बिर्सें । ‘बुढा मरे भाषा सरे’ केही यस्तै सन्दर्भ केही दिन पहिले पढेको थिएँ ।

सम्झें- दिनेश अधिकारीको रचनामा रहेको नारायण गोपालको स्वर र सङ्गीतको यो गीत पनि –

‘यो सम्झिने मन छ म बिर्सूं कसोरी

तिमी नै भनिदेऊ एsss जाने निठुरी ।’

रातको मध्यान्नतिरको चकमन्नमा ‘नारायण गोपाल’हरूका स्वर सुन्दै ‘फेसबुक’का भित्ताहरूमा मित्रजन र अग्रजहरूका प्रेरणादायी सन्देश हेर्दै जाँदा रात अलिक छोटो लाग्छ । कम्तीमा दिनमा वा रातमा ३-४ घण्टा समय थपिएको भए कसको के जान्थ्यो होला र ? यसो हुँदो हो त  यो प्रदेशमा ३-४ घण्टा बढ्ता सुत्ने समय थपिने पो थियो वा काम गर्न पर्ने धपेडी ?

यहाँ समय थपिने होइन अहिले सामाजिक सञ्जालमा पत्रकार ज्योति देवकोटले सन् १५८५ को अक्टोवर देखि नै हाल प्रचलनमा रहेको पात्रोबाट ११ दिन हराएको प्रश्न गरेका छन् । प्रचारित सो वर्षको  अक्टोवरको क्यालेन्डरमा ५ तारिखदेखि १४ तारिखसम्मका ११ दिनहरू हराएको देखिन्छ । यस्तो किन भयो ? यसवारे सामाजिक सञ्जालमा नै पत्रकार देवकोटाको प्रश्नका लागि प्रमोद देवकोटाले ‘Ten Days That Vanished: The Switch to the Gregorian Calendar‘ शीर्षकको यो लेखको लिंक शेयर गरेका छन् –

शुरू गरिएको सन्दर्भ थियो – भााषको । भाषा कस्तो र किन ? भाषाको मापदण्ड र शुद्धताको कसी के हो ? एकजना मित्रले ‘भाषाको शुद्धताको धेरै चिन्ता गर्नु जरूरी छैन,भाषाको काम सन्देश सम्प्रेषण गर्ने मात्र हो । कान जताबाट समाते पनि के फरक पर्छ ।’ यो ओठे जवाफ लगाउनु भएको पनि वर्षौं नै भयो तर उहाँलाई अहिलेसम्म भाषाको काम सन्देश सम्प्रेषण गर्ने मात्र होइन भनेर बुझाउन मुख खोल्न सकेको छैन । नेपालमा उच्च शिक्षामा जुनसुकै विषयमा अध्ययन गरेपनि माध्यामिक विद्यालय र आइ.ए. अर्थात प्रवीणता प्रमाणपत्र तह वा अहिलेको १० प्लस दुईको शिक्षा पूरा गरेको कुनै नेपालीले सोमनाथ सिग्देल, भानुभक्त पोख्रेल, नरेन्द्र चापागाईं र कृष्णप्रसाद पराजुली आदिका व्याकरणका कृति पढेनन् भनेर कसरी पत्याउने ?

भाषा भनेको भोजन जस्तै मीठो/स्वादिलो हुनुपर्छ । कविवर केदारमान व्यथितले भन्नु भएको सुनेको थिएँ – साहित्य/भाषा भोजनालय हो भने राजनीति शौचालय ।

