आँखाले नभेट्ने ठाउँसम्म प्रेमीप्रेमिकाको पहिलो हेराइझैँ फैलिएको समथर भूभाग । मिहिनेतले शिवाजी राई समन्वय क्षेत्रलाई निद्राबाट ब्यूँझाइदिएको सहजै अनुमान लगाउन सकिन्थ्यो । शायद यसै पनि होला मैले विगतमा गरेका पूर्वोत्तर भारतका यात्राहरूको तुलनामा यो यात्रामा अलिक फरक महसूस गरेँ ।

कुमारी बतास

असम नेपाली साहित्य सभाको स्वर्णमहोत्सव २०२४ डिसेम्बर ६, ७, ८ र ९ मा सम्पन्न हुँदै थियो । कार्यक्रम स्थल थियो गोलाघाट जिल्लाको सरुपथार शिवाजी राई समन्वय क्षेत्र । ५ डिसेम्बर २०२४ मा राति ११:५५ को टिकट थियो हाम्रो । न्यू जलपाइगुडीबाट आसाम, सात सय २८ किलोमिटर फर्काटिङसम्म ।

हामी एउटै बोगीमा सहयात्री भएका थियौँ । धुलाबारीबाट स्रष्टा एवम् सञ्चारकर्मी चन्द्र भण्डारी, इलामबाट कवि विमल वैद्य, काठमाडौँबाट प्रा.डा. देवी नेपाल साथमा टीका पौडेल, दमकबाट कवि विष्णु न्यौपाने र म । यस ८ को बोगीमा मेरो ४९, चन्द्र भण्डारीको ५०, विमल वैद्यको ५१, देवी सरको ५३,  टीका मेडमको ५४ र विष्णु न्यौपानेको ५६ नम्बरका स्पिर थिए ।

पानीट्याङ्कीबाट एउटा बुलेरो रिजर्भ गरी साँझ ६ बजे पुग्यौँ हामी मिलन मोड हुँदै जादुभिट्टा । न्यौपाने निवास जहाँ स्रष्टा द्वय पुन्यप्रसाद शर्मा र गीताश्री शर्मा हामीलाई पर्खिरहनु भएको थियो । हामीले बाटो बिरायौँ । हामीलाई लिन बाटामा ‘उडान’ गजलसंग्रहका स्रष्टा खतिवडा माइला आउनुभएको थियो । खाना खाएर हामी रातको नौ बजे एनजेपी जक्सनतिर लाग्यौँ ।

प्लेटफममा हामी पुग्दा यत्रतत्र मानिस सुतिरहेका थिए । यात्री देख्ने बित्तिकै आएर मध्य रातमा पनि अनेक वस्तुको व्यापार गर्ने बच्चादेखि वृद्ध उमेरसम्मका व्यापारी देख्दा लाग्यो- “जनताको जीवनस्तर यहाँ पनि उस्तै छ ।” वि.सं. १९८३ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा खुलेको पहिलो रेल ब्रिटिश भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म करीब ३९ किलोमिटरको थियो ।

मैले कल्पना गरेँ –  ‘रेल मार्गको विस्तार अहिले नेपालीका लागि सपना नभइदिएको भए सायद हाम्रा प्लेटफममा पनि यसरी नै मानिसहरू सुतिरहेका हुन्थे होलान् ।’

हामीले प्लेटफममा पुग नपुग तीन घण्टा बितायौँ । रातको १२ बजे बल्ल घस्रिंदै आइपुग्यो एल.टी.टी डिब्रुगढ एक्सप्रेस । अन्धकारलाई चिरेर समानान्तर लिकमा छरिएको उज्यालोलाई पछ्यायो रेलले । मैले झ्यालबाट बाहिर नियालेँ । कुमारी बताससँग टाढा तेल सकिन लागेका दीयाझैँ मधुरो गतिमा बत्ती बलिरहेका देखिन्थे ।

टिटीको टेन्सन

“कार्यक्रम स्थल प्लेटफमबाट कति टाढा छ सर ?” अनेसासका मूल सचिव मदन थापालाई सोधेको थिएँ ।

