कवि बद्री भिखारीसँग भेट्ने योजना निकै पहिलेदेखि बनाए तापनि भेट्न सकेको थिइन । उनी बीचमा अस्ट्रेलिया पनि गएका थिए । पूर्व घुम्ने क्रममै मलाई एकदिन बद्री दाजुलाई मेसेज गरूँ गरूँ लाग्यो । उनीसँग मेसेजमा कुराकानी भएपछि दाजु अस्ट्रेलिया रहेको कुरा थाह पाएँ । तर, छिट्टै फर्कन लागेको कुरा उनले बताए ।

उनी फर्किएको थाह पाएपछि भेटघाट गर्न म इटहरी पुगें । चियासँगै बद्री दाइका मीठा किस्साहरू श्रवण गरेर आनन्दित भएँ । सोही स्थानमा देवान किराँती दाजु, साथी विवश रेग्मीसँग पनि मीठो भेटघाट र कुराकानी भयो । तिनै तीतामीठा किस्सा पाठकसमक्ष प्रस्तुत गर्न म जाँगर चलाउँदै छु ।

भिखारीलाई पागलको फोन

यो प्रसङ्ग त्यति वेलाको हो, जब बद्री जिल्ला हुलाक मोरङमा कार्यरत थिए । साहित्यकार उपेन्द्र पागल सूचना केन्द्र विराटनगरको हाकिम थिए । हुलाकमा भर्खरै लोकप्रसाद आचार्य नाम गरेका नयाँ हाकिम आएका थिए । जो कवि तथा मुक्तककार समेत हुन् । सधैं झैं आचार्य आफ्नो कार्यालयमा बसिरहेको वेला एउटा फोन आयो । उनले फोन उठाए । बद्रीको कोठा पनि नजीकै भएकाले उनले उक्त फोनको वार्तालाप सुन्न सक्थे । वल्लो पल्लो कोठा थियो भनौं न ।

उताबाट ‘भिखारीलाई पाऊँ न’ भनियो । आचार्यले दोहोर्‍याएर ‘कसलाई अरे ?’ भन्दै पुनः सोधे । ‘भिखारीलाई’ उताबाट अघिकै जवाफ आयो । आचार्यले अचम्ममा पर्दै हाँस्दै सोधे, ‘को भिखारी हौ यहाँ ? हुलाकमा को भिखारी छ ?’

उताबाट ‘बद्री भिखारी’ भन्ने उत्तर दिइयो । अनि आचार्यले ‘तपाईं चाहिं को बोल्नुभएको ?’ भनेर सोधे । उताबाट ‘म पागल बोलेको’ भने ‘उपेन्द्र पागल बोलेको’ । केही समयपछि आचार्यले चिने र बद्रीलाई बोलाएर फोन दिए । उपेन्द्र पागलको फोन कल आचार्यका लागि लामो समयसम्म हाँसोको विषय बन्यो । उनी यही प्रसङ्ग सम्झेर सात दिनसम्म हाँसिरहे । उनी बेलाबेला हाँस्दै बद्रीलाई भन्थे ‘ओ भिखारीजी पागलको फोन आएन ?’

बद्रीको पछाडि यसरी जोडियो भिखारी

बद्रीको जीवनमा “भिखारी” नाम कसरी जोडियो भन्ने कथा निकै भावनात्मक छ । यो नाम उनकै जीवनको एक अति पीडादायी घटनासँग सम्बन्धित छ, जसले उनलाई भित्रैदेखि झकझक्याएको थियो ।

त्यतिवेला बद्री धनकुटास्थित कृषि तथ्याङ्क विभागमा काम गर्थे । १०-१२ दिनको फिल्ड काज पाएका उनले भेडेटारका विभिन्न गाउँहरूमा रिपोर्ट सङ्कलन गर्नुपर्ने थियो । तर, सबै काम एकैदिनमा सक्छु भनेर उनी केही दिन घरमै आराम गरेर बसे । समयसीमा नजिकिंदै गएपछि, उनी गाउँ-गाउँ रिपोर्ट लिन निस्किए ।

भेडेटारमा रिपोर्ट बनाउने क्रममा उनले आफ्नी प्रेमिकाको निधन भएको थाह पाए । उक्त दुर्घटना भएको थाह पाएपछि बद्रीको होसहवास नै उड्यो । उनलाई आफू के गर्दैछु, कहाँ जाँदैछु भन्ने सम्म ज्ञात भएन । १०/११ गाउँ पञ्चायत घुमेर उनले सचिवसँग आफू त्यहाँ पुगेको प्रमाणित गराए र एकैदिनमा रिपोर्ट लिएर हिंडे । उनी शारीरिक रूपमा चलायमान भए तापनि मानसिक रूपमा पूर्णतः बेहोसी अवस्थामा थिए ।

