अनामिका !

शुक्लपक्षको त्रयोदशीको यो रात ढल्न लाग्यो । बिहान जन्मिएको छैन । मेरा आँखाहरू भने एकनास जलिरहेका छन् । यस्तैमा मनभरि सम्झनाका पुराना घाउहरू उम्रिए । आफ्नो अतीत मीठो हुँदै उभियो । हिजोको घडी आज जसरी देखा पर्नसक्छ त्यो उसरी नै उत्रियो । सहायताका लागि अक्षरसँग गुहार मागें । यतिखेर केन्द्रीय-वृत्तका रूपमा तिमी मात्र देखा पर्यौ, अरू धेरै परतिर नै देखिन्थे । मेरो चित्त तिमी तर्फ नै ढल्कियो । भनौं, अहिले मेरा चित्तमा तिम्रो चित्त मात्न बसिरह्यो । स्नेह बडो दारुण छ, ममता बडो प्रचण्ड ।

यहाँ विषय र प्रसङ्गको विराट्ता छैन, थोरै मनुजता छ । सानोतिनो (तर गहिरो) चिनाजानी छ । म एक्लै त्यही स्मृति-चिह्न पच्छ्याएर त्यहाँसम्म पुग्ने जमर्को गर्दछु । म यस्तोमा अनावश्यक प्रपञ्च झिक्दिनँ । शायद, हाम्रा बीच अलिकति स्नेहको दारिद्रय झल्किने सम्भावना होला । जिन्दगी न हो कहिले उदाउने र कहिले अस्ताउने त गर्छ नै । हेर न, मेरो रात अहिले आफ्नो छैन । दिन, गति र मन पनि आफ्ना छैनन् । खालि प्रवृत्तिगत कमजोरीका सामु चारैतिर ठूलो पराजय मात्न उपस्थित छ ।

मेरा जस्तै तिम्रा पनि त अब धेरै नयाँ दिनहरू फाटेर पुराना भए होलान् । सुख-दुःख सम्झिने घाउका खत र डोबहरू बसेका अतीत निकै जम्मा भए हुनन्, धेरै सपनीका खाता बने हुनन् । मन लागेका बेला एकान्तमा उधिनी उधिनी खान हुने परिकार जस्तै मीठा (सम्झना पुरानो भएपछि त्यसै मीठो लागेर आउँछ) ती पल पल अहिले तिमीमाथि एकैचोटि घेर्न आउँदा हुनन् भन्ने मलाई लाग्दछ । म त राम्ररी पट्याएर ‘पुरिया’ (कविराजको औषधी दिने साना साना पोका) पारी त्यो खाना खाने गर्छु । नखान पाएका दिन मन बिसन्चोमा हुन्छ र रात अनिद्रमा डुब्छ । अँध्यारो जस्तो सुन्दर (अरू न देखिने आफू मात्र देख्न सकिने) वेला कहिले पो हुन्छ र ! यता छाम्दा पनि आफू, उता छामे पनि आफू । कस्तो विराट् ‘ग्राफू’ । यही आफूको व्यापकतालाई शायद दार्शनिकहरूले परमात्मा ठाने । यसैगरी दिनदिनै खाएर पनि सकिंदैन कुनै सम्झना, कुनै नराम्रो घाउ । अँध्यारो चपाएर न सकिएजस्तै । अझ हिंडेर सधैं आएका सडकहरू कहिल्यै टुंगिन नपुगे जस्तै । मलाई यस अर्थमा दुःखको भाग नै अलि बढी मनपर्छ । सम्झँदा खूब तन्किन जाने र सम्झिरहन सकेजति पाइरहने । पुछेर अनि टक्टक्याएर कतै न सकिने । हिजो तिमीले खेपेर अनि निचोरेर बिसेक (तत्काल) पारेका तिम्रा घाउ आज ताजा हुँदै उभिन आउँछन् ।