“नजीकै छ सर । प्लेटफमबाट नै देखिन्छ ।“ मदन सरले भन्नुभएको थियो ।

कार्यक्रम स्थल, मदन सरले भन्नुभएको ठाउँ यही रहेछ । हामीले झ्यालबाट हेर्यौं । बजारको एक छेउ, पारिलो ठाउँ, एकातिर ठूलो टेन्ट टाँगिएको, अर्कोतिर शायद स्टल राख्नका लागि विभिन्न साइजका टेन्ट टाँगिएका रहेछन् । हेर्दा रमाइलो देखिन्थ्यो । हामीले ठाउँको निश्चय गर्दागर्दै, हेर्दाहेर्दै सरुपथारको कार्यक्रम स्थलबाट रेल अगाडि बढ्यो । सरुपथारबाट करीब १० किलोमिटर घस्रिएर अलपत्रे बनेर रोकियो रेल । मैले झ्यालबाट बाहिर हेरें । तीनजना लिकको मर्मत गरिरहेका थिए ।

“रेल किन यहाँ रोकेको ?” सोधेँ ।

“अर्को रेल आउँदै छ ।” एकजनाले भने ।

“हामी त सरुपथारमा उत्रनु पर्ने । रोकेन यहाँ ल्याएर रोक्यो ।”  फेरि भनेँ ।

एक जनाले रेलको विपरीत दिशातिर चोरी औँला तेर्साउँदै भने, “त्यहाँ रोक्छ । लोकल रेल आउँदै छ । तिमी यहीँ उत्र । त्यसमा फर्क ।”

हामी हतारहतार गरेर अफसाइडतिरै उत्रेर लिक क्रस गर्न लाग्यौँ । म, विष्णुजी र देवी सर फात्तफुत्त झर्यौं । पारिपट्टि उक्लिहाल्यौँ । विष्णुजीले टीका मेडमलाई दुवै हातमा समातेर झुन्डाउँदै डीलमाथि तान्नुभयो । रेल नजीकै आइसकेको थियो । मैले र देवी सरले तानेर विमलजीलाई माथि उकालिसक्ता रेलले हामीलाई क्रस गर्‍यो ।

स्याँस्याँ र फ्याँफ्याँ गर्दै अन्तिम डब्बामा उक्लियौँ । रेल सफा थियो, भीडभाड थिएन । हाम्रा झोलालाई फिँजाएर राख्यौँ । वरिपरि बस्न र बीचमा उभिन मिल्ने स्थानीय यात्री बोक्ने रेल रहेछ । बल्ल ढुक्क भयो । ढुक्क त के भन्नु, हामीसँग टिकट थिएन । टिटीले भेटेमा के गर्ने ? के भन्ने ? आ, जे होला भन्दाभन्दै सरुपथार पुगियो । घडी हेरेँ, हामी सरुपथार उत्रँदा बेलुकाको पाँच बजिसकेको थियो ।

* * * *

अनेसासका अनेक पुरस्कार अर्पण, स्रष्टा सम्झना र कृति

२०२४ डिसेम्बर ८ अर्थात तेस्रो दिन । विभिन्न स्रष्टालाई पुरस्कार अर्पण र एक सय ‍कृति विमोचन गरिने कार्यक्रम थियो । लेखकहरूलाई अनेक पुरस्कारले सम्मानित गरिरहँदा कार्यक्रम अझ सोचेकोभन्दा भव्य रहनपुग्यो ।

