मैले गीता खत्रीलाई पढेको र सुनेको लगभग १४ वर्ष भयो । सन् २०१० ताका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव गीता खत्री रहँदा मैले उनका बारेमा सुनेकी थिएँ र पत्रपत्रिकामा पढेकी थिएँ । आमा हुन् आमा खण्डकाव्य २०१४ कृति पढेपछि गीता खत्रीलाई कृतिकारका रूपमा चिनेकी हुँ । तर यो कृतिभन्दा अगाडि नै उनका अरू कृतिहरू बजारमा आइसकेका रहेछन् भन्ने कुरा थाहा भयो । अन्तर्राष्ट्रिय स्तरको संस्था अनेसासको कार्यकारी पद त्यो पनि महासचिव जस्तो सक्रिय अनि जबाफदेही पदमा रहने महिला भनेपछि म यसै पनि हृदय ओच्छ्याएर सम्मान गरिरहन्थेँ मनमनै । प्रत्यक्ष भेट्ने ठूलो रहर थियो ।

समयक्रमसँगै सन् २०१२ को निर्वाचनबाट भारी मतको अन्तरमा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएपछि झन् भेटेर ससम्मान बधाई दिने रहर थियो । अनेसास अध्यक्ष गीता खत्री नेपाल आएको अवसर पारेर धेरैवटा संस्थाले एकै थलोमा सम्मान कार्यक्रम राख्दा सगरमाथा प्रतिभा प्रतिष्ठानको अध्यक्षका हैसियतले मैले पनि सम्मानपत्र अर्पण गर्ने अवसर पाएको थिएँ । तर म त्यति हेलमेल भइनसकेको हुनाले हुनसक्छ त्यति नजिकबाट चिनजान गर्न नपाई एउटा औपचारिकता निर्वाह गरेजस्तो मात्रै भेट भयो त्यो मेरा लागि ।

तर पनि एउटी महिलाको त्यो समयमा त्यो उचाइ देखेर यसै प्रफुल्ल थिएँ । गर्वबोध गरिरहन्थेँ । हरेक महिला यस्तै निर्भीक भएर संसार पुगुन् र संसार लेखुन् लागिरहन्थ्यो मलाई । धेरैवटा संस्थाले त्यसरी सम्मान गरेको देखेपछि खत्रीका बारेमा अझै गहिरिएर अध्ययन गर्ने कौतूहल लाग्यो र उनका बारेमा व्यक्तिबाट पनि सुन्न थालेँ, कृति पनि पढ्न थालेँ । उनका बारेमा अब खोतल्दै जाँदा पो थाहा भयो कि गीता खत्री साँच्चै महान् नेपाली नारी हुन् ।

गीता खत्रीको बाल्यकाल अनि यौवनकालको युग भनेको छोरी बुहारीलाई दोस्रो दर्जामा राख्ने युग नै थियो । उनी त्यस युगकी भाग्यमानी महिला हुन् जो कम्सेकम् स्कूल पढ्न पाउँथिन् । स्कूलको समयमा भएका साहित्यिक कार्यक्रमहरूमा सहभागी भएर नै उनले साहित्यको रस थाहा पाएकी हुन् । त्यही परिवेशलाई अहिले पनि उनी साहित्यिक गुरुकूल भन्ने गर्छिन् । आफ्नो जिन्दगी नै कसरी चलाउने भन्ने योजना बुन्न नसक्ने उमेरमा अर्काको घर परिवार अनि नाता कुटुम्बा जस्ता सम्बन्ध चलाउनुपर्ने महिलाको बाध्यात्मक परिस्थितिले गीता खत्रीलाई पनि अछुतो राखेन ।

जन्मघरको घर मात्र होइन, घरदेखि थरसम्म फेरेर अर्काको घरलाई आफ्नो बनाउँदै साहित्यमा लाग्नु सानो चुनौती पक्कै थिएन । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ गीता खत्रीले हरेक चुनौतीलाई अवसरको रूपमा लिएर साहित्यलाई साथी बनाइरहिन् । उनको कर्मघर पनि सकारात्मक सोचको सुन्दर बगैंचा थियो र कम्सेकम् उनले आफ्ना रहरहरूलाई अरू महिलाले जस्तो अकालमै दागबत्ती दिनुपरेन ।

