अघिल्लो शताब्दीको सत्तरको दशकको शुरूतिर सिलगढीमा भानु जयन्ती र देवकोटा जयन्ती अन्य अरू ठाउँमा झैं मनाइन्थ्यो । यसभन्दा अघि पनि मनाइयो, मनाइए, मनाइँदैछ ।

तर कहिलेदेखि मनाइँदैछ त्यो थाहा भएन मलाई । सानै उमेरमा घरदेखि बाहिर बसेर स्कूले जीवन बिताइरहेको हुँदा मलाई त्यति थाहा भएन । सानातिना साहित्यिक कार्यक्रम पनि हुन्थे । स्थानीय योग्यतामाथि भर पर्न र सम्बन्धित विषयको ज्ञानमाथि विश्वस्त बनिहाल्ने स्थिति पनि जन्मिएकै थिएन । यसैले यस्ता अनुष्ठानतिर अध्यक्ष/ प्रमुख अतिथिहरू बाहिरबाटै झिकाउनुपर्ने अवस्था थियो । दार्जीलिङतिर आशामुखी भएर बस्नुपर्थ्यो कि मेची पारीबाटै झिकाउनुपर्थ्यो ।

बाहिरकालाई झिकाउनुपर्दा भने आयोजकले धेरै कठिनाइ उठाउनुपर्थ्यो । आर्थिक भार त छँदै छ, त्यसमाथि पनि समयको खर्च । बाहिरबाट झिकाइएका ती विद्वान्हरू कार्यक्रममा समयमै आफ्नो उपस्थिति नदिने, यता मित्र सम्मेलनी भवनमा भने दर्शक र श्रोताको पट्टेर भीड । झिकाइएको अध्यक्ष/प्रमुख अतिथिको अत्तोपत्तो नहुने । यसैले आयोजकहरूलाई आफ्नै स्थानीय संसाधनको सन्धान गर्नुपर्ने अवस्था आइलाग्थ्यो । गरिमामय अनुष्ठानको मञ्च सुहाउँदा महानुभाव खोज्दै जाँदा सिलगढी कोर्टतिर हाम्रा मानिसहरू मेजिस्टेडका ओहोदामा दार्जीलिङको पार्वत्य अञ्चलतिर बाटै आएका हुन्थे । र, तीमध्ये एक जनालाई अनुरोध गरी साहित्यिक महारथी नै सम्झिएर कार्यक्रममा ज्यादातर प्रमुख अतिथि र कहिलेकहीं अध्यक्षकै आसनमा बोलाउनुपर्थ्यो ।

आयोजकलाई ठूलो मानिस चाहिएको हुन्थ्यो । प्रमुख अतिथिको साहित्यिक चाख र चासोको धरातल के हो कसो हो, थाहै नहुने ।

एक चोटि देवकोटा जयन्तीमा सिलगढी ट्रेजरीका मेजिस्टेडलाई प्रमुख अतिथि झिकाइयो । कार्यक्रममा केही साहित्यकारहरूले देवकोटाको जीवनी पुस्तकबाटै सारेर आफ्नै लेखझैं मजाले सुनाए । दुईचार कविहरूले धरणीधर कोइरालाकै छाँटका कविता ‘हे महाकवि तिमी फेरि नेपाली संसारमा आऊ’ भन्दै देवकोटालाई बोलाए । देवकोटाको जीवनी सुनाउनेहरूले  कविलाई राँची लगेको घटनासहित कविकै पागल कविताको पनि उल्लेख गरे । १६ घण्टा ट्युशन पढाएदेखि बज्यैले नाङ्लामा टाँसिएको चामल कोट्याएको घटनालाई अझ मार्मिक बनाउने चेष्टामा साहित्यिक स्वरको आरोह अवरोहमा पनि ध्यानमग्न रहे । देवकोटाको छोरो मरेको घटनादेखि सिगरेट फुक्नु र मासु खानु रुचाउने देवकोटाको स्वभावसम्मलाई छाडेनन् ।