असमेली नेपाली साहित्य सभाको प्रकाशन रहेका कृतिहरूमा सञ्जीव उपाध्यायको सम्पादन रहेको सभादर्पण, युद्धवीर राणा र छत्रमान सुब्बाको हाम्रो संस्कृति हाम्रो स्वाभिमान, नवप्रभा अधिकारीको शेरमान थापा रचना समग्र, लक्षमण अधिकारी र दक्षिणादेवी गजुरेलको असमेली नेपाली कथा सञ्चयन, बद्री गुरगाईँ र चन्द्रप्रसाद घिमिरेको असमेली नेपाली निबन्ध यात्रा, डा. इन्दु प्रभादेवीको सम्पादनमा निरूपमा निरू स्मृतिग्रन्थ, छत्रमान सुब्बाको लिम्बू सरल वर्णमाला, अञ्जन बाँस्कोटाको सम्पादनमा हरि गजुरेल समग्र रचनावली, पूर्णकुमार शर्मा र कृष्णनील कार्कीको सम्पादनमा असमेली नेपाली एकाङ्की यात्रा, अर्जुन निरोला र धर्मेन्द्र उपाध्यायको सम्पादनमा चयनित असमेली नेपाली व्यङ्ग्य निबन्ध, राम उपाध्याय र प्रकाश कोइरालाको सम्पादनमा असमीया भाषा साहित्य र गोर्खा सर्जक आदि रहेका थिए ।

अन्य स्रष्टाद्वारा प्रकाशित कृतिहरूमा प्रेम विश्वकर्माको कवितासंग्रह अधुरो सपना, हेमकुमार गौतमको रूपनारायण पाठक रचना समग्र, कृष्णलाल शर्माको लघुकथासंग्रह रहस्य, चिदानन्द उपाध्यायको सजिलो नेपाली व्याकरण तथा अभिव्यक्ति, नारायण थापाको कवितासंग्रह अनुभव, प्रल्हाद क्षेत्रीको अनुवाद उपन्यास लालीगुराँसको रगतले धोएको कथा, राजु सुवेदीको कवितासंग्रह दलदलेमा फुलेको कमल, गोपाल श्रेष्ठको सम्पादन रहेको स्वर्ण यात्रा, ज्ञानबहादुर क्षेत्री र डा.इन्दु प्रभादेवीको सम्पादन रहेको पूर्वोत्तर भारतका नेपाली उपन्यास आदि रहेका थिए ।

कार्यक्रममा बहुभाषिक कविगोष्ठी पनि सम्पन्न भयो । केही शुभकामना मन्तव्यहरू पनि राखिए । उता प्रतिनिधि सभाले मतदानद्वारा सन् २०१३ का मूल सचिव डा. चिन्तामणि शर्मालाई सभापतिमा, कार्यकारी सभापतिमा डा. इन्दुप्रभा देवी र तिलक शर्मालाई महासचिवमा निर्वाचित गर्‍यो ।

अनेसासका सभापति दुर्गा खतिवडासँग नेतृत्व र कार्यभारका बारेमा कुराकानी भइरहे । दीपक गजुरेलसँगको सामीष्यताले अनेसासका पूर्व सभापति स्व. हरि गजुरेल सरलाई सम्झेँ । स्रष्टाहरूको भिडबाट मैले अनेसासका पूर्व अध्यक्ष एवम् अगुवा स्रष्टा डम्बर दाहाल र कवि मोहन सुवेदीलाई पनि खोजिरहेँ ।

कार्यक्रममा लोकसामग्री र लोकजीवनको संरक्षणका अभियन्त विनोद खनाल जसले सङ्कलन, संरक्षण गरी राखेका नेपाली जातिले प्रयोग गर्दै आएका लोपोन्मुख २७०० भन्दा बढी सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा पर्यावरण साहित्यका अभियन्ता डा.देवेन सापकोटा देखि लिएर विभिन्न ठाउँका लेखक तथा साहित्यकारहरूसँगको भेटले जागुनको सम्झना गरायो । महिला साहित्यकारहरूसँगको भेटले विगतमा पुर्‍यायो ।

 

सपनाका इन्द्रेणी

२०२४ डिसेम्बर ९ अर्थात चौथो दिन । सदाझैँ हामी चिया खान लज अगाडिको होटलमा गयौँ । हामीसँग डा. गोपीकृष्ण खतिवडा, कवि अभागी थेगुवा, गजलकारद्वय विवश बलिभद्र कोइराला र दिलिप घिमिरे पनि हुनुहुन्थ्यो ।