गीता खत्री विवाहपश्चात् जीवन साथीको कामको सिलसिलामा पेरिस पुगिन् । विश्वकै सुन्दर भनिने पेरिसमा पुगेर पनि उनले अरू केही महिलाले जस्तो ज्यानका कपडा छोट्याएर त्यसैको फेसनमा आफूलाई हराउन दिइनन्, बरु उनलाई आफ्नै नेपाली आफन्त अनि नेपाली भाषा-साहित्यले लखेटिरह्यो ।

‘नेपाली भाषा पढ्नका लागि नै दूतावासमा गएर एक महिना अघिको पुराना गोरखापत्र पढेर मनको प्यास मेटाउँथे,’ भन्ने उनको भनाइ सुन्दा मेरा आँखा रसाएका थिए । पेरिसमा बस्दाबस्दै नेपालीहरू जमघट भएको स्थानमा गीत, कविता वाचन गर्थिन् । ती नै गीत र कविताहरू सङ्कलन गरेर ‘सिर्जना यात्रामा गीता’ कवितासंग्रह र ‘सम्झनाका तरेली’ गीतीसंग्रह प्रकाशित भएका छन् ।

त्यही समय लेखिएको उनको दोहोरी गीत ‘छमछम नाचि देउन’ले त मूर्ख मान्छे नामक नेपाली चलचित्रमा स्थान पाएको सन्दर्भ समेत मैले सुनेको छु । त्यति बेलादेखि नै उनको हातको कलमले कथाहरू पनि लेख्न थालेको थियो भन्ने कुरा वि.सं. २०७४ मा साझा प्रकाशनले प्रकाशन गरेको ‘अन्त्यहीन’ कथासंग्रह पढेपछि थाहा भएको हो ।

गीता खत्री पेरिसका सुन्दर स्थानहरू देख्थिन् अनि आफ्नो देश पनि यस्तै भइदिए हुन्थ्यो भन्ने कल्पना गर्थिन् । पेरिसको बसाइपछि उनी तिब्बत पुगिन् । तिब्बत उनलाई उराठ लाग्दो चिसो मरुभूमि लाग्यो । चिसोमा कठ्याङ्ग्रिँदै पनि उनले एउटा गीतिनाटक लेखेको तर पाण्डुलिपि नै हराएको दुखेसो पोखेकी छन् ।

घुम्दै फिर्दै सन् १९९७ मा गीता खत्री विश्वकै विकसित भनिएको देश अमेरिका पुगिन् । अमेरिकाको न्यूयोर्क पुगेपछि पनि उन्लाई चुप लागेर बस्न मनले मानेन । नेपाली भाषा साहित्यको प्रेमले पछ्याइरह्यो । आफ्नै आमाबाबाको नामबाट एउटा साहित्यिक संस्था खोलेर त्यही संस्थामार्फत नेपाली भाषा-साहित्यको क्षेत्रमा योगदान गरौँ भन्ने सोचेर उनले साथीभाइ आफन्तसँग सल्लाह सुझाव लिने क्रममा डा. दुबसु क्षेत्रीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग जोडिदिएको कुरो उनी बताउँछिन् ।

त्यसपछि लगतै पुनम सुवेदीको अध्यक्षतामा अनेसास न्यूयोर्क च्याप्टरको उपाध्यक्षमा गीता खत्री रहेर संस्था अगाडि बढाउन थालेको कुरा अनेसासको इतिहास पढ्दा थाहा हुन्छ । त्यसपछि लगतै भएको न्यूयोर्क च्याप्टरको पुनर्गठनमा उनी अध्यक्ष बन्न सफल भइन् । अमेरिकामा छरिएर रहेका आम नेपालीलाई एकत्रित गर्ने अनि नेपाली भाषा साहित्यको संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले उनको अध्यक्षतामा रहेको अनेसास न्यूयोर्क च्याप्टरले भानु जयन्ती र देवकोटा जयन्ती जस्ता कार्यक्रमहरू अनि विभिन्न समयमा साहित्यिक भेला गरिरहन्थ्यो । यी कामहरूमा गीता खत्रीको नै बढी सक्रियता रहन्थ्यो भन्ने कुरा मैले धेरैको मुखबाट सुनेको छु ।