यता हाम्रो प्रमुख अतिथि के के टिपोट टिप्दैथिए ।

प्रमुख अतिथिको बोल्ने पालो आयो । उनले बोल्न शुरू गरे – ‘पागललाई हामी महाकवि भनेर मानिरहेका छौं अन्त कहाँबाट हाम्रो अवस्थामा सुधार आउनु र हामी उँभो लाग्नु । हामी ८ घण्टा पनि खट्दैनौं । त्यो कविको भन्दा हाम्रो आर्थिक अवस्था धेरै राम्रो छ । १६ घण्टा ट्युशन पढाएर पनि जहान छोराछोरी पाल्नसक्दैन भने त्यस्तो मान्छेले किन बिहे गर्नु…. । हुँदा भक्कु मासु खायो नहुँदा भोकभोकै । दार्जीलिङतिर मात्र यस्तो स्वभाव भएका हुन्छन् भनेको त नेपालतिर पनि त्यस्तै पो रहेछ । दिनभरि मेहनत गरेर कमायो । राति भक्कु मात्यो र घरमा गएर स्वास्नीलाई धुलाइ दियो । कहाँबाट उन्नति हुन्छ हाम्रो । सञ्चय गर्न सिक्नुपर्छ हामीले । साहित्यशास्त्र होइन अर्थशास्त्र पढ्नुपर्छ हामीले । सिगरेट र भाङ धतुरो खाने यो जातिको कि भगवान् छ कि महाकवि छ । हुँदैन हुँदैन । जिउन सिक्नुपर्छ हामीले ।’ भन्दै प्रमुख अतिथि बसे ।

हलले पनि पर् र् र् र् र् ताली पिट्यो । प्रमुख अतिथिले देवकोटा र जातिलाई नै पिटेसरी हलले ताली पिट्यो । प्रमुख अतिथि बसेर रुमालले पसिना पुछ्दै गर्दा पनि थप्पडी थामिएको थिएन । साहित्यको स नबुझ्ने प्रमुख अतिथि रहने अवस्था थियो सिलगढीको ।

हामी त्यस समयको हलमा थप्पडी मारेझैं हालमा पनि धेरै कुरा नबुझी नै थप्पडी मारिरहेकै छौं ।

० ० ० ०

त्यसरी नै अर्को पटकको देवकोटा जयन्तीमा अर्का विद्वानलाई झिकाइयो प्रमुख अतिथिको आसनमा । स्थानीय ती टुटेफुटे नेपाली पनि बोल्ने । मञ्चासिन प्रमुख अतिथि कार्यक्रममा आफ्नो पालो नआइञ्जेलसम्म झोक्राएरै बसिरहे । जब उनको पालो आयो, माइक अघि उभिएर शुरूमा नै देवकोटाका कृतिहरूको नाम उच्चारण गर्नथाले- ‘देभकोटाले मोनामोदान लेखे, कोलिदोसको शोकुन्तोला नाटकलाई नेपालीमा अनुवाद गरे, भनुभोक्तोले रामायण अनोवाद गरेजस्तो । झडेरर पाखी कविता पोनि देवकोटाले लेखे ।’ देवकोटाको छोरो मरेको घटनालाई पनि उल्लेख गरे र भने – ‘प्रोकोश पनि मरिगा’कोथ्यो  ।’ हलले थप्पडी माऱ्यो । थप्पडी यति लामो बज्यो कि प्रमुख अतिथि पनि मुसुक्क हाँसे ।

भानु जयन्तीभन्दा पहिला देवकोटा जयन्ती सिलगढीको जनसाधारणमा भिज्नपुग्यो । साठीकै दशकको शुरूतिर देवकोटाको नाममा देवकोटा संघ खोलिएको हो । सिलगढीले भानुलाई अलिक पछि मात्र चिन्यो । त्यसपछि सिलगढीको गुरुङबस्तीमा भानुभक्त समिति बन्यो । भानुभक्त प्राथमिक पाठशाला खोलियो । भानु जयन्ती समारोह समिति बन्यो । भानुको शालिक बस्यो ।

