जीवन एक सुनिश्चित जोखिम हो । जीवनको सार्थकता प्रतिबद्धताले निर्दिष्ट गर्छ, आफ्ना संकल्प र आस्थाले यथार्थमा मानिस हुन्छ भन्ने जीवनदर्शन राख्ने विश्वेश्वरप्रसाद कोइराला आफ्ना सिर्जना विशेषतः कथा आफ्नै दर्शनमा छन् ।
जीवनको सार्थकता पनि सापेक्षिक हो उनका लागि । तर आफ्नै अर्थ र आशयको जीवनका लागि मानिस बाहिरी भन्दा आन्तरिक संघर्षमा रहेको हुन्छ ।
उनका ‘दोषी चस्मा’ (२००६), ‘स्वेतभैरवी’ (२०४४), ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा’ (२०५०) गरी तीन कथासंग्रहमा रहेका कथाहरूले यही तथ्यलाई उघारेको छ ।
स्रष्टा व्यक्तित्व र प्रवृत्तिका आधारहरू हुन्छन् । पारिवारिक परिवेश, जीवनका घटना, सामाजिक अभिमुखीकरण र साथी–सङ्गातीको प्रभाव यसका पृष्ठाधार हुने गर्दछन् । विश्वेश्वरको बाल्यकाल प्रवासमा बित्यो । उनको परिवार राजनैतिक चेत र सामाजिक गतिविधिमा लागेको थियो । आर्थिक रूपमा मध्यम वर्गीय थियो । बाल्यावस्थाको यही परिवेशले जीवनवृत्तिलाई प्रभाव पार्ने नै भयो ।
बाल्यावस्थामा बनारसको हाईस्कूलमा पढ्दा विश्वेश्वरको सम्पर्क र संगत साहित्य समीक्षक शान्तिप्रिय द्विवेदीसँग बढ्दै गएपछि उनको साहित्यतर्फको झुकाव पनि बढ्दै गयो । बाल विश्वेश्वर कविता लेख्ने प्रयास गर्थे तर मानस भावलाई भाषामा उतार्ने सामर्थ्य थिएन । सकीनसकी मनमा उठेका तरङ्गलाई कागजको खेस्रामा लेख्थे । शान्तिप्रिय भने ती खेस्रा नै छपाउन प्रेरित गर्थे । यही क्रममा शान्तिप्रियले एउटा सामान्य रचना ‘वहाँ’लाई त्यतिवेलाका नामुद साहित्यकार प्रेमचन्दको सम्पादनमा रहेको हंश (हिन्दी) पत्रिकामा प्रकाशित गरिदिए र विश्वेश्वरलाई कथाकारमा परिचय गराए । शान्तिप्रिय र प्रेमचन्दको यही प्रोत्साहनले विश्वेश्वर साहित्यकार बने ।
तर उनका मनभित्रका भावलाई भाषाले अभिव्यक्त गर्न नसकिएको विषय भने उनका पछिल्ला कथाहरूमा पनि देखा पर्दै रह्यो । परिणामतः उनी मनोविश्लेषण गर्ने, मनबाट संसार च्याउने कथाकार बने ।
संगत मात्र होइन पढाइ पनि रविन्द्रनाथ टैगोर, शरदचन्द्र चटर्जी लगायत हिन्दी, बङ्गाली साहित्यका नामुद कथाकारका कथा पढ्नमा देखियो । चटर्जीका कथाभित्र त्यतिखेरको मध्यम वर्गीय समाजको पति–पत्नी, महिला–पुरुष सम्बन्धको सूक्ष्म मनोविश्लेषण गरिएको हुन्थ्यो । विश्वेश्वर आफै पनि मध्यम वर्गीय परिवारका सदस्य थिए ।
चटर्जीको कथावस्तु आफ्नै वर्गीय मनोविश्लेषण लाग्नु स्वाभाविक थियो । त्यतिबेला अंग्रेजीमा अनुवाद भएका रुसी साहित्यका कथाहरूबाट, विशेषतः आन्तोन चेखवका कथाबाट निकै प्रभावित भए ।
