जीबा, जीबा !!

मैले धेरै पटक बोलाएँ । ऐजन मौकामा उहाँ सुन्ने गर्नु हुँदैनथ्यो । त्यो प्रकृति थियो या अभिनय हुन्थ्यो बुझिसक्नु थिएन भन्छन् अरूहरू पनि । उहाँका दुइटा बेहोरा थिए, जसले उहाँको हठ र सोचलाई बल पुर्याउँथे ।

पहिलो– उहाँ रिसाउनु हुँदैनथ्यो, बरु आफू तल पर्ने स्थितिमा रोइदिनु हुन्थ्यो । त्यसमा हार र क्षमाको भीक्षा झल्कन्थ्यो तर गल्ती भएछ भन्न उहाँको मुख लाग्दैनथ्यो । दोस्रो– उहाँलाई लाज हुँदैनथ्यो । धेरै कुरा पचाएर हिँड्न सक्नुहुन्थ्यो । त्यसरी लाज नमानेर हिँड्ने व्यक्तिहरू अलि थोरै नै हुन्छन् । त्यसैले उहाँका हितैषीहरू स्खलित हुनबाट उहाँलाई जोगाउन सक्तैनथे । नसुनेपछि के लाग्छ ? बिग्रने कुरा रोकिन सकेन, सप्रने कुरा बन्न पुगेन । भएको यही हो । यस्तै यस्तै हो ।

विदेशको भूमिमा विकसित नेपाली साहित्यलाई सहज प्रकृत रूपले प्रवाहित हुन दिएर सुन्दर र दूरगामी परिणाम हेर्नुपर्ने स्थितिलाई मिचेर दुवाली थुन्ने काम भयो । अमेरिकी भूमिमा गतिमान साहित्य–कलाको महानदीमा बाँध बाँधेर अर्को, अर्काको रुग्ण नदीमा लगेर जोडियो अनि स्रष्टाहरू खिन्न भए । धेरैले यो साहित्यिक राजनीति बुझेनन् पनि शायद बुझ्नु पनि थिएन कि ! शक्तिले संचारलाई वा द्रव्यले अधीनस्थ पनि गर्छ भन्छन् कतै । डायस्पोराले स्वीकृति ग्रहण गर्न शक्तिको आश्रय लियो कि वा ! यो खोजको विषय हुनेछ । परवर्ती पुस्ता धारिलो भएर आयो भने नेपाली साहित्यमा डायस्योरा नामले अर्को भूगोलको नेपाली साहित्यलाई प्रवेश गराइनुको औचित्य के ? हात नघुमाइ कान समाए हुन्न ? नेपाली साहित्यसँग जोड्न सुगम र साविकको मार्ग अँगाल्न नमिल्ने के छ ? भनेर अनेक प्रश्न आउँछन् । अनि मैले पनि तानेर रुवाउँदै सिन्दूर हाल्नु किन ? जब मैले अभि सुवेदी र अरुण गुप्तोले डायस्पोरा बारे दिएका विचार सुनें अनि डायस्पोराका यजमान र याज्ञिकको नजर वक्र–धूमिल ठानें ।

डायस्पोरा (डारा) बारे कयौं स्रष्टा अनभिज्ञ रहेछन् । जब यसको भित्रीभाव बुझे, अग्रजहरूले आफूलाई होच्याएको हेपेको ठाने । कयौंले अर्थ न अभिप्रायको नाटक ठाने । भने– तावामा आगो लगाएपछि यसमा आश्रय लिएर बसेका साङ्ला उडेर तितर–बितर भए । ठानौं तिनै साङ्लाहरूको जीवन भोगाइको दृश्यलाई बोध गराउने माध्यम हो डायस्पोरा ।

वास्तविकता यति मात्र हो– केही वर्ष पहिले कुनै मुलुकमा विप्लव आयो । त्यहाँका नागरिक आफूलाई जोगाउने यत्नमा मुलुक बाहिर पुगे । अनेकत्र छरिए । तिनको दयनीय अवस्था, विवश जीवन, यातना, पीडा, अपेक्षा, निन्दा, अपमान अनि स्नेह–सहयोग र सम्मानलाई देख्ने, बुझ्ने र सम्बोधनको क्षणमा डायस्पोरा-डायस्पोरिक शब्द अगि सर्यो । हाम्रा विद्वानहरूले डायस्पोरासँग नेपालीहरूको जीवन जोडे । शायद नेपालीले पनि नेपालबाट त्यसैगरी पलायन लिनुपरेको स्थिति देखे र नेपाली डायस्पोरा भने । योजना जस्तो आयोजना जस्तो वा प्रोजेक्ट जस्तो रूपले यो अगि सर्यो । यो एक अर्थमा एन.जी.ओ. पनि भैदियो कि !

