‘हातका मैला सुनका थैला के गर्नु धनले

साग र सिस्नु खाएकै बेस आनन्दी मनले ।’

उःबेला देवकोटाले भोटतिर उक्लिएका मदनको भुक्तमान लेखेर हामीलाई मर्माहत पारे । मदनको दुर्दशा हामी सबैलाई अवगत भयो । मुगलान पसेकाहरूको इतिहासले मुट दुख्छ।  दुःखका भीषण पहाड देखेर पनि अझ मौलाउँदै छ मुगलानको यात्रा । बड्दो छ घर छोड्नेहरूका कथा र व्यथा । परदेशीका कैयौँ इतिहास देखेर पनि विश्वस्त पार्न सकेनौँ, भूगोल छोडेर उड्न खोज्ने अनेकौँ विवशतालाई । परदेशको पीडा बुझेर पनि लाचार हुनुपरेको छ अभिलाषी चेतना ।

नेपालीहरूको मनस्थिति र देशको परिस्थिति झन् झन् गिर्दो छ । बाकसमा लास आउँदा पनि दुख्दैन सत्ताको मुटु । गन्छ पैसा लासको सन्दुकमा बसेर । मनस्थिति र अवस्थितिलाई मध्यनजर गरेर बुझपचाउनु परेको छ आज पनि । अज्ञात भूगोलको मीठो सपना सजाएर कलिला हृदयहरू हाम्फाल्न बाध्य छन् परदेशको खाडलमा । विश्वग्राममा बसेका हामी सम्पूर्ण स्थिति बुझेर पनि मूकदर्शक बन्न पुगेका छौँ ।

सुतार कान्छा र ठूलेलाई मुगलानमा भेटेकै हुन् डाक्टर गोविन्दराज भट्टराईले । देवकोटाको मुनामदन पढेपछि सोचेका थियौँ अब कसैले पनि मदनको जस्तो नियति भोग्नु पर्नेछैन । विवशताले मुगलान पसेका सुतार कान्छा र ठूलेले खेपेको दुःखको भुमरीले अझसम्म उडाएकै छ हामीलाई तर पनि हाम्रो यात्रा रोक्किएको छैन मुगलानतिरका । अझ कति सुन्नु पर्ने हो, अझ कति देख्नु पर्ने हो प्रवासीले भोगेका दुःख, पीडा र आँशुको कथा र व्यथा ।

मुगलाने यात्राले लुट्यो ऊर्जावान् जवानी । खोस्यो कर्मठ नेपालीहरूको आफ्नै आँगनमा डुल्ने चाहना । युगदेखि युगसम्म युद्धले खोस्यो कैयौँ जवानहरूलाई । मुगलानमै भेटेका थिए दौलतविक्रम विष्टले पनि चपाइएका अनुहार । ती अनुहारहरू अझ पनि पोटिला भएका छैनन्, कस्तो विडम्बना ! राजवले त झन् मुगलान जान जोरजुलुम गर्नेहरूको त कायाकल्पै गरिदिए साङ्लो बनाएर । अनि मुगलानको पीडामा उच्छवास लिँदै भने काफ्काको काम सक्कियो ।

दाल, भात र डुकोको आशमा अविश्रान्त हिँडेका थिए हाम्रा पुर्खाहरू मुगलानतिर । आफ्नो प्राणभन्दा प्यारो घर छोडेर परदेश पस्ने रहर पक्कै हाम्रा पूर्खाहरूलाई पनि थिएन । परिवारको लालनपालन गर्न अरूको देशलाई सुरक्षित राख्न होमिएका थिए ज्यानको बाजी थापेर ।

बहादुरीको फेटा कसेर हिँडेका वीर गोर्खाली कति अमर भए, कति घाइते । निजी स्वार्थ केही नराखी अरूकै स्वार्थ सिद्ध गर्नका खातिर लडे युद्ध । अरूकै इशारामा छातीमा गोली थापे । यता आमाको कोख उजाड भयो, सिउँदो पुछियो मायालुको । टुहुरा भए कति सन्तान । कसरी लेखा राख्नु, आकाश पल्टिएका घरहरूको ! कसरी बिर्सनु सपना बटुल्ने क्रममा मुगलानमा हराएका उज्यालो जीवनलाई !

