हामी राति १ बजे ठमेलमा हिंडिरहेका थियौं । एक्कासि मेरो कानमा बज्रिएको ‘हेलो’ आवाजले मलाई रोकिन बाध्य बनायो । कतै मलाई बोलाएको हो कि भन्ने शंका बीच मैले मुन्टो फर्काएँ र पछाडि हेरें ।
एक जना काली, जीउडाल मेरो भन्दा ठूलो र मोटो देखिने एक महिलाले ‘हे यू’ कराउँदै छिटोछिटो दगुरिरहेको देखें । ती महिलाले मलाई डाकेको जस्तो लागेन । मैले चिनेको महिला थिइनन् । म फेरि आफ्नो बाटोमा अगाडि बढें ।
‘हे यू, आई सेड यू’ झन् ठूलो आवाज बज्रियो मेरो कानमा । म फेरि फर्कें । मलाई नै औंला देखाएर ‘यस यू, स्टप’ भन्दै एक्कासि नजिक पुगेकी ती महिलाले मेरो हात दह्रो गरी समाइन् ।
‘ह्वाट ? ह्वाट आर यू डुइङ ?’ हात छुटाउन बल लगाएँ तर ती महिलाको बललाई मैले जित्न सकिनँ ।
यसै बीच मेरो पछिपछि आइरहनु भएको मेरा दुई मित्रहरू ‘मनोज जी के भयो !’ भन्दै मकहाँ पुग्नुभयो । मैले ‘आइ डन्ट नो यार’ भनें । मित्रहरू पनि अवाक् हुनुभयो र हामी तीन जना एक अर्कालाई मुखामुख गर्न थाल्यौं ।
झण्डैझण्डै १ मिनेट भित्रै हामी ३ जनाको वरिपरि १० जना जति आफ्रिकन मूलका महिलाहरू जम्मा भै सकेका थिए । सबै ती महिलाहरूबाट ‘मस्ट डिलिट फोटो’ भन्ने आवाज आइरहेको सुनें ।
यो आवाज सुनेपछि मैले सहजै अनुमान गरें- मैले खिचेको फोटो र भिडियोहरूलाई लिएर ती अफ्रिकन महिलाहरूले मलाई घेरेका रहेछन् । म शान्त रहें र ती महिलालाई मेरो हात छाड्नको लागि अनुरोध गरें ।
ठमेल जब २४ घण्टा खुला गरियो मलाई १२ बजेपछि घुम्ने रहर थियो । त्यो दिन हामी तीन जान मित्र एक कार्यक्रममा सँगै थियौं । कार्यक्रम पछि एक्कासि ठमेलमा रात्री जीवन हेर्ने सोच आयो र रातको १० बजे पठाओबाट ठमेलतिर लाग्यौं ।
हामी तिन मध्ये एक जना साथी ठमेल मै व्यवसाय गर्दै आउनु भएको र टुर ट्राभल, ट्रेकिङको व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । पर्यटन व्यवसायीहरू बीच चिरपरिचित लोकप्रिय व्यक्तित्व, टानको अध्यक्ष समेत हुनुभएको उहाँको साथले पनि हामीलाई ठमेलको त्यो मध्यरातको विचरण झन् सहज र सरल भएको थियो ।
उहाँकै होस्टमा हामी चौबीस घण्टा खुलेको ठमेललाई नियाल्न पुगेका थियौं । साथी ठमेलमै व्यवसाय गर्ने हुदाँहुदै पनि ठमेल चौबीस घण्टा खुलेपछि भने रातमा ठमेल विचरण गर्नु भएको रहेनछ ।
उहाँ कै आतिथ्यमा हामीले रातको खाना लियौं । केही ग्लास बियर पियौं र १२ बजे ठमेलको विचरण तिर लाग्यौं ।
२ घण्टाको हिंडाइमा हामीले ठमेलमा मुख्यतया लाइभ ब्यान्ड भएका रेस्टुरेन्ट, केही ठाउँमा स्ट्रीड फूड पसलहरू र डिस्को क्लबहरू मात्र खुल्ला रहेको भेट्यौं । अपवाद स्वरूप कतैकतै रेस्टुरेन्ट आंशिक खुला भेटियो ।
