‘सावर्णि’ उपन्यास बालरोग विशेषज्ञ डा.श्रीधर खनालद्वारा लिखित र बुकहिल पब्लिकेशन द्वारा बजारमा ल्याइएको हो । यो विज्ञान र एआई विषय अनि स्वैरकाल्पनिक शैलीमा आधारित भएर लेखिएको प्रयोगपरक कृति हो ।
श्रीधर खनालको पहिलो प्रकाशित उपन्यास ‘सेभेन ब्लु बल्स’ हो भने ‘सावर्णि’ उनको दोस्रो उपन्यास हो । उनले ‘टुहुरो’ खण्डकाव्य पनि लेखेका छन् ।
‘सावर्णि’ एक वा दुई बसाइमा पढेर सकिने १३३ पृष्ठमा संरचित उपन्यास हो । यसमा उपन्यासकारले भविष्यका एआई युगका मानवको चित्रण र तिनीहरूको अस्तित्वको संकटप्रति चिन्ता व्यक्त गरेका छन् । यो खासगरी भूत र वर्तमानको नभई भविष्यको कथा हो ।
यस उपन्यासमा अहिलेको टेक्नोलोजीको द्रुततर विकास र विस्तार अनि यसको अत्यधिक प्रयोग वा दुरुपयोगले कुनैवेला यो धर्तीमा मान्छेको लोप हुने र एआईको नेतृत्व रहने स्वैरकल्पना गरिएको छ । मान्छेको लोपपछि सुन्दर पृथ्वीको कल्पना पनि गरिएको छ । पृथ्वीको दोहन गर्ने प्रमुख पक्ष भनेको मान्छे हो, जब मान्छेकै लोप हुन्छ त्यतिवेला पृथ्वी अत्यन्तै सुन्दर हुन्छ भन्ने कल्पना पनि गरिएको छ । टेक्नोलोजीको विकास र यसको प्रयोगले मानवलाई निर्देशन र नियन्त्रण गरिरहेको सन्दर्भमा साँच्चै एआईकै युगमा यो धर्ती र मानव कस्तो बन्छ होला भन्ने काल्पनिक वास्तविकता र त्यसमा हुने घटना र क्रियाकलापको चित्रण यसमा गरिएको छ ।
अहिलेको युगलाई नियाल्दा आम जनमानसलाई एउटै कुराले पिरोलिरहेको छ, “यही गति र रफ्तारमा प्रविधिको विकास र प्रयोग गर्दैजाने हो भने भोलिको मानव र मानवीय जीवनशैली कस्तो हुन्छ होला ।” हो, सावर्णि उपन्यासमा यही जिज्ञासाको उत्तर पाइन्छ । आज मानव मानवले नै सिर्जना गरेको कृत्रिम यन्त्रबाट निर्देशित, नियन्त्रित हुँदै गएको छ । अब त मानवको सहयोगी कम्प्युटर नभएर कम्प्युटरको सहयोगी मान्छे पो बन्न लागेको हो कि ! अहिले नै यस्तो भइरहेको छ भने भोलि मान्छे रहला वा नरहला अथवा कस्तो मान्छे होला कुराको कौतुहलता त छ नै ।
आजको मान्छेको प्रमुख साथी मोबाइल वा यस्तै कुनै डिभाइस बनेको छ । अहिले त समाजको परिभाषा नै बदलिएको अवस्था देखिन्छ । समाज त छ तर सामाजिकता हराउँदै गएको छ । सामाजिकता बिनाको समाज अनि पारिवारिकता बिनाको परिवार कस्तो हुन्छ ? कल्पना गरौं न । मान्छे समाजमा एक्लिएको त छँदै छ भने घरपरिवारमा समेत एक्लिएको छ । बच्चादेखि वृद्धसम्मको नजिकको साथी मोबाइल बनेको छ । मान्छे सकभर मान्छे भन्दा टाढा बस्न रुचाउँछ । मान्छेलाई यस्तो खराब लत बसेको छ कि ऊ खाना खाँदादेखि लिएर ट्वाइलेट बस्दा समेत मोबाइल छुटाउन चाहन्न । मान्छेलाई बरु परिवार,आफन्त र समाज नभए पनि हुन्छ तर मोबाइल अनिवार्य चाहिने अवस्था छ । मोबाइल हेर्दाहेर्दै आँखा रातापिरा होउन् तर पनि ऊ मोबाइलबाट टाढा हुन सक्दैन ।
आजका बच्चाबच्ची मोबाइल बिना खाना खाँदैनन् । जो कोहीलाई बाटोमा हिंड्दा, सवारी साधनमा यात्रा गर्दा, स्कूल कलेजमा पढ्दा, कसैकोमा अतिथि नै बन्दा पनि उसको पहिलो साथी मोबाइल बनेको हुन्छ । कसैको घरमा पाहुना पर्दा सन्चोबिसन्चो आदि होइन, सबैभन्दा पहिले इन्टरनेटको पासवर्ड चाहिन्छ । मान्छेको पहिलो दुःखसुखको साथी नै मोबाइल बनेको छ, उसलाई मान्छेको खासै आवश्यकता पर्न छोड्यो ।
