कवि-लेखकहरू भविष्य द्रष्टा पनि हुन् । ‘जहाँ न पहुँचे रवि वहाँ पहुँचे कव’। कविको कल्पनाशीलता सूर्यको प्रकाशको गतिभन्दा पनि ज्यादा हुन्छ ।
कवि लेखक समाजका ऐना हुन् । तिनका अनुहार अर्थात् तिनका सिर्जनामा हेरे देखिनेछ – समाज र व्यक्तिको अनुहार । साहित्य स्वैरकल्पना पनि हो तर स्वैरकल्पना मात्र होइन । समाजको क्रियाको प्रतिक्रियाको धरातल चैं हो साहित्य अर्थात् त्यही वास्तविक धरातलको त्यान्द्रोमा झुन्डिएर स्वैरकल्पनाको उडानमा घुम्ने घुमाउने र रमाउने हुन् साहित्यकार र लेखकहरू । कुनै शून्यमा उभिएर कसले के नै पो कल्पना गर्न सक्ला ? कुनै वस्तुमा उभिएर चाल मार्दै गरेको भविष्य द्रष्टा हो कवि-लेखक । यो सन्दर्भ कसैमा मेल खाएमा मम: भन्नुहोला र मेल नखाएमा माफ गर्नुहोला ।
भनिन्छ, प्रकृतिमा हुने चाल (हलचल-परिवर्तन) को बारेमा मानिस बाहेकका जीवजन्तुले अग्रिम जानकारी पाउँछन् र प्रतिक्रिया जनाउँछन् । त्यसपछि जीवजन्तुको चालको बारेमा मानिसले पनि चाल पाउँछन् । यी एक अर्काका लागि सहयोगी व्यवहार भए । समाजका चाल कसैले चाल पाउँछ भने त्यो लेखक-कविले नै हो । कवि-लेखकका रूपमा समाजको ‘चाल मार्ने’ अर्थात् यायावर हुन् – विश्वराज अधिकारी । उनै अधिकारीले आफ्नो यायावर जीवनका अनुभूतिहरूको कोसेली स्वरूप ‘उतरआधुनिक त्रासदी’ बोकेर आएका छन् पाठक सामु ।
करीब ३ दशक पहिले लघुकथासंग्रह सूर्य (विसं.२०५४) प्रकाशित गरेर नेपाली साहित्यमा कृतिगत उपस्थित जनाएका अधिकारीका हालसम्म ३१ वटा कृति प्रकाशित छन् । लघुकथा, कथा, गीत, नियात्रा जस्ता साहित्यिक कृति बाहेक थप केही साहित्य इतर तथा जीवनी र अनुवाद आदि छन् । उनका केही कृति अंग्रेजी र नेपालको जनकपुर क्षेत्र आसपास वा विशेषतः सर्लाही र रौतहटमा बोलिने बज्जिका भाषामा पनि प्रकाशित छन् । बज्जिका भाषा मैथिली भाषाको उपभाषा वा हिन्दी मिश्रित भारतको बिहार राज्यका तिरहुत र दरभंगा आसपासमा बोलिने भाषा हो ।
आधिकारीले साहित्यिक कृतिका अतिरिक्त तीन दशक पहिले नै त्रिभुवन विश्व विद्यालय एवं कलेज (नेपाल) का लागि व्यापार, व्यवस्थापन र बजार व्यवस्थापन विषयमा करीब एक दर्जन पाठ्यपुस्तक लेखन एवं प्रकाशित गरेका छन् । अधिकारी हाल अमेरिकाको ओक्लहोमा सिटी कम्युनिटी कलेजमा व्यापार, व्यवस्थापन र बजार व्यवस्थापन विषयमा प्राध्यापनमा संलग्न छन् ।
उतर-आधुनिकता, यस सम्बन्धमा शास्त्रीय सिद्धान्तका पोथाहरूमा यसको व्याख्या वा बहस जटिल र सजिलै नटुङ्गिने विषय हो । तर लेखक अधिकारी कृत यो ‘उतरआधुनिक त्रासदी’ प्रबन्धसंग्रह कृतिका सम्बन्धमा चर्चा गर्ने हो भने यो सरल शिक्षण सामाग्री वा पाठकहरूका लागि स्व-सिकाइ हुनसक्ने प्रबन्ध हो ।
