ऐतिहासिक मकै पर्वका नायक नायबसुब्बा कृष्णलाल उपाध्याय अधिकारीले जेल बस्दा लेखेको पुस्तक धर्मकुमारी शिक्षा हो भनेर जानकारी पाए ।
धर्मकुमारी शिक्षा सोही समयताका छापिन पाएको भए पुस्तकमा उल्लेख अनुसार आचरण युक्त समाज बन्न सकेको भए निश्चय नै नेपालको स्वरूपमा परिवर्तन आउने थियो ।
ढिलै भए पनि उक्त पुस्तक अद्योपान्त पढ्न भ्याए । नेपालको तत्कालीन समाजको स्पष्ट चित्र पाए । यति गहिरो किसिमबाट सो समयको पहाडी समाजको बारेमा जानकारी गराएको अर्को पुस्तक मैले पढ्न पाएको छैन । दुर्भाग्य नै भन्नु पर्छ जसले समाजको हित चाहन्थ्यो, समय भन्दा अघि बढ्न चाहन्थ्यो त्यस्तालाई राणाशासनको कालरात्रीमा सहन सकेन । पुस्तक अध्ययन गर्दा तत्कालीन समाज मात्र हैन कृष्णलाल अधिकारीको दृष्टिकोण पनि बुझिन्छ । तर म यहाँ कृष्णलालको बारेमा कुनै चर्चा नगरी धर्मकुमारी शिक्षाबाट नै केही पंक्तिहरू सापट मात्र लिन चाहन्छु, आफ्नो तर्क भने सामान्य निचोडको रूपमा राखेको छु ।
०० ०० ००
“सन्सारमा स्त्रिको पति नै साचो सहायता र साचो मित्र साचो आसा गर्ने जग्गा हो । यथार्थमा स्वामि कतै हवस्, तेसैमा संतुष्ट रहनाले स्त्रिलाई यस लोकमा सुःख संमान र परलोकमा चाहिने जति आनन्द मिल्न सक्छ । पतिले जो काम गर्नु भनेको छ जो उपदेस दिएको छ, खुसि चित्तले मान्नु पर्दछ ।
आजकालका समयमा धेरै नञा शिक्षा पाएका कोमलाङ्गिहरू पति सङ्ग प्रेम गर्न ता खोज्दछे, परन्तु पतिको पुजा गर्न उस्लाई खुसि छैन ।
दम्पतिले परस्पर यक मन प्राणले आफु खुसिहुने, आफ्नु कत्र्तब्य संझेर कामकाजगर्दाखेरि यत्तिको सुःख पाइन्छ कि जति सुख धनवाला रईस राजाको पनि हुन सक्दैन । स्वामिले गरेको हेलालाई नसंझेर तिन्का कठोर वचनहरूदेखि कैल्यै पनि सहने स्वभावलाई छाडिदिनु हुदैन, वरू स्नेहपूर्वक सधै उसलाई खुःसि राख्ने कोसिस गर्नु उचित छ ।
चाहिनेभन्दा बढता लाउने खाने कुराका निमित्त पतिलाई दुःख दिनामा मनमा केहि पनि दुःख संकोच छैन भने तेस्तालाई पत्नि नभनेर राक्षसि भनेमा के पाप लाग्ला, लाग्दैन ।
तमाखु, चरोट, सुर्ति नस इत्यादिको अम्वलको कुलिन स्त्रिलाई सोभा दिदैन ।
आफ्नु वानि स्वभाव वोलचाल, हिड्नु बस्नु खानु सुत्नु काम गर्नु काम लाउनु ई सबैको नाउ चरित्र हो ।
आमाले आफ्ना बालकलाई जे भावले सिकाउछे, वालखका नरम हृदयमा जो केहि चिन्ह गरिदिन्छे, वालखले जन्मभर उसै सिक्षाको फल भोगनु पर्दछ ।
दुष्ट स्त्रिका संगतले पतिको सबै नाश भै जान्छ ।
उत्तम सिलाकि स्त्रिका निष्कपट व्यवहारले दुःखरूपि संसारमा नन्दनवनका समान सुख दिने हुन्छ ।
घटिया संगतमा संधै डराएर रहनु । मेल सवैसंग गर्ने र सहन सक्ने जुन कुरा पतिले सुन्दा घरमा विध्न पर्छ, नसुनाउदा हानि हुँदैन भने यस्ता कुरा पतिलाई नसुनाइ धर जाहान सभाल्ने कुराको छोरिलाई अर्तिदिनु र चरित्र सुद्व हुन जान्छ । पतिव्रता स्त्रि घरकि पूर्णलक्ष्मी हुन् ।
