नेपाल र विभिन्न महादेशमा बस्ने साथीहरू र आफन्तहरू सोधिरहन्छन् । चालामाला भनेको दिनदैनिकीको कुरा हो । नयाँमाथि नौलो सोध्नेहरूलाई दिने खासै जवाफ हुन्न । के छ भन्नु, के छैन भन्नु ।

साँच्ची के छ त मेरो चालामाला ? यसो घोत्लिएर आफ्नै चालामाला हेर्न थालें ।

दुइटी छोरीका पितामाता, हामी चारको बसाइँ छ उत्तर अमेरिकाको एउटा ठूलो देशको एउटा ठूलै शहरमा । ग्रीष्म सकिएर शरद हुँदै हिउँद सँघारमै आइसकेको छ । यस भूमिमा हिउँद भनेको चर्कै कष्टकर हुन्छ हिउँको वर्षाले ।

आज मङ्गलवार । अर्थात्, कामबार । बिहानै मोबाइलको कुखुरी काँ को झट्कामा उठें । श्रीमतीजी भन्छिन्, “मोबाइलको ‘उठाऊ घण्टी’मा अत्तालिएर उठ्नुहुँदैन ।” मुटुको गतिमा एक्कासि फेर पर्छ रे त्यसो गर्दा र मर्न बेर लाइन्न रे के जाति घात भएर ।

डराउन पनि केकेसँग मात्रै डराउनु । टन्न पेटभरि रुचेको साँझब्यानको गाँस खान डराउनु, मनले खोजेको लड्डु, जुलपी, बर्फी, रसगुल्ला खान डराउनु । घिउभात भनेपछि हुरुक्क हुने, घिउ खान डराउनु, धित मारेर सेकुवा, तन्दुरी, दारु, सुर्ती खान डराउनु । व्यायाम गरिएन डराउनु, पानी अपुग भयो कि शरीरमा डराउनु, पेट लाग्यो डराउनु । अब हुँदाहुँदा कुखुरी काँ मा जुरुक्क उठ्न नि डराउनु । आधुनिक, सुखी र शहरी जीवन भन्नु मात्रै डरले छेर भालू भएर बाँच्नुपर्ने । हाम्रा हजुरबा, बाहरू यसरी पलपल कामेर बाँचेको कहिले देखिन मैले । घाँस, दाउरा, हलोकोदालो गरेर खान बसेपछि उठ्न नसक्नेगरी खान्थे । डर हुन्थ्यो त गाईभैंसी थारिने हो कि, गाभिनु नहुने हो कि, बालीमा किरा लाग्ने हो कि, खडेरी वा अतिवृष्टिले फसल राम्रो नहुने हो कि, खेतमा पहिरो जाने हो कि जस्ता कुराको मात्रै हुन्थ्यो ।

बिहान हिंड्नुअघि देश अनुसारको भेषले गर्दा नित्य स्नान गर्ने बानी परेको छ यता आएदेखि । नेपालमा हुँदा हप्तामा दुई दिन मुश्किलले नुहाइन्थ्यो होला । पहिलो कुरा पानीको अभाव, दोस्रो कुरा चिसोपानीको सकस र अल्छ्याइँ होलान् कारण । नेपालीले पनि सजिलो पायो भनें त गर्ने रहेछ नि दैनिक नुहाउने कर्म । यता आएपछि एकजोर मोजा नि एकपल्ट भन्दा बढी लाइन्न । नेपालमा त मोजाको हरक छुटेर छिप्पेको छारेरोग निको पार्नेगरी भिरिन्थ्यो । अहिले मोजा गन्हाउने मान्छे छेउमा पर्‍यो भने निमेष टिक्न सकिन्न !

ब्रेकफास्ट भनिने खाजामा सप्तरङ्गी फ्रोजन बेरिज, छुस्स ओट्स, एउटा एभोकाडो, एक केरा र एक डाडु दहीको ‘स्मूदी’ भनिने घुर्रोघोलन खाएर, लन्च भनिने पोको बोकेर निस्किएँ ।

मोटरमा क्यानेडियन बोर्डकास्ट कर्पोरेशनको लोकल रेडियो खबर सुन्दै जाने तालिका नै हो । नोभेम्बरको अमेरिकी चुनाव, ब्याज घटाउने केन्द्रीय ब्याङ्कको निर्णय, इमिग्रेशनमा कडाइ गर्ने कानून, हिन्दुस्तानी भाइहरूको क्यानडाका सार्वजनिक स्थलहरूमा आपसी ठोकाठोक र हानाहान, घरजग्गाको मूल्य घटबढ, कता ट्राफिक रोकियो, कता मोटर ठोक्कियो यिनै खबर आए ।