हिजोका विषाद आज (एक एक गरी छुट्याई) लिन सकिने गरी तिमीलाई प्राप्त भएका छन् । यो दुःखको चमत्कार हो । सुखका घडी त बाटोमा पोखिएर गए । ती चिनीका गेडा; जिन्दगीको ठूलो बोरादेखि चुहिएर झरे कति कति । तिनको ख्याल गरेरै कसैलाई साध्य छैन । कोही धेरै चासो लिंदैन पनि तिनको । अस्ति तिमीलाई भेटे पछि मात्र मेरो कलम बिउँझियो । यो बेहोसैमा ओच्छ्यान परेको धेरै दिन भैसक्यो । तिमीलाई यसको सुइँको होओइन भन्ठान्छु । भए त, अरू माथि अपराध गर्दिनौ तिमी ।

हेर न, कलमलाई पनि जादूको छडी चाहिंदो रहेछ । आइसकेको नीबको टुप्पाको मसी अनायासै सुकेर जाँदो रहेछ । मैले त केही लुकाउन नै सकिनँ । यो आँसु सबैसँग छ र तुरुन्त रङ्ग सरेझैं अरूमाथि सर्छ । त्यसैले दुःख लुकाएर राख्नुपर्छ सबै भन्ने गर्छन् । के लुक्छ र दुःख ?

मन सूक्ष्म र विराट् छ; जोसँग पनि रहने । साँच्चै, म त सकेसम्म बिर्सूं भन्छु तर हुँदैन त्यो । सन्दर्भलाई कुनै तरहले चलाउँदैमा त्यो सबै पल्टिएर आइदिन्छ । कस्तो गजब भो ! अँ, मनको बयान गर्नुपर्ने स्थिति अहिले मेरो भएको छ । फलामको मन पार्न नसकेपछि नै यसले आफ्नो चमत्कार र मायावीरूप प्रदर्शन गर्ने रहेछ । कमजोरीको द्विविधा अनिश्चिततामा बढी रमाएको हुन्छ । ‘राम्रो मन’ जसलाई हामी भन्छौं, त्यो उत्ति राम्रो हुँदैन । ‘जस्तै’ मात्र ।

केटाकेटीको चञ्चलता र चिन्ताले मनको फेर छोडेन कहिले । सधैं समयानुकूल चल्ने सक्ने (बनिया बुद्धि) चाहिं कत्ति नभई बिग्रिएँ । यस्तैमा जिन्दगीका सुनौला पल कति बगे नदीका अनियन्त्रित धारा झैं । दुःखैदुःख बर्सिएर म भिजें मिरमिरेको ओससितै । सम्झना होला; दिनदिनै एउटा न एउटा दुःखको खाजा पोको पारिदिन्थे र तिम्रो कमलो छातीभरि पीरको बालुवा दलिदिएर म चाहिं हलुको हुन्थें । जे जति दुःख परे, तिनमा तिम्रो सहभागिता थियो । अब त्यो छाया-छवि पनि बिस्तारै मेरा सामुबाट अपराह्नको ‘सूर्य’ झैं हराउँदै गयो । तर मेरा भने अझै आँखाभरि आँसु बाँकी छ । खोजी खोजी आँसुले तिम्रो पछ्यौरी भिजाउने अब कुरै पनि भएन । त्यो समय र स्थिति नै रहेन । यो समयको खेल मेरा लागि रहरै भो । यस कहरको समेत किन फेरि रहर भो !

सम्प्रेषणको समर-भूमिमा मेरो भाषा हारेर पछि हटिरहेको म बडो होशियारीका साथ अनुभव गरिरहेको छु । यसको निदान पाउने पनि मेरो रहरै भो । फेरि तिम्रो सम्झनाले आएर पुराना घाउमाथि नून लगाएर जान्छ । म त्यो दुःख अहिले सार्न थाल्छु । मेरा तमाम नसाहरूमा रंग सरेझैं विस्तारै सरेपछि म सर्पले टोकेको मान्छे झैं छटपटाउन थाल्छु । विगत र अनागत दुवै मिलेर मेरो वर्तमानलाई भुत्ल्याउन लाग्छन् । म आहतताले भरिपूर्ण बन्छु । सबै घाउहरू र तिनका डोबहरू सुमसुम्याउनु मेरो जीवनको खास काम बन्दै गएको देखिन्छ । भावुकता र दरिद्रताका बीच यति साह्रो मित्रता शायद अन्यत्त्र पाइएला । एक गरीबको यस किसिमको भावना चाहिं यति धनी हुन सक्तछ भन्ने मलाई पहिले विश्वास थिएन । पछि नै यसको बोध भयो । ‘बोधी’ हुनाले पनि म पीडित छु । पीडा रगत भएर चल्छ सधैंभरी । तिमीलाई सम्झदै लेखेका पत्र पनि कम्ती दुखाउँदैनन् । पीडामा खेलेर ती आउँछन् । मलाई त्यसैमा मुछेर जान्छन् ।