हामीले ठमेलको मुख्य आकर्षण सुरा र सुन्दरी अझ भन्ने हो भने रक्सी, ड्रग्स र सेक्स रहेको अनुमान गर्न पुग्यौं ।
हामीले यतिसम्म महसूस गर्यौं कि रक्सी, ड्रग्स र सेक्सको बजारलाई नेपाल प्रहरीको संरक्षणको लागि चौबीस घण्टा खुल्ला ठमेल भन्ने नारा दिएको पो रहेछ । नेपाल प्रहरीको अगाडि खुल्लमखुल्ला सेक्सको लागि बार्गेनिङ भइरहेको थियो ।
ठमेल कुनै देशको घोषित रेड लाइट एरिया भन्दा कम देखिंदैन थियो । ठमेलको जुन गल्लीमा, जुन चोकमा पनि पुलिस र यौनकर्मीहरूको बार्गेनिङको आवाज प्रष्ट सुनिन्थे ।
दोहोरी पनि अर्को आकर्षण रहेछ ठमेलमा । दोहोरीमा पनि गीतसँगै मदिरा अनि यौनकर्मीहरू बीच बार्गेनिङ देखिन्थ्यो ।
खुल्ला सडकमा हुने बार्गेनिङमा बढी युवाहरू मुख्यतः कम पैसा हुनेहरू र दोहोरी र डान्स तथा डिस्को क्लबहरूमा भने भिआइपीहरूको लागि यौनकर्मीहरू सँग बार्गेनिङ तथा सेटिङ भइरहेको हामीले महसूस गर्यौं ।
झण्डै २ घण्टाको विचरण सँगै हामी एलओडि क्बल नजिकको बाटो हिंड्दै गर्दा लहरै अफ्रिकन मूलका महिलाहरू त्यो पनि झण्डै चार-पाँच मिटरको फरकमा उभिएका र खुले आम सेक्सको लागि बोलाइरहेको देखेर छक्क परिरहेका थियौं ।
स्पष्ट देखिन्छ ती महिलाहरू विदेशी हुन् र नेपालमा भ्रमण भिसामा आएका छन् । खुलेआम प्रहरीहरूको अगाडि नै सेक्सको लागि मोलमोलाइ गरेको देख्दा हामीहरू आश्चर्य नपर्ने कुरै भएन ।
यही आश्चर्यको दृश्यले गर्दा आफूसँग भएको मोबाइलले ती प्रत्यक्ष मोलमोलाइ गरेको गतिविधिहरूलाई भिडियोमा कैद गर्न मन लाग्यो र उनीहरूबाट लुकाएर केही भिडियो क्लिप लिंदै बिस्तारै अगाडि बढिरहेको थिएँ ।
यो भिडियो लिंदै गरेको कुरा मसँगै विचरण गरिरहेका साथीहरूलाई थाहा थिएन ।
मैले भिडियो खिचेको कुरा बाटैमा बसेर बार्गेनिङ गरिरहेकी महिलाले थाहा पाइछन् र मलाई हातमा समातेकी रहिछन् । अन्ततः त्यही मैले खिचेको फोटो र भिडियोकै कारण ती अफ्रिकन मूलका महिलाहरूले मलाई घेरेका रहेछन् ।
अन्ततः महिलाको ग्याङले घेरा हाली मोबाइलबाट मैले लिएको फोटाहरू र भिडियोहरू हटाउन जबर्जस्ती गर्न थाले ।
‘मनोज जी डिलिट गरिदिनुहोस् !’ मेरो साथीको आवाज सुनिरहेको थिएँ ।
‘वेट, वेट, आइ विल डिलिट’ भन्दै मैले सबै फोटाहरू डिलिट गरें र उनीहरूबाट उम्कन खोजें ।
फेरि त्यही महिलाले हातमा समातेर तानिन् । साँच्चै मलाई महसूस भयो कि म कति कमजोर रहेछु । ती महिलासँग मलाई सहजै तान्न सक्ने बल थियो ।
“हेलो, ह्वाइ आर यू पुलिङ मि अगेन ?’
