
अचेल हिउँद महीना चलिरहेकाले न्यूयोर्कमा ३/४ बजे नै झमक्क साँझ परिसकेको जस्तो लाग्छ । बाहिर घुमफिर गर्न पनि चिसो मौसम छ । त्यसैले अफिसको काम सकिएपछि सोझै घर गएर आफूलाई मन लागेका कुराहरू सिक्न मौका मिल्छ ।
हालैको एक साँझ म शरीरका सातै चक्रको ध्यान कसरी गर्ने भनेर अभ्यास गर्दै थिएँ । मेरो दिमागमा अकस्मात् मरिया नाम गरेकी पुरानै मेरी साथी आइन् । निक्कै बेरसम्म उनी मेरो दिमागमा नै बसिरहिन् ।
उनी दक्षिण अमेरिकाबाट आएकी आप्रवासी थिइन् र म नेपालबाट । केही वर्ष उनी र मेरो दोस्ती जमेको थियो । उनको नाम मारिया थियो । उनको ठूलो सपना थियो, अमेरिकामा आफ्नै नाममा घर किन्ने । त्यो सपना पूरा गर्न उनी र उनका श्रीमानले न्यूयोर्कको क्वीन्समा एउटा घर किने । घरको मूल्य ८ लाख ५० हजार डलर थियो । जेनतेन गरेर १ लाख डलर जम्मा गरे पनि बाँकी ७ लाख ५० हजार बैंकबाट ऋण लिनुपर्यो । त्यति मात्र होइन, घर किन्दा, रंगरोगन, फर्निचर, कार्पेट र अन्य घरायसी सामान किन्न करीब ३० हजार डलर क्रेडिट कार्डबाट ऋण थपियो ।
घर किनिसकेपछि घरका माथिल्ला दुई तल्ला उनले तुरुन्तै भाडामा लगाइन् । उनी लगायत श्रीमान् र छोराछोरी सहित बेस्मेन्टमा बस्न थाले । बेस्मेन्टमा खासै सुविधा थिएन । फर्निचर त परै जाओस्, उनले सुत्न ओछ्यानसमेत पाएकी थिइनन् । सोफा नै उनको आफ्नो ओछ्यान बन्यो । बेस्मेन्टको सानो झ्यालबाट आउने मधुरो प्रकाशसँगै उनी हरेक बिहान नयाँ दिनको शुरूवात गर्थिन् । तर यी सबै दुःखहरू उनी लुकाउँथिन् । उनको घरको बाहिरी दृश्य साह्रै लोभलाग्दो थियो। बगैंचाको तस्वीर खिचेर अफिसका साथीहरूलाई गर्वसाथ देखाउँथिन् । गराजमा पार्क गरिएको कार, फूलले सजिएको बगैंचा, र करेसाबारीका फोटोहरू साँच्चिकै आकर्षक देखिन्थे । उनी इन्डोर्स प्लान्ट गर्नमा पनि पोख्त थिइन् । झ्याल ढोका लगायत भर्याङ वरपर ठाउँहरूमा अनेक थरिका ससाना बट्टाहरूमा बिरुवाहरू रोपेकी थिइन् ।
इन्स्टाग्राम र फेसबुकमा उनले ती तस्वीरहरू पोस्ट गरिरहन्थिन् । उनका साथीहरूले “आहा ! कति सुन्दर घर ! तिमी कति भाग्यमानी छौ ! हाम्रो त घर किन्ने सपना कहिल्यै पूरा नहुने भयो” भन्दै कमेन्ट गर्दा उनी निकै खुशी हुन्थिन् ।
कमेन्टहरू पढेर उनको मुहारमा एकाएक खुशी झल्किन्थ्यो । त्यो घर उनका लागि केवल काठ, ईंटा र सिमेन्टको संरचना मात्रै थिएन कि, बरु समाजमा आफूले पाएको इज्जत, प्रतिष्ठा पनि थियो ।
दिनहरू बित्दै थिए । एक दिन, लन्च ब्रेकको वेला उनले मोबाइलमा आफ्नो घरका तस्वीर देखाउँदै थिइन् । फोटाहरू साँच्चिकै सुन्दर नै थिए । मैले उत्सुकतासाथ भनेँ, “तिम्रो हाउस वार्मिङ पार्टी कहिले हो त ? तस्वीर मात्रै होइन, म त तिम्रो घर हेर्न धेरै नै इच्छुक छु ।” मेरो कुरा सुनेर उनी हडबडाइन् । उनको अनुहारको चमक एकाएक हराएर गयो ।
केही बेर चूप रहिन् र त्यसपछि उनले भनिन्, “अहिले हाम्रो आर्थिक अवस्था राम्रो छैन । हामी सबै परिवार बेस्मेन्टमा बसिरहेका छौं । मेरो लागि त ओछ्यान समेत छैन र सोफामै सुत्छु । अहिले नै पाहुना बोलाएर पार्टी गर्ने समय आइसकेको छैन तर मैले ऋण चुक्ता गरिसकेको दिन सबैलाई भव्य पार्टी दिन्छु ।”
“अनि तिम्रो ऋण तिर्नलाई चाहिं कति समय लाग्छ त ?” मैले सोधें ।
“त्यै ८ /१० वर्ष लाग्छ होला ।”
“अनि त्यतिका वर्ष कोच्चिएर बेसमेन्टमा नै बस्छ्यौ त ? श्वास फेर्न अप्ठेरो हुन्न ?”
