१. गीत विधा

साहित्यको सेवा विभिन्न किसिमबाट गर्न सकिन्छ । गीतलाई छुट्टै विधा मान्नु अथवा कविताकै एउटा उपविधा मान्नु, यस विषयमा चर्चा गर्नु आवश्यकता छ । उचित देखिन्छ । यसमा मानसिक अवस्थाको तीव्र अभिव्यक्ति हुन्छ । गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, गेयात्मकता, सङ्गीतात्मकता, भावुकता, दृष्टिविन्दु, भाषा, शैली, अलङ्कार जस्ता तत्त्वहरू हुन्छन् ।

त्यसै गरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधुर्य, वैयक्तिकता, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादिजस्ता विशेषता रहेका हुन्छन् । गीतमा कोमल र मधुर शब्दहरूबाट मानिसका मर्म खोतल्न सक्ने सामर्थ्य हुन्छ । मानिसको जीवनमा खुसी र दुःखका अनेक कारण हुन्छन् । यस्ता खुसी र दुःखलाई गीतले सही अभिव्यक्ति दिन सक्छ भन्ने आम धारणा छ ।

गीतको कुरा गर्दा गायन र सङ्गीतको प्रसङ्ग आउँछ नै । सम्पूर्ण सृष्टि लयबद्ध छँदैछ । मानिसको शरीरतन्त्र, आयु र सम्पूर्ण जीवन नै लयबद्ध छ । जन्म-जरा-मृत्युको चक्रीय आरोहण-अवरोहण लयमय छ । लयबाहिर केही छैन । यसैले मानिसलाई लय मन पर्छ लयमा ऊ रमाउँछ ।लयमा झुम्छ, निदाउँछ ।लय आमाको काख हो जहाँ उसले निर्विघ्न शान्ति पाउँछ । लय गीतभन्दा जेठो हो ।

यसैले जीवनका हर्षामर्ष, सङ्घर्ष र रहस्यका अभिव्यक्तिलाई लयमा बाँधिदा त्यो गेय गीत बन्छ । गीतमा ढाल्न नसकिने कुनै गद्य वा पद्य हुँदैन यद्यपि गीतका केही सैद्धान्तिक आधार मान्ने प्रचलन छ । जस्तै-गेयात्मकता, लयान्विति, निजात्मकता, संक्षिप्तता, सरलता, एकोन्मुखता, भावप्रवणता आदि । यी आधारहरू शाश्वत भने होइनन् । उसो त वेदका ऋचाहरू पनि सबै गीत हुन् । भगवद्गीता पनि गीत हो ।

गीतको शक्ति भनेको त्यसमा पाइने नैसर्गिकता र स्वाभाविकता नै हो । हृदयको अन्तर्तम गहिराइबाट निस्किएको उद्‌गारले नै कुनै अर्को हृदयलाई छुन्छ अनि अमर बन्छ । गीत अब एउटा स्वायत्त विधाका रूपमा बिस्तारै स्थापित हुन लागेको देखिन्छ । (राजेन्द्र भण्डारी, नेपाली गीतको सेरोफेरो, भूमिका), वैयक्तिकता, सम्बोधन, आख्यानरहितता, सङ्क्षिप्तता आदि गीतका प्रमुख विशेषता हुन भने भाव, कल्पना, बिम्ब, प्रतीक, सङ्गीत आदि यसका तत्त्व हुन् । गीतलाई मुख्य रूपमा दुई भागमा विभक्त गर्न सकिन्छ । मुख्य कुरा भनिने पङ्क्तिलाई स्थायी वा ध्रुव पङ्क्ति भनिन्छ । यो पङ्क्ति घरी घरी दोहोरिन्छ । अरू पङ्क्तिलाई अन्तरा भनिन्छ जसले ध्रुव पङ्क्तिमा भनिएका कुरालाई पुष्टि गर्दछ । (ज्ञानबहादुर छेत्री, भूमिका नेपाली गीतको सेरोफेरो,)

गीत एउटा लयात्मक संरचना भएको उपविधा हो । यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ । यस लयमा गेयता हुन्छ जुन सङ्गीतमा आधारित हुन्छ । यसमा केही घटक वा अवयवबाट सङ्गठन गरिएको हुन्छ । गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन् । आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन् । अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ । गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूले त्यस स्थायीलाई पुष्टि गर्दै अघि लान्छ । गीतका केही प्रमुख तत्त्वहरूमा १) भाव वा विचार २) उद्देश्य ३) भाषा र ४) शैली । यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणत: निर्वैयक्तिक हुन्छ ।

