भाषा बिग्रिएको रहेछ, बिगारिएको रहेछ भन्ने कुरा सर्वोच्च अदालतको फैसलापछि फेरि चर्चामा आएको छ । भाषिक विचलनका अनेक थरिका भाष्य पहिले पनि नसुनिएका भने होइनन् ।
भाषामा विचलन वा अपचलनका पछाडि अनेकौं परोक्ष र अपरोक्ष कारणहरू हुन्छन् होला । शायद भाषिक विचलनमा देखा परेका कतिपय कुरा प्राकृतिक होलान् । बुढा मरे भाखा (भाषा) सरे भन्ने उखान पनि त छँदैछ। फेरि विचलन शब्दसँग सापेक्षिकता पनि जोडिएको हुन्छ, हिजोको कुनै शब्द वा संस्कृति विचलन बनेर पसेको कुरा अहिले मान्य र सामान्य र चलनचल्तीको भइसकेको पनि हुन्छ। उदाहरणको लागि, अंग्रेजीको ‘कोट’ भन्ने शब्द अब नेपालीको सामान्य शब्द भइसकेको छ । कतिपय अवस्थामा यस्ता शब्द बाहिरबाट ल्याएर जानीजानी हुल्नुपर्ने हुन्छ, मेरो गोरुको बाह्रै टक्का पनि राम्रो होइन । कुनै न कुनै बेला शुरू भएको अक्षर माथिको डिको वा धर्को तान्ने कुरा पनि मानक नै भइसकेको छ; त्यसले शब्द व्यवस्थापनको सुगमता तर्फ एउटा फड्को नै मारेको थियो भन्न सकिएला ।
शायद नेपाली भाषामा असर पारिरहेका कुरा मध्ये केही स्वघोषित भाषा विज्ञका लप्पाले व्याकरणमा ल्याएको तरलता र अंग्रेजीको थामी नसक्नुको घुसपैठ नै होलान् । अंग्रेजी विश्वभाषा जस्तै हुनु, यसप्रति हाम्रो अगाध सम्मोहन आदिको संयुक्त असरले अंग्रेजीलाई नेपालीमा पस्न र आएर बस्न निकै सजिलो भएको होला ।
अहिलेको परिवेशमा नेपाली भाषालाई मुक्का दिने मुख्य कुरा मध्ये प्रविधि पनि हो । नयाँ नयाँ प्रविधि आइराख्छन्, तिनीहरूको प्रयोग बढिरहन्छ, ती सँगै नयाँ शब्दावली निःसन्देह भित्रिरहन्छन् । त्यस्ता प्रविधि र प्रविधिजन्य कुरालाई सम्बोधन गर्नुपर्दा त्यसको जे नाम दिइएको छ त्यही नै नामबाट भित्रिने गर्दछ । उदाहरणको लागि, कम्प्युटर शब्दलाई शुरूमै ‘गणक यन्त्र’ अथवा त्यस्तो कुनै नाम दिइएको भए अहिले त्यही चलनचल्तीमा आउँथ्यो । यस्ता नयाँ नयाँ शब्दहरूलाई नेपालीमा अनुवाद गर्ने वा नेपाली नयाँ शब्द निर्माण गर्ने र त्यसलाई प्रयोगमा ल्याउने हो भने नेपाली भाषा र शब्दहरू त्यस्तरी लुरुक्क पर्ने थिएनन् होला।
यसै सन्दर्भमा, अहिले आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई) शब्दको बिगबिगी छ, छ्यापछ्याप्ती छ, र भनिन्छ यसले भविष्य खर्लप्पै खानेछ । यसलाई अहिलेदेखि कुनै एउटा नेपाली नाम जस्तै ‘अप्राकृतिक मेधा’ (अमे) अथवा कृत्रिम मेधा (कृमे) वा कुनै त्यस्तै अर्को नाम दियो भने त्यही नाम चलनचल्तीमा चलिहाल्छ । तर त्यो न्वारन कुन निकायले गर्ने ?
भाषा विभिन्न कारणले अपहेलना भित्र पर्न थाल्यो भने झन-झन अनौठा कुराहरू हुन जान्छन् । केही छोटा उदाहरण तल प्रस्तुत छन् ।
नेपाल लगायत दक्षिण एशियाका केही राष्ट्रहरूको एउटा संगठन छ जसलाई अंग्रेजीमा छोटकरीमा ‘बिमस्टेक’ भनिन्छ। त्यसको अंग्रेजीको पूरा नाममा भएको शब्दमध्ये एउटा ‘इनिशिएटिभ’ भन्ने शब्द पनि छ । परराष्ट्र मन्त्रालयले यसको उल्थामा ‘प्रयास’ भन्ने शब्द राखेको थियो, अझै पनि छँदैछ होला । त्यसको राम्रो उल्था त ‘थालनी’ पो हुन्थ्यो कि ? भारतले त्यसको नाम हिन्दीमा ‘पहल’ भनेर अनुवाद गरेको छ ।
अंग्रेजीको ‘डाटा’ वा ‘डेटा’ शब्दलाई हामी ‘तथ्याङ्क’ भन्छौं । तर सङ्कलित अथवा दिइएको सूचना मिथ्या पनि हुनसक्छ । वास्तवमा अंग्रेजीको ‘डाटा’ र नेपाली/संस्कृतको ‘दत्त’ अर्थात् ‘दिइएको’ भन्ने शब्दको मूल एउटै हो ।
कुनै कुनै शब्दले त एउटा सिङ्गो दर्शन समेतको प्रतिनिधित्व गर्छ । अंग्रेजीको ‘रिलिजन’ शब्दलाई नेपालीमा उल्था गर्नुपर्यो भने हामी ‘धर्म’ भन्छौं । यस सन्दर्भमा,नेपालीमा ‘कुकुरको धर्म भुक्नु हो’ भन्दा कसैले आश्चर्य मान्दैन । तर यसैको अंग्रेजी उल्थामा ‘रिलिजन’ शब्द राख्यो भने त्यो हाँसउठ्दो र उदेक लाग्दो सुनिन्छ, अझ भनौं मूर्खतापूर्ण समेत सुनिएला । यस्तो उल्थाको असर त संविधानसम्मै पुगेको देखिन्छ । अंग्रेजीको ‘सेक्युलर’ शब्द अंग्रेजीकै रिलिजन शब्दसँग सम्बन्धित छ । तर हामी सेक्युलर शब्दलाई ‘धर्म निरपेक्ष’ भनेर अनुवाद गर्ने गर्छौं । नेपालीमा उपयुक्त शब्द छैन वा निर्माण गर्न सकिन्न भने ‘सेक्युलर’ शब्द नै राख्दा के बिग्रन्छ होला र ?