उनी ठूलो स्वरमा कराउँदै मलाई भन्दै थिइन्, ‘डिलिट फ्रम परमानेन्ट फोल्डर टु ।’
‘ओके ओके’ भन्दै ती सबै फोटोहरू परमानेन्ट फोल्डरबाट समेत हटाएँ । उनीहरू पनि खुशी देखिए । हामी अगाडि बढ्यौं ।
उनीहरू पनि त्यो ठाउँबाट हिंडे । महिलाहरू १ मिनेटमा त्यो एरियाबाट तितरबितर भै सकेका थिए ।
मैले पछाडि फर्केर हेरें, त्यो क्षेत्रमै अफ्रिकन महिलाहरूको त्यो भीड पूर्णतः शून्य भयो । हामी एउटै टि सर्ट र टोपी लगाएका थियौं । शायद त्यसकारण पनि उनीहरू डराएर त्यताबाट भागेको हुनुपर्छ भन्ने अनुमान लगायौं र कतै बसेर एकएक गिलास बियर खाने निधो गर्यौं ।
हामी पूर्णतः थाकेका थियौं । २ बजेको त्यो समयमा डिस्को क्बल, दोहोरी, लाइभ ब्यान्ड भएको रेस्टुरेन्ट स्ट्रीड फूड बाहेक कुनै पनि शान्त रेस्टुरेन्ट खुला पाएनौं । बल्लबल्ल एउटा त पायौं तर ड्रिंक बाहेक अरू दिन नसक्ने उनीहरूले बताए र त्यही शर्तमा बियर पिउँदै थकाइ मार्यौं ।
मलाई भने अफ्रिकन महिलाहरूको त्यो क्षणले उद्वेलित बनाइरहेको थियो । एक घण्टापछि फेरि त्यही ठाउँमा जान मन लाग्यो र साथीहरूलाई भनें । तर थाकेको हुनाले हिंडेर जान नसक्ने एक जना साथीले भन्नुभयो । सल्लाह बमोजिम हामीले ट्याक्सी लिएर फेरि पूरै ठमेल घुम्न निस्कियौं ।
ट्याक्सीको यात्रा झन् हामीलाई सूचनामूलक रह्यो । हामीले आजको चौबीस घण्टा खुलेको ठमेल र पहिलेको १२ बजे बन्द हुने ठमेल बीच फरक र अफ्रिकन महिलाहरू बारे ती ट्याक्सी चालकसँग लामो कुराकानी गर्यौं ।
ति ट्याक्सी ड्राईभरको भनाई र हामीले महसूस गरेको कुरा लगभग एकै थियो । उनी भन्दै गए, ‘हिजो पनि ठमेलमा यही सेक्स, ड्रिग्स र ड्रग्सको व्यापार रातभरी नै हुन्थ्यो तर प्रहरीलाई हप्ता बुझाउनु पर्थ्यो ।’
मैले अलि बढी नै रुचिका साथ सोधें, ‘के हिजो पनि चौबीस घण्टा खुल्थ्यो र भाइ ?’
उनी झन् उत्साहित हुँदै भन्दै गए, ‘१२ बजे पछि प्रहरीहरू लाठी बजार्दै आउँथे । अनि बाहिर बन्द हुन्थ्यो भित्र सबै हुन्थ्यो । अहिले भने सहजै खुल्ला छ । शायद प्रहरीलाई बुझाउनुपर्ने हप्ता भने बुझाउन कम होला । यति मात्र फरक हो । अरू त सबै उस्तै हो ।’
‘हामीले त अफ्रिकन केटीहरू टन्न पो भेट्यौं त भाइ, पहिला पहिला पनि यस्तै हो र भाइ ?’
मेरो प्रश्न सकिन नपाउँदै ‘होइन नि, चौबीस घण्टा ठमेल खुल्ला भएपछि मात्र देखिएका हुन् । मैले सुनेको विदेशी केटीहरू सेक्सको लागि ल्याउने धन्दा नै चलेको छ रे ।’
‘कति छन् होला भाइ विदेशीहरू ?’