गीतमा संवेदनशीलता प्रथम तत्त्व हो । थोरै शब्दमा नै संवेदनशीलता प्रकट गर्नु सक्नु नै गीतकारको सामर्थ्य हो । सरलताभित्र नै भावगत संश्लिष्टता, थोरैमा धेरै, प्रत्येक वर्ण प्रयोगमा सचेतता, प्रत्येक शब्द प्रयोगमा बहुअर्थता, गेयात्मकता, भावगत व्यापकता आदि गीतमा हुनुपर्छ । जति संवेदन र गेयात्मकता लेख्न सकियो, त्यो गीत त्यति नै सफल र सार्थक हुन्छ ।

‍‍‍====

गीतकार टिका भट्टराई  

नेपाली गीतको मानचित्रमा टिका भट्टराईको नाम पनि अङ्कित छ । उनको जन्म असमको सुदूरपूर्व लेखापानी भन्ने ठाउँमा वि. सं २०१२ अषाढ १३ गते, तदनुसार 2७ जुलाई, १९५५ मा भएको हो । उनका मातापिताको नाम स्व.मनमाया भट्टराई र स्व. कृष्णप्रसाद भट्टराई हो । उनी असमको सबैभन्दा पल्लोपट्टि सुदुरपूर्वको लिडुबजारनजिक बिसागुँमा बस्छन् । नेपाली साहित्यिक गतिविधिमा सक्रिय देखिन्छन् । उनी नेपाल, असम, दार्जिलिङ सबैतिरका सम्पर्क सेतु हुन् ।

उनले नेपाली साहित्यलाई सिर्जना लेखन, साङ्गठनिक सेवा, सम्पर्क सेवा आदिबाट प्रत्यक्ष र परोक्ष रूपमा सेवा गरिरहेका छन् । हालसम्म उनका प्रकाशित पुस्तकहरूमा ती हुन्- यहाँको ढुङ्गा र माटोले भन्छन्, (गीतसङ्ग्रह, १९९१), मन्थन हृदय क्रन्दन अभिव्यक्ति (गीतसङ्ग्रह, २००४) हर्ष-विषादका मुनाहरू (गीतसङ्ग्रह, २०१८), मार्घरिटाको ऐनामा गोरखाली अनुहार (ऐतिहासित दस्ताबेज, २०१७) । यसरी हेर्दा प्रमुख रूपमा उनलाई गीतकारका रूपमा चिन्न सकिन्छ ।

उनका तीनवटा गीतसङ्ग्रहहरूमा आफ्नो गीत लेखनका कला कौशल झल्काएका छन् । यी तीनमध्ये मन्थन हृदय क्रन्दन अभिव्यक्ति मा अठ्सट्ठीवटा,  यहाँका डुङ्गा र माटोले भन्छन् मा तेत्तीसवटा र हर्ष-विषादका मुनाहरूमा तिरासीवटा गीतहरू रहेका छन् । यसमा रहेका केही गीतहरूमा मानवतावादी चेतना, जातीय जागरण, नैतिक चेतना, जीवन चेतना, आत्मविलयन, ईश्वरीय चेतना, मृत्युबोध, रूपसौन्दर्यको वर्णन, निराशा, भाषा प्रेम, आदि जस्ता भावहरू रहेका छन् । उनी जातिको अस्तित्व रक्षाका निम्ति पनि सङ्घर्ष गर्नुपर्छ, भन्ने कुरामा पनि सचेत छन् । उनका गीतको शीर्षकले नै गीतको भावलाई बोकेको पाइन्छ । गीतलाई गेयात्मकताले बाँध्न सकेको पाइन्छ ।

टिका भट्टराईको गीत लेखनबारे पुस्तकको भूमिका, मन्तव्य आदिमा साङ्केतिक रूपमा चर्चा भएको पाइन्छ । कृष्णविक्रम राणा र विक्रमवीर थापाले आंशिक रूपमा उल्लेख गरेका छन् । राणाका अनुसार ‘यसरी नै गीत-सृजना गर्ने प्रक्रियामा भाषा साहित्य, समाज-संस्कृति, देशप्रेम र जातीयतावादप्रतिको अगाध माया र प्रेमले घनीभूत भएको यस गीति पुस्तक हर्ष विषादका मुनाहरू मा पढ्ने पाइन्छ । गी