‘चेखवका कथामा साना घटना र त्यसले मानिसलाई पार्ने प्रभावको सरल प्रस्तुति हुन्थ्यो । सानो घटना घट्छ, एउटा लहरो तानिन्छ मात्र तर मानिसको मस्तिष्कमा भने पहरो गर्जन्छ,’ विश्वेश्वरको यो भनाइले चेखवको कथाले उनलाई प्रभाव पारेको मात्र देखिंदैन, कथा साहित्यमा उनको दृष्टिकोण पनि झल्किन्छ, जसबाट उनी त्यही दृष्टिकोणमा प्रवृत्त रहे । उनका अर्थमा घटनाले जीवनलाई हल्लाउने, मानसिक ऊहापोह गर्ने कथा प्रभावोत्पादक हुन्छन् र ती ठूलाभन्दा साना घटना, प्रसङ्ग र वृत्तिबाट उब्जिन्छन् । त्यस्ता प्रसङ्गको प्रस्तुतिलाई भने कलाकारिता चाहिन्छ ।
त्यो कलाकारिता विश्वेश्वरले चेखवमा देखे, हामी विश्वश्वेरमा देख्छौं । चेखवका कथाको आस्वादमा विश्वेश्वर भन्छन्, ‘सबैजना कथाकार हुनसक्छन् उनको जस्तो चछुपारदेखि, अर्थात् मानिसको जीवनमा घटनाको अटुट प्रवाह घटिरहेको हुन्छ जसको नाटकीय सारगर्भितता, हृदयको तात्पर्यमा महत्त्व र अर्थयुक्तता हाम्रो अन्धो आँखाले देख्न सक्दैन । जीवनका प्रत्येक घटनाले तात्पर्य राख्छ । मेरा कथालाई उनैको आदर्शमा चलाउने कोशिश गरेको छु’ (आफ्नो कथा, पृ १५६) । त्यस्तै नामुद अंग्रेजी आख्यानकार डि एच लरेन्सका प्रेमकथाबाट पनि उनी त्यत्तिकै प्रभावित थिए ।
विश्वेश्वरका कथाहरूको विवेचना गर्दा उनका कथाको भावभूमि मनोविश्लेषण हो, मनभित्रबाट संसार हेर्छन् भन्ने देखिन्छ । त्यो मनोविश्लेषणमा फ्रायडीय र पाव्लोभीय प्रवृत्ति देखिन्छ । आन्तरिक मनको घनत्वमा पिकासोसँग नजिक छन् । अभिव्यञ्जनामा रिचर्डस तथा क्रोचेको मान्यतामा छन् । आख्यानको अभीष्ट भाव भने अस्तित्ववादी दर्शनमा रहेकाले अल्वेएर कामु, जाँ पल सार्त्र र फ्रान्ज काफ्कालाई नेपाली साहित्यमा भित्र्याउने काम पनि उनैले गरेका हुन् । जसको अर्थ हुन्छ, उनका कथाले अस्तित्वको खोजी गर्छन् । विद्वान समालोचक इन्द्रबहादुर राई कोइरालाका आख्यानलाई अस्तित्ववादी वरणमा देख्छन् ।
नेपाली कथालाई आधुनिक रूप दिने चार कथाकारहरू गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम र पुष्कर शमशेर थिए । यी चार कथाकारका कथाहरू सन् १९३९ मा दार्जिलिङबाट प्रकाशन भएको ‘कथा कुसुम’ मा छापिए । यी चार कथाकारले भिन्नाभिन्नै चार कथाधार प्रस्तुत गरेका थिए ।
गुरुप्रसाद मैनालीले ग्रामीण समाजको यर्थावादी चित्रण गरी आदर्शोन्मुख समाजको कल्पना गरेका थिए । बालकृष्ण समका कथामा बौद्धिक चिन्तन र पुष्कर शमसेरकोमा तर्क प्रधानता थियो । तर विश्वेश्वरका कथाले भने मनभित्रको मानिसको उथुलपुथललाई चित्रण गरेको थियो । यही धारले मनोविश्लेषणात्मक कथाको प्रवृत्ति पायो । नेपाली कथामा मनोदशालाई मिहिन ढङ्गले प्रस्तुत गर्ने पहिलो कथाकार विश्वेश्वरप्रसाद कोइराला हुन् ।