‘सम्झना’ राम्रैको हुन्छ मात्र भन्न सकिंदैन । नराम्रोको पनि हुन जान्छ । अनेक घटनालाई स्मृतिको अँगालोमा बाँध्दा नराम्रोको भाग बढी पनि पर्न सक्छ । मान्छेलाई सम्झनाका बाहिरी छाया भन्दा भित्री छाया झन् असमञ्जसमा पार्छन् । यो कथा अहिले हालेर मलाई आफैदेखि रीस र राग दुवै थोक हुन लागेको छ । सम्झना घायल र कायल पार्ने चीज हो भन्ने मेरो विश्वास भएको छ । दुःख वा सुख जे जस्तो मिसावट सम्झनाभित्र भए पनि त्यो ठीक विषादको कारण बन्छ । आफूअघि र पछाडिका सबै दृश्य अँध्यारा हुन्छन् । यस अर्थमा अँध्यारो पीरोलो नै बोकेर आउँछ । (यसमा लिमी सहमत नहुन सक्छ्यौ) ।

मध्य शहरबाट निकै नजीक पर्दथ्यो मेरो पुरानो गाउँ । हाम्रो घरको आँगनीमा पारिजातको बैंस चपाउँदै अथवा उधाउँदै गरेको रूख थियो । राणाशासनको अन्तिमकालतिर त्यस रुखकामुनि बसेर बिहान र साँझ अबेर- सम्म गाउँलेहरू कुराकानी गर्थे । कुनै गहिरो कुरो अलि दबेर पनि गर्थे । वेलावेला खुला उन्मुक्त हाँसो पनि हाँस्थे । म त्यस रहस्यभित्र मजा पाउँथें । अरू चीजमा उति वास्ता रहँदैनथ्यो ।

म सानै छँदा एकजना समान उमेरकी एउटी गोठाला जाने साथी (केटी) को माया लाग्थ्यो । ऊ त्यसै माया गर्थी । म त्यसै माया गर्थें । मलाई त्यही मायाले नै कमलो पार्यो । फरक, मेरो चाहिं उसको कालो आँखामा आँसु भरिएको (त्यो पनि नझरी) चौपट्ट मन पर्ने कुरो थियो । म दुःख दिन्थें क्यार ! अहिले त्यो बिर्सी पनि सकें । ऊ मेरो कालो कपाल खूब मन पराउँथी । उसको अलि खैरो कपाल थियो । मेरो कपाल उसलाई सुहाउँथ्यो । आज भोलि सेतै भएर फुलेका मेरा कपाल ऐनामा हेरेर म पुरानो यस्तो कुरो झट्ट बिर्सिदिन्छु । वर्षाका झमाझम पानी परेका वेला गाई हेर्न खोलाको किनारतिर हुँदा ऊ कालो छाता ओढाएर भन्थी, “तिम्रो कपाल पनि यै छाताको रंग जस्तै कालो छ ।”

अनि ऊ कपाल सुँघ्न खोज्दा मेरो गालामा उसको गाला र ओठ बसेको थाहा नै पाउँदैनथी । म तातोले तर्सिन्थें । उसमा आकर्षण थियो तर आसक्ति थिएन । ममता थियो तर मोह थिएन । त्यो वेला नै अचम्मको थियो । त्यो पनि खोलामा छाल बगेर गएझैं गयो ।

