गएको भाद्र २० गते आइतवार साहित्यपोस्टमा प्रकाशित  तैं तैं  धितालको ‘ओइ, काठमाडौं !’ शीर्षकको लेख पढ्ने अवसर पाएँ ।

यो लेखमा उनले काल्पनिक विषयवस्तु भन्दा पनि नेपाली भाषा प्रतिको मोह, स्नेह, हुटहुटी, सम्मान र मायाले गर्दा बर्माबाट नेपाल आएर नेपाली भाषा सिक्न खोज्दा सरकारी निकायबाट पाएको दुःख, कष्ट, हैरानी र झमेलालाई हुबहु प्रस्तुत गरेकी रहिछन् ।

नेपालमा नै जन्मिएका, हुर्किबढेका युवाहरूमा नेपाली भाषा प्रतिको लगाव घट्दै गइरहेको वर्तमान परिवेशमा एउटी नेपालभाषी छोरी विदेशी मुलुकबाट नेपाल आएर नेपाली भाषा सिक्न खोज्दा यति धेरै सास्ती झेल्नुपरेको सुन्दा नेपाली भाषालाई माया गर्ने जो कोहीका पनि आँखा रसाउनु स्वाभाविक हुनजान्छ । नेपाली भाषा सिक्न चाहनेले यस्तो सम्म दुःख सास्ती झेल्नु पर्दोरहेछ भन्ने कुरा मैले कल्पनामा पनि सोचेको थिएन ।

हामी जस्ता विदेश बसेर नेपाली भाषा र साहित्यलाई केही योगदान पुर्‍याउन सकिन्छ कि भनेर चिन्ता राख्नेहरूका लागि यो ठूलो आवाजको जनाउ घण्टी हो ।

म बेलायतको लन्डनमा बसिरहँदा देख्छु- यहाँ भुपु गोर्खा लाहुरेहरूका वृद्ध बा-आमाहरूलाई यहाँको स्थानीय निकाय काउन्सिलले उल्टै पैसा दिएर अंग्रेजी भाषा सिकाउने गरिरहेको छ । नेपाली गोर्खाहरूलाई मात्र होइन जो केही आप्रवासीहरूको समुदायले पनि अंग्रेजी भाषा सिक्न वा भाषा कक्षा सञ्चालन गर्न  चाहेमा अनुदान प्राप्त गर्ने गर्छन् । यसको उद्देश्य, पैसा पाउने आशामा भए पनि अंग्रेजी भाषा कक्षामा सहभागिता बढोस् भन्ने हुनु पर्दछ । यहाँको प्राथमिक विद्यालयबाटै अंग्रेजी बाहेकका फेन्च, स्पेनिस लगायतका अन्य भाषाहरूको ज्ञान दिने गरिन्छ । यस्तै कार्यलाई नेपालले किन अनुसरण नगर्ने ?

उहिले चाइना रेडियो इन्टरनेशनल(सि.आर.आई.) बाट नेपाली भाषामा प्रसारण हुने कार्यक्रममा अप्ठ्यारो गरी नेपाली बोलेको सुन्दा गर्व लागेको मलाई अझै सम्झना छ । अन्य भाषा बोल्ने विदेशीहरूले बोलेको र गीत गाएको सामाजिक माध्यममा भेट्दा अहिले शेयर गर्न होडबाजी चल्छ । नेपाली भाषी भएर नेपाली भाषा सिक्न तैं तैं लाई यस्तो सास्ती झेल्नु पर्‍यो भने विदेशीहरूले झन् कसरी सिके होलान् ?

१२ कक्षा उत्तीर्ण हुनासाथ टोफल र आइ.एल.टिए.स लगायतका अंग्रेजी भाषा पढेर विदेश जानेको लर्को दिन दोगुना रात चौगुना बढ्दो छ । जसले गर्दा नेपाली बोल्नेको संख्यामा ह्रास हुँदै छ । नेपाली बोल्नेले पनि २५/३० प्रतिशत अंग्रेजी मिसाएर बोल्दा मात्र आफूलाई सभ्य भएको ठान्ने प्रवृत्ति नेपाली भाषा नै पो लोप हुने त हैन ? भन्ने खतरा देखिएको छ ।