तकारले गाउँ घरको हिलो र धूलो, झरी र घाम, खपेर स्वयमले भोगेका पीर मर्का र देखेका घटना र समस्यालाई अनुभूतिको कसौटीमा राखी कोमल मनका भावधारालाई एउटा एउटा  गरी समेटेर गीतको रूपमा परिणत गर्न पनि अवसरको आवश्यकता छ भने दृढ विश्वास, लगन र परिश्रमको पनि खाँचो पर्दछ ।’ यसैगरी विक्रमवीर थापाले पनि उनको गीतको बारेमा यस्तो विचार व्यक्त गर्छन्- ‘आजको परिप्रेक्ष्यमा हेर्ने हो भने गीतहरू अर्थपूर्ण र मर्मस्पर्शी छन्-अधिकांश पाठक वर्गले मन पराउने खालका । यद्यपि भावपक्ष अति नै नै मर्मस्पर्शी छन् । तथापि कलापक्षले भने भावपक्षलाई पछ्याएर पनि कता कता कला पक्ष भावपक्षभन्दा एक फड्को पछि परेझैं मलाई लागेको छ’ ।

टिका भट्टराईका तीनवटा गीतसङ्ग्रहका आधारमा उनका गीतहरूको वर्गीकरण गर्न सकिन्छ- १. जातीय प्रेम, 2. देशप्रेम- मातृभूमि प्रेम, ३. प्रेमका विभिन्न भाव, ४. जीवन दर्शन, ५. सौन्दर्य वर्णन ६. मानवताप्रेम, ७ नैतिक चेतना, ८. आदर्शवादी चेतना, ९. विविध भाव । यद्यपि उनका गीतहरूलाई यी विषयवस्तुमा वर्गीकरण गर्नु पनि अन्याय हुन्छ किनभने उनका विषयवस्तु विविध छन् । कुनै गीतमा रक्सीले गरेको बरबादी, कतै आत्मपरिचय छ । कतै जातीय संस्कृति प्रेम, मानवता प्रेम, विश्वचेतना आदि पनि पाइन्छन् ।

यद्यपि उनी मूलतः जातीय चेतनाका गीतकार हुन् । उनका अधिकांश गीतहरूमा जातीय प्रेम, हाम्रो वीरता, हाम्रो देशप्रेम, हाम्रो मानसिकतामा भारत र असमलाई नै मातृभूमि मान्ने र हाम्रो पनि समानाधिकार हुनुपर्छ भन्ने चेतना पाइन्छ । हाम्रो गोर्खा गौरव गाथा छ । हाम्रो वीरता, शूरता, साहसलाई गौरवका विषय बनाएका छन् । हामी जिउँदोपनलाई यसरी स्वर दिएका छन्-

कहिल्यै ननिभ्ने आगो हो यो गोर्खाली जाति

बज्रले पनि छेंड्ने सक्तैन वीर जातिको छाती

हत्केलाले छेकेर सूर्यको किरण छेकिन्न

गोर्खाले कोरेको भाग्यलाई कसैले मेटेर मेटिन्न

हिमालको चुचुरो अँगाल्ने पहिले वीर जाति ।

हामीले हाम्रो स्वाभिमानलाई बचाएर राख्नुपर्छ,

हाम्रो शिरलाई ढल्न दिनुहुँदैन भन्ने आह्वान गरेका छन्-

आफ्नो स्वाभिमान  बेचेर बाँच्नु पनि के बाँच्नु

अस्तित्व आफ्नो लुटाएर हाँस्नु पनि के हाँस्नु

दिनमा हजारपल्ट मरेर बाँच्नुभन्दा बाँच्नुभन्दा

एकैपल्ट मर्नुपर्छ स्वाभिमानको बोकेर झण्डा

इज्जत इमान र धर्म बेचेर बाँच्नेहरू

जन्मै नलिउन् यिनले बाँझो होस् संसार बरु ।

  उनी गोर्खालीले आफ्नो संस्कृति, साजबाज, कला बिर्सिनु हुँदैन । देश निर्माणमा गोर्खाको ठुलो योगदान छ, त्यसलाई देशले सम्मान गर्नु पर्दछ, हामीलाई पनि हाम्रो टाउको लुकाउने एउटा जग्गा चाहिन्छ भन्ने चेतना पाइन्छ । हामीले हाम्रो भाषा संस्कृति जोगाएर राख्नु पर्छ भन्ने केही गीतमा पाइन्छन् ।

नेपाली हामी वीर छौं कार्यपथमा स्थिर छौं

प्राणको बाजी राखेर अस्तित्व आफ्नो राख्दछौं..

