महर्षि कश्यपको दक्षप्रजापतिका पुत्रीद्वय कद्रू र विनतासँग बिहा भएपछि उनीहरुकै इच्छानुसार कदू्रबाट एकहजार नागहरु जन्मिए, विनताबाट अपूर्व पराक्रमशाली दुई पक्षीराज जन्मिए : जेठा अरुण र कान्छा गरुड । कद्रूका सन्तान समस्त नागजाति काद्रवेय अनि विनताका सन्तानद्वय वैनतेयका नामले लोकविख्यात भए । यिनको भव्य आख्यान यस अघिको प्रकरणमा सम्पन्न भएको छ ।
कद्रूका सन्तानहरु एक हजार भएकाले ती सबैको नाम बताउनु अनावश्यक हुन्छ किनभने तिनको खासै चारित्रिक वैशिष्ट्य उल्लेखनीय छैन । तर केही प्रमुख नागहरुको नाम उल्लेख गर्नु अत्यन्त उपयोगी प्रतीत हुन्छ किनभने तिनको विशिष्ट चारित्रिकता र स्पृहणीय वैशिष्ट्य रहेको छ । जस्तै :
जेठा शेषनाग जसलाई अनन्त पनि भनिन्छ, माइला वासुकि जसलाई नागराज पनि भनिन्छ । अनि ऐरावत साइँला र तक्षक काइँला त्यसपछिका कर्कोटक, धनञ्जय, कालिय, मणिनाग, एलापत्र, नील, अनील, दधिमुख, आर्यक, शंख, नहुष, पद्म, धृतराष्ट्र्, कुमुद, कर्दम आदि ।
प्रायः यी सबै नागजातिका सर्पहरु आमागोता गएका थिए । दुष्ट स्वभावका, क्रोधी, आरिसे, विषवर्षी अनि घमण्डी । उच्चैःश्रवा घोडाको पुच्छर बन्न नमानेकाले आमा कद्रूले नै रीसको आवेगमा यिनीहरुलाई शाप दिएकी थिइन् : जनमेजयको यज्ञमा तिमीहरु जलेर मरीजाओ– भनेर । स्वयं लोकविधाता ब्रह्माले पनि सर्पजातिको दुष्टतालाई देखेर कद्रूको शापलाई अनुमोदन गर्नुभएको थियो ।
….
तर, यी सबैका जेठा दाजु शेषनाग ज्ञानी थिए । आफ्नी आमा कद्रूको इष्र्यालु र क्रोधी स्वभाव अनि भाइहरुको छुल्याइँले आजीत भएपछि उनी ती सबैलाई चटक्क छोडेर वनतिर लागे । उनी केवल वायुपान गरेर, गन्धमादन पर्वतमा गएर दिव्य बदरिकाश्रम क्षेत्रको तपोवनमा संयमपूर्वक कठोर तपस्या गर्न लागे । लामो समय यसरी बितेपछि स्वयं लोकविधाता ब्रह्माले देख्नुभयो : शिरमा जटा, शरीरमा केवल वल्कलवस्त्र, मुनिवृत्ति र अविचल धैर्यका साथ तपोनुष्ठान गरिरहेका शेषनागलाई ।
ब्रह्मा उनका छेउमा आउनुभयो र सोध्नुभयो :
बाबू, तिमी किन यो घोर तपस्या गरिरहेका छौ ? तिम्रो मनमा के कामना छ ? भन, म त्यो पूरा गदिदिन्छु ।
शेषले भने :
हे ब्रह्मन्, मेरा सबै सहोदर भाइहरु मन्दबुद्धि छन् , आपसमै परस्पर द्वेष गर्दछन्, मलाई तिनीहरुसँग बस्नै मन छैन प्रभो ! अनि, मेरी आमा कद्रूले स्वयं आफ्नै छोराहरुलाई डढेर मर भनेर सरापेकी छिन्, उनी आफ्नै सन्तानहरुसँग पनि डाह गर्दछिन् । उता मेरा सौतेनी भाइहरु अरुण र गरुड अत्यन्त बलवान् भइकन पनि भलाद्मी छन्, आकाशमा विचरण गर्दछन्, तर तिनीहरुसँग पनि मेरा भाइहरु द्वेष गर्दछन् । यो सबै देखेर मेरो मन यति खिन्न भएको छ कि मलाई यस धरतीमा बाँच्न पनि मन छैन । बरु तपस्या गरेर आत्मविसर्जन गरेँ भने अर्को जन्ममा त कुनै पुण्यात्माको घरमा जन्म लिएर केही सत्कार्य गर्न सकूँला, यही सोचेर म यो तपोवनमा यसरी बसेको छु प्रभो !