उनको भनाइ थियो, ‘२०० भन्दा त बढी नै छन् भन्छन् । धेरै देशका केटीहरू छन् रे ।’
हामीले अनुमान लगाउन सक्छौं ठमेलमा हिजोआज के हुँदैछ भनेर । हाल सालै मेरो भारतीय साथीहरू गोवाबाट आउनुभएको थियो ।
उनीहरूको पनि स्पष्ट भनाइ थियो, ‘मनोज भैया आपका ठमेल थाइल्यान्डका पतया से कम नही है । बहुत परिवर्तन देखा हुँ मैने ।’
यो भनाइले मलाई लज्जित गराएको थियो नै । यही कुरा मलाई केही अमेरिकन साथीहरूले पनि सुनाएका थिए । यसकारण पनि मलाई ठमेल घुम्न उक्साएको हो ।
हामी १ घण्टाको ग्यापमा फेरि त्यही स्थानमा पुग्यौं र ट्याक्सीबाट ओर्ल्यौं । झण्डै १ घण्टापछि फेरि ती अफ्रिकन केटीहरू आफ्नो पेशामा फर्किसकेका थिए ।
यस पटक भने म त्यही पहिला मेरो हात समाउने केटीको नजिक गए ।
‘हेलो, लिभ ह्वाट ह्यापेन विफोर । क्यान वि विकम फ्राइन्ड ?’ उसले मलाई राम्रोसँग तलदेखि माथिसम्म हेरी । मैले पनि मज्जाले मुस्कुराएँ र फेरि भने ‘क्यान वि ?’
शायद नाइँ भन्न नसकेर होला । उसको उत्तर थियो ‘ओके’ ।
फेरि मैले भनें, ‘क्यान आइ टेक सेल्फी ?’ मैले फोटो खिच्ने अनुरोध गर्दै फेरि मज्जाले मुस्कान दिएँ र बढी नै नजिक हुन खोजेको जस्तो महसूस गराउन प्रयास गरें ।
उसले स्वीकार गरी र मैले मेरो मोबाइलबाट सेल्फी लिएँ । अब भने म ढुक्क भएँ उनीहरूको नेपालको बसाइँ बारेमा केही कुरा गर्न सकिन्छ भन्नेमा ।
मैले अर्को मुस्कान दिएँ र केही कुराहरू गर्न थालें । ऊ केन्याबाट भिजिट भिसामा आएको २ महिना भएको रहेछ । उसले संख्या त मलाई भनिन तर घेरै साथीहरू भएको जानकारी दिई । ४ देखि ५ महिना नेपाल बस्ने र जाने भन्दै थिई ।
उसलाई एलओडी जान मन पर्छ रे । मलाई पनि लाने हो एलओडि भनेर सोध्दै थिई । आज म घर फर्किनु पर्छ अर्को दिन जाने कुरा गरें मैले ।
यही बाहानामा मैले मोबाइल नम्बर दिन अनुरोध गरें । एकदुई दिनमा म र साथीहरू आउँदा छिट्टै कल गरेर आउँछु भनें । उसले मलाई मोबाइल नम्बर दिई । उसले उसको नाम रिना बताई ।
मैले यो नाम त नेपाली हो । रियल नाम सोधें । उसले यही हो भनिन् । हस्, छिट्टै भेटुँला भन्दै हामी छुट्टियौं ।
यो घटना पछि हामी अति नै चिन्तित भएका थियौं । साथीहरूको धारणा थियो – यसरी भ्रमण भिसामा अफ्रिकन देशहरूबाट आएर सेक्सको व्यापार गर्ने क्रम बढ्ने हो भने नेपालको पर्यटन क्षेत्रमा पक्कै पनि धेरै नकारात्मक असर पर्ने देखिन्छ ।
हामीले महसूस गरेका थियौं रातको १२ बजे देखि झण्डै २ बजे सम्म ठमेल रेड लाइट एरिया जस्तै देखिन्थ्यो । पक्कै पनि यसले सेक्स पर्यटक भन्दा बाहेकका पर्यटकहरूलाई अति नै नकारात्मक असर पर्ने देखिन्छ ।