सति स्त्रि स्वर्गमा पुगेर पनि पुजा गरिने हुन्छन् । असति स्त्रि बुढि कुकुर्नि, सुगुर्निकै समान घिन मानिने अल्छिनि स्त्रिले सास्ता हांस्तैमा पतिको सिर उडाइ दिन्छे ।
गुणले भरियाकि लज्जावति स्त्रि भया त उस्को कस्ले वयान गर्न सक्तछ, सुनमा सुगन्ध झै हुन्छ । घटिया वाटातिर लैजाने आपतिहरू उस्का नसिजक आउन सक्तैनन् पवित्रताले उस्का पवित्र दिलमा भक्ति र प्िरति रहन सक्तछ । खराब बानि भयाका स्त्रिहरूले यस्तो संझेन्छे कि हास्ने कराउने काम देखायर मात्र मर्द (पुरूष) का अगाडि चतुरि कहलाउनेछु, यो संझनु उन्को भूल हो । कुल ललनाले लाजलाई नबचायर आफुलाई नजाति हुने फोहरठट्ठा हासख्याल गर्ने छैनौं । छोरि बुहारि लाज नमान्ने भयका कारणले गर्दा उनिहरूबाट निस्केको बिष जस्तो फल सबै जमातले भोग गर्नुपर्दछ ।
कुनै स्त्रिजाति आफ्ना घरको भन्न नहुने कुरा छिमेकि स्त्रिहरूसंग भन्नलाई अलिकति लाजमान्दैनन् । कुनै त यस्ता मूर्ख पनि हुन्छन् घरमा कसैसंग रिसउठ्यो भने खप्न नसकेर उस्को कसैलाई भन्न नहुने दोष अर्कासंग भन्नालाई पनि चुक्तिनन् । बढता काम नलाग्ने अर्काको खायाको काम कुरो गर्दा गर्दै छिमेकिसंग बाझ्ने जुझ्ने बानि घटिया हो । नम्र स्वभाव गुणले चरित्र धेरै राम्रो गुलियो बनाइ दिन्छ । नरम स्वभावका सत्रु कोहि पनि हुंदैनन् । ठुनामा पनि ठूलो मान पाउन सक्दिनौं, जति स्वभाव रुखो छ, बोलिमा मर्म नपारि निस्कदैन, यस्ता स्त्रिहरूसंग घर छिमेकहुंदैनन् । ठूला घरानाका कञ्यौं स्त्रिहरू अभिमानलाई लियर छुचो वोलिवोल्ने हुन्छन्, आफ्ना अधिनका कुटुम्ब नोकर चाकरसँग सधै वचनरूपि वाणको वर्षादगर्ने गर्दछन् ।
स्त्रिहरू आफ्ना हृदयका बेगले गर्दा कलङ्कका नदिमा पौडि खेल्न र पिसाचिनि जस्ति भयर बस्न कत्ति पनि वखतमा डर मान्दैनन् । धेरै लाज, हेला आपत किन नहोस् सबै सहन्छे, परन्तु नअसल बिष राख्ने गर्दछे ।
जो स्त्रि आफ्ना रूखा स्वभावले छिमेकिलाई नजाति संझन्छे, छिमेकि विपत्तिमा साहायता र आनन्दमा खुसि हुन्न, यस्ता स्वभाव भयाकि स्त्रिलाई पनि परिनाममा ठुलो दुर्दसा भोग्नु गर्दछ । कपट धेरै निन्दा हुने बस्तु हो, घर छिमेकिका व्यवहारका कुरा पढाएर पनि निर्वाह छैन । जो पुरूष आफ्ना पतिभन्दा उमेरमा बढ्ता छन् उसंग पतिका दाज्यूका जस्तो आदर सन्मान र डर राख्नु पर्दछ जसमा तेस्ले लाज नमान्ने रहिछ भन्ने नसंझोस् । कुनै यस्तो कुरा, नबोल, जुन बोलि निकाल्दा गरिबका छातिमा काढा जस्तै विजन नजावस् । जमातमा सत्रुता हुदा भित्री आपदहरू धेरै आइलाग्दछन् । अर्ति उपदेश नपायाका स्त्रिहरू लडने जुझ्ने बहुत चतुरा हुन्छन् । रिसाहिको स्वभावले नै सत्रु बढदछन् ।
