एकदिन अचानक भेट भयो पुतली सडकमा दिव्य दाइ, निकै हतारमा नै थिए, बाटोको छेउमा बाइक रोकेर कुरा गर्न थाले। दिव्य दाइले गम्भीर मुद्रामा  भने – शरद ! मेलै एउटा ठुलै काम गरिरहेको छु संगीतमा, तयार भए पछि सुन्न बोलाउला है, यो नेपाली संगीतको निम्ति कोसेढुङ्गा साबित हुनेछ ।

म सकारात्मक उत्तर दिएर बिदा भएँ । त्यो हाम्रो अन्तिम भेट थियो, एउटा संगीत अनुरागीको संगीतज्ञ सँगको भेट, अझे भनौँ न एउटा फ्यानको उनको आइडलसँगको भेट।

नेपाली संगीतलाई माया गर्नेको निम्ति ‘दिव्य खालिङ’ नयाँ नाम होइन, न त एकदमै पुरानो । दिव्य दाइको प्रवेश नेपाली संगीतमा त्यस बेला भयो जब अम्बर गुरुङ र नारायण गोपालको बोलचाल बन्द भएको वर्षौं भइसकेको थियो, नारायण गोपाल र गोपाल योञ्जनकाे मितज्यूको पनि साइनो टुटी सकेको थियो । नारायण गोपाल आफ्नै संगीतमा गीतहरू गाउन मस्त थिए, रेडियो नेपालबाट बहिष्कृत भएर । त्यही समय प्रवेश हुन्छ दिव्य दाइ नारायण गोपालको सांगीतिक जीवनमा । अनि जन्मन्छ कालजयी गीतहरू नारायण गोपाल-दिव्य खालिङको युगल  स्वर-गीत-संगीतमा वि.स. २०३८ सालतिर । त्यस बखत नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक थिए अनि गीतहरू रेकडिङ् हुने प्रबन्ध मिल्यो रत्न रेकर्डिङ संस्थानमा।  आठवटा गीत रेकर्ड  भयो यी दुईको सहकार्यमा । दिव्य खालिङकै शब्द र संगीतमा चारवटा गीत नारायण गोपालले गाए । ती गीतहरूले नारायण गोपाललाई पुनः श्रोतासँग जोडन मद्दत गरे । ती गीतहरू थिए-

–मायाको आधारमा सम्झौता नै हुन्छ

–प्रियसी यादहरू कोरिएको मुटु

–सधैँ नै म हाँसे तिमीलाई रुवाई

–विपना नभई बाँधिदिने मभित्रको मेरो सपना

अरू दुई गीतमा दिव्य खालिङको संगीत थियो–

–तिमीलाई भुल्दा म एक्लो परेँ

शब्द : कञ्चन पुडासैनी

–म त लालीगुराँस भएछु

वनभरि फुलिदिन्छु

शब्द : क्षेत्रप्रताप अधिकारी

आठ वटा गीत गाउने सम्झौता अनुसार दिव्य खालिङको संगीतमा छ वटा अनि  बाँकी दुई गीत शम्भुजीत बाँस्कोटाको संगीतमा रेकड भए। ती गीत थिए नीर शाहको- ‘पर्खिबसेँ आउँला भनी मेरो उठ्ने पालो’ र डा. विश्वम्भर प्याकुरेलको– ‘तिमीले भनेका सारा देव छोएर, किरिया खान कहाँ सक्छु र ?’।  नारायण गोपालको नयाँ संगीतकार र गीतकारसंगको पहिलो प्रयोग निकै सफल भयो । नयाँ पुस्ताको गीतकार र संगीतकारसँगको सहकार्यले नारायण गोपालको तेस्रो चरण सफल भयो अनि यसको मुख्य अभियन्ता दिव्य खालिङ पनि नेपाली संगीतमा अग्रगामी छलाङ लिए उनीसँगै ।

