
शिरपोस शब्दले टाउकोमा लगाउने वस्त्र वा पहिरन बुझाउँछ । जसलाई टोपी भन्ने शब्दले परिभाषित गराउँछ । नेपाली टोपी नेपालीहरूको पहिचान हो । नेपालसहित, भारत, भूटान, म्यान्मार लगायत संसारभर बसोबास गर्ने नेपाली भाषीहरूले पहिचानका लागि पनि परम्परागत नेपाली टोपी लगाउने गरेको पाइन्छ । नेपाली टोपीले प्रारम्भमा नेपालबाहेक सिक्किम र पूर्व र उत्तर भारतीय राज्यहरू आसाम, मेघालय, नागाल्याण्ड, मणिपुर, दार्जीलिङ र देहरादून लगायत भारतमा छरिएर बसोबास गर्ने नेपालीहरूलाई चिह्नाउने काम गर्दै आएको छ । बाउबाजेको पालादेखि लगाउँदै आएको नेपाली टोपी छोरा-नातिसम्म आइपुगेको छ ।
आदिकालदेखि नै प्रत्येक जातिले आफ्नो पहिरनमा टोपीलाई स्थान दिंदै आएका छन् । हामी नेपालीले पनि बाह्रौं शताब्दीदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिंदै आफ्नो पहिचान बचाई राखेका छौं । नेपालमा टोपीको चलन पुरानै रहेको छ । तर राष्ट्रिय पहिचानका रूपमा टोपीले राजा महेन्द्रको शासन कालदेखि पाउन थाल्यो । राजा महेन्द्रले नेपाली टोपीलाई अनिवार्य बनाएपछि नेपालको नागरिकताबाट लिएर राहदानी अनि सरकारी कार्यालयमा प्रवेश गर्दा टोपीको आवश्यकता बढ्दै जान थाल्यो ।
अझ राजाको उपस्थितिमा आयोजना हुने कुनै पनि कार्यक्रममा टोपी अनिवार्य थियो । आफू साक्षी रहेको गाईजात्रा महोत्सव र नाटक महोत्सवमा राजाको सवारी चल्दा उपस्थित सबै दर्शकले अनिवार्य टोपी लाउनु पर्थ्यो । यसबाहेक कूटनीतिज्ञ वा नोकर शाह, सैनिक वा सेनाका अधिकारी, राजनीतिज्ञ वा व्यापारी सबैले लगाउने गर्थे । यो पनि हाम्रो एकताको प्रतीक हो । नेपालको प्रशासनिक इकाई सिंहदरबार प्रवेशमा टोपी अनिवार्य भएकोले काठमाडौंको सिंहदरबार नजीकै भाडामा टोपी पाइने पसल पनि हुने गर्थ्यो।
नेपालीलाई अरूभन्दा फरक पार्ने, सबैभन्दा विशिष्ट विशेषता भनेको उसले टाउकोमा लगाउने टोपी नै हो । यो सजिलै खल्तीमा राख्न मिल्ने भएकोले यो भन्दा साधारण टोपीको मोडल यो व्यापक संसारमा हुन सक्दैन । नेपालीहरूको पहिचानका लागि लगाइने टोपी ढाका र भादगाउँले दुई प्रकारका रहेको पाइन्छ । हुन त नेपालका सबै जातजातिको आआफ्नै प्रकारका टोपी हुने गर्छ । चुक्ली टोपी, बिर्के टोपी, कर्चुपे टोपी भनेर चिनिने गरिन्छ पनि । भानुभक्तले लाउने टोपीलाई बिर्खे वा बिर्के टोपी भनिन्छ । तर ढाका र भादगाउँले टोपी नेपालको राष्ट्रिय पहिचान बनेको छ ।
पाल्पाली ढाकाटोपी ढाका भनिने कपडाबाट बनेको हो जुन पश्चिमी नेपालको पाल्पामा उत्पादन गरिन्छ । भनिन्छ ब्रिटिश कालीन भारतवर्षको समयमा पूर्वी बङ्गाल र पश्चिम बङ्गाल भारतको भूभाग रहेको वेला नेपालबाट कामदारहरू काम गर्न भारतको विभिन्न शहरका साथै कलकत्तासँगै ढाकामा पनि काम गर्न पुगेका थिए । ढाका बुनाइको परिचय नेपालमा सन् १९५० मा जामदानी कारखानामा काम गर्ने गणेशमान महर्जनबाट आएको मानिन्छ (गुगलबाट जानकारी) । उनले ढाका कपडाको बुनाइको सीप सिकेर नेपालमा निरन्तरता दिन थालेको मानिन्छ ।
