हामी मन, मस्तिष्क, विचार, चित्तका बारेमा कुरा गरिरहन्छौँ तर यिनका बिचमा के भिन्नता वा  समानता छ, मलाई त्यति थाहा छैन ।  मैले मनोविज्ञानमा अन्तर्मुख र बहिर्मुख प्रवृत्ति पढेको छु । म आफ्नो मनलाई आफूभित्रै केन्द्रित राख्छु । आफ्नै कल्पनामा तल्लीन रहन्छु र बाहिरी जगत्‌सँग कम रुचि राख्छु । मसँग अन्तस्करणतर्फ उन्मुख हुने प्रवृत्ति छ । अरूसँग सम्पर्क नबढाउने, आत्मकेन्द्री र सङ्कोची मानिस अन्तर्मुख हुन्छन्  । म पनि शायद अन्तर्मुखी स्वभावको दुःखी मानिस हुँ । यसको विपरीत म बाहिरी वस्तुजगत् तिर दृष्टि दिन्छु र बाह्य संसार वा सामाजिक जीवनमा अभिरुचि राखेर सहभागिता जनाउँछु भने म बहिर्मुखी  हुँ । म पनि बहिर्मुखी  बन्न सक्छु  ।

मनोवैज्ञानिक सोचमा मानिसको व्यक्तित्वमा विविधता हुन्छ ।  प्रत्येक मानिस आकृति, तौल, सोच, प्रतिभा  र व्यवहारका दृष्टिले भिन्न हुन्छन् । मानसिक अवस्थाका पनि सामान्य र विशिष्ट प्रकृति हुन्छन् । अन्तर्मुख वा बहिर्मुख मानसिक प्रवृत्तिको उपज हो । विशिष्ट मानसिक अवस्था हुने र वैयक्तिक विशेषता हुने मानिस अन्तर्मुखी  हुन्छन् । यस्ता मानिसले आफ्नो भावनात्मक र मानसिक अवस्थालाई आन्तरिक रूपले अनुभव गर्छन्  । यी सोच र व्यवहारका लागि आफूभित्र तिर फर्कन्छन् र अन्तर्दृष्टिलाई आफूमा सीमित राख्न रुचाउँछन् ।   बाहिरी संसारसँगको सम्बन्धमा सीमितता राख्नु यिनको विशेषता हो । यही विशेषताका कारण यस्ता मानिसको भागमा दुःख मात्र पर्ने गर्छ । दुःख साटासाट गर्ने पक्षमा यिनलाई सङ्कीर्णताले पर्खाल लगाइदिन्छ । यिनको सोच र व्यवहार बुझ्न समाजलाई सहज छैन । आफू र समाज दुवैका लागि यी दुःखका कारक बन्न सक्छन् ।

अन्तर्मुखी मानिस शान्त, सोचमग्न र गम्भीर हुन्छन् ।  यी समाजमा कम सक्रिय रहन्छन् र सामाजिक कार्यको प्रभावकारितामा पनि कम सिर्जनशील हुन्छन् । आन्तरिक सोच गहिरो र जटिल हुनाले यिनको जीवन चुनौतीपूर्ण हुन्छ । चुनौती उत्साहको कारण हो तर अन्तर्मुख चुनौती क्रियाशीलताको बाधक हो ।

अन्तर्मुखी मानिस आन्तरिक ध्यानमा केन्द्रित हुन्छन् । यिनीहरू स्वच्छन्दताभन्दा एकान्तको खोजी गर्छन् । एकान्त र शान्त वातावरणमा समय बिताउँदा सामाजिक गतिविधिको संलग्नतालाई  बिर्सन्छन् । सामाजिक सहभागिताको कमीले व्यक्तिमा विकास हुने औसत सामाजिक शिल्प अभाव हुन्छ र सामाजिक सोचको गति पक्रन नसक्दा यस्ता मानिसमा  नैराश्यको तीव्रता बढी हुन्छ ।

अन्तर्मुखीको चिन्तनशीलता गम्भीर, सूक्ष्म र गोपनीय हुन्छ ।  यी विचारशीलतामा विश्लेषक हुन्छन् तर यिनमा सामाजिक सङ्कोच हुन्छ ।  सामाजिक परिस्थिति र सार्वजनिक स्थल यिनका लागि सङ्कोचपूर्ण  हुन्छन् र यी पटक पटक तनावग्रस्त र दुःखी भइरहन्छन् । सामान्य कारणले दुःखी भइरहने हुँदा यिनको मानसिक र भावनात्मक स्वास्थ्य प्रतिकूल हुन्छ । प्रतिकूल स्वास्थ्य प्रतिकूल विचारको सर्जक हो । समाजले सामाजिक सक्रियता र सार्वजनिक प्रस्तुति खोज्छ तर विपरीत सोचका कारण अन्तर्मुखी मानिसले सामाजिक दबाब र अपेक्षाको सामना गर्नुपर्छ ।