मेरो मत र अनुरोध दोहोर्याउँदै छु है यहाँ – आफ्नै लेख वा सन्देश आफूले पनि पढ्नुपर्छ भन्ने मलाई लाग्छ । अर्थात् भान्सेले नचाखीकन आफूले तयार पारेको व्यञ्जनमा नून मसला ट्वाक्क मिलेको छ कि छैन कसरी थाहा पाउला र ? जब भान्सेले आफैले चाखेर आफूले पकाएको व्यञ्जनको स्वाद थाहा पाउँछ भने आफ्ना विचारहरूलाई लेखेर विभिन्न माध्यमहरू मार्फत पस्किनु हुने अर्थात् बाँड्नुहुने लेखक वा विचारक, प्रश्नकर्ता वा जिज्ञासा राख्नुहुनेहरूले पनि त आफ्नो लेखमा प्रकट भएको विचार, भाव र भाषाको स्वाद तथा सन्देशको परख गर्नुपर्दैन र ? अवश्य पर्छ । सिफारिस, सकिन्छ भने त्यसै गरौं । आफ्ना विचार, प्रश्न वा जिज्ञासाहरू आफ्ना पाहुना अर्थात् पाठकहरूलाई सुन्दर, सुगन्धित र मिष्ठान्नयुक्त स्वादु भोजनका रूपमा शेयर गरौं । बाडौं वा पस्कौं, कि कसो !

म यहाँ भाषाको बारेमा सङ्केत मात्र गर्छु किनकि म पनि बाह्रखरीको बाह्र थरीको स्वादु व्यञ्जन बनाउन जान्दिन । तर तपाईंहरूले दु:ख मेहनतले तयार गरेको व्यञ्जनको स्वाद चाख्नसक्छु,यो मौका दिने कि नदिने तपाईंहरूको जिम्मामा ।

माथि यही पंक्तिकारको नाम हेरौं, भण्डारी,भन्डारी र भंडारी । तर जे लेखे पनि बुझिने र बोलिने त एउटै हो । तर मलाई लाग्छ, अरू दुई छोडेर भण्डारी नै मेरो पहिचान बोक्ने शब्द हो । तर लेख्नेहरू र बोल्नेहरूले यसलाई छुट्याएर हेर्ने हो भने फरक थाहा हुन्छ – भं डा री, भ न् डा री र भ ण् डा री । इ- ई  र उ-ऊ  अर्थात् ह्रस्व दीर्घको मात्र होइन हामीले विवाद गरेका नेपाली शब्दका अरू धेरै उदाहरणहरू छन्- स,श र ष होस् वा ब, भ र व मा पनि हाम्रा मतभेदहरू छन् । तर यस्ता कतिपय शब्द पनि छन्, अङ्गरेजी,अंगरेजी र अङ्ग्रेजी । हामी यसमा चैं विवाद गर्दैनौं – Go र Do ।  उदाहरण अरू धेरै छन् यसमा विवाद गर्न पर्दैन ।

वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले  आफ्नो नाममा थोप्ले ‘संग्रौला’ र हलन्ते ‘सङ्ग्रौला’ का बारेमा गर्नुभएको टिप्पणी पनि यस्तो छ – मेरा हजुरबाले पातलो ‘स’ माथि शिरबिन्दु राखेर आफ्नो नामको पछाडि ‘संग्रौला’ लेखे । मेरा बाले आफ्ना बाको सिको गर्दै मेरा हजुरबाको उही ‘संग्रौला’ लेखे । र, मैले हजुरबा र बाका पदचिह्न पछ्याउँदै उही ‘संग्रौला’ लेखें । शिरबिन्दुधारी यो ‘संग्रौला’ मेरो पहिचानको पर्याय बन्यो । यसलाई देख्ता मेरो मनमा म त्यो हुँ र त्यो म हो भन्ने भावना जागृत हुन्छ । तर कति न भाषा जान्ने हौं भन्नेहरूले मेरो ‘संग्रौला’ को शिरबिन्दुलाई मासेर हलन्ते ‘ङ्’ लेख्ने उर्दी जारी गरे । म ‘संग्रौला’ लेखेर पठाउँछु, खास गरेर साहित्यिक प्रकृतिका पत्रिकाका जागिरे सम्पादक वा प्रूफरीडरहरू ‘संग्रौला’ लाई बदर गर्दै ख्याँस्स ‘सङ्ग्रौला’ बनाइदिन्छन् । यो अतिचार देख्छु र म घरीघरी मर्माहत हुन्छु । मेरा लागि ‘स’ माथिको शिरबिन्दु केवल निर्जीव थोप्लो होइन, यो त मेरो पहिचानको द्योतक पो हो । जगतमा मानिसको स्थान र सामर्थ्य आखिर उसको पहिचानमै त निहित हुन्छ ! थोप्ले ‘संग्रौला’ र हलन्ते ‘सङ्ग्रौला’ को उच्चारण गर्दा निस्कने ध्वनिमा म कुनै अन्तर पाउँदिनँ । अनि बड्ता बाठो भएर ‘जस्तो बोलिन्छ उस्तै लेख्ने’ निहुँमा मेरो थरमा हलन्ते ‘ङ्’ थोपरेर मेरो पहिचानमाथि किन धावा बोलिएको होला ? भाषा फाँटका यी कैंचीकर्मीहरूलाई कताबाट यो अधिकार प्राप्त भयो होला ?