यस क्रममा आफू कति कोष हिंडे भन्नेसम्म उनलाई थाह भएन । बेहोसी तालमै हिंडे उनी । तमोरमा पुगेपछि अन्तिम गाडी आयो । बसमा निकै भीड थियो । पछाडि पट्टि भर्याङमा झुन्डिएर उनी धनकुटा पुगे । उनलाई बसबाट ओर्लिएको थाह छ, त्यसपछि के भयो भन्ने स्मरण छैन ।

उनी बेहोस भएर अस्पतालमा भर्ना गरिए । तीन दिनपछि अस्पतालबाट उनी कोठामा गए । प्रेमले मान्छेलाई कतिसम्म आघात पर्छ भन्ने कुरा बद्रीको यस प्रसङ्गबाट बुझ्न सकिन्छ । यही घटनापछि उनले आफ्नो नाम भिखारी राखे । बद्री भन्छन्, ‘मनमा के आयो आयो, त्यसपछि मलाई भिखारी नाम राख्न मन लाग्यो ।’

फर्किएको पीडा

०५५ सालतिर बद्री धरानमा नागरिकता फाँटमा काम गर्थे । एकदिन दुई जना दाजुभाइ नागरिकता बनाउन आए । यसो हेर्दा, एउटा करीब १६ वर्षको जस्तो र अर्को १८ वर्षको जस्तो लाग्थ्यो । दुवै उस्तै किसिमको सोलो डोलो शरीर भएका थिए । उनीहरूका कागजात हेर्दै बद्रीले सोधपुछ गरे । यस क्रममा उनी स्तब्ध भए । उनको शरीर यसरी चिसियो कि त्यसपछिको क्रियाकलापबारे उनलाई स्मरण नै छैन । यद्यपि उनले नागरिकताको सबै प्रक्रिया पूरा गरे, सनाखत गर्ने, फोटो टाँस्ने, हस्ताक्षर गराउने काम समेत सकेर नागरिकता प्रदान गरे ।

नागरिकता दिएर पठाएपछि उनलाई चक्कर लागे जस्तो भयो । ‘एकदम भाउन्न भएर म हिंडे,’ उनी भन्छन्, ‘काम गर्ने मनस्थिति नै भएन’ । २ बजे तिर कार्यालयबाट बिदा मागेर सरासर घर गए । घर बस्दा पनि उनी एक किसिमको तनाव र आन्तरिक अशान्तिले ग्रस्त भए ।

श्रीमान्लाई यस्तो अवस्थामा देखेपछि श्रीमतीले सबै कुरा बुझ्न खोजिन् । अनि बद्रीले व्याख्या गरे । ती नागरिकता लिन आएका केटाहरू कुनै अरू नभएर, भेडेटारमा रहेकी उनकी प्रेमिकाका दिदीका छोराहरू रहेछन् । त्यो थाह पाएपछि बद्री केही वर्ष अघिको त्यही मानसिक अवस्थामा पुगे ।

श्रीमतीले बद्रीलाई ‘पुराना घटना बिर्सनुपर्छ । आफ्ना छोराछोरी हेरेर चित्त बुझाउनुपर्छ’ भन्दै सम्झाइन् । त्यसबाट बाहिर निस्कन आफूलाई ३/४ लागेको बद्री सम्झन्छन् ।

टिचिङ अस्पताल

आफूलाई जन्डिसले सताइरहने बद्री बताउँछन् । एक पटक जन्डिस भएपछि उनी उपचार गर्न टिचिङ अस्पताल काठमाडौँ गए । त्यतिवेला टिचिङ अस्पतालमा निकै कमजोर आयस्रोत भएका ४ जना बिरामीका लागि मात्र बेड उपलब्ध थियो ।

उनले डक्टरलाई ‘म हुलाकको हलकारा हुँ’ भन्दै अनुनय विनय गरेर बेड प्राप्त गरे । यद्यपि उनी हलकारा नभएर खरदार थिए । यसरी उनले उपचार गराए । त्यसवेला गृह मन्त्रीका पीए लगायतका उनका आफन्तहरूले फलफूल लिएर आउँथे । उनी ती फलफूल अरू बिरामीमाझ बाँड्दिन्थे । केही समयपछि डक्टरले उनी हलकारा नभएर सामान्य कर्मचारी रहेको कुरा थाह पाए । त्यसपछि डक्टरले आएर ढ्याप मार्दै ‘ओ हलकारा भाइ के छ खबर ?’ भनेको उनलाई स्मरण छ । यसरी आफू खरदारबाट हलकारा भएको उक्त घटना उनले सुनाए ।