गोर्खालीहरूको विवशताको गौरवलाई कसले बिर्सिएको छ र ! अभाव र दुःखको सारङ्गी आज पनि निरन्तर बज्न थालेपछि हिँडेका हुन् छातीमा देश बोकेर । डर मानवीय स्वभाव हो तर पनि डरसँग मित लगाएर हिँडेका छन् बहादुरहरू मीठो मुस्कान छरेर । आफ्नै आँखाले बाकसको दुर्दशा देखेर पनि किन उत्सुक छन् नवीन चेतना परदेशिन ? कुरूप विवशतालाई विश्वासको उज्यालो पर्दाले छोपेर, आँशुलाई चट्टान बनाएर फालकुदेका छन् सुरक्षित भविष्य बटुल्न ।

कहालीलाग्दो मुगलानको कथाको अन्त्य कहिले होला लाग्दैथियो फेरि पनि मुगलानकै कथा लिएर आएका छन् दाजु गुरुङ निरजोयामार्फत् । नेपाली डायस्पोराका उर्जाशील स्रष्टा दाजु गुरुङ नेपाली भाषा, साहित्यप्रति समर्पित छन् । टाँकीको फूललाइसी कथा सङ्ग्रहबाट डायस्पोरिक साहित्यलाई उज्यालो पारेका स्रष्टाको निरजोया पहिलो उपन्यास हो ।

भाषामा बलियो पक्कड भएका दाजुको लेखन शैली उस्तै बेजोड छ । सम्मोहित पार्ने संवादले पाठकहरूलाई हुरुक्क पार्छ । समाज, संस्कृति र संवेदनालाई शब्दचित्रमा उतार्न सफल दाजु प्रकृतिको निकै नजिक भएका पनि देखिन्छन् । सामाजिक यथार्थवाद र पात्रहरूको मनोवैज्ञानिक पाटोमा  उस्तै किसिमले कलम चलाउन सफल स्रष्टाको लेखनी जीवन्त छ ।

कल्पनाभित्र पनि यथार्थको सुवास फैलिएको छ । एकपछि अर्को घटनाहरू निर्माण गरेर उपन्यासलाई अगाडि बढाएका छन् । मलेसियाका श्रमिकहरूको अवस्था, विवशता, जीवनसंघर्ष, शहरीकरण, ग्रामीण परिवेश, प्रकृति, पशुपालन, खेतीपाती, जङ्गल, पसल, युद्ध, युद्धका इतिहास, मलेसियाको इतिहासदेखि बाहिर मुलुकबाट आएका कामदारहरूको परिस्थिति र मनस्थिति पनि यहाँ मज्जाले देखिन्छ ।

जातजाति, भाषाभाषीका कथालाई विभिन्न घटनामार्फत् सलल बगाउन सफल भएका छन् स्रष्टा । श्रमिकहरूले मलेसियामा पुगेर भोग्नु परेको कारुणिक कथा यहाँ बडो मार्मिक किसिमले आएको छ । निरोज जस्ता युवाले भोगका छन् आधुनिक मुगलानको कथा र व्यथा । सुखद भविष्यको मीठो सपना सजाउँदै मनभरि अनेकौँ इन्द्रेणी रङ भरेर हिँड्दैछन् हाम्रा युवा जनशक्ति ।

मुगलान भासिने परम्परा गतिशील छ युगौँ युगौँदेखि । सबैलाई जित्नु छ संसार आफैं हारेर । सम्पन्न पार्नुछ परिवार आफू मरेर । त्यसैले घरतिरको दृष्टि धूमिल हुँदैछ । नजिकको सुख र स्वर्ग देख्न छोडेको छ आँखाहरूले । पर परको भूगोल भेट्न कुद्छन् विवशतामा पिल्सिएका अभिलाषी गोडाहरू । वर्तमानमा हाम्रो दृष्टि एकिकृत हुँदैन । भविष्यको कल्पनामा सम्पन्न हुनुछ हामीलाई । सुखी हुनुछ कसै गरी मुगलान धसिएर । दाजु गुरुङले निरोज पात्रमार्फत् आम युवाहरूको विदेश मोह, विदेश पस्न अपनाउने गलत तरिका, विदेश जानुपर्ने बाध्यता, विवशता र परिस्थितिको बडो जीवन्त चलचित्र यहाँ प्रस्तुत गरेका छन् ।