संग्रौलाको मेरो ‘शहीद’, हजूरको ‘सहिद’ शीर्षकको यो लेख ‘कान्तिपुर’, १८ चैत २०६८ मा प्रकाशित भएको थियो । यसलाई हालै मात्र साहित्यपोस्ट साभार गरेको छ ।

तपाईं हामीले आफ्ना लेख/रचना (कथा कविता होस् वा सामान्य सन्देश नै किन नहोस्) सार्वजनिक गर्नु भनेको कुनै पाहुनालाई घरमा बोलाएर मीठो परिकार दिनु जस्तो नै हो । तर त्यो परिकारमा हरेक गाँसमा दाँतमा ढुङ्गा पर्यो भने  तपाईं हामीले ती अतिथिलाई गरेको आतिथ्यको के नै पो अर्थ रह्यो होइन र ? माथि पनि उल्लेख गरें, म पनि यस सम्बन्धमा राम्रो दखल राख्दिन तसर्थ नचाहाँदा  नचाहाँदै यदि मबाट यिनै पङ्क्तिहरूमा वा अघिपछिका लेखहरूमा पनि यस्तो भएको भए दुःखका साथ क्षमाप्रार्थी छु। मेरो मत र प्रयास भाषाको मानक र मर्यादा पालना गरौं भन्ने हो ।

अन्य भाषामाजस्तै हाम्रो नेपाली भाषाको पनि मौलिक मापदण्ड छ । यस मापदण्डको पालना नगर्नु कनिका र बियाँ मिसिएको भोजन अतिथिलाई दिनु जस्तै हो । यसका एक से एक विज्ञहरू हुनुहुन्छ हाम्रो समाजमा । उहाँहरूबाट सिक्ने यस्ता अबसरहरू उहाँहरूका कृतिहरू नै हुन्  ।

नेपाली राजनीतिमा कहलाइएका विद्वान हुनुहन्थ्यो – प्रदीप गिरि । प्रदीप गिरिले आफ्नो नामको अन्तिम इकार लेख्नु हुन्थ्यो, तर किन ? यो अनुतरित छ यद्यपि बुझ्न सकिन्छ, यो जात समुदाय बुझाउने गिरी अर्थात् ईकार थिएन । गिरि, इकार अर्थात् पर्वत वा पहाड बुझाउने अर्थ वा सन्देशका लागि प्रयोग गरिएको थियो । यसबारे नेपाली भाषाका विज्ञ वा राजनीतिका जानकारहरूले ऐन मौकामा मुख खोल्नुहोला ।

नेपाली भाषाको व्यावहारिक ज्ञान भएका अग्रज भाषासेवी विद्वानहरूका यस्ता अन्य धेरै कृतिहरू छन् । मौलिकता र मानकको पक्षमा रहेका पछिल्लो समयका कृति वा तिनका नामहरू लिनुपर्दा चुडामणि गौतम, बलदेव अधिकारी गाउँले, शरदच्चन्द्र वस्ती यस अभियानमा पनि होमिनु भएको छ । भाषाको विद्रूप भाँडभैलो अनधिकृत छ भन्ने भाषासेवी विद्वानहरूको मतलाई विद्वान अधिवक्ता स्वागत नेपाल समेतको पैरवीका कारण हालै मात्र सर्वोच्च अदालतले पनि नेपाली भाषाको मानक र मर्यादामा यसका विद्वान र प्रयोगकर्ताहरूले नै  समय र आवश्यकता अनुसार सुधार गर्ने वा मानक-मापदण्ड बनाउने अधिकार राख्छन्,राजकीय सत्ताले यसमा हात नहाल्नु भनेर आदेश गरिसकेको छ । सो आदेशको विवरण साहित्यपोस्टको यो शिर्षक ‘नेपाली भाषा र वर्णविन्याससम्बन्धी सर्वोच्चको आदेशमा के छ ?’ यो तलको लिंकमा उपलब्ध छ ।

