कक्षामा एकदिन रेवती गुरुले ताना शर्माको घनघस्याको उकालो काट्ता पाठ यसरी पढाउनुभयो कि आजसम्म मेरो मानसपटलमा जीवित छ । मेरा गुरु यो धरामा नरहे पनि उहाँसँगको आत्मीयता जुगौंजुग बाँचिरहनेछ । यात्रा साहित्यको मिठास जगाउने श्रेय मेरा उनै रेवती गुरुलाई टक्र्याउँछु ।

जङ्गबहादुरको बेलाइत यात्रादेखि शुरू भएको नियात्रा लेखन आजका दिनसम्म आइपुग्दा यो विधाले ठूलो फड्को मारिसकेको छ । नेपाली साहित्य आकाशमा नियात्रा विधाका ताराहरू प्रत्येक दिन थपिने कार्य भइराखेको छ । तर पठन संस्कृति द्रुत गतिले अगाडि बढ्न सकिरहेको छैन । साहित्यकारको धङ्धङे पसेपछि हामी सबै लेखक बनिहाल्ने होडबाजीमा छौं । त्यसैकारण पो पाठकमा नैराश्य छायो कि, कुन चैं मीठो अथवा कुन चैं नमीठो, स्वाद चाखेर बोल्न प्रतिबन्ध लाएपछि किताब पढ्नुको पनि के औचित्य रह्यो र ? दिन माया मारेर पढ्यो, हात लागि सुन्ना । साँच्चै भन्नुपर्दा यहाँहरूलाई जस्तै हिजोआज मलाई पनि किताब पढ्न अल्छी लाग्छ । पाठकलाई अल्छी कसले बनायो – झुर किताब लेख्ने तपाईं लेखकले त होइन ??

मैले माथि थोरै भन्न छुटाएछु, आकाशमा भएका सबै तारा एकैनाशले चम्कँदैनन् नि त्यसैगरी सबै पुस्तक गुदी नभएका खोक्रा पनि त हुँदैनन् । सुन्नुस् त, अब गन्थन छोडेर यात्राका कुरा गरौं है ।

नेपालका राम्रा लेखकहरूको सूचीमा पर्छन् ‘जय छाङ्छा’ । उनको नयाँ नियात्रासंग्रह ‘साङ्ग्रिलाको पुछारतिर’ मैले भर्खरै पढेर सकें । उनको किताब पैदलै काठमाडौंका चुलीहरू मैले धेरै वर्ष पहिले पढेकी थिएँ । उनी एक मस्तमौला कवि पनि हुन् भन्ने कुरा त यहाँहरूलाई थाहा होला पक्कै । साँच्चै भन्नुपर्दा उनलाई कविकै रूपमा चिनेको हो मैले । छाङ्छाका प्रेमिल कविताहरू पढ्नुभएको छैन भने खोजेर पढिहाल्नुस् है !

उनको यस नियात्रासंग्रह भित्र चौवीस वटा शीर्षकमा यात्रा लेख रहेका छन् । विविध विषय र सन्दर्भका यायावरीय रचनाहरू पढिसक्दा सिङ्गो भारत मोटामोटी घुमिसकिन्छ ।

अझ भारत मात्र कहाँ हो र, पाकिस्तान, भूटान अनि नेपालका धेरै ठाउँहरूको भ्रमण एउटै किताबमा गर्न सकिन्छ । नेपाली यात्रा साहित्यमा नित्य पाइला चालिरहने एक यायावर हुन् छाङ्छा ।

उनै छाङ्छा भारतस्थित नेपाली दूतावासमा कार्यरत रहेका वेला विभिन्न ठाउँको यात्रा गर्ने अवसर मिलेको भन्ने प्रमाण नै यस पुस्तकले जनाउँछ । नयाँ ठाउँ घुमेर कहिल्यै नअघाउने अनि लेखेर कहिल्यै नथाक्ने लेखक ‘वालेड सिटीलाई उचालिएका पाइलाहरू’ मा लेख्छन् – “म जस्तो भ्रमणलग्गु मान्छेलाई नयाँ देशको भ्रमण गर्ने सौभाग्य मिल्नु भनेको भोकाएकालाई एक्कासि खीर मिल्नु जस्तै हो । किनकि सधैंसधैं मलाई लाग्छ भ्रमणबाट दिमागलाई भिटामीन र प्रोटिन दुवै सहज रूपमा मिल्न सक्दछ । सृजनाका अवयवहरू एकदम तन्नेरी भएर आएको महसुस गर्ने गर्छु । सधैँ निगरानी राख्ने नयनहरू लिएर जुट्ने गर्छु यात्राका लागि म ।”

