६० को दशकदेखि कविता लेखनमा सक्रिय पाठक समाज, समसामयिक परिवेश र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गर्न रुचाउँछन् । प्रगतिशील लेखक संघ चितवन शाखाका पूर्वअध्यक्ष कवि पाठक साहित्य सङ्गम चितवनका पूर्व सहसचिव हुन् । एफएम रेडियोमा साहित्यिक कार्यक्रम प्रस्तोताका रूपमा अनुभव बटुलेका पाठक विश्वप्रकाश मावि भरतपुरमा शिक्षण गर्छन् । कविता लेखन शुरूवातको दुई दशक अवधि पार गरेपछि आफ्नो पहिलो कवितासंग्रह `मरूभूमिमा वासन्ती घाम´ लिएर नेपाली साहित्यमा उदाएका छन् ।
जनक कार्कीसँग पुस्तक लगायत विविध विषयवस्तुमा गरिएको कुराकानी प्रस्तुत छ ।
`मरूभूमिमा वासन्ती याम´ कवितासंग्रह सहित नेपाली साहित्यको कविता विधामा उपस्थिति जनाउँदै हुनुहुन्छ । यस कवितासंग्रहमा के -कस्ता कविता अटाएका छन् ?
– सर्वप्रथम त यहाँलाई हार्दिक धन्यवाद ! मरुभूमिमा वासन्ती याम भित्र हाम्रै परिवेश र माटोको सुगन्ध बोकेका कविताहरू छन् । भुइँमान्छेका सङ्घर्ष र साधनाका बीजहरू छन् र कवितामा कतिपय मेरै जीवन भोगाइ र वैचारिक दृष्टिकोणहरू समेत प्रत्यक्ष वा परोक्ष जोडिएर प्रवाहित भएका छन् ।
मेरो यो पहिलो कवितासंग्रह पनि भएको हिसाबले मैले लगभग डेढ दशकको साहित्यिक यात्राका उत्कृष्ट सिर्जनाहरूको संग्रहका रूपमा यसभित्र कविताहरू अटाएका छन् ।
तपाईंले कविता लेख्नुको उद्देश्य के हो ?
– कविता लेखनको उद्देश्य मूल रूपमा स्वायन्त सुखाय त हुँदै होला साथसाथै समाजलाई दिनसक्ने रूपान्तरण र जागरणको एउटा शक्ति पुगोस् भन्ने उद्देश्यले कविताहरू लेख्ने गर्दछु । मेरो कविता लेखनको उद्देश्य समाजभित्रका उत्पीडन र शोषणहरू हटाउँदै व्यथितिहरूको भण्डाफोर गर्दै जागरणको राग अलाप्नु नै हो ।
कविता लेख्न शुरू गरेको दुई दशकमा पुस्तकको रूपमा आउन लागेको छ । यो ढिलो गर्नुभएको हो कि छिटो हो ?
– कविता लेख्न शुरू गर्दैगर्दा किताब आउनुपर्छ भन्ने मलाई लाग्दैन । कविता लेखनको पनि एउटा विकासक्रम हुन्छ । त्यसको दरिलो र दर्बिलो बनोट र बुनोट हुन्छ । परिपक्वताका तहहरू हुन्छन् । ती सबै तहहरू पार भइसके पछाडि पुस्तक आउनु वाञ्छनीय हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले मेरो कवितासंग्रह ठीकै समयमा आइपुग्यो कि भन्ने मेरो ठम्याइ छ ।
प्रलेस चितवनको अध्यक्ष बनिसकेको अनुभव छ यहाँसँग । तपाईंका कविता पनि मार्क्सवादी चिन्तनकै होलान् भन्ने अनुमान लगाउन त पाइयो । कि अन्य विषयवस्तुलाई पनि समेट्नु भएको छ ?
– मूलतः मेरो चिन्तन र लेखन मार्क्सवादी सौन्दर्यशास्त्रकै वरिपरि छ । हाम्रा आँखै अघिल्तिर भइरहेका बग्रेल्ती अन्याय र व्यथितिका चाङहरू छन् यी सबै देखिसकेपछि म कसरी जून र घामका मात्रै कविता लेख्नसक्छु त्यसैले मूल रूपमा मेरा कविताहरूको विषय प्रगतिवादी विचार दृष्टिकोण र संस्कृति निर्माणमा नै केन्द्रित छ । तर केही कविताहरू भने फरक स्वादका पनि छन् ।
कवितामा कला र विचारको सन्तुलनलाई कत्तिको ख्याल गर्नुभएको छ ?
– कलाविहीन कविताहरू नारा हुने खतरा हमेशा हुन्छ तर हामीले कला कलाका लागि भन्दा पनि जीवनका लागि कला भर्दैगर्दा त्यहाँ विचार अवश्य हुन्छ । त्यसैले मैले यिनीहरूको सन्तुलनलाई सकेसम्म ख्याल गरेको छु ।
प्रगतिशील कविहरूलाई एउटा आरोप के छ भने `नारा जस्तो कविता भयो´ यो आरोपलाई तपाईंका कविताले जवाफ दिन कत्तिको सामर्थ्य राख्छ ?