कराउदा मानुआकाश फाटे जस्तो शब्द निकाल्ने, फगडा गर्न लाग्दा मान मर्यादालाई प्रल्हे तिलान्जलि दिने स्त्रिलाई नै डङ्किनि भन्दछन् ।
हाम्रो देशका खेतिगर्नेका स्त्रिहरू धेरै मेहनत र थोरै खर्च गर्ने वानि भयाका छन् । घटि हुदा दुःख र वढि पाउदा हर्ष हुने पनि गर्दैनन् । घरका आसपासमा धेरै तरहका तिहुन् तरकारी लगायर स्त्रिहरूले ई कामहरूमा आफ्नु अपमान भयाको नसंझिकन घरवारि वगैंचा फूलवारि गमलाहरूमा फलफूल तिहुन तरकारी अधुवा, खोर्सानी, वेसार, मोथि, जिरा लगायर रोजिन्दाको खर्च चलायदेखि घरको धेरै पैसा बच्न सक्दछ । नाउ भने गृहलक्ष्मि काममा भने ढुकुटिमा लायाको साचो पतिका तुनामा वाधियाको छ भने पनि तेस घरमा सुःखा सान्ति रैनछ भन्न सकिन्छ । खेतिमा गयर खे ितगर्ने, देस विदेसमा गै ब्यापार गर्ने, गोठ बस्तु पाल्ने, राख्ने, जमातको भलो हुने कुरा जान्नालाई पुरूष जातिलाई जतिको हतार छ घरभित्र आयाको चिज राख्न खर्च गर्न दुमु साच्न, पाहुना मान्न, ज्यूको हिफजत गर्न जान्नालाई स्त्रि जातिलाईै उतिकै हतार छ । विवाहका दिनदेखि वुहारिले काधमा घरको भार उठाउनु पर्दछ । जेठाज्यूलाई द्यौता जस्तो, देवरलाई उमेर पुगेको पुत्र जस्तो, तेस्तै द्यौरानि जेठानिलाई दिदि बैन्हि जस्तो, जानेर मान्यता गर्नु पर्दछ । कति वुहारि सासुका पछाडि चामल च्यूरा धिकि छोटा जातलाई सुटुक्क दिने यकान्तमा खाने गर्दछन्, यस्ता बानि भयाकि वुहारिले आफ्नु घर समाल्दैनन्, घरको कुन बस्तु बिग्रेको छ, के बस्तु बाहिर छ ई कुरा विचार। ग्र्दै गर्दैनन् । जो बुहारि पतिका अगाडि गयर सासु मान्नेहरूको बदनाम गर्दछे भने त्यो बुहारि आफुले आफ्नै घोक्रो अठ्यायर प्राण निकाल्नु भनेको यहि हो । बुहारिले घरका जहानको कुरा र धन दौलत मर्म कसैलाई पनि भन्न हुदैन ।
असल सासुले खारेकि बुहारि सुःखको दान गर्दछ । छोरिहरूको उमेर ४÷५ बर्ष भयपछि साउ अक्षर सुरु गर्ने र ५÷६ बर्ष भयदेखि नै घरको सानु मसिनु काम, पुजाका साना भाँडाहरू माझने, चौकि लिप्ने, बत्ति कात्ने, व्यहान वेलुका कसिगर बढार्ने, बत्ति बाल्ने, ६ मैन्हासम्मका वालखलाई सुताउनु, खुवाउनु पर्ने कामहरू वरावर सिकाउँदै गर्नु । सिक्षा नपायाकीले पतिलाई निर्धनि देखेर हेल ागर्न लाग्दछे । मदहरूका साथमा खेल्ने, मन परेका ठाउमा घुम्न फिर्न जाने वानि पारिदिनाले फेरि सहजै तो वानिले छाडन सक्तैन । आमाले झुट्टा बोलेको जानेर गर्ने काम यहि हो भनि ठानि छोरि पनि झुट्ट बोल्ने हुनजान्छे । जुन छोरि वावु आमाको दोषले गर्दा हसल सिक्षा लियर असल चरित्र भयाकि हुन सक्दिन तो पतिका घरमा पुगेर घिनमानिने हेलागरिने भै ठुलो दुःख भोग गर्ने हुनजान्छे । कुटेर तह लगाउने वानि वस्तामा पछि पनि नकुटि नडराउने हुँदा जिराहा बानि बस्नेछ । जोगी भिखारीलाई भिक दिने, पाहुनालाई मानिता सम्मान राखेर नरम स्वभावले वर्ताव गर्ने कुरा पनि सिकाउनु पर्दछ ।