उनले भनिन्, “अब उपाय नै छैन । अर्को तल्ला खाली गर्नासाथ बैंकको लोन तिर्न सकिंदैन ।”
मैले कुरा बुझिहालें । घरको विषयलाई लिएर उनीसँगको मेरो संवाद पनि सकियो । त्यसपछि पनि उनी कहिले फर्सी फलाएँ भन्थिन् त कहिले करेला फलाएँ भन्दै मोबाइलमा फोटो देखाइरहन्थिन् ।
उनले सोसियल मिडियामा पोष्ट गरेका तस्वीरहरूको चमकभित्र लुकेको संघर्ष र पीडाले मेरो मनलाई गहिरोसँग छोइरहन्थ्यो, झस्क्याइरहन्थ्यो । समाजलाई देखाउनकै लागि भनेर मारियाले किन यति महँगो घर किनेकी होलिन् ? बाहिरबाट चमकधमकले भरिएको अमेरिकी सपनाको भित्री कथाको बलियो उदाहरण मारिया थिइन् ।
मारिया तीस वर्षे लोनमा किनिएको घरको ऋण चुक्ता गरेर आफ्नो बनाउने सपनाको चक्करमा दौडिरहेकी नै थिइन् । तर दुर्भाग्य ! घर किनेको एक वर्ष नपुग्दै उनलाई ब्रेष्ट क्यान्सर भयो । उनको देब्रे स्तन काटियो । उनी त्यो कुरा सहकर्मीहरूलाई समेत नबताई किमो थेरापीका ट्याब्लेट लिंदै सातै दिन काममा आउने-जाने गर्थिन् ।
ब्रेष्ट क्यान्सर भएदेखि नै उनका श्रीमानले घरको चाबी बुझाएर घर नफर्कने गरी अर्कै केटीसँग डेटिङ गर्ने र घर नै आउन छोडेको कुरा मारियाले मलाई सुटुक्क सुनाएकी थिइन् । छोराछोरीहरू पनि बेस्मेन्टमा निसास्सिएको र प्रावेसी नभएको भनेर बाहिरै आफ्नै तरीकाले भाडामा बस्न थालिसकेकाले घर उनको मात्रै जिम्मामा थियो ।
एकदिन अचानक सडकमा बाटो काट्दा एक्सिडेन्टमा परिन् रे भन्ने खबर सुनियो । त्यसको केही महीनापछि उनी रहिनन् रे भन्ने खबर सुनें । अनि उनले घर किन्नका लागि गरेको संघर्ष सम्झिएँ । मारियाले खाई नखाईकन रातदिन ओभरटाइम ड्युटी गरेर एक एक पेन्नी गरेर बचाएर घरमा हालेकी थिइन् । कहिलेकाहिं दिउँसो लन्च पनि नखाईकन बिताउँथिन् । चाँडै ऋण चुक्ता गरेर साथीभाइ बोलाएर घरमा पार्टी गर्ने उनको ठूलो धोको थियो । तर पूरा गर्न पाइनन् । उनको घर के भयो थाहा भएन ।
त्यसपछि म घर किन्ने प्रसङ्ग आउनासाथ वा कसैले घर किन्यो रे भन्नासाथ मारियालाई नै सम्झन्छु । अमेरिकामा अलिकति क्रेडिट राम्रो भयो भने जो कोहीले पनि घर किन्न सक्छ । आफ्नो देशमा एक टुक्रा जमीन जोड्न नसक्ने मानिसले पनि अमेरिकामा सामान्य काम गरेर घरजग्गा कारोबार वाला एजेन्ट समातेपछि तुरुन्त घर किन्न सक्छ । चार कोठाको घर, high speed को वाईफाई, हप्तामा एक पटक रेष्टुरेन्टमा खाने, नयाँ कार, र वर्षमा कम्तीमा एकपटक छुट्टी मनाउन जाने पैसा हुनु अमेरिकी सपनाभित्र पर्छन् ।
