…ज्यू, यो अलिक फरक छ । चोइटा सामग्री छन् यसमा । मुक्त लेखन हो । आफैंले भाव–श्रृङ्खला जोडेर अर्थ निकाल्नु पर्छ र बिस्तारै पिङ खेलेर आनन्द लिनुपर्छ शर्तनामाबाट ।

ज्यू, ज्यू । मिश्रित विधामा छ । भाव अनुसार कथ्यले विधि पनि फेर्छ र विधा पनि । बालकको स्वभाव जस्तै छ यो । एकै छिनमा रुन्छ, एकै छिनमा हाँस्छ । भन्छन् नि– ‘क्षणे रुष्टा  क्षणे तुष्टा ।’ त्यस्तै छ । विज्ञ भनिने अज्ञलाई सम्झाउन अलिक कठिन पनि छ । ऊसँग भएको अविद्याले उसलाई ज्ञानबोध गर्न दिँदैन ।

…जटिल होइन । जडका हात पर्यो भने यो जटिल हो । अनुरागीका हातमा पर्यो भने जातक सम्मोहित हुन्छ । साहित्यको आस्वाद्यातालाई कुनै वस्तुसँग प्रत्यक्ष दाँज्न मिल्दैन कि भन्छु । आनन्दतत्व नै यसको सर्वोच्च उपलब्धि हो । त्यो आनन्द दीर्घकातक छुने खालको हुन्छ ।

…हो नि! दीन असहाय हुँदा सर्जकहरु वीरको आराधनामा लागे, आह्वान गरे, उसको पूजा गरे । आश्रय मागे । त्यस्तो वेला यही उचित थियो । केही पार नलागेपछि ईश्वरको शरणमा पुगे र आश्रय मागे । ‘त्वं शरणं’ भन्न थाले । प्रजापति, नरपति, दलपति वा गुटपति नालायक भए पछि मनको छहारी अर्को भएन– ईशवन्दना नै चयनमा पर्यो । केही नभए पनि मनको सुरक्षा भो । मनलाई चौतारी भो । कंस, जरासन्धको युगमा मधुसूदन जन्मियो, दशाननको युगमा वनवासी वीर ! यो एक्लै एक्लै पनि पर्याप्त थियो– युगघातकलाई विश्राम दिन । अहिले स्वतन्त्र युवा संसदको खाँचो पर्यो । लेखक संसद कटिबद्ध भयो । अब के चाहिं भएन छ ? शर्तनामा, मननयोग्य छ ।

…ज्यू, साहित्य नै हो । परम्परागत हेराइमा त्यो साहित्य न ठहर्ला । मिल्ने–नमिल्ने विचार मिलाएर राज्यको भोग गरे झैं मनयोगले यसमा प्रवेश गर्नुपर्छ अनि साहित्यको स्वाद मिल्छ । यसमा रुपान्तरणको वास्तविकतालाई बडो ध्वन्यात्मक ढंगले प्रकट गरिएको छ ।

…ए! म पनि सत्ताको स्वादले लठ्ठिए झैं भएछु । ‘शर्तनामा’ हो पुस्तकको नाम । महावीर प्रेसको अन्तर्राष्ट्रिय प्रकाशनबाट यो पुस्तक निस्केको हो । यो पनि महावीर कन्तुरमा पाइन्छ । यो ३०० पृष्ठको पुस्तक हो, २००।– नेपाली रुपियाँ पर्छ । अनेक खण्डमा प्रकाशित छ । प्रत्येक खण्डको पृष्ठ र मूल्य समान छ ।

…भन्दैछु नि, माओवादी आततायीले श्री ५ को सरकारसँग माग गरेका ४० कुरा मध्ये पहिलो हो– सन् १९५० को असमान सन्धि लगायत सबै सम्झौता खारेज गर्ने भन्ने बेहोराको लिखत अनुसार माओवादीले यसबारे के गर्यो सत्तामा पुगेपछि? यसैमा पहिलो सर्ग केन्द्रित छ । पृथक् पृथक् भाव र पृथक् पृथक् विधिमा प्रस्तुत छ । परम्परा अनुसार ग्रन्थ दुर्जनको निन्दाबाट थालिएको छ र षड्यन्त्रकारी छ | चौताराको राष्ट्रद्रोही गतिविधिको कडा निन्दा गरिएको छ । प्रश्न छ शर्तनामा भग्न छ कि अनुमोदित ?

