नेपालीमा समालोचनाको आरम्भ मोतिराम भट्टद्वारा वि.सं.१९४८ मा लेखिएको कवि भानुभक्त आचार्यको जीवन चरित्रबाट भएको हो । त्यसपछि नेपाली समालोचनामा आधुनिक युगको आरम्भ वि.सं.१९९९ मा प्रकाशित रामकृष्ण शर्माको अङ्ग्रेजी साहित्यको प्रभावबाट भएको मानिन्छ, किनभने यसमा पाश्चात्य समालोचना पद्धतिको प्रयोग गरिएको छ । यसरी आरम्भ भएको आधुनिक समालोचना वि.सं.२०३३ सम्ममा अझ विस्तृत र व्यापक हुँदै गयो ।
यसपछि पाश्चात्य साहित्यमा सन्. १९६० पछि देखिएका नवीन साहित्य सिद्धान्त र समालोचना प्रणालीको सैद्धान्तिक व्याख्या एवम् विश्लेषण र तिनका आधारमा गरिएको प्रायोगिक समालोचना लेख्न थालियो । यसलाई उत्तरआधुनिक वा उत्तरसंरचनावादी समालोचना भनिन्छ ।
नेपाली समालोचनामा उत्तरआधुनिक वा उत्तरसंरचनावादी समालोचनाको आरम्भ वि.सं.२०३४ मा रूपरेखा (२००) मा प्रकाशित इन्द्रबहादुर राईको भ्रान्तिहरू र लीलालेखनमात्र बाट भएको हो । यसपछि कृष्ण गौतम, गोविन्दराज भट्टराई, अभि सुवेदी आदिले यसलाई अगाडि बढाएर नेपाली समालोचनालाई समकालीन चरणमा प्रवेश गराई मूल धार वा प्रवाहका रूपमा प्रवाहित गराए । अहिले यस मूल प्रवाहका साथै पूर्वीय साहित्य सिद्धान्त र पाश्चात्य आधुनिक साहित्य सिद्धान्त एवम् समालोचना प्रणालीको व्याख्या विश्लेषण र तिनका आधारमा गरिएको प्रायोगिक समालोचना लेखन पनि भइरहेको छ ।
यस्ता समालोचना समकालीन नभएर प्राचीन वा आधुनिक वा परम्परित हुन् । यस्ता समालोचनालाई पूर्वआधुनिक वा आधुनिक धार भन्नु उपयुक्त हुन्छ, किनभने साहित्यमा सधैँ नयाँ मान्यता, सिद्धान्त, शैली आदिको निर्माण भइरहन्छ । तसर्थ कुनै पनि सिद्धान्त, मान्यता सधैँ स्थिर र स्थायी हुँदैन । कालविषेशमा यसरी निर्माण हुने नयाँ साहित्य सिद्धान्त र साहित्यलाई नै समकालीन भन्न सकिन्छ । यस लेखमा पूर्वआधुनिक वा आधुनिक र समकालीन वा उत्तरआधुनिक दुवै धारका समालोचनाका प्रमुख मान्यता, प्रकार र विशेषताको चर्चा गरिएको छ ।
० ० ० ०
पूर्वआधुनिक वा आधुनिक धारका समालोचनाः
आधुनिक साहित्य अनुभूतिको एकत्व, बुद्धि वा तर्क, सत्यको सार्विकता र सार्वकालिकता, यथार्थको बोधगम्यता, विचार वा धारणाको समग्रता आदिलाई मूल आधार मानेर लेखिन्छ । आधुनिक धारका समालोचनाले साहित्यमा रहेका तिनै कुराको व्याख्या, विश्लेषण र मूल्याङ्कन गर्दछन् । यिनीहरू भाषाले निश्चित अर्थ दिने हुनाले साहित्यको पनि निश्चित र एउटै अर्थ हुन्छ भन्ने कुरामा विश्वास गर्दछन् । यस्ता समालोचना मूल सृजनाका समकक्षी नभएर त्यसभन्दा तल्लो तहका वा द्वितीयक सृजना मानिन्छन् । यस धारमा पौरस्त्य साहित्य शास्त्रका आधार एवम् पाश्चात्य साहित्य सिद्धान्त र समालोचना पद्धतिको व्याख्या विश्लेषण गर्ने सैद्धान्तिक तथा तिनका आधारमा साहित्यको अध्ययन गर्ने व्यावहारिक समालोचना पर्दछन् ।