नियात्राकार छाङ्छाको यो पुस्तकमा मलाई सबैभन्दा मन पर्ने कार्य भनेको प्रत्येक लेखमा सन्दर्भसूचि सहित ठ्याक्क मिलाएर प्रसङ्गलाई जोड्ने शैली । यसो गर्नाले लेख चखिलो त हुन्छ नै, आफूलाई थाहा नभएको जानकारी प्राप्त हुँदा पाठकलाई लेखसँगको मोह अझै बढ्छ । प्रत्येक लेख पढ्दैजाँदा सन्दर्भ सूचीलाई पनि एक, दुई, तीन गर्दै नम्बर दिंदै अन्त्यमा जोडेको पैँतालीस वटा त सन्दर्भसूची रहेछन् ।

अब भन्नुहोस् हजुर आफैं, एउटा यायावरले कति धेरै किताबको अध्ययन गर्नुपर्ने रहेछ राम्रो नियात्रासंग्रह तयार पार्नका लागि । आजभोलि नियात्रा विधाका पुस्तक निकाल्नेको लहर चलेको छ । किताब लेख्नुहोस् तर धेरै अध्ययनपश्चात् मात्र ।

यात्रा निबन्धमा वास्तवमा लेखकले पाठकलाई आफूसँगै ती स्थानको यात्रा गराउन सक्नुपर्छ । त्यसका लागि लेखकसँग यात्रास्थलका बारेमा सूक्ष्मभन्दा सूक्ष्म जानकारी हुनुपर्छ । उनले आफ्नो यात्रावर्णनभित्र अरू लेखकले त्यो ठाउँ पुगेर लेखेको कुरालाई पनि सन्दर्भसँग ट्वाक्क जोडेका छन् ।

जस्तै, “मभन्दा करीब पौने सात सय वर्ष अगाडि मोहम्मद इवन बट्टुटा आइपुगेका थिए दिल्ली अर्थात् वालेड सिटीमा । वालेड सिटीको पवित्र माटोमा टेक्दाटेक्दै झट्ठै सम्झिएँ उनको नियात्रा अभिलेखलाई । उनी सन् १३२५ देखि १३५४ तक संसारभरिका मुस्लिम देशमा राजनैतिक स्थितिलाई बुझ्ने ध्येयले यात्रामा समावेश भएका थिए ।”

अब उनले पहिलो पटक भारत देखेर कस्तो प्रतिक्रिया दिए भन्ने कुरा थाहा पाउन पाठक आफैँले साङ्ग्रिलाको पुछारतिर नामक पुस्तक पढ्नुहोस् भनीकन आग्रह गरेँ ल ।

हेर्नुहोस् न यसरी सन्दर्भ सूचीलाई कोष्ठकभित्र राखिदिएका छन् लेखकले – (इवन बटुट्टा, ट्राभेल्स इन एसिया एण्ड अफ्रिका, १३२५–१३५४, ट्रान्सलेटेड एण्ड सेलेक्टेड एच. आर. गिव. पिल्ग्रिम्स पब्लिसिङ, वाराणसी १९९८) ।

यहाँ प्रयुक्त “नियात्रा” भन्ने शब्दले यात्रावर्णनको मात्र अर्थ नबुझाई आत्मपरक शैलीलाई बढी महत्त्व दिएको छ । उक्त शैलीले यस नियात्रासंग्रहमा पाठकले लेखक सँगसँगै नयाँ स्थानहरूको आफैँ यात्रा गरेझैं अभूतपूर्व र अति आकर्षक अनुभव गर्छन् । आगरा जाने कार्यक्रम निश्चित भएपछि खुशीले पुलकित भएको लेखकको त्यो मनलाई शब्दमार्फत हामी अनुभूत गर्न सक्छौँ ।

“भित्ताका कान भएको भवनमा रुमल्लिंदा”मा उनी लेख्छन् – “मुख्य हलको बाहिरबाट चौरासी वटा सिँढी चढेर भुलभुलैयाको अवलोकनमा हामी लाग्यौँ । नवाब असिफ उद दाउलाको शासनकाल सन् १७८४ मा अनिकालको महामारीले गर्दा राज्य संकटमा पर्न गएको थियो । सो महामारीबाट आफ्ना जनतालाई राहत दिन वा रोजगारी दिलाउने हेतुले तिनै राजाले बडा इमामबरा (भुलभुलैया) बनाउन लगाएका रहेछन् । अचम्मको चाखलाग्दो कुरा चैँ इमामबराको झ्यालबाट टाढा मूल सडकमा हिंड्ने व्यक्तिहरू चिन्न सकिने रहेछ । ठूलो हलमा कहाँ के भइरहेको छ ? कसले के बोलिरहेको छ ? सबै कुरा नियाल्न र सुन्न सकिने रहेछ । त्यो भवनका भित्ताहरूले कानको काम गर्ने रहेछन् ।”

