रेजी कविता साहित्यको अनुवाद प्रक्रियामा शोधग्रन्थ बुझाउनुभएको थियो । वर्तमानमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पस कीर्तिपुरमा अंग्रेजी विषयका प्राध्यापक डा. भट्टराई नेपाली साहित्यका विशिष्ट स्रष्टा-आख्यानकार, निबन्धकार तथा वरिष्ठ समालोचक हुनुहुन्छ ।

अन्तमा लेखक लेखक सलील ज्ञवालीज्यूले आफ्नो कृति ग्रेट माइन्ड अन इण्डिया लेखेर आफ्नो स्वदेशप्रतिको अगाध प्रेम दर्शाउनुभएको छ । साथै उक्त कृतिद्वारा राष्ट्रिय-अन्तर्राष्ट्रिय तथा विश्वबाट नै ठूलो यश आर्जन गर्नुभएको छ । भविष्यमा पनि लेखकद्वारा यस्तै ओजपूर्ण कृतिहरू जन्मिनेछन् भन्ने आशा साँच्दै लेखकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।