पौरस्त्य साहित्यमा साहित्यको अध्ययन गर्ने रस, ध्वनि, वक्रोक्ति, रीति, अलङ्कार, औचित्य आदि सम्प्रदाय छन् । रस र ध्वनि आदिलाई आत्मवादी अर्थात् कृतिको आन्तरिक पक्षमा जोड दिने सम्प्रदाय भनिन्छ भने रीति, अलङ्कार, वक्रोक्ति, औचित्य आदिलाई देहवादी अर्थात् कृतिको बाह्यपक्षलाई महत्त्व दिने सम्प्रदाय भनिन्छ । त्यसरी नै पाश्चात्य साहित्यमा विविध वाद छन्, जस्तैः परिष्कारवाद, स्वच्छन्दतावाद, यथार्थवाद, अतियथार्थवाद, प्रतीकवाद, बिम्बवाद, अभिव्यञ्जनावाद, विसंगतिवाद, अस्तित्ववाद आदि र नीतिपरक, समाजपरक, मनोविज्ञानपरक, आदिमतापरक, रूपपरक, शैलीवैज्ञानिक, संरचनावादी आदि समालोचना छन् ।
पाश्चात्य साहित्यका सबै वाद र समालोचना प्रणालीलाई पाँच केन्द्रमा राखेको देखिन्छ । ती पाँच केन्द्र हुन्ः स्रष्टा, विषय, सृजना, संरचना र पाठक । स्रष्टालाई केन्द्रमा राखेर कृतिको अध्ययन गर्दा अभिव्यञ्जनावाद, स्वच्छन्दतावाद, कल्पना सिद्धान्त एवम् जीवनीपरक समालोचना प्रयोग गरिन्छन् भने विषयलाई केन्द्रमा राखेर कृतिको अध्ययन गर्दा अनुकरण सिद्धान्त, परिष्कारवाद, यथार्थवाद, प्रकृतवाद, अतियथार्थवाद, नीतिपरक, समाजपरक वा मार्क्सवादी, मनोविज्ञानपरक, आदिमतापरक समालोचनाको प्रयोग गरिन्छ । सृजना, पाठ या कृतिलाई केन्द्रमा राखेर कृतिको अध्ययन गर्दा कलावाद, रूपपरक, शैलीवैज्ञानिक, नव्यसमालोचना आदिको प्रयोग गरिन्छ । पाठकलाई केन्द्रमा राखेर समालोचना गर्दा सम्प्रेषण सिद्धान्त, मूल्य सिद्धान्त र प्रभाववादी समालोचना आदिको प्रयोग गरिन्छ । कृतिको संरचनालाई केन्द्रमा राखेर अध्ययन गर्दा संरचनावाद र संरचनावादी समालोचनाको प्रयोग गरिन्छ ।
यसरी नै परम्परित र आधुनिक समालोचना प्रणालीलाई बहिर्निष्ट र अन्तर्निष्ट गरी दुई पद्धतिमा वर्गीकरण गरेको देखिन्छ । बहिर्निष्ट समालोचना पद्धतिले साहित्यको अध्ययन गर्दा स्थान, काल, परिवेश, साहित्यकारको जीवनी आदिलाई आधार बनाउँछ अथवा साहित्यमा प्रतिबिम्बित सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक आदि बाह्यपक्षको अध्ययन गर्दछ । पौरस्त्य साहित्य सिद्धान्तका रस र ध्वनि सम्प्रदाय, पाश्चात्य साहित्यका नीतिपरक, समाजपरक, मनोविज्ञानपरक आदि समालोचना बाह्यपद्धतिअन्तर्गत पर्दछन् । यिनलाई इतिहाससापेक्ष समालोचना पनि भनिन्छ ।
