प्रिय सिमोन,
सोचेको थिएँ – तिमी अगमसिंह गिरीको कविता जस्तै भयौ होला ।
गालाका रगतहरू सुकिसकेछन्,
आँखाका ज्योति सब हराइसकेछन्,
तिमी ता रुँदा-रुँदै निदाएको बालक जस्तो,
कठोर कारागारको यातनाभोगी विरक्त बन्दी जस्तो,
गाँस खोसिएको बास लुटिएको विह्वल हतभागी जस्तो,
कस्तो कस्तो भयौ ।
तर धेरै दिनपछि भेट्न जाँदा तिमी ता नचिनिने भएछौ ।
तिमीलाई भेट्दा म छक्क परें । कुन्नि के भएर होला तिम्रो अनुहारमा अभूतपूर्व चमक देखें तर सोध्न मन लागेन । शायद कुनै कुदरति ओखती खाएर यस्तो भएको होला भनेर अडकल लगाएँ ।
भेटमा तिमीले मलाई एउटा कथा लेख्न कर गर्यौ । तर तिमीलाई थाहा छ – ममा कथा लेख्ने न क्षमता छ न शिल्प । हुन त प्रत्येक मान्छेको जीवनमा कथा हुन्छ, व्यथा हुन्छ सिमोन । तर ममा त्यो कथा र व्यथालाई सजीव उतार्ने ल्याकत मसँग छैन । त्यो तिमीलाई पनि थाहा छ ।
प्रिय सिमोन ! म तिमी जस्तै कथा लेख्न सक्दिनँ । मेरो लेखन सीमालाई बुझ्ने प्रयास गर । तिमी जस्तै मानवीय संवेदनालाई छिचोल्ने कला ममा छैन । जीवनलाई बुझ्ने प्रयास गर्छु सिमोन तर तिमीले भने जस्तो सरल र सरस छैन नि जीवन । प्रसिद्ध हिन्दी-नेपाली कवि गोपालसिंह नेपालीले भने झैं जीवन त दु:ख र सुखको बाटो हो ।
प्रिय सिमोन ! म तिमी जस्तो उदार पनि छैन नि । तिमीले कठिन परिस्थितिमा पनि जीवनलाई सहजताले लिन्छौ । तिमी जीवनको प्रत्येक क्षणलाई उत्सवको रूपमा मनाउँछौ । तिमीले सबै क्रियाकलापलाई साधना ठान्छौ चाहे त्यो लेखन होस् या यौन । तर यस्तो कला ममा छैन सिमोन । कहिलेकाहीं जीवन हरिभक्त कटुवालको कविता जस्तो लाग्छ,
“यो जिन्दगी खै के जिन्दगी !
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी ।”
जिन्दगी पनि कविता जस्तै भए कति रमाइलो हुन्थ्यो होला है सिमोन । तर यथार्थको आफ्नै धरातल रहेछ जो मैले बुझ्न सकिनँ । तिमी भन्छौ – मैले तिम्रो जिन्दगीमा रङ इन्ट्रि मारें रे । हो इन्द्रिय गलत होला तर नियत सही थियो । नियत पनि त हेर्नु पर्छ नि सिमोन ! जीवन त शरीर मात्र होइन नि । आयामेलीहरूले भने झैं मानिसलाई सम्पूर्ण रूपमा हेर्न वस्तुताको विधि अवलम्बन गर्नुपर्छ । त्रिकोणात्मक रूपले जीवन हेर्नुपर्छ र साहित्य सिर्जना गर्नुपर्छ ।
लेख्न त मलाई इन्द्र राई उर्फ इन्द्रबहादुर राई या इबराले जस्तै आयामिक र लीलाकथा लेख्न मन पर्छ नि सिमोन । तर कुखुरा र हाँस बाज जस्तो उड्छु भनेर कहाँ हुन्छ र ?
प्रिय सिमोन ! जीवनमा कसैको पनि गलत र सही इन्ट्रि हुँदैन । यो त तिम्रो भ्रम मात्र हो । इबराको लीलालेखन जस्तै । जगत् त मिथ्या हो, इबराले भने झैं । भ्रान्ति हो नि सिमोन । हामी सबै क्षणिक हौं । क्षणिक जीवनमा सबैलाई एक समान हेर्न सिक ।
तिमीलाई थाहा छ सिमोन ! प्रसिद्ध संगीतकार अम्बर गुरुङ एक कुशल गीतकार पनि हो । ऊनको गीतमा जीवन दर्शन हुन्छ, आत्मिक प्रेम हुन्छ, जीवन हुन्छ ।
“तिमी भूलमा पर्यौ म पनि झुक्किएँ
यो भेटघाटलाई एक संगम भनी
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी
प्यार हुन्छ त्यही जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ
हामी आवेशमा छौं धेरै नजिक नहोऊ
जुड्दैन फुटेर मन यो भने
बेहोस त अलिक हामी दुवै नै छौं
सम्हालेनौं भने हामी दुई नै गिर्छौं
तिमी टाढिदैं जाऊ हारिदैं म जान्छु
यही भेट विषाक्त कतै हुन्छ भने,”
अम्बरको यो गीतले मेरो मन कति छुन्छ सिमोन, छाती खोलेर देखाउन सक्दिनँ । अम्बर, भूपी र शङ्कर लामिछाने जिग्री दोस्त : तीनै जना सुर र सुराको पारखी ।
भूपी त कविता पनि लेख्छन् सुरा माथि:
“मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउन झन् गाह्रो छ । मरेर शहीद हुनेहरू, जिएर त हेर, जिउन झन् गाह्रो छ !!”
हो सिमोन मर्न भन्दा बाँच्न गाह्रो छ यहाँ ।
अम्बर, शङ्कर र भूपिको मित्रता तिमी र मेरो जस्तै थियो । अम्बरको काठमाडौं आगमन अगाडि नै एक दिन भूपीले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेलाई एउटा गीत सुनाएछन् अम्बरको ।
यो प्रसङ्गलाई प्रष्ट पार्दै शङ्कर लेख्छन् ‘विम्ब-प्रतिविम्ब’मा, “वाल्जमा बाँधिएका धुनले गीतलाई राम्रो मोड दिएका थिए । म मुग्ध भएँ । मेरा आँखामा झरेका, सुकेका पातहरू हावामा गोलो फन्को मारी वाल्जको लामो फन्को मारिरहेका देखिए । यो मान्छे कस्तो छ ? मैले सोधेको थिएँ, भावावेशमा ।”
सोझो र स्पष्ट प्रश्नको उत्तर दिन साह्रै गाह्रो हुन्छ जोसुकैलाई । भूपीजस्ता ट्याक्क मिल्ने उपमा दिन सक्नेलाई पनि । एकछिन ऊ अलमलियो अनि भन्यो, “ऊ मान्छे सायद होइन, ऊ मित्र हो; र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो; र जसका लागि कलाकार होइन, उसका लागि गायक हो; र जसका लागि ऊ गायक होइन, उसका लागि ऊ जन्मेको पनि छैन ।”
अम्बरलाई चिनाउने यो वाक्य धेरै ठाउँमा लेखिसके तर जति पढे पनि धीत मर्दैन सिमोन । तिमीलाई पनि मान्छेले यसरी नै बुझोस् जस्तो लाग्छ ।
आजलाई यत्ति लेखेर बिट मारें सिमोन ।
-तिम्रो जाँ पल सात्र
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।