छविलाल उपाध्याय खतिवडाको जन्म पिता स्व. प.रामनाथ उपाध्याय खतिवडा र माता स्व. धनमाया उपाध्याय खतिवडाका पुत्ररत्नका रूपमा ३ नोभेम्बर १९३६ मा भएको थियो । सन् १९९५ देखि उपाध्याय राङागडा उच्च माध्यमिक विद्यालयबाट शिक्षक र सन् २००३ देखि असम सरकारद्वारा आजीवन साहित्यिक भत्ता (जीवनवृत्ति) प्राप्त स्रष्टासमेत हुन् । शनि मन्दिर मार्ग, ढेकियाजुली, शोणितपुर निवासी उपाध्यायका विभिन्न विधाका अनुवादसहित तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । पछिल्लो समयमा उपाध्यायका तीन वटा कृतिहरू प्रकाशित छन् ।

बटुलबाटुल

सन् १९७५ देखि निरन्तर सृजनात्मक कार्यमा संलग्न रहेका छविलाल उपाध्यायको यो कृति ३२ औं कृति हो । यसमा समीक्षात्मक निबन्धसहित जीवनसम्बन्धी अभिलेख रहेका छन् ।

यसमा मैले जान्दाका पुराना साहित्यकार, पतिङ्गरको इतिहासलाई निहाल्दा, महापुरुष श्रीमन्त शङ्करदेव : एक अध्ययन, श्रीमन्त शङ्करदेवका गीत रात अनि नृत्यभित्र रुमलिंदा, भारतीय शास्त्रीय सङ्गीत समूहमा राग, श्रीमन्त शङ्करदेवको नृत्यसम्बन्धी : एक दृष्टि, अक्लान्त साधकप्रति, शुभेच्छा एवम् अभिनन्दन, प्रतिभाका धनी जगनिधि दाहाल, शिवकुमार राईप्रति श्रद्धा सुमन, कृतज्ञता ज्ञापन डा.भीमकान्तज्यूमा, शुभकामनाका दुई शब्द, शताब्दी पुरुष श्रीमान् चन्द्रमोहन कार्कीज्यूप्रति, प्रतिभाका धनी पुण्यप्रसाद उपाध्याय भट्टराई, गुरुदक्षिण, शुभकामनाका दुई शब्द भूमिका होइन, सिन्की गुन्द्रुक, भाषा मान्यता आन्दोलनका सन्दर्भमा गरी अठार वटा रचनाहरू रहेका छन् ।

—-

स्रष्टा सृष्टि तथा दृष्टि

समीक्षक छविलाल उपाध्यायको समीक्षात्मक विधाको यो छैटौं कृति हो । यसभित्र रहेका समीक्षाहरू मध्ये ‘महाकवि कालिदास तथा महाकवि देवकोटा एक : तुलनात्मक अध्ययन’ मा महाकवि कालिदास तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा समसामयिक कवि नभए पनि यी दुवै महाकविका भावधारा एवम् विचार मिल्दोजुल्दो पाइन्छ । यी दुवै विभूतिका रचनाको तुलनात्मक अध्ययन यसमा गरिएको छ । तुलसीराम शर्मा ‘कश्यप’ को सन् १९९० मा साहित्य अकादमी पुरस्कार प्राप्त कृति आमा महाकाव्य हो । यो महाकाव्य दुई सय ६७ पृष्ठको रहेको छ । यसमा २७ सर्ग वा अध्याय छन् भने यस महाकाव्यमा ११ छन्दको प्रयोग गरिएको छ । यसै कृतिमाथिको ‘आमा महाकाव्यभित्र रुमलिंदा’ अर्को रचना रहेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य शाकुन्तलमाथिको ‘शाकुन्तल महाकाव्यको काव्य सौष्ठव’ समीक्षा रहेको छ । यसमा देवकोटाको भाषा समृद्ध तथा सशक्त अभिव्यक्तिले युक्त छ । देवकोटाको कल्पना शक्ति अद्वितीय छ भन्दै उच्चकोटीको महाकाव्य र कवि भनेर निष्कर्ष निकालिएको छ ।  समीक्षक उपाध्यायले भारतीय भाषासाहित्यबाट नेपाली साहित्यबाट अनुवाद भएका तर उपाध्यायले प्राप्त गरका २३ जना अनुवादकका कृतिमाथिको समीक्षा ‘जीवनका बाटामा डुल्दैजाँदा’ रहेको छ ।

आदिकवि भानुभक्त आचार्यमाथिको जीवनीमाथिको समीक्षा ‘भानुभक्त आचार्य : एक टिप्पणी’ रहेको छ । यस समीक्षामा पूर्वी भारतको असम भूमिमा भानुका प्रतिमूर्ति कहाँ र कहिले स्थापना गरिएको समेत उल्लेख गरेका छन् । ‘प्रा.लीलबहादुर क्षत्रीका तीनकृति’ यसमा लीलबहादुर क्षत्रीका बसाइँ (सन् १९५७), अतृप्त (सन् १९६९) र ब्रह्मपुत्रको छेउछाउ (सन् १९८६) माथिको समीक्षा रहेको छ ।

