ओशो तपोवन – भौगोलिक रूप

काठमाडौंको बालाजुदेखि उत्तर–पश्चिममा नागार्जुन पहाड अवस्थित छ । बालाजुदेखि नजिकै रहेको यो पहाडी घना जङ्गलले ढाकिएको निकै सुन्दर छ । मानिसहरू यसलाई नागार्जुन हिल्स नामले चिन्छन् । नागार्जुन अर्थात् एक बौद्ध भिक्षु र दार्शनिक । भनिन्छ यही घना जङ्गलमा उनले वर्षौं तपस्या गरे र बुद्धत्व प्राप्त गरे । उनकै नामबाट यो पहाडीको नाम नागार्जुन हिल्स रहन गयो । भारतमा जन्मेका उनले शून्यताको अवधारणालाई स्थापित गरेको पाइन्छ साथै परम्परागत रूपमा महायान बौद्ध दर्शनको महत्त्वपूर्ण परम्परा  “मध्य मार्ग” विद्यालयको संस्थापक मानिन्छ ।

यही भूगोलको १२ एकडं क्षेत्रमा ओशो तपोवन फैलिएको छ । तपोवन अर्थात् तपस्या गर्नका लागि उचित वन । आचार्य रजनिशको मार्ग निर्देशन अनुसार बोधिसत्त्व स्वामी आनन्द अरुण को अथक मेहनतका कारण आज ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युनका रूपमा ख्याति प्राप्त छ । ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युन ओशोप्रेमी र ओशो सन्न्यासीहरूका लागि महत्त्वपूर्ण साधना स्थल हो ।

स्वामी आनन्द अरुणका अनुसार नागार्जुनले तपस्या र बुद्धत्व प्राप्त यो ठाउँमा आचार्य रजनिशको अस्तु सहितको समाधि स्थलको निर्माण गरिएको छ । जहाँ पहिले माटोको ढिस्को थियो र गाउँलेहरू वनदेवीको रूपमा त्यस ठाउँमा पूजा गर्ने गर्थे ।

काठमाडौंको बालाजुबाट करीब ६ किलोमिटरको (ककनी जाने बाटो) दूरीमा ओशो तपोवन अवस्थित छ । जोर्बा दि बुद्ध रेस्टुरेन्ट सडकसँगै जोडिएको छ भने रेस्टुरेन्टसँगै ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युनको मुख्यद्वार पनि छ । रिसेप्सन, लाइब्रेरी र सूचना केन्द्रको ठिक अगाडी आचार्य रजनिशले दुवै हात फैलाएर उभिएको अर्धनग्न आकृतिले आगन्तुकलाई स्वागत गरेको पाइन्छ ।

भिरालो भूगोलमा अवस्थित ओशो तपोवनमा ध्यानका लागि देश विदेशबाट आउने ओशो सन्न्यासी र ध्यानमार्गिका लागि  क्रमशः आवासीय भवनहरू देख्न सकिन्छ । केही तल पुगेपछि रजनिश ध्यान मन्दिरको ठुलो हल देख्न सकिन्छ जसलाई शिवलिङ्ग स्वरूप दिई निकै सुन्दर डिजाइनमा निर्माण गरिएको छ । रजनीश ध्यान मन्दिरको तल्लो तलामा इन डोर ओशो समाधि छ । यस समाधिमा ओशोको लुगा लगायत ओशोले प्रयोग गरेका अनेक वस्तुहरू छन् । सफेद गाउन लगाएका मालाधारी सन्न्यासीहरू मात्रै इन डोर समाधिमा प्रवेश गर्न सक्छन ।

यहाँका आवासीय  भवनहरूको नाम पनि विशेष प्रकारले नामकरण गरिएको छ । जस्तो – रमण, अष्टावक्र, सिद्धार्थ, जिसस आदि

अलिक तल ओरालो झरेपछि सुजाता किचनको ठुलो भवन देखा पर्छ । जहाँ ओशो प्रेमी र सन्न्यासी भोजनका लागि जाने गर्दछन् । सुजाता किचन पनि उस्तै सुन्दर डिजाइनमा निर्माण गरिएको छ । सफा भोजनालयको प्रवेश मै कतिपय कुराहरू सफा भएर विचरण हुन्छन् । भोजनालयको सुन्दर दृश्य जो कोहीलाई अद्भुत लाग्न सक्छ ।