डायस्पोरा नकारात्मक भावना र सोचको अभिव्यक्ति हो । गोर्खे साहित्य, बहादुर साहित्य र कान्छा साहित्य भन्दा यदि अपमान भएको ठानिन्छ भने त्योभन्दा निकृष्ट शबद हो– डायस्पोरा । अन्त असल होला, किन्तु नेपाली साहित्यका सन्दर्भमा त्यो तुच्छ र घृणित संबोधन हो । पहाडी साहित्य, पाखे साहित्य भन्यो भने बरु प्रतिष्ठा होला, सम्मान होला किनकि त्यसले आफ्नो भूगोल टेकेको हुन्छ ।

डायस्पोराले जीवनको जस्तो स्थितिको चित्र र इतिहास उपस्थित गर्छ, त्यो नेपालीले भोग्नुपरेन । तर डायस्पोराका विज्ञहरू हठ गरेर भोगाइ र लखेटाइ नेपालीको पनि उस्तै हो भने जस्तो बोध गर्छन् । त्यो सत्य होइन । गलत बोधले प्रचार पायो भने त्यसले धेरै कुरा विच्छेद वा धूमिल पार्छ कि ! कथा छः एउटाले अशक्त र विचरा केटाकेटी जम्मा गरेर धर्मस्थलमा पुर्यायो र नामकरण गर्ने प्रार्थना गर्यो । विज्ञले नाम दियो – मिस्टर हेरम म्याग्दे, मिस होलिका वाङ्दी । मिस्टर ह्यारी ताप्ले, मिसेस् शुक्ला मेची । पुरोहितले-पास्टरले उसको मनोभावना अनुरूप नाम दियो । थाहै भएन । भएको यही हो । द्रव्यागमनको द्वार खुल्यो । विचरा नामधारीले आफूमाथि व्यापार चलेको थाहै पाएन ।

नेपालीले विधिवत् निवेदन गर्यो, राहदानी लियो । भीसा (प्रवेशाज्ञा) पायो, बहिर्गमनको अनुमति पनि पायो र रीत अनुसार हवाई टिकट लिएर उड्यो अनि अमेरिका,युरोप वा परदेश कतै पुग्यो । कुनै हिसाबले ऊ डायस्पोरिका जीवन होइन । तर योजनाकारहरू हरेकलाई डायस्पोरिक भन्न र भनाउन लिखत दस्तावेज लिएर खडा छन् । हुँदा हुँदा नेपालीले आफूलाई उच्च देखाउन ‘तेल भीसा’ जस्ता दृश्य सामाग्री वा पुस्तक पनि प्रकाशित गरेको सुनिन्छ । अब यस्तो लाग्छ नेपाली नेपालीबीच सद्भाव र ममता हराउँदै छ । तँ डायस्पोरा तँ, गोर्खे, तँ बहादुर, तँ कान्छो, तँ पहाडी, तँ मेचे, तँ म्याग्दे,तँ ताप्ले,तँ … यस्तै यस्तै । वाह !

तिब्बतबाट तिब्बतीहरू नेपाल र भारत पसेजस्तै, बर्माबाट नेपालीहरू लखेटिएर नेपाल फर्किएजस्तै, बर्माबाट रोहिंगिया नेपाल ओसारेजस्तै, भूटानीलाई इंडियाले नेपालतिर लखेटे जस्तै नेपालबाट नेपालीहरू पनि त्यसैगरी भगाइएका वा ओसारिएका हुन् त ? होइनन् भने डायस्पोराको मान्छे वा साहित्य भनेर चिनाउनुको अर्थ उठाउनु हो कि खसाउनु ? के गरेको जीबा ? त्यसपछि उहाँको वाणी निस्कन मानेन किनभने मोदनाथ प्रश्रित, ठाकुरप्रसाद पराजुलीका लेख जीबाकै संस्थाबाट प्रकाशित पुस्तकमा संग्रहित थिए । त्यसले पनि उहाँलाई चोट परेको हुनसक्छ । शिवप्रसाद सत्याल ‘पीठ’ को लेख देवकोटा शताब्दी सन्दर्भमा प्रकाशित ग्रन्थमा संग्रहित लेख हो । र मनुको लेख यू–ट्युवमा आज पनि पाइन्छ ।

तै पनि मैले जीबालाई सुनाउनु थियो– उहाँले भनेअनुसार डायस्पोराको लेखक खोजेको थिएँ । ऊ नेपालमा पनि लेख्थ्यो, अब यहाँ पनि लेख्छ । तर छोटो अवधि भर ऊ डायस्पोरा साहित्य लेख्छ किनभने चाँडै ऊ अमेरिकी नागरिक हुँदैछ । फेरि नेपाल घुम्न जाँदा ऊ नेपालमा अमेरिकी डायस्पोरिक साहित्यको स्रष्टा हुनपुग्छ । सर्वमान्य स्थिति यही होला कि ? जीबालाई मात्र होइन,प्रश्न विज्ञलाई पनि छ ।

जीबालाई यो पनि सुनाउनु थियो– केही द्रव्य दिएर यो सालका लागि डायस्पोरिक साहित्य लेखाऊँ कि ! किनभने यहाँ भएका लेखकले डायस्पोरिक लेखक हुन चाहेका छैनन् । हेपाइ भो भन्छन् । तेरा जीबाले हामीलाई आत्माघाती गोल हान्यो भन्छन् । अपमान भो रे लेखकको । म पनि अलि अलि बुझ्न थालें– ‘अभियानको नाइके हुन मन लागेछ जीबालाई ! उहाँलाई विज्ञापन मनपर्छ भने मेची डायस्पोरा, महाकाली डायस्पोरा चलाउनु भन्छु । भर्जिनियाली डायस्पोरा इन नेपाल भन्ने अर्को विकल्प किन नदेखाउने ? परिहास नठानियोस् जीबा केही न केही गरेर चर्चित हुन चाहनु हुन्छ । यो जाँगर बरकरार रहोस् ।’ जीबा, जीबा, म…,म हनुमानकल्प । बोल्नु न ।’ उहाँ गहिरो निद्रामा हुनुहुन्छ क्यार नसुती नसुती सुत्ने । सुनी सुनी नसुन्ने !