अन्तर्वार्ताको अखडामा मि. झप्पु सिं, डबल एम्.ए. का अगाडि कसैले ताल ठोक्छ भने उसको च्यापुले एकैचोटि माटो खाएको मात्र चाल पाउँछ । उनका मुखेन्जी ‘म ठूलो अन्तर्वार्ताकार हुँ’ भनेर नाक फुलाउन खोज्नु त झन् आफ्नो नाकलाई बेलुनझैँ प्वाट्ट फुटालेर बित्थामा मास्नु मात्रै हो । यस फेटमा उनलाई भेट्न सक्ने व्यक्तित्वको हालसाल पनि सालनाल नै काटिएको छैन भन्ने धेरै जनाको ठोकुवा बयान छ ।
कुरा साँच्चै पनि हो । बालुवाबाट मरेकाटे तेल निस्किन्न तर बालुवाजस्ता मानिसलाई निचोरेर कुराको तेल निथार्न सक्ने एक्लो व्यक्ति उनी मात्रै हुन् । अनेक बिन्तीभाउ गरेर मैले यस्ता नामुद अन्तर्वार्ताकारलाई आगामी अंकदेखि ‘युगज्ञान’ का निम्ति विभिन्न अन्तर्वार्ताहरू लिई दिन तयार पारेको छु । अब प्रस्तुत छ स्वयम् उनकै छोटो चिनारी र उनीसँग लिएको सानो अन्तर्वार्ता ।
उनलाई नपत्याउने खोलो भने पनि हुन्छ । गणेशजस्तो घ्याम्पे भुँडीवाल झप्पु सिंको बेछाँटे शरीरभित्र महान् अन्तर्वार्ताकारको महान् आत्मा लुकेको छ भन्ने झट्ट कसैलाई पत्यारै पर्दैन । वास्तवमा यो उनको वा अरूको खोट होइन, उनको जीउडाल नै त्यस्तै छ ।
जीउको फाँट दुरुस्त गान्टेमुलाजस्तो छ, थ्याच्च परेको र साह्रै पुड्को । दुम्सीका काँडाजस्ता ठाडा कपाल फोहोर कुराभन्दा पनि छाडा भएर टाउकोभरि मनपरी छरिएका छन् । कानभरि झ्यापझ्याप्ती बाक्ला भुत्ला उम्रेका छन्, जसलाई सरक्क पल्टाएर मात्रै उनी अर्काका कुरा सुन्ने गर्छन् । उनी भुत्ला पल्टाएको कानबाट मात्रै सुन्छन्, नपल्टाएतर्फ जत्रै रडाको मच्चाए पनि नसुनी बस्छन् । उनलाई चासो छ भने पालैपालो दुवै कानका भुत्लाहरू ओल्टाउँदैपल्टाउँदै दुवैतिरका कुराहरू एकैपटक पनि सुन्न सक्छन् । उनले कुनै कानको भुत्ला पल्टाएका छैनन् भने तोपै पड्काएर पनि कसैले उनलाई बिथोल्न सक्दैन । शब्दरोधक ती भुत्लाहरू उनका निम्ति वरदानै भएका छन् ।
आँखीभौँ ज्यादै बाक्लो र फिँजिएको छ, जो नाकेडाँडीमाथि पनि नछुट्टिएर अटुट बसेको छ । यो आँखादेखि ऊ आँखासम्म एकनास मेसो बसेर गएकाले उनको अविच्छिन्न आँखीभौँ रेलको सोझो र एक्लो लिकजस्तो देखिन्छ । इन्टरभ्यु लिँदा कसैका आँतबाट ज्यादै गाँठी कुरा निकाल्न सके भने उनका आँखीभौँको त्यो मोटो सरल रेखा बाख्रीको पुच्छरझैँ विचित्र तालले नाच्न थाल्छ । आँखा भने ज्यादै बाटुला छन्, केटाकेटीले खेल्ने काँचका गुच्चाजस्ता । ती मापाका आँखाका सम्मोहन क्षेत्रभित्र परेको मान्छे स्वेच्छाले उम्किन सक्दैन ।
नाक हात्तीको सुँडझै लाम्चिएर गएको छ र पोरानेर डल्लो परेर गाँठिएको छ । बाह्रमासे रुघाले सदाकाल घरजम गरिएको हुँदा पुछ्दापुछ्दा नाकको त्यो डल्लो गाँठोचाहिँ जहिले पनि बेसरी तताएको फलामझैँ रातो र टिलिक्क परेको देखिन्छ । नाकमुन्तिर हवाईजहाजका पखेटाझैँ फिँजिएका अरिमुठे जुँगाको जगजगी छ । सालाखाला उनको अनुहार अन्तर्वार्ताकारभन्दा बढी स्टन्ट चलचित्रको धेरै चुटिने खलनायकजस्तो देखिन्छ ।
अनुहार जस्तोसुकै देखिए पनि र जीउ जस्तै बेछाँटको भए पनि उनीजस्तो बिछट्टको अन्तर्वार्ता लिन सक्ने अरू कोही पनि छैन । अब म उनीसँग केही प्रश्नहरू गर्छु ।
मोराश : झप्पु सिंज्यू, के तपाईंको पुस्त्यौली केहर सिं, अमर सिं, अभिमान सिं आदिसँग जोडिएको छ ?