सुजाता किचनको थोरै तल थोरै भए पनि समथर भू–भाग छ । जसमा शिव र शिवपुरी बाबा (संसार मै पहिलो पटक निर्माण गरिएको) को मन्दिर, मृत्यु पार्क आदि निर्माण गरिएको छ । यही आचार्य रजनिशको समाधि स्थल पनि अवस्थित छ ।

अलि तलबाट पारि पुग्नका लागि सानो पुल तर्नु पर्ने हुन्छ । पुलको वारिपट्टिको मुखैमा जिससको मूर्ति र बस्नका लागि केही बेन्चहरू राखिएको छ भने पुलको पारीपट्टि नजिकै सन्त कविरको निकै मोहक मन्दिर र सानो ग्राउन्ड देख्न सकिन्छ । साथै पार्किङका लागि केही ठाउँहरू छुट्ट्याइको छ । कविरको मन्दिरपछाडि बुद्ध हल उस्तै सुन्दर तरीकाले निर्माण गरिएको छ । बुद्ध हल भित्रको शान्ति र उर्जा जो कसैले सहजै अनुमान गर्नसक्छ । बुद्धहलको केही माथि अर्को ध्यानहल रहेको छ र अत्याधुनिक सुविधा सहितको नालन्दा भवन पनि साथै रहेको छ ।

रजनिश ध्यान मन्दिरको बायाँ तिर सिद्धार्थ ब्लक छ र केही आवासीय भवन पनि रहेका छन् । ओशो तपोवनको वारितिरको भू–भाग दुई खोल्साहरू बीचमा अवस्थित छ । दुवै खोल्साबाट साना झरना अविरल बगिरहन्छन् । जसको सुसाइको सङ्गीतले वातावरणलाई थप मोहक बनाउँछन् । मैले माथि वर्णन गरेका यी तमाम मानव निर्मित संरचनाहरू जङ्गल भित्रै छन् अर्थात् जङ्गललाई कुनै नोक्सान नहुनेगरी बडो धैर्य र प्रेमले बनाइएका छन् ।

—-

ओशो तपोवन – कसले किन निर्माण गरे ?

जनकपुरमा जन्मेका आनन्द कुमार सिंह बुबाआमासँगै सानैमा काठमाडौं आए । बुबाको सरुवासँगै उनको बाल्यजीवन पनि घुमन्ते जस्तो बन्यो । प्राथमिक शिक्षा खासै राम्रो लिन नपाएका उनले  मुजफ्फपुरमा कक्षा ७ बाट औपचारिक शिक्षा प्रारम्भ गरे ।  बुबा बडा हाकिम र आमा राजनीतिज्ञ भएकाले उनको बाल्यकाल सुखद देख्न सकिन्छ । उच्च शिक्षाका लागि उनी भारतको पटना इन्जिनियरिङ कलेजमा भर्ना भए । सानै देखि अध्यात्ममा रुचि राख्ने उनले विभिन्न गुरुहरूको सत्सँग गरे र दीक्षा लिए तर उनी प्यासी नै रहेको महसुस गरिरहेका थिए ।

२९ मार्च १९६९ को साँझ उनले आचार्य रजनीशलाई भेटे । गंगा किनारको त्यो साँझको भेट नै उनको जीवनको ट्रनिङ प्वाइन्ट भयो । उनको हृदयले खोजेको गुरु भेटे र तृप्त भए । सन् १९७४ मा आनन्द कुमार सिंहले ओशोबाट दीक्षा लिए र स्वामी आनन्द अरुण बने । उनको पुस्तक ओशो अचम्म जो मैले देखेँ मा उनले ओशोसँग भएका तमाम मसिना संस्मरणहरू उल्लेख गरेको पाइन्छ ।

सन् १९७४ मा दीक्षा लिई सकेपछि आचार्य रजनीशको निर्देशनमा नेपालको पहिलो आशीष रजनीश ध्यान केन्द्र  स्वामी आनन्द अरुणको निजी निवास ताहाचाल स्थित खोलियो । त्योवेलाको समयमा स्वामी आनन्द अरुणले निकै दुःख खेप्नुपर्‍यो र यसलाई बचाउन निकै संघर्ष गर्नुपर्‍यो ।

नेपालमा एक कम्युन निर्माणका लागि ओशोले निश्चित मापदण्ड स्वामी आनन्द अरुणलाई दिएका थिए । यसलाई पूरा गर्न स्वामी आनन्द अरुणलाई वर्षौं लाग्यो । अन्ततः सन् १९९० मा ओशो तपोवन आश्रमको स्थापना भयो ।