पत्र मित्रता

मोबाइल अथवा फोनको विकास नहुँदा मानिसहरू पत्रमार्फत कुराकानी गर्ने गर्थे । विराटनगरमा पनि यो चलनको गर्मागर्म थियो । त्यसवेला पत्र मित्रता लहर चलेको थियो । बद्री विराटनगर हुलाकमै थिए । यसैबीच उनले केटीको नामबाट पत्र मित्रता गर्न शुरू गरे । उनलाई व्यापक पत्रहरू आउन थाले । यद्यपि उनी रजिष्ट्री भने बुझ्दैन थिए । भेटिन भन्न लगाएर फिर्ता पठाइदिन्थे ।

त्यसमध्येमा हङकङबाट आएको एउटा चिठी विशेष रूपमा उनी सम्झन्छन् । चिठी पठाउने मान्छे नेपाली लाहुरे रहेछ । अहिले आउँदा नाम उनले बिर्सिए पनि उसको थर राई रहेको उनी सम्झन्छन् । तिनले बद्रीलाई केटी ठानेर ‘तिमीले यसको जवाफ दिइनौ भने यति समयभित्रमा तिमीले मेरो लास देख्छौ’ भन्दै चिठी लेखेका थिए ।

बद्रीले पनि त्यसको जवाफ फर्काए । ३/४ वटा जवाफ आदानप्रदान गरेपछि कुनै कारणवश ऊसँग सम्बन्ध छुटेको बद्री सम्झन्छन् । उसले पठाएको एल्बम अहिले पनि विराटनगरस्थित आफ्नो घरमा हुनसक्ने बद्री बताउँछन् ।

चिठी लेख्दा उनी बाङ्गो अक्षरमा चिठी लेख्ने गर्थे । उनले केटाले लेख्ने तरिका र केटीले लेख्ने तरिकामा फरक हुन्छ भन्ने बुझेका थिए । केटाले सिधा लेख्छन् र केटीले बाङ्गो पाराले लेख्छन् भन्ने उनलाई लाग्थ्यो । उनका चिठी प्राप्त गर्नेहरूले केटी भनेर पत्याउँथे पनि ।

यही क्रममै उनले डगेन्द्र पराजुली नाम गरेका हुलाककै एकजना साथीलाई पनि एउटा चिठी लेखेर पठाए । डगेन्द्र पढ्दै गरेको क्याम्पसमा एकजना केटी थिइन् । सोही केटीको तर्फबाट बद्रीले चिठी लेखेका थिए । चिठीमा बद्रीले प्रेम प्रस्ताव राखेका थिए । त्यो चिठी पाएपछि डगेन्द्र ७ दिनसम्म रन्थनिए । धेरै एकोहोरो भइसकेपछि बद्रीले बाध्य भएर सबै कुरा खुलाए । बद्रीको कुरा सुनेपछि डगेन्द्रले दिएको प्रतिक्रिया आफूले ७ दिनसम्म बिर्सन नसकेको उनी बताउँछन् ।

अप्रिल फूल

बद्री पहिलादेखि नै ठट्टा गर्ने किसिमका मान्छे थिए । अहिले पनि उनी ठट्टा गर्न रुचाउँछन् । एकदिन उनले विवश पोखरेललाई अप्रिल फूलमा यसरी ढाँटे कि विवश कायल भए । विवश खाजा खान निस्किएका थिए तर बद्रीका कारण खाजा नखाई लगभग एक कोष जति टाढा हिंड्न बाध्य भए । जब बद्रीले आफूले ढाँटेको कुरा बताए विवश निकै रिसाए ।

‘ढाँट्ने पनि एउटा हद हुन्छ नि’ विवशले भने ‘म भोकले कुइँ कुइँ भएको थिएँ । यसरी एक कोष टाढा हिँडाउनु भयो, यो राम्रो भएन’ ।

बद्रीले उनलाई ‘तपाईंलाई फलानो (कुनै व्यक्ति)ले बोलाएको छ’ भनेर बोलाएका थिए । एउटा कविलाई कोही राम्रो लेखक/प्रकाशक/सम्पादक आउँदा महत्त्व हुन्छ । बद्रीले त्यही लोभ देखाएका थिए । जसका कारण विवश ढाँटिन विवश भए । यद्यपि साथीभाइसँगको यस्तो रीस क्षणिक रहने बद्री बताउँछन् ।

सित्तैको खाजा

विराटनगरमा स्कूल पढ्दा कहिलेकाहीँ बद्रीसँग पैसा हुँदैन थियो । उनका साथी उटपट्याङ गर्ने खालका थिए । एकदिन उनीहरू एउटा होटलमा नास्ता खान गए । चना मागेर आफैंले लागेको चिउरासँग नास्ता पनि गरे । तर, उनीहरूको दिमागमा पहिले नै एउटा योजना बनिसकेको थियो ।