त्यसपछि भानु जयन्ती मनाइने सिलसिलाले झन्डै देवकोटा नै ओझेलमा पर्नेगरी कार्यक्रमहरू गर्नथाल्यो । यसबेला देवकोटा जयन्ती नमनाइएका वर्षहरू देख्नपाइन्छ सिलगढीमा तर भानु जयन्ती नमनाइएको वर्षहरू देखिंदैन सिलगढीमा । अघिल्लो शताब्दीको अस्सीको दशकदेखि त झन् सिलगढीले एउटा स्थायी समिति बनाएरै भानु जयन्ती जोडतोडका साथ मनाउन थालेको छ । सिलगढीमा भानुजयन्तीको भव्य कार्यक्रमहरू सिलगढी भानु जयन्ती समारोह समितिले गर्दै आइरहेको छ भने सिलगढी शहरभित्रै शहीद नगरले पनि त्यत्तिकै भव्य रूपमा मनाउँदै आइरहेको छ ।

भानु जयन्ती मनाउनलाई पनि त चाहिन्छ प्रमुख अतिथिहरू । अझ स्थानीय राजनैतिक नेताहरूलाई पनि कहिलेकहीँ आवश्यकतानुसार भानु जयन्तीमा प्रमुख अतिथि बोलाइरहनुपर्ने हुन्थ्यो/हुन्छ । एक चोटि त्यस्तै सत्तासीन पार्टीका नेतालाई प्रमुख अतिथि बोलाइयो । प्रमुख अतिथिले आफ्नो सम्बोधनको क्रममा भने, ‘भानोभोक्त रामायण लेखेर जेल गो’को हो । हामरो विद्रोही कवि नोजरुल जस्तै भानोभोक्त नेपालीदेर विद्रोही कवि…. । ’

त्यस समयको सत्तासीन पार्टीभित्र ‘विद्रोह’ शब्द साह्रै प्रिय शब्द थियो । हामीभित्र पनि त्यो विद्रोही शब्दलाई नामको पछि पुच्छर गाँस्न रुचाउने समय थियो । ती नेताले नै हामीलाई उपहारस्वरूप विद्रोह शब्द मात्र होइन भानुलाई विद्रोही नामबाट विभूषित गरिदिएको हुँदा, कृतज्ञता जनाउँदै हामीले यति थप्पडी माऱ्यौं कि कार्यक्रम स्थल अघि रहेको रेलवे जक्सनमा कुद्दै गरेको रेल पनि झन्डै लिक च्यूत भएको….. ।

भानु जयन्ती मनाइने सिलसिलामा अर्को चोटि अर्का सत्तासीन पार्टीका नेतालाई बोलाइयो । ती नेताले पनि हामीलाई बोनस् नै दिए । तिनले आफ्नै भाषामा भने, “भानुभक्तले रामायण र महाभारत लेखे । यी आदि ग्रन्थहरू लेखेको हुनाले नै भानुभक्तलाई आदिकवि भनिएको हो ।”

सिलगढीको भाषा साहित्यको इतिहासभित्र यस्ता अनेकन् घटनाहरू घटेका छन् । र, हामी ती सबैलाई अनुगृहीत बन्दै थप्पडी मार्दै आइरहेका छौं । अब त थप्पडी मार्दामार्दा यस्तो आदतै बसेछ कि हामीलाई धुलाइ गर्दा पनि थप्पडी नै मारिरहेका हुँदारहेछौं । हामीलाई गाली गर्दा पनि थप्पडी नै मारिरहेका हुन्छौं । कहिले बुझेर थप्पडी मार्ने हुन्छौं होला हामी ?