कुन प्रविधि प्रयोग गरेर र कुन तकनिकीको आधारमा आजभन्दा ठ्याक्कै सवा दुई सय वर्षभन्दा अगाडि निर्माण गरियो होला यस्तो आश्चर्य लाग्ने बडा इमामबरा उर्फ भुलभुलैया । त्यसवेलाको समयमा यस्तो नवीन कुराको सोच गरेर तयार पार्ने आर्किटेक्ट इन्जिनियरको दिमागलाई मान्नैपर्छ हामीले ।

वाराणसीलाई हिन्दूहरूले पवित्रस्थल भनेर युगौंदेखि विश्वास गर्दै आइरहेका छन् । भारतको उत्तर प्रदेश राज्यमा रहेको एउटा प्राचीन शहर वाराणसी विभिन्न दृष्टिकोणबाट प्रसिद्धिको शिखरमा रहेको छ भन्दा कुनै अत्युक्ति नहोला ।

यसको प्राचीन नाम वाराणसी भए तापनि जनजिब्रोमा बनारस भएर प्रिय रहेको छ । भारतको बनारस हाम्रो परिवारका लागि कहिल्यै भुल्न नसकिने नाम हो । मेरा तीनजना दाजु लगायत धेरै आफन्तले उतै गएर उच्च शिक्षा तहको अध्ययन गर्नुभएको हो रे । त्यसमा पनि हाम्रा ठूल्दाजु डा. तुलसीप्रसाद भट्टराईको परिवार बनारसमै बस्नुहुन्थ्यो । वर्षमा एकपटक दशैंको मौका पारेर सपरिवार दमक घरमा आउनुहुन्थ्यो । दाजुहरू दमक घरमा भित्रिएपछि मात्र हाम्रो घरमा दशैंको रौनक छाउँथ्यो ।

हामी केटाकेटीलाई बनारसको कोसेली भन्दै लेराइदिनुहुने मिठाइ, चुरा, कपालमा लगाउने कलरफुल रिबन, बालकथाका किताबहरू र तीसँग गाँसिएका मीठा सम्झना म कहिल्यै भुल्न सक्दिनँ । दाजुले हाम्रा लागि सिङ्गो बनारसै बोकेर ल्याउनुभा’को छ जस्तो ठान्थ्यो मेरो कलिलो बालमस्तिष्कले । त्यतिवेला देखिको बनारसप्रतिको मीठो छाप छाङ्छाको वाराणसीका सौन्दर्यहरू शीर्षकसँगै फेरि ताजा भएर आए । अब लेखकका कुरा पढौँ है त ।

गंगा नदीलाई देख्नासाथ धार्मिक भावनाले ओतप्रोत भएर मेरा सम्पूर्ण मनहरू छरिए अवयवभरि । मेरो मनमा एकप्रकारको खुल्दुली भई नै रहेको छ यसवेला । के साँच्चै ! मैले स्वर्गको सिँढी चढेँ त पवित्र गंगा नदीको तिरमा पाइला राख्दा ? गंगा स्नानले मेरो मनमा रहेको कालोमैलो पखालिएर जान्छ त ? गंगाजल शरीरभरि छर्कंदैमा मैले गरेका दुष्कर्महरूबाट मुक्ति पाउँछु होला त ?”

यस्तै प्रश्नउत्तर चलिरहन्छ छाङ्छाको मनमा । आस्था र विश्वासका अगाडि नकारात्मक सोच आफैं परास्त भैजान्छ होइन र । पवित्रस्थानमा पुगेपछि शुभ विचार मात्र राख्नुपर्छ भन्छु म चैँ लेखकज्यू । उनी लेख्छन् – “आज वाराणसीको गंगा नदीमा मोटरबोटहरू देख्ता राइन नदीको किनारमा रहेको अनुभूति गरिरहेको छु । दुई दशक अघिको समय ताजा भएर आउँदा ज्यादै रोमाञ्चित बनेको छु , एकाबिहानै गंगा नदीको तीरमा ।  दशाश्वमेध घाटको अगाडि उभिइरहेको छु यसवेला । काठमाडौंमा हुँदासम्म घाट भनेकै अन्तिम संस्कार गर्ने स्थान हो भन्ने कुरासँग परिचित थिएँ म । तर यहाँका घाटहरू त पशुपतिको आर्यघाट भन्दा भिन्न रहेछन् । यहाँका घाटहरू त नुहाउने स्थान पो रहेछन् ।”