उनीहरूले पूर्वनिर्धारित योजना अनुसार एउटा झिंगो मारेर लगेका थिए । खाजा खाइसकेपछि उनीहरूले झिंगो प्लेटमा हालिदिए र होटलवालालाई देखाउँदै कराउन थाले । होटलवालालाई कारबाही गर्ने, सबै मिल्काइदिने धम्की दिए । होटलवालाले माफ माग्दै ‘तपाईंहरूलाई केही दिनसम्म सित्तैमा ख्वाउँछौं’ भनेपछि उनीहरू शान्त भएर हिंडे । उक्त होटलमा ४/५ दिनसम्म सित्तैमा नास्ता गरेको बद्री सम्झन्छन् ।

वैरागी काइँला– नचिन्नेको निम्तो

०४२/०४३ सालतिर सप्तरीको राजविराजबाट एउटा साहित्यिक कार्यक्रमको निमन्त्रण आयो । विवश पोखरेललाई धेरैले चिन्ने भएकाले उनलाई नै माध्यम बनाएर निम्तो आएको बद्री सम्झन्छन् । वैरागी काइँला, कृष्ण भूषण बल, विवश पोखरेल र बद्री लगायतका व्यक्तित्व जाने भए ।

सोध्दै खोज्दै उनीहरू कार्यक्रम हुने भनिएको स्थानमा पुगे । बस्ने व्यवस्था मिलाइसकेपछि आयोजकले सबैसँग परिचय गर्ने निधो गरे । सबैभन्दा पाकाबाट परिचयको कार्यक्रम अघि बढ्यो । सबैभन्दा पाका वैरागी काइँला थिए । काइँलासँग परिचय गर्ने क्रममा आयोजकले ‘तपाईंलाई मैले कहाँ देखेको हो, नाम सुनेको तपाईंको, ठीक छ’ भने । दोस्रोमा कृष्ण भूषणलाई पनि ‘अँ तपाईंको पनि कविता पढेको हो’ भने ।

तेस्रोमा विवश पोखरेल थिए । ‘उहाँलाई त म चिनिहाल्छु नि’ भन्दै आयोजकले थपे ‘उहाँ त एकदम चर्चित मान्छे हो, प्रसिद्ध कवि हो’ । बद्री भिखारीलाई पनि ‘ए तपाईंलाई पनि चिन्छु भने । परिचय सकिएपछि कोठामा बसेर आमन्त्रित कविको समूह निकै हाँस्यो । ‘यो देशको मूर्धन्य कवि वैरागी काइँलालाई ‘तपाईंको नाम कहाँ-कहाँ सुनेको’ भन्ने मान्छेको निमन्त्रणामा हामी कविता वाचन गर्न आयौं’ भन्दै उनीहरू हाँसेका थिए ।

आमिस कि नेरामिस ?

यो ५०/५२ सालतिरको कुरा हो । सिलिगुढीमा साहित्यिक वनभोज कार्यक्रममा बद्रीलाई बोलाइएको थियो । परशु प्रधान, कृष्ण भूषण बल, विवश पोखरेल लगायतका व्यक्ति पनि आमन्त्रित थिए । सिलिगुढी पुगेर उनीहरू साहित्यकार रामलाल अधिकारीको निवासमा गएर बसे । अधिकारीले नै एक होटलमा खानाको व्यवस्था गरेका थिए ।

खाना खान होटलमा बसेपछि ‘के खाने ?’ भन्दै कर्मचारीले टिप्न थाले । ‘आमिस नेरामिस ?’ भन्दै कर्मचारीले सोध्दै गए । धेरैले आमिस भने तर बद्रीभन्दा परतिरको व्यक्तिले नेरामिस भने । बद्रीले पनि त्यसमै सही थापे । यद्यपि उनलाई यसको अर्थ थाह थिएन ।

खाना आयो । सबैको भागमा माछा छ तर बद्री र अघि नेरामिस भन्ने अर्को व्यक्तिको भागमा छैन । ‘खोइ त मलाई माछा ?’ भनेर बद्रीले सोधेपछि कर्मचारीले लिस्ट लिएर आयो ।

‘अनि तपाईं त नेरामिस भनेको होइन ?’ भनेर सोध्यो । ‘के हो नेरामिस भनेको ?’ भनेर सोधेपछि नेरामिस भनेको शाकाहारी रहेको बद्रीले थाह पाए । आमिस भनेको मांसाहारी रहेछ । शब्दको अर्थ नबुझेर उनी त्यस दिन झन्डै माछा खानबाट वञ्चित भएको बद्री सुनाउँछन् ।