मलेसियाको राजधानी शहर क्वालालप्पुरबाट कथा आरम्भ भएको छ । मलेसियाको गैरकानूनी बसाइले उत्पन्न गरेको मनोदशामा त्रसित छ मुख्य पात्र । उपन्यासको आरम्भ नै बडो रोचक छ । मलाय पुलिसले निरोजलाई हतकडी लगाएर जेल लगेको दृश्यले पाठकलाई आरम्भमै चपक्क तान्छ । निरोज भिजिट भिसामा आएर गैरकानूनी कामदारको रूपमा मलेसिया बसेको छ । निरोज जस्तै अरु युवाहरू पनि छन् । अरू मुलुकहरूबाट पनि आएका छन् खुशीको फूल टिप्न ।

युवा शक्ति कामको खोजीमा, ज्यान हत्केलामा राखेर भौंतारिएका छन् मलाय भूमिमा । जनयुद्धको बाछिटाले नेपाली युवाहरूलाई उडाएर मलेसिया ल्याएर नराम्रोसँग पछारेको इतिहास छोडेका छैनन् उपन्यासकारले । डम्बर दाइको सहयोग र सल्लाहमा निरोज विश्वस्त छ कष्टपूर्ण जीवन घिसार्न । जेलको नरकीय बसाइमा निरोज स्मृतिको जहाज चढेर पुग्छ जोयासँगको सुमधुर मिलनमा । निरोजको स्मृतिपर्दामा सचित्र उत्रिन्छे जोया । जोयासँगको त्यो प्रेमिल भेटमा पाटक मधहोश हुन्छन् । चक्लेटको चास्नीमा डुब्दै गर्दा जोयासँग निजक हुन्छ निरोज । जोया बडो सशक्त पात्र छे । मुस्लिम समुदायकी जोया बडो निर्बन्ध र स्वतन्त्र छे । निरोजलाई लिभिङ टुगेदरमा आफ्नै घर लिएर जान्छे । जोयाका आमाबाले पनि निरोजलाई हार्दिकताका साथ स्वागत गर्छन् । निरोज विस्मित हुन्छ मालाय समाज देखेर । पाठकहरू त झन् बिलखबन्दनमा पर्छन् उल्टो चलन देखेर ।

लौ ! यतिसम्मको कथा पनि पचाउन सक्छ नेपाली मस्तिष्कले, तर कथा यतिमा मात्र सीमित छैन । आखिर मनै त हो … उप-शीर्षकमा जोया भन्छे – फिरोज तिमी काम नगर, म पाल्छु । जोया निरोजलाई फिरोज भनेर सम्बोधन गर्छे । जब जोयाले निरोजलाई म पाल्छु भन्छे तब निरोजको अस्तित्व चेतना जागृत हुन्छ र पुरुषहृदय छट्पटीमा बोल्न पुग्छ, ‘किन काम नगर्ने ? म काम गर्न भनेर मलेसिया आएको ? … अहिल्यै तिमीले मलाई पाल्ने समय आएको छैन, बरु म पाल्छु तिमीलाई ।‘ अलिकति पुरुषत्वको धाक लगाउँदै कड्किएँ थोरै चर्को स्वरले (पृष्ठ ४७) ।

