
एक दुई दिन अघिदेखि म यही समयको प्रतीक्षामा थिएँ । आज मार्टिन चौतारीमा एउटा विशेष दिन छ । मेरो लागि विशेष भएर आएको समयप्रति म आभारी छु । वक्ता भएर आज केही बोल्नु छ । तर वक्तामा जुन क्षमता हुनुपर्छ त्यो त मसँग छ कि छैन कुन्नि ? आफैंप्रति सन्देह छ ।
नवीन चेतले साहित्य गर्ने एक अग्रज स्रष्टा ‘पद्मावती सिंह’का कृतिमाथि बोल्नु आफैंमा एउटा जटिल कुरा छ । आफ्नो जिम्मेवारीलाई मर्यादा राख्न के म सकुँली ?
आफ्नो कामप्रति ज्यादा सचेत भए पनि मान्छे डगमगाउँदो रहेछ । हो म पनि डगमगाउने गर्छु यदाकदा । त्यसो नहोस् भनी ज्यादा सचेतताबाट फर्किने गर्छु । अहिले पनि फर्किंदैछु । म अलिकति बेहोसी मिसाएर निस्फिक्री हुन चाहन्छु ।
सगुना दिदी ! अहिले म एकदम आभारी छु । स्वीकार्नु होला त्यो आभारी हजुरकै लागि भएको हुँ । सुन्नू त त्यस दिनले मलाई केही लेख्न अनुरोध गरेको छ । मसँग यतिखेर त्यस क्षणको स्मृति छ । जुन स्मृति हजुरको निकट रहेको छ ।
हजुरले भन्नुभएको थियो, “अनिता बहिनी ! मार्टिन चौतारीमा तपाईंलाई वक्ता बनाएर ल्याउन मन छ । तपाईं सधैं निष्पक्ष भएर समीक्षा लेख्नुहुन्छ । किताबको सबै पाटो समेटेर । यसपालि कि हिरण्य पाठक, कि पद्मावती सिंहका कथामा गर्न पर्यो कि सुधा शर्माको सिंहदरबारको घुम्ने मेचमाथि ।”
दिदी हजुरको यस मेसेजले मलाई एक चोटि झस्कायो । वास्तवमा मानिस बाहिर जस्तो परिचयले चिनिन्छ, साँच्ची नै ऊ त्यस्तो नहुन सक्छ । हजुरले मलाई जसरी बुझ्नु भएको छ, यथार्थमा त्यो बुझाइ सत्यदेखि निकै टाढा पो छ कि !
आफूप्रति मलाई नित्य सन्देह भइरहन्छ । आफूसँग अविश्वास हुँदाहुँदै पनि दिदी ! मैले हजुरको प्रस्ताव स्वीकारें । किनकि यो मेरो लागि ठूलो अवसर थियो । म अवसर गुमाउन चाहन्नथें । यही मूड लिएर म अहिले आफूसँग संवादमा छु ।
आफ्नो स्वभावमा फर्किंदा कहिलेकाहीं मलाई बडो उदेक लागेर आउँछ । म सधैं आफू सानो हुन मन पराउँछु । अझ पनि मेरो स्वभावमा बाल सुलभता विलीन हुनसकेको छैन । मलाई यस्तै कच्चा बानी मन पर्छ । त्यही भएर हुन सक्छ म ठूलो मान्छेको निकटतामा ज्यादा रमाउँछु । त्यस निकटतामा लाडिन मलाई खूब मन पर्छ । पुलपुलिएर प्यारो हुन मन पर्छ । सानो नानीलाई जसरी उसले मलाई अभिभावकत्व दिओस् । अनि सम्झाओस्, बुझाओस्, हप्काओस् । यति मात्र होइन त्यसमा धेरै माया मिसाओस् ।
यस्तो अनौठो इच्छाले तत्पर हुँदा बिहानको खाना पश्चात् गुर्जुधारा गएँ अनिता (कोइराला) दिदीको निवासमा । देख्छु अंकुशे लगाएर दिदी झ्यालबाट अम्बा टिप्दै हुनुहुन्छ । दिदीको बारीमा फलेको केरा, अम्बाको आतिथ्यले म तृप्त हुन्छु ।
