असार १५ गते अपराह्न देशकै मूलधारको अग्रणी अनलाइन सञ्चार माध्यममा छापिएको गोविन्द गिरी प्रेरणाको “दुई पुस्तकमा पारिजातबारे फरक चर्चा : कुन सही, कुन गलत ?” लेखले पारिजात र २०४६ सालको आन्दोलनको आलोकमा बसी दुई नेपाली पुस्तकका सन्दर्भहरूमा वर्णित तथ्यहरूमाथिको विश्लेषण प्रस्तुत गरिएको थियो । उक्त लेखमा प्रस्तुत तथ्यमाथि पुनर्विचारको आग्रहसहित मैले यही असार १६ गते साहित्य पोस्टमा गलत तथ्यका विरुद्ध शीर्षक दिएर लेख लेखेको थिएँ, जसको प्रत्युत्तर स्वरूप लेखकबाट असार ३० मा तथ्यमाथि गलत दृष्टि शीर्षकमा लेख प्रकाशित भयो, कतिपय विषयवस्तु टिप्पणीको लायक नहुँदा नहुँदै पनि उक्त आलेखले केही महत्त्वपूर्ण प्रश्न भने जरुर उठान गरेको थियो ।
साहित्यको क्षेत्रमा स्वस्थ बहस र समालोचना हुनु अत्यन्त जरुरी छ । एक जनाको कमजोरी अर्कोले सच्याउँदै जानसके मात्र संवृद्ध साहित्यको निर्माण हुनसक्छ । तर्कहीन वादविवाद गरेर, अरूको उच्छितो काढ्नु र अरूको बौद्धिकतामाथि प्रश्न उठाइ होच्याउनुभन्दा तथ्यसहितको स्वस्थ बहसले हाम्रो साहित्यलाई अझ निखार्न सहयोग पुर्याउँछ भन्ने अपेक्षा सहित कुनै पूर्वाग्रह नराखी र वादप्रतिवादको चक्रबाट टाढा बसी यो लेख लेख्दै छु । र साथसाथै यस विषयमा यही नै मेरो अन्तिम लेख हुने जानकारी गराउँदछु ।
विषयप्रवेश गर्नुअघि केही कुराहरू स्पष्ट पारौं, लेखकले लेख्नुभएको छ, ‘पुस्तकको सन्दर्भमा कुरा उठाउने जिज्ञासा चाहिं किन र कसरी भयो, यो एक पहेली नै हो ।’ हुन त जस्तो दृष्टि त्यस्तै सृष्टि भन्छन्, तर म के स्पष्ट गर्न चाहन्छु भने म एक पाठक हुँ सामान्य पाठक । र यो लेख मैले कसैको प्रभाव, दबाब या लोभमा परेर लेखेको होइन । त्यसैले यसलाई पाठक प्रतिक्रिया भनेर बुझ्दा राम्रो होला नकि पहेलीको रूपमा ।
दोस्रो कुरा, मलाई लाग्छ- कुन विषयमा कसले बोलेको छ र के बोलेको छ, त्यस कुराले विशेष अर्थ लाग्ला । पारिजातको जीवनलाई सबैभन्दा नजिकबाट देखेको, भोगेको र बुझेको भनेकै उनकी बहिनी सुकन्या हुन् । उनले पारिजातको बारेमा बोलेको कुरालाई कसैको कुरा भनी हलुका रूपमा हेर्न शायद सकिंदैन जस्तो लाग्छ । बाँकी त म एक साधारण पाठक हुँ । मेरो उमेरभन्दा बढी समय त लेखकले यस क्षत्रमा लेखपढ गर्न शुरू गर्नुभएकै भैसकेछ । केही त्रुटि भए फेरि पनि सच्याइदिनुहोला, जसलाई म सधैं स्वागत नै गर्नेछु ।
