ऊ एउटा खालीपन महसुस गर्दैछ । रित्तो भएको महसुस । रित्तिएको महसुस । र, ऊ भरिने चाह पनि राख्दैछ ।
भरिएकैले पोखिएको हो ऊ । छताछुल्ल भएको हो । यो जान्दछ तर, फेरी भरिने उपायहरू भेटिरहेको छैन उसले ।
एउटा तटस्थ उदास गति उसको । हाय !
मानौँ हृदय गएको एउटा गानो ।
आफ्नै हृदय उचाल्न सकस उसलाई । हाय..!
उसलाई थाहा छ, विगतबाट भरिन चाहँदैन ऊ । भविष्यका कपोकल्पित सपना एवं तिर्सनाहरूबाट पनि भरिन चाहँदैन ऊ ।
यिनीहरू मध्यान्हका बिरालाजस्ता अल्छे छन् । साँझपखको कुखुराको डाको जस्तो बेकाम्मे छन् । तर, बिहानको कुकुर सुताई जस्ता असरल्ल छन्, छरपष्ट छन् । वर्तमानका गल्लीहरूमा हरबखत/हरक्षण तुर्काउने दाउ पर्खिरहन्छन् । भत्किएका बहालका पुरातात्त्विक टुँडाल हुन्, कुरूप शिष्टाचारले भरिपूर्ण घरका गाराहरू हुन्, घृणित आस्था बोकेर दायाँबायाँ सरिरहेका मानव खुट्टा होस् या भुँइमा खसेका गजुर हुन्, यिनीहरूलाई मतलब छैन । यिनीहरू कुनै पनि बेला निन्द्राबाट उठ्नासाथ तुर्काउन सक्छन् । तुर्काउने दाउ पर्खिरहन्छन् । र तुकाई हाल्दछन् पनि !
र, वर्तमान ?
हरेक वर्तमान विगत र भविष्यको ‘कुकुर तुर्काइ’बाट आतङ्कित छन्, सशङ्कित छन् । वर्तमान, एउटा मुतको न्यानो । छि..!
यसैले त, वर्तमान एउटा यस्तो चिन्ताग्रस्त किरो छ/हो, जो हरबखत एउटा खाडल खनिरहन्छ । स्याउलाले पुरेर एक भ्रम सिर्जना गर्दछ, हरेक दिन र बखतहरूको खुट्टो मर्काइरहन्छ, ढाड भाँचिरहन्छ ।
हो, उसलाई वर्तमानमा घटित अनेकन् गतिशील यथार्थवादले लखेटिरहेका छन् यसप्रहर । प्रदूषित विचार शृङ्खलाले ओतप्रोत छन् यी । ठ्वास्स ठ्वास्स गन्हाएका छन् यी । यसबाट छुट्कारा पाउन खोजिरहेछ । र, ऊ सोचिरहेको छ, के जीवन कहिलेकाहीँ अकल्पनीय रूपमा यति प्रदूषित हुन्छ ? के मस्तिष्क, हृदय वा तन्तुतन्तुमा विकार शिवाय अर्कोथोक केही पनि हुँदैन ?
धेरै हदसम्म जीवनका वास्तविकताहरू भ्रमपूर्ण होइदिन्छन्, होइरहन्छन्, होइरहनेछन् । वास्तविकताहरू हिजोका पनि, आजका पनि र सम्भवतः स्वाभाविक रूपमा भोलिका पनि ।
जस्तो उसलाई आज भयो, ऊ एक्कासि एउटा विगतले कोक्कियो । र, यो विगत वर्तमानसँग ठोक्किएर एउटा पीडा दियो उसलाई । यसबारे थोरै वर्णन गर्दा ऊ फेरी कोक्किन सक्दछ तर, यहाँ त्यसलाई वर्णन नगरी अगाडि बढ्न मिल्दैन ।
उसलाई कोक्याउने विगतको इतिवृत्ति यसप्रकार छ, ‘एक्कासि उसले आफ्नो भूतपूर्व प्रेमिकालाई आफ्नै मित्रसँग प्रेमपासमा बाँधिएको पायो । उनीहरूले एउटा डाँडा माथिको गोधुली साँझलाई एकार्कामा आलिङ्गनबद्ध गरेको भेट्यो ।’ जहाँसम्म उसलाई थाहा छ, ऊ यस शङ्कामा महिनौँदेखि थियो । आज उसलाई यो ज्ञात भयो । अब उसको शङ्काको निवारण भयो । यसबाट अब उसलाई छुटकारा मिल्नुपर्ने ! यस ज्ञातले उसलाई मनोहारी हरियो फट्याङ्ग्रो जस्तो चञ्चल बनाउनुपर्ने ! तर, अहँ…एउटा ओस छ उसमा । एकप्रकारको चिस्यान !