विचारगर्दामा काम कुरो गर्न पर्ने भो भने पैले पतिसंग यकान्तमा नम्र भयर आज मलाई यस्तो हुनाले यो कुरा मनमा रहेको छ भनि विन्ति गर । विचारमा कति कुरा बोल्न नपर्ने बढता बोलियछ, कति कुरा बोल्दा नम्र हुने कुरा छाडेर उग्र स्वभाव लिन गैयछ, कस्का कस्ता व्यवहारमा मन नमरेर रिसको कुरा गरियेछ, तो गर्नु नहसलै भो भन्या निश्रय गरेर भोलिपल्ट सुधार गर्ने यत्न गर्नु गम्भिरहुने मुल जरो यहि हो । चञ्चल स्वभावलाई छाडि गम्भिर स्वभावलाई लिसकेपछि बडिया व्यवहार गर्नु पर्दछ । मनमा मुखमा बढिया व्यवहार गर्नेलाई मात्र सबै सहनि गर्न लाग्दछन् । नोकर चाकर वा हमेसै तिम्रो निष्कपट दया पाउने हक राख्दछन् । जानिराख आफ्नो स्वभाव असल भन्ने देखाउनु छ भने पैले तिमीले सबैको मनले मुखले कामले बढिया गर, अनि सबैकि असल हुनेछौं । सुखको आसा गर्नेले आनन्द चित्त र संतुष्ट रहनु पर्दछ । जसको मनमा सन्तोष छ त्यो सधै सुखि रहन्छ । विपत्तिमा धैर्यता, परेका दुःखमा सन्तोष, विपत्ति हटाउने उपाय गर्नाले विपति चाँडो छुटन सक्तछ । स्वामिका बुद्धिले भये गरेका आर्जनमा सन्तोष मानेर दिनमा यकचोटि मात्र खान पाइयोस् पनि तिमीले तेसैमा सन्तुष्ट रहनु नै सुःखको काम हो ।रका सुःखको विरूवा स्त्रिकै सिक्षा छ । घर सुःखमा विष घोल्ने स्त्रिसिक्षाको के फाइदा ।
वुलवुल चरा जस्तै पतिका प्यारि भयर खानेको डेडवित्ते पछ्यौरा लटकाइ भुकुरे कपालले सोभित भै सुनझ्यालमा बसेर हात मुख सिर हल्लायर हि, हिः गर्दै फोहर गित श्लोक अथवा कुनै गित गाउनु यो स्त्रिसिक्षालाई असल भन्नुहुँदैन । धेरैजसो स्त्रिहरू अलिअलि पुस्तक पढ्न जान्दैमा आफूलाई ठुलो मेहनति भयाको यो गर्नुपर्ने काम गरेकि छु भन्ने सम्झिन लाग्दछन् । स्त्रिहरूले अभिमानलाई छोडेर हुनेसम्म मिहिनेत गरेर उस्का अनुसारले सिल्प विद्या सिकेर धेरथोर आम्दानि गर्न लागे भने ता फेरि उस्ले गलग्रह भएर बस्नुपर्दैन । निर्लज्ज भै बसिरहने वानिले समय विताउनभन्दा आफ्ना तागतले भेटेसम्म केहि न केहि सार्नु ठुलो काम गर्दैरहनु वहुतै उत्तम हो । यस देशका स्त्रिहरूले पनि सिल्पविद्या सिकेर फुर्सदको बेलामा बुन्ने काम, बनाउने काम गर्नेगरेदेखि प्रण रोपेर भन्न सकिन्छ कि अवश्य देशबाट अनिकाल भाग्नेछ । सुघर सफा भयर बस्नु, तनदुरुस्ति तयार रहनु (स्वास्थ्यरक्षा) को मुल जरो हो । सरिर सफाइ नगर त, तो सबै टाढा नगयर उसै ठाउमा मयल परेर बस्तछ र अनेक रोगहरू तेसै मैल फोहरले जन्माउदछन् । कुनै स्त्रिहरू ता सफाई नगरेकोले गर्मिका दिनमा सरिरबाट दुर्गन्ध निकालेर बस्तछन् । रोग लागिसकेपछि जाहासम्म निरोग हुदैन तहासम्म सन्सारका कुनै बस्तुले सुःख सुविस्ता दिन सक्तैन । मुख्य निरोग रहनालाई परेज सुघर सफाइकै काम छ ।