यसरी घाटको अर्थ वाराणसीमा बेग्लै रहेको पाउँदा पारम्परिक सोचलाई विस्तार गर्ने काम भ्रमणले गर्ने रहेछ भन्छन् लेखक । वास्तवमा वाराणसी विश्वका सबै धर्म, जाति र समुदायको साझा थलो हो । त्यस्तो पवित्रस्थान, आशा र भरोसाले परिपूर्ण अनि मूर्त एवं अमूर्त सौन्दर्यले भरिएको शहरमा लेखकले उनको निजी जीवनका केही क्षणहरू बिताएका कुरा पढिल्याउँदा बडो आनन्द लाग्छ पाठकलाई ।

यसवेला मुम्बईमा जन्मिएका ब्रिटिश लेखक डम मोरिसले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आर्यघाटको मृत्युशैयामा भेट्न पुग्दाको केही हरफहरूलाई सम्झना गर्न पुग्छन् लेखक । उनले “डाइङ्ग पोयट” शीर्षकीय लेखको प्रारम्भमा देवकोटाको भनाइलाई यसरी उद्धृत गरेका छन् – मृत्युवरण गरिरहेकाहरू अतीव अशुद्धी नबन्नुहोस्, कासीलाई जलिरहन दिनुहोस् …. । (डम मोरिस, गोन अबे, विलियम हाइम्यान लि.१९६०)

आकाश जत्तिकै उचाइ नाम्चीमा पुग्दा उक्त शीर्षकमा केदार नामका एक व्यक्तिलाई लेखकले चिठी लेखेका छन् । सासू पृथ्वीमायाको निधनको खबर सुनेर समवेदनाका केही शब्द चढाउन नयाँ दिल्लीबाट पूर्व सिक्किमको रिगुमा आइपुगेका लेखक छाङ्छा लेख्छन् – “केदारजी ! सम्झनाको विशाल फाँटमा मृत्युले बनाएको गहिरो खाडलमा जकडिरहनुपर्ने रहेछ बाँच्नेहरूले । समुद्रमा बग्ने पानीजस्तो नहुने रहेछ मान्छेको आयु । विगत सम्झँदा पनि कहालीलाग्दो भीरजस्तो भइने रहेछ । आफैँ विश्वास नै गर्न नसकिने खालका भोगाइलाई सहर्ष स्विकार्नु पर्ने रहेछ मान्छेहरूले ।” जेजस्तो परिस्थितिलाई पनि सहन गरेर अगाडि बढ्ने मानिस नै गन्तव्यमा पुग्नेछ एकदिन । सुख र दुःख त जीवनका अभिन्न पाटा हुन् नि लेखक ज्यु । अब फेरि केदारको पत्र पढौँ एकछिन ।

पूर्व सिक्किमको रंगेली बजारबाट फोङ्गला, खोरलोनको बाटोबाट मणिराम भञ्ज्याङ हुँदै नाम्चीको धुपीडाँडामा पुगिसकेपछि बाटाका मनमोहक दृश्यले लेखकको मन लोभिन्छ । सिक्किम सम्झँदै उनी लेख्छन्, “इन्द्रका छेउमा स्वर्गको बयान” केदारजी सिक्किमले मलाई मोहनी लगायो ।”

मणिराम भञ्ज्याङमा जम्काभेट भएका आदरणीय कवि अगम सिं तामाङको सालिक अनि त्यसै वरिपरि नाचिरहेको भुईं कुहिरोको बखानले पाठकको मनलाई पनि सिक्किम पुर्याइछोड्छ । त्यहाँबाट जङ्गल घारीलाई नाघेर उचाइमा रहेको सामडुप्ची हुँदै गान्तोक जान्छन् लेखकको टोली । साँझको बिजुलीबत्तीमा गान्तोकको रुप झल्झली बलेको देख्छन् उनीहरूले । एम.जी. रोडको काखमा बसेर सिङताम बजारको रमाइलोमा डुब्दै साथी केदारको नाममा लेखकको चिठी पढ्दा पाठकलाई मज्जा नआउने त कुरै भएन ।