पसलमा छोराछोरीलाई देखाउन भनेर विष्णुजीसँग नेपाली पैसा मागेर दोकानीले फोटो खिचे । “असममा नेपाली भाषा चल्छ । भेषभूष चल्छ । सबै थोक नेपाल नै जस्तो लाग्यो तर नेपाली रुपैयाँ चल्दैन ।” पहिलो पटकको असम यात्रामा विष्णुजीले अनौठो मान्दै भन्नुभयो ।

सरुपथार मान्छेको मन चोर्न खप्पिस रहेछ । यो सडक पुस्तकालयको शहर पनि रहेछ । गल्ली गल्लीमा सडक पुस्तकालय । स्थानीयले भाषा, संस्कृति र सामूहिकतामा विश्वास गरेको देख्दा मनै आनन्दित भयो । आहा ! सरुपथार नेताका फोटा झुन्ड्याएर आस्थाको विज्ञानपन गर्दै आस्थालाई नै धरौटी राखेर आफ्नो स्वार्थ पूरा गर्दोरहने छ ।

देउपानीको उत्सुकता बिहानसँगै ब्यूँझियौं । हामी कार्विआङलङको देउपानी दुर्गा मन्दिर पुग्यौँ । कहिल्यै नखिइने आस्थाका दृढ उचाइ समेटेको दुर्गा मन्दिर । जहाँ हामी पुग्दा इन्द्रेणी प्रकाशनका धेरै स्रष्टाहरूसँग भेट भएको थियो ।

“लु, दीपकजी पनि आइपुग्नु भएछ । इन्द्रेणी प्रकाशनका केही कृति हात लगाइदिऊँ त कृष्ण ।” रुद्र बराल सरले भन्नुभयो ।

कृष्णनील कार्कीले उहाँ र पूर्णकुमार शर्माको सम्पादन रहेको असमेली नेपाली एकाङ्की यात्रा, अर्जुन निरौला र धर्मेन्द्र उपाध्यायको सम्पादनमा रहेको चयनित असमेली नेपाली व्यङ्ग्य निबन्ध, ढाकाराम काफ्ले र नैना अधिकारीको सम्पादन रहेको असमेली नेपाली समालोचना, अविकेशर शर्मा, रुद्र बराल र डा. भक्तप्रसाद गौतमको सम्पादन रहेको भारतेली नेपाली प्रगतिवादी साहित्यलगायतका कृति दिनुभयो । हामीले केही फोटा खिच्यौँ । फोटो खिच्दैमा मन त खिचिने रहेनछ । हाम्रो यो क्षण यहाँ हुनेले त सम्झौँला । प्रमाणका लागि त आखिर फोटो नै त चाहिने रहेछ ।

मलाई यस्तो लाग्यो– “असमसँग आत्मसाथ गरिरहेको छु अझ उसका सुगन्धहरूसँग ।” सुन्दर सपनाका इन्द्रेणी बोकेर निकैबेर उभियौँ देउपानीमा । घामले पनि चिहाएर हेरिरहेका थिए दुर्गा मन्दिरलाई । यहाँबाट फर्किंदा कार्यक्रम शुरू भएको रहेछ । बीच बाटोबाट नै शोभा यात्रामा सहभागी भयौँ । झाँकीसहितको एउटा भव्य यात्राले नवनिर्वाचित पदाधिकारीहरूलाई लिएर सरुपथारको पूर्ण परिक्रमा गर्‍यो ।

हेमन्त ऋतुको सफा मौसम, बजारछेउ हुँदै जाने नागबेली ट्रेनका लिक छाम्दै भर्खरै हिँडिरहेका घामका किरणहरू रूखबिरुवाको कापबाट सडकमा पोखिन प्रतिस्पर्धा गरिरहेझैँ देखिन्थे । अर्थात रोमाञ्चक थियो । सरुपथार कला, साहित्य र सांस्कृतिक प्रेमको बासनाले मातिरहेको थियो । बिहानको समयमा विभिन्न जातजातिका सांस्कृतिक शोभा यात्रा र हल्का चिसोले उत्ताउलो बनेको सरुपथारको वातावरण अनि ती सडक पनि साँच्चिकै धर्तीको स्वर्ग जाने बाटोझैँ प्रतीत हुन्थ्यो ।