यही कारण यिनको सोच र प्राप्तिमा विफलता हात पर्छ अनि आत्मपीडाले दुःखी बन्छन् । यिनमा आत्ममूल्यको कमी हुन्छ । अनुकूल मानसिक स्वास्थ्य सापेक्ष र अनुकूल सोचको उपाय हो भन्ने बुझाउन यिनलाई कठिन हुन्छ ।  यिनलाई स्वाभिमान र  क्षमतामा सन्देह हुन्छ । सफलतामा विश्वासको कमी हुँदा आत्मसङ्कोच र आत्मनिराशा बढी यस्ता मानिस मानसिक रोगी बन्न पुग्छन् । मनको गहिराइमा नकारात्मकता भरिएमा यी अस्वाभाविक मानसिकताका हुन्छन् । आत्मकेन्द्री सोच विकास भएमा यिनका व्यवहार र कार्य अनपेक्षित हुन्छन् । पारिवारिक र सामाजिक सहयोग प्राप्तिमा पनि यी  अन्यसरह हुँदैनन् ।

पारिवारिक र सामाजिक अस्थिरता तथा प्रतिकूल स्वास्थ्यका कारण अन्तर्मुखी मानिसमा असामाजिक व्यवहार विकास हुन्छ । अरूले सोझै बुझ्न नसक्दा सामाजिकीकरणमा समेत यी असफल हुन्छन् । कतिपयमा अस्वीकार्य सामाजिक गुण विकास हुन्छन् । यसबाट साथी समूह र संवाद संयन्त्र टाढा भई एकलकाँटेपन बढ्छ, जो दुःखको कारण बन्न पुग्छ ।  अझ बालबालिकामा अन्तर्मुखी प्रवृत्ति विकास भएमा तिनको सिकाइको शृङ्खलामा असर पर्छ ।  यसले सिकाइलाई अपूरा  बनाई आफूलाई नै पीडा दिने वा अन्त्य गराउने सोचमा पुर्याउँछ । अभिभावको निगरानी र परामर्श यिनका लागि औषधीसरह हुन्छ ।

भावनात्मक सङ्घर्ष र आत्ममूल्यको कमीले अन्तर्मुखी मानिसको मानसिक स्वास्थ्य प्रतिकूल बन्न पुग्छ । अन्तर्मुखी  मानिस आन्तरिक सोचमा केन्द्रित हुन्छ र बाह्य प्रभाव कमजोर हुन्छ । एकान्त र शान्तिको खोजीका कारण सामाजिक गतिविधिहरूमा  यस्ता मानिस कम संलग्न हुन्छन् ।

धेरै मानिसमा  मानसिक तनाव, चिन्ता र डिप्रेसनको समस्या देखिन सक्छ ।  मनोवैज्ञानिक परामर्श र उपचार नभए यस्ता मानिसको सामाजिक सम्बन्ध र जीवनशैली  प्रतिकूल भई  खराब बाटो रोज्न सक्छन् । यसबाट पारिवारिक विखण्डन, अशान्ति, वैमनस्य र आत्महत्या सम्मका खल प्रवृत्ति विकास हुन सक्छन् । सामुदायिक संलग्नता, जिम्मेवारी, व्यस्त परिवेश र खुला छलफल यिनका लागि सहायक हुन्छन् ।

अन्तर्मुखी स्वभावका मानिसको अन्तर्दृष्टि प्रबल हुन्छ । यसलाई बाह्य संसारसँग जोड्न निरन्तर संवाद आवश्यक हुन्छ । यिनका लागि आत्ममूल्यको विकास गराउने उपायको खोजी गर्नुपर्छ ।  व्यक्तिमा आत्ममूल्यको विकासले अन्तर्मुखी स्वभावलाई बहिर्मुखी बनाउन सकिन्छ । बहिर्मुखी मानिसचाहिँ बाह्य वातावरणमा  केन्द्रित भई रमाउँछ । उसको सामाजिक सक्रियता क्रियाशील हुन्छ ।  बहिर्मुखीहरू सकारात्मक सामाजिक अन्तरक्रियाबाट  मानसिक रूपमा  सन्तुलित हुन्छन् र  सामाजिक सम्बन्ध सहजै विकास गर्छन् ।