० ० ० ०

साँच्चै उरुङखात झार-जङ्गलले पुरिएका थियौं हामी । छेवैको जङ्गलबाटै ल्याएर दुई खुट्टामा हिंड्न सिक्दै गरेको अवस्था नै थियो हाम्रो ।

यही र यस्तै परिवेशमा आफैमा सर्वज्ञ ठान्ने प्रवृत्ति मौलाउँदैथ्यो हामीमा । नजानेको विषयमा सोध्नु प्रतिष्ठामा धक्का लाग्ने कुरो मान्थ्यौं हामी । सही तथ्य र सत्यसहितको ज्ञानको भोक लाग्नुदेखि सयौं कोष टाढा थियौं हामी । नजानेको कुरा बुझ्नलाई हामीसित ठीकठीक विद्वानहरूको अभावै खट्किरहेको थियो ।

ठीक त्यही समयमा काम गर्ने हात र ज्ञान बाँढ्नसक्ने टाउको लिएर दान खालिङ सिलगढी पसेछन् सुटुक्क । कुनै होहल्ला छैन । शिवकुमार राईको खहरेले अकादेमी पुरस्कार पाउँदा पो थाहा लाग्छ । इन्द्रबहादुर राई पछि अकादेमी पुरस्कार पाउने खहरे कथासंग्रह त सिलगढीको सगर प्रकाशनबाट प्रकाशित भएको… । रामचन्द्र गिरीको भेनिसको महाजन अनुवाद नाटक छापिएको… । इन्द्र सुन्दासको मङ्गलीको अर्को संस्करण छापिएको… । त्यसपछि शिवकुमार राईको डाँफे चरीको दोस्रो संस्करण पनि छापिएको…. । त्यसैको छेउछाउमा उत्तर बङ्ग विश्वविद्यालयमा नेपालीमा एम. ए पनि पढाइहुने व्यवस्था बनेपछि चाहिं सिलगढीको आँखा बिस्तारै खोलिंदै जानथाल्यो ।

यो जातिमा जागरण ल्याउनु हो भने, पहिलो काम नै शिक्षाको घाम झुल्काउनुपर्छ भन्ने सोच दान खालिङको थियो । शिक्षाको सबभन्दा ठूलो टेवा साहित्य हो भनेर माथिका पुस्तकहरू प्रकाशित गरिदिए । नेपाली साहित्य प्रचार समितिमा दान खालिङको प्रवेशले नयाँ ज्यान भरिन्छ समितिमा । क्षमता र योग्यताले भन्दा ज्यादा उत्साह र उमङ्गले भरिपूर्ण नेसाप्रसका हर्ताकर्ताहरूलाई दान खालिङको प्रवेशले अझ जोश र जाँगर उमार्छ ।

ज्ञानको अभाव खट्किरहेको थियो सिलगढीमा । ज्ञानको ज्योति बनेर उदाए दान खालिङ ।

अघि अघिका भानु जयन्ती र देवकोटा जयन्तीमा जसले जे बोल्दा र सुनाउँदा पनि हुने अवस्थाबाट पार पायो सिलगढीले । अज्ञानताको अँध्यारोलाई पर्लक्क पल्टाएर सही बाटो निर्देश गर्ने योग्यता भएको व्यक्ति हुन् दान खालिङ भन्ने कुरो सबैले स्वीकार्दै गए । महाकवि देवकोटाका कतिपय रचनाहरू स्वयं देवकोटाले दान खालिङलाई अंग्रेजीमा अनुवाद गर्नलगाएको तथ्यहरू बुझ्दैगयो सिलगढीले । बालकृष्ण समको एक्सप्रेशन आफ्टर डेथ अंग्रेजीमा अनुवाद कविताहरूको सङ्गालोभित्र मद (WINE) नामक कविता अंग्रेजीमा दान खालिङले नै अनुवाद गरेको पनि सिलगढी देख्दैगयो । देवकोटाको पागल कवितामाथि एउटा लेख अंग्रेजी र नेपाली दुवै भाषामा लेखेको पाउँछौं हामी । नेपालीमा लेखिएको लेख सिक्किमको पत्रिकामा छापिएको छ भने अंग्रेजीमा लेखिएको लेख भने दिल्ली साहित्य अकादेमीको प्राची भन्ने अंग्रेजी जर्नलमा छापिएको पाउँछौं ।

