असमका कवि मिलन बोहोराज्यूले सन् २०२० मा विशिष्ट चतुष्कोणी ज्यामितीय आकार भित्र रहेर कविता लेख्ने एक अभ्यासको शुरूवात गर्नुभयो । उहाँको एकाग्रता र निरन्तर प्रयासको निष्कर्षमा नेपाली काव्य साहित्य जगतले एक अभिनव उपविधा र नवीन शैलीको काव्यधारा प्राप्त गरेको छ जो “रम्बास कविता” नामले स्थापित भइसकेको छ ।
प्राथमिक चरणमा बोहोराज्यूले नौलो आयामको कविता लेखेर साहित्यकार ज्ञान बहादुर छेत्रीज्यूलाई देखाउँदा उहाँले “कसैले लेखुन्-नलेखुन्, अनुसरण गरुन्-नगरुन्, जेसुकै भनुन्, तपाईं लेख्न नछाड्नू,” भनेर हौसला दिनुभयो । यै हौसलापूर्ण टिप्पणीले रम्बास काव्य विधा सर्जक मिलन बोहराज्यूलाई थप ऊर्जा प्रदान भयो । साहित्यकार ज्ञानबहादुर छेत्री भारतीय साहित्य एकाडेमीबाट पुरस्कृत हुनुहुन्छ ।
असम प्रान्तको ब्रह्मपुत्र उपत्यकाको मलिलो साहित्य फाँटमा उब्जिएको चतुष्कोणी आकृतिको अपरम्परागत यो नौलो फसलले नेपाली काव्य साहित्यको भण्डार अझ संवृद्ध पारेको छ । नेपाली साहित्य जगतमा रम्बास विधाले बिलकुल नौलो प्रयोग भित्राएको छ । जो फरक बनोट, शैली र लेखन कौशल, छोटो मीठो गहकिलो विशेषताका कारण कविता लेख्न रुचाउनेहरूको लागि आकर्षक विधाको रूपमा स्थापित भइसक्यो ।
परिधिभित्र बसेर सृजना गर्नुमा दिमागको खूब कसरत हुँदोरहेछ, त्यसैले भाषाको ज्ञान बढ्ने, शब्द-शब्दको जानकारी हुने र लेखन कौशलको विकास हुँदोरहेछ । रम्बास लेख्ने बानी परेपछि कविता लेख्न खूबै मज्जा आउँछ ।
रम्बास कविता सृजनाको मूल फुटेदेखि विभिन्न ढुङ्गा मुढामा ठक्कर खाँदै एउटा सानो झरना आफ्नो बाटो बनाउँदै काव्यप्रेमी हृदयहरू सिञ्चित पार्दै आज एउटा ठूलो नदी बनिसकेको छ । असमको परिसीमा नाघेर केही वर्षमै यसले नेपाली साहित्यको विश्वव्यापी पर्यायमा आदर भेटेको छ । आजसम्ममा भारत र नेपाल गरेर एघार वटा रम्बास कवितासंग्रह प्रकाशमा आएका छन् । कविता संग्रह प्रकाशित हुनुका साथै धेरै वटा साहित्यिक पत्रिका, ई- साहित्य पोर्टलहरूले पनि कदर गर्दै रम्बास कविता छाप्न थालेका छन् ।
“तानाबाना” (सन् २०२१), रम्बास काव्य विधा सर्जक कवि मिलन बोहोराको पहिलो साथै नेपाली साहित्यको पनि पहिलो रम्बास कवितासंग्रह भएको गौरव बोक्ने अवसर पाएको छ । यस संग्रहभित्र ५६ ओटा कविताहरू रहेका छन् ।
– – – –
क) रम्बासको परिभाषा र संरचना :
यो रोम्बास (Rhombus), ग्रीक rhombos (रोम्बस) शब्दबाट आएको हो, जसको अर्थ हुन्छ “a spinning top” अर्थात् घूर्णित अवस्थामा देखिने एक लट्टु वा भुरुङ, जसले एक जादूगरी आकार लिएको हुन्छ ।
समतल यूक्लिडियन ज्यामिति अनुसार रोम्बास (rhombus) एक समचतुर्भुज
क्षेत्र हो । यसलाई समानान्तर समबाहु चतुर्भुज पनि भनिन्छ जसका चारवटै भुजा समान लम्बाइका हुन्छन् । अथवा समान लम्बाइ भएका विपरीत भुजाको दुवै जोडी समानान्तर हुन्छन् ।