सभालाई विधायक, असम सरकारका मन्त्री र मुख्य मन्त्री डा. हिमन्त विश्व शर्माद्वारा सम्बोधन भयो । यही कार्यक्रममा प्रा.डा. देवी नेपाललाई प्रमुख अतिथि डा. हिमन्त विश्व शर्माद्वारा भारतीय रुपैयाँ साठी हजार नगदसहितको निरु शर्मा पराजुली स्मृति पुरस्कार अर्पण गरियो ।

आजै हामी गुवाहाटी फर्कने दिन थियो । सरुपथारबाट दिन २:३० बजेको आसाम एक्सप्रेस थियो । ट्रेनको ए वानमा चन्द्र सरको एक नम्बर, पुरुषोत्तम उपाध्यायको दुई नम्बर, मेरो तीन नम्बर, विष्णुजीको चार नम्बर र विमल वैद्यको ए टुमा ३९ नम्बरका स्पिर थिए ।

हतार हतार गरेर होटलबाट ब्याग लिएर प्लेटफम आयौँ । प्लेटफममा नव सापकोटा र मुन्नी सापकोटा, डा. गोविन्दराज भट्टराई, डा. अञ्जना वस्ती, शरच्चन्द्र वस्ती, डा. कुमार कोइराला पनि हुनुहुन्थ्यो । हाम्रो ए वान बोगी भएकाले सोहीअनुसार तयारी भयौँ । प्लेटफर्मको पुछारमा स्रष्टा मुक्ति उपाध्याय पनि भेटिनु भयो ।

“ए भतिज, काव्यकार ठूलो कि भाषाविद् ठुलो ?” पुरुषोत्तम काकाले ठट्यौलो पारामा भन्नुभयो ?

विष्णुजी र काकाको बहुमत भयो । म अल्पमतमा परेँ ।

निर्धारित समयमा ट्रेन प्लेटफर्मभित्र प्रवेश गर्‍यो । हामीलाई च्यापेर दुई मिनेट प्रतीक्षाको समय पूरा गर्दै ट्रेनले गति लियो ।

हाम्रो बोगीमा डा.देवेन सापकोटा पनि आउनुभयो । विष्णुजीले छन्द, बिमलजी र मैले गद्य कविता सुनायौँ । चन्द्र सरले देश उचालेका उसबेलाका गीत गुनगुनाउनु भयो । पुरुषोत्तम काकाको ‘खितखित’ र देवेन सरको ‘बहुत बहुत आनन्द आयो ।’ उत्साहले यात्रा रसमय भयो । शायद काकाले विष्णुजी र विमलजीमा रहेको काव्यशक्तिको पहिचान यहीँको प्रस्तुतिबाट गरेको हुनुपर्छ ।

पूर्वोत्तर सिमान्त रेलवे सरुपथार प्लेटफमबाट कार्यक्रम स्थललाई नियालेँ । साँच्चै, सुनलाई खोल लगाउनु पर्दैन । अनुमान लगाएँ– ‘असम नेपाली साहित्य सभाका १ हजार प्रतिनिधि, १ सय ५० भन्दा बढी स्वदेशी तथा विदेशी पाहुना, १ सय पुस्तक विमोचन, १० हजार भन्दा बढीको सहभागिता, २ सयको हाराहारामा व्यापारिक स्टलहरू, तीन वटा भव्य कार्यक्रम स्थल, कार्यक्रममा उपस्थित सबैलाई निःशुल्क दैनिक खाजा, खाना र सुत्नेको व्यवस्थापन चार रात पाँच दिन ।’

ओहो ! कार्यक्रमको भव्य तयारी । हामी एनजेपीबाट ट्रेन चढेदेखि नै सभापति दुर्गा खतिवडा, मूल सचिव मदन थापा र दीपक गजुरेल सम्पर्कमा नै हुनुहुन्थ्यो ।

