बुढापाकाहरूले ठिक्कै भन्छन्, “जोगले नै हुन्छ भेट ।” केही दिनअगाडि त्यही जोग मलाई पनि जुर्‍यो ।

वीरगन्जको पीपरामठबारे ऐतिहासिक सोधखोज गर्ने क्रममा म एकाबिहान मित्र अरविन्द सिंहसँगै श्री नृसिंह माध्यमिक विद्यालयका अवकाशप्राप्त शिक्षक, नागा भरत दास श्री वैष्णवको दैलोमा पुगेको थिएँ । पहिरनको नाममा साधारण भगवा वस्त्र र ललाटमा चन्दनको टिका ।

एक छिनपछि बल्ल कुरो खुल्यो, ‘ओहो ! उहाँ त शताब्दी पुरुष हुनुहुन्छ । राणा प्रधानमन्त्री चन्द्रसम्सेर जबराको कालखण्डदेखि हालसम्मको राजनैतिक र सामाजिक परिवर्तनहरू आफ्नै आँखाले देखे र भोगेका छन् । तिनटा भुइँचालो भोगिसकेका छन् । शनैः शनैः हुर्किंदै गएको वीरगन्जलाई बडो नजिकबाट नियालेका छन् ।’

हामीले चर्चा मात्र झिकेका थियौं, उनले पुराना दिनहरूबारे बेलिबिस्तार लगाइहाले । झण्डै एक घण्टासम्म उनी धाराप्रवाह भनिरहे, हामी सुनिरह्यौं । उनको स्मरण शक्ति गज्जबको रहेछ ।

खासमा नागा भरतदास श्री वैष्णवको पुर्ख्यौली घर मटिहानी हो । ९० सालको भुइँचालोमा आफ्ना अभिभावक गुमाएपश्चात् उनी जलेश्वरनजिक रहेको मटिहानीस्थित मठका साधुहरूको संसर्गमा ठाउँठाउँ भौतारिंदै हिंड्थे । भनिन्छ, कुनै बेला मटिहानी मठ नेपालको सबैभन्दा ठूलो मठ हुने गर्थ्यो । साधुहरूका साथ घुम्दै उनी एक दिन वीरगन्जस्थित पिपरामठ आइपुगे । पिपरामठका महन्त रामकृष्ण दासको व्यक्तित्वबाट उनी प्रभावित भए । र, त्यही बस्न थाले ।

पुराना दिनहरू सम्झिँदै उनी घरी हिन्दी, घरी नेपालीमा भन्छन्, “महन्त रामकृष्ण दास महान् साधु थिए । उनी धर्मकर्मबाहेक सामाजिक रूपान्तरणको लागि केही न केही उद्यम गरिराख्थे । उनले आफ्नो महन्थकालमा पिपरामठको प्राङ्गणमा भव्य मन्दिर मात्र स्थापना गरेनन्, मन्दिर सँगसँगै गरिब जनताको लागि पुस्तकालय, विद्यालय र औषधालयको स्थापना पनि गरे । म आज जेजस्तो छु, उसको मेरा गुरु महन्त रामकृष्ण दासलाई नै जान्छ । उनकै प्रेरणाले म पीपरामठकै प्राङ्गणमा खोलिएको स्कुलमा पढ्न थाले । उनकै  आशीर्वादबाट म उच्च शिक्षाको लागि अयोध्या गएँ । उतै बसेर अयोध्याबाट संस्कृतमा उत्तरमध्यमा (आइ.ए.) शिक्षा सम्पन्न गरे । उनकै आदेश पाएर अयोध्याबाट फर्किएर आफ्नै स्कुलमा वि.स. २०१८ सालदेखि संस्कृत शिक्षकको रूपमा काम गर्न थाले । उनले नै मलाई बचत गर्ने काइदा सिकाए । बचत गरिएको पैसोलाई जेथाजमिन र खेतीपातीमा लगानी गर्ने काइदा पनि उनकै संरक्षण पाएर मैले सिकें ।”

पुराना दिनहरू सम्झिंदै उनी थप्छन्, “उति बेला मैले कम्ती दुःख पाएको होइन । तर गुरुजीबाट सिकेका मानवीय मूल्यमान्यता र धर्म परायणताको मामिलामा कहिल्यै सम्झौता गरिन । कसैको लहलहैमा लागिन । वि.स. २०५९ सालमा अवकाशप्राप्त नगरुन्जेलसम्म आफू पढेकै स्कुलमा शिक्षक भएर अनवरत रूपमा काम गरिरहे । आजीवन विवाह गर्दिन भनेर सोचेको थिए, तर शुभचिन्तकहरूको चर्को दबाब परेपछि वैवाहिक जीवन अङ्गीकार गर्न बाध्य भएँ । बिहे गरेपछि पिपरामठको बसाइँ छुट्यो । कलैया रोडमा रहेको जग्गामा सामान्य घर बनाई त्यही बस्न थाले । त्यही दुई जना छोराको जन्म भयो । तर त्यहाँ डाँकाहरूको उत्पात बढ्दै गएको भद्रभलाद्मीको सल्लाहमा लक्षमणवाका एक जना शुभचिन्तकको घरमा बसाई सरे । केही समयपश्चात् आफ्नै जग्गा खरिद गरेर घर बनाए । यतिखेर हामी त्यही जग्गामा अवस्थित घरमा बसेर गफ गर्दैछौं । यसै गरी आफ्नो परिवारको लालनपालन र गृहस्थ जीवनको गाडी अगाडी बढाइरहे । आजसम्म कसैको चित्त दुखाएन, कसैका साथ कुनै बेइमानी गरिएको छैन । जे चर्चेको छु, आफ्नो मिहिनेत र इमानदारीले चर्चेको छु ।”