आजसम्म पनि कोइरालाले शुरू गरेको प्रवृत्तिलाई उनी पछिको पुस्ताले उछिन्न सकेका छैनन् । चन्द्रबदन, बिहा, शत्रु र सिपाही यसका शुरूवात थिए । उनको मनोविश्लेषणको आयाम पछि गहन, मिहिन र फ्रायडीयतामा विशिष्टीकृत हुँदै गयो । साहित्य जीवन जत्तिकै व्यापक छ भन्ने विश्वेश्वर अरूले त्यसअघि प्रयोग नगरेको जीवनको मनोआयामलाई आफ्नै कथामार्फत प्रयोग गरेका छन् । सामाजिक संघर्ष भन्दा आन्तरिक संघर्ष, ब्याटल अफ माइण्डलाई उजागर गरेर विश्वेश्वरले नेपाली कथामा विशिष्ट पहिचान कायम गरेका छन् ।
विश्वेश्वरप्रसाद कोइरालाका लागि मनको अन्तस्तल कथाको शक्ति हो । उनका कथाको रचनागर्भ मनभित्रको मानिसबाट शुरू हुन्छ । यस अर्थमा देखिएको भौतिकी विश्वभन्दा नदेखिएको भावनाको विश्व ठूलो छ, मस्तिष्कको जीवनभन्दा मनभित्रको जीवन महत्तम छ र त्यसैलाई चित्रण गर्नु उनको कथावृत्ति हो । १९८७ ‘वहाँ’ मा बाल्यावस्थाको मनोदशालाई चित्रण गरे । १९९२ मा प्रकाशित ‘चन्द्रवदन’ मा यौवन हुँदै त्यसपछिका कथाहरूमा वयस्क मनोदोशको चित्रणमा पुगेका छन् । ‘चन्द्रवदन’ पछि उनका कथाको भावभूमि स्पष्ट देखिए ।
उनको कथामा दृश्यविधान संक्षिप्त र थोरै छन् तर मनोदशा, आन्तरिक जटिलता र मनोग्रन्थीको प्रकाशन भने विस्तृत छ । यो समकालीन नेपाली कथाको विशिष्ट प्रवृत्ति थियो । किनकि उनी अघि लामा र विस्तृत घटना र दृश्यविधानका कथाहरू लेखेर सामाजिक यथार्थतालाई चित्रण गरिन्थ्यो तर मनभित्रको ऊहापोहको कुरा खासै चित्रण गरिंदैनथ्यो ।
विश्वेश्वरका कथामा मनोविश्लेषणका दुई आयाम छन्, सामाजिक मनोविश्लेषण र यौनमनोविश्लेण । आयामिक मनोविश्लेषणबाट नै उनका कथा गतिशील हुन्छन् । कथाका पात्रहरूका विषयमा कथाकार बोल्दैनन्, तर पात्रहरूको मनोदशा, अन्तर्द्वन्द्व, मानसिक उछाल, मानसिक दुर्बलता–सबलता, नैतिक र स्नायविक पक्षलाई जस्ताको त्यस्तै उतारिदिन्छन् ।
चरित्रको कार्यव्यापारबाट पाठकले आफै बुझोस् भन्ने चाहना कथाकारको छ । यस अर्थमा कथाकार वैचारिक तटस्थतामा छन् । तर मुख्य पात्र कथाकारको मुखपात्र हो, उसको कार्यव्यापार कथाकारको विचार मार्ग हो भन्ने तथ्य नभुल्ने हो भने कथाकार फ्रायडीय मनोविश्लेषण, पाव्लोभीय सम्मोनहनवाद र मार्क्ससेली वर्ग मनोविज्ञानमा रहन्छन् । चन्दबदनले नै त्यसपछिका उनका कथाको भावभूमि, चरित्रव्यापार र प्रवृत्तिलाई प्रतिनिधित्व गर्दछ ।
नेपाली कथालाई आधुनिक कालमा प्रवेश गराउने चार कथाशिल्पीमध्ये कोइरालाले मनोआयामलाई घनीभूतीकरण गरेका थिए । आधुनिक युग भनेको व्यक्तिवादी युग हो । व्यक्तिले भौतिक संसारमा मात्र संघर्ष गर्दैन, आफैभित्रका परस्परविरोधी भावनासँग पनि लडिरहेको हुन्छ । आधुनिक समाजमा मानिस भग्न, स्थितिग्रस्त, चिन्ताग्रस्त, विपर्ययमा छ । ती कुरा नउठाए व्यक्तिको सम्पूर्णता चित्रित हुँदैन, त्यसलाई उठाउन मनोवैज्ञानिक विश्लेषण चाहिन्छ ।