दिदीबहिनी भेट भएपछि केके कुरा गर्दै समय बितेको हामीले ख्याल गरेनछौं । मार्टिन चौतारीको प्रस्थानमा निस्किने समय विलम्ब हुन लागेछ थाहै नपाई । अघिको प्रचण्ड घाम अहिले निस्तेज हुँदैछ । मेघाच्छन्न आकाशमा डुब्ने समय नभई डुबेको छ घाम । पानी पर्नसक्छ भन्दै थियौं पानी पर्यो पनि । जलेको धर्ती ओसिएर बाफ उठेको छ ।
दिवाकालीन समय भएर होला गाडीको चाप कम्ती छ । केही गफ, केही मौनता, केही अन्तर मनको संवादले निर्देशित भएका हामी । बाह्य दृश्यको होस राख्न मेसो पाएका छैनौं । ए … हामी त त्रिपुरेश्वर आइपुगेछौं । रेखा दिदीको फोन आएको छ गन्तव्य पुगेको खबर लिएर ।
मार्टिन चौतारीको शान्त, शालीन वातावरण । अब झरी पनि थामिएको छ । वर्षाले भिजेको उद्यान मानौँ हाम्रै पर्खाइमा छ । मैले उसलाई प्रसन्नताको एक दृष्टि दिएँ । कृतज्ञताको एउटा भाव त्यहीं पोखिदिएँ । म अलिकति त्यही पोखिएँ । उः अगाडिको बिल्डिङमा देख्छु रेखा दिदी र शोभा ढुङ्गाना मेम हाम्रै प्रतीक्षामा हुनुहुन्छ ।
समय अगावै समय धेरै छिप्पिसके जस्तो झरिलो याम । मेरा उत्सुक दृष्टि परपर फैलिएका छन् । उः शरद प्रधान दाजु पनि आइपुग्नु भयो स्कुटीमा । उहाँको आगमनले म थप खुशी हुन्छु । यस शहरमा उहाँलाई देख्दा मलाई जहिल्यै एउटा अभिभावकको प्रत्याभूति हुन्छ ।
आज पनि उहाँले मलाई केही किताब ल्याइदिनु भएको छ—मोहन कोइरालाको ‘हिमचुली रक्तिम छ’, देवकुमारी थापाको ‘भोक तृप्ति’, धुस्वाँ सायमीको ‘गंकी’ र राजनारायण प्रधानको ‘दार्जीलिङ डायरी’ । यस्ता पुराना—दुर्लभ पाठ्यसामग्री उहाँले मलाई उपलब्ध गराउँदै आउनुभएको छ ।
एउटा उचाइमा पुग्नुभएको नारी स्रष्टा पद्मावती (सिंह) दिदीलाई आज पहिलो चोटि भेट्दैछु । शायद उहाँले मलाई चिन्नु भएको छैन । उहाँको पुस्तकमा बोल्ने आजको वक्ता ‘अनिता पन्थी’ भन्ने कुरा त उहाँलाई थाहा छ । तथापि ‘अनिता पन्थी’ म नै हुँ भन्ने कुरा, हुनसक्छ उहाँलाई थाहा छैन ।
प्रतीक्षित मन केके सोच्दै थियो कुन्नि । त्यसै बेलो देखें – उः सगुना दिदी पनि आइपुग्नु भयो । गाडी पर कुनामा साइड लगाएर हँसिलो मुद्रामा अगाडि बढ्नुभएको दिदीलाई म एकछिन रोकिएर हेर्छु । उहाँको सान्निध्य मलाई प्रिय लागेर आयो ।
बिस्तारै उपस्थितिको संख्या बढ्दैछ । कति परिचित कति अपरिचित सम्पूर्णमा मेरो नमस्कार छ । सम्मानपूर्ण अभिवादन छ । उहाँहरूको उपस्थितिले एउटा वक्ता हुनुको आनन्द मलाई मिलिरहेछ । औपचारिक रूपले कार्यक्रम आरम्भ हुन लाग्दा मेरो दृष्टि पुनः विस्फारित हुन्छ । बौद्धिक, वैचारिक व्यक्तित्वहरू केही सुन्न पर्खिए जस्तो तत्परताको अवस्थामा देख्छु । पत्रकार तथा साहित्यकार राजेश खनाल कलम र डायरीको साथमा हुनुहुन्छ ।