स्मरणीय छ, यो लिंकको लेखको अन्तिममा पनि लेखिएको छ- तलको लिङ्कमा क्लिक गरी सर्वोच्चको संक्षिप्त आदेशको पूर्ण रूप पढ्न सक्नुहुन्छ ।

आदेशका बारेमा साहित्यपस्टले प्राथमिकतामा राखेको एउटा सन्दर्भ हो – यस फैसलाका क्रममा सर्वोच्च अदालतले निरूपण गरेको अर्को पक्ष सबैभन्दा महत्वपूर्ण छ । १. नेपाल प्रज्ञा–प्रतिष्ठान, २. त्रिवि नेपाली शिक्षण विभाग, ३. शिक्षामन्त्री/मन्त्रालय र ४. पाठ्यक्रम विकास केन्द्र— प्रत्येकको नाम किटानी गर्दै, तिनलाई ऐन–कानूनले प्रदान गरेको अधिकारको ऐना देखाउँदै, अदालतले स्पष्ट शब्दमा भनेको छ—  क. नेपाली भाषाको वर्णविन्यास, ख. लेखन शैली, र ग. व्याकरणका नियम परिवर्तन गर्ने अधिकार यीमध्ये कसैलाई पनि छैन । यी मात्र किन, यो विषय स्वयं मन्त्रिपरिषद् वा राज्यको कुनै पनि निकायको क्षेत्राधिकार भित्र पर्दैन भन्ने पनि अदालतले स्पष्ट पारेको छ ।

यो टिप्पणी यो पंक्तिकारको नेपाली भाषाका सम्बन्धमा भएको ज्ञान नभएर यसका विषयमा भएका विवादहरूको निराकरण हुनुपर्छ र मान्य  (सर्वमान्य नहुन सक्ला) मानक बन्नुपर्छ र त्यसको मर्यादा कायम गर्नुपर्छ भन्ने मतका लागि राखेको जिज्ञासा मात्र हो । जिज्ञासा पनि यसरी  ‘जिग्यासा’ वा श-ष गरेर लेखे हुन्न र भन्ने लाग्न सक्छ तर यसबारे वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीको ‘हिज्जे बिगार्ने अभियान : फाइदा कसलाई ?’ शिर्षकमा ‘कान्तिपुर’ २०६९ वैशाख ५ गते मंगलवार प्रकाशित लेखलाई पनि पढ्न सकिन्छ । यो लेख पनि साहित्यपोस्टले हालै मात्र साभार गरेर प्रकाशित गरेको छ ।

उक्त लेखको एउटा सानो अंश यस प्रकार छ- अमेरिकामा ओबामा अघिका राष्ट्रपति जर्ज डब्लु बुशलाई ‘बुस’ मा परिवर्तन गर्नु देखादेख तालव्य ‘श’ मासेर दन्त्यमा लैजाने धृष्टता गर्नु मात्र हो । कथम् पातलो ‘स’ ले काम चल्दो हो त अमेरिकीहरूले ‘एस्’ अक्षर मात्र लेख्दा हुन्, एस् पछि ‘एच्’ थप्ने थिएनन् । किन थपे त ? बुझ्नुपर्‍यो । सोझो कुरो छ, हाम्रो भाषामा विकल्प छन्, पर्यायवाची शब्द छन् भने तिनले नेपालीलाई सम्पन्न, समृद्ध बनाउने दिशामा योगदान गर्छन् (हेर्नुस्, शरच्चन्द्र वस्तीको कृति ‘हाम्रो भाषा’) । भन्नु परोइन, तीनवटा श–ष–स हुनु फराकिलो परिवेश कायम रहनु हो । खुम्च्याएर एउटा ‘स’ मा सीमित राख्नु भनेको आफैंलाई नोक्सान हुने काम गर्नु हो । एउटा ‘स’ मा साँघुरिएर बस्न खोज्दा चारै ‘दिशा’ को अर्थ बुझिने शब्दको रूप फेरिएर शौचमा जाने मल सरह हुनपुग्छ ।