अब मूल विषयमा जाऊँ । मैले स्पष्ट स्वीकार गरेको र लेखकको लेखमा पनि भनिएको छ कि मैले पुस्तक पढेको छैन । अच्युत घिमिरेले श्रुति संवेगमा वाचन गरेको सामाग्रीको आधारमा मैले उक्त लेख लेखेको थिएँ । आजको प्रविधिको दुनियाँमा पहिलेजस्तो कागजी पुस्तककै भर परिरहनु पर्ने अवस्था छैन । अझ विविध कारणले सबै व्यक्ति र स्थानहरूमा पुस्तकको पहुँच नपुग्न पनि सक्छ ।
त्यसैले पुस्तक पढ्न नपाउनेहरूलाई नै केन्द्रित गरी श्रव्य पुस्तक तथा विद्युतीय पुस्तकहरूको प्रचलन आएको हो र पाठक श्रोताहरूलाई सकेसम्म अन्याय नगरौं भन्ने धेय वाचक एवं पुस्तक उत्पादकको पक्कै हुन्छ, त्यसैले उनीहरूबाट घटना या तथ्यहरू तोडमोड हुन्छ भन्ने कम्तीमा मलाई लाग्दैन । यद्यपि लेखकले भनेझैं पुस्तक नै प्राथमिक स्रोत हो र त्यस्ता श्रव्य सामाग्री दोस्रो श्रोत नै हो ।
उक्त लेखमा लेखकले उक्त पुस्तकको पेजको नै तस्वीर खिचेर राखिदिए पछि कतै केही तोडमोड पो भएछ कि भन्ने शंकाको सानो झिल्को मेरो मनमा पनि नउठेको पक्कै होइन । तर मैले माथि नै भनेँ नि, पाठक श्रोताहरूलाई अन्याय नगरौं भन्ने धेय वाचक एवं पुस्तक उत्पादकको पक्कै पनि हुन्छ । उक्त पुस्तकमा लेखकले दाबी गर्नुभए बमोजिम कुरा कहीं पनि छैन । बरु मैले श्रुति संवेगमा सुनेको भनेर भने बमोजिमको प्रसङ्ग नै उक्त पुस्तकमा भेट्न सकिन्छ । यद्यपि लेखमा राखिएको पुस्तकको पृष्ठको तस्वीर र लेखकको तथ्यमाथि पुनर्विचार गर्न गरिएको आग्रहलाई समेत स्वीकार गर्दै यस विषयको गहिराइमा पुग्दा के थाहा हुन आयो भने लेखकद्वारा १०० प्रतिशत सही भनेर दाबी गरिएको तथ्य अद्यावधिक नै रहेनछ ।
यसै सन्दर्भमा मैले हरिवंश आचार्यको पुस्तक “चिना हराएको मान्छे”को विभिन्न संस्करण अध्ययन गरेको थिएँ । लेखकले दाबी गर्नुभए जस्तै पुस्तकको पहिलो-दोश्रो लगायत शुरूका केही संस्करणहरूमा त्यो कमजोरी भएको पक्कै छ, तर पछिल्ला संस्करणहरूमा त्यो कमजोरीहरूलाई सच्चाइएको छ । यहाँनेर विचारणीय कुरा के हो भने मानिसबाट गल्ती कमजोरी पक्कै हुन्छ । तर त्यो कमजोरीलाई स्वीकार गरी त्यसलाई सच्चाइन्छ कि सच्चाइँदैन भन्ने महत्त्वपूर्ण कुरा हो, जुन यो पुस्तकले गरेको देखिन्छ ।
हामीले त्यस्ता धेरै पुस्तकहरू भेट्न सक्छौं, जसको शुरूवाती संस्करणहरूमा भएका त्रुटि एवं कमजोरीहरू पछिल्ला संस्करणहरूमा सच्चिंदै गएका छन् । यो पुस्तकको हकमा पनि यही भएको हो । उक्त पुस्तक अच्युत घिमिरेले २०७३ मा रेडियोबाट वाचन शुरू गरेका थिए र उनले वाचन गरेको संस्करणमा उक्त कमजोरी सच्चिइसकेको देखिन्छ । तर लेखकको लेख २०८० असारमा आएको हो जहाँ लेखक पुरानै संस्करणमा भर परेका देखिन्छन् ।