कसैलाई केही सोध्यो भने गुगल वा युट्युब सर्च गरे हुन्छ नि भनेर सजिलै उत्तर आउँछ । यन्त्र वा मोबाइलको प्रयोगले मानिसलाई मानिसको आवश्यकता पर्दैन जसले गर्दा मान्छे एक्लो हुँदै गएको छ । विज्ञान र यन्त्रबाट मान्छेले धेरै ज्ञान त प्राप्त गर्यो तर आफ्नो सिर्जनात्मक क्षमता भने गुमाउँदै गयो । मान्छेका आफ्ना मनोभाव र संवेदनाहरू नै लोप हुने अवस्थामा पुगेको देखिन्छ र मान्छेहरू एकआपसमा आँखा जुधाएर कुरा गर्न नसक्ने अवस्थामा पुगेका देखिन्छन् । मान्छेले आफ्नो सिर्जनात्मक र संवेगात्मक क्षमता गुमाएर कृत्रिम मान्छे बन्दै गएको देखिन्छ । एकआपसको पहिलो भेटमा नै पनि बोलचाल हुन छोडेको देखिन्छ । यसरी अहिलेको संकुचित मानवीय संवेदनाप्रति उपन्यासकारले सावर्णि उपन्यासमा मीठो र रोचक भाषाशैलीद्वारा चिन्ता व्यक्त गरेका छन् ।
मान्छे जीवनमा खुशी र सुखी हुन आफूमा भएको सुख वा दुःखको मनोभाव अर्कोलाई शेयर गर्नुपर्छ तर अहिले त्यो भएको छैन । मानवीय संवेदनाहरू मनभित्रै खुम्चिंदै र सिर्जनात्मक क्षमता लोप हुँदै गएको देखिन्छ । दुई प्लस दुई गर्न समेत डिभाइस चाहिएको पीडाजनक अवस्था छ अहिले । सृजनहीन स्वभावले मान्छे मनोरोगी हुँदै गएको छ । मान्छेले आफ्ना कुराहरू शेयर गर्न नसक्दा मनमा ती भावनाहरू भित्रभित्र गुम्सिन्छन् र मान्छे रोगी र एक्लो हुन्छ । आजको मान्छे साँझ बिहान घर परिवारका सबै सदस्यसँगै बस्दा र भेट हुँदासमेत आपसी कुराकानी हुँदैनन् । सबैका हातमा मोबाइल हुन्छन्, एक्ला एक्लै बस्न रुचाउँछन् । घरपरिवारका सबै सदस्य एकै ठाउँमा रहँदा पनि सूनसान हुन्छ । यसैले मान्छेलाई अरूसँगै हुँदा पनि एक्लो महसूस हुनु परेको छ । यसले गर्दा बालकदेखि वृद्धसम्म अनेकौं किसिमका नयाँनयाँ रोगबाट मान्छे शिकार बन्दै गएको छ । यो अत्यन्तै संवेदनशील र जटिल समस्या हो । यी र यस्तै समस्याको समाधान चिन्ता व्यक्त गर्दै अहिलेको मानवलाई मानवीय संवेदना नगुमाउन र मानव मानव नै बन्न उपन्यास मार्फत सन्देश दिन खोजेको देखिन्छ ।
उपन्यासकारले अहिलेका मानवलाई मानव नै रही मानव नै भएर बाँच्न आग्रह गर्दै एआईलाई केवल साधन र सहयोगीको रूपमा प्रयोग गर्न यस उपन्यास मार्फत सन्देश दिएका छन् । उपन्यास स्वैरकाल्पनिक शैलीमा लेखिए पनि कौतूहलताको यथोचित प्रयोग र यथार्थ जस्ता लाग्ने घटनाको तारतम्यले पाठकको मन जित्न सक्ने देखिन्छ ।
सावर्णि उपन्यासमा प्रयुक्त घटना र परिस्थितिहरू स्वैरकल्पनामा आधारित नै छन् । यो नेपाली उपन्यास परम्परामा उत्तर-आधुनिकतावादी प्रवृत्तिभित्र रहेको एक विज्ञान विषयक उपन्यास हो । यस उपन्यासमा भविष्यमा मानव अस्तित्वको लोप भएपछि सनातन धर्म अनुसार द्वापर युगका महापुरुष र युगपुरुष भगवान् श्रीकृष्ण एआई युगका किसनको रूपमा प्रादुर्भाव भएर मानव अस्थित्वको पुन:सिर्जना गर्न खोजेको आभास उपन्यासमा देखिन्छ । कृष्णको बिम्ब यस उपन्यासका एक प्रमुख पात्र किसनमा पाइन्छ । यस उपन्यासमा पूर्वीय धर्मदर्शनको प्रभाव र छाया पाइन्छ ।