Rhombus समतल क्षेत्रमा चार वटा कोण हुन्छन् र विपरीत कोणहरूको डिग्री समान हुन्छ । चारैवटा कोणको गणनाङ्क 360° हुनु पर्छ । यसमा विपरीत कोणहरूलाई जोड्ने सरल विकर्ण (रेखा) लम्बवत हुन्छ । विकर्णले दुई विपरीत आन्तरिक कोणलाई समद्विभाजित गर्दछ ।
झट्ट हेर्दा यसको आकृति Earring (कानमा लाउने लुर्कना) जस्तो वा पतङ्ग (चङ्गा) जस्तो हुन्छ । रोम्बस र पतङ्गको एक विशेष मामिला जोडिएको छ ।
यही “रोम्बस” अर्थात् समानान्तर समबाहु चतुर्भुज र चतुष्कोणको आन्तरिक परिधिभित्र लेखिने काव्य विधाको नवीनतम संस्करणको नाम रहन गएको छ “रम्बास कविता विधा” ।
– – – –
ख) रम्बास कविता: संरचनाको सूत्र र शर्त:
विज्ञान,गणित, व्याकरण आदि विषयमा निश्चित सूत्र र सिद्धान्त अनिवार्य भए जस्तै एउटा उत्कृष्ट रम्बास कविता बन्न केही ज्यामितीय, गणितीय साथै भाषा व्याकरणको नियम पालन गर्नैपर्छ । नत्र यो बेकार बन्छ । रम्बास कविताको निम्नतम साधारण सूत्र यस्तो छ-
एउटा शाब्दिक अक्षरबाट शुरू गरेर संख्याको आरोहण क्रम अनुसार दुई, तीन अक्षरका शब्दहरू लेख्दै दशौं पंक्ति (हरफ) सम्म दश ओटा अक्षरलाई कविताको विषयवस्तु अनुरूप शब्दहरू सजाएर राख्ने ।
पुनः दश पछि नौ, आठ, गर्दै अवरोहण क्रममा अन्तिम एक शाब्दिक वर्णमा आएर कविता सकिन्छ । यो सुत्रमा जम्मा उन्नाइस ओटा पंक्तिमा मोठ एक सय वर्णमा लेख्दैजाँदा स्वतः ज्यामितिको रोम्बस आकारको एउटा सुन्दर कविता बन्दछ ।
रम्बास कविताको एउटा नमूना पेश गर्दैछु, सिक्किमकी रम्बास कवयित्री गीताश्री शर्माले लेख्नुभएको कविता:
मेघ
***
त्यो
कालो
बा द ल
आकाशमा
ठूलो महत्व
आशा किसानको
समस्त जीवात्माको
पार्छ तृप्तता प्यासीको
अन्न पात उमार्ने ऊर्जा
घर विहीनको अभिशाप !
छर्छ उष्णतामा शीतल
तप्किन्छ यही धर्तीमा
उर्वर हुन्छ माटो
पलाउँछन् मुना
सुसेल्छन् झर्ना
गर्जन्छ ऊ
बर्सिन्छ
मे घ
भै ।
– – – –
यसको संरचनामा निम्न शर्त र सूत्र पूरा भएको हुनुपर्छ:
१) कविताको एउटा शीर्षक हुनुपर्छ । रम्बास कविताले एउटा शब्दबाट बनेको शीर्षक माग्छ ।
२) एकदेखि दश पंक्तिसम्म अक्षरसंख्या क्रमश: एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ र दश ओटा हुनुपर्छ । त्यसपछि पुनः नौ, आठ, सात हुँदै एउटा अक्षरमा कविता टुङ्गिनु पर्छ ।
३)पहिलो पंक्तिबाट दशौंसम्म पंक्तिहरू आरोहण क्रममा बस्छ । त्यसपछि एघारौं पंक्तिबाट उन्नाइस पंक्तिसम्म अवरोहण क्रममा हुन्छ । जम्मा १९ वटा पंक्तिमा मोठ अक्षरसंख्या एक सय हुनुपर्छ ।
४) एक अक्षरबाट शुरू भएर एक अक्षरमै समाप्त हुनुपर्छ । शुरू र अन्त्यको अक्षर एउटै वा भिन्न अक्षर पनि हुनसक्छ ।
५) आधा अक्षर र हलन्त लागेको अक्षरको गन्ती हुँदैन । जस्तैः “सङ्ख्या” लाई दुई अक्षर मात्र गनिन्छ, “मूल्याङ्कन” शब्दलाई चार अक्षर मात्र गनिन्छ ।