सात बजेको अफिस शुरू गर्न पार्किङस्थलमा ६:५० सम्ममा मोटर थमाइसकेको थिएँ । कारबाट निस्किंदै एउटी सहकर्मीले शुभप्रभात भनी । ७ देखि ३ बजेसम्म अफिसै भइगयो । एउटा क्यानेडियन सहकर्मीले टोरन्टो स्टक एक्सचेन्जको फलानो शेयर किन, मौका छ भन्यो चियाविश्राममा । ल विचार गरुँला भनें ।

थुर्र गरेर गोजीको फोन बज्यो । अफिसमा फोनलाई थरर काम्ने झाँक्री ‘मोड’मा मात्रै राख्न पाइन्छ घण्टी बजाएर कुर्लिनेमा राख्न पाइन्न । फोन बगलीबाट झिक्दै कुर्सी छोडेर कुनातिर गएँ । नेपालबाट बुबाले छोराछोरी, बुहारी, ज्वाइँ, नातिनातिनी जति जम्मैको म्यासेन्जर समूहमा थिच्नुभएछ । सबैका अनुहार धमाधम देखिने थालेपछि “होइन, कहाँ थिचिएछ ! मरिगएस्, सहकारीको वार्षिक साधारण सभामा जाने होइन भनेर जेठी छोरीलाई सोध्न फोन गर्या त मैले त !” बा के के न काम बिराएझैं गर्दै हुनुहुन्थ्यो । बाका कुरामा एक फेरो हाँसेर अफिसमा छु भनेर बिदा मागें ।

तीन बजे अफिस सक्ने बित्तिकै राम्रो सास पनि नफेरी फडद्वाल कुदिनहाले कान्छी छोरीलाई ३:२० मा छुट्ने स्कूलबाट टिप्न भ्याइन्न । कहिलेकाहीं कालोरेलले बाटो काटेर उछितो पर्छ र बेर हुन्छ स्कूल पुग्न । घडीको सुईमा इन्चइन्च नापेर नचलेर सुख खोज्न भास्सिएका हामीलाई चल्नेवाला छैन ।

बिहान आमाचैंले छरेर हिंडेका भुरा बेलुका बाउले बटुलेर ल्याउँछु । ३:२० मा स्कूलबाट कान्छीलाई टिपेर धाइफल हान्दै ३:४० मा जेठीलाई टिप्न पुग्नु छ नित्य । जेठी छोरी अदिति १२ कक्षामा पुगेकी छ । नयाँ स्कूल पनि पर्‍यो उसलाई ।

उसकी इथियोपियन समकक्षी साथी हरानकी आमाले आफ्नी छोरीसँगै १० माइलपरको स्कूलबाट टिपेर ल्याई अदितिलाई आफ्नै घरमा बैठाएकी हुन्छे म लिन नपुग्दासम्म दिनैपिच्छे । हरान र अदितिमा खूब मितेरी छ । मन मिलेपछि धेरैथोक मिल्ने रहेछ । अदितिलाई टिप्न जानुपर्ने दिनैपिच्छेको एकतर्फी १४ किलोमिटरको मेरो दूरी उनको मितेरी रसायनले छोट्याएर एकाएक तीन किलोमिटर बनाइदियो । यो ठूलो भर र सहयोग हो । म मोटरमा तेल भर्छु, वा केही हिसाबले यस ढुवानी सेवाको गुन भर्छु भनेको बर्चोट मान्दैनन् हरानका बाउआमा । बिहान आमाचैंले पनि अदितिलाई त्यही हरानकै घरमा पुर्‍याइदिए पुग्यो । त्यसपछि हरानकी आमाको जिम्मेवारी भयो दुई केटीलाई स्कूल पुर्‍याउने र ल्याउने ।

जेठीलाई पनि टिपेर दुवैलाई मोटरमा खाँदेर घरतिर सोझिएँ । कान्छी श्रुती स्कूलबाट बाबाको मोटरमा छिरेदेखि बाबालाई दंग्याउन जान्ने छे । ‘बाबा आइ एम हंग्री’ भन्छे सधैं ।

