कुनै समय एउटा अग्लो कदको मान्छे दार्जिलिङमा हुने प्रायः जसो  सांस्कृतिक होस् वा साहित्यिक कार्यक्रम, उनको उपस्थिति सधैं अपेक्षित थियो । चिटिक्क परेको, फुर्तिलो, सधैँ कोट र पेन्टमा सुसज्जित खाइलाग्दो व्यक्तित्व । सायद यस्तै हुनपर्छ उनको बाहिरी स्वरूप मैले देख्दा । तर कहिले पनि भलाकुसारी गर्ने अवसर पाइनँ त्यस बखत । सायद त्यस बेला उनीसँग कुरा गर्ने हैसियत ममा थिएन होला ।

सन् १९९८ मा दिल्लीको भारतीय जन सञ्चार संस्थानमा भारतीय राजदूतावासको छात्रवृत्तिमा पत्रकारिता पढ्न गएँ, दशैंको मौका पारेर जवरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आदरणीय दाजु महेन्द्र पी लामाले दिवा भोजमा बोलाउनु भयो । अनि भेट भयो ती अग्ला कदको व्यक्तित्व त्यही जेएनयुको प्राध्यापक आवास गृहमा । सँगै भेट भयो धुर्व लामा- प्रसिद्ध गायक-संगीतकार उनको जेठो छोरा । सामान्य भलाकुसारी भयो । लाग्छ साहित्यको कुरा निकै कम भयो त्यस बखत । ती व्यक्तित्व थिए राम प्रसाद लामा तर सबैले चिन्थे आर.पी. लामाको नामबाट ।

विद्यार्थी जीवनमा अमृत बजार पत्रिका,  एसियन ऐज, द स्टेट्समैन जस्ता प्रसिद्ध अंग्रेजी पत्रिकाहरूमा उनको लेख प्रकाशित भएको देख्दा म लोभिन्थेँ, प्रभावित हुन्थेँ अनि सपना देख्थेँ म पनि कुनै दिन अंग्रेजीमा उनी जस्तै लेख्न सकौं । उनलाई सशरीर भेट्दा म पनि टुटेफुटे अंग्रेजी लेख्ने भइसकको थिएँ तर उनको गरिमामय लेखनको अगाडी यहाँ मेरो लेखनको चर्चा गर्ने उपयुक्त नहोला । सन् साठीको दशकदेखि अस्सीको दशकसम्म  आर.पी. सरको नेतृत्वदायी भूमिका रह्यो साहित्य र संस्कृतिमा ।

विशेष गरी साहित्य अकादमी, नेपाली साहित्य सम्मेलन, भारतीय ज्ञानपीठ, नेसनल बुक ट्रस्ट जस्ता संस्थाहरूमा विभिन्न भूमिकामा आसीन भएर साहित्य सेवा गरिरहे । यो नेपाली साहित्यको निम्ति ठुलो अवसर पनि थियो । जानेका बुझेका व्यक्तिले प्रतिनिधित्व गर्दा त्यसको असर पक्कै राम्रो हुन्छ । तर यसले गर्दा आर.पी. सरको साहित्यिक प्रतिभालाई केही समय ओझेलमा पारेको महसुस गरेँ । अनौपचारिक रूपमा भए पनि त्यस ताका (अहिले थाहा छैन) दार्जिलिङमा साहित्यकारहरूको अदृश्य रूपमा वर्गीकरण थियो । यसले गर्दा कोही साहित्यकारहरू निकै अगाडी देखिए भने कोही पछाडि । तर आर.पी. सर सधैँ मध्यममा पर्नुभयो । उनकै सिफारिसमा कैयनले साहित्य अकादमी पुरस्कार र अन्य पुरस्कार पाए होलान् तर आफैँले भने सन् १९९२ मात्र पाए, सेवा निवृत्त भएको तीन वर्षपछि ।

प्रायजसो सबै साहित्यकार जस्तै आर.पी. सरले पनि साहित्यमा प्रवेश कविताबाटै गरे । सन् १९५३ मा ‘अभिशाप होइन वरदान’ शीर्षक नामक कविता ‘गोर्खा’मा प्रकाशित गरेर । त्यही वर्ष ‘समाजमा नारी जातिको स्थान’ लेख कुन्तिदेवीद्वारा सम्पादन हुने नारी प्रधान पत्रिकामा छापियो । प्रबुद्ध लेखक जीवन लावरको आर.पी. लामा माथि लेखेको पुस्तकमा जानकारी दिए अनुसार आर.पी. सरको नेतृत्वमा सिहंमारीमा सन् १९५५ मा नवीन  छात्र संघ स्थापित भयो जसले समय समयमा साहित्य गोष्ठी गर्थे जसमा अगमसिंह गिरी, वीरविक्रम गुरुङ, हर्कबहादुर कुमाई, सावित्री सुन्दास, देवकुमारी थापा, ईश्वर वल्लभ, निलम प्रधान आदिले सहभागिता जनाउँथे ।

पढ्नमा लगनशील भएकोले नै होला आर.पी. सरले धेरै वर्षको अन्तराल पछि सन् १९८२ मा नेपालीमा एम.ए. गरे जबकि उनले सन् १९५८ मा नै बी.ए. पास गरिसकेका थिए । सन् १९५३ देखि विभिन्न तहमा जागिर खाँदै पश्चिम बंगाल सरकारको सूचना संस्कृति विभागबाट अधिकृतको रूपमा सेवा निवृत्त भए सन् १९८९ मा ।