“बाबुजी, अपने पहिलका साइकल कहिया किनले रहनी ह ?” मैले सोधेँ ।  “अँ, आवतजावत गर्न गाह्रो हुँदै जाँदा आफ्नो लागि पहिलो साइकल, हरक्युलिस नेपाली एग्यारह सय रुपैयाँमा खरिद गरेको थिए ।” पुराना कुरा सम्झिँदै उनले ट्र्याक्टरको कुरो पनि झिकेँ, “पिपरामठमै बस्दै गर्दाको कुरो हो, उति बेला पिपरामठको जग्गामा खेतीपाती गोरुले मात्र नभ्याउने भएपछि महन्त गुरुजीको आदेशमा आफै पटना पुगेर बेलायतमा बनेको मेश्शी, फरगुसन ट्र्याक्टर भारु पाँच हजारमा खरिद गरेर ल्याएको थिए ।”

आजको दिनमा उनका तिनटै छोरा आआफ्नो घरपरिवारका साथ सुखपूर्वक जीवनयापन गर्दै छन् । नातिनातिनीहरू मध्ये कोही डाक्टर छ भने कोही इन्जिनियर । कोही सरकारी जागिरमा छ भने कोही व्यापार पनि गर्दै छ । र, सबै जना सुखपूर्वक आआफ्नो जीवन व्यतीत गर्दै छन् । उनी हरेक चिन्ताफिक्रीबाट मुक्त छन् । स्वयम्को जीवन जीवन परमात्माको स्मरणमा समर्पित गरेका छन् । भेट्न आएकाहरूलाई सहृदय समय दिन्छन्, संस्कृत श्लोकका साथ आशीर्वाद प्रदान गर्छन् । र, जीवनमा जति सुकै कठिन क्षण आए पनि धैर्य गुमाउनु हुँदैन, बाटो बिराउनु हुँदैन भनेर सल्लाह दिन्छन् । परमात्माउपर विश्वास राख्नु, तिमी सही बाटोमा हिंडेका छौ भने तिमीलाई गन्तव्यसम्म पुग्नबाट कसैले रोक्न सक्दैन भनेर आफ्नै सफलताको कथा सुनाउँछन् । उनीसँग प्रज्ञाको भण्डार छ, सुन्ने मान्छे हुनु पर्‍यो ।

बात मार्ने क्रममा राणाकालीन समयमा आफ्ना गुरुजीसँगै तिन पटक पैदल काठमाडौँ पुगेर आएको कथा उनले सुनाए । उति बेला काठमाडौँ आवतजावत गर्न आजजस्तै खुल्ला थिएन । हाल रहेको वीरगन्ज घण्टाघरनिर एक सरकारी अड्डा थियो । त्यहीबाट राहदानी लिनु पर्ने हुन्थ्यो । वीरगन्जबाट काठमाडौँ पुग्न मोटामोटी तिन दिन लाग्ने गर्थ्यो । वीरगन्जबाट रेल चढेर पहिला अमलेखगन्ज पुगिन्थ्यो, अमलेखगन्जबाट बस चढेर हेटौडा र हेटौडाबाट आर्को गाडी भिमफेदी पुगिन्थ्यो । भिमफेदीबाट उनीहरू पैदल यात्रा सुरु हुन्थ्यो । शिवारात्रीको अवसरमा काठमाडौँ पुग्ने साधुहरूको समुचित बस्ने-खाने व्यवस्था राणा सरकारले नै मिलाउँथे । हलुवा पुरीको निःशुल्क वितरण व्यवस्था त बाटोघाटोमा पनि गरिएको हुन्थ्यो । उति बेला कसैलाई खाने इच्छा नभए पनि वितरण गर्नेहरू अलि जोरबल लगाएर पनि खुवाउने प्रयास गर्थे ।