मनभित्रको मानिस र सामाजिक मानिस, भौतिक मानस र भावनाको मानिसबीचको दूरी घटाउनु कोइरालाका कथाहरूको प्रधान वृत्ति हो । यो प्रवृत्तिलाई पारिजातले निरिश्वरतामा पुगेर मलजल गरिन भने भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल र दौलतविक्रम विष्टले पनि प्रयोग गरे । भिक्षुको प्रयोग रति–वासनातर्फ मोडियो, मल्लबन्धु र विष्टको भने कोइरालाको आयामिक घनत्वमा पुग्न सकेनन् ।
विश्वेश्वर कोइरालाले एक प्रसङ्गमा भनेका छन्–‘म प्रथमतः गान्धी, त्यसपछि मार्क्स र अन्तमा सिग्मण्ड फ्रायडबाट प्रभावित भएको छु । गान्धी र मार्क्सलाई साहित्यमा प्रयोग गर्न सकिंदैन, किनकि उनीहरू सामाजिक छन् । फ्रायड मात्र वैयक्तिक भएकाले मैले त्यही क्षेत्र चुने ।’ आफ्नो भनाइ अनुसार उनी साहित्यमा मनोविश्लेषणलाई प्रखर रूपमा प्रयोग गर्छन् । मार्क्सवादले आर्थिक मानिसलाई महत्त्व दिन्छ । मार्क्सका अर्थमा आर्थिक वा उत्पादन सम्बन्धका कारण मानिस प्रताडित छ । त्यसैका लागि संघर्ष गर्छ । तर फ्रायडका अनुसार दमित भावना (काम भावना) संघर्षको स्रोत हो । कामचेतले नै जीवनलाई संघर्षशील र गतिशील बनाउछ । कामेच्छा पूरा नभए कुण्ठा र ग्रन्थी विकास भै अवचेत तहमा बस्छ र निकासको मौका खोजिरहन्छ ।
अस्वस्थ र अनैतिक रूपमा निकास भएमा जीवनलाई तहसनहस पार्न बेर लगाउँदैन । कामवृत्तिलाई संयमित र उदात्त प्रकाशन गर्न सकिएमा मानव जीवनलाई सिर्जनशील बन्छ । विश्वेश्वरका कथामा रहने यौनमनोविश्लेषण फ्रायडीय हो । पछि यसलाई आत्मिक कलेवरमा रजनीश (ओशो) ले पनि व्याख्या गरेका छन् । ओशोका अनुसार यौनानन्द जीवनको अभीष्ट र शक्ति हो । सामाजिक सम्बन्ध र शक्ति संरचनाको कारक हो ।
विश्वेश्वर भन्छन्, ‘मानिसले बाहिरी कुरा त जानिरहेको छ, चाल पाइरहेको औ देखेको र बुझेको हुन्छ । त्यसैले भित्री कुरो जान्ने कुतूहल बढ्ता हुन्छ । यसको निमित्त मनोविज्ञान र अझ गहिरोसँग हेर्नलाई साइकोएनालाइसिस मन पर्यो ।’
त्यसैले मनको कुनामा थिग्रिएका, मनबाट बाहिर निस्कन खोजिरहेका, मस्तिष्कमा हुण्डरी मच्चाइरहेका कुराहरू उनका ‘वहाँ’ देखि ‘स्वेतभैरवी’ सम्मका कथाहरूमा पाइन्छन् । मनका कुरा उदिनेर बाहिर ल्याउन पनि असजिलो छ । तर उनले यही असजिलो कथावृत्ति मन पराए ।
हो मन-मस्तिष्कको कुरा गहिरोसँग हेर्नलाई मनोविश्लेषण (साइकोएनालाइसिस) गर्नुपर्छ । मनोचिकित्सक सिग्मण्ड फ्रायडका अनुसार मानव मनका तीन भाग हुन्छन्, चेतन, अर्धचेतन र अचेतन । यसमा पनि मस्तिष्कको तीनचौथाई भाग अचेतन-अवचेतन तहले ढाकेको हुन्छ । मानिसका पूरा नभएका र दमित इच्छाहरू इ त्यही तहमा सुषुप्त रहेका हुन्छन् । सामाजिक रूपमा सम्मति नहुने, नीति आचरणले मान्य नहुने र आफैबाट दबाइएका चाहनाहरू दमित इच्छा हुन् । जुन मौका पाउने बित्तिकै रूप बदलेर बाहिर आउने