त्यस वेला व्यापारको सिलसिलामा अविभाजित भारतवर्षका विभिन्न शहरमा नेपालीहरूको आवतजावत हुने गर्थ्यो । व्यापारी प्रयोजनको सिलसिलामा जुन सामान जहाँबाट ल्याइन्छ त्यसको नाम स्थानानुसार राखिने भएकोले कलकत्ते काइँयो, बनारसी साडी जस्तै शुरूमा ढाकाबाट रङ्गिन धागोहरू ल्याएर पाल्पामा तानबाट कपडा बुन्ने काम नेवार समुदायले शुरू गरेको पाइन्छ । ढाकाबाट ल्याएका कपडाबाट बन्ने भएकोले ढाका टोपी, ढाका चोलो, ढाका खास्टो भनेर नामाकरण गरिन्थ्यो । कालान्तरमा पाल्पामा नै उच्चस्तरीय कपास खेती शुरू गरेर ढाकाका धागोहरू तानबाट निकाल्न थालियो ।
यसका अतिरिक्त एउटा किंवदन्ती अनुसार जङ्गबहादुर राणाकी छोरी डम्बर कुमारीले बनारसबाट ल्याएको ढाका लुगा लगाएको देखेपछि उनी यो कुरा सिक्न प्रेरित भइन् । आफ्नो घर पाल्पा फर्केपछि उनले सन् १९५७ मा ढाका कपडा उत्पादन गर्ने कारखाना शुरू गरिन् । उनीहरूले काठमाडौंबाट हातले चलाउने चर्खा तान ल्याएर कपासबाट धागो बनाउँदै बुट्टादार टोपी, चोलो र खास्टो आदि बनाउन थाले (गुगलबाट जानकारी)। पछि गएर शाहवंशीय सरकारले ढाकाको कपडा र त्यसबाट बनेको टोपीलाई मन पराएपछि यसले राष्ट्रिय मान्यता पाउँदै जान थाल्यो । सन् १९७० मा स्वदेशी वस्त्रकला पाल्पाली ढाका उद्योग खोलेर त्यसवेला लगभग ३५० जना कामदारहरूलाई रोजगारी दिएर ढाकाका वस्त्र बनाउन थालियो ।
त्यति वेला जयशंकर कपडा उद्योग, खनाल कपडा उद्योग र नबिन कपडा उद्योग आदि ढाका कपडा बनाउन प्रयोग हुने सूती धागो उत्पादन गर्ने प्रमुख उत्पादक थिए । यसरी पाल्पामा उत्पादन भई बनेकोले पाल्पाली शब्द गाँसिए तापनि ढाका शब्द भने जोडिएर बसिरह्यो । अनि आजको मितिमा हामी पाल्पाली ढाका टोपी बनेर चिन्ने गर्छौं ।
कालो टोपी भादगाँउले टोपीको नामबाट चिनिने गरिएको हो । कुनै समय वर्तमान भक्तपुरलाई भादगाँउ भनिन्थ्यो । यो एक विशिष्ट बनावट र ढाँचामा बुनिएको हुन्छ । पाल्पाली ढाका टोपी विभिन्न रंग र ढाँचामा उपलब्ध हुन्छ भने भादगाँउले टोपी कालो रङ्गमा मात्र पाइन्छ । यसरी आज नेपाली टोपी नेपाली राष्ट्रियताको प्रतीक बनेको छ ।
भक्तपुरका कारीगरहरूले बनाएको परम्परागत कालो टोपी काठमाडौंमा मात्र ख्याति नभएर यो टोपी विशेष गरेर भारतको गोर्खा राईफल्सबाट लिएर ब्रिटिश गोर्खामा समेत सैनिकहरूको अनिवार्य शिरको पहिरन बनेको छ । पूर्व भारतीय फिल्ड मार्सल मानिस शाहबाट लिएर भारतीय संगीत क्षेत्रका दिग्गज संगीतकार भुपेन हजारिकासम्मले नेपाली कालो (भादगाँउ) टोपी सधैं लगाउँदै आएका थिए ।
आज नेपाली टोपीको विश्वव्यापीकरण भएको छ । प्रत्येक वर्ष अँग्रेजी नयाँ वर्षका दिन विश्वभरी नै नेपाली टोपी दिवस मनाइन्छ । विसं २०१३ देखि मनाउन थालिएको नेपाली टोपी दिवसको थालनी २०१० नोभेम्बरदेखि क्यानडाबाट शुरू भएको थियो । डा. गोबिन्दसिंह रावतको पहलमा ‘नेपाली साहित्य समाज, क्यानड’ का तत्कालीन सदस्यहरूको सहयोगमा टोपी इभेन्टको नामबाट कार्यक्रम शुरू गरिएको थियो । देशबाहिर पनि नेपाली राष्ट्रियताको पहिचानलाई जोगाइराख्न राष्ट्रियताको प्रतीक नेपाली टोपी पहिरिएर नेपाली टोपी इभेन्टको नामबाट एउटा नौलो कार्यक्रम शुरू गरिएको थियो । टोरोन्टो साहित्य समाजको आयोजनामा क्यानाडाको विशाल टोरोन्टोमा बसोबास गर्ने बुद्धिजीवीहरूको समूहले नेपाली टोपी इभेन्टको नामबाट शुरू गरेको यसको पहिलो इभेन्टका रूपमा नोभेम्बर २४, २०१० का दिन क्यानडाका लागि नेपालको पहिलो महामहिम राजदूत डा. भोजराज घिमिरेको विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाली टोपी इभेन्टको