प्रायः सबैलाई रहर हुन्छ आफ्नै देशको माटोमा रमाउन, हाँसीखुशी बिताउन । मेरो पनि रहर थियो सबैसरह आफ्नै देशमा गरिखान, आफ्नै देशको माटोमा पसिना बगाउन । तर देशको आर्थिक अवस्था र रोजगारीको अभावले कतिलाई कहाँकहाँ मात्र पुर्‍याएन र ? यसबाट म पनि अछुतो रहिनँ । र जापान आउन बाध्य भएँ ।

सन् २०२२ !  अनेकौं सपना बोकेर विद्यार्थी भिसामा जापान आएँ । जापान त आएँ तर मैले सोचेको जापान र भोग्नु परेको जापानमा आकाश र पातलको फरक रहेछ ।

यस्तो लाग्थ्यो कि, म भोलि नै नेपाल फर्कन्छु । तर १६ लाख ऋण मेरो थाप्लोमा थियो । त्यसैले म चाहेर पनि सपनाको देश जापानबाट नेपाल फर्कन सकिनँ ।

सोच्थें, म यो शहरमा कसरी खुशी रहन सक्छु होला र ! जापान आइसकेपछि सम्झिन्छु ती पुराना कुराहरू । नेपालमा हुँदा ‘जापान नआउनु, भनेजस्तो सजिलो छैन । गरिखान गाह्रो छ,’ भनेर जापानमा रहेका साथीभाइहरूले कल गरेरै भनेका थिए । त्यो समयमा मलाई पत्यार लागेन । ‘तिमीहरूले सक्ने, मैले नसक्ने’ भन्दै उनीहरूलाई गाली गर्न सम्म गरेको थिएँ । उनीहरूको त्यो अप्ठ्यारो भोगाइ अब मैले भोग्नु सिवाय अरू केही उपाय छैन । शायद विद्यार्थीहरूको भोगाइ मेरो जस्तै त होला ।

फोन नम्बर विना जापानमा काम नपाइने रहेछ । मलाई काम गर्नु थियो र आफू आएको ऋण तिर्नु थियो, पढाइ भन्ने कुरा त पढ्दै गरुँला भन्ने लाग्थ्यो । दायाँबायाँ सोच्दासोच्दै आएको २ महिना बित्यो र म कामको खोजीमा भौंतारिरहें । धेरै ठाउँमा अन्तर्वार्ता दिएपछि एउटा कम्पनीमा कामको लागि योग्य ठहरिएँ । अरूभन्दा पढाइ राम्रो भएकोले होला शायद सहज तरीकाले त्यो काम मिलिहाल्यो । कामको लागि फोन आयो एकजना भलाद्मीबाट । म खुशीले उफ्रेको अहिले पनि याद छ । यो जापानको पहिलो खुशी थियो मेरो ।

रातिको काम, हप्तामा तीन दिन, घण्टाको १३७५ येन थियो । बेलुका ८ देखि बिहान ५ बजेसम्म काम, १ घण्टा ब्रेक टाइम, ब्रेकको पैसा नआउने ८ घण्टा काम गर्नुपर्ने  काम गाडीको  कम्पनीमा रहेछ । भलाद्मी उहाँले मलाई ठाउँको नाम भन्नुभयो र समय पनि दिनुभयो । उहाँले भनेको ठाउँमा समयमै नपुगे काम नपाइने भनेपछि म कोठाबाट अल्लि छिटै निस्किएँ ।  ठाउँ थियो ओसाकाको ओमेदा अगाडि ।

महिला र पुरुष माथिको समान व्यवहार, कामलाई नै सबैथोक सम्झने, अनुशासन, समयको सदुपयोग, सही ढङ्गले नियमहरू लागू हुने, सहयोगी भावना भएका जापनिजहरू साँच्चिकै प्रशंसा गर्न लायक छन् । जसोतसो उहाँले बोलाउनु भएको ठाउँमा पुगें । त्यहाँबाट पनि फेरि गाडी चढ्नु पर्ने रहेछ । त्यसपछि बल्ल हामी कम्पनीमा पुग्यौं ।