ओशो तपोवन कम्युन बिस्तारका लागि पनि निकै चुनौती र संघर्षका दिनहरू स्वामी आनन्द अरुण सम्झन्छन् । स्वामी आनन्द अरुण सहित ओशो प्रेमी र ओशो सन्न्यासीहरूको केही समूहले ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युन बनाउन दिएको योगदान निकै उल्लेख्य देखिन्छ ।

भौतिक संसारमा ध्यान मात्रै त्यस्तो निःशुल्क चिज हो जो कस्तुरी जस्तो आफ्नै नाभिमा रहन्छ तर डिजिटल युगको मानव हमेशा बाहिरी खोजमा भौंतारिरहन्छ । राग र वैराज्ञको सन्तुलित बाटो भएर प्रेम बाँच्ने मानिसको परिकल्पनामा ओशो मार्ग उभिएको देखिन्छ । त्यसका लागि ध्यान अति जरुरी हुने र भौतिक संसारलाई सन्तुलन गर्नसक्छ भन्ने उनको ठम्याइ हो । ओशोको यही परिकल्पना आज नेपाल लगायत विश्वभरका कैयौं देशमा फैलिरहेको छ ।

—-

ओशो तपोवन – जे भयो

भदौ महिनाको पहिलो हप्ता असार झै झरीमय छ । जोर्बा दी बुद्ध रेस्टुरेन्टको पर कुनाको एक लक्जरी टेबलमा अचानक बस्न पुगेको छु । यो सिट नै जोर्बा दी बुद्ध रेस्टुरेन्टको अन्तिम सिट हो, जहाँ म मस्त ढल्किएको छु ।

जोर्बा दी बुद्ध को उत्पत्ति आचार्य रजनिशको परिकल्पना हो तर त्यो भन्दा पहिले जोर्बा दी ग्रिकको उत्पत्ति भएको पाइन्छ । ग्रिसका एक प्रख्यात लेखक निकोस कजानजाकिसको प्रसिद्ध उपन्यास जोर्बा दी ग्रिक छ । जसमा जोर्बा नोकर हुन्छ । नोकर भए पनि उ मादकपदार्थ, स्त्री र सङ्गीतमा मस्त छ र जीवन देखि स्वतन्त्र र प्रसन्न देखिन्छ ।

स्वामी आनन्द अरुण आचार्य रजनीशको वाक्यांशलाई सम्झँदै लेख्छन् – जब म जोर्बालाई देख्छु, उसलाई अधुरो पाउँछु । उसमा उत्सवको सङ्गीत त छ तर मौनको शान्ति छैन । जब म बुद्धलाई देख्छु, मौन र साधनाको शान्ति र सौहार्दता त छ तर उत्सव, प्रेमको नृत्य र लालित्य छैन । आचार्य रजनीशले जोर्बा जस्तो मस्त मानिस र बुद्ध जस्तो मौन र साधना सहितको मानिसको कल्पनामा जोर्बा दी बुध्दको परिकल्पना गरेका छन् । जसको नामले नै नागार्जुन हिल्सको घना जङ्गलको एक भूगोलमा जोर्बा दी बुद्ध रेस्टुरेन्टको निर्माण गरिएको छ । जहाँ जोर्बा दी बुद्धहरूको भीड प्रायः देख्न सकिन्छ ।

करिब दिउँसोको अन्तिम समय तिर म जोर्बा दि बुद्ध रेस्टुरेन्टको अन्तिम टेबलमा थिए तर न म जोर्बा भएर त्यहाँ थिए न बुद्ध नै भएर । म मात्रै पथिक थिए र थोर बहुत आचार्य रजनीशलाई अध्ययन गरेका कारण मात्रै त्यहाँ थिए ।

म बसेको लक्जरी टेबलको ठिक सामुन्ने नागार्जुन हिल्सका हिल्सहर घना र सुन्दर देखिएका छन् । अनेकौं प्रजातिका रुखबिरुवाहरूले घना बनेको नागार्जुनको जङ्गल हरियो त छ नै तर हरियो पनि अनेक प्रकारको हरियोले रङ्गिन देखिएको छ । हरियो रङका विविध हरियो रङले रङ्गिन बनेको यो पहाड अद्भुत लागिरहेछ ।