त्यस्तै कृति वा कृतिको पाठलाई वा कृतिका आन्तरिक पक्ष अर्थात् भाषा, अलङ्कार, साहित्यिक युक्ति, शैली आदि साहित्यिक तत्त्वका आधारमा कृतिको व्याख्या, विश्लेषण र मूल्याङ्कन गर्ने समालोचनालाई अन्तर्निष्ट वा सत्तामूलक समालोचना भनिन्छ । यसअन्तर्गत पौरस्त्य साहित्यका अलङ्कार, रीति, वक्रोक्ति, रस, ध्वनि, औचित्य र पाश्चात्य साहित्यका रूपपरक, शैलीवैज्ञानिक, नव्यसमालोचना पर्दछन् । यी समालोचना इतिहासनिरपेक्ष हुन्छन् । आधुनिक नेपाली समालोचनाले उपर्युल्लिखित दुवै पद्धतिका आधारमा नेपाली साहित्यको अध्ययन गरेका छन् । तिनका मूल विशेषता निम्नानुसार देखिन्छन्ः
१. बहिर्निष्ट समालोचनाका मूल विशेषताः साहित्यलाई उपयोगितावादी दृष्टिले हेर्नु वा मूल्याङ्कन गर्नु, साहित्यको रूप र विषयमध्ये विषयलाई महत्त्व दिनु, साहित्यमा लोकमङ्गल, नैतिकता, सत् र असत्, आदर्श, मानवता आदि तत्त्वको खोज गर्नु, स्रष्टा र सृजनाको अन्तःसम्बन्ध निरूपण गर्नु, साहित्यलाई समाजसापेक्ष दृष्टिले वा देश, काल र परिवेशअनुरूप व्याख्या, विश्लेषण र मूल्याङ्कन गर्नु, साहित्यलाई मानव मन र मानसिकताको उपज मानी साहित्यमा व्यक्त मनोविज्ञानको विश्लेषण गर्नु आदि ।
२. अन्तर्निष्ट समालोचनाका विशेषताः साहित्यलाई भाषाको स्वतन्त्र, स्वायत्त र कलात्मक अभिव्यक्ति मान्नु, साहित्यका रूप र विषय पक्षमध्ये रूप पक्षलाई महत्त्व दिनु, साहित्यका बाह्य पक्ष (समाज, इतिहास, संस्कृति, मनोविज्ञान आदि) को भन्दा आन्तरिक पक्ष वा संरचनात्मक तत्त्व वा घटकका आधार साहित्यको विश्लेषण र मूल्याङ्कन गर्नु, साहित्यका संरचक घटकको अन्तःसम्बन्धबाट निक्लने कलात्मक सौन्दर्य वा मूल्य निरूपण गर्नु, सर्जक र पाठकभन्दा पाठलाई महत्त्व दिनु आदि । नेपाली समालोचनाका परम्परित र आधुनिक धारका समालोचनाका प्रमुख मान्यता, प्रकार र विशेषता पनि यिनै हुन् ।
० ० ० ०
समकालीन वा उत्तरआधुनिक धारका समालोचनाः
उत्तरआधुनिक वा उत्तरसंरचनावादी साहित्य कुनै एक पक्ष, वाद, धारणा, दृष्टिकोण, विचार, सिद्धान्त, शैली आदिमा विश्वास नगर्ने भएकाले बहुलवादी हुन्छ । यसले सत्य पूर्ण, शाश्वत र स्थिर नभएर अपूर्ण, सापेक्षित, परिर्वतनशील एवम् विनिर्मित भइरहने प्रकृतिको हुन्छ भन्ने कुरामा विश्वास देखाउँछ । यो परम्पराविरोधी, सुधारवादी, साहित्यका विधामान्यतामा विश्वास नगर्ने, अपरम्परित र नवीन शैलीको प्रयोग गर्ने लेखन हो । यसले इतिहासको पुनर्व्याख्या, प्रविधि