
समय जान्छ, आउँछ, कसैलाई पर्खँदैन । छालहरु आउँछन् जान्छन्, कहिले फर्किँदैनन् । यो शाश्वत सत्य हो । यसलाई जसले जसरी व्याख्या गरे पनि कुरो उही हो र हुन्छ । पर्खिन र फर्किन नजान्ने स्वभाव नदीको पनि हुन्छ । वर्षको त कुरै भएन । जुनैको पनि अनुभूति एक दिन विशेष ढङ्गको हुन्छ । तर सम्झना भने वर्षले परिवर्तन नहुन्जेलसम्म बोकेर अगाडि बढाइरहेको हुन्छ । वर्षको घोडा भनेको बोली नफुट्दा कोठामा बाबुआमाको घोडा चढ्नुजस्तै हो । दुलही भएर उलिनकाठमा चढ्नुजस्तै हो ।
वर्षोत्सव एक दिनको लागि मात्र पक्कै होइन । ३६५ दिनमा एकदिनको मूल्य कत्ति न पो हुन्छ र ? सिङ्गो वर्षको प्रतिनिधित्व गराएर शुभकामनामय कागजका वर्षा हुन्छन् । औपचािरकताका भेल बग्छन् । मादकताको बाढी बग्छ । अक्षरहरुमा हुनसम्मका औपचारिक निकटता हुन्छन् । एउटा वर्षको अन्त्य र अर्को वर्षको उदयलाई अवसर मानिन्छ । शुभ र माङ्गलिक मानेर कामना गरिन्छ ।
अचम्म पनि लाग्छ कहिलेकहीँ, वर्ष नव भएकोमा मात्र किन खुसीको उन्माद प्रदर्शन गर्ने प्रचलन बनाएका होलान् ? पूणर्ता प्राप्त गरिसकेको सिङ्गो वर्षको मृत्युमा अलिकति शोक गर्ने प्रचलन किन नबनाएका होलान् ? स्वार्थी मान्छेका, स्वार्थी समाजका, स्वार्थी प्रचलनहरु मभित्रको तराजुमा आजसम्म सन्तुलन हुनसकेको छैन ।
कस्तो नरमाइलो । लासलाई कात्रो ओडाएर रङ्गिन बाजाहरुकासाथ विजयउत्सव मनाइने । यस्तो रगतको आहालमाथि देवीनाच नाच्न सिकेको छैन मैले । त्यसैले होला मेरा लागि वर्षका कागजी शुभकामनाहरु कहिल्यै सुपाच्य बन्नसकेका छैनन् । मेरा लागि सदैव भारीका तौल नै बन्ने गरेका छन् । म वर्षको मातले कहिल्यै मात्तिएको छैन र मात्तिने पनि छैन । जाबो कागजी औपचारिकताको केको रमरम । मनले हार्दिकताको कन्जुस्याईँ गर्नेहरु सुख, सुस्वास्थ, दीघार्यु र सफलताले भरिपूणर् शुभकामना पठाउँछन् । एक अँगालो आत्मीयता व्यक्त गर्न नसक्ने प्रणयवेदीहरु युगाैँसम्मको आदर्श बन्न खोजेझैंँ मीठा झन्कार गुनगुनाउँछन् । वर्षको शोक र सुखको दोभानमा स्नान गरेर मलाई कुनै पुण्यको प्रार्थना गर्ने मन छैन । म जे छु ठीकै छु ।
मन नै हो सबैभन्दा ठूलो । मन भए लाख पनि र साथ पनि । पुस माघमा लागेको पारिलो घामजस्तो मन भएपछि चिन्ता गर्नै पर्दैन । घामजस्तो मन र मनजस्तो घाम बनाउन सक्ने सामथ्र्य सबैमा नहुन पनि सक्छ तर निरन्तर लाग्नेका लागि अप्ठ्यारोको तातो लाग्न पाउँदैन ।