दिव्य दाइलाई धेरैले संगीतकारको रूप मात्रै चिने, थोरैले गीतकार र गायकको रूपमा ।  दिव्य दाइको  गीतकारिता उनको कुनै पनि दौंतरीको भन्दा कम थिएन । गीतमा प्रेम छ, भाव छ, भावना छ, जीवनका अनेक रङ्ग छ। उनको गीत काव्यमय छ, मिठो कविता जस्तो छ, मिठो सारङ्गीको धुन जस्तो छ । मलाई दिव्य दाइले लेखेको जति सुन्दा पनि धित नमर्ने गीत हो:

 

प्रेयसीका यादहरू कोरिएको मुटु

एकान्तमा आज यहाँ फुकाएर हेरेँ

पिरतीका घातहरू भरिएको मुटु

रसिएका दुई आँखालाई सुकाएर हेरेँ

जीवन यहाँ जताततै अङ्गालेको कथा जस्तै

यहाँ मुटु चारैतिर भङ्गालेको व्यथाजस्तो

आफ्नै पाइला आफ्नै बाटो सँगालेको जेथा जस्तै

सम्झनाका छायाहरू छातीभरि धुवाँ जस्तै

तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै

बास खोज्दै उडी हिँड्ने सिमलको भुवा जस्तै

नारायण गोपालको तेस्रो इनिङको यो एउटा सशक्त गीत हो । पहिलो इनिङ् थियो अम्बर गुरुङ र गोपाल योञ्जनसँग सहकार्य गर्नुअधि, दोस्रो उनीहरूसँगै सहकार्य गर्दै गीत गाउनु अनि तेस्रो थियो पछिल्ला पुस्ताका संगीतकार-दिव्य दाइ, दिपक जंगम, शम्भुजीत बासकोटा, चन्दन लोमजेलहरुको संगीतमा गीत गाउनु । तिनीहरू मध्येमा सबै भन्दा नजिक र सशक्त संगीतकार-गीतकार थिए नारायण गोपालका सोम दिव्य खालिङ । उनीहरूमा सोम( साथी) भनेर एकार्कालाई सम्बोधन गर्थे अपितु नारायण गोपाल दिव्य दाइ भन्दा उमेरमा निक्कै ठुला थिए । दिव्य दाइले जीवनमा निकै संघर्ष गरे दार्जिलिङमा र काठमाडौँमा । गोपाल योञ्जन, अम्बर गुरुङ, नातीकाजी, शिवशंकर आदिको निकै बोलबाला संगीतमा हुँदा नयाँ संगीतकार प्रस्टाउनु निकै कठिन थियो काठमाडौँमा । अझ आफ्नै गीतमा संगीत दिएर नारायण गोपाल जस्तो शब्दचयनमा  खुबै ख्याल राख्ने गायकलाई गीत गाउन लगाउनु त फलामको चिउरा चपाउनु जस्तै थि यो। गोपला योञ्जनको अनुपस्थितिमा रिक्त रहेको स्थान दिव्य दाइले पूरा गरिदिए नारायण गोपालको संगीतिक यात्रामा ।

मायाको आधारमा सम्झौता नै हुन्छ

लिनु पर्ने जे छ, दिनु पर्ने के छ

त्यो बराबर हुन्छ, अनुरोध हुन्छ

बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ

साट तिम्रा व्यथाहरू आत्मा नै साटिन्छ

जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ

जमिएका मायाभरि तिम्रो जीत हुन्छ

भत्किएका सपनाहरू मायाले जोडिन्छ

चुँडिएका आशाहरू फेरि नै सजिन्छ

खोल तिमी आज मुटुका ती बन्धन

तिम्रा सारा बोझहरू मायाले बिसाउँछ

 

वाह ! दिव्य दाइ ! कस्तो मिठो गीत । मनै छुने । वास्तवमा दिव्य दाइ गीतकारको स्वतन्त्र अस्तित्व नै उनलाई परिचित गराउन पर्याप्त छ । उनी संगीतमा नलागेको भए एक असल कवि त पक्कै हुने थिए । मेरो विचारमा उनको कवित्वको सिर्जनशीलतामा संगीत हाबी भए पनि उनी मूलतः कवि हृदयका गीतकार हुन् र यो हुनबाट उनलाई कसैले रोकेन, छेकेन ।