अरू पनि त्यस्तै सक्रिय मूडमा हुनुहुन्छ – डा. बिन्दु शर्मा, विक्रम भक्त जोशी, भवानी खतिवडा, राज राजक, मधुवन पौडेल, राधिका कल्पित, विना श्रेष्ठ, हरिश कल्पित, शोभा शरभ, रमा सुवेदी, … । यसरी केही नाम सम्बोधन गरिरहँदा म क्षमा चाहन्छु । ठूलो सङ्ख्यामा उपस्थित हुनु भएका सम्पूर्णको नाम मैले उल्लेख गर्न सकिनँ । किनकि ती नामसँग म अनभिज्ञ छु ।
पद्मावती दिदीका बारेमा बोल्न मलाई केही डर डर लागेको छ । तर होइन । मलाई केही डर छैन । पूर्वाग्रही चेतदेखि म निकै दूर छु । म स्पष्ट छु, मैले स्वतन्त्र भएर बोल्नुपर्छ । निर्भीक भएर आफूलाई लागेको कुरा भन्न सक्नुपर्छ । यदि सक्दिनँ भने मलाई कदापि वक्ता हुने अधिकार छैन । वक्ताको स्वतन्त्रतालाई कायम राख्न म अनुग्रही हुनसक्नु पर्छ । यदि सक्दिनँ भने वक्ताको रूपमा मेरो यो जिम्मेवारी निरर्थक हुनेछ । मैले आफ्नो भूमिकालाई निरर्थक हुनबाट सुरक्षित राख्न समर्थ हुनुपर्छ ।
कृपया ! यतिखेर म एउटा जानकारी गराउन चाहन्छु । वक्ता भएर जुन पुस्तकमा म बोलें ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’मा । अहिले मेरो लेखन ध्येय त्यस पुस्तकसँग सम्बन्धित हुने छैन । पद्मावती दिदीका कथाकारितामा म अहिले बोल्दै छैन । त्यस बारेमा ‘पद्मावती सिंहका कथा प्रवृत्ति’ शीर्षक दिएर भिन्दै आलेख तयार गरिसकेको छु ।
अहिले मेरो लेखन अभिप्राय त्यस दिन मलाई सोधिएका एक दुई प्रश्नको उत्तरमा केन्द्रीकृत हुनेछ । कृति विमर्शको अन्त्य पश्चात् स्रष्टा र वक्ता दुवैलाई केही प्रश्नहरू आएका थिए । ती मध्ये केही प्रश्नले मलाई निष्क्रिय हुन दिएनन् । यतिखेर प्रश्न र प्रश्न–कर्ताप्रति पुनः हार्दिक आभार छ । अहिले यसरी केही थोक लेखिरहन मलाई तिनै प्रश्नहरूले अह्राउँदा म ब्युँझिएको छु ।
समय अब अडियन्सतर्फ गएको छ । प्रश्न गर्न इच्छुक हातहरू उठ्दैछन् । त्यस मध्ये एउटा हात राधिका कल्पितको छ । उहाँका दुइटा अत्यन्तै समय सान्दर्भिक जिज्ञासा छन् । शुरूको जिज्ञासालाई म यहाँ उल्लेख गर्न चाहन्नँ । त्यो अर्कै आलेखमा कहीँ महत्त्वपूर्ण विषय बनाउनेछु । दोस्रो जिज्ञासा नै यहाँ मेरो लेखनको तात्पर्य रहेको छ ।
उहाँ भन्नु हुन्छ, ‘अस्ति बाह्रखरी कथा प्रतियोगिता आह्वानमा नयनराज पाण्डेज्यूले भन्नुभएको थियो – अरूले नलेखेको कुरा लेख्नू । अरूले लेखेभन्दा नयाँ लेख्नू । लेख्न बाँकी रहेको कुरा लेख्नू । उसो भए अब हामीले कस्तो कुरा लेख्ने ? कस्तो कुरा लेखिन बाँकी छ ?’