यसैगरी उनका गीतमा देशप्रेम प्रशस्त मात्रामा पाइन्छ । गीतमा देशभक्तिको भावना पनि प्रशस्त मात्रामा पाइन्छ । उनी एकापट्टि गोर्खाली जातीय प्रेमी छन् भने अर्कापट्टि देशभक्त पनि उत्तिकै छन् । उनको नसा नसामा भारतीय रगत बगेको भावना व्यक्त गर्छन् । भारत हाम्रो देश हो जहाँ हामी बस्छौं । यसलाई नै हाम्रो मातृभूमि मानेका छौं । देशप्रति हाम्रो कर्तव्य बन्छ । हामी यो देशका प्रहरी हौं, यही देशमा हाम्रा पुर्खा रगत पसिना खर्चेर यहीँ सिञ्चन गरेका छन् । तर पनि हामीलाई देशले समुचित न्याय दिन सकेको छैन । हामीले आफ्नो घर बनाउन कम्मर कस्नु परेको छ भन्ने भावना व्यक्त गरिएको पाइन्छ ।

उनको पछिल्लो गीतसङ्ग्रह ‘हर्ष विषादका मुनाहरू’ मा भने उनको गीत लेखन विकसित भएको पाइन्छ । यस सङ्ग्रहमा रहेका गीतहरू भने अघिल्ला दुईवटा गीतसङ्ग्रहका तुलनामा केही परिपक्व र अझै गेयात्मक रहेका छन् । यसमा उनको गीति लेखनको विषयवस्तु, सौन्दर्य, अझै वृद्धि भएको छ । यसमा कतै आत्मविलयन, आत्ममन्थन, आत्म प्रक्षालन, जीवनदर्शनका भावना पनि पाइन्छ । उनी मानसिक स्वच्छताको भाव यसरी व्यक्त गर्छन्-

कहिलेकाँही मलाई पनि रुन मन लाग्छ

मनको सबै कालो-मैलो धुन मन लाग्छ

हाँस्न मात्र जीवन होइन, रुन पनि जीवन हो

सुख मात्र जीवन होइन, दुःख पनि जीवन हो ।

उनका गीतमा जीवनका उतारचढाउ, अनुभव र अनुभूतिलाई उतार्ने काम गरेका छन् । कतै धरती प्रेम छ, कतै प्रतिभा महिमा छ । यहाँ भानुभक्त आचार्य, दुर्गा मल्ल, भुपेन हाजरिका र होमबहादुर छेत्रीमाथि गीत रचिएको छ । कतै संस्थागान पाइन्छ । उनी जीवनका विभिन्न पक्ष लेख्छन्-

यो जीवनमा कस्तो कस्तो भोग्नु परेको

न त कहिल्यै देख्ला न त कहिलै गरेको ।

……….   …..   ………   …….

धोकै धोकामा जीवन कति दिनसम्म राख्नु

धरतीको बोझ भएर कति दिनसम्म बाँच्नु?

उनलाई अहिलेको समयमा राजनीति बिग्रेको छ । समाजमा धर्म, माया ममता र निष्ठा नाश भएको छ-