नामबाट आयोजना गरिएको यस कार्यक्रममा सबै सहभागीहरूले अनिवार्य रूपमा नेपाली टोपी लगाएर उपस्थित भएका थिए । टोपी नभएकाहरूका लागि अतिरिक्त टोपीको पनि व्यवस्था गरिएको थियो । नेपालबाहिर रहेका हामी नेपालीहरूले आफ्नो राष्ट्रियताको पहिचान बनाइराख्न नेपाली टोपी इभेन्टको अवधारणालाई अगाडि ल्याएको र यसरी नै यहाँका बुद्धिजीवी समूहहरूको सहभागितामा महीना–दुई महीनामा साहित्यिक भेटघाटको वातावरणमा नेपाली टोपी इभेन्टको आयोजना हुँदै आएको छ । यस टोपी इभेन्टमा नेपाली साहित्यका कविता विधाका संरचनावादी समालोचक प्राध्यापक डा. खगेन्द्र लुइँटेलसहित अन्य धेरै नेपालका साहित्यकारहरूको उपस्थितिमा आयोजना हुँदै आएको छ ।
यसरी टोपी इभेन्टको क्रमलाई निरन्तरता दिन र यसलाई स्थापित गर्न ताइवानबाट डा. लेखनाथ काफ्ले र नेपालबाट शंकर बञ्जाडेले इभेन्टलाई दिवसका रूपमा मनाउने अभियान शुरू गर्दै २०१३ जनवरी १ बाट अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको नामले मनाउन थाल्यो । यो अभियान देश-विदेशका नेपाली र नेपाली मूलका नागरिकहरूको अथाह सहभागिताका कारण छोटो समयमै व्यापक पाएको छ ।
यस अभियानलाई थप व्यवस्थित, व्यापक र संस्थागत बनाउने उद्देश्यले “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” का संस्थापक अभियन्ता द्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा “नेपाली टोपी प्रतिष्ठान” नामक गैर सरकारी, गैर नाफामूलक संस्था गठन भएको छ ।
हाल यसका अध्यक्षमा शंकर बञ्जाडे रहेका छन् भने उपाध्यक्षमा डा. लेखनाथ काफ्ले, सचिव प्रकाश अधिकारी, कोषाध्यक्ष भुवन नेपाल र सदस्यहरूमा शारदा न्यौपाने, प्रभाकर आचार्य, संजिव पुडासैनी र प्रतिष्ठानको सल्लाहकारमा डा. गोबिन्दसिंह रावत र नवराज पोखरेल रहेका छन् ।
यसै सन्दर्भमा नेपाली बसोबास गर्दै आएका विश्वका हरेक मुलुकमा नेपाली टोपी अन्तर्राष्ट्रिय प्रतिष्ठान शाखाको स्थापना गर्ने क्रममा प्रतिष्ठानका सल्लाहकार रोमानियाका लागि नेपाली पूर्व अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको संयोजकत्वमा विश्वका ३९ मुलुकहरूमा नेपाली टोपी प्रतिष्ठान शाखा गठन भएको छ। टोपी प्रतिष्ठानको क्यानडाको अध्यक्षमा गोपीकृष्ण काफ्ले रहेका छन् ।
नेपाली टोपी इभेन्टको नामबाट शुरू भएको पहिलो कार्यक्रम विशाल टोरोन्टोमा अवस्थित माउन्ट एभरेष्ट होटलकमा आयोजित पहिलो नेपाली टोपी इभेन्टमा पहिलो कार्यक्रममाउपस्थित हुनेहरूमा महामहिम राजदूत डा. भोजराज घिमिरेसहित टोरोन्टोका लागि अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्मा, डा. गोबिन्द रावत, गोपीकृण काफ्ले, प्रदीप पौडेल, अनुप न्योपाने, कृष्ण तिम्सिना, अतुल सुवेदी, अमित उपाध्याय, अमित शर्मा, अनुप न्योपाने, अञ्जनी शर्मा, आङ्गबरु शेर्पा, डा। हरी गुरुङ्ग, कृष्ण तिम्सिना, किरण पन्त, मदन के.सी., मुक्ती गौतम, नवराज गुरुङ, नारायण घिमिरे, डा. नारायण रेग्मी, पशुपति पोखरेल, प्रज्वलराज जोशी, संजय लुईटेल, टंक खनाल, डा. तुलसी धरेल, यादव पोखरेल, भोलाराज पोखरेल, केदार बस्नेत, विरेन्द्र लम्साल आदिको उपस्थिति रहेको थियो ।