राधिका दिदीको यस प्रश्नले ममा विचारहरू सलबलाएका छन् । एकपछि अर्को विचारहरू जुर्मुराएका छन् । ती भीड लागेका विचारलाई नियन्त्रणमा लिएर मैले उहाँलाई उत्तर दिनु छ । साहित्य गर्नेहरूका निम्ति अहिले चुनौती बनेर आएको—दिदीको प्रश्न अत्यन्तै स्वागतयोग्य छ । हामी सम्पूर्ण साहित्य प्रेमीमा यस प्रश्नको उत्तर थाहा हुन आवश्यक छ ।
मैले आफूलाई उत्तर दिन तयार गरें । अनि भनें- यहाँ लेखिन बाँकी केही थोक छैन । उही पुनरावृत्ति हो । जहिले जस्तो साहित्य लेखिए पनि, जहाँको साहित्य लेखिए पनि उही समाज छ, उही मानवीय सम्बन्धहरू छन्, उही मानवीय संवदेनाहरू छन् । उही हावा, उही प्रकृति, उही वायु, तेज छन् । उही पर्यावरण छ । उही धर्ती छ, उही वायुमण्डल छ । उनै जून तारा छन् । उही घाम छ, उही प्रकाश छ, आभा छ । उही समय छ । समय अनुसारको परिवेश छ । यसभन्दा बाहिर गएर केही लेखिने छैन । लेखिने आधार यिनै हुन् । यी कुरा हिजो पनि थिए, आज पनि छन् । हिजो पनि उस्तै थियो, आज पनि त्यही छ । युनिभर्सल सत्यहरू, सनातनी सत्य सदा उस्तै छन् । लेख्ने भनेको थाहा पाएर या थाहा नपाएर हामीले भोगेका यिनै ब्रह्माण्डका कुरा त हुन् । सृष्टिका प्रथम मानवले यस धर्तीलाई जसरी भोगे, हामी पनि त्यही भोग्दैछौं । भलै भोग्ने तरिकाहरू फरक परे होलान् ।
अनि ती प्रथम मानवहरू जुन संवेदनाले, संवेगले निर्देशित थिए, हामी पनि त्यही संवेगले त्यही संवेदनाले परिचालित छौं । उसो भए उनीहरू र हामीबीच भिन्नता नै के रह्यो र ? भलै हाम्रो जीवन शैली, हामीले भोगेका सम्भवयतामा परिवर्तनहरू आए । फरक भन्नु त्यति नै त हो । परिवर्तन भनेको त्यही बदलिएको पृथकता हो । सभ्यताको विकास भनेको त्यही फेरिएको रूप हो । त्यही फेरिएको रूपले हाम्रो जीवन पद्धतिलाई भिन्न बनाउँदै लैजाने हो । जीवनको नवीनता भन्नु या लेखनको नवीनता भन्नु त्यति मात्रै हो ।