पूर्वी असमको डिब्रुगड वर्तमान लखिमपुर जिल्लाको लाइमाकुरीमा सन् १९०६ नोभेम्बरमा बुबा देवीचरण चापागाईं र आमा देवकीका पत्रुरत्न पुष्पलाल चापागाईंको जन्म भएको थियो । चापागाईं सन् १९४४ देखि साहित्यमा प्रवेश गरेका थिए । यिनै चापागाईं माथिको समीक्षा ‘कवि चूडामणि पुष्पलाल उपाध्यायका सन्दर्भमा’ रहेको छ । यस समीक्षामा कवि चूडामणि पुष्पलाल उपाध्याय चापागाईं र उनका काव्यकृतिको सङ्क्षेपमा अध्ययन गर्ने कार्य गरिएको छ ।

पूर्वाञ्चलमा देखापरेका नारी स्रष्टामध्ये रिजु देवी एक हुन् । यिनको जन्म ३० जुन १९७८ मा तेजपुरमा भएको थियो । यिनी गायिका समेत हुन् । यिनको ‘गीतमञ्जरी’ गीतसंग्रह प्रकाशित छ । यसै गीतसंग्रह माथिको समीक्षा हो ‘गीतमञ्जरीभित्र निहार्दा’ ।  साहित्य परिचय गरी सात वटा समीक्षात्मक निबन्धहरू रहेका छन् ।

—-

अनुभवका तीसौं पाइला

यो कृति ‘अनुभवका तीसौँ पाइला’ समीक्षात्मक निबन्धसंग्रह हो । यसभित्र ‘कवि पुष्पलाल उपाध्याय र उनको पुष्पाञ्जली’ शीर्षकको पहिलो समीक्षा रहेको छ ।

यो कवि पुष्पलालको पहिलो कृति ‘पुष्पाञ्जली’ कवितासंग्रह माथिको समीक्षा हो । फरवरी १९२७ मा दार्जीलिङमा जन्मिएका स्रष्टा एवम् द्रष्टा इन्द्रबहादुर राईमाथि समीक्षा ‘नेपाली साहित्यका महारथी’ रहेको छ । त्यसैगरी मार्च १९१५ मा कोहीमा चान्दमारीमा जन्मिएका हरिप्रसाद ‘गोर्खा‘ राईका बारेमा ‘मैले जानेका स्वर्गीय हरिप्रसाद गोर्खा राई’ समीक्षा रहेको छ ।

सन् १९९४ मा नेपाली साहित्य परिषद्को अधिवेशनमा गोपीनारायण प्रधानसँग भएको पहिलो भेटदेखि सन् २०११ मा बनारसमा उदय पत्रिकाका सम्पादक स्व.काशीबहादुर श्रेष्ठको जन्म शतवार्षिकीमा भएको सातौं भेटका बारेमा ‘स्व. गोपीनारायण प्रधानलाई सात चोटि भेटें’ संस्मरणात्मक समीक्षा रहेको छ ।

सन्१९३६मा शोणितपुरको नौबिलमा जन्मिएका तारानिधि उपाध्याय लुइँटेलमाथिको ‘श्रद्धाञ्जली तारानिधि उपाध्याय : एक स्मृति’ रहेको छ । १९५० मा बडसोलामा जन्मिएका ए.पी.एस.जनार्दन सापकोटाले भोगेका देखेका विषयमाथि ‘अविस्मरणीय व्यक्तित्वप्रति’ समीक्षा रहेको छ । नेपाली भाषाको प्रयोगको विविधतामाथिको समीक्षा ‘विशुद्ध नेपाली भाषालाई विकृत नपारौं’ रहेको छ ।

१८ जनवरी १९५६ का दिन देहरादूनबाट भाषा मान्यताका निम्ति आनन्द थापाको अगुवाइमा नरेन्द्रसिंह राना, वीरसिंह भण्डारी लगायतले पैदलयात्रा गरेर शुभारम्भ गरेका नेपाली भाषा मान्यता आन्दोलनमाथिको समीक्षा ‘भाषा मान्यताको आन्दोलनका सन्दर्भमा’ रहेको छ । छन्दका बारेमा ‘छन्दमा कसरी लेख्ने ?’ रहेको छ । के.बी.नेपालीको अभिनन्दन ग्रन्थमा समावेश रहेको शुभकामनाका दुई शब्द रहेको छ ।

यस संग्रहमा ‘छविलाल उपाध्यायसितको अन्तर्वार्ता’ साहित्यपोष्टका लागि दीपक सुवेदीले लिएको अन्तर्वार्ता अन्तिममा रहेको छ ।