नेपाली लेख्न अप्ठ्यारो (हुने/लाग्ने) हुनाले फेसबुक जस्ता सामाजिक माध्यमहरूमा रोमनमा लेख्ने चलनले समेत नेपाली भाषालाई चुनौती थपेको पाइन्छ । यस्तो अवस्थामा विश्वभरी रहेको नेपाली भाषाभाषी एकजुट भएर नेपाली भाषाको संरक्षण, संवर्धन र प्रवर्धनमा बेलैमा ठोस कदम नचाले नेपाली भाषा लोप नहोला भन्न सकिन्न ।

नेपाली बाहेकका अरू भाषा सिक्नु पनि नराम्रो होइन तर नेपाली भाषालाई पनि लोप हुनदिनु हुँदैन । तैं तैं जस्ता जो कोहीले पनि नेपाली भाषा सिक्ने चाहना राख्छन् भने सम्बन्धित निकायहरूले सहज, सरल र सकेसम्म निःशुल्क सिक्ने वातावरण निर्माण गरिदिनु पर्दछ ।

तैं तैंले लेखको शुरूमा लेखेकी छन्, “चार पुस्ता पछि ४ हजार किलोमिटर दूरी पार गरेर पुर्खाको धर्तीमा टेकेको आज दुई वर्ष पूरा भएको छ ।”

प्रश्न उठ्छ: नेपालीहरूले नै नेपाली बोल्न/लेख्न छाडिरहेको परिवेशमा उनले नेपाली किन सिक्नुपर्‍यो ? चार-चार पुस्ता बर्मामा बसिसक्दा पनि नेपाली भाषा किन चाहियो ? उनी एक जनाले सिकेर वा नसिकेर के फरक पर्छ ? सरकारी निकायमा अरू कति धेरै बिथिति छन्, उनले भाषा सिक्न सानोतिनु झमेला झेल्नुपर्‍यो त के पहाड खस्यो ?

माथिका प्रश्न हेर्दा सामान्य लागे पनि धेरै गम्भीर प्रकृतिका छन् । उनलाई भाषा सिक्ने वातावरण सृजना गर्न त राज्यले गर्व मान्नुपर्छ । एक पुस्ता विदेश जाँदा नै नेपाली भाषाको निरन्तरता टुटिरहेको वेला चारचार पुस्तासम्म नेपाली भाषालाई बचाइराख्ने उनका माता-पिता र पुर्खाहरूलाई सलाम र सम्मान गर्नुपर्छ ।

दुई वर्ष सम्मको उनको धैर्यतालाई किन प्रशंसा नगर्ने ? नेपाली भाषाको विषयलाई अरू बिथितिसँग एक ठाउँमा मिसाएर हेर्न मिल्छ ? भाषाको संवेदनशीलता ध्यान दिनु पर्दैन ? तैं तैं त एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै अरू कयौं होलान् जसले उनले भन्दा ठूलो सास्ती झेल्नु परेको होस् ।

उनी लेख्छिन्, “काठमाडौं खाल्डोबाट पूर्वतिरको कुनै जिल्लालाई हाम्रा पुर्खाले भारी मनले छाडेका थिए रे । उनीहरूले देश छाडे, गाउँ छाडे तर भाषा छाड्न सकेनन् । समयसँगै धेरै कुरा परिवर्तन भयो, तर उनीहरूले बोकेर गएको संस्कृति, परम्परा र चालचलन छाड्न मानेनन् ।”

देश छाड्नुलाई धेरैले सम्बन्धित व्यक्तिको पैसा, अवसर र स्वार्थसँग जोडेर हेर्ने गरेका छन् । उनीहरू भित्र लुकेको वाध्यात्मक स्थितिलाई सधैं नजरअन्दाज गरेको पाइन्छ । विश्वव्यापीकरणको वर्तमान अवस्थामा बसाइँसराइ र आप्रवासन सामान्य भइसकेको छ । धेरैले बसाइँसराइ सँगै  भाषा, संस्कृति, परम्परा र चालचलनहरूलाई पनि चटक्कै छाडेको पाइन्छ । तैं तैंका पुर्खाहरूले पुस्तान्तरसम्म नेपाली भाषा, कला र संस्कृतिहरूलाई हस्तान्तरण गरेर नेपाली भाषाप्रति ठूलो गुन लगाएका छन् ।

यो लेखक स्वयम पनि विदेशमा बसेर बाल बच्चा हुर्काइरहेको सन्दर्भमा नयाँ देश, ठाउँ र परिवेशमा नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु चुनौतीपूर्ण हुने कुराको भुक्तभोगी हो ।