यति कुरा भनिरहँदा कृपया सम्झना राख्नुस्- युग अनुकूल बदलिने परिवर्तन भनेको उही विचार हो । जुन विचारले समाजलाई, युगलाई, परिस्थितिलाई बदलिरहेको हुन्छ । त्यही विचारले समाज, संस्कृति, रहनसहन, जीवनशैलीलाई समय अनुकूल बनाइरहेको हुन्छ । अब बुझ्नुस् हामीले लेख्ने भनेको त्यही विचार हो । त्यही विचारले तपाईंको लेखनमा नवीनता ल्याउने छ । तपाईंलाई अरू भन्दा बेगल धारको बनाउने छ ।
यसरी अरूभन्दा बेग्लै हुनको लागि प्रथमतः तपाईं तयार हुनुपर्छ आफ्नो दृष्टिकोण बदल्न । नवीनता लेख्न, अरूले भन्दा बेग्लै लेख्न-इच्छा गर्नेले नवीन दृष्टि खोज्न समर्थ हुनुपर्छ । अनि नूतनत्वलाई स्वीकार्ने आँट गर्नुपर्छ । साहित्यमा तपाईंको निजी चिनारी भनेको अर्थात् तपाईंको नयाँपन भनेको अर्थात् अरू भन्दा तपाईं पृथक् हुनु भनेको तपाईंको दृष्टिकोण कस्तो छ ? त्यही नै तपाईंको चिनारी हो । तपाईं जस्तो दृष्टिकोण राख्नु हुन्छ त्यस्तै दृश्य निर्माण हुने छ । कला साहित्यमा तपाईंलाई अरूदेखि अलग्याउने मुख्य कुरा भनेकै— दृष्टि र दृश्य निर्माण तपाईं कसरी गर्नु हुन्छ ? कलालाई कसरी प्रस्तुत गर्नुहुन्छ ? त्यसमा निर्भर रहन्छ ।
अझ यसो पनि भनौं- साहित्यमा पृथकता ल्याउनु भनेको पुरानो कुराको नवीकरण गर्नु हो । सुन्दर कलाले त्यसलाई नवीकरण गर्न जान्नु नै तपाईंको पृथकता हो । अन्ततः त्यही पृथकता तपाईंको निजी परिचय हुनेछ । जस्तो अरूले भनेका कुरालाई यस अघि कसैले नभने जसरी प्रस्तुत गर्नु नै तपाईंको सुन्दर अभिव्यक्ति कला हो । कलाको माध्यमबाट पहिलो चोटि नयाँ कुरा उत्खनन गरे जसरी अभिव्यक्त गर्दा त्यो कुरा तपाईंको निजी धारणा हुन जानेछ ।
आखिर त सबै भनिएका कुरा हुन् । अनुकरणको पनि अनुकरण त्यही त हो नि । भनिन बाँकी नै यहाँ के छ र ? बाँकी भन्नु त समयअनुसार बदलिने दृष्टि मात्रै हो अर्थात् विचार मात्रै हो । त्यसो त त्यो विचार पनि नवोदित कहाँ हो र ? जुन पहिल्यै थियो । यथावत् थियो, सनातन थियो । बस् त्यसलाई हेर्ने हाम्रो दृष्टि मात्र नयाँ हुने हो ।
