समुद्र तर्ने निश्चित भएपछि अकस्मात पाथीभरा माईको दर्शन गर्न जाने इच्छा जाग्रत भयो । मेरो साहिलो दाइ योगेश्वर र म बिर्तामोड हुँदै बाटो लाग्यौं । फिकल पुग्नुअघि बस रोकियो । विद्यार्थीहरु खचाखच भरिए । छात्राहरूको मात्रा बढी लाग्थ्यो । यी कलेज स्तरका विद्यार्थी थिए ।

मलाई विद्यार्थी देखेर संवाद गर्ने रहर जाग्यो र सोधें ‘मैया,इलाम जिल्लामा सबभन्दा अग्लो व्यक्ति को हो ? कसको नाम लिंदा दुनियाँका अगाडि हाम्रो शिर ठाडो हुन्छ । तर पद र शक्तिले या धन र तुजुकले ठूलो मानिएका हैन है । आफ्नो योग्यता, सामर्थ्यले, शीतल कर्मले महान् मानिएको होस् । शिखर पुरुषको गौरवले चुलिएको होस् ।’

छात्राहरुले मन्त्री, सांसद, न्यायाधीश, सैनिक प्रमुख, प्रिंसिपल प्रजिअको नाम लिए । मैले अस्वीकार गरें । थपें– ‘त्यो उचाइमा पुगेको व्यक्ति पदस्थ रहे पनि नरहे पनि उचाइमा नै रहन्छ । उसको महिमा कम हुँदैन । उसको व्यक्तित्व अन्तरराष्ट्रिय स्तरको हुन्छ । त्यसै ढंगले चिनिएको हुन्छ र आजीवन सम्मानित रहन्छ ।’

निकै बेरको मन्थन पछि एउटी छात्राले भनिन्– तपाईंले कहीं ताना शर्मालाई खोज्नुभएको त हैन ?’ उनको प्रस्तावित प्रश्नमाथि मैले अनुमोदन देखाएँ । त्यसपछि हामी पनि प्रसन्न देखियौं । उनीहरू पनि ठूलो उपलब्धि भएजस्तो या ठूलो खोज गरे जस्तो ढंगले असाध्य खुसी देखिए । मैले एउटा प्रोफेसरको उचाइ, उसको महत्ता, लेखन शक्ति र उसको अन्तर्राष्ट्रिय उचाइको बखान गरें । उनीहरु कलेजछेउ ओर्लिए । पाथीभरा माईले मलाई प्रसन्नता दिइन् भन्ने सुम्पुट जोडें । नयाँ पुस्ताले नयाँ ढंगले सोच्ने बानी बसाए हुन्थ्यो भन्ने ठानें ।

यस्तै प्रश्न र जिज्ञासा राखेर म धनकुटातर्फ लागें । मेरा लागि पहाड मधेस गर्ने बाटाको शहर– धनकुटा गौंडा । बडाहाकिम बस्ने ठाउँ । सफा सुग्घर, अनुशासित समाज, शिक्षाका केन्द्र । जंगल किनारको ठूलो भव्य भवन– उज्यालो । यही रहेछ धनकुटा कलेज । कलेज के हो ? के थाहा धूले पाटीमा क–क गर्ने पाठशालाको बबुरो बटुवा ठिटो उवेला ?

शिखर पुरुष चिन्ने यत्नमा फरक फरक कित्ताका व्यक्तिहरू पन्साउँदै गएँ । किनभने मेरो बाटो पनि फरक थियो र प्राप्ति पनि फरक हुनुपर्ने थियो । मैले पाएको कुरा निर्दोष रहनुपर्छ र राष्ट्रबाट अनुमोदित-समर्थित हुनुपर्छ भन्ने सोच राखेर मैले शिक्षाको क्षेत्रबाट अग्रसर हुने अठोट गरें ।