‘अमेरिकन ड्रिम्स’ अथवा ‘अमेरिकी सपना’ भन्ने शब्द एक शताब्दी पुरानो हो । सन् १९७० को दशक सम्म अमेरिकी सपना पूरा गर्न अहिलेको जस्तो कठिन थिएन । प्रायः सबै मानिसहरूसँग १५०० वर्ग फीटका घर हुन्थे र अहिलेका जस्ता बनिबनाउ पनि हुँदैनथे । आफू बस्ने घर आफै निर्माण गर्थे । मानिसहरूसँग पुराना कार हुन्थे अनि बिग्रिएमा आफैं मर्मत गर्ने गर्थे । छुट्टी मनाउन २० घण्टा गाडी ड्राइभ गरेर जाने गर्थे । भेकेसन पनि लामो हुन्थ्यो । अहिले जस्तो बच्चाहरूसँग खेलौना पनि हुँदैनथे र टोल छिमेकका केटाकेटीसँग खेल्न जान्थे । स्कूल शुरू हुनुअघि एक जोर लुगा सिलाएर बच्चाहरूलाई स्कूल पठाउनु नै अमेरिकन ड्रिम्स मानिन्थ्यो ।
तर अहिले अमेरिकन ड्रिम्समा सबैभन्दा कठिन ड्रिम्स नै घर वा आवास जोड्नु देखिन्छ । मरिया जस्ता जो राम्रो अवसरको खोजीमा राम्रो जिन्दगी जिउन अमेरिका आइपुग्छन्, तिनीहरू घर किन्न सक्षम त देखिन्छन् तर त्यसैको चक्करमा परेर अरू सबै सपनालाई थाती राख्नुपर्ने दु:खद अवस्था हुँदो रहेछ । जवान हुँदै किनेको घरको ऋण तिर्दातिर्दै बुढो हुने, बुढो भएपछि अनेक रोगले समातेर थला पर्ने, अनि बैंकको ऋण चुक्ता नभई मर्ने दिन आउने ।
मारिया जस्ता सबै आप्रवासीको पहिलो पुस्तालाई के लाग्छ भने, अमेरिकामा घर किन्नु नै सफल हुनु हो । किनभने उनीहरूको सम्बन्ध उता आफ्नो देशमा पनि रहिरहेको हुन्छ । मारिया वेलावेलामा उसको देशमा फोनमा मेरो आफ्नै घर छ भनेर सुनाउँदा गर्वले फुल्थी ।
अहिले अमेरिकामा लामो समयको लगानी गर्नेहरूको हाउजिङ पहिलो प्राथमिकतामा पर्छ भने त्यसपछि शेयर मार्केट र सुन हो । उमेरमा ३५ वर्ष भन्दा कमका अमेरिकनहरू भाडामै बस्न रुचाउँछन् भने घर किन्नेहरू ४७ वर्ष उमेर समूहका हुन्छन् । झन्डै ८० प्रतिशत सिनियरहरू घर किनेर बस्ने त गर्छन् । तर यी मध्ये ६४ प्रतिशत घर किनेकाहरू आफूले घरमा लगानी गरेकोमा पश्चात्ताप गरिरहेका हुन्छन् । यसको मुख्य कारण हो– अत्यधिक वित्तीय बोझ । अनि घरको मर्मत खर्चले समय बित्दै गएपछि घर किन्नु अनुचित निर्णय ठान्दारहेछन् ।
मरियाले कहिलेकाहीं किस्ता तिर्दैमा पैसा सकिन्छ, भैपरिआउने खर्च टार्न नसक्दा ‘मैले कुन दिन घर किन्ने निर्णय गरेर गलत हुन पुगेछु’ भनेर भनिरहन्थिन् ।
घर किन्नु ठीक या भाडामा बस्नु ? यो प्रश्नको सोझो र सटिक जवाफ संसारमा कसैसँग पनि रहेनछ । तर मरियालाई सम्झनासाथ मलाई घर र बैंकको डरलाग्दो किस्ताको याद आइहाल्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