तिमीलाई मैले भन्न भियाएकै छैन । म गरीब निम्न मध्य-वित्त परिवारमा जन्में र हुर्कें । बाबु, बाजेका ममता र स्नेहको दुरुपयोग गरी मैले धेरै दिन बिताएको छु । त्यसको प्रभाव अहिले पनि यदाकदा मेरा जिन्दगीमा पल्याकपुलक देखिने गर्छ र मित्रता गुमाउन पुग्छु । त्यो पनि कहिलेकाहीं त कमजोरी ठानेर तिरस्कृत हुनपर्ने स्थितिमा समेत म पुगेको छु। यस्तै छ मेरो नियति । सानोतिनो कमजोरीको सुइँको तिमीलाई पनि नभएको होइन । मेरो अध्ययनकाल पनि अरूकै सहायतामा बित्यो । विद्यालयदेखि विश्व-विद्यालयसम्म अरूकै पसिनामा ढलीमली गरें। आज त्यसको चर्चा हुँदा अझ गर्नेले उल्लेख गरिदिंदा कृतज्ञताले पूरै भिज्छु । मलाई सघाउनेहरू कहिले खाली भएका चाहिं छैनन् । म उपकृत छु । बरु, मेरै स्वरलिपि अक्षरहरूसम्म आइपुग्दा बिग्रिन्छ । स्वर चिरिन्छ र फाटिदिन्छ । यस्तो कुरो फलाक्दै सडकमा हिंड्नु भएन । ‘गरीबीको कुरो गर्दा हेपिन्छ’ भन्ने मेरा मित्र बडो व्यावहारिक लाग्छन् । लुकाएर सुख लुक्छ, दुःख लुक्दैन । भित्र सुतेको मन घिसारेर बाहिर निर्वाङ्ग बजारमा घुमाउँदा लाज पचाउन सक्नुपर्छ । लाज छोडेर लाज राख्नुपर्छ हामीले । मैले लजाएको यो तिमीलाई ठीक लागेन या लाग्यो, त्यो खुलस्त गर्नु अझै बाँकी छ । अपहेलित हुन खोज्नुपर्छ (तिमीबाट सम्भव भएन) तब त्यो जानिन्छ । ‘घाउ’ हुनुपर्छ अनि दुःख थाहा लाग्छ ।

हामी जुन क्षेत्र र संसारबाट आएका छौं । त्यहाँ जे जस्ता संस्कार, अनुशासन र मर्यादा छन्; – तिनको छाप समान रूपमा हामीले स्वीकारेका छौं । यस उसले नै तिम्रो अधिक मलाई माया लाग्छ । गएकालाई सम्झेर त मेरा परेली भिजिरहेका छन् । तिमी त झल्याकझुलुक भेटिन्छ्यौ । नभेटिए, देखिन्छ्यौ । नदेखिएमा पनि तिम्रो अस्तित्व त म थाहा पाइरहेको छु । कडा प्रतिवाद र अस्वीकृति जनाउन समेत तिमीलाई आउँदैन । ओठ लट्ठिन्छन्, आँखाभरिको माया उम्लेर आउँछ । तिमीलाई थाहै छ, पुतली र पुतलीफूल दुवै मलाई असाध्य मन पर्छन् । त्यस्तै तिमीलाई पुतली जस्ता नानीहरू । यो सपना हो, एकपटक क्षितिजपारिको त्यस मीठो सपनीसँग खेलौं । आखिर माया न हो ! सम्झें, यसै अनौठो मायामा विचित्र चारुता छ ।