गर्छन् । सचेत मनले भने निरोध गर्छ । विश्वेश्वरको ‘स्वेतभैरवी’ कथामा फगुनीले हठात् उत्तेजित भै सानोबाबुलाई समात्न पुग्नु दमित इच्छाले खोजेको निकास हो । ‘चन्द्रवदन’ मा चन्द्रवदनले जुल्फीवाला केटो मन नपराए पनि उसलाई हेर्नु वा ‘मधेशतिर’ मा विधवाले गोरेलाई अरूलाई भन्दा धेरै चिउरा र चाकु दिनु अव्यक्त सम्मोहनको निकास हो । यस्ता इच्छाहरू बाहिर आउने बेलामा चेतन र अवचेतन मन बीच सेन्सर हुन्छ । सेन्सर हुन नसकेका कुराहरू रूप बदलेर बाहिर प्रकट हुन्छन् ।
यस्ता दमित इच्छा यति महत्त्वपूर्ण हुन्छन् कि मानिसको कार्यव्यवहार अनि व्यक्तित्व विकासलाई यही अवचेत तहले प्रभाव पारिरहेको हुन्छ । अवचेत तहको निष्कासन विकार वा विरेचनका रूपमा हुन्छ भन्ने फ्रायड र ब्रजरको अध्ययनले निष्कर्ष निकालेको छ । विश्वेश्वरका कथाहरू संयमित र सामाजिक मर्यादाका सीमामा रहेर अवचेत तहको कार्यव्यापार गर्दछन् । यदाकदा संयम र सीमा काट्न पनि पुग्छन्, जस्तो कि ‘स्वेतभेरवी’ कि फगुनी । सीमाभित्र संयमित भए पनि वा सीमा काटे पनि मनभित्रको त्यही अवचेत तहको निर्देशनमा कथाका पात्रहरू कथापरिवेशलाई गतिशील बनाउँछन् ।
सिग्मण्ड फ्रायडले अचेतन (दमित इच्छा) को दुई स्रोत उल्लेख गरेका छन् । पहिलो वंशीय रूपमा पुस्ता पुस्ता सर्दै आएका अवयव, यसको थिग्राइमा सुखवाद (प्लेजर इनर्सिया) हुन्छ तर ती कहिल्यै चेतनमा थिएनन् । यो थाहै नपाइ मानिसलाई सुखको आकाङ्क्षामा डोर्याउने हैसियतमा हुन्छ । दोस्रो, कुनै समय चेतनामा भैकन पनि सामाजिक सम्मति नभएको, आत्मसम्मानमा आँच आउने वा अन्य कारणले गर्न नहुने प्रकृतिका कारण दबाइएका चाहना । जानिबुझीकन दबाइएका वा निरोध गरिएका कुराहरू सचेत मनमा आउँदैनन् ।
कोइरालाका कथाहरू निरोधको उदात्त प्रकाशनको मार्ग खोजिरहेका छन् तर मर्यादा, आत्मसम्मान र सामाजिक सीमाका कारण ती उल्टो धकेलिएका छन् । जैविक कर्म र शारीरिक कारणले लिविडो शक्तिले सामाजिक कर्तव्य र मर्यादा वाँकी राखेर निकास खोजेको पनि देख्न सकिन्छ । जस्तो कि ‘तीन घुम्ती’ की इन्द्रमाया । कोइरालाका धेरैजसो नारी पात्रहरूले लिविडो शक्तिलाई उन्नयन वा सिर्जनाको बाटोमा स्थानान्तरण गरेका छन् । यो इच्छा स्थानान्तरणको प्रक्रिया हो । एड्लरले भने यसलाई आत्मस्थापन भनेका छन् ।
विश्वेश्वर पात्रका मनोदशाको सूक्ष्म विश्लेषण मार्फत कथालाई गतिशील बनाउँछन् । मनोदशाका आयाम सङ्क्षिप्त हुन्छ, तर विश्लेषण चाहिं विस्तृत । जस्तो ‘बौलाहा’ मा पण्डितले कैदीहरूको आत्मशुद्धिका लागि गीता व्याख्या गर्दा कैदीमध्ये एक बौलाहा आफ्नो बौलाहापन देखाएर पण्डितलाई कठोर प्रतिक्रिया दिन्छ । कथा यत्ति हो । कथा यसैको विश्लेषणमा छ । बौलाहा किन त्यस्तो व्यवहार गर्छ भन्ने विश्लेषणमा नै कथा सकिन्छ । ‘हरिदत्त’ मा हरिदत्त पढाइ, परिश्रम र प्रेमबीचको अन्तर्द्वन्द्व देखाइए पनि जगमा प्रेम छ, प्रेमभन्दा बढी आत्मिक प्रेमको सञ्चार छ ।