भाषाको मानक र मर्यादाको उदाहरणमा परेको अर्को एउटा पुस्तक केदार वशिष्ठको ‘नेपाल विद्या’ पनि यस सन्दर्भमा उल्लेख गर्नु सान्दर्भिक हुन्छ । वशिष्ठको यो कृति पूर्व पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सिफारिसमा परेको रहेछ । यसबारे लेखक वशिष्ठले केही दिन पहिलेको आफ्नो ‘फेसबुक स्टाटस’मा लेख्नु भएको छ  -पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक जना विद्यावारिधि विद्वानलाई ‘नेपाल विद्या’ पढ्न सिफारिस गर्नुभएको रहेछ । … खुसी हुन यस्तै समाचार काफी । यहाँहरूमा पनि नबाँडी रहन सकिन !

‘भाषिक भाँडभैलोको विपक्षमा’ शीर्षकमा अर्को लेख लेख्नु भएको छ, वरिष्ठ पत्रकार हरि अधकारिले पनि । ‘नागरिक’ २०६८ चैत १८, शनिवार  प्रकाशित उक्त लेख पनि साहित्यपोष्टले केहि दिन पहिले प्रकाशित गरेको छ ।

उक्त लेखको एउटा अंश यस्तो छ- नेपाली भाषालाई सजिलो बनाउन संस्कृतबाट आएका तत्सम शब्द बाहेक अरू सबैलाई नेपाली जिब्रोले जस्तो उच्चारण गर्दछ, त्यसैका आधारमा हिज्जे र वर्तनी दिंदा के फरक पर्छ र ? भन्ने प्रश्न गरेका छन् । झट्ट सुन्दा यो तर्क ठीकै जस्तो पनि लाग्न सक्दछ । तर वास्तवमा कुनै पनि शब्दको व्युत्पत्ति, स्वरूप, त्यसले वहन गर्ने अर्थ र त्यसको रूपगत ओजनको वास्तै नगरी सजिलो नेपाली लेख्य रूप दिने नाममा त्यसलाई विरूप पार्न पाइँदैन ।

यसबाहेक ‘श’ र ‘ष’ को अस्तित्व नै नामेट गर्न खोज्दै सबैखाले आगन्तुक शब्दमा आउने ‘श’ र ‘ष’ को सट्टा ‘स’ मात्र प्रयोग गर्दैमा अथवा आगन्तुक शब्दमा आउने सबै इकार–उकारलाई ह्रस्व मात्रै लेख्दैमा लेख्य नेपाली सजिलो … भइहाल्ने पनि होइन । पण्डितहरूले संस्कृत भाषाबाट आएका तत्सम जतिलाई संस्कृतमा हुने हिज्जे र वर्तनी अनुसार नै लेख्नुपर्ने त भनेकै छन् । ‘श’, ‘ष’ र दीर्घ इकार–उकारको अस्तित्व कायमै रहने हो भने किन संस्कृतेतर आगन्तुक शब्दहरूलाई लिएर मात्रै फरक व्यवहार गर्नुपर्ने ? यो विशुद्ध लहडबाजी मात्र हो ।

भाषाकै सम्बन्धमा  भाद्र १४, २०७३ मा कान्तिपुर दैनिकमा  प्रा. विद्यानाथ कोइरालाको ‘ ‘व्याकरणीय अपराध : मूलै सुक्छ कि ?’ शीर्षकको लेख  प्रकाशित छ । प्राध्यापक कोइरालाले देवनागरी लिपिका बारेमा लेख्नु भएको छ – ‘लिपि हुन्छन् । बन्छन् । बनाइन्छन् । देवनागरी स्वार्जित लिपि हो ।’