उसको ध्याउन्न म्याकडोनाल्डको केही दिलखुश ‘बर्गर’ वा ‘फ्राइज’ वा कुनै ‘फ्यान्सी ड्रिंक’मा हुन्छ । म्याकडोनाल्ड वा कुनै ‘फास्ट फूड’ पाउँदा भुराको अनुहारमा देखिने अपार खुशी र अल्लादको आनन्दमा रमाउन, जातै केटाकेटी, यो उमेरको उनको लाऊँखाऊँको रहरलाई सम्मान गर्न पनि म आठपाँज म्याकडोनाल्ड, सबवे वा त्यस्तै केहीको खानेकुरा दिंदै बस्छु । आज तर केही किनिन कान्छीको देही उजिल्ल्याउन । घर पुगेर खाजा खानें भनेर सोझै घर ल्याएँ ।

सोझै घर ल्याएँ के भन्नु । श्रीमतीको दिउँसै फोनमा सन्देश थियो : दूध सक्किएको छ, हरियो खुर्सानी र हरियो प्याज पनि भए राम्रो । बच्चाको खाजा हाल्न केही गनेलाका पाकिट पनि ल्याउनू । चल्नी फुलेर सेताम्बे भएकोछ, कपालमा रंगरोगन गर्दिन्छु, फलानु नामको फलानु रंग पनि ल्याउनू । समानुपातिक कोटाको निमुखो सांसद जस्तो ‘हस् हस्’ भन्नै पर्‍यो । नत्र, अघि अग्नी साक्षी राखेर, सात फेरा लाएर गठन गरेको संसद चल्दैन । बाउको मोटरको स्टिरिङले त्यति सजिलै घर ताक्न किन पाउँथ्यो । म बाटबाटै हान्निएँ सुपरमार्केटतिर पूरक रासनपानी भर्न ।

घर पुगें ।

“कान्छी दहीचिउरा केरा खान्छे खाजा ?” सोधें ।

“नो, म चिउरा केरा र दूध खान्छु” उसले अमेरिकन लवजमा नेपाली बोली । कान्छीलाई खाजा दिन दूध तताउँदै थिएँ फोन बज्यो ।

“होइन के सारो हो, तपाईंको शासन ? कत्खेरै टंकल उठ्दैन । बिहानदेखि दाब्या दाबेई छु, बजाको बजाई छु । यस्तै चाला हो भनेँ कट्टी हान्दिन्छु म, कट्टी हान्दिन्छु । रुबेलका पछि कति लाग्नु परेको ? कति ? टोल्स टोयको ‘वाट म्यान लिभ बाइ’ पढ्नु भएकै होला ? मर्दा के लगिन्छ रे ? संस्कृत के भन्छ ? वेद के भन्छ ? बोल्ने फुर्सद छैन, कति चाहिन्छ रुबेल तपाईंलाई ?”  क्यालिफोर्नियाका पवन पौडेलले पानीको थैलो फुटे जस्तो ह्वातै यति भन्न भ्याए सासै नफेरी ।

पवनको बोल्ने शैली सारै विनोदी छ । सिन्धुली कमला खोँचको बुढ्यौली पारा सारै स्वादले निकाल्छन् उनी । उ वेला गाउँतिर विदेशी धन आर्जन गरेर आउनेलाई ‘रुबेल’ कति ल्याइस् भन्थे । रुबेल रसियाली पैसो हो । खोइ कसरी त्यसो भन्नथाले । त्यसमाथि मेरो मजाक गर्नेखाले भाषाको झर्रो र ठेट शैली समातेर मलाई उडाउन उनलाई स्वाद पर्छ । हामी आपसमा दिल्लगी गरी बस्छौँ ।

“के छ त आजको ताजा ? अब यसो भान्सातिर भिडम भनेको, ट्याक्क फोन गर्नुभो । मज्जा भो तपाईंको थर्काइ सुन्न,” मैले पालो छोप्दै यति भन्न चाहिं भ्याइहालें ।

“लु भो । याँ अल्झाइस् उसै भने भैहाल्छ नि । हामी जान्दैनौं झापालीको घुमाउने फेरो ? तपाईंको शाही शासन ! राखेँ मैले टंकल ।” साँच्ची राखिदिए फोन । कति प्रेमिल छन् पवनजी । अब भोलि वा पर्सी म गर्छु वा उताबाट आउँछ फोन फेरि ।

मुछेको केरा चिउरामा तातो दूध र छुस्स चिनी हालेर कान्छीलाई पस्कें । जेठी ओर्ली तलाबाट बाबा मलाई भोक लाग्यो भन्ने लाडला स्वर पार्दै ।

“केरा, चिउरा, दूध खाऊ तिमी पनि ।”