धनकुटामा प्राचार्य छविलाल पोख्रेल र टीकाप्रसाद वस्तीलाई भेटें । उहाँहरु धरानतर्फ स्थापित रहेको बुझें । मैले शिक्षालाई आधार बनाएर पृष्ठ भर्नु थियो । फेरि तुलना गर्न मिल्ने प्रसंग पनि थिएन । त्यसैले धेरैलाई थाती राखेर बढ्दै गएँ । फलतः प्रोफेसर दयाराम श्रेष्ठलाई शिखर पुरुषको उच्च भावले देख्न थालें । मेरो बुझाइमा उहाँभन्दा अग्लो व्यक्ति अर्को भएन । मेरो हठ भनौं कि अविद्या, मैले तोकेको किल्ला अमोघ रहनुपर्छ भन्ने ठानें ।

शिक्षाको क्षेत्रबाट समाजमा योगदान पु¥याउने प्रबुद्ध व्यक्तिहरुको श्रृंखला निकै लामो छ । धनकुटा कलेजलाई पीठिका बनाएर हेर्दा पनि प्रोफेसर दयाराम श्रेष्ठको शैशिक गतिविधि र जीवन–यात्रा पृथक छ, सामान्य छैन । संघर्षमय छ,प्रेरक छ, कम उपलब्धिपूर्ण छैन । उहाँले हासिल गरेको प्रतिष्ठाशिखर तुलनीय छैन । यसलाई अनन्वयको भावले बुझ्नु पर्छ कि भन्छु ।

दयाराम श्रेष्ठ एउटा विद्वान प्रोफेसरमा हुनुपर्ने गुण, गरिमा वैशिष्ठयले अलङ्कृत हुनुहुन्छ । संझना छ, प्रोफेसरको अधिकार क्षेत्रमा निहित विधि र निषेधका कुरालाई न्यायमूर्तिको भावले निर्णय लिनुहुन्छ किनभने मलयुक्त्त स्थितिलाई अमल बनाउने यत्न गर्नु थियो ।

अर्को पनि एउटा सम्झना छ – ‘आन्तरिक मूल्यांकनका उत्तर पुस्तिका विद्यार्थीले फिर्ता पाउँथे । बढी प्राप्ताङ्क काटेर घटी हालेको देखिन्थ्यो । विद्यार्थीको प्रश्नमाथि उहाँको उत्तर हुन्थ्यो– हेड गुरुको सेन्सर हो ।’ ‘हेड’कै विवेकमा प्राप्ताङ्क थप–घट हुने रहेछ, विषय–शिक्षकको हात हुनेरहेनछ – हामीले यस्तै बुझ्यौं । पछि प्रोफेसर ताना शर्माले पनि विद्यार्थीको पक्ष लिएर उच्च अङ्कका लागि बहस गर्नुपरेको थियो भन्ने कुरा केही समय मिथक बन्यो । यो विद्यार्थीले भोग्नुपरेको मारको संझना हो । विषय शिक्षकको मनोभाव र पीडाबोधको स्थिति छुट्टै होला ।

समयसन्ध्याको क्षणमा दयाराम उभिएको वर्तमान (२०२९–३१) धूमिल र प्रकम्पनमय थियो तर पूर्वको आलोक फैलँदै थियो उहाँको चेतनामा । संयमको खास्टो ओढेर पीडकर क्षण बिताउनु भयो । यस अर्थमा म उहाँको धैर्य वा संयमको सम्मान गर्छु । पुस्तकका गर्भमा वा खोज अनुसन्धानमा आफूलाई व्यस्त राखेर पीडा–प्रशमन गर्ने बानी पार्नुभएको हो कि न ?  फलतः उहाँ उचाइ लिंदै जानुभयो –

श्री ५ महाराजाधिराजका बाहुलीबाट महेन्द्रविद्या भूषणले उहाँ विभूषित हुनुभयो । पी-एच.डी.को उपाधि प्राप्त गरिसकेपछि पाइने ‘क’ श्रेणीको आभूषण ग्रहण गर्ने अधिकारी भइन्थ्यो । यस प्रसंगमा भन्नैपर्ने कुरा के छ भने विज्ञता वा विद्वताको प्रचार–विज्ञापनको मोह उहाँमा रहेन । गर्भस्थ अग्निको भावले उहाँ रहनुभयो – खरानीभित्रको आगो । अन्तर्मुखी देखिनु उहाँको स्वभाव हो कि । काम गरेर आफूमा निहित वा प्रच्छन्न विद्वत्ता-विज्ञतालाई ऐजन मौकामा साकार पार्दैरहनु उहाँको सहज प्रवृत्ति बने झैं लाग्छ ।