कानले कम सुन्ने भए पनि उनी बोल्दा जिब्रो एक प्रतिशत पनि लरबराउँदैन, उनको एकएक शब्दको उच्चारण प्रस्ट सुन्न सक्ने खालको हुन्छ । उनी थप्छन्, “उति बेला शिवारात्रीको अवसर काठमाडौँ प्रवेश गरेका साधुहरूलाई यथेष्ट मात्रामा सिद्रा र उपहार दिने चलन थियो । तर शिवारात्री सकिएपछि साधुहरूलाई काठमाण्डौँमा बस्ने अनुमति थिएन । उति बेला काठमाडौँ छिर्ने साधुहरूको गन्ती मिलाउन थानकोटका पुलिस मकैको गेडा प्रयोग गर्थे । प्रत्येक प्रवेशसँगै उनीहरू एउटा भाँडोमा गेडा थप्दै जान्थे । साधुहरू फर्किने बेलामा समेत प्रत्येक बहिर्गमनसँगै भाँडोबाट गेडा झिक्दै गर्थे । कथम्कदाचित भाँडोमा मकैका गेडा बाँकी छन् भने उनीहरू असिनपसिन हुँदै नफर्किएको साधुहरूको खोजमा लाग्थे । जे होस्, काठमाडौँ भित्रिएका साधुहरू चन्द्रागिरी डाँडा नकाटुन्जेलसम्म उनीहरूलाई तनाव नै रहन्थ्यो ।

एक पटक शिवारात्रीमा आएका साधुहरूमध्ये तिन जना साधु काठमाडौँबाट फर्किन मानेनन् । ती साधु अहिले रत्नपार्क भएको ठाउँमा धुनी रमाएर बसे । उति बेला त्यो ठाउँमा घना जङ्गल हुने गर्थ्यो । सो जङ्गलमा सतिसालका बडे बडे रुखहरू हुन गर्थे । उनीहरू त्यही रुखको ओत लिएर बसेका थिए । पुलिसले जति फकाउँदा पनि ठाउँ छोड्न मानेनन् । पुलिसलाई पर्‍यो आपत् । तत्कालीन राणा सरकारसम्म कुरो पुग्यो । ती साधु वास्तवमै साधु हुन् अथवा कुनै सत्रुशक्तिले पठाएका सुराकी हुन् कि भनेर सरकारलाई शङ्का भयो । तैपनि धार्मिक आस्थाको कुरो थियो, कुनै किसिमको शारीरिक बल प्रयोग नगर्नु भनेर सरकारबाट आदेश भयो । तिनटै साधुको आन्द्राभुँडी थाहा पाउन राणा सरकारले गुप्तचर खटायो ।

केही दिनपश्चात् राणा सरकारसमक्ष गुप्तचरले प्रतिवेदन प्रस्तुत गर्यो, “तिनटै साधुमध्ये कोही पनि सुराकी छैनन् । उनीहरू धर्मपरायण साधु नै हुन् । उनीहरूलाई काठमाडौँको हावापानी र प्राकृतिक सौन्दर्य राम्रो लागेर मात्र यहाँ बस्न खोजेका हुन् । यति कुरो थाहा भएपछि राणा सरकारबाट स्थानीय हाकिममार्फत ती साधुहरूको लागि तराईतिर तिनटा मठको लागि जग्गा जोहो गराउने आदेश भयो । साथै उनीहरू आआफ्नो मठमा आआफ्नो मान्यता अनुसार मन्दिरको स्थापना, धर्मकर्म र ध्यानसाधना गर्न खोज्दा नगद र जिन्सीबाट सघाउने समेत आदेश जारी भयो । सरकारबाट यस्तो प्रस्ताव आएपछि तिनटै साधु काठमाडौँ (उति बेलाको नेपाल) छोड्न तैयार भए । भनिन्छ, पर्सा जिल्लामा भएका बलुवा कट्टी मठ, महुअन मठ र बिरञ्चीबरवा मठको इतिहास ती तिनटै साधुबाट जोडिएको छ ।

पिपरामठको इतिहासबारे उनले पनि अनेक रोचक कथाहरू सुनाए । धाराप्रवाह चलिराखेको उनको कुरो सुनिराखूँ जस्तो भएको थियो । तर हामीलाई आआफ्नो रोटीरोजीको काममा फर्किनु पनि पर्ने थियो । उनको आशीर्वाद थापेर हामी उताबाट फर्क्यौं । बाटोभरि कुरो गरिराख्यौं, “नागा भरत दास श्री वैष्णव आफैमा जिउँदा इतिहास हुन् । साथै, इमानदारिता, अनुशासन र पराक्रमको संयोग रह्यो भने मान्छेले जे पनि गर्न सक्छ, सोको साक्षात् उदाहरण पनि हुन् ।  आजको नैराश्यतापूर्ण वातावरणबाट जेलिएका युवाहरूको लागि प्रेरणाका श्रोत त हुने नै भए । यो भेटमा उनका थुप्रै पुराना कुराहरू सुन्न छुटाएका छौ, कुनै बेला उनीलाई पुनः पुग्नु पर्ला । सायद, पुनः पुनः पुग्नु पर्ला । बल्ल, उहाँको संस्मरणको एक दामी सँगालो तैयार हुनेछ ।”