संस्कृति, साइबर संस्कृति, भूमण्डलीकरण, आप्रवासन, वैश्विक ग्राम आदि कुरा स्वीकार गरी साहित्य लेखनको मार्ग प्रशस्त गर्दछ । यसले सबै प्रकारका मानवीय विभेदको विरोध गरी समानतावादी दृष्टिकोण प्रस्तुत गर्दछ । यो अन्तर्पाठात्मक, व्यङ्ग्यात्मक, पुनर्लेखनात्मक, अनिश्चयार्थक र बह्वर्थक हुन्छ । यो द्वितीयक सृजना नभएर पुनःसृजन वा प्रथम सृजनाकै समकक्षी हुन्छ ।
उत्तरआधुनिक धारका समालोचनाले उत्तरआधुनिक साहित्यका उपर्युल्लिखित विशेषताको व्याख्या र विश्लेषण गर्दछन् । यिनले इतिहास सापेक्ष र निरपेक्ष दुवै दृष्टिले पाठको अध्ययन गर्दछन् । उत्तरआधुनिक समालोचना विभिन्न प्रकारका हुन्छन्, ती हुन्ः विनिर्माणवादी, नारीवादी, डायस्पोरिक, पर्यावरणवादी, नवमनोविश्लेषणवादी, पाठकप्रतिक्रियावादी, उत्तरऔपनिवेशिक, समलैङ्गिक, परालैङ्गिक, सन्दिग्धतावादी, सांस्कृतिक, नवइतिहासवादी, साइबर समालोचना, अभिघात अध्ययन, सीमान्तीकृत अध्ययन आदि । यी सबैका सालाखाला प्रमुख विशेषता निम्नानुसार छन्ः
१. उत्तरआधुनिक समालोचना वस्तुनिष्ठ, भाषावादी, अन्तरविषयक र बहुलवादी प्रकृतिका हुनु,
२. लेखक र पाठभन्दा पठनलाई महत्त्व दिनु,
३. पूर्वआधुनिक र आधुनिक समालोचना सिद्धान्त उल्टाएर नयाँ समालोचना सिद्धान्त र दृष्टिकोण अगाडि सार्नु,
४. कृतिको संरचना स्वतः विखण्डित भइरहन्छ भनेर देखाउनु,
५. नवीन नारीवादी चिन्तनको विकास गरी नारी मुक्ति, नारी समानता एवम् लैङ्गिक समानताको पक्षपोषण गर्दै नारीको भिन्न संसार र भाषा हुन्छ भनेर देखाउनु,
६. औपनिवेशिक र अन्य देशका लेखकका उपनिवेशसम्बन्धी कृतिको व्याख्या, विश्लेषण, औपनिवेशिक देशको अवस्था, संस्कृति, मूल्य एवम् मान्यताका आधारमा कृतिको अध्ययन गर्नु,
७. आफ्नाबारे अन्यले स्थापित गरिदिएका मान्यता एवम् दृष्टिकोणप्रति विमति जनाउँदै आफ्नाले बनाइदिएका आफ्नासम्बन्धी दृष्टिकोण र मान्यताप्रति विश्वास गर्ने कृतिको पठन गर्नु,
८. आप्रवासी जीवन, सीमान्तीकृत वर्ग, परिचयको सङ्कटमा परेको वर्ग र विभेदित वर्गका बारेमा लेखिएका कृतिको अध्ययन गरी समानताको पक्षपोषण गर्नु,
९. साहित्यलाई भाषिक खेल मानी कृतिमा व्यक्त भाषिक खेलको विश्लेषण गर्नु,
१०. कृतिभित्रको अन्तर्पाठीयता, गँसाइ, टँसाइ पत्ता लगाई तिनको निरूपण गर्नु,
११. कृतिमा लेखकले छोडेको, लुकेको अर्थको विपठन गर्नु आदि ।
नेपाली समालोचनाका उत्तरआधुनिक धारका प्रमुख मान्यता, प्रकार र विशेषता पनि यिनै हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।