अन्तर्मुखी मानिस एकान्त र शान्तिलाई ऊर्जा स्रोत मान्छन् जसले समय व्यवस्थापनलाई कमजोर बनाउँछ । यसका विपरीत बहिर्मुखी मानिस सामाजिक अन्तरक्रिया र समयलाई  ऊर्जाशील उत्प्रेरणका रूपमा लिन्छन् । साथी समूह बनाउने पक्षमा पनि अन्तर्मुखी स्वभाव बाधक हुन्छ ।   एउटा गम्भीर सोच र आत्मविश्लेषणमा रमाउँछ, अर्को अनुभव र क्रियाशीलतालाई  व्यवहार ठान्छ । यी नदीका दुई किनार हुन् । यिनको दृष्टि र सोचको परिवर्तन सामाजिक उन्नतिको मूल भँगालो पनि हुन सक्छ । सिकाइ र सिकाइको प्रयोगमा अन्तर्मुखी र बहिर्मुखीको संवाद र क्रियाशीलता आवश्यक छ ।

सामाजिक संवाद, बहस र सूचना प्रविधिको पहुँच तथा सूचना साक्षरता बाहिरी सम्बन्धका असल उपाय हुन् । बाहिरी सम्बन्ध व्यक्तिको  ऊर्जा स्रोत हो । अन्तर्मुखी व्यक्तिले  बाहिरी सम्बन्धका अभावमा हरपल ऊर्जा स्रोत गुमाउँछन् ।  यिनले  मानसिक स्वास्थ्य अनुकूल बनाउन सक्दैनन् ।  कहिलेकाहीँ  स्वपहिचान समेत छनोट गर्न सक्दैनन् । व्यक्तिको सफलताको पहिचान र सकारात्मक सोचले आत्ममूल्य विकास हुन सक्छ । आत्ममूल्यको विकासले सोचको क्षितिज उघार्छ । अन्तर्दृष्टिलाई सामाजिकीकरण गर्ने उपाय बहस र अन्तरक्रिया हुन् । अन्तर्मुखी व्यक्तिलाई बाहिरको संसारमा खुलाउन सामाजिक क्रियाकलापमा संलग्न गराई सामाजिक सिप विकास गराउनुपर्छ । बालबालिकाका लागि सामुदायिक कार्य र पाठ्यान्तर कार्यकलाप उपयोगी हुन्छन् । साथीभाइसँग भेटघाट, सभासम्मेलनमा सहभागिता र  चिया गफ कुण्ठा बहिष्करण गर्ने सामाजिक संवादका माध्यम हुन् ।

मानिसका सोचमा विविधता हुन्छ र यो वैयक्तिक प्रवृत्ति हो ।  अन्तर्मुखी सोचमा परिवर्तनका लागि मानिसको मानसिक स्वास्थ्य नियन्त्रित हुनुपर्छ  । चेतन मनले मानिसलाई नियन्त्रण गर्छ । अचेतन मनका कुण्ठा अन्तर्मुखी व्यवहारका सर्जक बन्न सक्छन् ।

मानसिक स्वास्थ्यको सुधारका लागि मनोवैज्ञानिक परामर्श, उपचार, ध्यान, मानसिक शान्ति र स्थिरता उत्तम उपाय हुन् ।  अचेतन मनको नियन्त्रणका लागि चेतन मनको सक्रियता चाहिन्छ, कामको संसार चाहिन्छ । आत्म संवेदनशीलता र समावेशिता पनि मानसिक शान्तिका कारक हुन् । मानसिक शान्ति र शारीरिक क्रियाशीलता अन्तर्मुखी प्रवृत्तिलाई औसत बनाउन सहायक हुन्छन् । अन्तर्मुखी व्यक्तिमा आत्मअन्वेषण, स्वसंवेदनशीलता, आत्मप्रेरणा र समय व्यवस्थापनले तनाव र चिन्ता कम गर्न सक्छन् । यी पक्ष प्रतिकूल भए व्यक्तिले दुःखको अनुभूति गर्छ ।  अन्तर्मुखी स्वभावको प्रकटीकरण सामान्यतः दुःखपूर्ण नै हुने गर्छ ।

अन्तर्मुख गहनता र गोपनीयता हो । अन्तर्मुखी  प्रवृत्ति सदा दुःखी हुन्छ ।  म अन्तर्मुखी र बहिर्मुखी सोचलाई हलो जोताउन चाहन्छु ।