यो वाक्य पढ्दै गर्दा मेरो आङ जिरिङ्ग गर्यो । सोचेँ, अहो ! यही वाक्य हामी आम नेपाली महिलाहरूले सुन्दै त आएका छौँ । मेरो कानमा सामूहिक आवाजको जुलुस उठ्यो । परम्परादेखि सुन्दै आएको सनातन प्रेमिलको संवाद हो यो नेपालीहरूका लागि, अझ भनौँ महिलाहरूका लागि । बिहे हुनेबित्तिकै आफ्नी श्रीमतीहरूलाई प्रायः नेपाली पुरुषहरू भन्छन्, ‘तिमीले बाहिरको काम (जागीर) गर्नुपर्दैन, मैले कमाएको पैसाले पुग्छ । म तिमीलाई पाल्न सक्छु ! मैले कमाएको पनि त तिम्रै हो नि !’ यसै कुरामा किन आम नेपाली नारीहरू मक्ख पर्छन् ? किन निरोजलाई जस्तो घोच्दैन यस्तो संवादले ? यहाँ त जोयाले निरोजको मन बहलाउन पनि छोडेकी छैन । निरोजलाई ब्रान्डेड लुगा, दैनिक घुमफिर गराउने, मीठो मसिनो खुवाउने र निरोजको मूड फ्रेस पार्ने जिम्मेवारी हाँसीहाँसी जोयाले उठाएकी छ । निरोजलाई बडो स्नेह गर्छे जोया । प्रेमको नाममा घरेलुहिंसा खप्नुपरेको छैन निरोजले । जोयाको समर्पण, प्रेम र सम्बन्धमा निरोज सुरक्षित छ । यतिसम्म निरोजलाई प्रेम गर्छे कि ऊ निमेषभर पनि निरोजलाई आँखाबाट ओझेल हुन दिन्न । आफ्ना सम्पूर्ण गरगहना लिएर नेपाल जान पनि तयार हुन्छे । निरोजको परिवारलाई पनि सहयोग गर्न तत्पर हुन्छे । तर एकनाशको जीवन भोग्दै जाँदा निरोज दिक्किन्छ । अस्तित्व चेतनाले लघार्छ निरोजलाई । स्वर्ण महलमा पनि ऊ आनन्द भेट्न सक्दैन । आरामको जीवनले पनि शरीर थाक्छ । फिष्टा चराको कथाबाट देखाएका छन् उपन्यासकारले जीवन दर्शन र अस्तित्व चेतना ।

जोयाको त्यो किसिमको समर्पण भाव मलाई चाहिँ व्याखातित नै लाग्यो । एउटा अर्थ कोट्याउँदा पुनः अर्को तथ्य खुल्दै जान्छ । तर्कको भुमरी घुमिरहन्छ मस्तिष्कमा ‘जोयाले पुरुषलाई मेसिन बनाउन खोजेकी हो त !’ फेरि लाग्यो, कतै जोयालाई निकै ठूलो विम्बको रूपमा त जन्माएनन् उपन्यासकारले ? मेरो मस्तिष्कले तर्क गर्यो ‘कि परदेश नै सुनको पिँजडा हो । अनि त्यही पिँजडामा बसेर आरामको जीवन बिताउँदै गरेका आम नेपालीलाई व्यङ्ग्य त होइन जोया !’ आखिर जोया रूपी सौन्दर्य, सुख, सुविधामा आम आप्रवासीहरू नेपाल आमालाई भुलेर बसेका छन् नि भन्ने विचार पनि तरङ्गित भयो ।

यस्तो पनि लाग्यो – जोया त्यही समुदायकी शक्तिशाली नारी पात्र हो, जो स्वच्छन्द, स्वतन्त्र र निर्बन्ध छ । त्यहाँ पनि पुरुषले नारीको कोमलता टेकेर नै आफ्नो स्वार्थ पूरा गरेका छन् । जोयाको निर्णय बुलन्दी छ । जोया आफ्नो खुशीमा, आफ्नो जीवन जिउँछे कति निडर भएर भन्ने लागेर बडो आनन्द पनि लाग्यो । घरी जोयासँग रीस पनि उठ्यो, किन त्यो हदसम्मको प्रेम गरेकी होली एउटा अन्जान पुरुषलाई ? भनिन्छ नि ‘बाँदरको हातमा नरिवल’ त्यस्तै लाग्यो निरोजको कठोर निर्णय देखेर ।

अर्को मन भन्छ, के जोया यौनएडिक नै हो त ! निरोज रूपी जीवित खेलौना खोजेकी हो त ? आखिर जोयाले निरोजभन्दा अर्को केटा भेट्दिन थिई होला आफ्नो समुदायमा ? आखिर यो जोयाको प्रेमको सीमा के हो ? के चाहन्छे जोया निरोजसँग ?’