कपडा फोहर राख्नेलाई लुतो दाद दिनाइ ता अवश्य हुन्छ फेरि दुर्गन्धले तेस्का नजिक कोहि जान मन गर्दैन । सुकिला सुकेका कपडा सधै लाउनु पर्दछ । उनि लुगामा लाग्ने माउ नाउ भयाको किरो मारन गर्ने बोकेटिमुरको धुलो र मरिचका भरिला दाना विच विच राखेर लुगा पट्यायर राखनु किरा पनि लाग्दैन, ढुडि पनि आउदैन । रिट्ठो सोरा इनि चिजले उनि कपडा धुदामा राम्रो हुन जान्छ । खुला ठाउबाट जो सफा हावा आयाको छ, तेस्ले घरभित्र पस्ने बेलामा घर वरिपरिको फोहरबाट उठेको दुर्गन्धलाई लियर जाने हुनाले जम्मै हावा नअसल गराउदछ । भाडा माझ्ने ठाउ पनि ढुंगा छापेको हवस, केहि भिरालो परेको भया भांडा माझि सकेपछि पानीले लुडो लगाइ सफा गर्दा जम्मै बगेर खाल्डोमा पर्न जावस् । यस देशका स्त्रिजातिमा वासि, सडेको बस्तु खाने वानि परेको छ, यो वानि साह्रै घटिया हो । नपाकेको अन्न, फल, जरा जो बस्तु भया पनि जसरि पाक पुग्छ उसैगरि पकाइ खानु र चाडो पचने तागत दिने काम दिन्छ । खाने चिज बनाउने भाडा सफा गर्ने, खानेपानी पनि सङलो सुद्ध हुनपर्दछ, तो पानी पनि कपडाले छानेर खाने गर्नु वहुतै असल कुरा छ ।
मेरो रायमा गाई, दुभो, तुलसी, घोरताप्रे, ध्यूकुमारि घरका वरिपरि रोप्नाले र सलको खोटो, धूप दिनाले हावाबाट आउने रोगको डर हुन सक्तैन । सन्तान पालना गर्ने यउटा साहै ठुलो जोखिम भार, प्रकृति स्वभाव या धर्म पालना गर्ने स्त्रि जातिले जिम्मा नलि हुदैन । वालखलाई आमाले वरावर संझाइ दिनु पर्दछ, घटिया भनेको काम गरो भने प्रितिपुर्वक सजाय दिनुपर्दछ ।
घरकि स्वामिनिले होस बुद्धि पु¥यायर काम गरेदेखि धेरैजसो काममा नचाहिने खर्च हुन पाउदैन । भयाको चिज बखतमा पाइदैन भने संग्रह गर्नाले मात्र के फाइदा भो । चाहिने बस्तु को हेर विचार पु¥याउन सक्ने सतिको नाउ हो गृहलक्ष्मि । खराब कुरा खरिद गर्दा केहि पैसा वचने देखिन्छ, परन्तु ति कुहे सडेका घुनपुतलि लागेका चिज बस्तु खाया कुनै मानिस वेरामि प¥यो भने, तेस्लाई निको गराउने काममा अघि किफायत भयाको भन्दा बढता खर्च नभै रहदैन । जस्का सिल स्वभावमा सारा घरको भार अडियाको छ, यस्ता गृहलक्ष्मिको स्वभाव चन्चले भइ दियोभन्या असल हुदैन न जहानले उस्को वचन पालन गर्दछन् । आमाले छोरिका कमला हृदयमा असल कुराको बानिको वसतिर झल्काइदिनुपर्दछ ।