प्रोफेसर कोइरालाकाअनुसार ‘शिव नादबाट १४ कोटी (थरी) का शब्द निस्किए– अ, इ, उ, ण, ऋ, लृ क आदि । यी निस्किएका शब्द नै शब्द ब्रह्म हुन् । ध्यानस्थले सुन्ने शब्द तिनै हुन् । यी नाद र शब्दहरूलाई एकसाथ झंकारित गर्ने अक्षर ॐ हो । त्यसैले ॐ आफैंमा नाद ब्रह्म हो । शब्द ब्रह्म हो । मान्त्रिक एवं तान्त्रिकहरूको चिन्तनमा नाद र शब्दले गति दिन्छ । ॐले गतिलाई झंकरित गर्ने तागत दिन्छ । यस अर्थमा ॐ ब्रह्म ऊर्जा तान्ने एकल नाद हो । शब्द हो । ऋग्वेदको पहिलो मण्डल त्यसै भन्छ । शिवले निकालेका १४ कोटीका शब्दमा क्रमबद्धता छ । फोनिक्स छ । संकेत (नोटेसन) छ । संगीत छ ।’

प्रोफेसर कोइरालाको लेखमा उल्लेख अर्को एक अंश यस्तो छ- अक्षर चलाउनेको अपराध तालव्य ‘श’ किन चाहियो ? मूर्धन्य ‘ष’ किन चाहियो ? शहीद सहीद बनाए भैगयो नि ? शर्मा सर्मा लेखे बुझियो नि । विज्ञहरूले तर्क गर्‍यौं । तर्क कुतर्क बन्यो । वितर्क बन्यो । अब वितण्डा बोक्तै छौं । ताना सर्माले स्वीकार्नुभयो । शर्मा आराध्य हुनेरहेछ । सर्मा कुकुर हुने रहेछ । राज नबुझ्दा भाषाविज्ञ हुनुहुन्थ्यो । बुझ्दा अज्ञ हुनुभएको हो त ? मान्त्रिक एवं तान्त्रिक ज्ञाताको शब्दमा तालव्य ‘श’ले मुटुदेखि दाहिने हातसम्मका नाडी, सन्धि, मर्मस्थान र चक्र झंकरित हुन्छ । दन्त्य ‘स’ले चाहिँ मुटुदेखि दाहिने खुट्टाको बुढीऔंलासम्मको भाग झंकरित हुन्छ । मूर्धन्य ‘ष’ झिक्ता मुटुदेखि बायाँ हातसम्मको क्षेत्रमा ऊर्जा प्रवाह घट्छ । मान्त्रिक हिसाबमा त्यस क्षेत्रमा मन्त्रको असर पर्दैन । तन्त्रको असर पर्दैन ।

भाषाको मानक र मर्यादाका बारेमा ‘भाषाको भद्रगोलमा कति भागीदार ?’ लेखको प्रारम्भिक ड्राफ्ट वि.सं. २०७३ को भदौमा नै तयार गरेको हो यो पंक्तिकारले । त्यसवेला यो लेखको प्रारम्भिक ड्राफ्टलाई पूर्णता नदिई यो पंक्तिकारको अर्को एउटा लेख जनआस्था साप्ताहिकमा वि.सं. २०७७ प्रकाशित भएको थियो । सो लेखको लिंक  यो हो-

नेपाली भाषाको मानक र मर्यादाको बारेमा विगत डेढ दुई दशकदेखि चल्दै आएको बहस र विवादलाई हालैसालै मात्र सर्वोच्च अदालतले समेत किनारा लगाएको प्रसंगमा पनि माथि चर्चा भइसकेको छ । वर्तमान सन्दर्भमा सतहमा आएको यस विषयलाई एकिकृतरुपमा यसरी अभिलेख राख्दा उपयुक्त हुने र विज्ञजनहरूले पनि ऐन मौकामा यस्ता प्रश्न र जिज्ञासाहरूका बारेमा थप प्रकाश पार्नु हुने विश्वासले यो सामाग्री तयार पारिएको हो ।