यो कृति आख्यानवादी वा मनोरञ्जनका लागि लेखिएको अन्य साहित्यिक कृतिका तुलनामा फरक छ । प्रभाव तथा परिणामका दृष्टिकोणबाट विशेष पनि छ । यसको सामाजिक मूल्यले महत्वपूर्ण भूमिका खेल्न सक्छ । कृतिको चर्चा गरेर वा त्यसका विषय र महत्वका बारेमा यो सानो आलेखमा सकिन्न तसर्थ शुरूमै यसको निष्कर्ष दिनु पाठकका लागि न्याय हुने यो पङ्क्तिकारको ठहर छ । यी पङ्क्ति पछि पढे पनि हुन्छ र कृति नै पढी सकेपछि यी पङ्क्ति नपढे पनि हुन्छ तसर्थ यो कृति नै खोजेर पढ्न यो पङ्क्तिकार सिफारिश गर्दछ । यस आलेखमा यस भन्दापछि कृति पढ्न चाहनुहुने पाठकहरूका लागि कुनै नौलो कुरा लेखिने छैन ।
कृतिका पाठकहरूले यो कृति आफूले पढिसकेपछि आफ्नो अनुकूलका स्थानीय स्कूल, कलेजहरूमा विद्यार्थीहरूले पढ्न सक्नेगरी वा सार्वजनिक पुस्तकालय आदिमा दिनु हुन पनि यो पङ्क्तिकार सिफारिश गर्दछ । किताबको विवरण यस प्रकार छ-
कृतिको नाम – उतरआधुनिक त्रासदी
लेखक – विश्वराज अधिकारी
प्रकाशक- समकालीन साहित्य, बेलायत
विधा -प्रबन्ध
वितरक – बिएन पुस्तक प्रा.ली.,अद्वैत मार्ग, काठमाडौं
सम्पर्क – ०१–५३३३८७४, ९८५११४१४७५
लेखकको सम्पर्क – br2063_adhikari@yahoo.com र akoutilya@gmail.com
‘विखण्डित परिवार’ – यस कृतिको पहिलो प्रबन्ध हो । ‘हामी अहिले उत्तरआधुनिक युगमा बाँचिरहेका छौं । उत्तरआधुनिक युगलाई आर्टिफिशियल इन्टेलिजेन्स युग पनि भन्न सकिन्छ ।’ वास्तविक वा प्राकृतिक जीवनमा ‘आर्टिफिशियल फ्लेवर’को प्रभाव र परिणाम के होला ? यसैको सहायक उत्पादन हो – ‘सङ्कटमा विवाह व्यवस्था’ । प्रबन्धको दोस्रो शीर्षक हो यो यद्यपि पहिलो शीर्षकका सहायक उत्पादन हुन् यी – सातौं नम्बरको ‘सद्भावको सङ्कट’, १० नम्बरमा रहेको ‘अति व्यक्तिवाद सोच’, १४ औं नम्बरमा रहेको ‘सम्बन्धमा सङ्कट’, १९ औं नम्बरको ‘सामाजिक सद्भावमा खलबल’, २६ औं नम्बरको ‘खोसिएको बालापन’ र अन्तिम अर्थात् ३१ औं नम्बरको ‘ चरम उपभोक्तावाद’ । यसरी यो कृतिमा उतरआधुनिक समाजमा उतर-आधुनिकताको प्रभावका सम्बन्धमा विभिन्न ३१ वटा प्रबन्धहरू समेटिएको छ । सरदर ५ पेजका यी सबै प्रबन्ध एक बसाइमा पढ्न पनि सकिन्छ तर एकै बसाइमा नपढेर अनुकूलता हेरेर अलग-अलग समयमा एउटा-एउटा गरेर पढे पनि तिनले दिने सन्देश वा प्रभाव भने खण्डित हुँदैन ।
यो पङ्क्तिकारको अनुभव छ, आजभोलि सूचना प्रविधिको प्रभावले मानिसलाई एकदमै दिग्भ्रमित गरिरहेको छ । त्यस्ता धेरै विषयहरू मध्ये हुन्, मानिसका व्यक्तिगत जीवन र स्वास्थ्यसँग सम्बन्धित समस्याहरू । उदाहरणका लागि लिन सकिन्छ- गुगल र विकिपिडिया आदि । यी सूचनाका प्रारम्भिक माध्यम त हुन् तर न त ती आधिकारिक हुन् न त पूर्ण नै ! यसमा आगोमा घिउ थपिरहेछन् – ‘सोसल मिडिया प्लेट फर्म’हरू अर्थात् सामाजिक सञ्जालका अनेक माध्यमहरू ।