गुणकोद्धारा गृहिणि नामलाई पालना गर । गर्भधारणका अवस्थामा के के नियमको पालना गर्नुपर्दछ फेरि कुन रितले होस राख्नु पर्छ ई सवै कुराको ग्यान सबै स्त्रिलाई अवश्य हुनुपर्दछ । घटिया काम गर्नु, काटमार हेर्नु, मुर्दा हेर्नु, रोगी नभयाकालाई छुनु, अरुका पाँच बर्ष मनिका वालखसंग छातछुत गर्नु, तिर्थ देवताका स्थानमा जानु इत्यादि काम गर्नाले वालख वौलाहा थोरै बल भयाको, साहस गर्न नसक्ने उत्ताउलो, रोगी, थोरै आयु भयाको अङ्गहिन जन्मनेगर्दछ । नौ मैन्हासम्मका वालखलाई जति गाइको दुध छ तेत्तिकै पानी मिसाइ तेसमा अलिकति मिश्रि हालिदिया आमाका दुद जस्तै स्वाद र गुण दिने हुन्छ । आमाको दुध खादासम्म वालखलाई आमाकै सर्दिगर्मि रोगहरू सर्ने हुनाले बालखलाई औषदि गर्नुपर्ने प्रयोजन छैन ।
सुताउदा उतानु कोल्टेको विचार पु¥याय गोल मिलेको राम्रो शिर हुन्छ ।
रजस्वला टायम टायममा घटि बढि हुन लाग्यो भने रोगको डर गराउछ । सोह्रबर्ष नपुगि स्त्रि रजस्वला भै स्त्रि पुरूषको उमेर जाँच्दा चालिस बर्षभन्दा कम हुदैमा सन्तान पैदा भो भने अवस्य अल्पायुको हुन्छ भन्दछन् । नमरून्ज्याल सति धर्म जोगाई वढिाया व्यवहार गर, तिमिहरूलाई पनि सबैले लक्ष्मिको अवतार भन्न लाग्दछन् । रजस्वला हुँदा दिउसो सुत्नु, आगो छुन, दातमा दतिउन लाउन मासु माछा मह लागु चिज, गाइको दुद दहि पान खान हुदैन । कपाल आङ नुहाइ सकेपछि हेर्दा जे चिज वस्तु देखिन्छ तेसैन्छ तेसैका रङ्गमा मिलेको सन्तान पैदा हुन्छ भन्ने भनाइ पनि छ । पतिको दर्सन पर्सनका वेला रिस लिनु हुदैन । हज्जार अपसोच छ, वनका घमण्ढि ठुलो वल भयाका सिह हात्तिहरू पनि वुद्धि भयाका मानिसका वसमा परेर जता भनी उतै जाने आउने गर्दछन् भने यक जनालाई रिझाउन नसक्नु कस्तो आश्चर्य । दुष्ट कामकाज गर्दा, छोटा वुद्धिको सरण लिंदा आफ्नु जिन्दगिभरको आनन्द र सुयसको नाश हुन्छ ।
स्त्रिका छातिमा घमण्ड भरि भो भने अवश्यउ हानि हुन्छ ।
घटिया कुरा मनमा नराख, सतिले जसरि हुन्छ आफु भाग्यमानि हुनालाई पतिको हित हुने काम गर्नुपर्दछ । गर्नुपर्ने ठेकियाको काम राम्रो पनि छ, तेरै काममा नभयाको झुठ्ठा दोष लगाइ दिया तिमिलाई कस्तो रिस उठतछ भने, तिमिले अर्काको काम कुरा नअसल भनि दिदा के उस्लाई रिस नउठी धर्म पालना भयो । मर्द छोरो स्त्रिका बसमा बस्न सक्तैन भने तेसलाई कुरा लायर वसमा राख्न खोज्नुभन्दा त आफु सौतासौता मिलेर सिल राम्रा स्वभावद्धारा आफ्नो धर्म पालनागरेको नै राम्रो होला । धेरै ठाउ देखियाको छु कि सौताका छोराछोरिलाई प्यारो गरेकाले पतिले पनि प्यारो गरेको फेरि ती सौताका छोराछोरिले आफ्नो आमालाई भन्दा सौतेनी आमालाई प्यारो गरेको, भिन्न हुँदा पनि सौतेनि आमालाई साथमा राखेको छ । आफ्नु कुनै स्वभावलाई वसमा लिन नसकता वैनि तिमिले आउनु परेको हो, हामी दुइले मिलेर अव पतिको मनपर्ने हित कामको साधना गर्नुपर्दछ भनेर जेठिले पतिको स्वभाव कुलको धर्म सम्झाइ दिनु, वैनि हुनेले जेठिको सेवा चाकरि वेसरि गर्नु पर्दछ । जस्ले प्यारो गरो, उसैलाई आमा सम्झने भयाका ति वालखलाई, आमा म हु भन्ने मनमा राखेर तिन्को सेवा चारि वेसरि गर्नु मनासिव छ । सारो छाति भयाका मुर्ख पति कुनैले सौताको भन्दा राम्रो लाउन मिठो खान दिने गरो सधै आफैलाई मात्र नजिक राख्ने काम ग¥यो भन्या सति धर्म पालन गर्ने स्त्रिले वारंबार पतीलाई सम्झाउनु पर्दछ । हे आमा हो, आफ्ना छोरालाई वुहारि सघाउन नसकेका रिस पिरले धनको घमण्ड राखेर अर्को विवाह गर्न पतिलाई सल्लाह नदेउ ।