किन कि ठमेल त सेक्स पर्यटकको लागि मात्र थिएन । अझ भन्ने हो भने ठमेल एक मात्र चिरपरिचित विभिन्न प्रकारका पर्यटकहरूको लागि प्रख्यात छ । काठमाडौंमा आज पनि सबभन्दा लोकप्रिय पर्यटकीय क्षेत्र मुख्यतः व्यापारसँग सम्बन्धित बजारको रूपमा रहेको छ ठमेल ।
अर्को डरलाग्दो भविष्यमा देखिने समस्या भनेको एड्सको भयाभय रूप हो । अफ्रिकन देशहरूमा अहिले पनि एड्सको ठूलो समस्या छ । यसरी गैरकानूनी तरीकाले नेपालमा आएर सेक्स वर्करको रूपमा रहँदा छिट्टै एड्सको समस्या देखिने धेरै सम्भावना देखिन्छ ।
हाम्रो अब्जरभेशनमा भेटेको कुरा के थियो भने ती अफ्रिकन केटीहरूसँग बार्गेनिङ गरिरहेकाहरू नेपाली युवाहरू मात्र थिए । नेपालमा यौन पर्यटक पक्कै आउँदैनन् किनकि नेपालमा हालसम्म रेड लाइट एरिया छैन ।
अझ भन्ने हो भने नेपाल सेक्स प्रतिबन्धित देश हो । यसकारण कानूनी रूपमा प्रतिबन्धित देशमा सेक्स पर्यटक आउने कुरा नै भएन । सेक्स पर्यटकले राज्य नियन्त्रित र निरीक्षण भएको सेक्स बजारमा मात्र जाने गर्दछन् ।
रिना सँगको मोबाइल नं. साटासाट गरेको एक हप्तापछि मेरो मोबाइलको ह्वाट्स्अपमा एक भिडियो आयो जुन अश्लील थियो र त्यही महिलाले मलाई पठाएकी थिइन् । आज म फ्री छु ठमेल आउनु भन्ने म्यासेज थियो ।
मैले पनि उत्तर दिएँ, ‘हामी त दश जना छौं तिमीसँग साथीहरू छन् त ?’
तिनले भनिन्, ‘छन् ।’
मैले शुल्कको कुरा गरें ।
उनले भनिन्, ‘५००० /’
मैले हामी समूहमा भएको हुँदा शुल्क घटाउन अनुरोध गरें । उनले रूम चार्ज नलिने र एक बियर यही शुल्कमा दिने भनिन् ।
मैले भनें, ‘हुन्छ, पछि खबर गर्छु ।’
२ घण्टा पछि फेरि म्यासेज आयो, ‘कति बजे आउने ?’
आज साथीहरूको समय मिलेन अर्को दिन सम्पर्क गर्छु भनें । उनले पनि ओके भन्ने जवाफ फर्काइन् ।
यसरी भ्रमण भिसामा आएर ठमेलमा सेक्स वर्करको रूपमा प्रहरीको अगाडि बार्गेनिङ हुनु यो देशको पर्यटन क्षेत्रको ठूलो विकृति हो । यसरी नेपाली सयौं युवाले जुन पैसा विदेशी सेक्स वर्करहरूलाई खर्च गरिरहेका छन् के यसले देशको जिडिपीलाई सहयोग गरिरहेको छ, गम्भीर प्रश्न उभिएको छ ।
कि राज्यले ठमेललाई रेड लाइट एरिया तोकी सेक्सलाई कानूनी मान्यता दिएर यसलाई रेगुलेट गर्नुपर्छ कि राज्यले देशको कानून पूर्णतः लागू गर्नुपर्ने हुन्छ । नत्र यस प्रकारको असुरक्षित यौन व्यापारको अन्त हुनु जरूरी देखिन्छ ।
अर्को गम्भीर विषय – प्रहरीको सामु भ्रमण भिसामा आएका विदेशीहरूले कसरी काम गर्न सक्छन् नेपालमा, त्यो पनि सेक्स वर्करको रूपमा जुन नेपालमा प्रतिबन्धित छ । यस प्रकारको गैरकानूनी गतिविधिलाई कानूनी दायरामा ल्याउन राज्य गम्भीर हुन जरूरी छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।