मदनदासको बिरासत
मोती भुजेल
“हु हु हा हा हा हा …हु हु हा हा हा हा, वा अप्सरा हो कि ! को होला यिनी ? यिनलाई पटरानी बनाउन पाए त ! हु हु हा हा हा हा… हु हु हा हा हा हा… ए सुन्दरी ! तिमी को हौ ? तिम्रो रूप र रङ्गमा म ज्यादै मधमस्त भएँ, सुन्दरी तिमी स्वर्गकी अप्सरा हो ? को हो ? आऊ, म महिषासुर, मेरो पटरानी बन हु हु हा हा हा हा… ।”
यो हाँसो त्यो बेला रेडियोमा सुन्दा आङ नै सिरिङ्ग हुन्थ्यो । दशैंमा नवदुर्गाको नौ दिन महिषासुर राक्षसलाई देवी दुर्गा भवानीले वध गरी विजय प्राप्त गरेको नेपाली रेडियो नाटक सुनेको हो । दुर्गा भवानीले विजय प्राप्त गरेपछिको खुसीयालीमा विजया दशमी अर्थात् दशैं मनाउने चलन चलिआएको मानिन्छ । तिनै महिषासुर राक्षस बनेका हुन् मदनदास श्रेष्ठ रेडियो नाटकमा ।
अहिले पनि हेर्दा रातापिरा गाला, खाइलाग्दो ज्यान । उत्साह उस्तै, उस्तै सक्रियता पनि छ । नेपाली रेडियो नाटकका, रङ्गमञ्च, चलचित्रमा पर्याय जस्तै बनेको छ, उनको व्यक्तित्व । श्रेष्ठलाई रेडियो नाटकका प्रवर्द्धकता पनि मानिन्छ ।
७५ वर्षअघि असार १५ गते रुद्रमायाको कोखबाट दोलखामा जन्मिएका श्रेष्ठको रेडियो नाटक–यात्रा चलचित्रका दृश्यजस्तै लाग्छन् । त्यो बेला बिजुली बत्ती थिएन । बाटो थिएन । रेडियो सबैका घरमा थिएन । सहरका सूचना महिनौंपछि गाउँ पुग्थे । त्यसका बाबजुद पनि गाउँमा नाटक मञ्चन हुन्थ्यो । अग्रजले नाटक गर्थे । दोलखामा नेवारको बस्ती भएकोले इन्द्रजात्रा, लाखे नाच जस्ता विभिन्न पर्वहरू हुन्थ्यो । तिनै चाडपर्व बीच हुर्किए मदनदास ।
बुबा नारायणदास श्रेष्ठ काठमडौंमा सरकारी जागिरे थिए । त्यसैले बेलाबखत काठमाडौँ आइरहन्थे । दोलखामा राजधानीसँग सडक बाटो जोडिएको थिएन । एक साता पैदल हिँडेर काठमाडौं आइपुगेको स्मरण छ, उनीसँग ।
‘हिजो जस्तो लाग्छ । तर आज एकादेशको कथा भइसक्यो,’ उनले भने ।
मदनदासको बाल्यकाल दोलखाका वनजंगल र मेलापातमा बित्यो । २०२५ सालमा एसएलसी पास गरेपछि थप अध्ययन गर्न उनी काठमाडौं आए । काठमाडौं आएपछि बसन्त श्रेष्ठ, राधेश्याम प्रधान लगायत विभिन्न साथीहरूको संगतबाटै उनी नाटकतिर लागे ।
जोरपाटीमा रहेको कला केन्द्रका तत्कालीन अध्यक्ष कृष्णप्रसाद रिमाललाई श्रेष्ठले नाटकको आफ्नो गुरु मान्छन् । रिमाललाई भेटेपछि उनको नाटक यात्रा शुरु भएको बताउँछन् ।
कृष्णप्रसाद रिमालले ‘गहना’ नाटक मञ्चन गर्ने तयारी गर्दै थिए साथीहरूले ऊ पनि नाटक खेल्छ भनेर साथीहरूको सिफारिसमा उक्त नाटकमा अभिनय गर्न पाएको सम्झन्छन् मदनदास ।
नौ महिनाको अभ्यासपछि मञ्चन भएको थियो नाटक । उनले पैसा त पाएनन्, तर नाटक खेल्ने अवसर पाए, दर्शकबाट स्याबासी पाए र खुशी भए । उक्त नाटक राष्ट्रिय नाचघरमा मञ्चन भयो । त्यसपछि उनलाई नाटकप्रति मोह बढ्दै गयो । दर्शकले पनि मदनदासको अभिनय मन पराउन थाले ।