निरोजको सोचाइसँग घरी मेरो सोचाइ पनि मेल खान्छ । निरोज बेलाबेला झसङ्ग झसङ्ग पनि हुन्छ आफ्नो नालायकीपन सम्झिएर । ऊ आफ्नो गाउँघर, आमाबा, श्रीमती र आफूले नदेखेको छोरालाई पनि सम्झिन्छ र सोचाइको उच्च तहमा पुग्छ । अघिल्लो रात उप-शीर्षकमा निरोज यसरी सोचमग्न हुन्छ, ‘कसरी तुलना गरौँ त्यो संसारसँग यो संसारको ? तुलना हुन सक्थ्यो पनि, हुन सक्दैनथ्यो पनि । अहिले यो संसार- संसार थिएन, थियो मात्र मायावी पिँजडा । सुनको पिँजडा तर फलामको ताल्चा ठोकेको । जति हेर्यो, त्यति कुरूप लाग्ने मनका आँखाहरू । पहेँला धातु सबै सुन थिए भन्ने भ्रममा बाँचिरहेको मान्छे म । सामुन्ने ढोकामा लगाएको ताल्चा सुनवा फलाम भनेर चिन्न पनि नसक्ने मान्छे म । त्यसो त सुनकै ताल्चा भए पनि आखिर त्यो पिँजडा नै थियो, मेरो स्वतन्त्रतालाई बन्धक बनाउने (पृष्ठ ७८)।” निरोजको यो गम्भीर वाक्यले मलाई सोच्न बाध्य पार्यो । कस्तो पिँजडाको कुरा गर्दैछन् उपन्यासकार निरोजमार्फत् ? मस्तिष्क घुम्यो ।

अहो ! विदेशमा रमाएर देश बिर्सिएका तमाम पात्रहरूको मनमा आखिर कुनै न कुनै समय त यस्तै विचार उठ्दो हो ! आखिर सुनकै भए पनि पिँजडा त पिँजडै हो । अरूको देशमा बस्दै गर्दा उकुसमुकुस त पक्कै हुँदो हो । उपन्यासले पाठकलाई एउटै विचारमा मात्र सीमित भएर बस्न दिएका छैनन् । अविधा, लक्षणा र व्यञ्जनामा समान रूपले उपन्यासकारको कलम चलेको छ । कलापूर्ण प्रस्तुतिले उपन्यास चिन्तनशील छ । कथा प्रस्तुत गर्ने शैली नै सशक्त देखिन्छ । कथावस्तुभन्दा अझ भित्रभित्र अरू कथा अकथित छन् जस्तो लाग्यो म पाठकलाई ।

पितृसत्ताले जकडेका निरोज हुन् या म पाठक, त्यति सजिलै बुझ्न सक्दैनौँ जोयालाई । आकर्षण र प्रेमभन्दा माथि छ जोयाको प्रेम । निरोजप्रति जोयाले गरेको प्रेम, स्नेह र सेवा अनौठो लाग्छ । जोयाको प्रेमलाई परिभाषामा सीमित गर्न मन पनि लागेन मलाई त । एउटी नारीले कतिसम्म प्रेम गर्न सक्छन् होला भन्ने कुराले मलाई झकझक्याइरह्यो ।

जोयासँग चार वर्ष बसिसकेपछि निरोजलाई आफ्नै जिन्दगी वाक्क लाग्छ, निरर्थक लाग्छ । जोयालाई मात्र निरोजको जवानी चाहिएको जस्तो लाग्छ । मेरो मस्तिष्कमा पुनः अर्को विचार उठ्यो, ‘हो त, विदेशी भूमिमा (जोया) आखिर सबै निरोजहरूले जवानी नै त लुटाएका छन् । दुर्बल, असक्षम, रोगीहरू चाहँदैनन् ती जोया रूपी संसार । अरूको देशबाट किन बोलाउँछन् कामदार र कर्मचारी ? कतै बौद्धिकता लुट्दैछन्, कतै श्रम, बल र साहस । हिजो पनि सिपाही चाहियो जोया रूपी मोहनी देशलाई । गोर्खा भएर डटेर लडे अरूको लागि युद्ध । अरू मुलुकलाई हाम्रो देशबाट किन चाहिन्छ जनशक्ति ? हृदयका आँखा खोलेर हेर्ने हो भने देखिन्छ स्वार्थको झलमल सूर्य ।