“टर्की स्यान्डबिच खाऊँ न, त्यसो गरे कसो होला ?” नेपाली कथ्य भाषामा राम्रो दक्खल भएकी उसले जिस्क्याउने शैलीमा भनी ।

“ल आफैँ बनाएर खाऊ त्यसो भए ।”

“ल दूध, चिउरा नै खान्छु ।” आफैँ गरेर खानुभन्दा केटाकेटी बरु गिट्ठामा जिउँला सात छाक झैँ गर्छन् ।

दुवैलाई खाजा दिएपछि कम्प्युटर कोठामा छिरेँ । फेरि निस्किएँ । फ्रिजको बरफधाराबाट अलिकति बरफका डल्ला थापें सीसाको प्यालामा अनि त्यसमाथि सिंगल माल्ट स्कच घोप्ट्याएँ आफ्नो एक डोज मात्राको । अब चिरिपचिरिप पार्दै भारतीय पूर्वराष्ट्रपति एवं दार्शनिक, चिन्तक सर्भेपल्लि राधाकिसनको ‘इन्डियन फिलोसफी-२ का पानामा रमाउन थालें ।

उनले त्यसमा लेखेका छन् : सगुण धर्म र भक्तिसाधनाका अनेक तर्कहीन कर्मकाण्ड नमान्ने वा सुधार खोज्ने मान्छेलाई ‘नास्तिक’ भन्नु गलत हो, जो वेदान्तका दर्शनको अनुसरणमा जीवनयापनका मूल्यहरूको पालना गर्छ त्यो मान्छे कर्मकाण्ड नमान्ने भए पनि आस्तिक नै हो ।

बीचैमा कान्छी छोरी आएर बाउको डुबाइको, आनन्दको र निजी समयको कुनै पर्वाह नगरी मेरो एकाग्र बिथोल्न थाली ।

“लेट मि सिट अन योर ल्याप ।”

“होइन म पढ्दै छु । तिमी टिभी हेर न एकैछिन जाऊ ।”

“आइ डन्ट केयर, ओपन गूगल क्लासरूम, आइ वान्ना शो यु वाट आइ डिड टुडे इन स्कूल” यति भन्दैगर्दा उसले मेरो कुर्सीमाथि काखमा आसनग्रहण गरिसकी । मेरो भारतीय दर्शनको पठन भाँड मे जाय उसका लागि । म उसको बालसुलभ चरित्र र उसको जसो गर्दा बाल लहडले जित्छ त्यसो गर्ने जब्बर पारा देखेर भित्रभित्रै हाँसें । उसले मनपेट पाई बाबालाई अब दल्न सकिन्छ भन्ने । उसले स्कूलमा सिकेका इन्डियासम्बन्धी केही ज्ञान, खुराक मलाई गूगल क्लासरूममा देखाई ।

“अब जाऊ टिभी हेर ।”

“रिमेम्बर ? यु सेड वन डे यु वाच अ मुभी विथ मि ? लेट्स गो वाच ‘वियर्ड फ्यामिली’ टुग्यादर इन नेटफ्लिक्स ।”

“आज होइन कान्छो, भोलि हेरम्ला नि त, मलाई पढ्नदेऊ आज ।”

“यु अल्वेज से द्याट एण्ड फर्गेट,” कान्छी त आँसुका ढिक्का खसालेर रुन पो थाली । केटाकेटीको जात रुनु र हाँस्नुको के साँधी । हामी भन्नलाई यसै भन्छौं केटाकेटीका कुरामा तर उनीहरूको सानो र रमाइलो संसारमा उनीहरूले बनाएका यस्तै साना कुरा नै हुन् उनीहरूका तत्क्षणका अधिक खुसी । हामी कपाल पाकेकाको जस्तो ताना र तिर्कुटीका सोचविकार नभएको कति स्वच्छन्द मगज छ उनीहरूको । हामी बुझिदिन सक्छौं कि सक्दैनौं, खोइ । फकाई, फुल्याई भोलिको वचनमा बाचा गरेपछि उसका आँसुका ढिका थामिए ।

म अब किताब छोडेर तर प्यालाको सिपसिप भनें नछोडी भान्सामा भिड्ने भएँ । बेलुकाको परिवार भोजन बनाइतुल्याई गर्नु, खानु, खुवाउनु, जुठेल्नामा थुप्रेका आधा डोको बर्तन चम्काउनु, अहिले पुछ्यो अघि फोहोरी हुने ग्याँस चुल्होका करंग पखालेर सनक्क पार्नु र कसिङ्गर पनि लाउनु मेरो नित्यको बुहार्तन नभएर छोरार्तन हो । नौ बजेपछि मात्रै घर आइपुग्ने आमाचैंको भान्सा छोपछाप पार्देर बिहान सबेरै स्कूल जान उठ्नुपर्ने कान्छी सुताउन म तला उक्लेँ । कहिले सुत्न मान्छे कान्छी, कहिले आमा नआई नसुत्ने अड्डी झिक्छे ।