उसले महिनौँसम्म यो सोचिरहेको थियो कि, ‘उसको हृदय बगरबाट एक्कासि पाइला टिपेर हिँडेकी उसले कुन खोला तरेर कसको हृदय बगरमा हिँड्दै छे ?’ र, अब यसको प्रश्नको उत्तर यसले भेटेको छ । झरीले हुस्सु पखाल्दै गएपछि खुलेको अनकन्यामाई (चैनपुरकोट)को डाँडोजस्तो स्निग्ध हुनुपर्ने ऊ । तर, अझै पिरोलिरहेकै छ, ऊ ।
अनि अब ऊ सोचिरहेछ, यी दुई प्रेम पक्षीहरू गोधुली साँझको रङ चोरेर मुस्कुराइरहेका छन् । के त्यसमा असीमित सुन्दरता छैन ? के त्यसमा सङ्गीत-माधुरी छैन ?
अवश्य छ ।
तर, के गोधुली ढल्दैन ? साँझले कालो रङ लिएर आउँदैन ? वा रातले चुक घोप्ट्याउदैन ? वा पुनः झिसमिसे हुँदैन र दिनको छायाँ लम्बिँदैन ? र, ऊ पाउँछ, यो सबै हुन्छ । क्रमबद्ध रूपमा यो सबै हुन्छ किनभने वास्तविकता क्रमबद्ध रूपमा भ्रमपूर्ण छ । र, एउटा क्रमबद्ध भ्रम जति पीडादायी वस्तु अर्को थोक केही हुँदैन । क्रमबद्ध भ्रमहरू हृदयलाई चोइटाइरहने घन हो । यसले विस्तारै विस्तारै हानिरहन्छ । ट्वाक..ट्वाक..ट्वाक..! हानिन्जेलको एक पीडादायी मिठास भने यसमा हुन्छ । सायद उनीहरू सोही मिठास महसुस गर्दैछन् ।
ऊ सोच्दछ, क्रमबद्ध भ्रम एउटा यस्तो घन हो, जसले हृदयलाई ढुङ्गा बनाएरै छाड्दिन्छ । र, जब हृदय ढुङ्गामा परिणत हुन्छ, त्यसपछि धुजाधुजा हुनु नियति हुन्छ । हृदय ढुङ्गा बनेपछि नै चोइटिने हो । वास्तविकतामा हृदय आफैँ चोइटिँदैन, यसका लागि ढुङ्गा बन्नु अनिवार्य हुन्छ ।
ऊ यतिखेर के पाउँदछ भने, त्यो गोधुलीको रङले उसलाई पीडा भएको होइन । वा गोधुली आकाशमा आलिङ्गनबद्ध पक्षीहरू देखेर पनि उसलाई पीडा भएको होइन । यो पीडाबाट ऊ निस्किसकेको हो । जानेहरू आउँछन् भन्ने कुरामा ऊ कदाचित विश्वस्त हुँदैन । ऊ आफैँ पनि यात्रा गर्दा गएको बाटो सकभर छल्न खोज्छ र नयाँ बाटोबाट फर्किरहन्छ । र, ऊ जान्दछ यो बानी उसको भूतपूर्व प्रेमिकाले ऊ बाट सिकेकी छे । उनीहरूले पनि यस्ता थुप्रै गोधुली साँझ र रातहरू एकार्काको आलिङ्गनमा बिसाएका हुन् । उनीहरूको पनि एउटा आफ्नै आकाश र धर्ती थियो । अझ, गोधुली रङ चोरेर उनीहरूले एकार्काको ओठ रङ्गाएका हुन् । रातको विशालता एकार्काको छातीमा छोडेका हुन् । दिनको अन्गीनत छायाँहरूलाई एकार्का माझ खप्टाएका हुन् । प्रथम पदयात्रादेखि प्रथम सहवाससम्मका अनुभवहरू सँगालेर नै उसले खोला तरेकी हो । र, खोला तर्न नसकिरहेकी उसलाई उसले विभिन्न भूगोल, समयकालमा पटक-पटक भेटेको हो । र, ऊ विश्वस्त छ ऊ फेरी पनि अर्को खोला तर्ने सक्छे ।