आफूसँग एकाकार गर्न मैले थुप्रै वसन्तका बिहानीलाई आँगन बनाएर रापिला र पारिला घामहरुलाई ओढेको छु । नत्र त मान्छे भनेका सबै एउटै ड्याङका मुलासरह न हुन्, दुःखमा पुगे आँखा बगाउने र सुखमा पुगे ओठ चलाइदिने । वर्षलाई नै हेर्ने हो भने समय छउन्जेल कसैले वास्ता नगरेको दिन हो । तर वर्षको अन्तिम अवस्थामा पुगेपछि सबैको हतारो सबैको चटारो । फुर्सदभरि तातो वमन गर्ने र हतारमा सुगन्ध प्रवाहित गरेर सौहार्दता प्रदर्शन गर्ने सिपालुहरु सदैव विजयका गीत गाउन खोज्दछन् र गाउँछन् पनि । कहिले सुन्ने गरी र कहिले नसुन्ने गरी ।
समय सन्दर्भ अनुकूल विज्ञापन गरेर बिक्री हुने परम्परागत मालामा सिउनुको अर्थ के ? खोइ अपनत्व ? आफ्नोपन लुकाएर परपरको परिचयमा गर्व गर्नु सर्वमान्य सिद्धान्तजस्तैं बनेको छ समाजको । अर्काको रङमा रङ्गिएपछि हरेक समूहमा आफूलाई फुकाउनैपर्ने हुन्छ । नत्र आफ्नै ड्याङका हौंँ भनेर कसले पो चिन्ला र ? यो रोग हो महामारी एड्सजस्तो । उन्मूलनार्थ लगानी गरेको भन्दा गुणनात्मक वृद्धि हुँदै जाने । सबैलाई ज्ञान भएकै कुरा हो राष्ट्रियता र एड्सको प्रकृति र प्रभाव मिल्दै गएको छ भन्ने ।
आधुनिक सभ्यता र २१ औंँ शताब्दीको मान्यताको नाउँमा कतै हाम्रा पाइताला नै पो डुबिसकेका छन् कि ? स्वेच्छाले अक्षर सिङ्गार्दैमा बैंँस फुराउन सकिंँदैन । आफ्नो भइनसकेको युवतीलाई दृष्टिकैद गरेर स्मृतिसँग बलात्कार गर्नु लघुतम सुखनाभूति हुन सक्ला र ?
क्षमा रहोस् वर्ष र नारीत्वलाई बझाएँ कि मैले ? स्वास्नीमान्छे स्वयम् एउटा कारागार हो । उनीहरुलाई कसैले थुन्नु पर्दैन । आफ्नो जेलभित्र आफैँ थुनिएका हुन्छन् । तर स्वास्नीमान्छेभित्र पस्ने थुप्रै बाटाहरु हुन्छन् । कुनै सीधा र कुनै बाङ्गा । बाङ्गो बाटोको कुरा अर्को हो । सीधा बाटो गएर मर्ममा नै पक्रिन सकियो भने उनीहरु आफूलाई सुख्खा हुने गरी पिउन दिन्छन् । आकाश छुन चरीले पखेटा फिजाएजस्तै उन्मुक्त भएर आकासिदिन्छन् । प्रकृतिजस्तै उदार र आकाशजस्तै महान् । कुरो स्वास्नीमान्छेको मात्र होइन । लोग्नेमानिस पनि त्यस्तै हुन् । हृदय खोलेर हार्दिक बन्न सकियो मने नहुने केही हुँदैन । नपाइने पनि केही हुँदैन । सबै मनका कुरा हुन्, मनका ।