यता सुत्ने वेला हुँदा नेपालमा मान्छे उठे, बिहान जाग्यो । लाखापाखा लाग्नेहरू लागे । नलाग्नेहरू चारचौरास सित्तैमा बोल्न पाइने म्यासेन्जर फोनमा झुत्ति खेल्न थाले भयो ।

एउटा फोन आयो । म प्राय: फोन सबैका र पहिलो घण्टीमै उठाउँछु । कहिलेकाहीं फोन मुकमा राखेको र फोनको छेउमा नभएको अवस्थामा छ भनें फोन नउठ्ने आक्कलझुक्कल पर्ला । मेरो पुरानो साथीले गरेको रहेछ ।

“होइन के छ ? अनि हामी चैं कुइरेको देश नहेरी मर्नु ? दुनियाँले लन्डनब्रिज र ह्वाइट हाउस, सिएन टावर र आइफिल टावर देखाएको कति हेर्नु ? बेलैमा बुद्धि पुर्‍याइएन । यो यताको निजामतीको खेतीले त नपुग्ने भो त यता बुढीको छड्के तिलहरी किन्न ! म मेरो नागरिकता र पासपोर्टको नक्कल पठाइदिन्छु, किन्तु परन्तु केही नभनी भिसा मिलाएर मिल्का त यता,” बरररर असिना दर्केजस्तो साथी दर्कियो फोनमा । ठट्टा गरेको हो कि साँच्ची भनेको हो मैले थाहा पाइनँ । हासूँ साथीको मर्ममा चोट लाग्ला, नहासूँ, हँसाउने पाराले आएको छ साथी ।

यता कान्छी छोरी नसुताई नहुने रन्को छ, उता भिसा मिलाएर पठाइदिने हत्ते थपियो ।

“अहिले यहाँ मान्छे सुताउने उद्योगमा लाग्या छु, भोलि बिस्तारमा कुरा गरम्ला नि, कसो होला ?”

“मैले साँच्ची भनेको ख्यालख्याल नसोच्नू, ल अहिले राखेँ, भोलि फोन गर्छु,” फोन मर्‍यो । सिडियो कार्यालयको फाँटको कर्मचारीले सेवा लिन आएकालाई “ल भोलि आउनू”भनेर फर्काए जस्तो भन्नु कि खोइ के जस्तो भन्नु, क्यानाडाको भिसा लिन मेरो कानमा आएको साथी आफैंले आफैंलाई भोलि आउँछु भनेर फर्काएर गयो । अब भोलि फोन गर्‍यो भनें मैले के भन्नु होला । भिसा हुन्छ, नागरिकता र पासपोर्टको नक्कल पठाउनुहोस् र बाहिर बस्दै गर्नुहोस् भन्नु कि ! माथामा भोलिको कुरा आज केही आइरहेको छैन । लेकिन, किन्तु, परन्तु केही भन्न पाइने छूट शुरूमै हरण गरेर बोलेको छ ऊ ।

दिन विशेषको चालामाला अझै निख्रेको छैन । २५ किमी परको कामबाट नानीकी आमा आइपुग्नै बाँकी छ । कान्छी छोरी ममी नआईकन त सुत्दै सुत्दिनँ भनेर उसको कोठामा गएर सिरकमा घुस्रिनुको साटो मेरै ओछ्यानमा पल्टेर सिरकभित्र निचाल गरेर थुप्रेकी छ । जेठी छोरी रातोदिनको पढाइमा बकुल्ले ध्यानमा लागेकी छ उसकै कोठामा । खानेवेलामा बाहेक उसको नाकमुख देख्न मुश्किल छ ।

कान्छी सिरकभित्र अन्तर्ध्यानमा गई । म उसै मोबाइल खेल्दै बसें । आमा चैं आएपछि कान्छी तल झरी । म मेरो एकदिनको चालामालालाई निम्ट्याउँदै भोलिको उही चालामाला निर्वाह गर्न निद्राको बाटो भोलितर्फ लागें ।

चल्दैछ सालाखाला, फड्कारिंदै छ पयरको छाला, यस्तै छ चालामाला ।