कहिलेकसो हृदयले सोध्यो, ‘ऊ खोइ ?’ तर ऊ देखाइदिन्थ्यो, ‘ऊ..त्यहाँ छे । अर्को हृदय खोज्दैछे । सम्भवतः आफ्नै हृदयसँग भाग्दै छे, लुक्दैछे ।’
र, यो सब हुँदा पनि ऊ किञ्चित दुःखी थिएन । किनभने ऊ जान्दथ्यो, प्रेम एक तपस्वी अनुभव हो । यसमा हुने कष्टहरू वास्तवमा कष्ट होइनन्। ती त ऐँसेलु टिप्दा हत्केलामा बिझ्ने काँडा जस्तो मिठो अनुभव हो । काँडा नबिझ्ने हो भने ऐँसेलुको स्वादै आउँदैन । ऐँसेलु टिप्न जाँदा काँढाले बनाएका खतहरूका कारण नै ऐँसेलुमा स्वाद छ । टोप्रो टोप्रोमा मिठास छ । यसैले अर्कोले टिपेर दिएको ऐँसेलुमा मेरो रुचि पनि छैन । हृदय एक ऐँसेलुको झ्याङ मान्दिदा उसलाई बडो हाइसन्चो हुन्छ र, ऊ सोही गर्दै आइरहेको पनि छ ।
उसो भए ऊ किन पीडामा छ त ? उसको एउटा हृदयमा बसिरहेको एउटा खिल उप्किएकाले उसलाई पीडा भएको हो । र, यो खिल एउटा जैविक खिल थियो । अब यसले देहत्याग गरेको छ । यो खिल उसबाट हटेको छ, सामान्य चोट पनि नदिईकन । र, यसमा त ऊ खुसी हुनुपर्ने ? वा उत्तेजित हुनुपर्ने । मस्तराम हुनुपर्ने । तर, छैन । किन छैन ?… किन छैन ?
अब ऊ यही प्रश्नको जवाफ खोज्दैछ । र जवाफमा ऊ पाउँदछ, हरेक मानव हृदय केही यस्ता संशय, शङ्का, उपशङ्का, स्वार्थ, ईर्ष्या आदि आदि सँगालेर बसिरहन चाहन्छ । एउटा क्रमबद्ध भ्रमहरूको बटुलाबटुल गरिरहन चाहन्छ । अब सो क्रमबद्धता भङ्ग भएको छ । अब उसले फेरी एउटा क्रम बनानुपर्नेछ, र स्वभावत: त्यो बन्ने क्रम सुरु भइसकेको छ । र, यो साह्रो पीडादायी कुरा छ ।
ऊ पुनः यसबारे पुनर्विचार गर्दछ, हरेक मानव हृदयको एउटा बानी हुन्छ, निकै छिटो नयाँ आदत बसाइहाल्छ तर, निकै ढिलो पुरानो आदत छोड्छ । र, यसबिचमा/समयक्रममा एउटा खालीपन रहन्छ । र, त्यो खालीपनको काउकुतीले यस क्षण ऊ छटपट्याइरहेछ । हाय..विसंगत स्थिति उसको !
अस्तु !
[खस्य्राङ-मस्य्राङ, मनोवाद एवं मनोभावनालाई भनिएको हो – झल्लु ]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।