अब भने सिलगढीको स्टेजबाट साँच्चै ढाँटे ढुँटेहरूको जमाना बिस्तारै हट्दै जान थाल्यो । जसले जे लेख्दा र स्टेजबाट जे बोल्दा पनि हुने समय दान खालिङको प्रभावशाली उपस्थिति र केही पछि डा. कुमार प्रधानजस्ता विद्वानहरूको त्यस्तै उपस्थिति अघि नटिक्ने हुँदैजान थाल्यो ।

मलाई भर्खरैको एउटा घटना सम्झना आयो : एकजना साहित्यकारले मलाई केही दिनअघि फोन गर्नुभयो । र, भन्नुभयो, ‘अहिलेसम्म संविधानमा कति वटा भाषाले मान्यता पाएको छ । १८ वटा बढ्यो कि बढेन… ।’

मैले भनें, ‘संख्या त बढेको जस्तो लाग्दैछ । बोडो भाषा पनि पसेको जस्तो लाग्दैछ । २२ वटा भयो कि… । तर म पनि अलमलिएँ है हजुर । नेटमा हेर्ने सुझाव छ ।’

उहाँले भन्नुभयो, ‘यता उताको स्टेज हुन्थ्यो भने त यस्ता डेटाहरू केही तलमाथि पर्दा पनि फरक नहुने । तर अत्यन्त प्रखर श्रोताहरूका अघि ठीकठीक भन्नुपर्ने हुँदा चाहिएको हो ।’

धन्यवाद भनेर फोन राख्नुभयो ।

म उहाँलाई आदर गर्छु । श्रोता ठीक छैन भने सर्जकले पनि साह्रै मिहिनेत नगर्दा हुन्छ कि भन्ने कुरो यहाँ उठ्यो । तर मिहिनेतको फल त आफू पोषिलो हुनलाई नै हो । कतै न कतै त सर्जकलाई पनि आच्छुआच्छु पार्ने श्रोताको फेर परिन्छ कि भनेर पहिले नै होशियार भएकै राम्रो ।

त्यस्तै, एकचोटि डा. इन्द्रबहादुर राईले भन्नुभयो, ‘भाइ ! रातभरि तयार पारेर लगेर बोल्यो । आफूपछि अर्को आएर तथ्य-सत्यहीन भावनात्मक कुरो भनिराखेर भक्कु ताली थापेर जान्छ । अन्त आफूले रात गालेर तयार गरेको कुरो फुस्स हुन्छ । यस्तै छ हाम्रो समाज ।’

सिलगढीको मञ्च अब भने जान्ने बुझ्ने श्रोताहरूले भरिंदैगएको अवस्था हुन थाल्यो । सर्जकहरूमा लाज र शरम जन्मनुपर्ने अवस्था सिर्जना हुनथाल्यो । टपर्टुइँय्याहरूको जमानालाई सिलगढीले बाइ बाइ भन्दै बिदा दिनथाल्यो । साहित्यमा कसी लगाउने शालिग्रामका रूपमा दान खालिङ र डा. कुमार प्रधानहरू, छोटो अवधिकै लागि भए पनि डा. गोकुल सिन्हा र विश्वविद्यालयका प्राध्यापकहरू रहन थाले, कुनै न कुनै भूमिकामा…. ।