सानै उमेरमा शारीरिक दुर्बलताले अरू क्रियाकलापमा बाधा पुराए पनि दिव्य दाइलाई संगीतमा लाग्न केहीले छेकेनन् । बुबा स्यामसन खालिङले किनिदिएको हार्मोनियम उसको खेलौना मात्र होइन जीवन धान्ने एउटा साधन नै बने । क्रिश्चियन परिवारमा जन्मेर हुर्केको दिव्य खालिङ १२ वर्षको उमेरमा नै दार्जिलिङ सन्त कोलोस्वस चर्चमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन थाले र आफ्नो प्रतिभालाई निखार्न थाले । २१ वर्षको लक्का जवान हुँदा त उनी हार्मोनियम यस्तो बजाउँथे रे मानौँ हारमोनियमले दिव्य दाइलाई बजाए जस्तो ।

दिव्य दाइको प्रथम  नेपाल प्रवेश त चर्चको निम्ति भयो सन् १९७३ केही वर्षको लागि, त्यस पछि नाटकको लागि, संगीतको लागि अनि प्रेमको लागि ।  पहिलो प्रवेशमा गोदावरीको सन्त जेभियर्समा अंग्रेजी र संगीतको प्रशिक्षक, ग्रेससँग सान्निध्य, प्रेम । पुनः दार्जिलिङ प्रवेश, माउन्ट हरमन स्कुलमा संगीत प्रशिक्षण । अन्तिम पल्टको प्रवेशमा दिव्य दाइको दिव्यता प्राप्त गरे संगीतले अनि प्रेमले । ग्रेस सादेम्बा ग्रेस खालिङमा परिवर्तन भइसकेका थिए । दुई पुत्र लाभ भए । शालीन, सौम्य, भद्र- सबैको सङ्गम दिव्य दाइ ।  दिव्य दाइ ज्ञानोदय स्कुल देखि नेपाल प्रहरीको सांस्कृतिक कार्यक्रमसम्म व्यस्त रहे नेपाल बसाइमा।

मेरो सानो संसार तिमीलाई अटेन

मेरो चोखो माया तिमीलाई पुगेन

मेरो घाम र जुन तिमीलाई रुचेन

मायाको उजेलोलाई मैले रात भनिन

तिम्ले जति दिन चाह्यौ मैले कम भनिन

तिमी सत्यलाई चाहे गल्ती ठान

दुइटा मन जलाउने म आफैँलाई ठान्छु

टिठाएर दिए जस्तो माया नै चाहिन

तिम्लाई दिनुपर्ने भनी बाचा नै राखिन

तिमी अरूलाई चाहे जे सुनाऊ

मनको व्यथा म आफैँलाई सुनाउँछु

विवाह भएपछि दिव्य दाइको गीत र संगीतमा नारायण गोपालले गाएको यो मार्मिक गीत असान्दर्भिक भए अब । रोमान्टिक दिव्य दाइ जीवन धान्ने कला पनि सिक्न बाध्य भए । पुतली सडकको एउटा लजमा ‘रातको प्रथम प्रहर’को कलाकार टोलिबसेका थिए, त्यही भेट्न आए नारायण गोपाल दिव्य दाइलाई । यो भेट नेपाली सुगम संगीतको निम्ति वरदान  साबित भयो, इतिहास साक्षी छ । दिव्य दाइले धेरै गायक-गायिका र गीतकारहरुलाई माथि उठाए तर दिव्य दाइलाई माथि उठाउने कमै भए । उनी पनि आफ्ना काका प्रसिद्ध कवि-लेखक-अनुवादक- शिक्षा सेवक दानियल(दान) खालिङ जस्तै जीवनभर नेपालमा अनागरिक भएर बाँचे नेपाली संगीतमा पूर्ण समर्पणको साथ । दुवैको इहलीला भारतको सिलगडीमा समाप्त भयो । दिव्य दाइ ५४ वर्षमा देहत्याग गरे २५ जुन २००६ मा भने काका दान खालिङ ९१ वर्षमा सन २०१६ मृत्यु वरण गरे ।