यहाँ के भन्न खोजेको हो भने अंग्रेजीको एक किसिमले जथाभावी घुसपैठ छ । अनि त्यसको जवाफमा अंग्रेजीलाई नेपाली उल्थामा गर्दा झन जथाभावी हुन सक्छ । यसलाई पनि एक प्रकारको विचलनै भन्न सकिन्छ । अंग्रेजीको प्रभावले हो कि कहिलेकाहीं नेपाली शब्दमाआउने ‘र’ अक्षरलाई उच्चारण नगर्ने अथवा अंग्रेजी भाषीले जसरी उच्चारण गर्ने कोशिश गरेको पनि देखिन्छ ।
सामरिक, आर्थिक र अन्य प्रकारले सशक्त सभ्यता र समाजले पनि अरू समाज र भाषालाई असर गर्न सक्छ । यसलाई स्वाभाविक मान्नुपर्छ । कुनैवेला नेपालीमा फारसी शब्दको पनि घुसपैठ थियो । हामीले कतिपय त्यस्ता शब्दलाई नेपाली शब्दले विस्थापित गर्यौं, अनि कतिपय शब्दलाई जस्ताको तस्तै नेपालीमा हुल्यौं । अर्थात् बाह्य भाषासँग कसरी तालमेल गर्ने वा व्यवहार गर्ने भन्ने कुराको नेपाली भाषासँग अनुभव छ, खालि अठोटको कुरा मात्र हो।
यहाँ अंग्रेजी भाषा सिक्नु हुँदैन, जान्नु हुँदैन भन्न खोजेको होइन र अंग्रेजीको विरोध गरेको पनि होइन । अरू भाषा जानेर केही हानी नोक्सानी हुँदैन, बरु उल्टो फाइदै हुन्छ ।
अन्त्यमा, विश्व भाषाको हैसियतले वा विज्ञान वा नयाँ नयाँ प्रविधि वा आविष्कारका कारणले मात्र अंग्रेजीले नेपाली भाषामा प्रभाव पारेको भन्दा पनि नेपाली भाषा स्वयमले अंग्रेजीको चाकरी वा घुस चढाएर भ्रष्टाचार (खसेको व्यवहार) मार्फत अंग्रेजी भित्र्याउन खोजेको हो कि ? नत्र किन विद्यालयहरूको नाम अंग्रेजी हुनुपर्यो, किन छोराछोरीको नाम अंग्रेजी राख्नुपर्यो । यसो गर्दा स्वतः अंग्रेजी सिकिन्छ र ? नेपाली शब्दलाई नै अंग्रेजी जसरी उच्चारण गरेर अंग्रेजी सिकिन्छ र ? बाहिर-बाहिर नेपाली भाषाको चिन्ता प्रदर्शन गर्ने अनि भित्रभित्र अंग्रेजी भाषाको चाकरी गर्ने भाषाका विज्ञ, विद्वान, प्राध्यापक, डाक्टर साहेबहरू पनि नजानीकनै भाषा-भ्रष्टाचारमा लिप्त हुनुहुन्छ कि ? नेपाली र संस्कृतमा विद्यावारिधि गरेकाहरूले समेत आफ्नो नामको अगाडि ‘डाक्टर’ लेख्नुहुन्छ ।
यसो गर्नुपर्छ र उसो गर्नुपर्छ भनेर ठोकेरै त कसरी भन्नु ? शायद यस्तो कुरा तात्कालिक समाजको सामूहिक निर्णयमा भर पर्ने कुरा हो । तर नेपालीलाई अंग्रेजीले विस्थापित गर्दैछ भनेर चिन्ता लिने हो भने के भन्न सकिन्छ भने, जुन प्रकारले नेपालीलाई अंग्रेजीले विस्थापित गर्दैछ, त्यो देख्दा कतै एक दिन नेपाली वाक्यहरूमा सबै अंग्रेजी शब्द अनि अन्त्यमा ‘छ’ र ‘हो’ भन्ने नेपाली शब्दहरू मात्र बाँकी नरहलान् भन्न सकिन्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।