सरुपथारमा हामीले बेलुकाको पाँच बजे पाइला राख्यौँ । हामी प्लेटफर्ममा उत्रिसक्दा कसैले देवी सरलाई तान्न थाल्नुभयो, कसैले चन्द्र सरको ब्याग बोक्न ।

म मदन सरलाई फोन गर्न थालेँ, “मदन सर हामीले बल्ल रेल छोड्यौँ है ।”

“सर, स्वागतकारिणीका आइपुग्नु भयो ?” मदन सरले भन्नुभयो ।

“आउनुभयो सर । हामी उहाँहरूसँगै छौँ ।” भनेँ ।

“ए हुन्छ सर । मिटिङमा छु । केही क्षणमा भेट हुन्छ ।” भन्नुभयो ।

स्वागतकारिणीले हामीलाई एउटा होटलमा पुर्‍याउनुभयो । जहाँ तिलकप्रसाद शर्मा हुनुहुँदोरहेछ । उहाँको सहजीकरणमा हामी लहकार कप्लेक्सको पहिलो तलामा रहेको रेस्टुरेन्ट युरान जापान एन्ड गेस्टहाउसमा पुग्यौँ ।

प्रश्नको तरङ्ग

मैले घडी हेरेँ । बिहानको सात बजेछ । झ्यालबाट सरुपथारलाई नियालेँ । सूर्यको कलिलो किरणले स्पर्श गर्दा सरुपथार घामको उज्यालोमा धपक्कै बलेको देखियो । हामी चिया पिउँदै थियौँ । साथीहरूका हूल होटलमा आयो । औपचारिकता आदानप्रदान भए ।

“निमन्त्रण नभएका पनि आएछन् ।” मनमा भूकम्प गयो ।

“बोलाएको एउटा, जन्ती नै लिएर आएछन्, दीपकजी व्यवस्थापनमा चुनौती होला जस्तो छ ।”

जीवनकर्ममा अनेकौँ उकाली र ओराली आउँदारहेछन् । अनि आउँदा रहेछन् अनगिन्ती चौतारी र जङ्घार पनि । जीवन भोगाइका क्रममा आएका अप्ठ्याराले कहिलेकाहीँ सम्बन्धका बाँधहरू पनि फुटाउन खोज्दो रहेछ ।

भनेँ, “हेर्ने र छर्नेको भर हुँदैन । यस्तै हो, अप्ठ्यारोमा फलेको फर्सी, न टिप्न सकिन्छ, न माया मार्न सकिन्छ ।”

“हँसियाको बिहेमा खुर्पाको गीत भएछ ।” विष्णुजीले भन्नुभयो ।

“विद्वत्ता र सीपका नाममा केही सहभागीहरूलाई कबोलेको भन्दा पनि बढी खर्च दिनुपर्यो ।” रुने आँखालाई गाजलले छेक्दैन तथापि साथीहरूका कुरा सुनेर नमीठो लाग्यो । मेरो मुटुको गहिराइमा श्रद्घको शिर डुब्न थाल्यो ।

एउटै उद्देश्यले आयोजना गरिएको कार्यक्रम किन सबैका लागि एकै हुँदैन ? प्रश्नको तरङ्ग रेलको सिटीभन्दा तीखो बनेर उठिरह्यो ।

 

आत्मीयताका सिँढी र ओर्लिरहेका घाम

हामी नौ बजे गुवाहाटी प्लेटफममा झर्दा चन्द्रमाका किरणहरूका साथ रात जुनेली थियो । मुटुभरि यो रातलाई अझै सजाउन मन थियो । प्लेटफमका काखमा नै हराउने आकाङ्क्षा थियो तर पुरुषोत्तम काकाले बेलतला बजारको थ्री स्टार होटल टोकियो टावरमा बासको प्रबन्ध गरिदिनु भएको थियो ।

भोलिपल्ट काकाले हामीलाई पुतुल कछारीसँग जिम्मा लगाइदिनु भयो । पुतुल नेपाली भाषा राम्रोसँग बोल्ने, भारतीय सेनाका सेवा निवृत्त कर्मचारी हुन् । यसभन्दा अघि पनि मलाई पटकपटक उनकै ट्याक्सीमा गुवाहाटी घुम्ने अवसर जुरेको थियो । आज पनि उनले हामीलाई रेल्वे कोलोनी हुँदै कामाख्य मन्दिर पुर्याएर दर्शन गराए ।