कामको पहिलो दिन, त्यही पनि राती, निद्रा  प्यारो मान्ने मान्छे म । गाह्रो त भयो नै । काँधमा रहेको जिम्मेवारी सम्झिन्छु । कम्पनीमामा धेरै नेपाली हुनुहुन्थ्यो । तर सबै सहयोगी भावना नहुँदा रहेछन् । भन्थे, ‘हेरेर जान्नुपर्छ,’ । एक दिनै हेरेर कहाँ जानिन्थ्यो र ? पहिलो दिन धेरै कुरा पढ्नु -लेख्नु पर्‍यो ।  काम थियो गाडीको सेन्सर  सेहिन बनाउनु पर्ने । पढ्न रुचाउने मलाई गाडी कामले निकै हर्षित बनायो । सँगसँगै ‘म भन्दा जान्ने हुन्छन् कि भन्ने’ सोच राख्ने नेपालीको बानिले कताकता दुखित पनि बनायो । यसो भनिरहँदा सबै नेपालीलाई होइन है, कोहीकोही नेपालीहरू प्रशंसा गर्न लायक पनि छन् । ब्रेक टाइम भयो, सबैले सँगै खाना खाइयो र काम सकेर फेरि स्कूल जानुपर्ने थियो ।

पढ्नको लागि स्कूल जानुपर्ने हुन्थ्यो । स्कूलबाट फर्केर कोठा पुगिसक्दा बेलुकाको ५ : १० बजिसकेको हुन्थ्यो ।  नेपालबाट लिएर आएको टन्न ऐन थियो ३,४ महीना सामान्य दाल र भातमा बित्तै  गयो ।  नेपालबाट ल्याएको पैसा नि सकिंदै गयो  !  यता दिनदिनै  कामको थकाइ अनि निद्रा,  पढाइको बोझ अनि उता नेपालको साहूको रिनको बोझ बढ्दै गयो  ।

शुरूशुरूमा  साथीहरू नि राम्रै लाग्थ्यो । पछि त साथीहरू पनि फेरिंदै गए । शायद समयअनुसार परिवर्तन हुँदै जाँदा रहेछन् । देश अनुसारको भेष भनेजस्तै मलाई जसोत्यसो व्यवहार गर्छन् म पनि त्यस्तै त्यस्तै बन्दै गएँ । बुझ्दै गएँ । भोगाइबाट सिक्दै गएँ । विदेशमा दयामाया भन्दा पनि प्रयोगात्मक हुनुपर्दो रहेछ ।

जापानमा साथी भनेको बाहिर खान, डुल्न, घुमफिर गर्नको लागि मात्रै चाहिने रहेछ  ।  चाहे साथी भोकै होस् चाहे थाकेको  होस्   कसैले कसैको सहयोगमा हात नफैलाउने रहेछन् । यसरी एक्लै बस्न, रहन सिक्दै गएँ । अरूको भर पर्न नहुने रहेछ ।   परदेशमा कोही आफ्नो हुँदैन । कसम, कहिलेकाहीं डाको छोडी रुन मन लाग्छ । एक्लोपनले सताउनु सताउँछ मलाई । चित्त दुख्दो रहेछ नेपालीबाट नै हेपाइ खाएपछि । नेपालीबाट नै खुट्टा तान्दिएपछि । कति सिरानी बिझाएँ, भावना पोख्ने ठाउँ नहुँदो रहेछ जापानमा । दुख लाग्छ । दुःखैदुःखमा पनि पाठहरू सिक्दै गएँ । काममा मन लगाइरहें । पढाइमा ध्यान दिइरहें ।

अनुभवबाट अमूल्य सिकिरहें ! यस दुई वर्षको अन्तरालमा मेरो फरक बुझाइ यस्तो रह्यो – कतिपयले उच्च महत्त्वाकाङ्क्षा राखेका कारण अकालमा ज्यान पनि गुमाएका छन् तर लक्ष्य प्राप्त गर्ने क्रममा आएका विघ्नवाधाहरूलाई आत्मसात् गरेर त्यसको समाधान खोज्नु पर्दो रहेछ । त्यस्तो गरियो भने सरल जीवनयापन गर्न सकिंदो रहेछ । हामी विदेशमा विभिन्न किसिमका उद्देश्य काँधमा बोकेर साथमा लिएर आएका छौं र त्यसलाई कसरी पूरा गर्ने भन्ने विषयमा गम्भीर भएर लाग्नुपर्छ । दुःख गर्न सके पैसा जति पनि कमाइन्छ नै । तर मान्छेलाई पैसा जति नै भएनि पुग्दैन  । नेपालमा ४५ हजार महीनाको कमाउँदा नि पुगेकै थियो अहिले २ लाख कमाउँदा नि  मनमा सन्तोष हुन्न  । जति आम्दानी उति नै खर्च  अनि आवश्यकता  हुन्छ । आखिर मानिसको जीवन यस्तै त रहेछ ।

जापान