झप्पु सिं ः उपयुक्त सिंहरूलाई म चिन्दिनँ, मोराशज्यू ! मेरा मूल पुर्खाको नाउँचाहिँ भेडा सिं हो ।
मो. ः भेडा सिं त काठमाडौंको प्रसिद्ध टोल होइन र ?
झ. ः हो ! मेरा विचारमा त्यो टोल मेरा तिनै पुर्खाका नाउँमा रहेको हुनुपर्छ । यसबारे राम्रो खोजी गरेर यकिन कुरा पछि बताउँला, हुन्न ?
मो. ः हुन्छ, हुन्छ । अँ त तपाईंले डबल एम्.ए. कुनकुन विश्वविद्यालयबाट उत्तीर्ण गर्नुभएको हो ?
झ. ः एउटा एम्.ए. चाहिँ…हत्तेरी म पनि कस्तो हुस्सू ! सात खेप लगालग फेल भएपछि मैले त म्याट्रिकमै पढाइलाई सलाम ठोकेको हुँ ।
मो. ः आसर्जे ! अनि तपाईंका नाउँपछाडि तुर्लुंग झुन्डिएको ‘डबल एम्. ए.’ कसका ड्याङमा फले नि ?
झ. ः ए त्यो ! त्यसबारे बताउन आजसम्म टारटुर गर्दै आएको हुँ तर तपाईंलाई सत्तेसत्ते भन्नुपर्ला । वास्तवमा मेरा ‘डबल एम्.ए.’ कुनै विश्वविद्यालय धाएर थापिएको डिग्री होइनन्, आफैंले आफूलाई भिराइएका तक्मा हुन् ।
मो. ः विश्वविद्यालयबाहेक अरू कसैले दिन नपाउने दुई–दुईवटा डिग्री आफैं टाँसेर के तपाईंले डबल अवैधानिक काम गर्नुभएन र ?
झ. ः पटक्कै गरेको छैन ! मलाई यसो गर्ने पुरापूरी हक छ ।
मो. ः त्यो कसरी ?
झ. ः जवाफ दिनुअघि म पनि सानो सोधनी गरौँ है त ! ल भन्नोस्, मेची अञ्चलको नेपाली छोटकरी ‘मे. अ.’ र महाकाली अञ्चलको ‘म. अ.’ भएझैंँ यी दुवैका अंग्रेजी छोटकरी के हुन्छ ?
मो. ः मेची अञ्चलको अंग्रेजी छोटकरी ‘एम.ए.’ हुन्छ र महाकाली अञ्चलको पनि ‘एम.ए.’ नै हुन्छ ।
झ. ः ठीक ! अब मेरो कुरो कान थापेर सुन्नोस् । मेरा बा मेची अञ्चलमा जन्मेका हुँदा एउटा एम्.ए. ले मेरा पितृभूमिलाई जनाउँछ र मेरी आमा महाकाली अञ्चलमा जन्मेकी हुँदा अर्को एम्.ए.ले मेरो मातृभूमिलाई जनाउँछ । यी दुवै भूमिहरूलाई छोटकरीमा जनाउन आफ्ना नाउँपछाडि ‘डबल एम्.ए.’ लेखेर मैले कुनै बिराम वा अवैधानिक काम गरेँ जस्तो मलाई लाग्दैन !