फुसफुसे अक्कल झुक्कल झरीले नागार्जुन हिल्सको घना जङ्गलसँग ख्याल ठट्टा गरिरहेछ । झट्ट हेर्दा एउटा मात्र पहाड देखिने नागार्जुन हिल्स अनेक स–साना पहाडी शृङ्खलाले सजिएको रहस्यमय झैं लागिरहेछ । रहस्यमयी पहाडी शृङ्खलाको बाटो हुँदै अचानक बादलको एक ग्याङ नागार्जुनमा आइपुग्छ । विविध हरियो रङको हृदयका कन्दराहरूमा बादल यसरी प्रेम गरिरहेछ कि जो कोहीलाई ईर्ष्या लाग्छ । हरेक पातहरू र बादलको प्रेमालाप मात्र प्रेम शब्दले उल्लेख गर्न सक्छ । सायद सबै दृश्यहरू शब्दले थेग्न सक्दैनन् । झट्ट हेर्दा बादल र पातहरूको प्रेम निमेषका लागि छ तर कालजयी छ । आचार्य रजनीशले भने जस्तो प्रेम वस्तुमा निर्भर छैन । प्रेम अस्तित्वमा निर्भर छ । सायद बादल र पातको प्रेम अस्तित्वको सुन्दर प्रेम हो ।

जोर्बा जस्तो मस्त चिसो बतास, जोर्बा जस्तो स्वतन्त्र र प्रसन्न बादलले मेरो हृदयमा अद्भुत अनुभूति गराइरहेछन् । प्रकृतिको यो अद्भुत अनुभूति मेरो जीवनको अर्को सुखद आश्चर्य बन्न पुगेको छ ।

म अवाक् छु । सायद यो नै स्वर्गीय अनुभूति होला । अनुभूति शब्दमा वर्णित हुन सक्दैन । मेरा इन्द्रियहरू शून्य भएका छन् । के साँच्चै ! म त्यो बेला म नै थिए ?

फासफुसे रोकिएको छ । अनेकौं प्रजातिका रुखबिरुवाहरूको स्पर्श लिई आउने मधुर बतास उस्तै मन्द, चिसो र बास्नादार छ । घना जङ्गलमा फुल्ने अनेक बोटबिरुवाहरूको फूलको वासनाको मिश्रणले मादक बनेको यो बतास उस्तै बैंसालु लागिरहेछ । मैले यस्तो बतासको सुगन्ध पहिलो पटक अनुभव गर्दै थिए ।

रेस्टुरेन्टको कुनै कुनामा बसेर स्वर्गीय आनन्द अनुभूत गर्नु लाई मैले चानचुन ठानेको छैन । पछिका दिनहरूमा रेस्टुरेन्टका अरू टेबलमा गएर बस्दा मैले यस्तो अनुभूति भने गर्न सकिन तर जब म त्यही कुनाको अन्तिम सिटमा बस्छु तब मलाई हमेशा केही न केही घटित भएको महसुस भै रहन्छ । मलाई लाग्छ – अस्तित्वका हरेक स्थानहरू विशेष हुन्छन् जस्तो म बस्ने गरेको टेबल मलाई विशेष लागिरहेछ ।

पूर्व तिरको नीरव हटेर देखिएको निर गगन निकै मोहक लागिरहेछ । तर नागार्जुनका चञ्चल नीरवहरू भने बच्चाहरू झैं यताउता कुदिरहेछन् । झ्याउँकीरी धुनहरू र झरनाका गीतहरू हरबखत दोहोरी गाइरहेछन् । अनेक कीराका आवाजहरूले कोरस भरिरहेछन् । हावाको झोक्काले रूखसँग साथ छोडेर धर्तीको प्रेममा लिन हुन आतुर पहेंला पातहरू नृत्यका लागि निकै सिपालु देखिन्छन् । मृत्यु पार्कको चितामा मौन निद्रामा मस्त देखिन्छन् स्वामी आनन्द अरुण ।

एउटा क्यानभासमा एकैपटक देख्न सकिने यी अद्भुत दृश्यको साक्षी केवल म भन्ने पात्र छु । म पात्र कतिवेला विलीन भएको छ मलाई थाहा छैन । जब म पात्र कतै विचरण पश्चात् फर्कन्छ तब उसलाई सपना जस्तो केही लाग्छ । घटित त्यो सपना अव्यक्त छ ।