‘मधेशतिर’ मा विधवाको व्यवहार पोइ भावनाको क्षतिपूर्ति खोजिरहेको छ । उसका संवादमा प्रतीकार्थ छ र ती निकै मर्मशील छन् । ती जानेर, सचेत रूपमा बाहिर आएका नभै मनले पठाइ दिएका भावना हुन् । विधवाले गोरे, भोटे, बुढोलाई आफ्नो पोकोबाट सबैलाई चिउरा र चाकु दिंदै (गोरेलाई अलि बढी दिंदै) भन्न पुगी ‘तिमी जवान छौ । तिमीलाई अरूलाई भन्दा बढ्ता भोक लाग्दो हो ।’ निरुद्देश्य मधेशतिर हिंडेका अपरिचित बटुवालाई भोग र मनोविज्ञानले तानेको छ । गोरे र विधवा यात्रामा नजिकिएका छन् । यो अवचेत मनको आदेश हो, यो अव्यक्त सम्मोहन अवचेत शक्तिको सिर्जना हो । घटनाक्रम निकै सामान्य हो, तर त्यसको प्रभाव गहिरो छ ।
विश्वेश्वरको नेपालबाट प्रकाशित पहिलो कथा ‘चन्द्रवदन’ एउटा जवान स्वास्नीमानिस चन्द्रवदन (जसको पति कारागारमा छ) ले जुल्फीवाला केटाप्रति उसले राखेको भावनाको कथा हो । साँच्चै भन्ने हो यो भने कथाहीन कथा हो । कौशीबाट यस्सो हेर्नु के को कथा ? त्यसले मनोव्यापारमा दिएको गतिशीलता कथा बन्यो । चन्द्रवदनमा जुल्फीवालाप्रति घृणा छ, तर उसलाई चाहेर पनि मनबाट टाढा राख्न सक्दिन । जुल्फीवाला विवाहित छ, आफू उसको ‘श्रीमती भएको भए’ कल्पना गर्छे । फेरि त्यो पापी सोचबाट पछि हट्छे । घटनाक्रम (सोचवृत्ति) मनभित्र छ, ती साना छन् तर मनभित्र त्यसले उमार्ने तरङ्ग दिने धक्का ठूलो छ ।
विश्वेश्वरका सबै कथा यस्तै छन् । तर उनी जेल पर्नुअघि लेखिएका कथाहरू सामान्यतः सामाजिक मनोविश्लेषणमा केन्द्रित छन्, जेल परेपछिका कथाहरू यौनमनोविश्लेषणमा घनीभूत हुँदै गएका छन् । ‘दोषी चश्मा’ र ‘स्वेतभैरवी’ मा संगृहीत कथाहरू यसैको पुष्टि गर्छन् ।
विश्वेश्वर मनोदशा चित्रण गर्न निकै कुशाग्र छन् । मनोदशा ससाना कुराबाट शुरू हुन्छ र मनभित्र झाँगिंदै जान्छ । तर यसका कारण छन्, जुन खास अवस्थामा सोचिएका छन् ।
मनोदशा भन्नेबित्तिकै अन्तर्द्वन्द्व हुन्छ र सिग्मण्ड फ्रायडले भने झैँ ती विकृत वा स्वीकृत रूपमा निकास हुन, विरेचन हुन खोज्छन् । जस्तो कि ‘विहा’ मा अनमेल विवाहले जन्माएको मनोदशा छ । ‘प्रेम’ मा यौवनावस्थामा पनि विवाह हुन नसक्दाको मनोदशा छ । ‘दोषी चश्मा’ मा हीनता भावले जन्माएको मनोदशा छ । ‘दुलही’ मा वेमेल भावनाले जन्माएको मनोदशा छ । ‘चन्द्रवदन’ मा पति अभावमा भुतभुतिएको मनोदशा छ । ‘हरिदत्त’ मा अव्यक्त प्रेमले जन्माएको मनोदशा छ ।