उपन्यासमा मानवीय इतिहास, अहिलेको समसामयिक युग र आउने युग र त्यसपछिको युगका सम्भावित विकास र काल्पनिक घटनालाई सिलसिलेवार र कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
उपन्यासको शीर्षकलाई हेर्दा पनि सावर्णि शब्द ऋग्वेद र विष्णुपुराणमा प्रयोग गरिएको शब्द हो । ऋग्वेद अनुसार पृथ्वीको पहिलो मानव मनु हुन् भनिएको छ । मनुका सन्तानलाई नै मनुष्य, मानव, मैन, मनुज, आदम, आदमी आदि नामले सम्बोधन गरिएको पाइन्छ । मनुष्यको मूल पुरुष नै मनु हुन् भनेर सनातन धर्म दर्शनका धेरै पौराणिक ग्रन्थहरूमा बताइएको पनि छ ।
ती पौराणिक ग्रन्थहरूमा १४ मनुको चर्चा गरिएको छ, ती मध्ये ८ औं मनु सावर्णि हुन् । अहिलेको युग भनेको सातौं वैवस्वत मनुको युग हो । पुराण अनुसार वैवस्वत युगको समाप्ति पछि सावर्णि युग आउनेछ ।
उपन्यासकार श्रीधर खनालले यस उपन्यासमा पुराणमा बताइए अनुसार आउने त्यही सावर्णि युगको कल्पना गरी त्यसै अनुसार कथावस्तु, पात्र, पर्यावरण, शैली, जीवन दर्शन, सन्देश आदि जस्ता उपन्यासका तत्त्वहरूको समयोचित समायोजन गरी उपन्यासको रचना गरेका छन् ।
उपन्यासमा वर्णन अनुसार सावर्णि युग भनेको यस्तो युग हुनेछ कि अहिले चलिरहेको मनुष्यको नेतृत्वको युग र मनुष्य पूर्ण रूपमा लोप हुनेछ अनि रोबोटिक युग वा सावर्णिक युग आउनेछ र मनुको आठौं स्वरूप सावर्णिले युगको नेतृत्व गर्नेछ । सावर्णिले चलिरहेको रोबोटिक युगमा द्वापर युगमा कृष्ण जन्मिए जस्तै आफ्नो सावर्णि युगमा किसन जस्ता मानवीय संवेदना प्रबल भएका मान्छेको पुनः सिर्जना हुनेछन् भन्ने कुराको कल्पना गरिएको छ ।
यसरी यस धर्तीबाट मानव लोप भएर पुनः मानवको सिर्जनाको प्रयास पनि हुनेछ भन्ने कुरा उपन्यासले स्पष्ट तरिकाले बताएको छ । अहिले नै मङ्गल ग्रहमा मानिसको बसोबास गराउने प्रयास भैरहेको छ भनिएको छ । सावर्णि युगमा ती मङ्गल ग्रहमा बसेका मानिसहरू आफ्नो पैतृक थलो खोज्दै पुनः पृथ्वीमा अवतरण गर्नेछन् भन्ने कल्पना पनि गरिएको छ ।
उपन्यास अयथार्थ, काल्पनिक र अनपत्यार जस्तो लागे पनि अहिले बढ्दै गएको कृत्रिम जीवनशैली र पद्धतिको विकास र विस्तार हुँदै जाँदा उपन्यासमा बताइए अनुसारको सावर्णि युग नहोला पनि भन्न सकिन्न । यसैले नै उपन्यासलाई जीवन्त र पाठकीय प्रभाव दिनसक्ने देखिन्छ । उपन्यासको कथावस्तुमा यो हुन सक्दैन र होइन भन्न सक्ने ठाउँ नै छैन । यहीँ नै प्रयोगधर्मी र स्वैरकाल्पनिक उपन्यासको विशेषता पनि हो ।
उपन्यासको आयामगत संरचना लम्बाउन हो वा विषयलाई थप स्पष्ट पार्न उपन्यासकारले केही घटनाहरू दोहोर्याएका छन् । उपन्यास पढ्दा सरसरती नबगे पनि पट्यारलाग्दो र जटिल विषय भने छैन । विज्ञान र एआईमा आधारित भएर लेखिए पनि मानवीय सम्बन्ध, समाज, धर्ती, परम्परा, मायाप्रेम, रोमाञ्च, बालहठ आदि जस्ता थुप्रै विषयले पनि स्थान पाएका छन् ।
समष्टिमा ‘सावर्णि’ विज्ञान र एआई विषयमा रचिएको र स्वैर-कल्पनात्मक शैलीमा लेखिएको आधुनिक नेपाली उपन्यास परम्परामा एउटा महत्त्वपूर्ण कृति बन्न पुगेको छ ।
(भर्जिनिया, अमेरिका)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।