– थप कुरा पाठकहरूले नै भन्नुहोला मैले प्रयत्न त गरेको छु । तर मैले नै यसको जवाफ दिन भने सक्दिन त्यो हजुरहरूले र पाठकहरूले मूल्याङ्कन गर्ने विषय हो ।
यो समाजलाई कविताको आवश्यकता किन छ ?
– यो समाजलाई कविताको आवश्यकता किन छ भने सचेततापूर्वक जागरणको निर्माण गर्न र समतामूलक सम्यक् समाज मार्फत सबै खाले विभेद अनि अन्यायका जन्जिरहरू तोड्दै आदर्श समाजको निर्माण गर्न कविताको आवश्यक छ ।
कविताको शक्तिलाई कसरी व्याख्या गर्नुहुन्छ ?
– जटिलभन्दा जटिल विषयलाई पनि सरल ढङ्गले व्याख्या गर्नु नै कविताको शक्ति हो । इतिहासमा एउटै कविताले ठूलाठूला क्रान्तिहरूको नेतृत्व गरेको हामी पाउँछौं । त्यसैले कविताभित्र चेतनाको बारुद हुन्छ त्यो नै कविताको शक्ति हो ।
यहाँलाई मन परेका तीन वटा कविता ?
– कुन्ता शर्माको “पोथी बास्नु हुँदैन”, छन्दकवि पुरुषोत्तम आचार्यको “मानसिंह विश्वकर्माको घोषणापत्र” त्यसैगरी श्यामलको “हतारमा यात्रा” हुन् ।
यहाँलाई मन परेका तीन जना कवि ?
– पछिल्लो समय पढेका र मलाई मन परेका कविहरूमा नवीन अभिलाशी, रमेश क्षितिज र अभय श्रेष्ठ हुन् ।
दुनियाँ डिजिटल बन्दै गयो । आजभोलि किताबलाई उपेक्षा गर्न पनि थालियो । यस्तो अवस्थामा पठन संस्कृति जोगाउन र बढाउन के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
– खासगरी एउटा जुझारु नयाँ पुस्ता हाम्रो बीचमा छ । हामी त्यसलाई वास्ता गरिरहेका छैनौं । त्यसको सृजनशीलता लेखन र साहित्यप्रतिको मोहकता सिर्जना गर्ने वातावरण हामीले नै निर्माण गरेका छैनौं हामी कविताका कर्मीहरू शिक्षकहरू, पत्रकारहरू सबै जिम्मेवार बन्यौं र लाग्यौं भने आजको विद्यार्थी पुस्ता पुस्तकमा तानिनेछ । र आफ्नो चेतनाको, चिन्तनको दायरालाई फराकिलो बनाउनेछ ।
हामी सीमान्तकृतका कविता लेख्छौं तर ती कविता सीमान्तकृतसम्म कहिल्यै पुग्दैन । यस्तो खाडल पुर्न के गर्नुपर्ला ?
– सीमान्तकृतहरूको कुरा गर्द गर्दा मेरो कवितामा पनि त्यस्ता पात्रहरू छन् म उनीहरूलाई भेटेर कविता त सुनाउँछु, छलफल त गर्छु तर पनि त्यो वर्गका मान्छेहरूको कवितामा पहुँच निकै कम छ । हामीले सामूहिक रूपमा उनीहरूलाई बुझाउने र ठूलाठूला साहित्यिक कार्यक्रमहरू सानासाना गाउँहरूमा गर्यौं भने खाडल पुर्नका लागि यसले केही अर्थ राख्छ होला ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न, मन लागेको उत्तर दिने सुविधा छ ।
– मनमा एउटा प्रश्न आइरहेछ । त्यो के हो भने मभन्दा पुरानो पुस्ताले म जस्ता पुस्तालाई अगाडि ल्याउन खासै रुचि राख्दैन । मेरो संग्रह आउँदैगर्दा पनि यो महसूस गरें । त्यो पुस्ता पढेर प्रतिक्रिया दिंदैन, हौसला आलोचना वा समालोचना गर्दैन, खुशी प्रकट पनि गर्दैन । यो खालको निम्छरो चिन्तन हाम्रा अग्रजहरूमा मैले भेटें हामीले अग्रजहरूप्रति नतमस्तक भएर सम्मान गर्छौं, समालोचना र आलोचना पनि गर्छौं, सरसल्लाह गर्छौं । तर उहाँहरूमा त्यस्तो उदारता भेटिएन । कम्तीमा पनि त्यस्तो खालको प्रवृत्ति कहिल्यै हामीमा नदेखियोस् भन्ने लागेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।