नेपाली टोपी प्रतिष्ठानले, नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आ-आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मानेको छ । यस अवसरमा विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपाली मूलका सबै नागरिकहरूलाई जनवरी १ तारिख, २०२५ का दिन आआफ्नो अवस्था अनुकूल नेपाली टोपी पहिरेर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा नेपाली टोपी दिवसलाई व्यापक रूपमा सम्पन्न गर्न गराउन भनी यस वर्ष पनि टोपी दिवसका संयोजक र प्रतिष्ठानका सल्लाहकार पोखरेलले विशेष अपिल गर्दै विज्ञप्ती जारी गरेका छन् ।
नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, अँग्रेजी नयाँ वर्षमा नेपाली युवाहरूको विशेष रूपमा सहभागी हुने परम्परालाई नेपाली टोपी दिवसको रूपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउनु रहेको छ । नेपाली टोपी प्रतिष्ठान मौलिक संस्कृतिको जगेर्ना गर्दै नेपाली टोपीलाई नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा स्थापित गराउनका लागि सदैव क्रियाशील रहँदै आएको छ ।
यस पटक गैरआवासीय नेपाली संघ, क्यानडाले १८ वर्ष मुनिका बालबालिकाहरूलाई टोपीका बारेमा आआफ्नो मन्तव्य रेकर्ड गरेर पठाउन अनुरोधसहित प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा सहभागी बालबालिकाले आफूले जानेको र सुनेको टोपीको विषयमा जानकारी गराएका थिए । तेह्र जना बालबालिकाको सहभागितामा सम्पन्न प्रतियोगितामा रेवा ताल्यावडेल -प्रथम, प्रतीक तिवारी – द्वितीय र दर्शन गौतम – तृतीय भएका थिए ।
संघले टोपी दिवसकै उपलक्ष्यमा संघका महासचिव चन्दा अधिकारीको संयोजनमा क्यानडाका लागि नेपाली राजदूत महामहिम भरतराज पौडेलको प्रमुख आतिथ्य, मानवअधिकारकर्मी, पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालको उपस्थितिमा संघका पदाधिकारीहरूको सहभागितामा भर्चुयल टोपी दिवस कार्यक्रमको आयोजना गरेको थियो । त्यसरी नै संघले क्यालगेरी आदि अन्य शहरमा पनि टोपी दिवस कार्यक्रमको आयोजना गरेको थियो । साथै टोपी प्रतिष्ठान, क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेले नेपाल हाउस क्यानडाको आयोजना र एनआरएन, क्यानडासहित अन्य संस्थाको संयोजनमा क्यानडाका संघीय मन्त्री रुबी सहोटाको प्रमुख आतिथ्यमा टोपी दिवस कार्यक्रमको आयोजना गरिएको थियो ।
हाम्रो इतिहास पल्टाएर हेर्ने हो भने नेपाली मूलका विदेशी नागरिक (पिपुल अफ नेपाली ओरिजिन – पीएनओ) हरूको संख्या यकीनसाथ भन्न सकिंदैन । पहिलो र दोस्रो विश्वयुद्धको समयमा ठूलो संख्यामा नेपालीहरू बर्मा, थाइल्यान्ड, मलेसिया, फिजी लगायतका देशमा पुगेका थिए । तीमध्ये कतिपयले उतै बसोबास शुरू गरेका थिए भने कतिपय नेपालसँग परिचय गाँस्न चाहन्छन् । गैरआवासीय नेपाली संघले दोहोरो नागरिकताको पहल गर्दैछ भने पीएनओका लागि परिचयपत्र दिन कानूनी तयारी शुरू गरेको छ।
यसरी विभिन्न समयदेखि विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका विदेशी नागरिकलाई जोड्ने काममा नेपाली टोपीलाई माध्यम बनाउन सके नेपालीहरूको अनेकतामा पनि एकता देखिने विश्वास लिन सकिन्छ । यसका साथै नेपाली टोपीलाई स्थापित गराउँदै अन्तर्राष्ट्रिय पहिचान बनाउन टोपी दिवसले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिन सकिन्छ ।
टोरन्टो



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