प्रोफेसर सम्भव निश्छल प्रकृतिको शोध–निर्देशक भन्ने परिचय थपियो । उहाँको निकट पुगेको शोध–प्रज्ञको काम अल्झिएन । शोधार्थीले किनारा पायो । न भीमसेन राईको सन्दर्भले झैं आलोचित हुनुप¥यो न ज्ञावलीको शोध–कर्मले झैं अलङ्कृत । अपितु प्रत्येक फाँटका उहाँका बौद्धिक कर्महरु मानक र उदाहरणीय हुँदै गए । झन् सम्पादन, मीमांसा र ऐतिहासिक मन्थनपछि मौलिकता र औचित्यका साथ संगतिपूर्ण निष्कर्षमा देखिनु उहाँको बौद्धिक दर्शनको अन्मतम उचाइ बन्यो । उहाँको कलम थोरै शब्दमा धेरै र सारभूत कुरा बोल्छ । अभिधाले पनि ध्वनि प्रक्षेपण गर्छ भन्ने सत्य घेरैको बोधको विषय बन्दैन । यो पनि भिन्न फाँट होला ।

अल्मलिएका विद्यार्थीलाई सन्मार्ग देखाउनु प्रोफेसर दयाराम श्रेष्ठको विशिष्ट गुण हो । उदात्त भावले उहाँ हाम्रा सामु देखिनुहुन्छ र नाश हुनबाट जोगाउनु हुन्छ । मलाई पनि बाटो नछोड्ने मन्त्रणा दिएर सुरक्षित गर्नुभएको सम्झना छ । भन्नैपर्छ – परिस्थिति र विद्यार्थीको अप्ठेरो बुझ्ने क्षमता थियो । त्यसैले नीति र विवेकको उपयोगमा उहाँको दृष्टि सदैव आदरणीय रह्यो । प्रेरक देखियो । फलतः उहाँको उचाइ अझ थपिंदै गयो । चिन्तन, कर्म र व्यवहारले कसैलाई उच्च–श्रेष्ठ बनाउँछ भन्ने सोच राख्नेका लागि प्रोफेसर संभव दृष्टान्त हुनुहुन्छ ।

अथक कर्तव्य–निष्ठा, दृढ संकल्प र आत्मविश्वासले उहाँ ओजस्वी बन्दै जानुभयो । त्यसैले शिखरप्राप्तिको श्रेय उहाँको पुरुषार्थलाई जान्छ, उहाँका वैशिष्ट्यलाई जान्छ । कसैको कृपा र सहयोगमा सिद्धार्थ बुद्ध भएको होइन ।

धनकुटाबाट काठमाडौं पुगेका व्यक्तिले दुष्कर कार्य र कठोर संहिताको अनुपालन गर्नैपर्छ । सिमेस्टर प्रणालीको प्रारम्भिक चरणका विद्यार्थीहरु पनि यस दशाका साक्षी होलान् कि ! विषपान त सुकरातले पनि गरेकै हो, तर ऊ बाँचेन । मरे पनि बाँचेकै छ | हरेक दुष्कर वा असंभव काम उहाँका रागि संभव हुन्थे, संभव तुल्याउनुहुन्थ्यो । त्यसैले होला उहाँ दयाराम श्रेष्ठ ‘संभव’ को ख्यातिले चिनिंदै जानुभयो । भन्नु पर्छ–उहाँका लागि विधि र निषेधको मानक थियो – समय । उहाँ कुनै क्षण चुक्नु–चिप्लनु भएन । शायद यो कठोर साधनाको समय थियो । त्यसैबाट प्राप्त सुखद प्रतिष्ठाको जीवन हो यो । भन्नै नहुने कुरा भनौं सबै गुरुले त्यो सम्मान–भाव पाउँदैनन् जुन प्रोफेसर दयारामलाई प्राप्त छ । आज आएर भन्न संकोच मान्नुपर्ने स्थिति छैन । हाम्रा आँखाबाट बादल हटेपछि खुला भावले भन्न सक्यौं– ‘छात्रसंसदि लब्धकीर्ति ’ को अभिमतले उहाँ समर्थित अनुमोदित हुनुभयो । यो गौरव धेरैलाई प्राप्त हुँदैन ।