अरू मुलुकबाट ऊर्जावान् सक्षम, विर्यवान्, कर्मठ, बलियाबाङ्गा श्रमिक, कामदार त चाहिएको हो मुगलानलाई । आखिर मुगलानको मोहमा घरमा एउटी नारीलाई गर्भवती तुल्याएर आएको निरोजलाई बेलाबेला आफ्नै कर्मले पिरोल्छ । जोयाप्रति उठेका अनेकौँ भावनाहरूले उसलाई दुःख दिन्छ । ऊ सोच्न विवश हुन्छ डम्बर दाइको पटके फोनकल आएपछि, ‘मेरो पासपोर्ट जोयाले राखेकी थिइन्, सँगै बस्न थालेदेखि । मेरो जीवन एक प्रकारको पूर्ण नियन्त्रित र निगरानीमा थियो, उनीसँग रहन थालेदेखि । म मान्छे कम, कसैको व्यक्तिगत प्रोपर्टी अधिक भएँ । एउटा यन्त्रमानव । अरूकै इच्छा शक्तिले रिमोटबाट मात्र चल्न सक्ने । स्व-ऊर्जाहीन मान्छे भनौँ कि अमान्छे । एउटा उपभोग्य वस्तुजस्तो । मन लागुन्जेल चलाउने, खेलाउने, घुमाउने अनि मन भरिएपछि पर कुनामा लगेर थन्क्याउने कवाडी माल ( पृष्ठ ७३) ।‘ निरोजको यो विचारले मलाई हायलकाय पार्यो । विदेशी भूमिमा श्रम बेचिरहेका स्वाभिमानीहरूको कथा र व्यथासँगै नेपाली नारी हृदयको सुनामी आवाज मेरो कानमा अट्टाहास गर्न थाल्यो । यो वाक्य कति गहिरोसँग लेखे स्रष्टाले भनेर केहीबेर उपन्यासको पाना पल्टाउन सकिनँ ।

अहो ! पितृसत्ताको गरुङ्गो भारी बोकेर हिँडेको निरोज पनि विवश छ आफ्नो हुर्काइमा, ऊ जोयालाई बुझ्न सक्दैन जोया निरोजलाई । अरूको अस्तित्व उपेक्षा कति घातक छ भन्ने कुरालाई बारम्बार मेरो मस्तिष्कले निफनिरह्यो । नेपालमा पुरुषले जसरी आफ्नी श्रीमतीलाई घरमा सजाएर राखेका हुन्छन् उसैगरी जोया पनि त निरोजलाई आफ्नो घरमा सजाएर राख्न चाहन्छे । जोया मरेर काम गर्छे । निरोज मात्र आराम गर्छ । जोयालाई शारीरिक रूपमा सन्तुष्ट पार्छ । निरोजलाई कुनै कुराको कमी हुन दिन्न जोया । ऊ घरमा आरामले बसेर टीभी हेर्दा पनि जोया निरोजको सम्पूर्ण काम गर्छे । निरोज धन्न चार वर्ष जोयासँग त्यसरी बस्यो ।

मेरो मस्तिष्कमा निरजोयाले तर्कको पिङ् खेल्न भने छोडेन । जोया आखिर निरोजको शरीरको लागि मरिहत्ते गरेकी हो त ! बच्चालाई जस्तो सेवाशुश्रूषा गर्छे। खाना खुवाउनेदेखि नुहाइदिनेसम्मको काम गर्छे । अझ ताजुब त त्योबेला लाग्छ जब अफिसबाट पनि ऊ दिउँसो आउँछे निरोजलाई खाना खुवाउन । मलेसियाको समाज, संस्कृति, रहनसहनको पाटोलाई पनि उपन्यासकारले कति मीठोसँग समेटेका छन् ।