‘मलाई असाध्य रोग लागेको थियो, त्यसको यस भू-मण्डलमा आजसम्म कुनै विधि-प्रविधि वा विज्ञानले पनि समाधान गर्न सकेको थिएन वा छैन तर … । तर मैले नै यसो गरें वा मलाई कसैले यस्तो-उस्तो विधि गरिदिएर मलाई त्यो असाध्य रोगबाट मुक्ति मिल्यो । कृपया यसलाई सबैको हितका लागि लाइक, शेयर, कमेन्ट र सँगै रहेको घण्टीलाई थिचेर हामीलाई माया गरिदिनुहोस् । ’ यस्ता भ्रमहरूको बाढी सामान्य चेतनाका लागि थेग्न नसक्ने हुन्छन् ।
सामाजिक सञ्जालका कतिपय उपभोक्ता आज यस्तै अन्योलमा छन् र आफ्नो स्व-निर्णय क्षमता गुमाएर पानी पनि कति खाने, कसरी खाने, उठेर खाने कि बसेर खाने, बिहान खाने कि बेलुका खाने, खानाअघि खाने कि खानापछि खाने जस्ता प्रयोगमा अभ्यास गरिरहेका छन् । मानौं ती कुनै चटके-मदारीले नचाउँदै गरेका बाँदर हुन् ! सम्झना हुन्छ, अर्को एउटा कथा – गधालाई डोर्याएर गाउँको बाटो हिंडिरहेका बाबु-छोराको अवस्था । यस्ता विषय र उदाहरण अनेक छन् । सामाजिक सञ्जालको जालोमा अहिले भइरहेकै यही छ ।
यस संग्रहको तेस्रो प्रबन्धमा यस्तै प्रभावहरूको विषयमा चर्चा गरिएको छ- ‘जानकारीको बाढी’ । जानकारीको बाढीका थप सहायक उत्पादनहरू हुन्- १६ औं नम्बरको ‘भ्रमको भुमरी’, २७ औं नम्बरको ‘इन्टरनेटको चुनौती’ र २९ औं नम्बरको ‘ह्याकरहरूको जगजगी’ । लेखकको अध्ययन र अनुभवले यस्तो भन्छ – सामाजिक सञ्जालमा प्रेषित हुने अहितकारी सूचना, जानकारी, खबर, मनोरञ्जनका सामाग्रीहरू हाम्रो हितमा छैनन् भनी सोच्न पनि हामीसँग समय छैन, चासो पनि छैन । अर्कोतिर हामी सामाजिक सञ्जालको अत्यधिक उपयोग गर्छौं । एक अनुसन्धानका अनुसार अहिले संसारभरि नै (जहाँ इन्टरनेट सेवा उपलब्ध छ) प्रत्येक व्यक्तिले दिनको करीब ३ घण्टा सामाजिक सञ्जालमा प्रयोग गरेको देखिएको छ । व्यक्तिहरूमा सामाजिक सञ्जालमा समय बिताउने, अनावश्यक किसिमले कुराकानी गर्ने, अहितकर सामाग्रीहरू हेर्ने, सुन्ने, पढ्ने लत बसेको छ । सामान्य व्यक्तिहरूमा यस किसिमको लत लगाएर अनेक संस्थाहरूले राम्रो आम्दानी हात पारिरहेका छन् । – ‘जानकारीको बाढी’, पेज- २७ ।
हुन पनि हो, सामाजिक सञ्जालका आम प्रयोगकर्ताहरूको औसत समय दैनिक ३ घण्टा हो । तर आम उपभोक्ताको आधाले ५० प्रतिशत वा त्योभन्दा बढ्ता यसको प्रयोग गर्ने अनुमान सजिलै गर्न सकिन्छ । उदाहरण अरूको नै मात्र किन ? यो पङ्क्तिकारले मुश्किलले ६ घण्टा सुतेको होला र ८ घण्टा काम गर्छ । तर हरेक हप्ता स्मार्ट फोनको ‘नोटिफिकेशन’ आउँछ- ‘यो हप्ताको स्क्रिन टाइम दैनिक ६ घण्टा !’