अक्षर अक्षरमा उठेर एउटा पूरा मन पोखिएको यो निर्मल तर शान्त ‘उपहार’ तिमीलाई दिएको छु । जतिदिन तिम्रा आयुमा थपिंदै जालान् उति यो उपहार प्यारो र आफ्नो चीज हुँदै जानेछ । एक प्रकारले तिमीलाई दिएको यो ‘सुनको-ऐना’ घरीघरी आफ्नो अनुहार; त्यो पनि अन्तरात्मासम्म पुगी हेर्न काम लाग्नेछ । नारीको कमजोरी भित्र पर्नेछ यो ‘स्वर्ण-दर्पण’ । विना दर्पण नारी बस्ने कुरो मेरो मानसिकता स्वीकार गर्न सक्तैन । तमाम सुख सुविधाका निम्ति नारीको धैर्य रहन्छ । तर दर्पणका लागि पलपल कठोर मानसिक यन्त्रणा हुन थाल्छ । त्यसवेला तिमीलाई मेरो यो ‘सौगात’ लाखौं सम्पत्ति र शक्ति भन्दा पनि मुल्यवान् बन्नेछ । ढल्दै गएका बैंस, सामर्थ्य र सौन्दर्यको अतृप्ति एकान्तवासतिर धकेल्न लाग्दछ । पीडा बारम्बार लगार्न थाल्छ । शब्द-शब्द, चित्र-चित्र अपूर्व ऊर्जाका स्रोत बनेर उभिन्छन् । बाँकी रहने कुरो शब्द नै हुन्छ । शब्दसितै शब्दकारको मूर्ति खडा हुन्छ । सजीव र प्रिय बनेर त्यो बिस्तारै नजिक हुँदै आउन थाल्छ । खालि त्यसैसँग कुराकानी गर्ने बूढो मन तरुनो भएझैं मीठो र रोमाञ्चकारी बन्न लाग्छ । दुःख त खालि व्यक्ति-विशेषको पार्थिव अनुपस्थितिमा मात्र रहन लाग्दछ । तिमीलाई यो आँसुको सानो ‘डिब्बा’ नासोको रूपमा दिएको छु । छलछलाएर मेरा आँखा भिजिदिंदा यो जन्मेको हो । यस्ता जन्मोत्सव तिम्रा पनि आाउन सक्लान् । त्यतिखेर यस डिब्बालाई खोलेर हेर, आँखा अल्झिनेछ । आँखा उठाएर अरू तर्फ लैजान मुस्किल हुनेछ । कडा ओठ, चाउरी परेका गाला र दाँतले धर्म छोडेको आफ्नो अनुहार यस दर्पणमा हेर्न थाल्दा एकैछिन तिमीलाई बितेका दिन सम्झनामा चढ्लान् । त्यो मीठो ‘मधुमय’ बन्ला नै ।

आजको मेरो रात कत्ति गरे पनि ढल्दै ढलेन । निद्रा परेलीको किनार किनार तर्किंदै परपर भयो । म आँखामा रात नपाईरहें । त्यसमा पुराना चित्रहरू यदाकदा देखिंदै हराउँदै गर्न थाले । एउटा तस्वीर चाहिं लटाइमा धागो बेरिएझैं फुक्न र बेरिन थाल्यो, त्यो तिम्रो नयाँ बनेको तस्वीर थियो । हरियो मायाको रंगले पोतिएको त्यो तस्वीर कुनै ‘मापाकी’ आइमाईको हो भन्ने मलाई कतै लागेन । मीठो माया त्यसैमा उम्रिरह्यो । आँखाभरि तरलता आफैं उम्रेर आयो, भिजे मेरा दुवै कचौरी । यथार्थमा म नारी-सौन्दर्यलाई संसारको सबैभन्दा अधिक प्रभावोत्पादक शक्ति ठान्छु । लाग्छ, नारीको सफलता पुरुषलाई बाँधेर राख्नुमा र सार्थकता मुक्ति दिनमा छ ।

‘अनुराग’ भन्नु एक अतृप्त उपद्रव । मान्छे (संवेदनशील) लाई यसले विशेष वाचाल बनाउँछ । बुद्धिमान्‌को नीति मौन हुन्छ । म यस्तो अनुभव गर्दछु । यसवेला ‘पूर्वस्मृति’ का साना रेखाहरू अक्षरका कमला छातीमाथि कोरेर मैले ठीक गरें कि गरिनँ, त्यो म जान्दिनँ । साँचो कुरो, अक्षरहरू मर्न चाहिं जन्मिदैनन् । तिनलाई स्नेहले उठाऊ या नउठाऊ त्यो तिम्रो खुशी !

(राममणि रिसालको निबन्धसंग्रह ‘भिजेका पलपल’बाट)