अझ पछिल्लो समयमा बजारमा आएको शतसहस्र संस्करणमा त झन् “जन्मिनासाथ टेनसन नै टेनसन” र “मन्तव्यदेखि गन्तव्यसम्म” नामक दुई शीर्षक नै थपिएका छन्, जसबारे लेखक जानकार छन् या छैनन् थाहा छैन । त्यसैले अध्ययन अनुसन्धान जुनसुकै बिदामा किन नहोस्, सूचना सही भएर मात्र पुग्दैन, अद्यावधिक पनि हुनुपर्छ । नत्र त जतिसुकै लामो विरासत बोकेको भए पनि र जस्तोसुकै दिग्गज भएता पनि विजय कुमारकै शब्दमा उनीहरू थोत्रो टेप रेकर्डर हुन बेर लाग्दैन । र हामी सकेसम्म कोही थोत्रो टेप रेकर्डर नहौं मेरो शुभकामना ।
अन्त्यमा, बहस, समालोचना समीक्षा आदि आफैंमा बौद्धिक विषय हुन् । कसैको बौद्धिक चेतनामाथि प्रश्न उठाउनुअघि स्वयम् सचेत हुनु जरूरी छ । हाम्रो समाजमा विभिन्न जातजाति, भाषासंस्कृति, पहिचान बोकेका मानिसहरू बस्छन्, र ती सबै विविधताहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य पनि हो । आफूलाई ५० वर्षदेखिको अध्ययनशील देखाउने व्यक्तिबाटै सोही आलेखमा “देख्नेको आँखा फुटे सुन्नेको सही” भन्ने जस्तो विभेदयुक्त उखानटुक्का प्रयोग हुनु कम्तीमा मेरो दृष्टिमा लज्जास्पद, उदेकलाग्दो र असंवेदनशील विषय हो, जसले बौद्धिकताको समेत खिल्ली उडाउँछ ।

यो उखानटुक्काले हाम्रो समाजमा रहेका दृष्टिविहीन व्यक्तिहरूलाई कस्तो प्रभाव पर्छ ? देख्नेले भनेको मात्र सबै सही हुन्छन्, दृष्टिविहीन व्यक्तिहरू चाहिं सधैं गलत नै हुन्छन् भन्न खोजिएको हो ? के हामी बौद्धिक भनिनेहरू एकाइसौं शताब्दीमा पनि यस्तै सामाजिक विभेद र असमानताको पुरातन भारी बोकेर हिंड्ने हो ? आधुनिक एवं विकसित युगको साहित्यले के यस खालका विभेद र असमानताहरूलाई स्वीकार गर्छ ? यदि गर्दैन भने किन प्रयोग गरिन्छन् यी र यस्ता विभेदयुक्त उखानटुक्काहरू परम्पराको नाउँमा ? किन फेरिंदैनन् हाम्रा सोचाइहरू ? किन सम्मान गरिंदैन समाजको विविधतालाई ? के अब यी र यस्ता प्रश्नहरूको समाधान खोज्नुपर्ने बेला भएन र ?
साहित्य समाजको ऐना हो र यो सबैका लागि हुनु पर्छ । हाम्रा कुनै पनि गतिविधि या लेखले कसैलाई अन्याय या विभेध गरेको महसूस हुनुहुन्न भन्ने विषयमा सबै साहित्यानुरागीहरूको ध्यान पुग्नु जरूरी छ । र साथसाथै समाजको संवाहकको रूपमा रहने साहित्यकार एवं साहित्यिक व्यक्तित्वहरूले यी र यस्ता विषयवस्तुहरूमा अझ संवेदनशील हुनु अत्यन्त जरूरी छ ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ मंसिर २०८२, आईतवार 