दिव्य दाइको संगीतमा दिपक खरेल, अरुण थापा,किरण प्रधान, पेमा लामा, उदय सोताङ देखि मिरा राणा, विमला राई, कुन्ती मोक्तान सम्म गाइन। पछिल्लो पुस्ताका गायिका ऐन्जेला सिंहले उनले संगीत गरेको बाल गीतहरू गाएको संस्मरण गर्नु हुन्छ । त्यो क्यासेटको विमोचनमा म पनि सहभागी भएको थिएँ ।

मेरो हिमाललाई देखेजति सलाम

मेरो पहाड भेटेजति सलाम

चियाबारीको डिलै डिलमा चिया टिप्ने ठिटीलाई

सल्लेरीको बने बीचमा दाउरा खोज्ने ठिटालाई

तरुनी र तन्नेरीलाई बुढापाखा सबैलाई

मेरो माया छ है हजुर, म त बाँचेसम्मलाई

दिव्य खालिङको शब्द र संगीतमा पेमा लामाले गाउनु भएको उपरोक्त गीतमा म सधैँ मोहित भएँ । दार्जिलिङको जनजीवनलाई समेटेर लेखेको यो गीत दिव्य दाइको अब्बल श्रेणीको गीतमा पर्छ, माया पिरती भन्दा पर, यथार्थ जीवनको चित्रण ।

पहाडजस्तो बनिदेऊ तिमी

कहिले पनि नझुक्ने

तर सबैको बाटामा पत्थर बनी

ठोक्कर नदेऊ तिमी

हिमालजस्तो बनिदेऊ तिमी

कहिले पनि नलुक्ने

तर सबको आँखामा हिउँ बनी

बिलाइदेऊ तिमी

यो गीत दावा ग्लामो दिदीले आकाशवाणी खरसाङमा दिव्य दाइको गीत र संगीतमा गाए पनि पछि यो गीत कुन्ती मोक्तानको स्वरमा रेडियो नेपालमा रेकडिङ भयो ।  यो गीतले कुन्ती मोक्तानलाई थप उचाइ दिएको छ ।

दिव्य दाइलाई समय समयमा उनको शुभचिन्तकहरू विभिन्न कार्यक्रम गरी सम्झने गर्छन् । उनको श्रीमती ग्रेस खालिङ र लेखक प्रकाश सायमीको सम्पादनमा ‘दिव्य सङ्गीतकार-दिव्य खालिङ’ शीर्षकमा स्मृतिग्रन्थ प्रकाशित भएको छ । यस ग्रन्थमा दिव्य दाइ माथि उनको जीवनमा विभिन्न चरणमा जोडिएका व्यक्तित्वहरूको लेखहरू समावेश गरेको छ भने उनले रचे र संगीत दिएको गीतहरू पनि राखिएको छ ।

उनको बारेमा यताउति फाट्टफुट्ट लेखहरू समय समयमा निस्कने गर्छ । उनको जन्मभूमि र कर्मभूमिमा केही कार्यक्रमहरू गरेर उनलाई सम्झने काम त भइरहन्छ कहिलेकाहीँ तर ठोस कार्य भने केही हुन सकेको छैन । उनको योगदान बारेमा  एउटा पुस्तक नै लेख्न सक्छ र लेख्नु पनि पर्छ तर यसको पहल हुन जरुरी पनि छ ।

भारतमा धेरै गीतकार, संगीतकार र गायकहरूको जीवनी र योगदानलाई मध्यनजर राखेर कैयन पुस्तक लेखेका छन् । अरू कुराहरूमा जस्तै यस विषयमा पनि हामीले गम्भीरताका साथ उनीहरूको अनुसरण गर्नु पर्ने आवश्यक छ । दिव्य दाइ जस्तै नाती काजी, तारा देवि, अरुणा लामा, बटुकृष्ण, उस्ताद साइँला, अम्बर गुरुङ, गोपाल योञ्जन, शरण प्रधान आदिको बारेमा पुस्तकहरू निकाल्न अनिवार्य छ ताकि आउँदो पिँढीले हाम्रो गर्वलो संगीत इतिहास जान्न सकोस् ।