त्यतिबेला काठमाडौंका टोल टोलमा नाटक मञ्चन हुन्थ्यो । ‘रातभरि नाटक हेर्न गइन्थ्यो’, उनले भने ।
‘गहना’ पछि उनले थुप्रै नाटकमा अभिनय गर्ने मौका पाए । राम्रो अभिनयकै कारण उनलाई नाटक निर्देशक र दर्शकले रुचाए । उनको लोकप्रियता बढ्दै गयो । कामकै सिलसिलामा उनको श्यामदास श्रेष्ठसँग भेट भयो । श्यामदास रेडियोमा पहिलेदेखि नै सक्रिय थिए । उनकै सहयोगमा रेडियो प्रवेश गरे । र, क्रमशः रेडियो नाटकमा जमे ।
त्यो बेलाको कथा बेग्लै छ । नाटकको सामाजिक प्रतिष्ठा थिएन । घर परिवारको पनि यस क्षेत्रमा नलागोस् भन्ने चाहना थियो । काम नपाएकाहरूले गर्ने पेशाको रूपमा लिइन्थ्यो नाटकलाई । ‘कलाकारलाई पढ्न नसक्ने मान्छेले गर्ने काम भन्थे । ज्यादै चुनौतीपूर्ण थियो,’ उनले भने, ‘नाटक गर्छु भन्दा नाक खुम्च्याउँथे । बिग्रियो भन्थे । कसैले पत्याउँदैनथे ।’ नाटकै गरेको भनेर लामो समयसम्म बुबा नबोल्दा दुख लागेको सम्झन्छन् । यावत सकसबीच पनि रङ्गमञ्चबाट भागेनन्, उनी । निरन्तर कला क्षेत्रमा रमाइरहे ।
जब तत्कालीन राजा महेन्द्रले सर्जकलाई महत्त्व दिए । कलाकारितामा लागेकाको दिन फेरियो । हेर्ने आमसोच बदलियो । राजा महेन्द्रको पालामा गठित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागीर पाए । पहिलो तलब आमालाई दिए आमा खुशी भइन् आमाले त्यो खुशी बुबालाई सुनाए पनि बुबा खुशी हुन सकेनन् । बुबा चाहन्थे छोराले लोकसेवा दिवोस् यसो भन्सार तिर जागीर खावोस् तर मदनदास श्रेष्ठले नाटकै रोजे ।
नाटक देखाउन सम्पन्न रङ्गमञ्च थिएन । नाटकलाई आवश्यक पर्ने स्रोत साधन थिएन । त्यसका बाबजुद पनि नाटकमा काम गरिरहेको अनुभव छ, उनीसँग । ‘माइकमा बोल्नु पर्थ्यो । आवाज आएन भनेर दर्शक कराउँथे । आफ्नै खालको बाध्यता थियो त्यो बेला । यस्ता थुप्रै झमेला थियो,’ उनले भने ।
रङ्गमञ्चमा प्रत्यक्ष दर्शकसँग साक्षात्कार गर्नुपर्छ । कलाकारहरूको चरित्र र हाउभाउ जीवन्त देखिनुपर्छ । पात्रलाई आत्मसाथ गर्दै आफू को हो भन्ने बिर्सेर जीवन्त अभिनय गर्ने कलाकार हुन् मदनदास ।
श्रव्य नाटक थालनीको श्रय मदनदास नै हुन् भन्दा अतिशयोक्ति नरहला । श्रव्य नाटक लेखन सजिलो छैन । त्यसैले नेपालमा श्रव्य नाटक लेख्ने मान्छे पछिल्लो पुस्तामा छैनन् भन्दा पनि हुन्छ । रेडियोमा काम गर्न चुनौती थियो ।
अहिले जस्तो प्रविधि थिएन । नाटकको लागि आवश्यक पर्ने ध्वनी भेटिंदैन थियो । टेप रेकर्डर बोकेर जंगल कुद्नु पर्थ्यो । स्याल, कुकुर, चराचुरुङ्गीको आवाज रेकर्ड गर्न जंगलतिर जानुपर्ने । हावाहुरी, पानी बगेको ध्वनीका लागि खोला, डाँडातिर जानु पर्थ्यो । नाटक गर्न निकै गाह्रो हुन्थ्यो उनी सम्झन्छन् । अहिले प्रविधिको विकास भयो । इन्टरनेटले साथ दियो । अभावबीच पनि मदनदासले रेडियो नाटक निर्देशन गरे । उनले धारावाहिक रेडियो नाटक जन्माए । युवापुस्ताको लागि ‘गीति कथा’ बनाए । जुन निकै लोकप्रिय भयो । पहिले रेडियो नाटकमा वास्तविक आवाज दिइन्थ्यो । त्यो बेलाका वास्तविक आवाज अहिले सुन्न पाइँदैन । समय परिवर्तन भएसँगै रङ्गमञ्च र रेडियो नाटकले ठूलो फड्को मारेको छ ।