मो. ः चित्त बुझ्यो, अब अर्को प्रश्न ! तपाईं जसको अन्तर्वार्ता लिनुहुन्छ, उसले तपाईंका प्रश्नको जवाफ दिन कत्तिको चाख र रौस देखाउँछ ?
झ. ः बडो गजपको प्रश्न सोध्नुभयो, मोराशज्यू ! इन्टरभ्यु र पोस्टमार्टममा धेरै फरक छैन । पोस्टमार्टममा मरेकाको लास जाँचिन्छ, इन्टरभ्युमा जिउँदाको सास छामिन्छ । जिउँदै आफ्नो पोस्टमार्टम गराउनुपर्दा किन कसैले रौस देखाउँथ्यो र !
मो. ः घतलाग्दो जवाफ दिनुभो ! अन्तर्वार्ता दिँदै गरेको व्यक्तिले तपाईंलाई प्रायः के जस्तो ठान्छ ? यसतर्फ केही निजी अनुभव छ कि ?
झ. ः ब्वाँसोजस्तो ! उसले त्यस्तो ब्वाँसो ठान्छ जसले रमाइलो पाराले कनाईकनाई उसको भित्र्याँस चट्ट बाहिर निकाल्छ र फोरफार पारेर अरूलाई पनि देखाउँछ ।
मो. ः तपाईं कस्ताको अन्तर्वार्ता लिन बढी रुचाउनुहुन्छ ?
झ. ः पहिला त म नेता, समाजसेवी, साहित्यकार, चित्रकार, पत्रकार, वैज्ञानिक, बेपारी आदिआदिको अन्तर्वार्ता लिन सिङौरी खेल्दै पुग्थेँ । हिजोआज मलाई यसमा कुनै रस आउन्न ।
मो. ः अनि केमा रस आउँछ त ?
झ. ः अचेल म अन्तर्वार्ताका क्षेत्रमा क्रान्तिकारी प्रयोग गर्दै छु, ज्यान नभएकालाई पनि बोल्न बाध्य गराएर अन्तर्वार्ता लिने नौलो प्रयोग । मलाई यसमा जत्तिको मज्जा अरू केहीमा लाग्दैन ।
मो. ः ज्यान नभएका ! जस्तै ?
झ. ः जस्तै कुनै नामुद पुस्तक वा पेन्टिङ, गुठी वा संस्थान, पदक वा पुरस्कार, जुत्ता वा कमल, हवाईजहाज वा साइकल, आँखाको गाजल वा काटिएको नङ आदिको अन्तर्वार्ता ।
मो. ः अचम्म ! के यस्तो उदेकलाग्दो अन्तर्वार्ताको कुनै बान्की हेर्न पाउँला ?
झ. ः निस्सै, अब आउने पानातिर आँखा लगाउनुहोस् ! अँ, तपाईंसँग मेरो पनि एउटा अनुरोध छ !
मो. ः के ?
झ. ः म अन्तर्वार्ता मात्रै लिन्छु, त्यसलाई लेखेर प्रस्तुत गर्ने भार तपाईं आफ्ना काँधमा बोकिदिनोस् न ।
मो. ः ‘हुन्न’ भन्दा धर पाइन्न, तसर्थ ‘हुन्छ’ त भन्नै पर्ला !
जवाफमा झप्पु सिंले आफ्ना ओठभरि जितुवाको मुस्कान छरे, चितुवाका आँखाले मलाई भित्रैसम्म हेरे र सरक्क दुवै कानका शब्दरोधक भुत्ला तल झारेर प्रमुदित मनले टेबुलमा तबला ठोक्न सुरु गरे ।
समय सकिएको जनाऊ दिने यो उनको प्रिय शैली हो भन्ने मलाई थाहा छ । कुरो बुझेर म जुरुक्क उठेँ र आफ्ना घरतिर लागेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।