जस्तो अहिले पर्यावरणको बारे निकै चर्चा हुन थालेको छ, लैङ्गिकताको उस्तै बहस हुन गरेको छ । अभिघातको त्यस्तै छ । जुन कुरा सृष्टिको आरम्भिक चरणमै थिए । तथापि आज आएर हामीले त्यसलाई हेर्ने दृष्टिकोण निर्माण गरेका मात्रै हौं । विज्ञान प्रविधि पनि त्यस्तै कुरा हुन् । यहाँ कोही वैज्ञानिकले, आविष्कारकले सनातनदेखि चल्दै आएको— सृष्टिदेखि बाहिर गएर कुनै नौलो कुरा अन्वेषण गरेका छैनन् । उनीहरूले प्रकृतिलाई बुझ्ने, रहस्यलाई खोज्ने चेष्टा गरेका मात्र हुन् । न्यूटनले गुरुत्वाकर्षण शक्तिबारे ज्ञान राख्नुअघि पनि त्यो शक्ति यथावत् थियो नै । उनले गुरुत्वाकर्षण शक्ति निर्माण गरेका होइनन् । बरु गुरुत्वाकर्षण शक्ति पनि छ है भन्ने कुरा जानेका मात्र हुन् । हाम्रो नवीनता भनेको त्यही अज्ञात कुरा जान्नु मात्र हो । त्यसलाई हेर्ने दृष्टि तयार गर्नु मात्रै हो । जुन कुरालाई हेर्ने दृष्टि हामी तयार गर्दैछौं- त्यो हेरिने कुरा हाम्रो आविष्कार होइन । बरु त्यसलाई बुझ्ने प्रयास मात्रै हो ।
आजको विज्ञान प्रविधि जुन उत्कर्षमा पुगेको छ । आखिर त्यो त प्रकृतिकै पिठ्यूँमा टेकेर उठेको उपलब्धि न हो । होइन र ? यी सम्पूर्ण थोक प्रकृतिकै अनुकृति हुन् । प्रकृतिको अनुकरण गरी भौतिकतामा परिवर्तन ल्याएको—सभ्यतामा हामी बाँचिरहेका छौं । भौतिक विज्ञान जति नै उत्कर्षमा पुगोस् आखिर त्यसलाई टेको लगाउने धरातल भनेको त प्रकृति नै हो । जुन सदा अस्तित्वमा रहिरहनेछ । उत्कर्षमा एक दिन विज्ञान ढल्ने निश्चित छ । तर प्रकृति कदापि ढल्नेछैन । प्रकृतिको स्वरूप फेरिएला तर अस्तित्वबाट विलीन हुने छैन ।
सन्दर्भ त साहित्यकै छ । लेखनमा अरूदेखि आफूलाई कसरी बेगल बनाउने विषयमा छ । त्यस दिन एक मित्रले भने, ‘सधैं एउटै कुरा कति लेख्नु ? नवीन विषय केही छैन । सप्पै लेखिएकै छन् । त्यसो हुँदा मैले यसपालि विदेशको घटनालाई लिएर एउटा उपन्यास तयार गर्दैछु ।’ उनका कुरा सुनेर मलाई बडो उदेक लागेर आयो ।
नवीनता ल्याउनको लागि घटना नौलो हुनुपर्ने उनको बुझाइप्रति म सहमत भइनँ । कथावस्तुले आफ्नो सिर्जनालाई नयाँ बनाउने होइन । अघि नै भनिएको छ- नवीनता त विचारले ल्याउने कुरा हो । हामी आफैंले भोगेको जीवनलाई त हामीले विश्वसनीय बनाउन सकेका छैनौं, कलापूर्ण बनाउन सकेका छैनौं भने आफूले नभोगेको विदेशलाई लिएर कस्तो सिर्जना तयार होला ?