कुरो जेसुकै होस्, मलाई प्रत्यक्षभन्दा साँझजस्तो अस्पष्ट मनपर्छ । आमाले रिसाएर थप्पड हानेको गालामा बैरीले जतिसुकै स्नेहले सुम्सुम्याए पनि थप्पडमा जतिको माया हुन सक्दैन । यति हो कि आमा र माया स्थायी भएर जन्मेका हुन्छन् भने दुःख र दृष्टहरु पाहुना मात्र बन्न सक्छन् । त्यसैले दुःख र समस्या टाढा रहुन्जेल सुखले सास फेर्न सकिँदैन तर जम्का भएपछि त्यो टरेरै छोड्छ । टरेपछि खुट्टामा बिझेको काँडा निकाल्दाजत्तिकै आनन्द हुन्छ । क्षणिक भावुकताले विपत्तिको सङ्घार उघारिने तथ्यमा ताजिएर बाँच्ने क्रमलाई सुरम्य बनाउन सकिँंदैन ।
अलिकति पानीमा औंँला डुबाएर सर्वाङ्ग शरीर चन्दन लेपनको महसुस गर्नु बुद्धिमता ठहरिँंदैन कहिल्यै । ढुङ्गामा टुसाएको मुटुसँग स्नेहको आशा गर्नुको के औचित्य ? भूकम्पसँग सिङ्गौरी खेल्न घरबाट निस्कन नचाहने पहलमानलाई कसको बलले पो सक्छ र ? अहिले भन्न खोजेको वर्षकै बारेमा मात्र हो । यसरी एकैदिनमा सिङ्गै वर्षलाई आफ्नो ग्रहण लगाउन खोज्नेहरुको जमातमा मेरो के बुत्ता चल्नु ? समूहमा बसेपछि सामूहिक विचारमा समर्पित गर्नु पर्नेहुन्छ । यो मेरो बाध्य स्वीकारोक्ति हो । भए पनि म कहिले तपाईंहरुसँग पौंँठाजोरी खेल्न सक्दिन । यो पनि हो मेरो बाध्यता ।
खोई ईश्वर ? आस्था र विश्वासमा छ भन्छन् । ईश्वरसँग शक्ति भए किन भावनामा प्रकट हुँदैनन् ? प्रेम, दया र शान्तिका लागि किन मौन छन् त ? हुन त अहिले ईश्वरको सङ्ख्यालाई मान्छेको सङ्ख्याले उछिनिसकेर पो हो कि ? दिन प्रतिदिन ईश्वरको ह्रास र मान्छे वृद्धि भइरहेको छ । इतिहासदेखि आजसम्म कुनै युद्ध र विश्वयुद्धमा शान्ति बन्न सकेका छैनन् ईश्वरहरु । प्लेग, एड्सहरुमा औषधी बन्न सकेका छैनन् । इथुपिया र सुडानका भोकमा भोजन बन्न सकेका छैनन् । त्यसैले ईश्वरको औचित्यमाथि प्रश्नचिन्ह लगाउनु अपराध बन्दैन कि ? कहिले कुनै विपत्तिमा उद्धारको मलजल गर्न नसक्ने ईश्वरहरुलाई सबैले किन यसरी नै बुझेका होलान् ? हाम्रो भने भ्रम पो हो कि ? चर्मचक्षुका मूर्तिहरु मात्र हाम्रा परिचयका ईश्वर बन्ने तर आफूभित्र भएको ईश्वरलाई चिन्न, चिनाउन नसक्ने नपाएर ।
समयलाई वार्षिक रुपमा नाघ्न सक्नु कुनेै पुरुषार्थको तक्मा भिर्नु होइन । तसर्थ एक्लो बनेर वृहस्पतिझैंँ झूठो प्रमाणित हुनुभन्दा मिले पनि नमिले पनि आँखा चिम्लेर समूहमा बाँध्नु बढी श्रेयस्कर ठहर्छ । हुन त प्रजातन्त्रमा अल्पमतको पनि कदर हुन्छ भन्छन् । त्यसैले बहुमतसँग आफ्नो मतले मेल खाएन भने पनि अभिव्यक्त गर्न भने सकिन्छ । झूठहरुको हूलमा पनि सत्यको एक्लो आवाज चिच्याउन सक्ने समयको परिभाषा हो यो । तर गतिलो प्रयोग भइनसकेकोले लेखिएका जतिसुकै सुन्दर वाक्यहरु पनि व्यावहारिक रुपमा पुरातन नै, वृहस्पतिकालीन नै छ ।