‘कर्नेलको घोडा’ मा पश्चाताप र ईर्ष्याभावले जन्माएको मनोदशा छ । ‘पवित्रा’ मा पवित्रताले सिर्जना गरेको मनोदूरीको मनोदशा छ । ‘होड’ मा ईर्ष्यारागको मनोदशा छ । ‘रिक्सा तान्ने’ मा असमान स्वार्थको मनोदशा छ । ‘मधेशतिर’ मा असामान्य यौनचेतले जन्माएको मनोदशा छ । ‘सान्नानी’ परिस्थितिले जन्माएको मनोदशा छ । ‘स्वेतभैरवी’ मा स्नायविक उग्रताको मनोदशा छ । ‘एकरात’ मा वैवाहिक चेतनाको वेमेलले जन्माएको मनोदशा छ ।
राइटर बाजे, सिपाही, स्वेटर, स्कुल मास्टर, सखी, महाराजको सवारी, पुस्तक, कथा, द्वन्द्वप्रेम, शत्रु, स्वेटर कथाहरू पनि विशिष्ट मनोदशालाई प्रतिनिधित्व गर्दछन् । सबै पात्रहरूको मन हुँडलिएको छ । मानिसका जीवनमा सानो मनोदशाले ठूला प्रभाव पारिरहेको हुन्छ, तर ती लुकाइएका, दबाइएकाले प्रकट हुँदैनन् । विश्वेश्वरका कथाले त्यही छोपिएको मनलाई, अवचेत तहको मनलाई संयमित निकास दिन्छन् ।
पात्रीय हिसाबमा विश्वेश्वरका कथाहरूमा नारी पात्रको ओजन, चरित्रकार्य र चाह प्रकटीकरण दह्रिलो छ । नारी पात्रहरू एकान्तमा, फुर्सदमा, पति अभावमा उग्र मनोदशामा छन् । समाज व्यवस्थाको पुस्तौंदेखिको रिवाजले लैङ्गिक सीमाङ्कन र सांस्कृतिक प्रभावका कारणले पनि नारी पात्रहरूमा मनोवैज्ञानिक समस्या छ, त्यसैको चित्रण कथाहरूले गर्दछन् ।
यस अर्थमा विश्वेश्वरमा मिहिन नारीचेत छ । पुरुष पात्रहरू भने सामाजिक कर्तव्यमा नारीभावना भन्दा पर पुगेका छन् । पुरुष पात्र जेल पर्छ, राजनीतिमा लाग्छ, कमाउन जान्छ । यो कर्म र भौतिकीले उसका नारी सहपात्रप्रति भावनाको दरीमा परिणत हुन्छ र अवचेत तहबाट पात्रहरू (विशेषतः नारी पात्र) मनोव्यापारको घनत्वमा दोलायमान हुन्छन् । भोक, भोग र कर्तव्यलाई समानान्तर कोणमा उभ्याएर कथा त्रिकोणमा उत्रिन्छ । अवचेत तहका यौनक्षुधा, सचेत तहका कर्तव्य र मध्यस्थको सामाजिक कार्यले त्रिकोण निर्मित छ ।
यसरी कथाकार विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कथालाई अलग वृत्ति, रङ्ग र शिल्पसन्धानबाट शीर्ष उचाइमा पुर्याएका छन् । मनोवैज्ञानिक कथामा रहने तीन विशिष्ट तत्त्वहरू पात्रहरूको आन्तरिक तहका भावास्थाको चित्रण (डीप इन्टरियोरिटी), अन्तर्द्वन्द्व (इन्टरनल टम्र्वाएल) र सामाजिक प्रतिनिधित्व विश्वेश्वरका कथाहरूमा मनग्गे पाइन्छ । मनोविज्ञानलाई प्रस्तुत गर्ने विश्व साहित्यका महान् आख्यानकारहरू आन्तोन चेखव, फ्योदोर दोस्तोस्एभ्स्की, डिएच लरेन्स, अगाथा क्रिष्टी, स्टीफेन किङ, जेम्स हग डिएच लरेन्ससँग विश्वेश्वरलाई तुलना गर्न सकिन्छ ।
उनले वैयक्तिकवाद र जटिलताग्रस्त बन्दै गएको समाजमा मनभित्रको मानिसलाई बाहिर ल्याउने, मनोदशाको आयामिक चित्रण गर्ने र उदात्त स्थानान्तरण गरी सामाजिक प्रजननशीलतामा ल्याउने आख्यान मार्ग प्रशस्त गरेका छन् । त्यसैले उनी आधुनिक कथाका चार स्तम्भमध्ये एक हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।