गीता खत्री अत्यन्तै संस्थागत अनि नियमसङ्गत तरिकाले आफू चल्न मन पराउने मान्छे भन्ने कुरा मलाई कतिबेला अवगत भयो भने उनकै पहलमा अनेसास न्यूयोर्क च्याप्टरलाई राज्यको नीतिभित्र रहेर दर्ता गराइन् । मैले सुनेअनुसार अनेसासको धेरैवटा च्याप्टरमध्ये विधिवत रूपमा राज्यमा दर्ता भएको पहिलो च्याप्टर न्यूयोर्क च्याप्टर नै थियो र यो गीता खत्रीकै नेतृत्वमा भएको थियो ।

उनको नेतृत्वमा रहेको कार्यकाल (२००५–२००९) मा आयोजना भएका कार्यक्रमहरूमा पैसा तिरेर पनि बस्ने सिट नपाएर उभिएर समेत सहभागी हुन्थे भन्ने सुन्दा पनि उनको तत्कालीन नेतृत्वको क्षमता मूल्याङ्कन गर्न सकिन्छ । न्यूयोर्कमा बसेर नेपाली भाषा साहित्यको क्षेत्रमा के कसरी योगदान पुर्याउन सकिन्छ भन्ने चासोका साथै दोस्रो पुस्तामा नेपाली भाषा हस्तान्तरण गर्ने उद्देश्य राखेर गीता खत्रीले आफ्नै अपार्टमेन्टमा नेपाली मूलका बच्चाहरू बटुलरे नेपाली भाषाको कक्षा सञ्चालन गरेको कार्यले पनि उनको आफ्नो देश र भाषाप्रेमप्रति कति चिन्ता रहेछ भन्ने बुझ्न सकिन्छ ।

अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष गीता खत्री रहेको बेला भएको साहित्यिक गतिविधिले उत्कृष्टता प्राप्त गरेको कुरा सबैतिरबाट मूल्याङ्कन भएपछि तत्कालीन केन्द्रीय अध्यक्ष एवम् बोर्ड अफ ट्रष्टिजको निर्णयअनुसार अनेसासको इतिहासमा नै पहिलो पटक न्यूयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अगस्ट १५,२००९ भव्यताका साथ सम्पन्न भयो । उक्त सम्मेलनको संयोजक गीता खत्रीले नै गरेकी थिइन् । यस्तै सक्रियताको सम्मान गर्दै अनेसासका आजीवन सदस्यहरूले गीता खत्रीलाई सन् २०१० मा केन्द्रीय महासचिव एवम् २०१२ मा अध्यक्ष निर्वाचित गराए । अनेसासको इतिहासमा निर्वाचित महिला अध्यक्षमा गीता खत्री नै पहिलो हुन् । उनी अध्यक्ष भइसकेपछि पनि सक्रियता कम भएन ।

उनको कार्यकालमा नै मार्च ८, ९ र १०, सन् २०१४ मा न्यूयोर्कमा प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सभ्य अनि भव्य रूपमा सम्पन्न भयो । प्रत्येक केन्द्रीय अध्यक्षको पालामा एउटा अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन फरक फरक देशमा सम्पन्न हुने गरेको छ, त्यो गीता खत्रीकै योजनामा बनेको कार्यक्रम हो भन्ने सुनेको छु मैले । नौ वटा नवरत्न पुरस्कार र अनेसास बालिका नवरत्न पुरस्कार जस्ता पुरस्कारको अवधारणा ल्याएर अनेसासमा समर्पित महिला लेखकहरूलाई प्रेरणा तथा ऊर्जा अनि सम्मान समर्पण गर्ने कामको थालनी पनि गीता खत्री अध्यक्ष भएको समयबाट नै हो । अनेसासको विधान समयसापेक्ष संशोधन गर्ने र संस्थालाई संस्थागत रूपमा सञ्चालन गर्ने अडिटका प्रक्रियाहरू अगाडि बढाउने क्रममा निकै असहज भएको कुरा उनी बताउँछिन् । यस्तै सङ्घर्ष गर्दा गर्दै सन् २०१८ को निर्वाचनबाट गीता खत्री एकै चोटि बिओटीको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भइन् ।

