प्रिय सिमोन,

अचानक एकदिन मैले सोधेको थिएँ, “किन सिमोनको पछि कुनै थर वा उपमा वा उपनाम नराखेको तिमीले  ।”

तिम्रो उत्तर थियो, “नाममा के  छ र ? संसारमा कसैले माया गरेर दिएको एउटा सम्बोधन नै त हो ।”

नसोचेको तिम्रो उत्तरले म झस्किएँ  । अनायासै कवि खडकसिंह राई ‘काँढा’को कविता “मेरो नामले पुगेन मलाई” कविता मेरो मनमा आयो ।

“मेरो नामले पुगेन मलाई

र उपनाम थपें

तर पनि म अझ म भइनँ ।

जहाँ चाह थियो म उपस्थित थिइनँ त्यहाँ

तर लाग्छ कहीँ छ, अवश्यम्भावी

जो असल छ, सुन्दर छ र सत्य छ

जो मरुभूमिमाथिको रातको आकाश छ, तारा छ,

औ यस क्षणिक विश्राममा सतत: अग्रसर मेरो पयर छ ।”

नेपाली साहित्यमा केही लेखकहरू नामले भन्दा उपनाम र थरले परिचित छन् सिमोन ! तिमीलाई कवि काँडा जस्तो उपनाम किन चाहियो र ? धेरैलाई उपन्यासकार गोठालेको पूरा नाम थाहा छैन भने  पारिजातको नाम विष्णुकुमारी वाइबा हो भनेर कमैलाई थाहा छ ।

सिमोन ! तिमी पनि थर नराख पारिजात जस्तै, बिन्दास जिन्दगी बाँच । महिलाको यौन, जीवन, प्रवृत्ति बारेमा पुरुषले धेरै लेखे अब तिमीले पुरुष बुझ्ने प्रयास गर, भोग्ने प्रयास गर अनि लेख्ने प्रयास गर ।

अहिले सयौंले महाकाव्य लेखे पनि हजारौं देवकोटा थर भए पनि साहित्यमा महाकवि वा देवकोटा लेखे लक्ष्मीप्रसाद देवकोटा नै बुझिन्छ । भारतमा रसिक भन्नाले अच्छा राई बुझिन्छ जसले ‘लगन’ उपन्यास लेखे अनि सानै उमेरमा संसार छोडे भने नेपालमा प्रसिद्ध संगीत साधक र लेखक गणेश राईलाई गणेश रसिक भनेर चिनिन्छ । नेपालमा प्यासी भन्नाले कवि-गीतकार नीरबिक्रम राणालाई बुझिन्छ भने भारतमा कवि-गीतकार जस योञ्जनलाई चिनिन्छ ।

जस योञ्जनको  “बोलाऊँ भने तिमीलाई बात लाग्ने डर नबोलाऊँ त तिम्रो प्रीतको पाप लाग्ने डर !” ( गायक -संगीतकार बद्री दुर्गा खरेल) भन्ने गीत कुनै बेला प्रेमिल जोडीको राष्ट्रिय गान जस्तै भएको थियो ।

तर कतिपयले पछि गएर उपनाम त्यागे पनि जस्तै दयाराम श्रेष्ठले ‘सम्भव’ त्यागे, बालकृष्ण पोखरेलले रूपवासी, भूपीले सर्वहारा, हरिभक्तले प्रवासी । किन त्यागे त्यो चाहिं मलाई थाहा भएन सिमोन ।

थरैले चिन्ने साहित्यकार को को हुन् थाहा छ तिमीलाई ! देवकोटा, बाङ्देल, रिमाल, लामिछाने,  समको त थोरै काफी छ । बनारसबाट प्रकाशित हुने उदय पत्रिकामा कतिपय लेख लैनसिंह बाङ्देलले बाङ्देल मात्र लेखेर प्रकाशित गरेको छ ।

बीचको नामले चिनिने चाहिं आयामिक कवि ईश्वर वल्लभ भट्टराई । उनलाई वल्लभ सम्बोधनले चिनिन्छन् । कोविद धेरैले पास गरे पनि उपन्यासकार प्रकाश राई, प्रकाश कोविदको नामले चिनिन्छ । भारतीय नेता तथा उपन्यासकार सुवास घिसिङले सुवास मात्र लेखे भने नेपालको नेता तथा उपन्यासकार प्रदीप नेपालले संजय थापा उपनाममा लेखे । प्रदीप नेपालको भाइ मेघराज नेपाल मञ्जुलको उपनामले प्रसिद्ध छन् नेपाली साहित्यमा ।

सिमोन ! तिमीलाई थाहा छ कतिलाई उपनाम राख्नु रहर थियो भने कतिलाई बाध्यता ।

झर्रो आन्दोलनमा लागेर तारानाथ शर्मा ताना सर्मा भए र पछि झर्रोको भूत उत्रिएपछि तारानाथ शर्मा नै भए । कुनै समय इन्द्रबहादुर राईले इन्द्र राई मात्र लेखे भने रामेश्वर चालिसेले रमेश विकल मात्रै । साहित्यिक पत्रकारिताको भीष्मपितामह रोचक घिमिरेका बुवा सोमनाथ घिमिले शारदा र गोरखापत्रमा  आफ्नो नाममा कविता नछापिए पछि एउटी केटीको नाममा छपाएका थिए ।  रामेछापमा शिक्षक हुँदा एकजना महिला विद्यार्थीलाई मधुधारा उपनाम दिई उनकै हस्ताक्षरमा सोमनाथ घिमिरेले कविता पठाएका थिए । उनकै सहकर्मी साम्यभक्त सुवेदीले पनि त्यही नाममा कविता छपाएका थिए ।‌ मधुधारालाई सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, प्रेमराज शर्मा आदिले प्रेमपत्र पठाएको प्रसङ्ग रोचक दाइले गफ गर्दा समय समयमा उठाउनु हुन्छ ।