सिक्किम गएका वेलामा भूटानको यात्रामा जुट्ने निर्णय एक्कासि मिलेको सन्दर्भ रोचक छ । छाङ्छाले ब्रिटिश लेखक जेम्स हिल्टनको उपन्यास लस्ट होराइजन अध्ययन गरेका रहेछन् । हिल्टनले उक्त उपन्यासमा उल्लेख गरेअनुसार साङ्ग्रिलाका बासिन्दामा अमरत्व हुने, शतायु उमेर र वृद्धत्व एकदमै बिस्तारै बढ्दै जाने र बज्रयाना बुद्धिस्टहरूका बसोबास भएको देशमा उल्लेखित विशेषताहरू पाइने स्थानलाई साङ्ग्रिला भनिकन उल्लेख गरेका छन् ।

लेखकले लस्ट होराइजन उपन्यासमा लेखेका कुरालाई यसरी उद्धृत गरेका छन् –“स्वस्थ हावापानी रहेको स्थान भन्दै सोही उपन्यासमा हिल्टनले साङ्ग्रिलाको हावामा विशिष्ट गुण रहेको सायद यसको उचाइको कारणले होला, त्यो एक शक्तिले नै नक्कली आवेगलाई त्याग्न सक्ने होला त्यसैकारण साङ्ग्रिलामा बाँचिरहन जादूगरी उमेर तप्काइएको छ । अद्भुत तरिकाले समय र मृत्युको विरुद्धमा जगाइएको छ । जेम्स हिल्टन, लस्ट होराइजन, पिल्ग्रीम पब्लिसिङ, वाराणसी, कपिराइट २००७ ।”

छाङ्छा लेख्छन्, “सन् १६६० मा ङावाङ्ग नाम्ग्यालसँग राम शाहले मैत्री सन्धीमा हस्ताक्षर गरेअनुसार ५० जना नेपालीहरूलाई भूटानमा बस्ने अनुमति प्रदान गरिएको थियो । स्पष्ट रूपमा बुझ्न सकिन्छ कि भूटानमाथि शत्रु देशले हमला गर्दा रक्षाका लागि नेपाली नागरिकको आवश्यकता पर्यो । तर काम छउञ्जेल भाँडो, काम सकिएपछि ठाँडो भन्ने आहान जस्तै कालान्तरमा नेपाली मूलका भुटानी नागरिकहरूलाई ल्होत्साम्पा भनियो ।…”

हाम्रै नेपालीभाषी दाजुभाइले शदियौंदेखि बोल्दै, लेख्दै र पढ्दै आएको नेपाली भाषामा सर्वत्र प्रतिबन्ध लगाएको हामी सबैलाई सर्वविदितै छ । नेपाली मूलका नागरिकहरूले आफ्नो हक, अधिकार र स्वतन्त्रता माग्दा राज्यले आतङ्क मच्चाई देश छोड्न बाध्य पार्यो । राज्य आतङ्कबाट बच्न भूटानबाट लोत्साम्बाहरू भागेर नेपाल आइ शरणार्थीका रूपमा बस्न बाध्य भए । कति मारिए, कतिलाई आजिवन कारावासमा राखियो, कति बेपत्ता पारिए अनि कति अङ्गभङ्ग भएर बाँचिरहेकाछन् भन्ने कुरा हामीलाई थाहै छ ।

लेखक भन्छन्, “भूटान पुगेपनि मन पटक्कै खुशी भएन किनकि वर्तमान भूटानको क्रियाकलाप मनभरि दिमागभरि एक तमासले सलबलाइरह्यो मन दुखिरह्यो,म विक्षिप्त भइरहें, शरणार्थीको नाम भजाएर खानेलाई डाहा छटपटी हुन्छ कि हुँदैन होला….”

साङ्ग्रिलाको पुछारतिर नियात्रासंग्रह पढिसकेपछि मलाई यस्तो लाग्यो कि कहिल्यै कसैले नदेखेको ठाउँलाई स्वर्गको स्थान दिनुभन्दा यसरी आफूले देखेको, हिंडेको, डुलेको ठाउँ जहाँ मन हराइजान्छ त्यो ठाउँलाई स्वर्ग भन्नु उचित हो । त्यसैले, पृथ्वी बाहेक अर्को कुनै स्वर्ग छैन । जुन किताब पढेर स्वर्गीय आनन्द प्राप्त हुन्छ, त्यो लेखक नित्य बाँचिरहन्छ । पाठकका सपाट मानसपटलमा छाङ्छाको कहिल्यै मृत्यु नहोस् ।