सुनेको छु प्रसूति हुने समयसम्म खेतमा हात खियाउन गएकी गाउँकी युवतीले खेतमा नै सन्तान जन्माइन् तर मृत । आफ्नो पहिलो सन्तान तुहेको समाचार सुन्नासाथ उनका श्रीमान्ले आफ्नै ठूलीआमालाई छप्काए । ठूलीआमा बोक्सी भएको भ्रम हुर्काएर राखेकोले उनले नै बच्चा मारेका हुन् भन्ने भ्रमको विश्वास भएकोले । यो खबर गतवर्षको मात्र हो, राजधानी भएकै जिल्लाको । यसरी आफ्नो गल्तीले आफ्नै नाश गरेर अरुको सर्वनाश गर्ने बुद्धिमा नियोजन गर्दै जान सकोस् आउँदो वर्षले ।
वर्षको शिरमाथि उक्लेर अनुनय गर्छु, अब उप्रान्तका शुभकामनाहरु आणविक हतियारविरुद्धको प्रेममय होस् ।
सौहार्दको खेतमा टुसाउने सबै निर्मल मानवतावादी बन्न सकोस् । विश्वमा शान्ति विस्तारका लागि, भ्रातृत्वका लागि, वर्षभरि नै शुभकामनाका लागि नयाँ वर्ष आइरहोस् । मलाई यही स्वादिलो लाग्छ सदा ।
आफ्नो गर्भलाई कहिल्यै भरिपूणर् बनाउन नचाहने युवतीहरुलाई मातृवात्सल्यको मोहले छुन सकोस् र आफ्नो व्यापारको क्षणिक लाभ र सुखको सपनाबाट ब्यूँझनलाई नयाँ वर्षले घचघच्याउन सकोस् ।
त्यस्तै नदोहोरियोस् विगतका मानव प्रतिकूल महिना, दिन र सिङ्गो वर्ष पनि । आउँदो वर्षले कोवैमा जस्तै भूकम्प अन्यत्र ननिम्त्याओस् । चट्गाउँको जस्तो सामुद्रिक आँधी अन्यत्र नभित्र्याओस् । चीनको कहालीलाग्दो भूकम्पलाई आउँदो वर्षले छेकबार लगाउन सकोस् । दिल्लीमा भएको दिवालीको अग्निकाण्डले पुनः विद्यालयका मुनाहरुको एउटै चिहान नजलाओस् ।
तालिवानी र अफगानीहरुको जस्तो युद्ध कहीँ नगराओस् ।
काजिकस्तानको जस्तो हवाइजहाज जुधाइ कहिल्यै दोस्रो नबनोस् ।
धर्मको नाममा भएको युद्धमा मारिएकाहरुको चिहानमा फूलका गुच्छा लगेर चढाउने सरायभोका बालबालिकाको सङ्ख्यामा ह्रास गराओस् नयाँ वर्षले । दुःखका छाप्राहरूमा सुखीको किरण सर्वत्र प्रवेश गर्न सकोस् ।
युद्धका फाँटहरुमा शान्तिका, मित्रताका हावा सधैँ बहिरहन सकोस् ।
सडक ओढेर सडक बाँच्नेहरु रात र दिनझैंँ निरन्तर बढिरहेका छन् । आगामी वर्षको जन्मदिनमा कागजको होली खेल्नुको सट्टा कामना गराैँ शुभ होस् भनी । दुःखी र गरिबहरुका सङ्ख्या नबढोस्, घटोस् बरु एकै भए पनि ।
आउनुस् हामी सबै हातेमालो गरी एकसाथ सार्थक नयाँ वर्ष मनाऔंँ वर्षको बुई चढेर ।
– ‘अर्थहीन अर्थहरू’बाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