यसरी नूतनत्वको लागि हामी अहिले एकदम अन्योलमा छौं । अपेक्षा छ हामी अरूदेखि भिन्न हुन चाहन्छौं । तर भिन्न हुने नौलो विषयवस्तु नपाएर असमञ्जसमा छौं । मित्र ! मेरो विचारमा तिमी त्यसरी कथावस्तुको लागि भौंतारिनु आवश्यक छैन । त्यसरी कदापि नभौंतारिनू ।
मेरो अनुरोध छ- तिमीले यसअघि जस्तो लेख्दै आयौ । हो तिनै घटना, पात्र अनि परिवेशलाई हेर्ने तिम्रो दृष्टि पृथक् बनाएर त हेर ! त्यसपछि तिमीले आफ्नो लेखनमा चमत्कार ल्याउने छौं । स्वतः तिम्रो सिर्जनामा पृथकता सिर्जिने निश्चित छ ।
प्रिय मित्र ! तिमीले यो कुरा बुझ्न आवश्यक छ- लेख्ने विषयको कहिल्यै अन्त छैन । लेखनको लागि आफूले नभोगेको, नदेखेको, पूर्ण ज्ञान नभएको विषय तिमी कदापि नटिप्नू । साँच्ची नै तिमी लेख्न चाहन्छौ भने तिमी आफैंले भोगेका, अनुभूति गरेका, जानेका, सुनेका विषयहरू असीमित छन्, अनन्त छन् । बस् त्यो अनन्ततालाई तिमीले देख्न सक्नुपर्छ । समय र परिस्थिति अनुसार त्यसलाई पर्गेल्ने दृष्टि फेर्नुपर्छ । अनि त सबथोक नवीन भएर आउनेछ ।
यसै क्रममा भन्ने इच्छा हुन्छ । प्रकृतिको एउटा नियम छ । समय र परिस्थिति अनुसार आफूलाई समायोजन गर्न नसक्नेको त्यसै क्षण अन्त्य निश्चित छ । कला साहित्यमा पनि त्यही कुरा लागू हुन्छ । युगानुकूल दृष्टि निर्माण गर्न नसक्नेको अन्त्य पनि नजिकै रहेको हुनेछ ।
साहित्यमा हामी कला लेख्ने गरौं । विचार लेख्ने गरौं । विचारको परिवर्तित रूप लेख्ने गरौं अर्थात् समाजको परिवर्तनलाई लेखौं । तब त हाम्रो लेखनको अन्त्य किमार्थ हुनेछैन । विचार र कला यी दुवै समयानुकूल फेरिइरहन्छन् । एकपछि अर्को रूप लिएर आइरहन्छन् । नवीकरण भइरहन्छन् । यसरी साहित्यमा विचार अनि कलालाई लेखनको उद्देश्य बनाएपछि कथानक- आफैं निर्माण हुन थाल्ने छ । आफैं घटना-परिघटना अनि पात्र र परिस्थितिहरू बन्दै जानेछन् । यसरी विचारले आफू बस्ने घर आफैं बनाउनेछ ।
त्यसो हुँदा कला-साहित्यमा समाजलाई हेर्ने, समयलाई हेर्ने, परिस्थितिलाई हेर्ने युगानुकूल दृष्टि छनोट गर्यौं । दृश्य नवीन भए पनि त्यसलाई हेर्ने आँखामा नूतनत्व छैन भने, कलापूर्ण दृष्टि छैन भने दृश्यको नवीनताले कुनै अर्थ राख्ने छैन ।
सम्पूर्ण कला साहित्य–प्रेमीमा हार्दिक निमन्त्रणा छ । विचारको क्रान्तिमा सम्मिलित हुनको लागि निमन्त्रणा छ । विचार बदलौं, साहित्य आफैं बदलिन्छ भन्ने चेतनाको आह्वानमा आउनुस् हामी सबै एक भएर मनन गरौं । साहित्य साधनामा सचेत भएर लागौं । लेख्नकै लागि मात्र लेख्ने नगरौं ।
भन्नु त अब केही पनि थिएन । तैपनि बोल्न मन भइरहन्छ । अन्त्यमा बाँकी एउटै कुरा छ- जब साहित्यमा हामी घटना लेख्न बस्छौं, त्यस क्षण तिनै कुराको पुनरावृत्ति मात्रै हुनेछ । त्यसै क्षण हाम्रो लेखनको अन्त्य पनि हुनेछ । केवल अन्त्य … ! विचारले मात्रै आफूलाई अरूभन्दा बेग्लै, अरूभन्दा नयाँ बनाउन सक्छ । किनकि प्रत्येक मानिसका आआफ्नै दृष्टि हुन्छन्, आफ्नै धारणा । त्यही धारणा नै तपाईंको पृथकता हुनेछ, तपाईंको चिनारी बन्नेछ, तपाईंको आफ्नो निजता हुनेछ । कला साहित्यमा त्यही निजतालाई लेख्ने गर्नुस् … !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