दयाराम सरको हेराइमा नाम सार्थक छ | साधारण हेराइ, सम्यक् अवलोकन तथा गम्भीर निरीक्षण र दूरदर्शनको छनक मिल्छ । उहाँको मौनतामा आँखाले नै धेरै कुरा बोलिरहेको हुन्छ । सद्भाव, शीतलता, ममत्व, स्मिति र प्रसन्नता उहाँका आँखामा छचल्किएकै हुन्थ्यो । मैले उहाँको नजरमा त्राटन, ज्वाला र रहस्य देखिनँ, शायद विद्यार्थी वर्गले देखेन । उहाँले एकान्तवासमा पनि नेत्र ज्योतिको त्यो रूपलाई नियन्त्रित गर्नु भयो– संयम लिएर अन्यथा कीर्तिपुरका आरम्भिक दिनहरुमा जुनसुकै बेला ज्वाला भट्कन सक्ने स्थिति थियो । उच्च प्राप्तिका लागि शीतल भावले आफूलाई साधनामा केन्द्रित गर्नुभयो । त्यसपछि उहाँका लागि मार्ग प्रशस्त हुँदै गए । गन्तव्य स्पष्ट हुँदैरहे ।

बिर्सनै नहुने प्रसंग छ– विद्यार्थीले आँखा जुधाएर बोल्नासाथ उसको मनोदशा पढिसक्नुहुन्थ्यो । महान् कुरा हो– उहाँका अगाडि विद्यार्थीले कहिले होचो अनुभव गर्नुपरेन, अल्पज्ञ ठान्नुपरेन । उहाँले हामीलाई लड्न दिनुभएन– सह्यार्नु भो, अँगाल्नु भो, सही बाटो देखाउनु भो । दयाराम श्रेष्ठको सान्निध्यमा पुगेको वस्तु खारिएर, चम्किएर मूल्यवान् तत्वको रुपमा परिणत भएका दृष्टान्त देख्छन् पारखीहरु । होला, अविद्याको जालोले नढाकेका ‘प्रज्ञावान्’हरूका लागि यो सत्य होला । होला, गुरुतत्व जति निश्छल, अ-मल र पवित्र छ विद्यार्थीका आँखामा उत्तिकै उच्च र आदरणीय हुन्छ । शायद पितृभावभन्दा महान् र उदात्त हुन्छ क्यार गुरुतत्व – गुरु स्नेह !

गुरूका लागि विद्यार्थी र विद्यार्थीका लागि गुरु कतिपय सन्दर्भमा परस्पर उपकारक पनि हुन्छन् । कहिले यातना, उपेक्षा र मानमर्दन पनि घुम्तीपथबाट उच्च सफलताका लागि प्रेरक घटक भइदिन्छन् । यी सन्दर्भहरु अन्योन्यका दृष्टान्त हुन् । प्रोफेसर दयाराम श्रेष्ठका विश्वविद्यालयीय जीवनका पृष्ठहरुबाट खोजेर पढ्नै पर्छ – धूमिल नभएका भए ।

प्रोफेसर दयाराम श्रेष्ठको प्रज्ञा र प्रविधिले निष्णात भएर निस्केका छन् उहाँका अन्तेवासीहरु-विद्यार्थीहरु ! आजका ज्ञानपिपासुहरु यस्तै गुरुको खोजी गर्लान् कि भन्छु ।

तस्मै श्री गुरवे नमः

२१ जुलाई २०२४,गुरु पुर्णिमाको सन्दर्भमा