खोइ कहाँबाट शुरू भएको हो यो प्रचलन नेपालमा, ठ्याक्कै भन्न सकिँदैन त्यो । तर, नेपालीहरूको बाक्लो अस्ट्रेलिया प्रस्थानसँगै यो नेपाल भित्रिएको जस्तो लाग्छ । हेर्दा रमाइलो देखिन्छ  – बेलुन, ‘भविष्यको आमा’ लेखिएको रिबन, केक, ध्वजा, पताका, मदिरा, र विदेशी सङ्गीत, अनेक रोचकीय खेलहरू । तर, यो सांस्कृतिक रूपमा हाम्रो हो या होइन भन्ने प्रश्न भने सधैं उठिरहन्छ ।

बेबी शावर – सामान्यतः पश्चिमी संस्कृतिबाट शुरू भएको मानिन्छ र अहिले यो विश्वभर लोकप्रिय भइरहेको छ । यो परम्परा संयुक्त राज्य अमेरिकामा १९ औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको शुरूवाततिर शुरू भएको विश्वास गरिन्छ । बेबी शावर सामान्यतः बच्चा जन्मिनुभन्दा ४-६ हप्ता अगाडि आयोजना गरिन्छ । यस समयमा आमा आरामसँग गर्भवती रहनुका साथै उपहार र सल्लाह पाएपछि बच्चाको तयारी गर्न पर्याप्त समय पाउँछिन् ।

यसको उद्देश्य भनेको आमा बन्ने महिलाको सम्मान गर्ने, सहयोग गर्ने (परिवार र साथीभाइले आवश्यक सामग्रीहरू जस्तै बच्चाका कपडा, डाइपर, र अन्य सामानहरू उपहार स्वरूप दिने) र जीवनको आगमनको खुशी प्रियजनहरूसँग साट्ने । यो प्रचलनले दोस्रो विश्वयुद्धको समयतिर अझै व्यापकता पाएको मानिन्छ ।

यद्यपि, प्राचीन सभ्यता र अन्य संस्कृतिहरूमा पनि आमा बन्न लागेका महिलालाई सम्मान गर्ने चलनहरू पहिले नै थिए । संसारका विभिन्न देशहरूमा यस सुखद अवसरलाई छुट्टाछुट्टै नामले मनाइन्छ । भारतमा ‘गोधभराइ,’ ब्राजिलमा ‘चा दे बेबे,’ टर्कीमा ‘फासादुरा,’ अनि दक्षिण अफ्रिकामा ‘स्टोर्क पार्टी’ भनेर चिनिन्छ ।

चीनमा भने बच्चा सुरक्षित रूपमा जन्मिएपछि मात्र उत्सव मनाउने चलन छ ।

नेपालमा भने गर्भवती महिलालाई सुत्केरी हुनुअघि माइती पक्षले छोरीको घरमा गएर मीठा-मीठा परिकार खुवाउने, अझ भनौं दही खुवाउने, अनि बच्चाका लागि कपडा र अन्य आवश्यक सामग्री उपहार दिने चलन छ । यो चलन व्यावहारिक मात्र नभई स्नेह र माया झल्काउने नेपाली परम्परा पनि हो । हाम्रो परम्पराको महत्त्वपूर्ण उद्देश्य भनेको प्रसवको समयमा महिलालाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउन सहयोग पुर्‍याउनु हो । यस्तो विश्वास गरिन्छ कि परिवार र प्रियजनको साथ र समर्थनले आमा बन्ने महिलालाई प्रसव पीडालाई सहज रूपमा सामना गर्न मद्दत पुर्‍याउँछ ।

अहिले भने नेपालमा मनाइने यस परम्पराको स्वरूप फेरिएको छ बेबी शावरको नाममा । विश्व नै गाउँ बनिसकेकोको अहिलेको जमानामा पर्व फेरिनु ठूलो कुरा हैन । तर मनाउने प्रवृत्ति नै फेरिनु चाहिं दुःखको कुरा हो ।

जस्तै नेपाली समाजमा गर्भवती महिलाहरूले आफ्नो शरीरलाई पूरै ढाक्ने कपडा लगाउने चलन थियो । प्रायः गर्भावस्थाको समय घरमै बिताइन्छ । बच्चा जन्मिएपछि मात्र आफन्तहरूलाई जानकारी दिने परम्परा कतिपय ठाउँमा अझै जीवित छ ।

सन् २०१८ तिरबाट नेपालीभाषी प्रवासीहरूले यो अमेरिकन पर्वलाई नेपाली शैलीमा पनि मनाउन थालेका छन् । पर्व मनाउनु कुनै नराम्रो कुरा होइन । तर, यसलाई हाम्रो परिवेशअनुसार अपनाउनु महत्त्वपूर्ण हुन्छ । हाल सामाजिक सञ्जालमा बिना पहिरनका पेट देखाउने तस्वीरदेखि अर्धनग्न म्याटरनिटी फोटोशूटसम्म देखिन थालेको छ । कतिपय तस्वीरमा श्रीमानले श्रीमतीको पेटमा चुम्बन गरिरहेको त कतिपयमा नाइटोमा हात राखेर तस्वीर खिचाइएको देखिन्छ । हुन त यो व्यक्तिगत स्वतन्त्रता हो । तर अर्को पक्षबाट हेर्दा यस्ता तस्वीरहरूले पारिवारिक समाजमा असजिलो महसूस निम्त्याउला कि !

त्यसैगरी, पार्टी प्यालेसमा मदिरा, भोज, र फोटोग्राफरका लागि हुने खर्चलाई भावी सन्तानका लागि उपयोग गर्न सकिन्छ भन्ने तर्क पनि छ । देखावटीको होडले पर्वको मौलिकता र महत्त्वलाई कमजोर बनाइरहेको जस्तो लाग्छ ।

बेबी शावर जस्तो पर्वलाई सांस्कृतिक आदान-प्रदानको रूपमा हेर्दै अपनाउनु सकारात्मक पक्ष हो । तर, हरेक परम्पराको मौलिकता जोगाउनु र आफ्नो सांस्कृतिक मूल्यलाई हृदयभावले मनाउनु हाम्रो जिम्मेवारी हो । पर्वले देखावटी प्रतिस्पर्धाभन्दा आत्मीयता र स्नेहको भावना उजागर गर्नुपर्छ ।

 पेरिस, फ्रान्स