गुवाहाटीदेखि सात कि.मी. पश्चिमतिर रहेको नीलाचलमा अवस्थित कामाख्या मन्दिर । सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान शिवको अपमान गर्दा हवन कुण्डमा हाम फालेर ज्यान दिएकी थिइन् । भगवान शिव आउन ढिलो भएकोले शरीर जलिसकेको थियो । उनले सतीको शरीर आगाबाट निकाले र ताण्डव नृत्य आरम्भ गरे । अन्य देवतागण उनको नृत्य चाहन्थे, अतः उनीहरूले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे । भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारेर दिएपछि मात्र भगवान शिवले नृत्य रोके । भनाइ छ कि सतीको योनी गुवाहाटीमा खस्यो । यो मन्दिर देवीको प्रतीकात्मक ऊर्जाको रूपमा समर्पित भएको हो ।

हामी कामाख्याबाट फर्कंदा पनि ब्रह्मपुत्र पानीको भारी बोकेर शान्त मुद्रामा निरन्तर बगिरहेकै थियो ।

ब्रह्मपुत्र नदीमाथि नौका विहार गर्यौं । ब्रह्मपुत्रको काखीमा टिपिक्क टाँसिएको गुवाहाटी बजारलाई उचालिरहेछ उर्लंदै झरिरहेको धमिलो ब्रम्हपुत्रले । कविता वाचन गर्दै ब्रह्मपुत्र नदीको बिचभागमा रहेको टापुमा पुगेर उमानन्द भगवतीको दर्शन गर्यौं ।

फर्केर फेन्सी बजार छिर्यौं । फेन्सी बजारछेउ उभिएर ब्रह्मपुत्रमा ओर्लिरहेको घाम हेर्दा, साउती गरेर कानमै सुमसुम्यायो पश्चिमतिरबाट ओर्लेको बतासले ।

मैले कवि नीता गुरुङमार्फत पल्लभ छेत्रीलाई सम्पर्क गरेँ । हामी चर्चित उपन्यास बसाइँका उपन्यासकार लीलबहादुर छेत्रीज्यूको बासस्थान सोलापाडा, हरिजन कोलोनी पुग्यौँ । उहाँको दर्शन गर्यौं । स्वास्थ्य लाभको कामना गर्यौं । चन्द्र सरले लीलबहादुरसँग गर्नुभएको कुराकानीको छायाङ्कन मैले गरिदिएँ ।

साँझ छिप्पिंदै थियो । हामी पल्टनबजार हुँदै बेलतला बजारमा रहेको पञ्जाब नेशनल बैङ्क स्थित पुरुषोत्तम काकाको क्वाटरमा पुग्यौँ ।

हामी एनजेपी फर्कने १० डिसेम्बर २०२४ मा रातको ११: ५५ बजेको गुवाहाटी एनजेपी स्पेसल ट्रेन थियो । एस सिक्समा मेरो ५८, विष्णुजीको ५९, चन्द्र सरको ६०, विमल वैद्यजीको ६१ नम्बरका स्लिपर थिए ।

तोकिएको समयभन्दा चार घण्टा ढिलो भोलिपल्ट दिउँसो १२ बजे मात्रै एनजेपी आइपुग्यौँ हामी ।

* * * *

मलाई यस पटकको यात्रामा यस्तो लाग्यो– “यात्राले देश, काल र वातावरण सम्बन्धी ज्ञान दिँदोरहेछ । अनि त्यो ज्ञानसँगै सिकाइ र अनुभवले जीवनलाई ऊर्जा पनि प्रदान गर्दोरहेछ । असम नेपाली साहित्य सभाको स्वर्ण महोत्सवपछि आत्मीयताका सिँढीहरू अझ फराकिला बनेका छन् । आखिर सम्बन्ध भन्नु त आत्मीयताको उचाइ थप्नु पनि त रहेछ ।”