६) रम्बासमा पंक्ति वा हरफहरू स्वतन्त्र हुनुपर्दछ । अपूरो, त्रुटिपूर्ण र अवाञ्छित शब्द राखेर जबर्जस्ती हरफ पूरा गरे पनि उत्कृष्ट कविता बन्दैन । त्यसैले वर्णसंख्या मिलाउन माथिल्लो हरफको शब्द या आधा भाग अक्षरहरू तल्लो हरफमा झार्नुहुँदैन । कविताको भावपक्ष, व्याकरण र संरचना पक्षलाई महत्त्व दिंदै हरेक हरफमा उपयुक्त शब्दहरू चयन गर्नुपर्छ । यसले कविको स्तर, मर्यादा उकास्नुका साथै पाठकलाई एउटा राम्रो मीठो कविताको स्वाद चखाउन सकिन्छ ।
७) रम्बास कवितामा भावपक्ष अनि संरचना पक्ष दुवै उत्तिकै महत्त्वपूर्ण हुन्छ । वास्तवमा यो विधाले एक जना कविको लेख्ने रुचि, शब्द ज्ञान र बुद्धिमत्ताको परीक्षा लिंदोरहेछ । धेरै पर्यायवाची शब्दहरूबाट भावनाले मागेको, संरचनाले खोजेको उपयुक्त शब्द स्थापन गर्दै सुन्दर आकृतिको मनमोहक रम्बास कविता लेख्नसक्नु नै एक सफल कविको परिचायक हो ।
अक्षर गन्ती गरेर कविता लेख्ने चलन पौराणिक हो, तर एक निर्दिष्ट आकृतिको परिधिभित्र रहेर उल्लेखित सूत्र र नियमहरू मानेर कविता लेख्नु प्रयोगवाद हो, उत्तर आधुनिक कालको नौलो आयाम हो ।
“रम्बास कविता अक्षर-संख्याका आधारमा लेखिने हुँदा रम्बास कविताको अध्ययन, विश्लेषण र मूल्याङ्कनका लागि अक्षरका प्रकार, संरचना र संख्या जान्न र बुझ्न आवश्यक हुन्छ ।” यस बारे दीपक सुवेदीले ‘रम्बास कविता, संरचना र लेखन शैली‘ भन्ने शीर्षकमा साहित्यपोस्टमा लेख्नुभएको छ ।
रम्बास कविताको केही नियमको वर्णन (जो बुझ्न सजिलो होस्) मेरो स्वरचित कविता
“प्रेम-मञ्जरी रम्बास” मा यसरी गरेको छु-
हे प्यारी, रम्बाससुन्दरी,
शब्दालङ्कारको खजानाले भरिएकी तिमी,
एक देखि सयसम्म नै गनीगनी,
सुन-चाँदी, हिरा-मोतीका सबै लायौ छानीछानी,
बिछट्टै सजिएकी उनी, मेरी आँखाकी नानी ।
शिरमा शिरोमणि “चन्द्र” गहना लाउने,
निधारमा एकतारे टीका टल्काउने,
कानमा लुर्कना दुवै सुहाउने खुबै,
गलामा सजिन्छ नौगेडी सधैं ।
कम्मरमा दशहाते पटुकी कसेर,
कसरती बदन बनाउन लाग्यौ,
मोटोपनको मोह त्यागी छरितोमा रम्न जान्यौ,
आद्योपान्त वर्णन के गरौँ प्रिये,
तिमीमा रम्न चाहनेलाई कामवाणले हान्यौ ।
अन्त्यमा सबैलाई रम्बास कविता लेखौं, पढौं र यो शैलीको प्रवर्द्धनका लागि केही गरौं भन्ने आग्रह गर्दछु । धन्यवाद ।
– – – –
सहायक सन्दर्भहरू:-
१) रम्बास कविता: असमेली नेपाली काव्य जगतको फसल ।
लेखक: मिलन बोहरा
(सरल पत्रिका ५ असोज २०८१)
२) रम्बास कविता, कवि र कृति
(दीपक सुवेदी , साहित्यपोस्ट ।)
३)रम्बास कविता: पृष्ठभूमि, परिचय र अक्षर संरचना ।
(दीपक सुवेदी , साहित्यपोस्ट ।)
४) Rhombus: Parallelogram
By WIKIPEDIA and Britannica.
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।