अनेसास बिओटी अध्यक्ष जस्तो गरिमामय पदमा पुगेपछि सन् २०२१ अगस्ट १४ मा विधान संशोधनको कार्य पनि पास भयो । गीता खत्रीले संस्था हाँक्दै गर्दा संस्थागत साहित्यिक कर्म पनि थुप्रै गरेकी छन् भन्ने कुरा यसरी प्रमाण पढ्न सकिन्छ । कसैको मानसम्मान गर्नु छ भने जिउँदो छँदै गरौँ भन्ने गीताको चाहना अनुरूप (१) डायस्पोराबाट श्री होमनाथ सुवेदीको नाउँमा अनेसास होमनाथ सुबेदी पुरस्कार एकहजार दुईसय डलरको (२) नेपालबाट शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नामबाट अनेसास सत्यमोहन जोशी पुरस्कार एकहजार दुईसय डलर र (३) राष्ट्रकवि श्री माधव घिमिरेको नाउँमा अनेसास माधव घिमिरे पुरस्कार दुईहजार डलरको (४) साथै अन्य २५० डलरका पुरस्कारहरूलाई एकहजार डलरको बन्यो । पन्ध्र सय डलरको अनेसास सर्वोत्कृष्ट पुरस्कारको राशि वृद्धि गरेर दुई हजार एक सय डलरको बन्यो ।

यस काममा कार्यसमितिका सबै साथीभाइले पूर्ण सहयोग गरेको कुरा गीता बताउँछिन् । उनको कार्यकालमा नै अनेसासमा ट्रष्टीहरूको संख्या बढाएर त्यसबाट आएको रकम बिओटीमा थपिएको तीनवटा नयाँ पुरस्कारहरूको निमित्त कोष खडा गरी उक्त कोषबाट प्राप्त आम्दानीले पुरस्कार वितरण सुचारु रूपले अगाडि बढाउने उद्देश्य राखेर पुरस्कार वितरणको लागि स्पन्सर खोजिरहनु नपर्ने गरी बिओटी सदस्यहरू २१ बाट १२१ पुर्याइएको छ । त्यसैगरी अनेसासको निमित्त एउटा घर खरिद गर्ने योजना थियो । तर, अझै घरको लागि आवश्यक रकम संकलन हुन सकेको छैन र त्यो कार्यमा अनेसास मुनाफारहित संस्था भएकोले केही टेक्निकल समस्याहरू पनि आइपरे । टेक्निकल समस्याको समाधान भएपछि आउने नयाँ अध्यक्ष तथा कार्यसमितिका साथीहरूले पक्कै पूरा गर्नु हुनेछ भन्ने विश्वास लिएको उनले बताएकी छन् ।

अर्को महत्त्वपूर्ण कुरा अनेसासमा संलग्न भई नेपाली भाषा साहित्यको श्रीवृद्धिका निमित्त लामो समयदेखि आ–आफ्नो बहुमूल्य समय तथा खर्चसमेत लगाएर पुर्‍याइरहनु भएको निरन्तर सेवाका निमित्त अग्रजहरूबाट सुरु हुने गरी लाइफ टाइम अचिभमेन्ट (जीवनभरिको सेवा) सम्मान प्रदान गर्ने प्रथाको थालनी पनि उनकै कार्यकालमा भएको कुरा पनि उनले बताएकी छन् । उनको सम्पादनमा भएका कृतिहरू यसप्रकार छन्:

१. अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन — १०१२

२. अनेक डायस्पोराका कवितासंग्रह — २०१२

३. अनेसास कथाकुसुम कथासंग्रह — २०१४

४. अनेसास गजलगंगा गजलसंग्रह — २०१४

५. अनेसास गीतमाला गीतसंग्रह — २०१४

६. प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन स्मारिका — २०१६

७. सिर्जनामा नारी कथा र निबन्धसंग्रह — २०१६

८. अनेसास ट्रन्टीज चिनारी — २०२२ ।

उपरोक्त संस्थागत कामका साथसाथै उनले आफ्ना कृतिहरू पनि यसरी सार्वजनिक गरेकी छन् ।

१. सिर्जनायात्रामा गीता — कविता, गीता र गजलसंग्रह — २००४

२. स्वीकृति एकल गीतहरूको सिडी अल्बम — २००६

३. सम्झानाका तरेली गीतिसंग्रह — २०१०

४. सपनाको धरहरा — कवितासंग्रह — २०११

५. त्रिबेणी ¬(संयुक्त¬) सी.डी. अलबम — २०१३

६. झोखाङदेखि मजाटलानसम्म नियात्रासंग्रह — २०१४

७. आमा हुन आमा खण्डकाव्य — २०१४

८. अमूल्य — एकल गीतहरूको सी.डी. अलबम — २०१६

९. दीप — एकल गीतको सि.डी. अलबम — २०१६

१०. मखमली — सी.डी. अलबम — २०१६

११. अन्त्यहीन इच्छा — कथासंग्रह — २०१७

१२. Seamless Desire (short stories) – 2019 (available in Amazon)

१३. प्रेम दिवस कथामा आधारित छोटो चलचित्र २०२० । (न्यूयोर्क तथा बोष्टनमा तीन शो भव्य रूपमा प्रदर्शन भइसकेको छ)

१५. यात्री एकल गीति सि.डी. अल्बम — २०१८

१६. उडेको आकाशः डुलेको धर्ती (नियात्रासंग्रह) — २०२१

१७. गीता खत्रीकै नाटकमा आधारित सपना अनेकअनेक गीति नाटकको प्रदर्शन (वि.सं. २०२१) सर्वनाम थिएटर करिब दुई महिना जति भव्यताका साथ प्रदर्शनी भएको थियो ।

१८. रोबोट जर्ज (उपन्यास) — २०२३

नेपाली साहित्याकाशमा यति धेरै साहित्यिक ताराहरू चम्काई सकेको हुनाले सो को मूल्याङ्कन भएर गीता खत्रीलाई यसरी सम्मान पनि मिलेको छ ।

सर्वदा वाङ्मय सम्मान — २०६४,

Best INLS Chapter President Award 2008, नारी साहित्य प्रतिष्ठान सम्मान २०६७,

सरस्वती संगीत निकेतन सम्मान २०६७,

अनेसास नेपाल च्याप्टर सम्मान २०६७,

महिला गीतकार सम्मान २०६९,

दायित्व वाङ्मय प्रतिष्ठान सम्मान २०६९,

गंगादेखि चौधरी स्मृति सम्मान २०७१,

विश्वनारी नेपाली साहित्य पदक २०१४,

विशेष नागरिक सम्मान २०७१,

भानु दुई शतवार्षिकी स्वर्णपदक २०७१,

सत्यमोहन जोशी शताब्दी पदक २०१६,

अनेसास भवन भट्ट विशिष्ट महिला साहित्य पुरस्कार २०१८,

डा. हर्षबहादुर बुढामगर स्मृति विशेष गौरव सम्मान २०७५,

नइ गशेणदुर्गा पुरस्कार २०७६,

रुकु कार्की सम्मान २०७९,

प्रतीक ढकाल नियात्रा सौरभ २०८०,

अनेसास डायस्पोरा नारीरत्न २०२३ ।

यसरी हेर्दा नेपाली एउटी महिला विश्वको धेरै वटा देश घुमिसकेको अनि घुम्दै गर्दा आफू एक्लै रमाउने अनि अरूलाई हाइफाई देखाउने होइन कि जुन देशमा पुग्यो त्यो देशको संस्कार, संस्कृति अनि विशेष गरेर त्यो देश कसरी विकास भयो त भन्ने सोधखोज सहितका साहित्यिक खुराकहरू पाठकसामु पस्किरहिन् । जहाँ राम्रो देख्छिन् उनलाई मेरो देश पनि यस्तै भइदिए हुन्थ्यो भन्ने चासो लाग्छ । उनका कतिपय यात्रा संस्मरणले पाठकलाई समेत त्यही ठाउँमा पुगेको अनुभूति गराउन सफल भएका छन् । विदेशको व्यस्त जीवनमा पनि त्यहाँको मेसिन जस्तो जिन्दगी बाँच्दै गर्दा समय उबारेर यसरी आफ्नो भाषा र साहित्यमा यति धेरै व्यक्तिगत एवम् संस्थागत योगदान गर्नु भनेको ठट्टाको विषय हुँदै होइन । हामी समग्र नेपाली महिलाहरूका लागि प्रेरणाको स्रोत हुन् गीता खत्री ।