‘रेडियोमा बोल्न सजिलो छैन । अझ नाटकमा संवाद गर्न चुनौती छ । मेरो आवाज गड गिफ्ट हो, सायद । यो मानेमा आफूलाई भाग्यमानी ठान्छु । नाटकमा बोल्न आवाज नै चाहिन्छ,’ उनले भने, ‘निरन्तर अभ्यासले आवाजलाई निखरता ल्याउँछ । नाटकमा अवस्थाअनुसार बोल्ने क्षमता हुनुपर्छ ।’
करिब चार वर्षअघि कथा कथन शृङ्खला मार्फत अन्य स्रष्टाको कथा स्वर अभिनयका नायक मदनदासको स्वरमा केही शृङ्खला सुन्न पाइए पनि त्यसको निरन्तरता भने भएन ।
उनको बुझाइमा अहिले पनि रेडियोको आकर्षण घटेको छैन । दूरदराजमा बस्ने मानिसका लागि रेडियो नै सूचनाको स्रोत हो । टेलिभिजनले रेडियोलाई विस्थापित गर्यो भनिन्छ । तर यो गलत हो । गाउँमा रेडियो सुन्न कम भएको छैन । तर अहिले गतिलो नाटक नबनेकोप्रति उनलाई दुख लाग्छ । ‘मैले निर्माण गरेका सयौं नाटक थन्किएका छन् । त्यो बजाएका छैनन् रेडियोले । श्रोताका दबाबले मात्रै बजाउँछन् कहिलेकाहीं ।’
२०२७ सालतिर प्रज्ञा प्रतिष्ठानमा जागिर गर्दा प्रतिष्ठानकै नृत्य शाखामा कार्यरत नृत्याङ्गना रेनु श्रेष्ठसँग मदनदासको भेट भयो । करिब ८ वर्षको भेटघाटमा एकअर्कालाई राम्रो सँग बुझिसकेका थिए । परिवारको इच्छा विपरीत भए पनि दुईले आज भन्दा झण्डै ४५ वर्षअघि लगनगाँठो कसे । परिवारको माइलो सन्तान मदनदासको प्रगतिमा आमा खुशी थिइन् । पछि बुबाले पनि नाटकलाई र विवाहलाई मौन स्वीकृति भएपनि दिन करै लाग्यो ।
३ दर्जन भन्दा बढी नाटकमा अभिनय गरिसकेका मदनदास श्रेष्ठको जीवन नै नाटक हो र नाटक नै जीवन हो । १ सय बढी टेलिसिरियल, के घर के डेरा, पच्चिस वसन्त, तिलहरी, कन्यादान, युगदेखि युगसम्म लगायत २ दर्जन फिल्म खेलेका श्रेष्ठले टेलिफिल्म लेखन, निर्देशन गरिसकेका छन् । गोर्खा दक्षिण बाहु, उत्कृष्ट अभिनेता, नाट्य भुषण जस्ता दर्जनौं पुरस्कार बाट विभुसित एवम् पुरस्कृत भैसकेकाछन् ।
पाँच दशकदेखि कलाकारिता गर्दै आएका लोकप्रिय अभिनेता तथा रङ्गकर्मी मदनदास श्रेष्ठले गत वर्षको स्थानीय चुनावमा काठमाडौं महानगरपालिको मेयर पदका लागि उम्मेदवारी पनि दिएका थिए । ५७७० मत प्राप्त गरेका मदनदास श्रेष्ठको राजनीतिको हलो अहिले अड्को छ । तर समाज सेवामा उनी अहिले पनि निरन्तर लागिरहेका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय अध्यक्ष रहेर सरकारसँग ज्येष्ठ नागरिकको लागि उपयुक्त नीति, ऐन नियमको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयनको लागि वकालत गरिरहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।