दान खालिङ अब सोझै शिक्षाको राँको बोकेर सिलगढीको मैदानमा निस्किए । चर्च वा अंग्रेजी स्कूल स्थापित हुनलाई ठिक्क परेको डा. आइ. बी. थापाको प्रधान नगर स्थित ६ कट्ठा जमीन र काठको बनिबनाव घरमा नेपाली माध्यमको विद्यालय खोल्नलाई जोश र जाँगर चलाए । सफल बने । आफू विनावेतनको प्रधान अध्यापक बने । बरु उल्टै प्रेसको आफ्नो कमाइको १० प्रतिशत – हिज् मनी लेखिएको एउटा खामभित्र राख्नथाले । र, टाढा टाढाबाट विद्यालयमा पढ्न आउने ती गरिब विद्यार्थीहरूलाई किताब-कपी र विद्यालय पोषाकादि किनिदिन्थे ।

साँच्चै दानवीर थिए दान : शिक्षा दान । चेतना दान । उनले आफ्ना विद्यार्थीलाई मात्र होइन, आलाकाँचा शिक्षक शिक्षिकाहरूलाई पनि ज्ञान बाँडे । एकजना कुशल प्रधान अध्यापकमा हुनुपर्ने सम्पूर्ण योग्यता थियो उनमा । नेपाली साहित्य संसारका महान् हस्तीहरू उनलाई खोज्दै बासस्थानमा आइपुग्थे । ती सबैलाई उनका पाहुनाहरूलाई विद्यालयमा लिएर आउँथे । एक बिहान पारिजातलाई लिएर आए विद्यालयमा । बेलुकी नेसाप्रसको त्यो नर्थ जङ्क्सन छेउको पुरानो दार्जीलिङ मोडको निजी काठको भवनमा पारिजातलाई लिएर साहित्यिक गोष्ठी गराएका हुन् ।

त्यसरी नै नेपालका राष्ट्रिय कवि माधवप्रसाद घिमिरेलाई पनि लिएर आए । उनको सम्मानमा देवकोटा संघ पुस्तकालयमा साँझ भेटघाटको आयोजना भएको हो । कथाकार इन्द्र सुन्दासलाई विद्यालयमा ल्याएर नवौं श्रेणीका विद्यार्थीहरूलाई उनीहरूले पढ्नुपर्ने गाडीमान कथामाथि केही प्रश्न भए । सोध्ने मौका जुराइदिएका थिए । असमका उपन्यासकार लीलबहादुर क्षेत्रीलाई पनि विद्यालयमा ल्याएका थिए । कवि वीरेन्द्रको चित्र प्रदर्शनी र कविगोष्ठीको आयोजना गरेका थिए ।

प्रतिभा चिन्ने प्रतिभा थियो दान खालिङसित । प्रतिभाको साह्रै सम्मान गर्थे उनी ।

सिलगढीलाई दान खालिङले आफ्नो उमेरको सबभन्दा ज्यादा समय दिए । सिलगढीमा उनको ५० वर्षको जन्म दिन मनाएको थाहा छ मलाई । २१ वर्षको उमेरमा नेपाल पसे । त्यसको अर्थ दार्जीलिङले उनको कलिलो उमेरको थोरै भाग मात्र पायो । नेपाललाई उनले आफ्नो उमेरको महत्त्वपूर्ण भाग दिए । तर आफ्नो परिपक्व उमेरको सबभन्दा ज्यादा भाग सिलगढीलाई नै दिए । सिलगढीको मानसिक कमजोरी र बौद्धिक ढँटुवारेपनलाई कुचो लगाएर परिष्कृत पार्नमा दान खालिङको ठूलो हात रहेको छ । दान खालिङ र डा. कुमार प्रधानहरूको उपस्थिति पछि सिलगढीको साहित्यिक मञ्चहरूमा तथानाम बोल्ने र सुनाउने कार्यमा धेरै कमी आएको हो ।

यी दुवै बिते….. सिलगढीलाई साँच्चै ऋणी बनाएरै बिते । दुवैलाई श्रद्धाञ्जली….