साहित्यमा उल्लेखनीय काम गरेर चिरस्मरणीय कृतिहरू नेपाली साहित्यलाई दिए आर.पी. सरले । सरकारी दायित्वलाई आत्मसात् गर्दै लेखे ‘हाम्रो पञ्चायत’ नाटक सन् १९७२ मा । यो नाटकले ग्रामीण भेकमा शिक्षाको आवश्यकता र यसमा पञ्चायत व्यवस्थाको भूमिकालाई राम्ररी उजागर गरेको छन् । आ.पी. सरको समकालीन र अनुज पुस्ताले साहित्य अकादमी पुरस्कार पाएको निकै पछि मात्र सन् १९९३ मा ‘इन्द्रधनुष’ पुस्तक मार्फत उक्त पुरस्कार पाए । बुढेसकालमा मात्र यो पुरस्कार पाउने नियति तुलसी बहादुर छेत्री, इन्द्र सुन्दास, रामचन्द्र गिरी, पुष्पलाल उपाध्याय, नगेन्द्रमणि प्रधान, मणिप्रसाद राई लागतले धेरैले भोग्नु पर्‍यो ।

‘इन्द्रधनुष’को विवेचना गर्दै आ. पी. लामा अभिनन्दन स्मारिकामा डा. गौतम विश्वास लेख्छन्, “इन्द्रधनुष  नेपाली संस्कृतिको परिचयात्मक कृति मात्र नभएर लेखकको निजी जीवन बोधले सिर्जना गरेको नेपाली संस्कृतिका इन्द्रधनुषी वा बहुरङ्गी पक्षहरूको नमुना पनि हो । यसभित्र यसका उपादान रूपमा सामाजिक र सांस्कृतिक इतिहासका धारा निहित केही सर्वजनविदित चरिका मौलिक र संवेदनशील प्रस्तुति अनि तिनका समालोचनात्मक पुनर्निर्माण पनि छन् । यसबाहेक नेपाली लोककथा, लोकगीत, लोकनृत्यादि सम्बन्धमा रहेका लेखका चिन्तन-मननहरू यस ग्रन्थका मूलस्रोत वा आधारभूमि हुन् र विशेष आकर्षनीय पनि हुन् ।”

आ.पी सरको विशेषता हो नेपाली संस्कृतिको गहन अध्ययन गरी त्यस विषयमा टिप्पणी गर्नु । बोक्सी, सङ्गिनी नाच, लोकवार्ता आदि माथि लेखिएको निबन्ध यसको द्योतक हो । एउटा निबन्धमा आर.पी. सर लेख्छन्, “हाम्रो संस्कृतिले सबैमा आफ्नो प्रतिबिम्ब देख्छ । वेशभूषा, भाषा, बोली, नाच, मूर्तिकला तथा साहित्य मात्र होइन, यस संस्कृतिमा हाम्रो त्याग-तपस्याको भावना, आत्मचिन्तन, दया, मनन् आचार-विचार कला-कौशल इत्यादि सबै छन् ।”

नेपाली साहित्यको निकै कमजोर विधा हो जीवनी लेखन । लेख्न त लेखेका छन् तर विदेशी लेखक र व्यक्तित्वहरूको बारेमा धेरै, नेपाली साहित्यकार बारेमा नगण्य ।  सोह्र जना प्रतिभाहरूको जीवनीमा आधारित पुस्तक ‘कीर्तिस्तम्भ’  प्रकाशित गरे सन् १९८७ मा । यस्ता प्रतिभा परिचयले समाजलाई विशिष्ट योगदान दिने व्यक्तिहरूको कामलाई अमर बनाउने कार्यमा मद्दत पुराउँछ । लेखक जीवन लावरले पनि यस्तै कार्य गरेर दार्जिलिङका धेरै सामाजिक र साहित्यिक व्यक्तित्वहरूलाई उनीहरूको शेष पछि पनि नयाँ जीवन दान दिनु भएको यहाँ उल्लेख गर्दा अतिरञ्जित नहोला ।

अंग्रजी भाषामा सिद्धहस्त थिए भन्ने प्रमाण निर्माण प्रकाशनद्वारा प्रकाशित  Across the Teesta पुस्तक हो । नेपाली वाङ्मयको विभिन्न पाटोमा लेखिएको आर.पी. सरको अंग्रेजी लेखहरू सङ्कलन गरी अरू पुस्तकहरू पनि निकाल्न सके गैर-नेपाली पाठकले नेपाली संस्कृतिको गरिमामय इतिहास र विविधता बुझ्ने अवसर पाउने थियो । आर.पी. सरको योगदान अतुलनीय छ विशेष गरी नेपाली अमूर्त सांस्कृतिक सम्पदाको जगेर्ना र संवर्द्धनमा । बिर्सिएको संस्कृतिलाई मूलधारमा ल्याउने उनको प्रयासले भविष्यका सन्ततिलाई नेपाली वा गोर्खा हुनुमा गर्व अनुभव हुनेछ ।