चीनका नेताको नाम जोडेर चलाएको राजनीतिक दल त हो, तर माओत्सेतुङ्लाई श्रेष्ठता दिन र तुच्छ ठान्न यो नाम छानिएको हो भन्ने बारे विशद मीमांसा छ । गठन एक ठाउँ, तालिम अर्का ठाउँ, पोशाक र हतियार कहाँको ? निर्देशन कसको र लक्ष्य कुन र प्राप्ति के आदि शीर्षकबाट छोपिएका कुरा ‘शर्तनामा’ले ऊजागर गरेको छ । यसबारे गाइने कविले सारङ्गीमा गायो पनि–

वनवन घुम्ने यो वनवासीअब घर गाउँ–वस्ती चारी

दानव जस्तै तुजुक निकाल्दैसबतिर पार्यो त्राहि ! त्राहि !!

यै त हो भन्छन् माओवादीकिन्तु म भन्दछु गान्धीवादी

तालिम उस्को सीमा पारीआफ्नै धर्ती पार्ने खाली

यै त हो भन्छन् माओवादी !

संविधान सभा, सदस्यहरुको छनोट औचित्य र विज्ञतामाथि गहन गन्थन छ । यो दल र मिलोमतोको प्रदर्शनकारी अधिकार पत्र । यसमा दलको रक्षा र मतदाताको उपेक्षाको चर्चा छ ।

अर्को हो,महानाटकको मञ्चन । यो सर्गमा चिन्तनको जात झरेको उल्लेख छ । प्रजातान्त्रिक विधान, चुनावी प्रक्रिया, हार–जीत अनि सत्ताभोगको लागि स्पर्धा जस्ता कुरामा प्रवेश गरेर आफ्नो जात घटाएको कडा मन्थन छ ।

अर्को सर्गमा राज्यकोष दोहन गर्ने र संपत्ति संचयन गर्ने आसक्तिले पुँजी पलायन गराउने निन्दनीय कदममा आलोचना छ । त्यस्तै कृषि उत्पादन घटेको, युवा शक्तिले देश छोडेको, युवतीले विना बाबुका सन्तान दिएको, उद्योग हराएको, व्यापारमा छल भएको, राज्यसीमा घटेको र सरकारी भूमि अपचलन गरेको विषयमा प्रशस्त छलफल छ । फेरि तीन सर्ग त आर्थिक घोटालामा छन् ।

‘शर्तनामा’ले हत्या, बलात्कार, छल र दलसेनाको अपचालन माथि तीर चलाएको छ । भैंसा दान लिने र हात्ती दान दिने विषयलाई सुमङ्गलको भावले हेरिएको छ । रुपान्तरणको सकारात्मक दृश्य देखाउँदै सुसज्जित युवतीलाई अवसन पार्ने र नारीलाई नर बनाउने वर्तमान विधानले उच्च महत्व पाएको उल्लेख छ । पुस्तक रोचक छ । तर लेखक हरायो भन्दैछन् ।

…भन्दैछु नि, मजाको कुरा के छ थाहा छ– इतिहासले नदेखेका र नभेटेका चित्र–कथा साहित्यको पृष्ठमा आएका छन् । अबको इतिहास साहित्यका पृष्ठबाट संचित–सुरक्षित हुन्छ ।

शैली ‘चिसो चूल्हो’ को जस्तो कतै, ‘मानव’ को जस्तो कतै, ‘नरसिंहअवतार’ को जस्तो कतै छ । ठाउँ–ठाउँमा ‘आदर्श राघव’ को पनि छनक आउँछ । किन्तु न्याय र विद्रोहमा भूपिको भाव, घिमिरेको आँसु र देवकोटाको गर्जना पनि भेटिन्छ ।

लाग्छ काव्यशास्त्रीय अध्ययन भित्र यसलाई समावेश गरियो भने नाटकको दर्जा र तह पनि थाह हुन्छ र यसबाट काव्य–विषयको बोधका साथै गन्धर्भ कविको व्युत्पत्ति बारे जानकारी पनि मिल्छ ।

यो कवि मुक्तभावले लेखोस् भन्छु । यदि लेखकको तेजोवध गर्ने हो र सिर्जना गर्न नसक्ने बनाउने हो भने पुरस्कार, सम्मान, खास्टो र खादा- मालाले पुरिदेऊ, पतन थालिन्छ । पूजा गर नाशिन्छ । योभन्दा गतिलो मन्दविष के हुन्छ र !

कति निर्भय छ हकि यो कुरा ।

पतन गराउनु छ – प्रशंसा गरे हुन्छ ।

उठाउनु छ – आलोचना गर, धार लाग्छ ।

‘शर्तनामा’को लेखकलाई जसरी लिए पनि हुन्छ ।

त प्रश्न छ- खादा-माला, खास्टो प्रशंसा र पुरस्कारबाट किन पुरिन चाहँदैन? फोटा र शोभाको प्रचार–प्रसारमा किन आउँदैन ऊ ।

बुझेँ, कुरुप भएर होला !

नत्र विज्ञापन र प्रदर्शनको युगमा पछि पर्नुको कारण ?!