ब्रह्माले भन्नुभयो :
शेष, मलाई यो सब थाहा छ, तिम्रा भाइहरुको कुचेष्टा र दुष्टता सबै थाहा छ । आमाले शाप दिइहाली, त्यसकारण तिमीहरुमाथि महान् भय उपस्थित भएको छ । तर, पीर नगर । यसको परिहार कसरी गर्ने भन्ने बारेमा मैले व्यवस्था मिलाइसकेको छु । तिम्रा सबै भाइहरुका निम्ति तिमीले चिन्ता गर्नपदैन । त्यसैले तिमी आफ्ना बारेमा सोच, तिम्रो अभीष्ट के हो ? मसँग माग । तिमी ज्ञानी छौ, तिमीप्रति मेरो विशेष प्रेम रहेको छ । भन, के चाहन्छौ ?
शेषले भने :
मलाई अरु केही चाहिँदैन , बस् यति नै कृपा राख्नुहोला कि मेरो बुद्धि सदा धर्म, मनोनिग्रह र तपस्यामा नै लागिरहोस् ।
ब्रह्मा परमप्रसन्न हुनुभयो र तथास्तु भन्नुभयो । अनि फेरि भन्नुभयो :
यतिले मात्र भएन । त्यसो भए मैले भनेको मान्छौ भने – मेरो एउटा काम गरिदेऊ है त । कुरो के भने– पर्वत, वन, सागर, ग्राम, विहार र नगरहरु सहितको यो समग्र पृथिवी प्रायः हल्लिरहन्छ , बेला बेला धरखराइरहन्छ, अबदेखि तिमी यसलाई रामरी धारण गरेर यसरी बस कि यी धरती पूर्ण रूपले अचला बनून् ।
शेषले भने :
हजुरको आज्ञा शिरोपर । यो मेरो अहोभाग्य । हजुरले जसरी आज्ञा भयो म त्यसरी नै यी धरतीलाई अचला बनाउँला । हजुर, यिनलाई मेरो शिरमा राखिदिनुहोस् ।
ब्रह्माले भन्नुभयो :
नागराज शेष, तिमी पृथिवीको मुनितिर जाऊ, यिनले स्वयं तिमीलाई जाने बाटो दिनेछिन् । अनि तल गएर सधैँ यिनलाई धारण गरेर बसिदेऊ । यति गरिदियौ भने तिमीद्वारा मेरो अत्यन्त प्रिय कार्य सम्पन्न हुनेछ ।
हवस् हजुर, भनेर जेठा नाग शेषले यो सशैलवनपर्वता धरतीलाई सदाका लागि धारण गरेर स्थिर बनाए, वरपर चलखेल नगर्ने भएकाले धरतीको नाम नै अचला भयो ।
ब्रह्माले परमप्रसन्न भएर भन्नुभयो :
हे नागोत्तम, तिमी शेष हौ ,धर्म नै तिम्रो आराध्यदेव हो । तिमी एक्लैले आफ्ना अनन्त फणाहरुले समस्त धरतीलाई सदाको लागि त्यसरी नै धारण गरिराख जसरी देवराज इन्द्रले र म स्वयं ब्रह्माले समस्त ब्रह्माण्डलाई धारण गरेका छौं ।
यसरी, अनन्त फणाधारी श्रीशेषनागले स्वयं ब्रह्माजीका आज्ञाले यी धरतीलाई धारण गरे अनि पाताललोकलाई नै आफ्नो वासस्थान बनाए ।
यसपछि शेषनागको सहयोग गर्न ब्रह्माले विनतानन्दन गरुडलाई पनि खटाउनुभयो ।
यता, आफ्ना जेठा दाजु बृहत्तम कार्यभार ग्रहण गरेर ब्रह्माको आज्ञाले सदाका लागि गइसकेको हुँदा आफ्ना माइला दाजु वासुकिलाई नै सर्वसम्मतिले सबै नागहरु मिलेर आफ्ना अभिभावक मान्दै नागराजका पदमा अभिषिक्त गरिदिए ।
….
महाभारत आदिपर्वबाट ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