डम्बर दाइसँगको त्यो छोटो भेट निरोजको लागि दशा भएर आएको छ । जेलको सकसपूर्ण दैनिकी पढ्दा पाठक हृदयमा कम्पन छुट्छ । जीवन बचाउन गर्नु परेको सकसपूर्ण यात्रा पढ्दा आङ सिरिङ्ग हुन्छ । मलाय पुलिसको यातनाले पाठकलाई पनि पीडा दिन्छ । लुकिछिपी काम गर्ने कामदारको नारकीय जीवन देख्दा डाँको छोडेर रुन मन लाग्छ। कामका लागि काम गर्ने ठाउँ छोडी छोडी हिँड्नुपर्ने अवस्था कति निरीह छ। गैरकानूनी रूपमा काम गर्दै आएका कामदारहरूलाई पुलिसले लघारेको शब्द चित्र बडो जीवन्त छ । छापामार शैलीमा जीवन जोगाउन निरोजहरूले गरेको यात्रा । मलेसियामा हाम्रा पूर्खाले गरेको लडाइँ । नेपाली बस्तीको स्थापना । नेपाली भाषा, संस्कृति, खानपानको परिवेशलाई पनि उपन्यासकारले न्याय गरेका छन् ।

हाम्रा पूर्खाले वीरता प्रकट गरेर स्वतन्त्र पारेको भूमिमा आज तिनै नेपालीका सन्तान चोर जसरी, अपराधी जसरी लुकिछिपी भातैका लागि त्यत्रो हन्डर खाँदै, जेलमा कुकुरको जुनी भोग्नु पर्ने अवस्था आखिर किन सिर्जना भयो ? मनमा कारणहरूको माड छड्किरह्यो ।

हिजो हाम्रा पुर्खा मलेसियाको घना जङ्गलमा अन्धाधुन्ध हामफाले । सामान्य कम्पास हेर्नसम्म नजान्ने सिधा नेपालीहरूको सोझोपनमा बाठाहरूले राजनीति गरे । आज पनि समय उही दाइँमा घुमेको छ । सचेत युवाहरू पनि लाचार छन् गैरकानूनी बसाइमा ।

सोझा साझा मलाय लाहुरे कति हराए हराए भनिसाध्य छैन। सामान्य प्रशिक्षण दिएर लडाइँमा पठाए । कठै ! दिशा छुट्याउन नसक्ने लाहुरेहरूलाई कम्पास दिएर पठाइयो त्यो डरलग्दो जङ्गलमा । भुक्तमान पीडा कति खेपे कति।

मलेसियामा बसोबास गर्दै आएका नेपालीहरूको आफ्नो भाषा लोपको अर्को डरलाग्दो अवस्था पनि यहाँ उपन्यासकारले देखाएका छन्। छिमेकीले मलेसिया पुगेर पनि दुःख दिएको प्रसङ्ग पढ्दा मन पोल्छ । मान्छे मात्र मानव भएर आफ्नो हुने रहेछ ।

नारकीय जीवन भोग्दै गर्दा मलाक्का जेलमा आउँछन् देवदूत बनेर इन्डियन मुलुकका मलेसियन पन्जाबी। नयाँ जेलर मनजितसिंह कौर हिन्दुहरूप्रति दया प्रेम राख्छन् । अझ भनौँ मानवताप्रति सचेत छन् कौर। जेलबाट निरोजहरूलाई छुटाउन निकै अहम् भूमिका खेल्छन् । सङ्गीत ईश्वरको आरती हो भन्ने लाग्थ्यो मलाई पनि यहाँ सङ्गीतप्रेमी कौरले साँच्चै असल काम गरेका छन् । निरोजले मलेसियामा गैरकानूनी रूपमा पसेर खाएको हन्डर कति यथार्थ छ । घरको बाटो टालिसकेको निरोजलाई मनजितसिंहको सहयोगले घर जाने बाटो खोलिदिन्छन् । निरोज मनजितसिंहप्रति नतमस्तक हुँदै फेरि हतकडी लगायो शीर्षकमा भकानिन्छ, ‘… शायद यतिबेला कुनै नेपाली भए यस्तो गुन गर्ने थिएन होला किनकि विदेशमा रहेका कतिपय नेपालीको रुखो व्यवहार सम्झिँदा यस्तै लाग्छ । तर एउटा शिखले यति ठूलो गुन लगाए तिरेर पनि कहिले तिरिनसक्ने गरी (पृष्ठ २६९)।‘ अहो ! भोटमा होस् कि मलायामा, आखिर मानवता अझ जीवित नै रहेछ भन्दै मैले मदनको मनलाई हृदयबाट नै स्मरण गरेँ –

‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन

मानिस ठूलो दिलले हुन्छ जात हुँदैन’

पैसा कमाउनु त कता हो कता ज्यान जोगाउन मुस्किल परेको छ युवाहरूलाई । तर घरपरिवार आशाको आकाश ओडेर बसेको छ । मुगलानमा सन्तानहरू कत्रो हन्डर खेप्दैछन् । परदेश गएका सन्तानप्रति  आफन्तहरू अपेक्षाको विशाल आकाश धारण गरेर राख्छन् । अमूल्य जीवन कत्रो सकसले रक्षा गरेर आएको निरोज सम्झन्छ आठ सय रिङ्गेट मा यसरी, ‘घर परिवारलाई के थाहा परदेशमा छोराको अवस्था । बरु बाटो हेरिरहेका होलान् रेमिट्यान्स किन ढिलो भयो भनेर… (पृष्ठ २६८)।‘ यो वाक्यले मलाई नराम्रोसँग चिमोट्यो । निरोजको जीवन संघर्ष पढ्दै गर्दा अत्तालिएको मेरो मन यो संवादले झन् हुरुक्क भयो।

उपन्यासको अत्यले पनि संवेदनशील हृदयलाई हल्लाउँछ । कस्तो दुःखले मुगलान छोडेर आएका निरोजहरू आफ्नै आँगनमा पुगेपछि पुनः मुगलान खोज्न विवश भएको कथाले हृदय विकल बनाउँछ । गाउँ नभेट्दा उत्पन्न हुने पीडाले हुरुक्क पार्छ, ‘कालकोठरीबाट अलिकति सास मात्र लिएर घर फर्किंदा कहाँ थियो र फेरिपलायन हुने मन ? घरगाउँ नै पहिलो रोजाइ थियो, खुशीका शर्तहरूमा तर गाउँ आउँदा गाउँ थिएन गाउँमा । गाउँ आएँ गाउँ नै भेटिन गाउँमा । कति शहर पस्ने क्रममा थिए, द्वन्द्वको मार खप्न नसकेर । कति राजनीतिक परिवर्तनले जन्माएको दिशाहीन परिवेशबाट आजित भएर र अब गाउँ खोज्न शहर पस्नु पर्ने भयो । अन्ततः रोजेँ पलायनको पुरानो बाटो । एकाएक चौडा बन्दै गएको थियो पलायनको बाटो । शून्यतामा विलीन हुँदैथियो मेरो गाउँ …(पृष्ठ २८३)।‘

अन्त्यमा सुस्वादु काव्यिक भाषाको चास्नीमा उपन्यासकारको कलम दौडिएको छ । विम्बको प्रयोग र नवीन शैली लोभलाग्दो छ । कथा पढ्न आरम्भ गरेपछि छोड्नै मन लाग्दैन । मलेसियाको सडकदेखि शहर । शहरदेखि गाउँ । कारखानादेखि कालकोठरी । पुर्खाको इतिहासदेखि वर्तमानमा नेपालीहरूले भोग्नुपरेको डरलाग्दो अवस्था छ । जङ्गलदेखि जेलकै वरपरको भूगोलमा पात्रहरू हिँडेका छन् । जेलबाट कथा पूर्वस्मृतिमा फर्किएको छ । त्यहाँको पुलिस प्रशासनको साङ्गोपाङ्गो विदीर्ण रूप देखाएका छन् उपन्यासकारले । पुलिस चौकी नभएर यातना गृह जस्तो छ । विभिन्न घटना र पात्रहरूमार्फत् निरजोयाको कथानक सशक्त रूपमा अगाडि बढेको छ । शीर्षक नै नौलो लाग्छ । उपन्यासका पात्रहरू निरोज र जोयाको नामलाई सन्धि गरेर निरजोया राखेका छन् उपन्यासकारले । शीर्षक प्रतीकात्मक लाग्छ । मलेसियामा मनग्य धन कमाउँला भन्ने अपेक्षा बोकेर आएको पात्रको जीवन संघर्षलाई जीवन्त रूपमा देखाउन सफल भएका छन् दाजु गुरुङ ।