अब त बुझ्यौ होला नि सिमोन, नाम र उपनामको महत्त्व । मेरो लेख पनि आफै काम गरेको पत्रिकामा नछापिए पछि त्यही लेख उपनाममा छपाएको थिएँ र कतिपय बाध्यताले उपनामा लेखे ।

केदारमान व्यथितको थर धेरैलाई थाहा छैन होला तर उनी श्रेष्ठ थिए । पथिक पनि दुई जना पो रहेछ’ भाक्सुको मगन पथिक अनि दार्जिलिङका एम पथिक । भाक्सुको पथिकले वाग्येकार मित्रसेन थापा माथि अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका छन् । गजब गजबको उपनाम छ हाम्रो साहित्यमा सिमोन । सम्पन्न परिवारको गोविन्द बहादुर मल्ललाई गोठाले उपनामले चिने जस्तै विरोकी उपनामले चिन्छ कवि प्रेम शेर्पालाई ।

साहित्यकार मोमिलाले थर लेख्दिनन् कवि वीरेन्द्र, ध्रुव र गोमाले जस्तै  ।  पोखराकी उपन्यासकार सरस्वतीले थरको सट्टा ‘प्रतीक्षा’  उपनाम राख्न रुचाउँछे सरुभक्तले जस्तै । नेपालमा लेखक गंगाप्रसाद अकेला छन् भने भारतमा कवि दलसिंह अकेला । दलसिंह दाजुले त उकेरा  उपनाम पनि प्रयोग गरे केही समय ।

गीतकार भीम विराग लिएर पनि श्रोता निकै रनभुल्लमा परेछन् । एक थिए भीम विराग मानन्धर जसको गीत नारायणगोपालले पनि गाएका थिए अर्का थिए गीतकार भीम विराग अधिकारी ।‌ प्रसिद्ध संगीतकार तथा गायक मित्रसेन, बटुकृष्ण, नारायणगोपाल, वच्चुकैलाश, नातीकाजी, शिवशंकर, गायिका मलेवादेवी, तारादेवी, कोइलीदेवीले नामको पछाडी थर प्रयोग गरेनन् ।

नारायणभक्त श्रेष्ठ भन्दा रायनको नामबाट प्रसिद्ध छ भने जनगायक रामेश्वर श्रेष्ठलाई रामेशको नाम धेरैले चिन्दछन् ।

प्रसिद्ध गीतकार, कवि गुलजारले किनारा सिनेमामा नामको बारेमा एउटा गीत नै लेखेको छन् नि सिमोन सन् १९७७मा । लता मंगेशकर र भुपेन्द्रर सिंहको आवाज र राहुलदेव वर्तमानको संगीतको यो गीत निकै चर्चित र मार्मिक छ, सुनिरहूँ जस्तै ।

“नाम गुम जाएगा

चेहरा ये बदल जायेगा

मेरी आवाज ही 

पहचान है

गर याद रहे 

वक़्त के सितम कम हसि नहीं 

आज है यहां कल कही नहीं 

वक़्त से परे अगर मिल गए

कही मेरी आवाज़ ही पहचान है 

गर याद रहे”

आफ्नो नाम सम्पूर्ण सिंह काल्रा भए पनि उनी पनि गुलजारको नामले ख्याति आर्जन गरे । उर्दु र फारसी भाषाका प्रसिद्ध कवि मिर्जा बेग असदुल्लाह खानलाई कसैले चिन्दैनन् उनको यो नामबाट फगत चिनिन्छ त केवल मिर्जा गालिब उपनामबाट ।

मैले पनि कहिलेकाहीं मान्छेलाई नाम भन्दा पनि अनुहार र आवाजले चिन्ने गर्छु तर नाम चाहिं बिर्सन्छु । नरबहादुर राईलाई कसैले चिन्दैनन् । तर प्रकाश कोविदलाई सबैले चिन्छ ।  अझै पुरानो मान्छेले त उनलाई भम्पु भनरे बोलाउने गर्थे । मान्छे एक उपमा अनेक ।

लीला लुइँटेलले यसबारेमा एउटा लामो लेख लेखेकी छिन् । एकजनाको असली नाम लेखिदिए पछि रिसाए पनि भन्दै थिइन् लीला म्याडमले ।

विदेशी लेखकहरू पनि एउटै नाम, थर वा उपनामले धेरै छन् नि सिमोन । शेक्सपियर, सेली, किट्स्, कामु, काफ्का, चेकव, गोर्खी, प्रेमचन्द, मुक्तिबोध, धूमिल आदिलाई चिनाउन अर्को थर थप्न पर्दैन नाम नै काफी छ ।

“जीवनमा नाम भए पनि बदनाम भए पनि कमाउनु तर गुमनाम नबस्नु,” भनिन्छ सिमोन । तर तिमी चाहिं नाम कमाउन तिर लाग्नु है । भानुभक्त, मोतिराम, देवकोटा, लेखनाथ, पारसमणि, सूर्यविक्रम, धरणीधर, समको समकालीन धनी मान्छे वा ठूला मान्छेलाई कतिले सम्झन्छ अहिले । तर नाम राखेर गएका स्रष्टा सधैं अमर र पूजनीय छ । यसरी नै नाम राख्नुपर्छ सिमोन तिमीले !

तिम्रो,

सार्त्र !