विशृङ्खल भयो मान्छेको संसार यहाँ राक्षसले राज गर्‍यो

माया र ममता, धर्म र निष्ठा यहाँ सम्पूर्ण नाश गर्‍यो ।

यसमा मायाका विभिन्न रङ्ग पाइन्छन् । कतै माया पाउन गाह्रो परेको, कतै मायाले धोका दिएको छ । ‘मनथ्न हृदय क्रन्दन अभिव्यक्ति’ गीतसङ्ग्रहमा जीवनलाई लिएर नै केही गीत रचिएका छन् । जस्तै- ‘जीवनको सङ्घर्षमा’, ‘यो जीवन कस्तो कस्तो’, ‘धोकै धोकामा जीवन’, ‘जिन्दगीलाई मैले सागर ठानेथें’, ‘जीवनको सङ्घर्षमा’, ‘तिमीबिना मेरो जीवन’, ‘मेरो जीवनको फूल’, ‘छलक्यो जिन्दगानी’, ‘जब जिन्दगी नै’ । त्यसरी नै ‘यहाँका ढुङ्गा र माटोले भन्छन्’- मा रहेका केही गीतमध्ये ‘यो मेरो जीवन’, ‘नीरस…नीरसताको जीवन’, ‘जीवन यस्तो भयो’, ‘तिम्रो जीवन फूलोस्’, ‘जिन्दगी दुई दिनको’, ‘हर्ष विषादका मुनाहरू’ मा पनि ‘जिन्दगीले कोल्टे’, ‘जीवनको अन्तिम क्षण’, ‘तिम्रो जीवनमा’, ‘मेरो जीवन’ आदि हुन् ।

उनलाई उमेरले जति ढाक्दै जान्छ, उनीभित्रको जीवनबोध उति टड्कारो हुँदै गएको पाइन्छ । यसमा असमप्रतिको आफ्नो अनुरागलाई पनि दुई चार गीतमा उतारेका छन् । यी तीनवटा गीतसङ्ग्रहमा रहेका गीतहरू अध्ययन गर्दा कतिपय गीत करले, कतिपय गीत आवश्यकताले कतिपय गीत अवसरले, कतिपय गीत लहडले लेखेका प्रतीत हुन्छ । गीतहरूमा उनी कतै सुधारवादी, नीतिवादी, आदर्शवादी, भाषाप्रेमी, देशप्रेमी, प्रकृतिप्रेमी परिलक्षित हुन्छन् । यसका साथै यसमा कतै राजनैतिक नेताहरूलाई व्यङ्ग्य, राजनैतिक अवस्थाको सुधारको चाहना, सौन्दर्यप्रेमी बनेका छन् ।

टिका भट्टराईका गीतमा गेयात्मकता, शाब्दिक कोमलता, संक्षिप्तता, विषयगत एकोन्मुखता, भावनाकुल शाब्दिक प्रयोग जस्ता पक्ष पाइन्छन् । गीतमा हुनुपर्ने सालाखाला गुण पाइन्छन् नै । उनका प्रायः गीतहरू सरल, सुबोध र लालित्यमय छन् । भावुकता, संवेदनको तीव्रता आदि गुण पनि पाइन्छन् । गीतका शब्दमा मितव्ययिता सरलता र सहजता पाइन्छ । यद्यपि उनी गीत लेखनमा कतिको सफल छन्, त्योबारे अध्ययन गर्नुपर्ने देखिन्छ । गीतमा हुनुपर्ने संवेदनशीलता, संरचनागत समानान्तरता, शब्द प्रयोगगत सचेतता, आदिमा भने उनी खरो उत्रिएका छैनन् । धेरैजसो गीतमा कसिला र सघन भाव उतार्न सकेका छैनन् ।

उनी गीत लेखनमा लहड, रहर र कर्म दुवै कारणले उत्रिएका हुन् जस्तो लाग्छ । उनी भाषाप्रेम, साहित्यप्रेम, जाति प्रेम, देशप्रेम आदिका लहडले पनि गीत लेखनमा आएका हुन् । विक्रमवीर थापाको माथिको मन्तव्यअनुसार उनका गीतमा गेयात्मकता र शिल्प पक्षभन्दा भावपक्षको प्रबलता पाइन्छ । यद्यपि गीत लेख्दै जाँदा भाव र शिल्प दुवै स्वतः मिल्दै आएका हुन् भन्ने लाग्छ । उनले गीतका सिद्धान्त र नियम आदि अध्ययन नगरी स्वच्छन्द रूपमा आफुलाई लागेका कुरालाई गीतका रूपमा उतारेका हुन् भन्ने लाग्छ । यी तीनै गीतसङ्ग्रहका गीतहरू पढ्दा हिज्जे विन्यास भने बिझाउँदो पाइन्छ । वर्णविन्यास, बर्तनी प्रयोग शब्दशय्या आदि भने कमजोरी देखियो । गीतकारले छाप्न हतार नगरीकन प्रत्येक गीतलाई पुनर्लेखन, हिज्जे सच्याउने र अझ राम्रोसँग प्रुफ हेरको भए यी गीतहरू अझै सुस्वादु बन्ने थिए ।