हेर भाइभाइहरूको भिन्न हुने चलन नभयाको भया खाने भाँडा वस्ने घरको सम्बन्ध मिलाउनालाई ठुलो मुस्किल पर्ने हुनाले अघिका वुद्धिमानहरूले भिन्न हुने चलन गरेका रहेछन् । कुनै कुनै स्त्रि जाति ता घरका भाँडाहरू लुकाउने, घरका साजा धनबाट पेवा दाइजो गराउने गर्दछन् । मिलेको घर देखेर सबै छिमेकिहरू डराउन लाग्दछन् । सबै कुरामा बुद्धि पु¥याइ पतिको मन सधै खुसि हुने गराउ । भिन्न हुँदामा घरमा सबैसंग कल झगडा मात्र गरेरबोलचाल बन्द गरेर छातिमा सिरलाई लियर होइन, भाँडा धन चोर्नु लुकाउनु ईकाम पनि गर्नु हुदैन । हेर कसै कसैले स्त्रिजातिलाई सधै अर्काको नोकर पो गरायाको रहेछ, हामी के पुरूषको जस्तो काम गर्न सक्तैनौ भनेर सम्पूर्ण धर्मलाई तिलान्जली दिएर जाहानबाट फरक गरायाका पतिलाई खेलखेल्ने पुतलि जस्तो वनायर देल वाहाड गरदछन् । सदा सर्वदा जाहानमा मेल राखेर पतिलाई आफ्ना स्वभावले स्वर्गको आनन्द लुटाउ ।
०० ०० ००
नासु कृष्णलालको गुण राणा शासकको आँखामा अवगुण ठहरियो । स्वाभिमानले लत्रिन चाहेन, कठोर कारावासको सजाय स्वीकार गर्यो । स्वर्गीय पत्नी धर्मकुमारीको सम्झना गर्दै छोरी डोलादेवीलाई उचित शिक्षा आफूले दिन नपाएको हुँदा प्रतिभावान कृष्णलालबाट यो पुस्तक लेखिन गएको हुनसक्छ ।
पुस्तकले तत्कालीन समाज र धर्मको माध्यमबाट समाजलाई व्यवस्थित पार्न लेखकले चाहेका छन् । सम्भवतः ९० वर्ष अघि त्यो पनि संस्कृत अध्ययन गरेकाबाट लेखिएको पुस्तकमा विज्ञानसम्मत सम्पूर्ण कुरो खोजिनु पनि हुँदैन र खोज्दा पाइँदैन पनि । सकारात्मक मानसिकताले अध्ययन गर्दा ‘आदर्श’ कुराहरूलाई पन्छाएर व्यवहारिक कुरा मनन गर्दा विज्ञानसम्मत धेरै कुराहरू पाइन्छन् । ज्ञानको कुनै अन्त छैन, पुराना पुस्तकहरूबाट स्वेच्छाले राम्रा कुराहरू अध्ययन गर्न सकिन्छ । यही नै विज्ञान हो । यसैको नाम सभ्यता हो । हिजोको कृष्णलाल अधिकारीको त्याग, प्रतिभा, क्षमतालाई पन्छाएर साहित्यिक प्रथम शहीदको रट लगाउनु उचित देख्दिन । तत्कालीन समयको यथार्थ अध्ययन गरिनु पर्दछ ।
जेलमा परेको व्यक्तिबाट शासकको आँखा छलेर १२२ पृष्ठको पुस्तक लेखिनु त्यो पनि तत्कालीन समाजको प्रष्ट चित्र आउने गरी सजिलो पक्कै होइन ।
परिपूर्ण छ म भन्दिन, कसैले पनि कुनै पुस्तकमा पूर्णताको दाबी गर्नु आफ्नो हठ मात्र ठहरिन्छ— यसर्थ प्रस्तुत पुस्तकमा जे छ त्यो अरूमा छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।