निष्कर्षमा भन्नुपर्दा, भाषाको कुनै सिमाना, देश, भूगोल वा राजनीति हुँदैन । तैं तैं मात्र होइन, जो कोहीले जुनै पनि भाषा पढ्न, लेख्न, प्रयोग गर्न र सिक्न सरल, सहज र विना रोकतोक पाउनुपर्छ । नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूले नेपाली भाषाको संरक्षण, संवर्धन, प्रवर्धन र सिकाइमा सहजताको लागि बेलैमा योजना बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ । यसै सम्बन्धमा मेरा आफ्नै दुई लघुकथा सान्दर्भिक लागेर प्रस्तुत गरेको छु ।

—-

लघुकथा : भात

“यी नानी बाबुहरूलाई पाउरोटी र दूध दिनु पर्थ्यो ! भोकाए होलान् ।” अमेरिकाबाट गर्मी बिदा मनाउन आएका नातिनातिना देखाउँदै आमाले भनिन् ।

आमाको बोली भुइँमा खस्न नपाउँदै गीताले जवाफ दिइन्, “पर्दैन आमा पाउरोटी के खान्थे !”

“उसो भए भुटेका मकै दिए भैगो नि !”

“भुटेका मकै पनि खाँदैनन्, आमा ।”

आमाले अचम्म भावमा भनिन्, “यहाँका केटाकेटी त कत्ति रमाएर खान्छन् । चिउरा त खान्छन् नि ?”

गीताले चिउरा पनि नखाने बताइन् ।

यतिकैमा “भान्जा भान्जीहरूलाई मैले ‘डिपार्टमेन्ट स्टोर’ बाट ‘ब्रेड’, ‘पपकर्न’ र ‘कर्न फ्लेक’ ल्याइदिएको छु, हेरेर के-के खान्छन् दिनु,” भन्दै भाइले गीतालाई झोला दिए ।

गीताले झोला खोलेर हेर्दै भनिन्, “सबै थोक खान्छन् ।”

आमाले चर्को स्वरमा भनिन् “भरे भात नपकाउनू, केटा-केटी भात खाँदा रहेनछन्, आज सबैलाई ‘राईस’ पकाउनू ।”

—-

लघुकथा : नेपाली भाषा

“बाबा मलाई नेपाली राम्रोसँग बोल्न र लेख्न सिक्नु छ । मलाई नेपाली भाषा कक्षामा भर्ना गरिदिनुहोस् । हजुर आफन्तहरूको भेटघाटमा जानुहोस् । म पढ्दै गर्छु ।” दुई महीनाको स्कूल बिदाको छेको पारेर बेलायतबाट आएको श्यामले कनीकुथी नेपालीमा बोलेर बाबालाई नेपाली भाषा सिक्ने इच्छा जाहेर गरेकोले छोरोलाई लिएर नरबहादुर पुतली सडक र बागबजारका गल्ली-गल्ली चहारिरहेका थिए ।

जति चहारे पनि ठूला-ठूला होर्डिङ बोर्ड र ब्यानरहरू आकर्षक विज्ञापन राखेका, बसेका विदेश पढ्न पठाउने कन्सल्ट्यान्सी, टोफल, आईएलटिएस, चाइनिज, जापनिज, कोरियन,हिब्रु र युरोपियन भाषा पढाउने भाषा केन्द्रहरू मात्र भेटिए ।

के यहाँ नेपाली भाषा पनि पढाइन्छ ? भनेर सोध्यो भने गलल्ल हाँसेर ‘मजाक नगर्नु, नेपाली भाषा पनि सिकिराख्नु पर्छ र ?’ भन्ने सिवाय उनले केही जवाफ पाएनन् । बाबु छोराले चहार्दा चहार्दै गलेर हत्तु हैरान हुँदा पनि नेपाली भाषा सिक्ने ठाउँ भेटेनन् ।

पुरानु बसपार्क नजिकैको जुस पसलमा उखुको रस खाँदै छोराले ‘गुगल’ गर्‍यो र भन्यो । “बाबा ! नेपालमा आएर नेपाली भाषा सिक्छु भन्दा पनि सिकाउने ठाउँ भेटिएन । बरु ‘युनिभर्सिटी अफ क्याम्ब्रिज’ले नेपाली भाषा पढाउँदो रहेछ । म लन्डनमा नै गएर नेपाली भाषामा पढ्छु ।”

—-

 ईटहरी-१९, सुनसरी (हालः लन्डन)