यसरी त कसरी हुन्छ ६-६ घण्टा फोनमा झुन्डिएर भनेर फोन एकातिर फालेर टिभी हेर्न वा कम्प्युटर चलाउन शुरू गर्यो, त्यो पनि उही स्क्रिन टाइम नै हो, यद्यपि फोनमा भन्दा थोरै ‘कन्टेन कन्ट्रोल’ त हुनसक्छ । फोनमा भन्दा तुलनात्मक रूपमा टिभी वा कम्प्युटर सामूहिक वा पारिवारिक नोटिसमा पर्ने साधन हुन् । तिनमा छनौट गरिने विषय र प्रभाव व्यक्तिगत रुचिका मात्र वा अहितकर नहुन वा व्यक्तिमा भ्रम सिर्जना नगर्ने हुनसक्छन् । लाग्छ, ‘स्क्रिन टाइम’ कम गर्न हामीले यो सचेतता पनि अपनाउन सक्छौं । सिफारिश पनि हो यो यो पङ्क्तिकारको- नाबालकहरू वा ‘टिनेजर’हरूलाई फोनमा भन्दा टिभी वा कम्प्युटर बसाउन वा काम गराउन सके जाती हुन्छ ।
संग्रहमा एकपछि अर्को विषय वा शीर्षकहरू एक अर्कोका सहायक परिणामहरू छन् । मानौं लहरो तान्दै जाँदा पहरो गर्जिरहेको छ ! अनावश्यक उपभोग्य वस्तु, साना व्यापारको सङ्कट, विषाक्त खाद्यान्न, उपभोक्तामा लत, धनको चर्को स्वर आदि एक अर्कालाई जोड्दै र तान्दै जाने विषय हुन् । राजनीति, भ्रष्टाचार, गरीबी, पर्यावरण, पृथ्वीको अस्तित्वमा सङ्कट, व्यापारिक नैतिकतामा ह्रास, स्थानान्तरण, विभाजित विश्व आदि ‘उतरआधुनिक त्रासदी’का विषय हुन् ।
सर्वसाधारण मानिस, आम उपभोक्ता, गरीब, बालाबालिका आदिमाथिको उतर-आधुनिकताको प्रभावले विश्वसमाज र समग्र मानव समुदाय माथिका चुनौतीहरू नै उतरआधुनिक त्रासदी हुन् । तर यी समाधान हुनै नसक्ने त्रासदी भने किन होइनन् । यी मानव निर्मित समस्या हुन् । यिनलाई हामीले समाधान-नियन्त्रण वा व्यवस्थापन गर्न सक्छौं ताकि प्रविधिमैत्री सुन्दर मानवसमाज निर्माणमा हातेमालो गर्दै अघि सकियोस् । लेखकले देखाएको त्रासदीको चित्र सामाजिक भूकम्पको पूर्वसङ्केत हो । त्रासदीको विरुद्ध सचेतताका लागि खबरदारीको बिगुल पनि हो । प्रविधिको विकाशसँगै प्रभाव र परिणामका जोखिमहरू घटाउनका लागि पनि सोचिनु पर्छ ।
लेखक अधिकारीको यस त्रासदीभित्र रुमलिंदा समालोचक साहित्यकार प्राध्यापक डा. कपिल लामिछानेले लेखेका छन्- ‘सुविधा खोज्दै जाँदा मान्छेले ठूलो खतरा निम्त्याइरहेको छ ।… यहाँ चिन्ताका यस्ता धेरै विषय छन् । यसका लागि भित्र छिरेर आफैँले बुझ्नुपर्ने हुन्छ ।’ तर प्राध्यापक लामिछानेले लेखक अधिकारीको कृतिमा विश्व परिवेशका कतिपय सन्दर्भ, समुदाय वा व्यक्तिहरूप्रति देखाइएको अनुदार र पक्षधरताप्रति असहमति पनि जनाएका छन्, ‘लेखक कम्युनिस्ट, चीन, उत्तरकोरिया, सोभियत संघ, रुस, हमास, बाबरी मस्जिदप्रति अनुदार तथा अमेरिका, इजरायल, मोदी आदिप्रति बढी उदार भएको देखिन आउँछ । लेखकले कुनै ध्रुवको पुच्छर समाउनु पर्ने बाध्यता देख्दिनँ । यसमा म लेखक तटस्थ भइदिए सबैका साझा हुन्थे भन्ने सदाशय प्रकट गर्दछु ।’