अहिलेको गीता खत्री बन्दै गर्दासम्म उनले गरेका सङ्घर्ष, भोगेका पीडाहरू सुन्दा कहाली लाग्दा छन्, तर उनले हरेक चुनौतीलाई अवसरका रूपमा लिएर कार्यसम्पादन गरिरहिन् । काम गर्ने क्रममा असहयोगीहरूका कारण आँसु समेत झर्थ्यो, तर उनले आँसुलाई शक्तिमा बदलेर साहस बटुल्दै अगाडि बढिरहिन् र उनी आजकी गीता खत्री बन्न सफल भएकी हुन् ।

अब गीता खत्री एउटा व्यक्ति होइन सिङ्गो संस्था सरह ब्रान्डेड नाम बनिसकेको छ । मैले छोटो समय नजिकबाट नियाल्दा गीता खत्रीलाई यो स्थानमा पुर्याउन उनका जीवन साथी राम खत्रीको ठूलो योगदान रहेको जस्तो लाग्छ । केही गर्न खोज्ने महिलालाई आफ्नो जीवन साथीको सकारात्मक सोच र सहयोगले ठूलो महत्त्व राख्दछ । जीवन साथीको साथ पाएपछि संसार एकातिर आफू अर्कोतिर भए पनि कहिल्यै हार्नुपर्दैन, सधैं विजय प्राप्ति हुन्छ भन्ने एउटा प्रमाण पनि हो यो जोडी । सबैको जोडी यस्तै अनुकरणीय भइदिए कस्तो हुन्थ्यो होला भनेर म सोचिरहन्छु ।

वास्तवमा गीता खत्री बाहिरी व्यक्तित्व हेर्दा जति कडा देखिन्छिन् भित्री हृदय त्यति नै कोमल रहिछन् भन्ने कुरा उनले मञ्चबाट बोल्दै गर्दा हृदय पग्लिएर आँखाबाट अविरल बग्न थालेको दृश्यावलोकन गरेपछि मलाई अवगत भएको हो । जब आफ्नो देश, माटो, हावा, पानी, आफन्त छोडेर परदेशमा बस्नुपर्दाको विषय प्रसङ्ग बनेर आउँछ तब गीता खत्रीको बोल्दा बोल्दैको बोली टक्क रोकिन्छ र शब्दहरू आँखाबाट हाम्फाल्न थाल्छन् । यस्तो परिवेश मैले धेरै पटक नजिकबाट नियालेको छु । यसर्थ पनि म उनलाई मानव हृदयकी खानी भन्न मन पराउँछु ।

कतिपय मान्छे एउटै पदमा पटक पटक बसिरहन्छ । तर गीता खत्री एउटै पदमा दोहोर्याएर कहिल्यै पनि बस्न चाहिनन् । पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने उनको सोच महान् लाग्छ । आफैं मात्र पदमा बसिरहनुपर्छ भन्ने उनको मान्यता कहिल्यै रहेन । तर पनि आफ्नो जिन्दगी नेपाली भाषा, साहित्य, कला, प्रतिभातिर नै समर्पित गर्ने उद्देश्यअनुसार उनले श्री रामगीता वाङ्मय मन्दिर स्थापना गरेकी छन् । यो संस्थाबाट ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ र ‘अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार’ स्थापना गरेकी छन् । प्रत्येक जोर नेपाली वर्षमा प्रदान गरिने यी दुई पुरस्कारमा ५०-५० हजार नगद सहित ताम्रपत्र रहने कुरा छ ।

जसअनुसार यी दुई पुरस्कार २०८० का लागि क्रमशः राजेन्द्र विमलको कथा संग्रह ‘सरबरिया टोल’ र रङ्गकर्मी तथा कलाकार हरिहर शर्मा चयन भइसकेका छन् । मान्छेको मृत्युपश्चात् गरिने सम्मानभन्दा मान्छे ज्यूँदै रहँदा उसको कामको सम्मान गरिनु पर्ने गीताको महान् विचारअनुसार यो कर्मको थालनी भएको उनी बताउँछिन् । उनका अनुसार यही संस्थामार्फत धेरै ठूला ठूला अर्थपूर्ण कर्महरू गर्ने उनको योजना छ । उनको योजना, सपना तथा लक्ष्य सबै साकार भएको देख्न पाऊँ हार्दिक शुभकामना !