लेखक अधिकारीको साक्षी किनारामा उभिएका अर्का लेखक हुन् – पदम विश्वकर्मा । विश्वकर्माले थपेका छन्, ‘साहित्यकार विश्वराज अधिकारीकृत उत्तरआधुनिक त्रासदी वर्तमान समयको त्रासदीपूर्ण अवस्थाको स-चित्रण गरिएको प्रबन्धसंग्रह हो । जसमा वर्तमान समयको पीडा, छटपटी र कहाली लाग्दो परिवेश छर्लङ्ग उजागर गरिएको छ । एक्काइसौं शताब्दीको वर्तमान विश्व डरलाग्दो मोडमा उभिएको सङ्केत गर्दै उत्तरआधुनिक युगको सम्भावित दुर्घटनालाई सशक्तरूपमा प्रस्तुत गरिएको छ । साँच्ची नै हामी, हामी उभिएको धरती र हामीले टेकेको माटोको सम्भावित दुर्घटनाले हामी सबैलाई सोचनीय बनाएको छ । वर्तमान समयको आधारमा सम्भावित भविष्यलाई दृष्टिबिन्दुमा राखेर हेर्दा त्यस्तो दुर्घटना नहोला भन्न पनि सकिंदैन । उत्तरआधुनिक त्रासदी सबैले एक पटक पढ्नै पर्ने कृतिको रूपमा प्रस्तुत छ ।’
लेखक अधिकारी स्वयम् के भन्छन् त कैफियतमा ? ‘उतरआधुनिक त्रासदी’का सम्बन्धमा यो पनि महत्वपूर्ण जानकारी हुनसक्छ पाठकहरूका लागि । ‘उत्तरआधुनिक युगका त्रासदीहरू समाप्त पार्ने वा तिनका असरहरू कम गर्ने पनि हामीले हाम्रा व्यवहारद्वारा नै हो । उत्तरआधुनिक युगका त्रासदीहरू समाप्त पार्न वा तिनका असरहरू कम पार्न हामीले हाम्रो व्यवहारमा परिवर्तन गर्न आवश्यक छ ।’सन् २०२४ को जनवरी १४ मा लेखक अधिकारीले संग्रहमा समावेश भएकै कुरा आफूले भन्न वा लेख्न चाहेको कुराहरू भएकोले थप केही भन्न नपर्ने उल्लेख गर्दै ‘थप केही भनाइ’ मा संक्षेपमा उक्त कुरा राखेका छन् । यो पङ्क्तिकारलाई लागेको एउटा सन्दर्भ के हो भने भाषा र मातृभूमिको अपनत्वले पनि हुनसक्छ, अमेरिका निवासी लेखकका अनुभूतिहरूले नेपाली भूमिको प्रतिनिधित्व गरेको हो कि जस्तो पनि देखिन्छ । यद्यपि लेखकले विश्वव्यापी दृष्टिकोण,उदाहरण वा सन्दर्भहरूको प्रशस्तै चर्चा गरेका छन् ।
आधुनिक वा आधुनिकता र उत्तर आधुनिक वा उत्तर-आधुनिकता यी शब्द वा पदावलीले दिने सीमा अर्थात् सन्देश कसरी यकीन गर्न सकिन्छ ? भूत, भविष्य र वर्तमान भनेर वा मानेर गरिएको काल विभाजनको चरणमा प्राचीनलाई भूत, आधुनिकलाई वर्तमान र भविष्यलाई उत्तर-आधुनिक भनेर बुझे के हुन्छ ? सिद्धान्तका शास्त्रीय मान्यता र तिनका व्याख्याहरूलाई बिर्सेर पनि हाम्रा जीवनका भोगचलनहरूमा हुने गरेका प्रयोग पहिले हो कि सिद्धान्तकारहरूको व्याख्या पहिले ? तर्कमा जीवन पहिले कि सिद्धान्त पहिले भनेर बुझे हुन्छ होला तर कुतर्क अरू धेरै हुनसक्छन् ! चल्ला पहिले कि अण्डा पहिले भनेको अथवा अण्डा पहिले कि चल्ला पहिले पनि भनेको पनि एउटै हो । भूत वा प्राचीन थियो । वर्तमान वा आधुनिक छ । भविष्य वा उत्तरआधुनिक हुनेछ । मान्यताहरू बदलिएर सिद्धान्त बन्छ कि सिद्धान्त बदलिएर मान्यता बन्छ ? सिद्धान्तकार, वैज्ञानिक, विद्वान, दार्शनिक आदि वर्गका लगि यो अवसर खुला छ ।
उत्तर-आधुनिक वा आधुनिकता, यो शब्दावली, शास्त्र वा सिद्धान्त जे होस्, विश्वराज अधिकारी कृत ‘उत्तरआधुनिक त्रासदी’ प्रबन्धसंग्रह यी सबै प्रविधि आश्रित हुँदै गएको मानव जीवनका भोलिका दैनन्दिनहरूमा देखा पर्न सक्ने चुनौतीको बयानको फिराद पत्र हो । लेखक वर्तमानको बिहानीमा घामको न्यानो तातोले अपराह्नमा दिने उष्ण गर्मी, बाढी-पहिरो वा अन्य विपत्जन्य जोखिमको भविष्य वाणी गरिरहेका छन् । फेरि पनि – ‘जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि’ । बाँकी पाठकहरूकै जिम्मामा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।